निरन्तरता नै सफलता प्राप्तिको कुञ्जी हो

अँध्यारो रातको अन्तिम प्रहरमा जब आकाशका ताराहरू शून्यमा विलीन हुन खोज्दै थिए, म आफ्नो आत्माको मझेरीमा बसेर ‘म’ हुनुको अर्थ खोजिरहेको थिएँ। मेरो अगाडि ब्रह्म मुहुर्तको एउटा रित्तो पाना मात्र थियो बाँकि जुन मेरो जीवनको प्रतिविम्ब जस्तै लाग्थ्यो: कालो, कोरा र अर्थहीन। ठिक त्यही बेला उसको प्रवेश भयो। उसको हिँडाइमा एउटा यस्तो लय थियो, मानौँ ऊ ब्रह्माण्डको धड्कनसँगै ताल मिलाइरहेको छ। उसले मलाई अहंकारबिहिनताको आँखाले हेर्यो अधेँरीलाई पन्छाउँदै र उसका ती गहिरा आँखामा मैले युगौँदेखिको साधनाको प्रकाश देखेँ। उसले भन्यो, “साथी, यो शून्यतालाई देख्यौ? यो शून्यता नै सबै सृष्टिको गर्भ हो तर यसलाई सार्थक बनाउन ‘निरन्तरता’ को एउटै मात्र सुत्र चाहिन्छ।” उसले उपनिषदको गम्भीर वाणी छेड्दै भन्यो, ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्’, अर्थात् यो चलायमान संसारमा जे जे छ, त्यो सबै परमात्माको अंश हो तर जबसम्म तिमी आफ्नो कर्ममा परमात्मा देख्दैनौ, तबसम्म तिमी केवल समयको बालुवामा पदचाप छाड्न खोज्ने एउटा यात्री मात्र हुनेछौ। अनि कलिलो उमेर मै नजिकिएर किनारामा बसी उद्येलित् छाललाई सुम्सुम्याउँदै आकाशका तारा झारेर सिउँदोमा सिउरिदेला भन्ने पर्खिरहेकी प्रेमिका जस्तै ।

उसले मलाई अनुपम स्वामीको त्यो एकान्त साधनाको बारेमा बताउन थाल्यो, जहाँ शब्दहरू केवल अक्षर होइनन्, बरु रगतका थोपाहरू बनेर कागजमा पोखिन्छन्। स्वामीजीको अध्ययन र अनुसन्धान कुनै विश्वविद्यालयको प्रमाणपत्रका लागि थिएन, त्यो त सत्यको उत्खनन थियो। उसले मलाई भन्यो, “हेर साथी, स्वामीजीले कसरी आफ्नो ज्ञान, सीप र क्षमतालाई एउटा जलिरहेको दियो जस्तै बनाउनु भयो, जसले आफूलाई जलाएर अरुलाई मार्ग देखाउँछ। तिमीले पनि आफ्नो ‘Maximum Effort’ लाई त्यसरी नै होसमा बदल्नुपर्छ।” उसको स्वरमा एउटा यस्तो जादु थियो कि मलाई लाग्थ्यो, म एउटा ठूलो महाकाव्यको जीवित पात्र बनिरहेको छु। उसले मलाई एलन मस्कको त्यो पागलपन भनिएको जिद सम्झायो, जहाँ रकेटहरू पड्किँदा पनि ऊ हाँसिरहेको थियो किनकि उसलाई निरन्तरताको शक्तिमाथि विश्वास थियो। उसले आइन्स्टाइन र न्युटनका ती लामा रातहरूको प्रसङ्ग ल्यायो, जहाँ गणितका सूत्रहरू कविता जस्तै गाइन्थे। मैले सोधेँ, “तर म कसरी यति धेरै भार थाम्न सक्छु? मलाई त मेरो अस्तित्व नै भारी लाग्छ।” उसले मेरो काँधमा हात राख्दै ओशोको त्यो उन्मुक्त हाँसो र यु.जी. कृष्णमूर्तिको त्यो निर्मम सत्यको झट्का दियो। उसले भन्यो, “म, मेरो र मलाई भन्ने यो अहंकारको पर्खाल नभत्काई तिमीले गुरुको कृपा पाउन सक्दैनौ। ओशोले भन्नुभए जस्तै, तिमी एउटा बाँसुरी बन, ताकि अस्तित्वले तिमीमार्फत आफ्नो संगीत बजाउन सकोस् र यु.जी.ले भने जस्तै, तिमीले खोजिरहेको त्यो ‘ज्ञान’ तिम्रो सबैभन्दा ठूलो बाधा पनि हुन सक्छ, यदि त्यसमा समर्पण छैन भने।” उसले मलाई बुझायो कि गुरु श्रद्धा कुनै अन्धविश्वास होइन, बरु यो त आफ्नो सानो ‘म’ लाई विशाल ‘ब्रह्माण्ड’ मा विसर्जन गर्ने कला हो। उसले मलाई सिकाएको सबैभन्दा ठूलो मन्त्र ‘होस र समर्पण’ थियो। उसले भन्यो, “पढ्दा यसरी पढ कि संसारमा अरु केही छैन, लेख्दा यसरी लेख कि तिम्रो कलमको मसी तिम्रो प्राणको रस हो।” उसले मलाई एउटा यस्तो ऐना देखायो, जहाँ मैले देखेँ कि ‘म’ भनेको शरीर मात्र होइन, बरु एउटा अनन्त यात्राको नाम हो। उसले सिकाएको ‘निरन्तरता’ केवल कामको चाङ थिएन, त्यो त एउटा लय थियो, एउटा संगीत थियो। आज म जब आफ्नो कार्यकक्षमा बसेर लेख्न थाल्छु, मलाई लाग्छ ऊ मेरै छेउमा उभिएर भनिरहेको छ, “अझै अलि बढी, अझै थोरै गहिराइमा, अझै धेरै प्रेमका साथ।” र म बुझ्न खोज्दैछु, सफलता भनेको शिखरमा पुग्नु मात्र होइन, शिखरतिर जाने हरेक पाइलामा उत्तिकै आनन्द र होस राख्नु हो। यो जीवन, यो संघर्ष र यो उपलब्धि सबै त्यही गुरु कृपा र निरन्तरताको प्रतिफल हो जहाँ ‘म’ हराएर अब केवल ‘कार्य’ मात्र बाँकी रहन्छ।

