कलाकारहरूले जनचेतना जगाउने र प्रेरणा दिने रहेछन्। स्वभावजन्य काम गर्नु नै कलाकार हुनु हो। त्यस अर्थमा जब हामी हाम्रो स्वभावजन्य काम गर्छौं, तब हामी कलाकारिता नै गरिरहेका हुन्छौं। ओस्कार वाइल्डको एउटा भनाइ छ, “आलोचकले जनतालाई शिक्षित बनाउनुपर्छ; कलाकारले आलोचकलाई शिक्षित बनाउनुपर्छ।” कलाकारहरूले नै समाजलाई मार्ग निर्देशित गर्ने रहेछन्।
नेपालमा कलाकारिताको उदय हुँदैछ। कति मान्छे विदेशको सुरक्षा र सुविधा छोडेर आएर गाउँघरको प्राकृतिक जीवन बाँच्न प्रेरणा दिइरहेका छन्, कोही दुर्गम ठाउँहरूमा गएर विभिन्न नाटकहरू गर्दै जनचेतना जगाइरहेका छन् भने कोही आफ्नो कला र सीपलाई व्यवसायको माध्यमबाट नेपालमा पनि केही गर्न सकिन्छ भनेर हौसला दिइरहेका छन्। जुन तरिकाले अहिले नेपालमा कलाकारहरू वा स्वभावजन्य काम गर्ने मान्छेहरू बढिरहेका छन्, यसले नेपालको भविष्य उज्ज्वल हुनेछ भनेर संकेत गरिरहेको छ।
त्यो साँझको अन्तिम सुन्तले आभाले जब समुद्रको विशाल र नीलो छातीमा सुस्तरी ढल्केर स्पर्श गर्दथ्यो, ऊ आफ्ना रिकापीका रङहरूमा एउटा अनाम अस्तित्व र जीवनको हराएको कडी खोजिरहेको हुन्थ्यो। क्यानभासको त्यो सेतो रित्तोपन उसलाई आफ्नै जीवनको एउटा बाँझो पाटो जस्तो लाग्थ्यो, जहाँ उसले भावनाका बीउहरू रोप्न त चाहन्थ्यो तर ती रङहरू कहिल्यै उसको पूर्ण नियन्त्रणमा रहेनन्। समुद्री जहाजका डोरी र खम्बा मिलाउन खोज्दा चित्रकारले महसुस गर्यो कि ऊ केबल एउटा निर्जीव काठको आकृति कोरिरहेको छैन, बरु समयका ती अदृश्य र जटिल गाँठाहरू सुल्झाउने एउटा महायज्ञ गरिरहेको छ, जसले उसलाई विगतका स्मृतिहरूको नुनिलो ओस र भविष्यको अनिश्चिततासँग बाँधेर राखेका थिए। जहाजको त्यो ठिंग उभिएको खम्बा, जो प्रचण्ड आँधी र भयानक शान्ति दुवैमा अविचलित उभिन अभिशप्त थियो, उसलाई आफ्नै धैर्यता र एकाकीपनको प्रतिविम्ब झैँ भान हुन्थ्यो एउटा यस्तो मौन शक्ति, जसले हजारौँ तुफानहरूलाई आफ्नै काठको भित्री तहमा सोसेर पनि एउटा अटल सत्य जस्तै ठिंग उभिने साहस सँगालेको थियो।
उसका सिर्जनशील तर थकित औंलाहरूले जब ती डोरीका प्रत्येक मसिना त्यान्द्रालाई क्यानभासमा जीवन्त उतार्न खोज्थे, तब उसलाई लाग्थ्यो कि जीवनका सम्बन्धहरू पनि त यस्तै हुन् कतै कसिलो गरी बाँधिएका, कतै समयको वेगले खुकुलिएका, त कतै बीचमै चुँडिन खोजेर पनि अदृश्य भरोसाका कारण बलियो गरी अडिएका। उसले ब्रसको प्रत्येक सुस्त र सचेत चालमा ती डोरीहरूलाई यति सन्तुलित र लयबद्ध बनाउन खोज्थ्यो कि मानौँ त्यो सन्तुलन