हात खोल्दा पनि त्यो फूल झरेन। औंलाको बीचमा अड्किएर बस्यो, जसरी बिदाइको बेला शब्द घाँटीमा अड्किन्छ , निस्कन्छ तर पूरा निस्कँदैन।
मैले यो फूल आफ्नो महसुसको लागि छोएको थिएँ। मलाई ब्रह्मकमल मन पर्थ्यो, त्यसैले ।एकाएक आमाको सम्झना आयो, उहाँ भन्नुहुन्थ्यो जुन फूल एक रात मात्र बाँच्छ, त्यसलाई हेर्ने मान्छेले समयलाई हेर्न जानेको हुनुपर्छ। मैले हाँसेर भनेको थिएँ “समय हेर्न के गर्नु, आमा। फूल हेर्नु न।” उहाँले केही भन्नुभएन। अब लाग्छ, उहाँले भनेको त्यो कुरा मैले बाह्र वर्षपछि बुझें।
हिजो बेलुकी फूल फुलेको रहेछ बिहानै देखें। सेतो, नरम, चुपचाप, कुनै आवाज नगरी। म दगुरें। आमालाई देखाउनुपर्छ सोचेँ तर ढोकामा पुग्दा उहाँ भान्सामा हुनुहुन्थ्यो जस्तै लाग्यो, पीठ फर्काएर, खाना पकाउँदै। म ढोकामै उभिएँ। फूल हातमा थियो। भन्न खोजें “आमा, हेर्नु न।” तर भनिनँ किनभने मलाई थाहा भयो उहाँले हेर्नुभयो भने पनि, मैले भनेको कुरा उहाँले सुन्नुभयो भने पनि, त्यो क्षण बितिसक्नेछ। फूल झर्नेछ। अनि उहाँ फेरि पीठ फर्काएर उभिनुहुनेछ। म भने ढोकामै उभिरहनेछु, फूल हातमा, शब्द घाँटीमा। मैले फूल टिप्न खोजेँ तर टिपिन, टिप्न मलाई के ले रोक्यो थाहा पाइन। चाउरी परेको हातले छोएँ मात्र। अनि फोटो खिचें किनभने मलाई थाहा थियो, यो क्षण फर्केर आउँदैन तर फोटोमा मेरो हात मात्र छ, आमाको पीठ छैन, भान्साको त्यो झ्याल छैन, जहाँबाट घाम पसेर उहाँको सेतो कपालमा अल्झिएको थियो। फोटोले समात्न सकेन जे समात्न सक्थ्यो त त्यो मात्र फूल र हात। अनि मैले बुझें। ब्रह्मकमल एक रात बाँच्छ भन्ने कुरा ठीक हो। तर त्यो भन्दा ठूलो कुरा मान्छेले आफ्नो आमाको पीठ पनि एक दिन मात्र देख्छ। त्यो पनि एक रात जस्तै फुल्छ, अनि बित्छ। अनि तिमी हातमा फूल लिएर उभिरहन्छौ, भन्न खोजेको कुरा भन्न नसकी। फेरि टिपेरै देखाउँ लाग्यो, मैले फूल भान्साको चुलो छेउमा राखें। आमाले पछि देख्नुहोला कि सोचेर। “कहाँबाट ल्याइस् ?” भन्नु होला कि लागेर। “बगैंचाबाट,” मैले भनुँला। उहाँले फूल उठाउनु होला, सुँघ्नु होला। अनि मेरोतिर हेरेर भन्नु होला त्यो हेराइमा बाह्र वर्ष देखिएलान् र एउटा फूल अनि एउटा क्षण जो कसैले समात्न सकेन। “यो भोलि रहँदैन,” उहाँले भन्नु होला। “थाहा छ,” मैले भनुँला। “तैपनि टिप्यौ?” “तैपनि?” उहाँ मुस्कुराउनु होला अनि फूल फेरि चुलोमै राख्नु होला। भोलिपल्ट त्यो ओइलाइजाला तर आज, आज मैले आमाको मुस्कान देख्न पाउँला। त्यो पनि ब्रह्मकमल जस्तै, एक क्षणको तर त्यो क्षण मेरो हातमा हुने छैन, त्यो मभित्र मात्र हुनेछ जहाँ कसैले टिप्न सक्दैन, कसैले झार्न सक्दैन। त्यो नै बाँचिरहन्छ, पक्कै बाँचिरहन्छ भलै आमा अहिले हुनुहुन्न, बाह्र वर्ष बितिसकेको छ उहाँले संसार छाड्नु भएको, मलाई जन्माएर गुरुसम्म पुग्न सक्ने बनाउनु भएको तर यो खबर मैले आज भेटेरै सुनाउन पाइँन तर खबर गर्छु हृदयले, आत्माले, श्रद्धाले, भावले । आज मेरो घरमा श्राद्ध छ उहाँको आत्मा शान्तिको लागि, उहाँको कारण शरिर तार्नको लागि, उत्तम लोकतिरको गमनको लागि ….।