त्यो अन्तिम साँझ, पहाडको थुम्कोमा सूर्य अस्ताउँदै गर्दा आकाशको रङ्ग कुनै भावुक चित्रकारको क्यानभास जस्तै गाढा रातो र बैजनी मिश्रणले भरिएको थियो। ‘ऊ’ र ‘म’ एउटा बुढो बरको रूखमुनि बसिरहेका थियौँ। मलाई लाग्थ्यो, मैले धेरै कुरा जानिसकेँ तर उसको मौनताले मलाई अझै पनि एउटा गहिरो प्रश्नको कठघरामा उभ्याइरहेको थियो। उसले निकै बेरपछि मलाई हेर्यो र उसका आँखामा एउटा यस्तो करुणा थियो, मानौँ उसले मेरा सारा विगतका गल्ती र भविष्यका आशाहरू एकै नजरमा पढिरहेको छ। उसले भन्यो, “साथी, तिमीले सोध्यौ नि, सफलताको अन्तिम बिन्दु के हो? गिताको अठारौँ अध्यायको त्यो मर्म सम्झ, जहाँ ‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज’ भनिएको छ। सबै आशाहरू, सबै परिचयहरू र सबै ‘म’ हरूलाई त्यागेर जब तिमी पूर्ण रूपमा समर्पित हुन्छौ, तब मात्र तिमी त्यो विराटसँग एक हुन्छौ। स्वामीजिले भन्नु भएको याद छ ? सफलता भनेको संसारलाई केही देखाउनु होइन, बरु आफूभित्रको त्यो बुद्धत्वलाई चिन्नु हो, जो सधैँ त्यहीँ थियो, तर तिम्रो ‘म’ को कोलाहलले गर्दा तिमीले सुन्न सकेनौ।” उसले अनुपम स्वामीको उदाहरण दिँदै अन्तिम रहस्य खोल्यो, “स्वामीजीका ती हजारौँ रातका अनुसन्धानहरू केवल तथ्यहरूको संकलन थिएनन्, ती त आफ्नो अहंकारलाई गलाउने प्रक्रिया थिए। जब तिमी ‘Maximum Effort’ लगाउँछौ, तब तिम्रो शरीर र मन थाक्छन् र त्यही थाकेको बिन्दुमा अहंकारको मृत्यु हुन्छ। अनि मात्र साँचो ज्ञानको उदय हुन्छ।” उसले मलाई आइन्स्टाइनको त्यो क्षण सम्झायो जब वर्षौँको गणितीय सङ्घर्षपछि उनले ब्रह्माण्डको बुनोटलाई एउटा सरल सूत्रमा देखे त्यो सूत्र गणित मात्र थिएन, त्यो त निरन्तरताको पराकाष्ठामा मिलेको ईश्वरको साक्षात्कार थियो। उसले मलाई अगाडि उभ्याएर भन्यो, “म अब जाँदैछु साथी, तर याद राख म, मेरो र मलाई भन्ने यी साना घेराहरूमा कहिल्यै नअल्झिनु। जब तिमीले आफूलाई गुरुको पाउमा पूर्णतः विसर्जन गर्छौ, तब तिम्रो कलमबाट निस्कने हरेक शब्द एउटा उपनिषद् बन्नेछ। तिम्रो हरेक भाव एउटा गीता बन्नेछ । तिम्रो हरेक काम एउटा प्रार्थना बन्नेछ। निरन्तरता भनेको केवल एउटै काम बारम्बार उहि Loop मा गर्नु होइन, बरु हरेक पल नयाँ भएर, पूर्ण होसमा रहेर अस्तित्वप्रति समर्पित हुनु हो।”

ऊ बिस्तारै कुइरोमा ओझेल पर्दै गयो, निकैबेरपछि झल्याँस्स भएँछु, म त्यहिँ घोत्लिएर बसेको निकै घण्टा भइसकेछ, बुढो बरका लहरे जराजुरी समातेर यसो घुँडा समाउँदै जुरुक्क उठेँ र बायाँ हातले निधारमा क्षितिज बनाउँदै च्याहेँ, उ कता पुग्यो होला, देखिन्छ कि मिरमिरै भएपनि सोचेर तर उ टाढा पुगिसकेको थियो, मात्र असफल आशा देखिन्थ्यो । मन मनै सोचेँ, “सायद, सोला भञ्ज्याङ्गको गेटबाट भित्र छिरिसक्यो होला उहि मेरो प्रियलाई भेट्न आतुर हुँदै ….”

Together

In the shade of a tree is my home,
where the birds and I sing together the morning.

On the banks of the river is my holy place,
where the water and I together do our prayers .

In the milky mountains is my fire pit,
where the peaks and I together feel the warmth of the rising sun .

In the dense forest is my orchestra,
where the woods and I together listen to the symphony of the cold breeze.

On the horizon is my theatre,
where the pine trees and I together watch the movie of colors .

– Ajay Poudel

जडदेखि चैतन्यसम्मः पूर्णताको लय

फागुन सक्किनै लागेको भएपनि अनायासै बादलले घुम्टो ओडाउँदै सिमसिमे पानी झारेर घाम मधुर्याउँदै थियो, झन् ताराहरु त देखिने कुरै भएन, परपरसम्म पनि नांगै देखिने रुख बुट्यानहरु समेत त्यो सिमसिमेलाई पनि दर्कने लागेर झर्काे मानिरहेका झैं प्रतित हुन्थे । बरु अरु सुस्ताइरहेको भएर हो कि क्या हो रक्तमाला मन्दिरबाट घण्टीको आवाज भने ठूलो स्वरमा सबैका कानमा गुन्जिरहेको थियो, धेरैलाई त्यो आवाजले भने सिमसिमेसँग मिसिएर बजिदिँदा शान्ती महसुस भए झैं सुमुधुर प्रतित भइरहेको थियो। सुरजले माया गरी पठाइदिएका Hemp कपडाका शितल पर्दा, कोठाभित्र उज्यालो छिराउन अलि पर सरेर हल्लिरहेका थिए, झ्यालको पल्लाबाट छिरेको चिसो हावाको झोंकाले कोठाभित्रका Peace Lily का फूलहरूलाई सुस्तरी हल्लाइरहेको थियो। उ भुइँमा बसेर सानो बगैँचाका साथीहरू Lucky Bamboo, Spider Plant, Snake Plant , Lucky wood र Money Plant का पातहरूलाई सुम्सुम्याउँदै थियो। उसका लागि यी केवल बिरुवा थिएनन्, बरु उसको Subconscious Mind मा जुनि-जुनि देखिका र पुस्तौँ-पुस्तादेखि दबिएका अनेकौँ संस्कार र Impressions लाई Grounding गर्ने माध्यम थिए। बिरुवाका पातमा औँलाहरू डुलाउँदा उसले आफ्नो हृदय र धर्तीको माटोबीच एउटा अदृश्य तार जोडिएको महसुस गरिरहेको थियो। आफ्नो साथमा सधैं बोकी हिंड्ने स्वामी जि ले दिनुभएको एउटा सानो कपडाको बट्टामा राखेको Selenite tumble, rose quartz, Black tourmaline, Tiger eye, Amethyst rock, red jasper, moonstone र Crystal quartz अनि कालिगण्डकीको मुहान मुस्ताङ्को सालिग्राम र स्पटिकको शिवलिंग आँफू नजिकै पारेर सुम्सुम्याउँदै हेरिरह्यो श्रद्धाले । साथमा रहेको Frankinsane, Sandalwood, Lavendar, Jasmine को essential oils मध्यबाट Frankinsane र Sandalwood को सिसीका बिर्को खोलेर हातका Pulse points मा, बुढिऔंलाको फेदतिरको पछाडि पट्टि अनि दुबै कानको पछाडि पट्टि र छातीमा पनि अलि दल्दै र टेबुलमाथिको लेभेन्डरको अगरबत्ती को सिन्का निकालेर बाल्दै काठ, बाँस र माटोले बनेको स्वर्ग जस्तो घरलाई सुगन्धित बनायो । भित्ताभरि कालभैरव, छिन्नलता भगवती, कुमारी, तलेजु भवानी, नरहरिनाथ र अनेक अनेक चित्रहरु र छड्के उभिएर बाँसुरी बजाइरहेका कृष्णको मूर्ति पनि एकछिन टक्क अडिएर समयलाई रोक्दै सुगन्ध लिइरहेका झैं प्रतित भइरहेको थियो त्यो क्षण ।

