गुलेली

म सानै थिए । मेरो साथिहरुले गुलेली चलाएको देख्दा मालाई पनि गुलेलीको रहर लाग्यो । रबरलाई तानेर ढुङ्गा उछिट्याउदा , हातले पुर्‍याउन नसक्ने ठाँउमा अति बेगले पुग्थ्ने यसको बिशेषता थियो । मैले पैसा जम्मा गरेर एउटा गुलेली किने । साथीहरू निशाना लगाउन खप्पिस थिए । उनीहरूको प्राय गफ “मैले यतिवटा चरा मारेको छु , यो यो चरा खाएको छु “भन्ने वरपर नै हुने गर्थ्यो । मैले भने न कुनै चरा मारेको थिए न खाएको नै थिए । त्यसैले म उनीहरुले यस्तो कुरा गर्दा प्राय चुप लागेर बस्थे । मनमनै एउटा चरा जसरी नि मार्छु भनेर सोच्थे तर म निसाना लगाउनमा कच्चा थिए । प्रय निसाना लगाई खेलमा उनिहरुले नै जित्ने गर्थे । त्यसैले म प्राय एक्लै निसाना लगाउने अभ्यास गर्थे । कहिले कुनै ठडिएको बाँसलाई हान्थे , कहिले कुनै पातलाई हान्थे । घरहरु धेरै भएको हुनाले होस् भने पुर्‍याउनु पर्थ्यो । नत्र सिसामा लाग्न सक्थ्यो । निसाना बाहेक म चरालाई पनि पहान्ने गर्थे तर लाग्दै लाग्दैन थियो । हजुरामाले मैले गुलेलीले चरा मार्ने प्रयास गरेको देख्दा भन्नू हुन्थ्यो , ” मार्ने नियतले हान्दा , चरा भाग्यो भने पनि पाप…मारेकै बराबर लाग्छ ” । यो वचन मेरो मस्तिष्कमा घुमी नै रह्यो तर चरा मार्ने कोशिस भने रोक्किएन । मेरो घरको अगाडि धेरै भंगेराहरु आउने गर्थे । तारमा बस्न उनीहरु मन पराउथे । म छतबाट उनिहरुलाई हान्ने प्रयास गर्थे । गुलेलीको प्रहार हुने बित्तिकै उनीहरु उढ्थे

 र फेरि त्यही आउथे । मलाई उनिहरुले जिस्काए जस्तो लाग्थ्यो । आफैसँग रिसाउदै , अब त लगाउछु-लगाउछु भनेर हन्ने कोसिस गर्थे । यो क्रम निकै लामो समय चल्यो । प्राय म गुलेली चलाउदा आमाले भनेको कुरा पनि सम्झिन्थे तर त्यसले खासै मलाई बिचलित बनाएको थिएन । एक दिन भने , एक जोडी भङ्गेरा फेरि त्यहि तारमा बसे । त्यो एउटा भाले र अर्को पोथी थियो । कलो रंग देखिने भाले हुन्थ्यो भने पोथि फुस्रो फुस्रो हुन्थ्यो । भङ्गेराहरुलाई हेर्दा हेर्दै उनिहरुलाई म चिन्न थाली सकेको थिए । मैले गुलेली तन्काए र ढुङ्गा छाडीदिए । भालेको टाउकोमा लागेछ । पहिलो पटक चरालाई लाग्यो । म छतबाट तल झरे । भङ्गेराको अन्तिम ढुकढुकी चलिरहेको थियो । मैले जमिनबाट उठाए । पखेटाहरु नरम थिए । त्यसको आँखाले मलाई नै हेरिरहेको थियो । मेरै हातमा त्यसले अन्तिम सास छाडिदियो । मेरो हातमा थोरै रगत पनि लागेछ । म त्यो भङ्गेरा खाने त सोच्न पनि सकिन । मलाई चरा मर्नु थियो मारे अब त्यो भङ्गेरा के गर्ने । मेरो हातमा नै त्यो भङ्गेरा चिसो र कडा हुँदै गयो । मैले किन मारे भनेर मलाई पछुतो लाग्दै थियो । मेरो आँखा भरी आँसु जम्यो । मैले त्यसलाई श्रद्धा पुर्वक खाल्डो खनेर गाडिदिए । त्यसपछि मैले फेरि अर्को चरा मार्ने सोच्न पनि सकिन। केही छण पछि त्यहि पोथि आयो र त्यहि तारमा बस्यो । चिरबिर चिरबिर गर्दैथियो । मलाई त्यसले भाले खोज्दै छ जस्तो लाग्दै थियो । म धेरै दिन निरास भए । कुनै पोथी एक्लै त्यो तारमा बस्दा , त्यहि पोथी हो कि जस्तो लाग्थ्यो ।  त्यस दिन देखि मैले अहिले सम्म चरा मारेको छैन ।