मिल्ने बित्तिकै उसको आफ्नै अशान्त मनको जहाजले पनि कुनै शाश्वत र शान्त किनारा भेट्नेछ। जति जति ऊ ती रेखा र खम्बाहरूको ज्यामिति मिलाउन तल्लीन हुन्थ्यो, उति नै ऊ क्षितिजको त्यो रहस्यमयी लालीमामा एउटा नयाँ प्रकाशको पुञ्ज देख्न थाल्थ्यो, जहाँ आकाश र समुद्र एकअर्कामा यसरी विलिन हुन्थे कि त्यहाँ कुनै द्वैधता बाँकी रहँदैनथ्यो, बरु एउटा अनन्त मिलनको उत्सव मात्र बाँकी रहन्थ्यो। ऊ बिस्तारै बुझ्दै थियो कि कला केवल आँखाले देखेको सत्यको चित्रण मात्र होइन, बरु आत्माले भोगेको सत्यलाई स्वीकार गरेर त्यसैभित्रको कुरुपतामा पनि सुन्दरताको सुगन्ध खोज्ने एउटा दिव्य र कठिन साधना हो।
उसका कुचीहरू जब रङको समुद्रमा डुबुल्की मार्थे, तब उसले आफ्ना सारा संवेगहरूलाई ती रङका कणहरूमा मिसाउँथ्यो। क्षितिजमा अल्झिएका ती रङहरू अब उसका लागि केवल सूर्यका किरण थिएनन्, बरु ती त उसले भोगेका प्रत्येक वियोग, सङ्घर्ष र विजयका गाथाहरू थिए। डोरीका ती गाँठाहरू, जसलाई उसले पहिले बन्धन ठानेको थियो, अब जहाजलाई सुरक्षा दिने एउटा अटल विश्वास जस्ता देखिन थाले। अन्ततः जब सूर्यको अन्तिम सुनौलो झुल्को समुद्रको पानीमा ठोक्किएर गौरीशंकर तीर परावर्तित हुँदै उसको आँखामा एउटा चहकिलो चमक बनेर फर्कियो, उसले आफ्नो भित्र एउटा अभूतपूर्व र ऊर्जावान् शान्ति महसुस गर्यो। खम्बाको त्यो स्थिरता अब उसको एकाकीपन रहेन, बरु आफ्नै खुट्टामा उभिने र संसारका जस्तोसुकै लहरहरूसँग जुध्ने आत्मबल बन्यो।
जब उसले अन्तिम पटक क्यानभासमा आफ्नो कुची चलायो, एउटा जादुमय दृश्य प्रकट भयो, जहाज अब समुद्रको बीचमा अलपत्र थिएन, बरु सुनौलो प्रकाशको बाटो पछ्याउँदै एउटा नयाँ गन्तव्यतर्फ उन्मुख देखिन्थ्यो, सोला भंज्याङ्गको गेट प्रवेश गरी गढीको सालिकभरि ठिङ्ग उभिएर एकताको औंला ठड्याएका पृथ्वीलाई सलाम गर्दै उँभोतिर लागे जसरी। क्षितिजमा अल्झिएका ती रङहरू अब उसको निराशाका धुमिल छायाँ रहेनन्, बरु भोलिको उज्यालो बिहानीका भरपर्दो सारथि बनेर झुल्किए। उसले एउटा लामो र गहिरो श्वास फेर्दै मुस्कुराएर कुची बिसायो किनकि उसले अन्ततः बुझिसकेको थियो, जीवनको जहाज जतिसुकै विशाल र डरलाग्दो समुद्रमा किन नहोस्, यदि संकल्पका डोरीहरू बलिया छन् र आत्मिक विश्वासको खम्बा मजबुत छ भने, हरेक साँझले अन्धकार होइन, बरु एउटा नयाँ आशा र सम्भावनाको क्षितिज बोकेर ल्याउनेछ। क्यानभास पूरा भयो, तर त्यो केवल एउटा चित्रको समाप्ति थिएन, त्यो त उसको मनभित्रको एउटा नयाँ, अजेय र ऊर्जावान् ‘मानव’ बन्ने ‘अभ्यास’ को पुनर्जन्म थियो, जो अब कुनै पनि आँधीसँग डराउँदैनथ्यो, बरु ती लहरहरूमा पनि मर्निङ हिलिङ्ग सेसनको रङ भर्न तयार हुँदै थियो।