“विष्णु!” यत्तिकैमा उसले छेउमा शान्त बसिरहेको आफ्नो साथीलाई निकै आशावादी नजरले हेर्दै भन्यो, “म जति यी बिरुवाहरूलाई सुम्सुम्याउँछु, माटोसँग खेलिरहेको हुन्छु तरपनि अर्कातिर त्यति नै मलाई आफ्नो अस्तित्वको बोझ पनि महसुस भइरहेको हुन्छ, कहिलेकाहीँ अनायासै मनमा एउटा अज्ञात डर पलाउँछ त कहिले क्रोधको तातो लहरले मेरो कन्चटमा पट्पट् गरेर दुखाइ दिन्छ। बुझाइदेऊ न please, यो के भइरहेको हो मलाई?” विष्णुले उसको आङ्गभरि तल देखि माथिसम्म एकछिन हेरिरह्यो । विष्णुको भन्दा झण्डै दोब्बरै जतिको उमेर होला उसको । उसका चाहुरिँदै गएका गोडा र हातका छाला, लुँदा परेका घाँटिका छाला, फाट्टफुट्ट फुलेका आँखि भौंहरु अनि सेताम्मे सरी कपाल भएर दुनियाँले छिछि भन्ने आँखा ढाक्नलाई लगाएको कालो मेहेँदी पनि अलिक दिन बितिसकेको जस्तो देखिन्थ्यो कपालका टाटाहरु देख्दा । विष्णुका आँखाले उसका ती सबै शारिरिक संरचनालाई, उमेरलाई कुनै जज, कमेन्ट नगरिकन आफ्नो हृदयले थपक्क केबल अब्जर्भेसन गरेर टोलाएको थियो किनभने उसँग दुनियाँको जस्तो आँखा थिएन, उ कथित् साथी थिएन, साधक साथी थियो, आँफू र अरुलाई एउटै दृष्टिले हेर्ने साधक या भनौं संसारका, प्रकृतिका हरेक कुराहरु उसका लागि श्रद्धापूर्वक अध्ययन गर्ने र मनन गर्दै सिक्दै जाने बस्तु हुन्थे ।  विष्णुले शिक्षक वा गुरुको रुपमा नभएर मित्रत्वरुपी मार्गदर्शकको भावमा मुस्कुराउँदै उसलाई शान्त रहन इशारा गर्‍यो र भन्यो, “यो मनको सफाइको प्रक्रिया हो। नडराऊ, तिम्रो मुलाधार चक्रमा भइरहेको त्यो झन्झनाहट र Upper Spines मा दौडिरहेको ऊर्जाले तिम्रो चेतनालाई माथि उठाउँदैछ। आज्ञा चक्रमा जुन कम्पन तिमीले महसुस गर्दैछौ, त्यो तिम्रो आन्तरिक द्वार खुल्नुअघिको ढक्ढक्याइ हो। जब हृदय चक्रमा न्यानोपन र अनौठा Sensations आउँछन्, सम्झ तिमीभित्रको करुणा ब्युँझिँदैछ।” विष्णुले अगाडि भन्यो, “अनुपम स्वामीले सिकाउनुहुन्थ्यो नि सजगता (Awareness) भनेको श्वाससँगको संवाद हो अनि उहाँले गाउनुभएको त्यो सरस्वती वन्दना सम्झ त, जसमा कस्तो अगाध श्रद्धा !” अनि विष्णुले अत्यन्तै भावुक भएर अनुपम स्वामीकै शैलीमा गाउन थाल्यो: “या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता…” त्यो सुमधुर स्वरले कोठाको ऊर्जा नै बदलियो। उसको शरीरमा काँडा उम्रियो। उसले Humming र Breathing अभ्यास गर्दै आफ्नो श्वासलाई स्थिर पार्न थाल्यो, Shallow breathing (छाती बाटै मात्र आउने जाने अवस्थालाई) अब्जर्भ गर्दै विस्तारै गहिरो गरी पेटबाटै तानेको अभ्यास गर्यो र श्वास तान्दा पेट उचालिएर आएको हो होइन पनि विचार गर्यो अनि फाल्दा सकेसम्म तान्दाको भन्दा चाहिँ छिटो नहोस्, बरु अलि ढिलै होस् सोच्दै अजपा जापसँगै मिसाएर श्रद्धापूर्वक समर्पण भावले साध्न अभ्यास गर्यो ।

यसैबीच उसलाई लक्ष्मीप्रसाद देवकोटाको त्यो दिव्य वाणी याद आयो, जसले ‘यात्री’ कवितामा भनेका थिए: “हाडका खम्बा, मासुका पर्खाल, यो हावाको झ्याल, आफैं छ मन्दिर, आफैं छ मूर्ति, आफैं छ पूजारी…” उसले विष्णुका कुरा सुन्दै जाँदा महसुस गर्‍यो कि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ जस्तै उसको आत्मा पनि मुक्त हुन खोजिरहेको थियो। “विष्णु!” उसले भन्यो, “भर्खरैको निर्वाचनमा तिम्रो प्रेरणाले मैले जुन परिवर्तनशील पात्रलाई मतदान गरेँ, त्यसले मेरो मनमा भएको एउटा पुरानो Loop Break गरिदियो। मलाई लाग्यो, मैले वर्षौँदेखिको दासताको साङ्लो चुँडालेँ। थोरै भएपनि एक किसिमको कस्तो आत्मसन्तुष्टि मिलेको छ त्यसले केही दिन देखि” विष्णुले गीताको प्रसंग जोड्दै उसलाई अझ गहिराइमा पुर्‍यायो, “कृष्णले अर्जुनलाई सिकाउनुभएको सार यही हो नि साथी! जे भयो राम्रो भयो, जे हुँदैछ राम्रो हुँदैछ। अहिलेको यो तीव्र Universal Pattern मा जे भइरहेको छ, त्यो एउटा ठूलो परिवर्तनका लागि हो। बीपी कोइरालाको मानवतावाद र योगी नरहरिनाथले देखाएको त्यो अगाध राष्ट्रभक्ति पनि यही पूर्णताको खोजी त थियो नि पक्कै, होइन र साथी?”

अलिपर भित्तामा अढेस्याइरहेको कुशको पिरा आँफूतिर तान्यो र उसले अब त्यो कुशासनमा बसेर, हात जोडेर, गायत्री मन्त्रको जप गर्न थाल्यो। उसले आफ्नो अनि सिङ्गो नेपाल र नेपालीको र विश्वकै पनि भलोको कामना गर्‍यो। यत्तिकैमा उसको हृदयमा एउटा आफ्नै अनुभूति कविता बनेर फुर्यो:

“माटोमा हात छन्, ध्यानमा चित्त छ,

बिरुवाको सुम्सुम्याइमा जुनीको जित छ।

चामुण्डाको तेज छ, हनुमानको भक्ति,

भित्रै छ शान्ति, भित्रै छ शक्ति।

जब आफ्नै पूर्णताले परमतत्व छुन्छ,

तब मात्र मान्छे, साँच्चै मान्छे हुन्छ।”

चामुण्डा देवीको मन्त्र र हनुमान चालिसाको पाठले उसको मनभित्रको भयलाई पखालिदियो। उसले महसुस गर्‍यो कि उसको Spine बाट एउटा शीतल उर्जा बगेर आज्ञा चक्रमा टक्क अडिएको छ। अब टाउकोको दुखाइ हराएको थियो। उसले विष्णुलाई हेर्‍यो, उसको आँखाका नानीहरु कृतज्ञताले टम्म भरिएर छचल्किए, बायाँ हातका चोरी औंला र बुढी औंला अनायासै तीनलाई छेउ लाउन उचालिए, रगडिए पनि अनि ति भावलाई यादगार बनाउन अक्षरमै उतार्ने जमर्को गर्दै एउटा लेख लेख्ने तर्खर गर्यो र शिर्षक चाहिँ रोज्यो “जे सारा पूर्णता (परमतत्व) को श्रोत हो, त्यसलाई अनुभव गर्न हाम्रो जीवनले स्वयं पूर्णता छोएको हुनुपर्छ”

 

