श्रद्धा, ज्ञान, विनय र पात्रताको यात्रा

मानसको जीवन लामो समय अन्धकारमय थियो, तर्कका प्रश्न प्रचुर तर उत्तर दिने हृदय शून्य। ज्ञानको घमण्ड थियो, शान्ति थिएन तर जब गुरुप्रतिको निष्कलुष श्रद्धाको पहिलो किरण उनको अन्तरमा पस्यो, अहङ्कारको हिउँ पग्लन थाल्यो। त्यो पग्लाइमा कोलाहल थिएन, केवल एउटा रहस्यमयी मुस्कान थियो, “अब फर्कने बेला भयो।”

श्रद्धाले हृदयका ढोका बलले होइन, प्रेमले ढकढक्यायो। हृदय खुल्दा गुरुका वचन शब्द नभई दिव्य ज्योति बने र तिनले मानसका पीडाहरू पखाल्न थाले। ऊ नयाँ सिकिरहेको थिएन, बरु जन्मौँदेखि बिर्सिएको आफ्नै सत्य सम्झिरहेको थियो।

ज्ञान जति फैलियो, ‘म’ को छाया त्यति हरायो। फलेको वृक्ष झुकेजस्तै ऊ विनयले भरियो त्यो नम्रता बिना प्रदर्शन, आफ्नो अज्ञान र संसारप्रति गहिरो करुणाले युक्त थियो।

अन्ततः विनयले उनलाई रित्तो, निर्मल पात्र बनायो। ‘म’ हराएको ठाउँमा सत्य अवतरित भयो शास्त्रका रहस्य, जीवनका अर्थ, चेतनाका स्पन्दन सहजै त्यस पात्रमा ओर्लिए। ऊ मुस्कुरायो त्यो आत्माको मुस्कान जसमा ड्रागनफ्रुटको बिहानी रंगमा घामका कान्तिले रातभरिका शितालु रुझानलाई करुणा, रहस्य र समर्पणको आनन्दले न्यानो पार्दै गरे जसरी …. अनि  स्वास-प्रस्वासमै भाव मिलाएर मानसिक मन्त्र जप मै डुबिरहे जसरी।

मिलीटरी माइन्डसेट

विगत केही दिनदेखि मिलिटरीको ट्रेनिङ र जीवनको बारेमा म युट्युबमा पोडकास्टहरू हेरीरहेको छु। ती भिडियोहरू हेर्दा आफ्नो पनि अभ्यासमा प्रेरणा मिल्ने रहेछ भन्ने आभास भयो। हाम्रो जीवनमा विभिन्न किसिमका उद्देश्यहरू हुने गर्छन्। र त्यो उद्देश्यमा पुग्न सधैं सजिलो हुँदैन, विभिन्न कुराहरूको जोडले मात्र उद्देश्यमा पुग्न सकिन्छ। र त्यसमध्ये कमाण्डो माइन्डसेटबाट मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुराहरू लगनशीलता, निरन्तरता र आफ्नो सिद्धान्तप्रति कटिबद्धता हुन्। यी भिडियोहरू हेरेपछि यस्तो लाग्ने रहेछ कि जीवनमा कमाण्डो माइन्डसेट भयो भने केही पनि असम्भव छैन।

भावको दुनियाँ

जब तर्कका प्रकाण्ड महारथिहरूले पृथ्वीलाई आफ्नो अकाट्य प्रमाणको सञ्जालले ढाक्दै लगे, तब ब्रह्माण्ड एउटा गणितीय निर्ममतामा परिणत भयो। अनौठो विरोधाभास त तब जन्मियो, जब बौद्धिक मानसले प्रेम जस्तो अमूर्त संवेगलाई पनि सिद्धान्त र समीकरणका बजारिया तराजुमा जोख्न थाल्यो भने अर्कोतर्फ, ब्रह्माण्डलाई पग्लिएर अङ्गाल्नुपर्ने भावुक मानस कठोर हिसाब-किताब, अन्वेषण र द्वन्द्वका भिडन्तहरूमा होमियो। यो उल्टो ध्रुवीकरणले अस्तित्वको शाश्वत व्यवस्थालाई भयानक असन्तुलनको डिलमा पुर्‍याइदियो, जहाँ श्रद्धा, भक्ति र समर्पण जस्ता दिव्य भावहरू केवल रकम, चन्दन, माला, अक्षता र वस्त्र जस्ता बाह्य लवाइ-खवाइको सामाजिक तर्कमा संकुचित भएर सबै कुरा अव्यवस्थित, शुष्क र निर्जिव बन्दै गयो।