जितको लागि आज एकदमै महत्वपूर्ण दिन हो । उ सबेरै उठेर लामो समाय लगाएर तयार भएर अफिसको लागि करीब एक घण्टा अघि नै घरबाट निस्कियो । उसले नजिकै ट्याक्सी देखेर उसले त्यहि ट्याक्सीमा जाने निर्णय गर्यो । ट्याक्सीको मीठो गितले उसलाई शान्त बनाईरहेको थियो । त्यतिकैमा फोनको घन्टि बज्यो,” हलो… म निस्किसके अब एक घण्टामा आई पुग्छु…हुन्छ…” यति भनेर उसले फोन राखि दियो । गाडी कति खेर रोक्किएछ , उसलाई पत्तै भएन ! अगाडि लामो जाम रहेछ ।
ड्राइभर दाइले भन्नू भयो,”काठमाडौको बाटो त्यहि पनि अफिस टाईम अब त लामो समय लाग्ला जस्तो छ ” । जित , एक चोटि हात घुमाएर घडी हेर्छ । समय त अझै छ । उ ट्याक्सीको गित सुन्न थाल्छ । लगभग एक घण्टा पछि जाम खुल्यो । हिडे पछि उसलाई केही आराम भयो । केही समय पछि फेरि अर्को जाम देखियो । अब उसलाई तनाब हुन थाल्यो । दाइ , अर्को बाटो छैन । मलाई अफिस अली छिटै जानू पर्ने छ । ड्राइभर दाइले एउटा गल्लीबाट गाडीलाई हाल्नु भयो । धन्न त्यहा भने बाटो जाम थिएन । अब भने जितलाई अलिकति राहात भयो । केही बेर पछि फेरि गल्लीमा पनि जाम देखियो । त्यहाँ पनि लगभग आधा घण्टाको पर्खाइ पछि , ड्राइभर दाइ बाहिर गएर बुझ्दा बाटो बनाउने प्रकृयाले बाटो बन्द भएको जानकारी ल्याउनु भयो । अब ट्याक्सी न अघाडी बढ्न सक्छ न पछाडि जान सक्छ । उसले ट्याक्सीलाई पैसा दिएर रोड सम्म पैदल नै जाने निर्णय गर्यो । हतारहतार उ हिड्दै गयो । हतारमा एक छिन पछि उसले थाहा पायो कि उसको फाईल ट्याक्सीमा नै छोडिएछ । फेरि फर्किएर फाईल लिएर , उ हतार हतार मात्र हैन अब त उ दौडिन नै थाल्यो । स्या स्या गर्दै उ रोडमा पुग्यो । फोन हेर्दा धेरै चोटि कल आईसकेको रहेछ । साथै केही म्यासेज पनि रहेछ ।उसलाई कल व्याक गर्न पनि अफ्ट्यारो लाग्यो । मिटिङ सुरु भएको लगभग बीस मिनेट भईसकेको थाहा पाएर उसको होस उढ्यो । सुट फोहोर होला भन्ने पनि उसलाई अब मतलब भएन । उसले पठाउ बाईकमा नै अफिस जाने निर्णय गर्यो । केही समय बकाई चल्यो र फेरि रोक्कियो । फेरि अर्को जाम रहेछ । बाईक चालक भाईले भन्यो , दाइ जाम त लामो छ जस्तो छ लगभग आधा घण्टा त लाग्छ होला ! जित बाईकबाट ओर्लीयो र त्यो भाईलाई पैसा दियो । जितको हस्याङ्-फस्याङ अब शान्त भयो । उ नजिकैको होटलमा छिर्यो । एउटा चिया र चुरोट अर्डर गर्यो । बिस्तारै त्यसको मजा लियो । उसले मिटिङ सक्कि सकेको खबर पढेर फोन स्विच अफ गरिदियो । चिया र चुरोट पछि नजिकै पशुपतिनाथको मन्दिर हेर्दै , उ केहि बेर टोलाएर बस्यो र उ त्यतै तिर घुम्न निस्कियो ।