संसारमा समस्या देखिन्छ, किनभने हामीमा समस्या लुकेको छ

अनुपमले भन्ने गरेको वाक्य याद आउँछ “हाम्रो समस्या कुशासनको समस्या हो”। हामी नेपाली लामो समयदेखि कुशासन भोग्दै आइरहेका छौं। हामीलाई व्यवहारिक जीवनका विभिन्न आयामहरुमादुःख र समस्या भोग्दै आउनु परेको छ। मानसिक जीवनमा पनि त्यसको प्रभाव परेर आम मानिसको जीवनमा निराशा र नकारात्मकता प्रष्ट देख्न सकिन्छ। त्यसले हाम्रो जीवनमा सिर्जना गरेको अस्तव्यस्तता र समस्या हामी, समाज, संसार र भविष्यमा आरोपित गर्ने रहेछौं। 

त्यसकारण बाहिरी परिस्थिति अनुकूल नहुँदा नहुँदै पनि आफूमा सकारात्मकताको विकास गरेर, संसारलाई हेर्ने दृष्टि सोही अनुसारको बनाउनु आवश्यक रहेछ ।

जीवन मङ्गल

मङ्गल आज कतै निस्किन लागेछ । उ राती लगाएको कपडा नै लगाएर निस्किन्छ ।  चिया खाने ठाउँमा एक छिन चिया खाएर बस्छ । त्यहाँ उसको साथी जीवन आउँछ । उनिहरु आफ्नो जीवनको विषयमा कुरा गर्दै हुन्छन् । मुख्यतया कुरा नकारात्मकतामा आधारीत हुन्छ । मङ्गल भने अलिअलि सकारात्मक कुरा ल्याउने विचार गर्छ तर जीवन भने रोकिन नै चाहादैन। जीवनले भए भरको दु:ख , पीडा र आफ्नो सम्पुर्ण कुण्ठा त्यहीँ निकाल्छ । मङ्गलले त्यहाँ चिया मात्र खाएन । उसले जीवनको दु:ख र कुण्ठाको स्वाद पनि आफ्नो जिब्रोमा लिएर , त्यहाँबाट हिड्छ । हिड्ने क्रममा उ जे जे देख्छ , त्यसमा नकारात्मक हुन थाल्छ । उसलाई ,  कसैले राम्रो कुरा गरेको सुन्दा पनि उसलाई नै व्यङ्ग्य गरेको जस्तो लाग्न थाल्छ । उसमा नजानीदो रिस उत्पन्न हुन थाल्छ ।  घरमा पुगेर उसले चुरोट सल्काएर घाम तापी रहेको बेला , उसको श्रीमतीले खाना खान बोलाउदा , उसले आफ्नो श्रीमतीलाई सम्पुर्ण रिस निकाल्छ र उ त्यहि घाम तापेर बस्छ । एक छिन पछि उसको छोरी बाबा मलाई होमओर्क सिकाइदिनु न भन्दै आँउदा । उसले त्यहाँ चाहिँ आफ्नो रिसलाई पोखिन दिदैन र भन्छ के छ नानी होमओक ! छोरीले भन्छे जीवन भनेको के हो बाबा ? मङ्गलले उसको साथीलाई सम्झिन्छ । उसले जीवन दुःख हो । यहाँ दुःख नै दुःख छ भन्नै लागि रहेको हुन्छ । उ एकछिन रोक्किन्छ । उसले आफ्नो जिब्रोमा उहीँ जीवनले दिएको स्वाद सम्झिन्छ । अहो…यो त उसले दिएको स्वाद पो हो त । यो जीवन कसरी भयो । यहाँ खुसी हुने लाखौं कारणहरु छन् , मुस्कान ल्याउने लाखौं उपाय छन् , म पनि सन्तुष्ट नै छु , अहिले त सबै ठिक नै छ भने म किन जीवन दुःख हो भन्दै छु । यस्ता कुरामा उसले मनन गर्छ र उसले तत्काल गएर आफ्नो श्रीमतीसँग माफी माग्छ र उसको छोरीलाई पनि होमवर्क सिकाइदिन्छ । यसरी त्यस दिन उसले सकारात्मकतालाई आफ्नो स्वाद बनाउछ ।

केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो

आकाशमा मडारिरहेका बादलहरू र सडकमा उडिरहेका निर्वाचनका पर्चाहरूका बीच निशान्त आफ्नो एकान्त कोठामा एउटा गहिरो शून्यता ओढेर बसेको थियो। झ्याल बाहिरको क्षितिजमा देखिने हल्का रातो र नीलो रङको मिश्रण जस्तै थियो निशान्तको मन, न त पूर्ण शान्त, न त पूर्ण अशान्त। ऊ आफ्नो कोठाको कुनामा बसेर रित्तो भित्तालाई टोलाइरहेको थियो। उसको अगाडि रित्तो टेबल थियो, रित्तो डायरी थियो र सायद उसको गोजी पनि रित्तै थियो तर यही रिक्ततामा उसले एउटा अद्भूत शक्ति महसुस गरिरहेको थियो। उसले मनमनै दोहोर्‍यायो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” जब एउटा कलाकारसँग रित्तो क्यानभास हुन्छ, तब मात्र उसले त्यहाँ ब्रह्माण्ड उतार्न सक्छ। यदि क्यानभास पहिले नै भरिएको भए, त्यहाँ नयाँ सिर्जनाको कुनै गुञ्जायस नै हुँदैनथ्यो। निशान्तको मस्तिष्कमा विचारका लहरहरू डार्विनको विकासवादी सिद्धान्तबाट सुरु भएर अध्यात्मको तरङ्गसम्म ठोकिइरहेका थिए। उसले सोच्यो, करोडौँ वर्षअघि जब यो पृथ्वीमा ‘केही थिएन’ तब मात्र जीवनको एउटा सानो कोषिका(Cell) विकसित हुने सम्भावना जन्मियो। डार्विनले भनेको Biological Evolution त केवल शरीरको यात्रा थियो बाँदरबाट मानिससम्मको यात्रा तर के मानिस नै अन्तिम सत्य हो त? अहँ, अनुपम स्वामीका वाणी र पुस्तकहरूले उसलाई अर्कै संसार देखाएका थिए। मानिस त एउटा पुल हो, एउटा सम्भावना हो, जसले पशुत्वबाट देवत्वतर्फको Spiritual Evolution तय गर्नुपर्छ। जसरी एलन मस्कले रित्तो मंगल ग्रहमा मानव वस्तीको सम्भावना देख्छन् र रकेटहरू अन्तरिक्षमा हुइँक्याउँछन्, त्यसरी नै एउटा साधकले आफ्नो भित्री शून्यतामा परमात्माको वस्ती बसाउनुपर्छ। मस्कको बाह्य विज्ञान र बुद्धको आन्तरिक विज्ञानको मिलनबिन्दु नै यो ‘केही नहुनु’ को अवस्था हो। निशान्तले सोच्यो, यो संसारको सृष्टि नै शून्यताबाट भएको हो। डार्विनले भने झैँ जीवनको विकास (Biological Evolution) एक कोषीय जीवबाट सुरु भयो, जसको आफ्नो कुनै परिचय थिएन तर त्यही ‘केही नभएको’ अवस्थाबाट आजको यो जटिल मानव मस्तिष्कसम्मको यात्रा सम्भव भयो।  जर्ज गुर्जिएफका दर्शनहरूले निशान्तलाई एउटा नयाँ दृष्टि दिएका थिए। गुर्जिएफले सिकाएको Fourth Way ले भन्छ मानिस एउटा मेसिन हो तर उसभित्र सचेत हुने र ‘आध्यात्मिक विकास’ (Spiritual Evolution) गर्ने अनन्त सम्भावना छ। त्यसका लागि मानिसले पहिले आफ्नो पुरानो अहंकारलाई शून्य बनाउनुपर्छ। निशान्तको मस्तिष्कमा न्युटन र आइन्स्टाइनका तस्विरहरू आए। न्युटनले गुरुत्वाकर्षण भेट्दा र आइन्स्टाइनले सापेक्षतावादको सूत्र कोर्दा, उनीहरू सायद निशान्त जस्तै एउटा यस्तो बिन्दुमा थिए जहाँ उनीहरूलाई ‘केही थाहा थिएन’। जब मानिसले “मलाई केही थाहा छैन” भन्छ, तब मात्र सत्य प्रकट हुने सम्भावना रहन्छ। एलन मस्कले मंगल ग्रहमा बस्ती बसाउने कुरा गर्दा पनि त त्यही शून्यतालाई चुनौती दिएका हुन् जहाँ केही छैन, त्यहाँ ब्रह्माण्ड बनाउन सकिन्छ।