यसैक्रममा चेतनाले  महाकल्पको गतिमा एकाएक निकै ठूलो फट्को मारेपछि, मरुभूमिकृत चेतनाको यो सङ्कटकालमा भावको दुनियाँमा डुबिरहेको चपौलीको शून्यताबाट ‘मोर्निङ्ग हिलिङ्ग सेसन’ को धुनमा ‘श्री विद्या’ रुपी एउटा शाश्वत प्रकाश अङ्कुराउन थाल्यो, जहाँ संसारले पवनपुत्र हनुमानको दैहिक पराक्रम मात्र देखिरहेको बेला अचानक मानिसको भित्री चक्षुले उनको श्रीरामप्रतिको त्यो अगाध श्रद्धा, निष्कम्प भक्ति र पूर्ण समर्पणको “भाव” अनुभूत गर्‍यो। अकस्मात्, अक्षर र शास्त्रका लामा ठेलीहरू भन्दा पहिले गुरुप्रतिको आदिम विश्वास भेटिन थाल्यो अनि मस्तिष्कको अहंकारी पर्दा च्यातिएपछि यो अनन्त सृष्टि र यसका सूक्ष्म गतिहरू मेरो क्षुद्र ‘म’ ले होइन, बरु मभन्दा धेरै माथि रहेको कुनै महा-बिराट, अचिन्त्य शक्तिले सञ्चालन गरिरहेको रहेछ भन्ने दिव्य आभास हुन थाल्यो। यो बोध हुनासाथ मानिसको अहंकार पूरै गल्यो र कृतज्ञताको बाढी आएसँगै ऊ केवल धन्यवादको महाभावमा लीन भएर निष्काम कर्म र क्षमा भावमा रूपान्तरित हुँदै, आफ्नो ज्ञानलाई एकदमै तुच्छ महसुस गरी आफ्ना समस्त क्रियाकलापलाई परमतत्वकै चरणमा अर्पण गरेर होसपूर्वक आफ्नै श्वासको तानमा फर्कियो। 

अन्ततः ऊ अचल एकाग्रताका साथ अस्तित्वको शाश्वत लयमा समाहित हुँदै, “पूरकमा ॐ, रेचकमा दुं दुर्गायै नम:” को श्वास-प्रश्वासमा पूणर्तः समर्पित हुन थाल्यो, जहाँ तर्कको शुष्क दुनियाँ सदाका लागि समाप्त भएर भावको अनन्त दुनियाँ सुरु भयो… 🙏❣️

आवाजको दुनिया

कालो रातको सुनसान पृष्ठभूमिमा एउटा निस्तब्धता व्याप्त थियो, जहाँ जीवन केवल एक निष्प्राण यन्त्र झैं घस्रिरहेको थियो। मानसको गहिरो मरुभूमिमा छटपटाइरहेको एउटा क्यान्सर बिरामी र थाकेको चेतनाले केवल एउटै कुरा खोजिरहेको थियो ‘मुक्ति’ त्यो मुक्ति, जुन कुनै ओखतीमा थिएन, न त कुनै भौतिक स्पर्शमा नै उपलब्ध थियो।

झ्यालबाट छिरेको मधुरो जूनको प्रकाशसँगै, अचानक कोठाको हावामा एउटा अलौकिक कम्पन तरंगित भयो। त्यो बेथोवेनको नवौं सिम्फनीको त्यो गम्भीर गर्जन थियो, जसले नियतिको ढोकामा ढकढक्याइरहेको भान हुन्थ्यो। लगत्तै मोजार्टको ‘रेक्वियम’ का सूक्ष्म र पवित्र स्वरहरू अन्तरिक्षका ताराहरू झैं खस्न थाले। यी केवल ध्वनि तरङ्गहरू मात्र थिएनन् यी त ब्रह्माण्डका अदृश्य चिकित्सकहरू थिए। वर्षौंदेखि जकडिएको मानसिक र शारीरिक व्याधिको घाउमा यो सङ्गीत एउटा दिव्य मलम बनिदियो। सङ्गीतको यो पराकम्पनले प्रमाणित गरिदियो कि, जब औषधिले हार मान्छ, तब सुर र तालले कोष कोषमा नवजीवनको सञ्चार गरेर असाध्य रोगलाई समेत परास्त गर्न सक्छन्।

त्यो ध्वनिको गहिराइ सामान्य कानले सुन्ने सिमाभन्दा निकै माथि थियो। यो त प्राचीन वैदिक मन्त्रहरूको गुञ्जन जस्तै थियो। सङ्गीतका ती सातै सुरहरू वास्तवमा ब्रह्माण्डलाई चलायमान बनाउने ‘बीज मन्त्र’ का संकुचित रूप थिए। ‘ॐ’ को आदिम कम्पन झैं, बीज मन्त्रको साथमा देवीत्व झैँ प्रत्येक तान र प्रत्येक रागले चेतनाको ढोका खोल्ने सामर्थ्य राख्थे। जसरी बीज मन्त्रले एउटा सानो गेडाभित्र विशाल वृक्षको सम्भावना लुकाउँछ, त्यसरी नै यो आवाजले मानवभित्रको सुसुप्त ऊर्जालाई जगाइरहेको थियो।

