नेपालको भूमि आफैँमा महापुरुष, तपस्वी, योगी, ध्यानी तथा कैयौँ सिद्ध सन्तहरूले तपस्या गरेको पवित्र भूमि हो। तन्त्र–मन्त्र, आयुर्वेद, योग, ध्यान तथा आध्यात्मिक ज्ञानका गहिरा रहस्यहरू हाम्रो भूमिमा अनादिकालदेखि नै अमूल्य खजानाका रूपमा गढेर बसेका छन्। तर विडम्बना के छ भने, हामी संसारका विभिन्न ज्ञानी, दार्शनिक, योगी र आध्यात्मिक गुरुहरूलाई पढ्दै र सुन्दै गर्दा आफ्नै भूमिमा जन्मिएका सन्त–महात्मा तथा उहाँहरूले छोडेर गएको ज्ञानलाई भने क्रमशः ओझेलमा पार्दै गएका छौँ।
उदाहरणका लागि हामी ओशोलाई पढ्दै गर्दा आफ्नै भूमिका शशिधर स्वामीलाई पढेका छौँ त? हामी सद्गुरुलाई पढ्दै गर्दा आफ्नै भूमिका योगी नरहरिनाथलाई पढेका छौँ त? हामी प्रभुपादलाई पढ्दै गर्दा स्वामी प्रपन्नाचार्यलाई पढेका छौँ त?हामीलाई गलेश्वर बाबाका बारेमा कति थाहा छ? के हामीलाई ज्ञान दिलदास बारे थाहा छ ? हामी शंकराचार्यलाई पढ्दै गर्दा अष्टावक्रलाई पढेका छौँ कि छैनौँ? के हामीलाई महागुरु फाल्गुनन्दका बारेमा पर्याप्त जानकारी छ? के हामीलाई स्वर्गद्वारी महाप्रभुका बारेमा थाहा छ? के हामीलाई चक्रपाणी चालिसेका योगदान र ज्ञानका बारेमा थाहा छ? के हामीलाई कालिञ्चोक बाबाका बारेमा थाहा छ? हामीले बालगुरु षडानन्दको ज्ञानलाई कति पढेका छौँ? के हामीलाई अहिले पनि सशरीर जीवित रहनुभएका सिद्धयोगी दोविन्द्र दिलबारे थाहा छ ?
त्यो अदम्य साहस र चेतनाको ज्योति बोकेकी युगनारी, योगिनी योगमायाका बारेमा हामीले कति अध्ययन गरेका छौँ? यी प्रश्नहरू आफैँमा गम्भीर छन्। संसारभरिका योगी, तपस्वी, ज्ञानी र ध्यानीहरूको चर्चा गर्दै गर्दा आफ्नै मौलिकता बोकेको यस भूगोलका सन्त–महात्मा, योगी र साधकहरूलाई हामीले कति ओझेलमा पारेका छौँ भन्ने कुरा यिनै प्रश्नहरूले स्पष्ट पार्छन्। उहाँहरु एक उदाहरण मात्र हो। यस्ता सयौं होइन हजारौं नेपालका सन्तहरू आज पनि ओझेलमा परेका छन् ।यसको अर्थ हामीले ओशो, सद्गुरु, श्रीश्री रविशंकर वा संसारका अन्य महान् गुरुहरूलाई नपढौँ, नसुनौँ भन्ने होइन। व्यक्तिगत रुपमै मैले उहाँहरुलाई लामो समय पढेको छु सुनेको छु। उहाँहरू सबैका ज्ञानबाट सिकौँ, पढौँ, सुनौँ र सबैप्रति समभाव राखौँ।
तर भन्न खोजिएको यति मात्र हो—उहाँहरूलाई पढ्दै र सुन्दै गर्दाआफ्नै भूमिले जन्माएका महान् विभूति, सन्त–महात्मा र ज्ञानका असीम सागरलाई बिर्सिएर ओझेलमा नपारौँ। आफ्नै देशका राष्ट्रिय विभूति ओझेलिनु भनेको हामी आफैँ ओझेलिनु हो। हाम्रो मूल ओझेलिनु हो। हाम्रो पहिचान ओझेलिनु हो। हाम्रो मौलिक ज्ञान, संस्कृति र चेतनाको एउटा महत्वपूर्ण अध्याय हराउनु हो।
राष्ट्रको समग्र हित हुँदा नै व्यक्तिको हित सम्भव हुन्छ। त्यसैले राष्ट्रको चेतना, संस्कृति र आध्यात्मिक सम्पदालाई समृद्ध बनाउने योगी, तपस्वी, ध्यानी, सन्त तथा महात्माहरूको ज्ञानलाई संरक्षण गरौँ। उहाँहरूले दिएका दिव्य वाणी, साधना, दर्शन र जीवनदृष्टिलाई केवल इतिहासका पानामा सीमित नराखौँ। त्यसलाई खोजौँ, अध्ययन गरौँ, अभिलेखीकरण गरौँ र आजको पुस्तासम्म पुर्याऔँ।विशेषगरी युवापुस्तालाई आफ्नै भूमिको आध्यात्मिक सम्पदा र आफ्ना महान् विभूतिहरूसँग परिचित गराऔँ।
हामी संसारबाट ज्ञान ग्रहण गरौँ, तर आफ्नो माटोको ज्ञानलाई पनि सम्मान गरौँ। विश्वका ज्ञानका द्वारहरू खुला राखौँ, तर आफ्नै घरकोज्ञानको ढोका बन्द हुन नदिऔँ। नजिकको तीर्थ हेला नगरौँ। आफ्नो माटोका सन्त–महात्मालाई चिनौँ, उहाँहरूको ज्ञानलाई जोगाऔँ र भावी पुस्तासम्म हस्तान्तरण गरौँ।पहिला आफ्नो माटो र यहाँका सन्तहरूलाई चिनौँ।आफ्नो कुल र मूलको रक्षा गर्नाले नै हाम्रो रक्षा हुन्छ।
✍️ शिशिर निराकार
हरि ॐ तत्सत 🙏









हृदय छुने लेख!! हाम्रा सन्त ज्ञानदिलदास, योगमाया न्यौपाने, महागुरु फाल्गुनन्द, खप्तड बाबा, स्वामी प्रपन्नाचार्य, बालागुरु षडानन्द जस्ता व्यक्तित्वहरू हाम्रो आध्यात्मिक तथा सामाजिक चेतनाका महत्वपूर्ण अध्याय हुन्।हामीले आफ्ना सन्तहरूलाई सम्झनु भनेको आफ्नै जरा, आफ्नै चेतना र आफ्नै आत्मिक इतिहाससँग पुनः जोडिनु हो। यी अध्यायहरू हामीबाटै खोलिनुपर्छ। सुरुवात गरौं!!
LikeLike