उसले टेबुलमा रहेका धर्मग्रन्थहरूलाई सुम्सुम्यायो। गितामा कृष्णले अर्जुनलाई कर्मको कौशल सिकाउँदै गर्दा अर्जुनको मन निशान्तको जस्तै थियो द्वन्द्व र सम्भावनाको बीचमा। त्रिपिटकमा बुद्धले ‘शून्यता’ को जुन व्याख्या गरे, त्यो अभाव होइन, त्यो त पूर्णताको स्रोत थियो पक्कै पनि। बाइबलले भन्छ, “आत्मामा रित्तो हुनेहरू धन्य हुन्,” र कुरानले भन्छ कि जब तिमी आफ्नो ‘म’ लाई मेटाउँछौ (फना), तब मात्र परमात्माको नूर (उज्यालो) देखिन्छ। उपनिषदको “पूर्णमदः पूर्णमिदम्” को अर्थ नै यही हो कि शून्य आफैँमा पूर्ण छ। निशान्तलाई ओशोको गहिरो कटाक्ष याद आयो। ओशो भन्थे “मर्नु अघि नै मर, ताकि तिमीले जीवनको वास्तविक सम्भावना देख्न सकौ।” यो मृत्यु भौतिक होइन, यो त पुराना धारणा र विचारको मृत्यु हो। माँ आनन्दमयीको मौनता, मिराबाईको प्रेमिल पागलपन र रमण महर्षिको “म को हुँ?” भन्ने प्रश्न यी सबैले निशान्तलाई एउटै कुरा सिकाइरहेका थिए, जब तिमी बाहिरबाट रित्तो हुन्छौ, तब मात्र भित्रबाट भरिन्छौ।

अहिले देशमा निर्वाचनको लहर छ। केहि दिनमै आम निर्वाचन हुँदैछ। झ्याल बाहिर झण्डाहरू फर्फराइरहेका छन्। निशान्तले महसुस गर्यो यो समग्र ब्रह्माण्ड नै अहिले एउटा द्रुत गतिको Evolutionary Pattern मा अगाडि बढिरहेको छ। पुरानो समय गइसक्यो, अब नयाँ चेतनाको उदय अनिवार्य छ। उसले सोच्यो, “मैले मतदान गर्दा केवल एउटा मान्छेलाई होइन,एउटा परिवर्तित सोचलाई भोट दिनुपर्छ।” निशान्तको हृदयमा एउटा दृढ संकल्प जन्मियो। उसले भन्यो “म उसलाई मतदान गर्नेछु, जसले राजनीतिलाई सत्ताको खेल होइन, समाजको ‘Fourth Way’ साधना मान्दछ। म त्यो दल र उम्मेदवारलाई रोज्नेछु, जसको भावनामा प्रकृतिप्रतिको सम्मान, कला र संगीतको सिर्जनात्मकता र बदलिँदो विश्वको चेतना छ।”उसलाई लाग्यो, निर्वाचनको यो क्षण पनि उसको आध्यात्मिक विकासकै एउटा हिस्सा हो। उसले डायरीमा लेख्यो, “म निशान्त हुँ। म न त पुरै शान्त छु, न त पुरै अशान्त। म त त्यो सम्भावना हुँ, जो अब जाग्दैछ। यसपटकको मेरो मत मेरो परिवर्तित चेतनाको प्रमाण हुनेछ। म शून्यबाट सुरु गर्नेछु, किनकि केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” निशान्तले लामो सास फेर्यो। कोठामा अँध्यारो भए पनि उसको भित्र एउटा अद्भूत उज्यालो सल्किसकेको थियो। ऊ अब मतदानको दिनको पर्खाइमा थियो,जहाँ उसको एउटा सानो छनोटले एउटा विशाल परिवर्तनको ढोका खोल्ने सम्भावना बोकेको थियो। त्यो रात निशान्तका लागि केवल एउटा रात थिएन, त्यो त एउटा युगको अन्त्य र अर्को युगको पदचाप थियो। झ्याल बाहिरका सडकहरू निर्वाचनको मौन अवधिमा शान्त थिए तर निशान्तभित्र एउटा अद्भूत मन्थन चलिरहेको थियो। उसले ओछ्यानमा पल्टिएर आफ्नो श्वासप्रश्वासलाई नियाल्यो। अनुपम स्वामीले भनेझैँ, जीवनको सबैभन्दा ठूलो कला भनेकै आफ्नै अस्तित्वसँग लयवद्ध हुनु हो। उसले आफ्नो मनमा व्यक्तिगत शान्ति र यो देशको समग्र शान्तिको एउटा साझा तस्विर बनायो। विस्तारै उसले आफ्नो होसलाई केन्द्रित गर्‍यो। कुनै प्रयास बिना नै भित्र ‘अजपा जाप’ सुरु भयो श्वास भित्र जाँदा र बाहिर आउँदाको त्यो प्राकृतिक संगीत। उसले महसुस गर्‍यो, ऊ न त कर्ता हो, न त भोक्ता, ऊ त केवल एउटा साक्षी हो। यही समर्पणको भावमा, ब्रह्माण्डीय चेतनाप्रति कृतज्ञ हुँदै, निशान्त एउटा गहिरो र ध्यानस्थ निद्रामा निदायो। उसको निद्रा पनि एउटा साधना बन्यो, जहाँ “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु हो” भन्ने बोध उसको नशा-नशामा प्रवाहित भइरहेको थियो।

अन्ततः निर्वाचनको त्यो ऐतिहासिक बिहानी झुल्कियो। निशान्त सबेरै उठ्यो। आज उसको शरीरमा एउटा बेग्लै उर्जा थियो,मानौँ डार्विनको विकासवादले आज एउटा नयाँ फड्को मार्दैछ। ऊ मतदान केन्द्रतर्फ लाग्यो। लाइनमा उभिएका मानिसहरूको भीडमा पनि ऊ आफूलाई एउटा एकान्त टापुमा झैँ महसुस गरिरहेको थियो। उसको मनमा  Self-remembering चलिरहेको थियो। ऊ त्यहाँ थियो तर उसको होस ब्रह्माण्डको त्यो Evolutionary Pattern सँग जोडिएको थियो, जसले पुरानो जडतालाई भत्काएर नयाँ पालुवा हाल्न खोजिरहेको थियो, मतलव आफ्नो पुरानो Loop लाई break गर्ने हिम्मत गरिरहेको थियो, morning healing sessions ले सिकाएको छलाङ्गको अभ्यास गर्ने हिम्मत गरिरहेको थियो । जब उसको पालो आयो र ऊ मतदान गर्ने त्यो सानो, शान्त र एकान्त कुनामा पुग्यो, तब समय रोकिए झैँ भयो। उसको हातमा मतपत्र थियो एउटा कागजको टुक्रा, जसमा देशको आगामी भविष्यका रेखाहरू कोरिएका थिए। निशान्तले त्यो मतपत्रलाई माथिदेखि तलसम्म बिस्तारै, गहिरो नजरले हेर्‍यो। उसले त्यहाँ केवल चिन्हहरू देखेन, उसले त्यहाँ नेपालको गरिबी, सम्भावना,रोदन र हाँसो सबै देख्यो। उसले आफूभित्रको परिवर्तनको प्रवृत्तिलाई नियाल्यो। ऊ अब त्यो पुरानो निशान्त थिएन जो जात, वर्ग, सम्प्रदायिक नारा, लवाइखवाई वा भौगोलिक सीमाको साँघुरो घेरामा बाँधिएको थियो। उसले ती सबै विभेदहरूलाई आफ्नो चेतनाको शून्यतामा विसर्जन गरिदियो। उसले त्यो उम्मेदवार र संगठनलाई खोज्यो, जसले मानिसलाई मानिसको रूपमा मात्र हेर्ने साहस राख्छ, जसले आइन्स्टाइनको तर्क र बुद्धको करुणालाई जोड्न सक्छ। निशान्तले आफ्ना आँखा चिम्लियो। नेपाल र नेपालीलाई सधैं अभिभावकीय भूमिका निर्वाह गरिरहने गोरखनाथको याद गर्दै उसको हृदयबाट एउटा शक्तिशाली ध्वनि गुञ्जियो: “ॐ गोरक्षनाथाय विद्महे महासिद्धाय धीमहि तन्नो गोरक्षः प्रचोदयात् ।”