ध्वनिको यो यात्रा स्थूलबाट सूक्ष्मतिरको महायात्रा थियो। भौतिक कानले सुनेको सङ्गीत बिस्तारै इन्द्रियहरूको सीमा नाघेर भित्री चेतनाको गहिराइमा पुग्यो। इन्द्रियहरूको कोलाहल शान्त भयो र आत्माको ढोका उघ्रियो। यो ध्वनि संवाहक बन्यो, जसले मानिसलाई बाहिरी संसारको भ्रमबाट मुक्त गराई आफ्नै अन्तरात्माको शाश्वत शान्तिसँग साक्षात्कार गराइदियो।

त्यस महायात्राको चरमोत्कर्ष तब भयो, जब पृष्ठभूमिमा ‘गुरु’ को वाणी गुञ्जियो। गुरुको त्यो आवाजमा कुनै कृत्रिम सङ्गीत थिएन, तर त्यहाँ एउटा यस्तो अद्भूत लय र गुरुत्व थियो, जसले ढुङ्गा जस्तो कडा हृदयलाई पनि पग्लिएर पानी बनाइदिन सक्थ्यो। त्यो वाणीको लय कुनै अलौकिक मन्त्र जस्तै बन्यो, जसले सुन्नेको आत्मालाई नै मन्त्रमुग्ध र पावन गराइदियो। त्यो भौतिक शरीरको आवाज थिएन, त्यो त सिधै आत्माबाट निस्किएको र आत्मालाई नै पुकार्ने ब्रह्माण्डीय राग थियो। गुरुको त्यो ‘आवाज’ ले हाडछालाको मत्र्य शरीरलाई मात्र छोएन, बरु अहंकारको पर्दा च्यातेर मानवलाई उसको आफ्नै अनादि, अनन्त आत्मासँग भेटाएरै छाड्यो। अन्ततः कोठामा फेरि सन्नाटा छायो तर यो सन्नाटा रित्तो थिएन यो त ब्रह्माण्डको सबैभन्दा ठूलो ‘आवाज’ ले भरिएको एउटा जीवन्त मौनता थियो।

जीवन निरन्तर बगिरहेको चेतनाको नदी हो!!

जीवनको यात्रामा मानिस कहिले बाहिरको संसारमा हराउँछ, कहिले आफ्नै भित्रको मौनतामा फर्किन्छ। यी दुई धारा बीच बग्दै बग्दै ऊ बिस्तारै आफूलाई बुझ्ने प्रयास गर्छ। कहिलेकाहीँ मनले भन्छ-म केवल आफैंमा सीमित रहन्छु, संसारसँग कुनै सम्बन्ध राख्दिन। तर फेरि समयले सिकाउँछ-जीवन एक्लोपन होइन, यो त सम्बन्ध, जिम्मेवारी र प्रेमको विशाल नदी हो, जसमा सबै कुरा जोडिएर बगिरहेको हुन्छ।

मानिस जब केवल “म” मा अडिन्छ, तब संसार सानो देखिन थाल्छ, तर मन भित्र खालीपन बढ्दै जान्छ। अनि जब ऊ संसारसँग सम्बन्ध जोडेर, करुणा र समझदारीका साथ बाँच्न थाल्छ, तब जीवन विस्तारै भरिँदै जान्छ। साँचो शान्ति न त पूर्ण अलगमा हुन्छ, न त केवल बाहिरी दौडधूपमा। यो त सन्तुलनको कमलो सुगन्ध हो, जहाँ आफू र संसार दुबैलाई समान प्रेमले हेर्न सकिन्छ।

प्रत्येक मानिसको भित्री स्वभाव अत्यन्त सरल, शान्त र प्रकाशमय हुन्छ। तर समय, अनुभव र चाहनाले त्यो स्वभावमा धेरै तहहरू जमाउँदै जान्छ। इच्छा, डर, अपेक्षा, तुलना र असन्तोषले मनलाई ढाकिदिन्छन्। अनि मानिसलाई लाग्छ-म हराएँ। तर सत्य यो हो कि हामी कहिल्यै हराउँदैनौँ, केवल आफैंलाई बिर्सन्छौँ। त्यो मूल स्वभाव अझै पनि भित्रै छ-निरन्तर प्रतीक्षा गरिरहेको, हामी फर्किने क्षणको लागि।

जीवनको भित्री यात्रामा अनुशासन र नियमहरू कहिलेकाहीँ कठोर जस्ता लाग्न सक्छन्। मन स्वतन्त्रता खोज्छ, तर त्यो स्वतन्त्रता दिशाहीन भयो भने भ्रम बन्छ। नदी जस्तै जीवन पनि जब किनाराभित्र बग्छ, तब मात्र गहिरो, स्थिर र उपयोगी बन्छ। अनुशासन कुनै जेल होइन, यो त त्यो संरचना हो जसले मनलाई बिखरिनबाट जोगाउँछ र ऊर्जालाई केन्द्रित बनाउँछ।