धारणाहरूले नै हाम्रो जीवन दृष्टि र अनुभव निर्धारण गर्ने रहेछन्। हामीले जस्तो खालको धारणा बनाउँछौँ, हाम्रो जीवन पनि त्यस्तै खालको हुने रहेछ। धेरै समस्या हामीलाई धारणा समय र ठाउँ अनुकूल नभएर पनि हुन्छ। कुनै समय वा ठाउँमा बनेका वा ठीक लागेका धारणा अहिले यहाँ गलत र काम नलाग्ने हुन सक्छन्। आफ्नो धारणाहरूलाई निरीक्षण र परिमार्जित गर्दै लानु नै साधना रहेछ। मेरो धारणा र बुझाइ अनुकूल अर्को व्यक्तिको धारणा भएन भन्दैमा अर्को व्यक्ति गलत भन्ने हुँदैन। मलाई गलत लागेको धारणा अर्को व्यक्तिलाई सही लाग्न सक्छ, मलाई सही लागेको धारणा अर्को व्यक्तिलाई गलत लाग्न सक्छ। त्यसकारण हामी सबैको बुझाइ र धारणा अनुसार फरक-फरक सत्यहरू हुन्छन्।
ब्रह्माण्डको कुनै अज्ञात र सुदूर क्षितिजमा, जहाँ समयको पदचाप समेत निस्पट्ट अन्धकारमा ठोक्किएर फर्कन्छ, एउटा बिउले मृत्युको ठिहिर्याउने काखभित्रै जीवनको आदिम न्यानोपनको खोजी गरिरहेको थियो। माटोको अभेद्य र गह्रुँगो छातीले थिचिएको त्यो लघु-अस्तित्वको मौन क्रन्दन सुन्ने धैर्य सायद रित्तो शून्यतासँग पनि थिएन तर त्यही महाशून्यताको गर्भगृहभित्र एउटा तिलस्मी विष्फोट भयो ‘सङ्कल्पको विष्फोट’। आफ्नै शरीरको कठोर कवचलाई छियाछिया पार्दै, पाषाण-हृदयी ढुङ्गाका दाँतहरूसँग पौँठेजोरी खेल्दै र मृत्तिकाको तिर्सना मेट्दै जब एउटा सुकोमल सुइरोले धर्तीको सतहमा शिर उठायो, ऊसँग न कुनै संहारक हतियार थियो, न त आत्मरक्षक ढाल। ऊसँग थियो त केवल एउटा ‘पालुवा’ बन्ने काँचो र पवित्र स्वप्न-बिम्ब।
ऋतुका चक्रहरूसँगै त्यो पालुवा एउटा वनस्पति-अङ्गको सीमा नाघेर अनेकौँ मानवीय रङ्गहरूको रङ्गमञ्चमा रूपान्तरित भयो। कहिले बाल्यकालको निर्दोष ‘भाँडाकुटी’मा एक काल्पनिक सिंहासन बनेर मुस्कुरायो, त कहिले अभावका ओठहरूमा सुकेर भुइँबाट टिपियो अनि कहिले ‘दुना टपरी’को आकार लिँदै जीवनको गाँसलाई मर्यादा दियो। झरीको क्रन्दनमा ऊ ‘घुम’ बनेर ओत बन्यो त कतै ‘निसर्गदत्त’को चेतनाको रापमा ‘बिँडी’ बनेर आफ्नै शरीरलाई धुवाँको कुइरीमण्डलमा विसर्जन गरिदियो। छिमेकीको गोठबाट निस्किएको ‘बिगौती’ को तातो स्पर्शलाई आफ्नो कोमल काखमा थाम्दा, उसले सायद ब्रह्माण्डीय मातृत्वको अमृत र त्यसको अन्तर्निहित पीडालाई एकैसाथ चुम्यो होला।