यो मन्त्रको शक्तिसँगै उसले स्वस्तिक चिन्ह हातमा लियो। उसले आफ्नो मनले खाएको, परिवर्तनको वास्तविक बाहक लागेको जोशिलो उम्मेदवारको चिन्हमा झ्याप्प मत छाप लगायो। त्यो छाप लगाउँदा उसलाई महसुस भयो, ऊ केवल एउटा चिन्हमा छाप लगाइरहेको छैन, ऊ त आफ्नो ‘Spiritual Evolution’ को एउटा नयाँ अध्यायमा हस्ताक्षर गर्दैछ। मतदान गरिसकेपछि उसले मतपत्रलाई अत्यन्तै सम्मानका साथ बिस्तारै पट्यायो। उसले त्यो कागजलाई ढोग्यो, यो ढोग कुनै व्यक्ति वा दललाई थिएन, यो त लोकतन्त्रको त्यो सुन्दर सम्भावना र परमात्माको त्यो न्यायपूर्ण व्यवस्थाप्रतिको श्रद्धा थियो। उसले परमात्माप्रति अगाध कृतज्ञता प्रकट गर्दै मौन पुकार गर्‍यो, हे ब्रह्माण्डीय ऊर्जा ! यो देशको कल्याणहोस्, हामीलाई विभेदबाट एकता तिरअन्धकारबाट ज्योति तिर र अभावबाट अनन्त सम्भावन तर्फ लैजाऊ।” निशान्तले त्यो पट्याइएको मतपत्रलाई बाकसभित्र खसालिदियो। बाकसमा कागज खस्दाको त्यो सानो आवाज उसको कानमा एउटा मधुर संगीत जस्तै सुनियो। मतदान केन्द्रबाट बाहिर निस्कँदै गर्दा निशान्तले आकाशतिर हेर्‍यो। घामको झुल्को उस्तै थियो तर उसलाई संसार फेरिएको जस्तो लाग्यो। उसले बुझ्यो बाहिरको संसार तब मात्र फेरिन्छ जब भित्रको ‘म’ फेरिन्छ। उसको गोजी अझै रित्तै थियो, हातमा केही थिएन तर उसको हृदय एउटा महान् उद्देश्यले भरिएको थियो। उसले फेरि मुस्कुराउँदै सम्झियो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” आज निशान्त साच्चै नै ‘शान्त’ भएको थियो एउटा यस्तो बिन्दु जहाँ रात सकिएर उज्यालोको अनन्त यात्रा सुरु भएको थियो।

सास

एउटा रहस्यमयी कुरा जसमा हाम्रो सारा अस्तित्व टिकेको छ। जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो, तर पनि विरलै त्यसमा ध्यान पुग्छ र विरलै त्यसप्रति अहोभाव महसुस हुन्छ। 

जीवनको चाबी सास सँग छ नै, हाम्रो मानसिक र भावनात्मक अवस्थाको चाबी पनि सास सँग नै छ। विचार र भाव अनुसार हाम्रो सासको प्रकृति फरक-फरक हुन्छ, जस्तै रिस, डर र प्रेममा यी तीन अवस्थामा सासको प्रकृति फरक-फरक हुन्छ। यदि विभिन्न अवस्थाहरूमा सासप्रति ध्यान पुर्‍याउन सक्यौँ भने, बेहोसीमा हुने प्रतिक्रियाहरूमा नियन्त्रण पाउन सकिने रहेछ र सासको प्रकृति परिवर्तन गरेर मानसिक र भावनात्मक अवस्थाप्रति पकड पनि पाउन सकिने रहेछ। 

हाम्रो समग्र जीवनको रहस्य नै सासमा लुकेको रहेछ, त्यसकारण सासप्रति ध्यान पुर्‍याउँदा व्यावहारिक जीवनमा मात्र होइन परमार्थको यात्रामा पनि प्रगति गर्न सकिने रहेछ। 

पच

म पहिलो पटक हनुमान चालिसा सुन्दा भएको अनुभव सम्झन्छु । म त्यो समय सायद दस एघार बर्षको हाराहारीमा थिए । म सम्झन्छु मलाई एक जना साथीले आफुलाई कण्ठ भए जति सुनाएको थियो । शब्दहरु अस्पस्ट र क्रम नमिलेको भए पनि त्यो सुन्दा मेरो शरिर भरी झङ्कारको प्रवाह भयो । त्यो मेरो सायद याद भए अनुसार पहिलो झन्कार थियो । लय र शब्द पनि सरल भएको हुनाले अलि-अलि त एक चोटि सुन्दै कण्ठ भएछ । धेरै नबुझे पनि हनुमानको कथा हो भन्ने त मैले थाहा पाए । त्यो भन्दा अगाडि मैले रामायण टेलिभिजनमा हेरि सकेको थिए । त्यसैले मैले त्यो केहि केही त बुझे । यद्यपि  हनुमान चालिसा मैले त्यो भन्दा  अगाडि कहिल्यै सुनेको थिईन । मलाई हनुमान चालिसा यति मन पर्यो कि मैले उसलाई त्यो किताब मागे सार्छु र फिर्ता गरीदिन्छु भन्ने मनसायले तर अल्छीपनाले त्यो सार्न भने सारिन बरु किताब नै पच हानिदिए । कण्ठ पनि आधाउधी गरे । त्यस पछि त्यो लामो समय थन्किएर बस्यो । त्यो किताब म सँग केही बर्ष अगाडि सम्म पनि थियो । सायद यो नै हो मैले सुरुमा कसैको केही पच हानेको कुरा , त्यो किताबबाट त कण्ठ गरिएन तर अहिले भने सुन्दा सुन्दै लगभग सबै कण्ठ भएछ । अहिले त्यो सम्झिएर रमाईलो लाग्यो ।