साधना कुनै छोटो बाटो होइन, न त केवल कुनै इच्छा पूरा गर्ने उपाय हो। यो त एक गहिरो यात्रा हो, जहाँ मानिस आफ्नो भित्री शून्यतासँग भेट गर्छ। जब साधना “मलाई केही प्राप्त गर्नुपर्छ” भन्ने चाहनाबाट चल्छ, तब मन अझै बाँधिन्छ। तर जब साधना केवल प्रेम, समर्पण र निरन्तर अभ्यास बन्छ, तब यात्रा आफैंमा फल बन्न थाल्छ।

प्राप्ति कहिल्यै मागेर आउँदैन। यो त मौन परिपक्वताको उपहार हो। जस्तै बीउलाई माटोमा हराउन दिनुपर्छ, त्यसपछि मात्र त्यो वृक्ष बन्न सक्छ। त्यस्तै, मनलाई पनि कहिलेकाहीँ खाली हुन दिनुपर्छ-अहंकार, अपेक्षा र बोझहरूबाट मुक्त। यही खालीपनमा भित्री प्रकाश अंकुरिन्छ।

मानिसको जीवनको मूल उद्देश्य बाहिरका उपलब्धिहरू मात्र होइन, भित्रको सत्यसँग भेट हुनु हो। त्यो सत्य शान्त छ, सरल छ, र सधैं उपस्थित छ। त्यसलाई पाउन टाढा जानुपर्दैन-केवल फर्किनुपर्छ, आफ्नै भित्र। जब मानिस आफ्नो मूल स्वभावसँग जोडिन्छ, तब ऊ हलुका हुन्छ, शान्त हुन्छ, र जीवन आफैं अर्थपूर्ण बन्छ।

कहिलेकाहीँ साधनाको बाटो सजिलो लाग्दैन। मन भड्किन्छ, विचारहरू दौडिन्छन्, र ध्यान टुट्छ। तर यही पुनः फर्किने अभ्यास नै साधना हो। बारम्बार भड्किएर पनि फेरि केन्द्रमा आउनु नै वास्तविक अभ्यास हो। कुनै असफलता होइन, यो त जागरणतर्फको यात्रा हो।

गुरुको मार्गदर्शन, शुद्ध संगत र नियमित अभ्यासले यो यात्रा अझ स्पष्ट बनाउँछ। समूहमा गरिएको साधनाले मनलाई स्थिरता दिन्छ, किनकि साझा ऊर्जा शक्तिशाली हुन्छ। एक्लोपनमा पनि त्यो सामूहिक प्रकाशले बाटो देखाइरहन्छ।

अन्ततः जीवन कुनै अन्तिम गन्तव्य होइन, यो त निरन्तर बगिरहेको चेतनाको नदी हो। यसलाई बुझ्दै जानु, स्वीकार्दै जानु, र प्रेमपूर्वक बाँच्दै जानु नै वास्तविक साधना हो। जब भित्र शान्ति हुन्छ, तब बाहिरको संसार पनि सुन्दर देखिन्छ। अनि अन्ततः बुझिन्छ-हामी कहिल्यै छुट्टिएका थिएनौँ, हामी सधैं त्यही मौन पूर्णताको हिस्सा थियौँ!!!

विज्ञान कक्षा

विज्ञानको कक्षा सुरु भएको थियो । मलाई विज्ञान बिषय सारै मन पर्ने , त्यसैले म आफ्नो पूरा ध्यान सरको शब्दहरुमा दिइरहेको थिए । उहाँ ध्वनिको बिषयमा बोल्दै हुनुहुन्थ्यो । ध्वनि उर्जा हो र यो परिवर्तन मात्र हुन्छ , नाश हुदैन भनेर भन्दै हुनुहुन्थ्यो । मैले प्रश्न गरे ” हामीले बोलेको सबै कुरा परिवर्तन मात्र भएको हो भने , अहिले हावामा हराएको कुरा पछि फेरि सुन्न सकिन्छ ? ” अहिले त्यसो गर्न सकिएको छैन तर भविष्यमा नसकिएला भन्न सकिँदैन । अहिले तिमीहरुले बोलेको कुरा आउदो पुस्ताले सुन्न पनि सक्छ । हाम्रो पुर्खाले त यस्तो यस्तो भनेका रहेछन् भनेर उनिहरुले सुन्न पनि सक्छन् । विज्ञानमा धेरै सम्भावना हुन्छ । बत्ती , रेल मोबाइलहरु पनि त्यस्तै एक सम्भावना मात्र त थियो । पछि वैज्ञानिकहरुले आविष्कार गर्नु भयो । अहिले हामीलाई यी कुरा सामान्य लाग्छ । त्यसैले बोल्दा होस पुर्‍याउनु पर्छ । जे पाए त्यही बोल्नु हुदैन । मलाई सरको कुरा सुने पछि , अहो मैले त धेरै कुरा चाहिने नचाहिने बोलेको छु । त्यो पछि कसैले सुन्यो भने के गर्ने भन्ने बिचारहरु आउन थाल्यो । त्यसपछि केही नराम्रो कुरा बोल्न लाग्दा , यहि कुरा आउने गर्थ्यो । त्यसरी नराम्रो बोल्ने बानी केहि यसरी पनि कम भएछ ।