यो आख्यानको सबैभन्दा तरल र विरोधाभासी मोड तब अङ्कित हुन्छ, जब एक निर्दोष गायनले यसलाई स्पर्शको माधुर्यले ओल्टाई-पल्टाई छाम्छ। औँलाहरूका ती रेशा-रेशाले जब पातका नसाहरूभित्रको स्पन्दनलाई सुम्सुम्याउँछन्, तब हावाको झोक्कासँगै एउटा गीतको अंश स्वतः प्रतिध्वनित हुन थाल्छ “हेरेर तिमीलाई, देखेर तिमीलाई… भेटेर तिमीलाई, सम्झेर तिमीलाई…”। त्यो पात, जो अब कसैको सङ्गीतको मूक सारथी बनिसकेको छ, उसले आफ्नो अस्तित्वलाई पूर्णतः अर्पणको अग्निकुण्डमा होमिदिन्छ। उसलाई अब यो हेक्का छैन कि ऊ आफ्नै लयमा बाँचिरहेको छ, वा त्यो सङ्गीतको धूनमा जसले उसलाई अन्तिम पटक मायालु संवेगले स्पर्श गरिरहेको छ।
यसको महागाथा लामो र श्रृंखलाबद्ध छ तर यसको परम विष्मय त ‘झर्नु’ को सौन्दर्यमा लुकेको छ। जब शिशिरको नीलो तुषारोले उसको हरियो यौवनलाई पहेँलो वैराग्यको वस्त्र पहिर्याइदिन्छ, तब ऊ हाँगाबाट कुनै गुनासो बिना, एक शान्त साधु झैँ ओर्लन्छ। उसलाई थाहा छ आफ्नो पतन नै अर्को नव-पालुवाको उदयको आधारशिला हो।
जब ऊ भुइँमा पछारिन्छ र पथिकहरूले ‘पतिङ्गर’ को संज्ञा दिँदै निर्दयी भएर कुल्चिन्छन्, उसले त्यो चोटलाई पनि एक दिव्य आशीर्वादको रूपमा ग्रहण गर्छ। ऊ गलेर माटोमै समाहित हुन्छ र फेरि त्यही जडलाई ऊर्जा प्रदान गर्छ, जसले आगामी वसन्तमा अर्को नयाँ सपनालाई जन्म दिन सकोस्। यो एउटा यस्तो शाश्वत चक्र हो, जहाँ ‘हुनु’ र ‘नहुनु’ बीचको कृत्रिम पर्खाल ढल्छ र एउटा विनम्र अस्तित्वले पुनर्जीवनको गीत गाउँछ।
एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” । केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ ।
यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।
विभिन्न कारणले जीवनमा हामी सिक्न बन्द गर्ने सम्भावना हुने रहेछ। साधनाको यात्रामा कहिले मलाई सबै थाहा भइसकेको छ वा मैले मोक्ष प्राप्त गरिसकें भन्ने भ्रम हुन सक्ने रहेछ, कहिले आफू भन्दा सानो मान्छे वा अरुसँग अहङ्कारले गर्दा, वा औपचारिक शिक्षा सकिए पछि हामी त सधैँको विद्यार्थी हौँ भन्ने पनि बिर्सिन सकिने सम्भावना हुने रहेछ।
सिक्ने उमेर कहिले पनि सकिँदैन रहेछ। र ज्ञान र चेतनाको विकासको लागि सधैँ सिक्ने भावमा रहनु अत्यावश्यक हुने रहेछ। जो मान्छे सिक्न तयार छ र त्यो दिशामा अनुशासित भएर लागि रहन तयार छ, त्यो मान्छे नै सफल हुने रहेछ।