सुख भन्दा सन्तुष्टिमा बढि ध्यान दिने

Steve Jobs, यो नाम उच्चारण गर्दा नै आँखा अगाडि आधुनिक संसारको एउटा चम्किलो क्षितिज उभिन्छ ठिङ्ग । एप्पल, आइफोन, आइप्याड, प्रविधिको सौन्दर्य, डिजाइनको शुद्धता, नवप्रवर्तनको साहस यी सबै उनको जीवनसँग गाँसिएका सत्य तथ्यहरू हुन् तर यी चम्किला उपलब्धिहरूको भित्री तहमा एउटा गहिरो, संवेदनशील र क्रमशः रूपान्तरित हुँदै गएको आत्माको कथा लुकेको छ जहाँ सुख खोज्दा खोज्दै थाकेको मन अन्ततः सन्तुष्टिको शरणमा पुग्छ। उनको जीवनको प्रारम्भिक यात्रा महत्वाकांक्षाको तीव्र ज्वालामा दन्किएको थियो। उनी केवल सफल हुन चाहँदैनथे, उनी पूर्णता खोजिरहेका थिए। संसारले जसलाई सुखको प्रतीक मान्छ धन, प्रतिष्ठा, प्रशंसा, शक्ति, सिर्जनात्मक प्रभाव ती सबै वस्तुहरू उनको जीवनमा क्रमशः संकलित हुँदै गए तर ती सबै प्राप्तिहरू, जुन बाहिरबाट अमृतजस्तै देखिन्थे, भित्र पुग्दा क्रमशः नुनिलो समुद्रझैँ तिर्खा बढाउने बने। हरेक नयाँ उपलब्धिले क्षणिक तृप्ति दियो तर त्यो तृप्ति दीर्घकालीन शान्तिमा परिणत हुन सकेन। सुख आयो तर टिकेन। मुस्कान आयो तर मौन दुःखसँगै। उनले स्वयं स्वीकार गरेका थिए कि सफलता र बाह्य उपलब्धिहरूले जीवनलाई अर्थपूर्ण बनाउँछन् भन्ने धारणा अन्ततः अपूर्ण र भ्रमपूर्ण हुन्छ। यही बोध उनको जीवनको मध्य चरणतिर स्पष्ट हुन थाल्यो विशेषतः जब उनलाई जीवनघातक रोग, क्यान्सर देखियो। त्यो क्षणले कुनै चिकित्सकीय सूचना मात्र लिएर आएन बरु एकाएक एउटा आध्यात्मिक भूकम्प जस्तो बनेर आयो जहाँ बाहिरी संरचनाहरू चर्किन थाले र भित्री आत्मा पहिलो पटक नाङ्गो रूपमा उभिन बाध्य भयो। धन, पद, प्रतिष्ठा, प्रभाव यी सबै मृत्युको सामु निष्प्रभ भए। उनले बुझ्न थाले जीवनको अन्तिम सत्यसँग सामना गर्दा कुनै पनि भौतिक उपलब्धिले शान्ति दिन सक्दैन। यहाँबाट उनको सोच, भावना र दृष्टिकोणमा क्रमिक तर गहिरो परिवर्तन सुरु भयो।

पहिलो चरणमा उनले भय र अस्वीकारको अनुभव गरे मृत्युको डर, अपूरो कामको चिन्ता, छुट्ने सम्बन्धहरूको पीडा तर त्यो डर क्रमशः मौन चिन्तनमा रूपान्तरित भयो। मौनले उनलाई प्रश्न गरायो “मैले जीवनभर के खोजिरहेँ?” यही प्रश्नबाट एउटा सूक्ष्म तर निर्णायक बोध उदायो “सुख बाह्य उपलब्धिमा होइन, आन्तरिक सन्तुलनमा अवस्थित हुन्छ।” यो बोध कुनै अचानक आउने प्रकाश थिएन, बरु अनुभूतिको दीर्घ प्रक्रियाबाट प्रसूत भएको चेतनाको निस्सन्देह सत्य थियो। उनले बुझ्न थाले सुख वस्तु हो, सन्तुष्टि अवस्था हो। वस्तु प्राप्त हुँदा सुख मिल्छ तर अवस्था स्थिर हुँदा मात्र शान्ति मिल्छ। यहीँबाट उनको जीवनको दिशा विस्तारै विस्तारै बदलिन थाल्यो। उनको जीवन सरलताको दिशातर्फ फर्किन थाल्यो तर यो सरलता त्यागको नाममा होइन, स्पष्टताको नाममा थियो। उनी अझै काम गर्थे, अझै सिर्जना गर्थे, अझै नेतृत्व गर्थे तर अब ती सबै कर्महरू कुनै आन्तरिक रिक्तता पूर्ति गर्नका लागि होइन, बरु जीवनप्रतिको गहिरो कृतज्ञता अभिव्यक्त गर्नका लागि हुन थाले। उनका सम्बन्धहरू पनि रूपान्तरित भए। पहिले जहाँ सम्बन्ध उपयोगिता र परिणामसँग गाँसिन्थे, अब त्यहाँ सान्निध्य, सहानुभूति र भावनात्मक उपस्थितिको सुगन्ध फैलिन थाल्यो। उनी आफ्नो परिवारप्रति अझ गहिरो रूपमा सचेत बने। पत्नी, सन्तान र नजिकका व्यक्तिहरूसँग बिताएको समय उनलाई जीवनको सबैभन्दा मौलिक सम्पत्ति जस्तो अनुभूत हुन थाल्यो। उनले स्वयं स्वीकार गरेका थिए मृत्युसँग साक्षात्कार भएपछि मात्र मानिसले साँच्चै बुझ्छ कि प्रेम, सम्बन्ध र भित्री शान्ति बाहेक अरू केही पनि अन्ततः साथ जाँदैन।

त्यसो त Steve Jobs मा संगीत, कला, साहित्य र प्रकृति प्रति गहिरो आकर्षण, लगाव र व्यवहारिक अभ्यास पनि थियो । उनलाई विशेषगरी Bob Dylan र The Beatles मन पर्थे। उनले पटक पटक Bob Dylan लाई “मेरो नायक” भनेर उल्लेख गरेका छन्। संगीतलाई उनी केवल मनोरञ्जन होइन, आत्माको भाषा मान्थे। यही कारण iPod र iTunes जस्ता उत्पादनहरू सिर्जना गर्दा उनले “1,000 songs in your pocket” भन्ने भावनात्मक अवधारणा अघि सारे, यो केवल प्रविधि होइन, संगीतप्रतिको प्रेमको प्रतिफल थियो। उनको जीवनको केन्द्रीय धागो नै कला र सौन्दर्य चेतना थियो।उनले Apple उत्पादनहरूमा “Function मात्र होइन, form पनि पवित्र हुनुपर्छ” भन्ने दर्शन लागू गरे। उनले कला, typography (अक्षरकला), architecture, industrial design सबैलाई प्रविधिसँग जोड्ने काम गरे। उनले Reed College मा पढ्दा calligraphy को कक्षा लिए त्यो कुनै करियर आवश्यकता थिएन, केवल सौन्दर्यप्रतिको आकर्षण थियो तर पछि यही अनुभव Macintosh कम्प्युटरमा सुन्दर fonts र typography ल्याउने आधार बन्यो। यो तथ्य उनले Stanford Commencement Speech (2005) मा स्वयं बताएका छन्। उनलाई पश्चिमी मात्र होइन, पूर्वीय दर्शन पनि गहिरो रूपमा आकर्षित गर्थ्यो। उनले युवावस्थामा Autobiography of a Yogi (Paramahansa Yogananda) पढे र जीवनभर त्यही पुस्तक दोहोर्‍याएर पढे। यो पुस्तक उनले आफ्नो अन्त्येष्टि समारोहमा पनि उपस्थित सबैलाई उपहार स्वरूप दिन निर्देशन दिएका थिए। उनलाई प्रकृतिप्रति विशेष आकर्षण थियो। युवावस्थामा उनी भारतसम्म आए, ध्यान, मौन, र सरल जीवनशैलीतर्फ आकर्षित भए। उनी शाकाहारी थिए र समय समयमा उपवास, मौन अभ्यास तथा सरल जीवनशैली अपनाउँथे। उनको जीवनशैलीमा विलासभन्दा सरलता प्रमुख थियो कालो टर्टलनेक, जिन्स, स्निकर्स यो कुनै ब्रान्ड प्रदर्शन होइन, चेतनाको स्पष्टता थियो।