प्रकृति र पुरुष

सनातन धर्ममा दुई प्रकारका धारहरू देख्न पाइन्छ। एउटा पुरुषवादी धार र अर्को प्रकृतिवादी धार। वा भनौँ सूर्यवंशी परम्परा र चन्द्रवंशी परम्परा। र युग वा समयको चक्रमा कहिले सूर्यवंशी परम्परा हाबी हुन्छ त कहिले चन्द्रवंशी परम्परा। सूर्यवंशी परम्पराको गुण हुन्छ अनुशासन, धर्म अथवा कर्तव्य पालना, मान-सम्मान, सत्य। चन्द्रवंशी परम्पराको गुण हुन्छ सौन्दर्यता, सृजनात्मकता, स्वतन्त्रता। दुवै सभ्यताका दर्शनको राम्रा नराम्रा आयामहरू छन्। एउटा मात्र परम्परा आफैँमा अपूर्ण जस्तो लाग्छ। यी दुईमध्ये एक धारवादी हुनुभन्दा शायद यी दुवै परम्पराको सुन्दर समायोजनले नै पूर्ण व्यावहारिक र पारमार्थिक सत्यको दर्शन सिर्जना गर्न सक्छ जस्तो लाग्छ।

महाकल्पको बाँसुरी

महाशून्यको निःशब्द नाभिमा जहाँ कालचक्र आफैँ निदाएको थियो , त्यहाँ एक अदृश्य दिव्यसभा सम्पन्न भयो। परमात्माले आगामी महाकल्पको सृष्टि-सूत्राधार चयन गर्दै थिए। महाकालको डमरुले ब्रह्माण्डको अन्तिम ढुकढुकी पगाल्दै थियो। पञ्चतत्त्व लीन भइसकेका थिए। यो महाकल्पको महाविश्राम थियो। सृष्टिकर्ता र संहारकर्ता दुवै शून्यको एउटै विन्दुमा एकाकार थिए। त्यस करुण-मधुर महाभैरवी रागको बीचमा, महाशून्यको छातीमा एउटा मात्र कम्पन जीवन्त थियो, त्यो थियो आदिम र सनातन ‘दासभाव’ को अश्रु-तरङ्ग। जहाँ भक्तले आफ्नो ‘म’ कहिल्यै कल्पेको थिएन, त्यहाँ आज ‘म’ विसर्जनको सुवासले समष्टि नै सुगन्धित थियो। परमात्माको महाकरुणा एउटा नौलो निर्णयमा रूपान्तरित हुँदै थियो।

शून्यबाट महावाणी गुञ्जियो: “हे निष्काम चेतना! तिम्रो भक्ति नै अबको महाकल्प सृष्टिको बीजाक्षर बन्नेछ।”

परमात्माले नयाँ सृष्टि, आकाश र समयको जिम्मा अञ्जनीपुत्र लाई सुम्पिदिए। जसले कहिल्यै स्वामित्वको रहर गरेन, आज उनी नै सम्पूर्ण ब्रह्माण्डका एकल संवाहक बन्नु नियतिको सबैभन्दा सुन्दर न्याय थियो। हनुमानको हृदयमा यो जिम्मेवारी अहंकार बनेर आएन। उनका दुई थोपा आँसुले महाशून्यको क्यानभासमा भावुक चित्र कोरिदियो। स्वामित्व त उनलाई गह्रौँ पो भएको थियो, उनलाई त केवल सेवाको सामीप्य मात्र प्रिय थियो। हत्केलामा नव-सृष्टिको बीज नियाल्दै त्यहाँ न ब्रह्माको अहंकार थियो, न संहारको भय। त्यहाँ त केवल परमप्रभुको स्मृति र भक्तिको एकाधिकार थियो।

—~~~~~~~~~

यता भने उसले सधैं निहुरिरहने सुन्दर हनुमान मूर्ति पूजाकोठाबाट निकाल्यो। सिँदुरको टिका लगाइसकेर, चमेलीका फूल सिउरीभ्याएर, मेरो हत्केलाभरि ढाकाटोपीमा गुट्मुट्याएर थमाइदियो। मूर्तिभरि दलिएका सिँदुर देखेर मनमा एउटै प्रश्न उब्जियो: ‘सिँदुरको टिका लगाउँदा रामको दिर्घायु हुन्छ भन्ने जब सीताको मुखारविन्दबाट सुन्न पाए, जिउभरिनै दल्दा झन् कति दिर्घायु हुन्छ होला सोचेर हनुमानले कति दले होलान् भन्दा पनि कसरी कुन भावमा दले होलान् ? ‘