कुनै एउटा टाढाको पहाडको काखमा, जहाँ बादल र कुहिरोहरूले रुखका हाँगाहरूसँग लुकामारी खेल्थे, त्यहाँ एउटा सानो तर झिलिमिली परेको कुटी थियो। त्यही कुटीमा उ आफ्नो बाल्यकालका कलिला पाइलाहरू चाल्दै गुरुको सामिप्यतामा हुर्कँदै थियो। अरू बालबालिकाहरू बाहिर मैदानमा दौडिरहँदा, उसलाई भने गुरुले एउटा सानो माटोको घैँटो र एउटा बीऊ दिएर एकान्त कुनामा बस्न लगाउनुभएको थियो। उसको लागि त्यो केवल एउटा बीऊ थिएन, बरु एउटा नसुल्झिएको पहेली थियो। उसले दिनभरि त्यो माटोलाई हेर्थ्यो, तर त्यहाँ केही पनि हलचल हुँदैनथ्यो। उसलाई लाग्थ्यो, के यो बीऊ निदाइरहेको छ? वा यो भित्र केही भइरहेकै छैन? उसको मनमा जिज्ञासाका अनेकौं लहरहरू चल्थे, तर गुरुको शान्त र गम्भीर उपस्थिति देखेपछि उ चुपचाप आफ्नै भित्री जगतमा फर्कन्थ्यो। गुरुको निगरानी कुनै शासन जस्तो थिएन, बरु एउटा शीतल छाया जस्तो थियो जसले उसलाई बाहिरी संसारको भड्कावबाट जोगाएर आफ्नै आत्माको ऐना हेर्न प्रेरित गर्थ्यो।
एकदिन, धैर्यताको बाँध टुट्न लाग्दा उसले गुरुलाई सोध्यो, “गुरुदेव, यो बीऊ किन यति धेरै समयसम्म एक्लै अँध्यारोमा बस्छ? के यसलाई एक्लो महसुस हुँदैन?” कुखुराका अण्डाहरू पनि त त्यो बिऊ सँगै अँध्यारो मै थिए त तर चाँडै चल्लाहरू बनेर निस्किए त, ती पनि त बिऊ नै थिए नि होइनन् र ? गुरुले उसको कलिलो टाउकोमा हात राख्दै मन्द मुस्कानका साथ उपनिषद्को एउटा गहन सत्य सुनाउनुभयो, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।” अर्थात्, “हे वत्स! यो बीऊ अहिले असत्यबाट सत्यतर्फ र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा छ। बाहिरबाट हेर्दा यो चुपचाप छ, तर भित्रभित्रै यसले आफ्नो पुरानो अस्तित्वलाई गलाएर नयाँ स्वरूपको निर्माण गरिरहेको छ। गहिरा कामहरू त सधैँ एकान्तमै हुन्छन्। अनि सबै बिऊहरु एकै समयमा अंकुरित हुनै पर्छ भन्ने पनि छैन नि, प्रकृतिका नियममा अनेक लिला हुन्छन्, बिउका योग अनुसार तीनका भोग हुन्छन् ।” गुरुको यो कुराले उसलाई गहिरो आत्म-निरीक्षणमा पुर्यायो। उसले बुझ्यो कि जसरी बीऊले बाहिरी दुनियाँलाई बिर्सेर माटोमुनि आफ्ना जराहरू बलिया बनाउँछ, उसले पनि आफ्नो चञ्चल मनलाई बाँधेर आत्म-स्मरणको बाटो रोज्नुपर्छ। उसले आफ्ना पुराना जिद्दीहरू, सानातिना रिसहरू र चञ्चलतालाई बिस्तारै नियाल्न थाल्यो। यो उसको लागि एउटा यस्तो सिकाइ पद्धति बन्यो जहाँ किताबका अक्षरहरू भन्दा धेरै आफ्नै भित्री मौनताले पाठ पढाइरहेको थियो सुस्तरी सुस्तरी, धर्यपुर्बक स्वभाव अनुसारको योगमा अनि अहंकार बिसर्जन अभ्यासमा,
“ॐ वैरोचनीये विद्महे छिन्नमस्तकायै धीमहि तन्नो देवी प्रचोदयात्” गुरु आज्ञाले जप गर्दै एकान्तको गहिराइमा…..।