मस्तिष्कको कोलाहलबाट टाढा, कालको गतिलाई चुनौती दिँदै जब एउटा आत्मा परब्रह्म श्रीकृष्णको प्राकट्य भूमि मथुरा र दिव्य क्रीडाथलो वृन्दावनको शितल गल्लीहरूमा प्रवेश गर्छ, तब यात्रा केवल भूगोलको मात्र रहँदैन, त्यो त चेतनाको ऊर्ध्वगामी रूपान्तरण बन्न पुग्छ। ब्रजभूमि कुनै माटोको ढिस्का मात्र नभएर रस, भाव र माधुर्यको जीवन्त स्वरूप हो भन्ने हुन्छ, जहाँको हावामा एउटा अनौठो मातशून्यता छ जसले मानिसलाई संसारी वासनाबाट विरक्त गराई दिव्य प्रेमको गहिराइतर्फ धकेल्छ। यस अलौकिक यात्राको भूलभुलैयामा जबसम्म गुरुको कृपा हस्त प्राप्त हुँदैन, तबसम्म जीवले ब्रजरसको रहस्य बुझ्न सक्दैन रहेछ किनकि गुरुको वाक्य नै त्यो प्रकाशपुञ्ज हो जसले संसारी मोह र भ्रमको बाक्लो पर्दालाई च्यातेर वृन्दावनको वास्तविक आध्यात्मिक स्वरूपसँग साक्षात्कार गराउँछ। वृन्दावनको यसै पावन परिवेशमा ‘मर्निङ्ग हिलिङ्ग सेसन’ मा सम्झना गरिरहिने पूज्य सन्त हित प्रेमानन्द जी महाराजको मुखारविन्दबाट प्रवाहित हुने राधा नामको स्मरणभावले श्रीराधारानीका चरणकमलप्रतिको अनन्य, अविचल र निरन्तर समर्पण भावलाई जगाइदिन्छ तर यसै मधुरताका बीच जब बजारका गल्लीहरूमा पाइला अगाडि बढ्छ, तब मनमा केही नमीठो सत्यको ठेस पनि लाग्दोरहेछ जहाँ बाहिर मुखले मिठो र सुमधुर आवाजमा ‘राधे राधे’ भन्दै ढोग्ने बजारका मानिसहरू भेटिन्छन्, त्यहीँ भित्रपट्टि भने अबोध पर्यटक र भक्तहरूलाई हरतरहले ठग्ने दाउ र प्रपञ्च रचिएको देखिन्छ। ब्रजबासीको त्यो पौराणिक आत्मीयता र विनयशीलता हराउँदै गएको आभास हुन्छ, मानिसहरूमा एकआपसमा बैरभाव चुलिएको जस्तो र सिंगो पावन क्षेत्रलाई आध्यात्मिक चेतनाभन्दा बढी व्यापारिक कमाउधन्दाको केन्द्रमा परिणत गरिएको लाग्दो रहेछ। कतिपय ऐतिहासिक मन्दिर र स्थानहरूमा पुग्दा तीव्र व्यावसायिक कोलाहलका कारण ‘लो एनर्जी’ र निसासिँदो वातावरण मात्र महसुस हुन्छ, जसले मनलाई केही क्षण विरक्त र उदास बनाइदिन्छ। यति हुँदाहुँदै पनि मानवीय कमजोरीको यो धमिलो बजारभन्दा माथि उठेर जब साँचो भक्तिभावले हेरिन्छ, तब ब्रजको मूल तत्त्व जीवितै भेटिन्छ। यहाँका पशुपंक्षी र यमुनाका लहरहरूमा अझै पनि त्यही शाश्वत ‘राधे राधे’ को अनाहत ध्वनि गुञ्जिरहेको छ। अहंकारका सबै किल्लाहरू भत्काएर जब मेरो हृदय भक्ति, श्रद्धा र असीम प्रेमको सागरमा डुब्दै सम्पूर्ण रूपमा श्रीजीको चरणमा झुक्छ, तब विचारलाई बिर्सिएर भावका हृदयधारा बग्न थाल्छ। संसारको यो देखावटी व्यापारिक प्रपञ्चलाई बिर्सिएर मेरो तार्किक मन अन्ततः ब्रजको धूलिमा लम्पसार पर्छ र म भौतिक रूपमा जहाँ गए पनि, मेरो आत्मा सधैँका लागि यही ब्रजको कुञ्जगल्लीमै छुटेको गहिरो अनुभूति भइरहन्छ।