……

त्यही प्रश्नको मौन उत्तर झैँ भान हुने कतै टाढा महाकल्पको बाँसुरी बजिरह्यो … 🎶…

रत्नप्रसाद बाजेको गोजी र मेरो बाल मस्तिष्क

म सानो छँदा निकै चकचके थिएँ। बाल्यकालमा विभिन्न बाल सुलभ क्रियाकलाप गर्नु र चकचक गर्नु स्वाभाविक नै हो, जुन कुरा मलाई अहिले आएर मात्र महसुस हुन्छ। तर, मेरो त्यो चकचकेपनको एउटै अचुक औषधि हुनुहुन्थ्यो— रत्नप्रसाद बाजे।

उहाँ गोरो वर्ण र अग्लो कद भएको एक वृद्ध हुनुहुन्थ्यो। उहाँको पहिरन सधैँ उस्तै हुन्थ्यो; तल कछाड, भित्र सेतो स्यान्डो गन्जी र बाहिरपट्टि ठुलठुला धोक्रे गोजी भएको ज्वारीकोट। टाउकोमा कच्याककुचुक परेको नेपाली टोपी त उहाँको कहिल्यै छुट्दैनथ्यो।

मलाई उहाँको त्यही धोक्रे गोजीको असाध्यै डर लाग्थ्यो। जब म पढ्न अल्छी गर्थेँ वा कुनै चकचक गर्थेँ, तब मलाई ‘रत्न बाको गोजी’ को डर देखाइन्थ्यो। विशेष गरी मेरा दिदीहरूले “ल है, चकचक गरिस् भने रत्न बाले त्यो ठुलो धोक्रे गोजीमा हालेर लैजानुहुन्छ” भनेर तर्साउनुहुन्थ्यो। “रत्न बा आउनुभयो” भन्ने सुनेपछि मेरो सातो जान्थ्यो। गोजीमा हालेर कता लैजाने हुन् भन्ने बाल सुलभ त्रासले गर्दा मन नलागे पनि अह्राएको काम गर्न म बाध्य हुन्थेँ। म दस वर्षको हुँदासम्म यो डर मेरो मनको गहिराइमा जरो गाडेर बसेको थियो।

एक दिन रत्न बा बित्नुभयो। उहाँको निधनमा गाउँघर र परिवारका सबै दुःखी भए। तर, त्यो भीडमा म मात्र यस्तो थिएँ, जो भित्रभित्रै खुसी भइरहेको थियो। ‘अब त रत्न बा आउन सक्नुहुन्न, उहाँले गोजीमा हालेर लैजाने डर पनि सकियो’ भन्ने बाल मस्तिष्कको बुझाइ थियो त्यो। तर, मेरो त्यो खुसी धेरै दिन टिकेन। केही दिनपछि दिदीहरूले “अब त रत्न बाको भूत आउँछ” भनेर मेरो डरलाई झन् बढाइदिनुभयो। भूत भन्ने बित्तिकै म झन् त्रसित भएँ। समयसँगै म ठुलो हुँदै गएँ र बिस्तारै त्यो भूतको डर पनि मस्तिष्कको कुनै कुनामा बिलाउँदै गयो।

अहिले जब म ती दिनहरू सम्झिन्छु, रत्न बाको अनुहार मेरो आँखामा झलझली आउँछ। खैनी खाएर काला-पहेँला भएका दाँत देखाएर हाँस्दा ती अग्ला बूढा मानिस साँच्चै सुन्दर देखिनुहुन्थ्यो। आज लाग्छ, यदि कतै रत्न बालाई भेट्न पाएको भए मज्जाले कुरा गर्थेँ र सोध्थेँ— “बा, के तपाईँ साँच्चै बच्चा बोक्ने मान्छे हुनुहुन्थ्यो र?”

