गुप्त नवरात्रीको नवमी तिथि, वसन्तपुरको पुराना गल्लीहरूमा प्राचीन इँटाहरूबाट निस्किएको ओस र धूपको सुगन्ध हावामा तैरिरहेको थियो। समयको गति अचानक मन्द भएको आभास हुन्थ्यो। काठका कलात्मक झ्यालहरू इतिहासका मूक साक्षी झैं ठिंग उभिएका थिए। कुमारी घरको त्यो सितल, अर्ध-अँध्यारो र रहस्यमयी गर्भगृहमा प्रवेश गर्दा मेरो चेतना बाहिरी कोलाहलबाट पूर्णतः विमुख भइसकेको थियो। तल प्राङ्गणमा निकै स्वदेशी तथा विदेशी श्रद्धावानहरु झ्यालतिर आशातित हृदयले टोलाइरहेका थिए। माथि पुग्न पुरानो काठको पुरानो सानो ढोकाबाट निहुरिएर छिर्नु पर्ने थियो, जो कोहिलाई, त्यो पनि विदेशीहरुलाई चाहिँ बिशेष नै माथि जान मनाही नै थियो। कसोकसो कृपाले अवसर मिल्यो, तेतै छेउतिर आफ्ना जुत्ता खुसुक्क राखेर काठका पुरानो भर्याङ्ग बिस्तारै आवाज नआवोस् झैं गरी खुसुक्क चढेँ। त्यो गुप्त नवरात्रिको पवित्र क्षण थियो। मेरो अन्तःकरण आध्यात्मिक शुचिताको कठोर संकल्पले बाँधिएको थियो। माछा, मासु र अण्डा जस्ता समाजले तामसी भनी औंल्याएका आहारबाट टाढै रहने मेरो निष्ठा नवमीको दिनसम्म आइपुग्दा झन् दृढ भएको थियो। व्रतको कठोरताले शरीर केहि शिथिल भए पनि मनमा एउटा अलौकिक उर्जा प्रवाह भइरहेको थियो। जीवित देवी जगज्जननी कुमारीको दर्शन पाउने अभिलाषा नै मेरो एकमात्र गन्तव्य थियो।
जब मेरा नयन ती साना, निष्कलंक र तेजोमय जीवित देवीको स्वरूपमा परे, मेरो तार्किक मन एकाएक स्तब्ध भयो। उनको भालमा सजिएको अग्निचक्षु र गम्भीर मुद्राले ब्रह्माण्डीय रहस्यको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो। ठ्याक्कै त्यही पल, दैवी इच्छा र मानवीय संकल्पको महासंग्राम सुरु भयो। प्रसादको रूपमा मेरो अगाडि एउटा उसिनेको अण्डा ल्याइयो। मेरो भित्री चेतनामा एउटा गहिरो कम्पन पैदा भयो। मैले मेरो सनातन संस्कार भनेर घोकेको, केही दिन अघिदेखिको व्रत र नियमका पर्खालहरू अगाडि उभिएर म अवाक भएँ। मेरो विवेक द्विविधाको भुमरीमा फस्यो। म अड्किएँ, मेरो शरीर जडियो, र संकोचका रेखाहरू मेरो अनुहारमा प्रस्टै देखिए। नियम मानौँ कि आस्था? निषेध रोजौँ कि प्रसाद? मेरो यो आन्तरिक द्वन्द्व र संकोचलाई ती अबोध तर अन्तर्यामी आँखाले क्षणभरमै पहिचान गरिन्। तिनै ससाना ओठहरूबाट एउटा गम्भीर र कारुणिक ध्वनि निस्कियो: “या: या:…”
त्यो केवल नेवारी भाषाको “खानुस्, खानुस्” भन्ने शाब्दिक आग्रह मात्र थिएन, त्यो त ब्रह्माण्डको शाश्वत आदेश थियो। त्यसमा “केही नसोचि खानुहोस्, यो प्रसाद हो, यसमा कुनै पाप छैन, सबै नियमहरू भन्दा माथि भाव हुन्छ, दैवी कृपा हुन्छ” भन्ने गूढ आध्यात्मिक भाव अन्तर्निहित थियो। पुजारी र परिवारका सदस्यहरू मार्फत त्यो अण्डा मतिर बढाउँदा, ती जीवित देवीको दृढ र स्नेही भावले मलाई पूर्ण रूपमा गलाइसकेको थियो। ‘मर्निङ हिलिङ्ग सेसन’ का ज्ञान झल्झलि श्रद्धा पुर्वक मेरो जिन्दगीको फिल्डमा आइपुगेका थिए । “या: या:” को त्यो द्विरुक्तिले मेरो अहम् र मेरो कृत्रिम संकल्पको जग हल्लाइदियो। धर्मको बाह्य आवरण र नियम भन्दा त ईश्वरको इच्छा र आत्मसमर्पण ठूलो हो भन्ने बोध मलाई भयो। मेरो व्रतको संकल्प एकाएक मेरो हृदयको गहिराइबाटै पग्लिएर भङ्ग भयो। मैले अत्यन्तै श्रद्धा र नतमस्तक भावले त्यो प्रसाद ग्रहण गरेँ। जब मैले त्यो अण्डा मुखमा राखेँ, मेरा नयनहरू कृतज्ञता र भक्तिभावले रसाए। आँसुका ती ससाना थोपाहरूमा मेरो व्रत भङ्ग भएको पश्चाताप थिएन, बल्कि जीवित देवीको साक्षात कृपा र अनुग्रह पाएको असीम आनन्द लुकेको थियो। मेरो बाह्य नियम परास्त भएको थियो तर मेरो आन्तरिक भक्तिले विजय प्राप्त गर्ने बाटो तिर प्रेरित थियो।