उनको जीवनको उत्तरार्द्ध चरणमा एउटा अद्भुत मानसिक रूपान्तरण स्पष्ट देखिन्छ सुख खोज्ने मानिस सन्तुष्टिमा बस्न सिकिरहेको आत्मामा रूपान्तरित भएको थियो। उनले बाहिरी संसारलाई जितिसकेका थिए, अब उनी भित्री संसारसँग मैत्री गर्न थाले। यही कारण उनले मृत्युबारे भनेको सत्य वाक्य अत्यन्त गहिरो अर्थ बोकेको छ “मृत्यु नै जीवनको सबैभन्दा ठूलो आविष्कार हो।” यो वाक्य मृत्युको महिमा होइन, जीवनको प्राथमिकता पुनर्संरचना गर्ने चेतनाको उद्घोष हो। यस वाक्यमा जीवनको एउटा मौलिक सत्य समेटिएको छ, मृत्युको निश्चितताले नै जीवनलाई अर्थपूर्ण बनाउँछ र त्यही अर्थपूर्णताको खोजमा मानिसले सन्तुष्टिको मार्ग अपनाउन सिक्छ। सुख अनिश्चित हुन्छ, परिस्थितिमा निर्भर हुन्छ तर सन्तुष्टि चेतनामा आधारित हुन्छ। सुख परिवर्तनशील छ, सन्तुष्टि स्थिर छ। सुख परिस्थिति बदलिँदा हराउँछ, सन्तुष्टि परिस्थितिलाई स्वीकार गर्ने सामर्थ्यबाट जन्मिन्छ।

प्रारम्भमा उनी संसार जित्न दौडिए, मध्य चरणमा संसारको सीमितता बुझ्न थाले, र अन्ततः आफूभित्रको शान्ति भेट्टाए। उनको जीवनको प्रारम्भिक दृश्य एउटा विशाल बजार जस्तो थियो जहाँ हरेक वस्तु सुखको नाममा किनिन्थ्यो, बेचिन्थ्यो र हरेक सफलता नयाँ चाहनाको बीउ रोप्थ्यो तर उनको जीवनको अन्तिम दृश्य एउटा शान्त उपवन जस्तो बन्यो जहाँ कुनै वस्तु थिएन तर आत्मा थियो जहाँ कुनै प्रदर्शन थिएन तर उपस्थितिको गहिरो अनुभूति थियो। मतलव सुख होइन सन्तुष्टिको स्वाद थियो । त्यसैले उनको अन्तिम सासको अजपा “Oh wow. Oh wow. Oh wow” गरेर सक्कियो ।

ओके छ त

–अनुपम

यही बतास हो जो अहिले मेरो मुहार स्पर्श गरेर जाँदै छ, साक्षी त्यो कालजयी दुविधाको जहाँ आफुले जानेको बुझेको संसार सबै तहसनहस हुँदो देखेर एउटा योद्धाको मनमा उठेको थियो संशय. यसको उत्तरमा जन्मिएको थियो एउटा यस्तो अद्भूत मार्गचित्र जो आफ्नो मनको दुविधामा कैद कैयौंलाइ सम्बोधन गर्ने दिशामा सार्वकालिक बनेको छ.
त्यही मार्गचित्रलाइ हामी ‘गीता’ भन्छौं. अहिले हाम्रो अघी युद्ध मैदान बनेर प्रस्तुत छ हाम्रै दैनीक जीवन. हामी आफ्ना विचारका हतियारले आफैंलाई हिर्काएर रक्ताम्य बन्न अभ्यस्त छौं. के यत्ती हो जीवन ? के यही हो बाँच्नुको उद्देश्य ? यसबारेमा सोच्दै जाँदा हामी खोज्न् बाध्य हुन्छौं त्यो अन्तीम उत्तर जसले हामीलाई आफ्नो जीवनको गौरव वा स्पष्ट अर्थ बताओस्. मान्छेको पिरोलोको स्थायी समाधान कहाँ छ ? हामी किन दुखी छौं ? के कारणले जीवनमा सकस छ ? धर्तीलाई कर्मभूमी बनाएर चेतनाको विकास गर्ने यात्रा हो जीवन. यो यात्रामा एकअर्काप्रती हृदयमा करुणा राख्न सके त सबैको यात्रा सहज हुन्थ्यो. त्यो सहजताले मेरो जीवन पनि समृद्धी बनेर छुन्थ्यो पक्कै. हृदयमा यो करुणा जागे हाम्रो समयको थुप्रो दुविधा समाधान हुन्थ्यो. के कारणले हृदयको आल्हाद कम हुँदै जान्छ ? किन हामी उत्सवभाव गुमाउँदै जान्छौं, जीवन किन खल्लो खल्लो लाग्दै जान थाल्छ ? हाम्रो समयका प्रश्न यी हुन् शायद जसले हाम्रो मन युद्ध मैदान बनाएको हुन्छ. के भन्यो गीताले अन्तीम उत्तरका रुपमा जसले गर्दा हात काँपेर हतियार छाडेको योद्धा विजयको शिखरमा पुग्यो ?

न जायते म्रियते वा कदाचि-
न्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ॥ २.२० ॥

बाहिरको दौड एकछिन थाती राखेर यो सोच, संसारमा तिमी सबथोक परिवर्तनशील देख्छौ, तिम्रै शरीर पनि त बदलिरहेको छ प्रतिपल. तर यो सबै परिवर्तन बोधको कहीं कतै कुनामा, एउटा यस्तो अवस्था छ जो द्रष्टा बनेर चुपचाप छ. आनन्द त्यसको स्वभाव हो. विवेक त्यसको स्वभाव हो. कर्मको श्रेष्ठता त्यसको स्वभाव हो.
त्यहाँ आउ र स्वधर्मको बोध गर. हाम्रो दैनीक जीवनमा गीताको ज्ञान योगको देशना सार्थक यसरी हुन्छ, मनका सबै विचारलाई खासगरी नकारात्मक विचारलाई उती वास्ता नदेउ. उद्वेगका क्षणमा, आक्रोशको क्षणमा त्यो शान्त आनन्द खोज्ने प्रयास गर एकछिन अडिएर आफैंमा. तनावका बादल कम हुन थाल्छन्. हिम्मत आउन थाल्छ. जीवनमा सार्थकता देखिन थाल्छ. अब यो स्थीरतामा निर्णय गर, नत्र एकछिनको आक्रोशले तिम्रो जीवनभरको निर्माण क्षयमा जान्छ.

प्रेम र भक्ती पनि समाधान हो जीवनको अस्वादको. हामी मिठो गीत सुनेर आँसु बहाउन सक्ने प्राणी हौँ. कहिलेकाहीं जीवनको स्वाद टाउकोबाट बाँचेको जीवनमा नभेटिएर हृदयबाट बाँचेको जीवनमा भेटिन्छ.
भक्तिको अतिरेकमा जे बाँकी रहन्छ ज्ञान विलय हुने त्यही सागरमा हो. कृष्णको भक्ति योगको व्याख्या हाम्रो समयमा यसरी सार्थक हुन्छ. यसरी बहाउ आफुलाई समर्पणमा, परमात्माको सागर अट्ने ठाउँ बन्छ तिम्रो हृदय. काम न ठुलो हुन्छ न सानो. कामको आधारमा मान्छे तुलना नगर. हरेकको आफ्नो काम छ, रुची छ. काम आनन्द हो. काम गर्न पाउनु सौभाग्य हो. यो आनन्दबोध हो कर्मयोगको सार. तत्वले तत्वलाइ तत्व सरह जान्दछ जब मनले केही विश्राम पाउँदछ. मनको यो विश्राममा उत्तर छ अटुट आनन्द बोधको. यही आनन्द हृदयमा हुँदा हाम्रो सिर्जना पौरख बन्दछ.