कता-कता लाग्छ, बाले पनि मेरो त्यो डरलाई अज्ञानमै भए पनि साथ दिनुभयो होला ! नत्र उहाँले पनि त्यो त्रासको पर्खाल भत्काएर, “आइज नाति, म तँलाई बोक्छु” वा “तँलाई यो किन्दिन्छु” भनेर आत्मीयता जगाउनुभएको भए, सायद मैले उति बेलै त्यो डरलाई जित्न सक्थेँ होला। तर बाल मनस्थितिमा जबरजस्ती घुसाइदिएको त्यो डरले गर्दा न उहाँले कहिल्यै खुलेर आफ्नो माया दर्साउन सक्नुभयो, न त मैले नै बाल्यकालमा उहाँलाई एउटा असल र मायालु मान्छेको रूपमा बुझ्न सकेँ।

आज फर्केर हेर्दा लाग्छ, बा आफैँमा त्यस्ता खराब वा डरलाग्दा मान्छे पक्कै हुनुहुन्नथ्यो। मेरो बाल मस्तिष्कमा उहाँको छवि एउटा ‘बच्चा गोजीमा हालेर लैजाने’ क्रूर मानिसको रूपमा जबरजस्ती कोरिएको मात्र थियो। डर, रिस, लोभ, मोह, माया र करुणा— यी सायद मानिस जन्मँदै लिएर आउने प्राकृतिक भावहरू होलान्। तर हामीले के सिक्छौँ र कुन भावले जरा गाड्छ भन्ने कुरा बाल्यकालमा आफूभन्दा अग्रजहरूले कुन भावनालाई बढी उक्साउँछन्, त्यसमै भर पर्ने रहेछ।

मलाई बेलैमा माया र करुणा सिकाइएको भए, मेरो सिक्न चाहने उत्सुकतालाई बुझेर सोहीअनुरूपको व्यवहार गरिएको भए, सायद मलाई रत्न बाको गोजीको त्यो कालो त्रासले कहिल्यै छुने थिएन होला। एउटा बच्चाले अग्रजहरूबाट जे सुन्छ, त्यही कुरालाई निरपेक्ष सत्य मान्दो रहेछ। म आफैँले पनि उति बेला आफ्नो बाल सुलभ डरकै कारण रत्न बाभित्रको मायालु मान्छेलाई चिन्न सकिनँ, जुन कुरा आज मलाई मेरो आफ्नै आत्म आलोचनाको पाटो जस्तो लाग्छ।

यो घटनाले मलाई एउटा गहिरो जीवनोपयोगी ज्ञान दिएको छ— बालबालिकालाई डर देखाएर होइन, माया र करुणाले हुर्काउनुपर्छ। अरूले राखिदिएको त्रासको जगमा हुर्किएको मनोविज्ञानले मानिसलाई जीवनभर कतै न कतै पिरोलिरहन्छ। यही सिकाइका कारण म मेरा सन्तानलाई यस्ता भ्रामक त्रासहरूबाट सधैँ टाढा राख्न चाहन्छु र उनीहरूको बाल मस्तिष्कमा करुणाको मात्र बीजारोपण गर्न चाहन्छु।

जे भयो, त्यो समय र समाजको हुर्काइको उपज थियो। तर आज, समयको यो मोडमा उभिएर हेर्दा, रत्न बाप्रति मेरो मनमा अगाध करुणा र सम्मान छ। बा, तपाईँ जहाँ हुनुहुन्छ, सधैँ खुसी र शान्त रहनुहोस् भन्ने हृदयदेखि कामना गर्छु !

~ अनिल भट्टराई

सिमल र म

एक महिना अघिको कुरा हो… म आफ्नो पहाडी घर, Sankhuwasabha को त्यो पुरानो आँगन, त्यो बाल्यकालको धुलो, त्यो सम्झनाले भरिएको बाटो छोडेर बाइकमा फर्कँदै थिएँ Kathmandu तिर।

घुम्तीहरू पार हुँदै गए, खोल्साहरू पछाडि छुट्दै गए, पहाडहरू बिस्तारै टाढिँदै गए।

तर त्यो दिन, मेरो यात्रा केवल सडकको थिएन, मेरो यात्रा मेरो आफ्नै मनभित्र पनि चलिरहेको थियो।

बाटाभरि सिमलका अग्ला-अग्ला रूखहरू उभिएका थिए। जसरी कुनै मौन ऋषि सदियौँदेखि त्यहीँ उभिएर जीवनको पाठ पढाइरहेका हुन्छन्।

तिनका हाँगाबाट सिमलका सेता भुवाहरू हावासँगै उडिरहेका थिए।

कसैले पश्चिमतिर लगिरहेको थियो, कसैले पूर्वतिर, कसैले सडकभरि नाचिरहेका थिए, कसैले यात्रुहरूको अनुहार छुन्दै कुनै अज्ञात गन्तव्यतिर लागिरहेका थिए।

म बाइक चलाउँदै थिएँ, तर मेरो नजर बारम्बार ती उडिरहेका भुवाहरूमै अड्किरहेको थियो।

अचानक… मनभित्र एउटा बिजुली चम्कियो।

“कतै यो मेरो आफ्नै प्रतिबिम्ब त होइन ?”

म झसङ्ग भएँ।

किनकि म पनि त ठ्याक्कै त्यही गरिरहेको थिएँ।

पन्ध्र वर्षपछि म आफ्नो जन्मथलो पुगेको थिएँ।

त्यो घर, जहाँ स्वर्गीय हजुरआमाको आवाज  अझै भित्तामा टाँसिएको छ।

त्यो आँगन, जहाँ मेरा बाल्यकालक पाइला अझै कतै सुरक्षित होलान्।

त्यो डाँडो, जहाँबाट संसार हेर्दा सबै सपना सम्भव लाग्थे।

त्यो खोला, जहाँ मैले पहिलो पटक जीवनलाई खेल ठानेको थिएँ।

म केही दिन त्यहाँ बसेँ।

पुराना बाटाहरू हिँडेँ। पुराना अनुहारहरू भेटेँ। पुराना सम्झनाहरू छोएँ।

तर फेरि…

फेरि शहरले बोलायो।

जिम्मेवारीले बोलायो।

जीवनले बोलायो।

र म फर्किएँ।

जसरी सिमलको भुवा आफ्नो रूखबाट टाढा उड्छ, म पनि आफ्नो माटोबाट टाढा उड्दै थिएँ।

तर एउटा कुरा मेरो हृदयलाई आगोझैँ पोलिरह्यो।

ती सिमलका रूखहरूलाई हेर।

वर्षौँदेखि उनीहरू यही गर्दै आएका छन्।

आफ्नो मुटुको टुक्रा जस्तै ती भुवाहरूलाई हावाको जिम्मा लगाउँछन्।

आफ्नो कोखबाट जन्माएका बीउहरूलाई संसारतिर पठाउँछन्।

तर कहिल्यै रोएको देखिँदैन।

कहिल्यै गुनासो गरेको सुनिँदैन।

कहिल्यै भागेको देखिँदैन।

उनीहरू त्यहीँ उभिएका छन्।

धर्तीलाई समातेर।

आकाशलाई छुँदै।

निस्वार्थ कर्ममा लीन।

ममताको महासागर भएर पनि मोहको कैदी नबनी।

त्यो देख्दा मेरो मनले आफैलाई सोध्यो.. 

“तर म ?”

म किन यति बेचैन छु ?

किन प्रत्येक बिदाइले मेरो छाती चिरिदिन्छ ?

किन प्रत्येक फर्काइले आँखा रसाउँछ ?

किन म हरेक चोटि आफ्नै गाउँ छोड्दा आफ्नो एउटा हिस्सा त्यहीँ बिर्सिएर आउँछु ?

सायद…

किनकि म अझै सिक्दै छु।

सिमलले जानेको कुरा म अझै बुझ्न खोज्दै छु।

उसले बुझिसकेको छ.. 

माया गर्नु भनेको बाँधेर राख्नु होइन।

माया गर्नु भनेको उड्न दिनु हो।

छोड्न सक्नु हो।

विश्वास गर्न सक्नु हो।

धर्तीमा गहिरो जरा गाडेर आकाशतिर आफ्ना सपनाहरू पठाउन सक्नु हो।

त्यो दिन बाइकको गति चलिरहेकै थियो।

सडक अगाडि बढिरहेकै थियो।

तर मेरो मन त्यही एउटा सिमलको रूखमुनि कतै अड्किएको थियो।

हावामा उडिरहेका ती भुवाहरूलाई हेर्दै।

र मलाई लाग्यो.. 

हामी सबै कुनै न कुनै सिमलका भुवा हौँ।

कुनै आमाको प्रार्थनाबाट उडेका।

कुनै बाबुको पसिनाबाट उडेका।

कुनै गाउँको माटोबाट उडेका।

कुनै सम्झनाको कोखबाट उडेका।

हामी उड्छौँ।

टाढा जान्छौँ।

हराउँछौँ।

फर्किन्छौँ।

फेरि जान्छौँ।

तर जहाँसुकै पुगे पनि हाम्रो भित्र कतै एउटा सिमलको रूख बाँचेको हुन्छ।

एउटा गाउँ बाँचेको हुन्छ।

एउटा घर बाँचेको हुन्छ।

एउटा आँगन बाँचेको हुन्छ।

र त्यसैले त…

हरेक पटक घर छोड्दा मन यति धेरै दुख्छ।

किनकि हामी केवल ठाउँ छोडिरहेका हुँदैनौँ, हामी आफ्नो आत्माको एउटा अंश फेरि एकपटक पछाडि छोडेर हिँडिरहेका हुन्छौँ।

र सायद…

जीवनको सबैभन्दा ठूलो साधना यही हो

सिमलजस्तै बन्न सक्नु।

मायाले भरिनु, तर मोहले नबाँधिनु।

सबैलाई आफ्नो भन्नु, तर कसैलाई कैद नगर्नु।

आफ्नो हृदयका हजारौँ टुक्राहरू संसारभरि उडाउनु, र त्यसपछि पनि

त्यहीँ…

अडिग,

शान्त,

निस्वार्थ,

धर्तीलाई अँगालेर उभिरहनु।

~ उत्तम बस्नेत