आफैंलाई भेट्ने यात्रा हो- ध्यान!!

  प्रत्येक बिहानीले जीवनलाई नयाँ गोरेटोतर्फ डोर्‍याइरहेको छ। बिहानको शान्त वातावरणमा शब्दका तरङ्ग (Vibration) महसुस गर्नु, अनि दिनको कुनै एकान्त क्षणमा तिनै भावहरूलाई फेरि सम्झँदै मनभित्र र कागजमा उतार्नु,यो बिस्तारै मेरो आत्मिक दैनिकी बनेको छ। यस अभ्यासमा एउटा अद्भुत मिठास छ, एउटा मौन आनन्द छ, जसले मनलाई हलुका बनाउँछ र आत्मालाई गहिरो स्पर्श गर्छ। यस्तो लाग्छ, प्रत्येक बिहानसँगै जीवनले नयाँ- नयाँ अर्थ पाइरहेछ ।

ध्यान कुनै मेमोरीजन्य अभ्यास होइन। यो सम्झेर दोहोर्‍याउने प्रक्रिया मात्र होइन, न त सहानुभूतिको आवरण ओढेर बस्ने प्रयास नै हो। यदि हामी ध्यानलाई “म गर्छु” भन्ने अहंकारसँग जोड्छौं भने, त्यो केवल मनको सूक्ष्म खेल बन्छ। साँचो ध्यान त त्यहाँ सुरु हुन्छ, जहाँ “म” हराउन थाल्छ र केवल मौन अनुभूति बाँकी रहन्छ। ध्यान भनेको आफैंसँग निस्वार्थ रूपमा बस्नु हो,जहाँ कुनै अभिनय हुँदैन, कुनै प्रमाण दिनु पर्दैन।

यसको लागि जीवनमा सहनशीलता बढाउनु अत्यन्त आवश्यक छ। हरेक अनुभवलाई स्वीकार्दै, बिस्तारै–बिस्तारै अहंकारलाई पगाल्दै जानुपर्छ। उच्च चेतनाको यात्रा कुनै एकैपटकको कुनै चमत्कार होइन; यो त निरन्तर सजगता, धैर्य र आत्मस्वीकारको यात्रा हो। जति अहंकार घट्दै जान्छ, त्यति नै भित्रको शान्ति प्रकट हुन थाल्छ।

हामीले यात्रा शरीरबाट होइन, हिलिङ स्पिरिट (Healing Spirit)बाट सुरु गर्नुपर्छ। जब आत्मा शान्त र सन्तुलित हुन्छ, शरीर आफैं उज्यालो अनुभव गर्न थाल्छ। यही कारणले भगवान बुद्धले भन्नुभएको थियो—“आफूलाई हेर।”
आफूलाई हेर्न सक्नु नै सबैभन्दा ठूलो साधना हो। संसारलाई बुझ्नुभन्दा पहिले आफूलाई बुझ्न सक्नु नै चेतनाको ढोका खोल्नु हो।

“अझै अझै चाहियो” भन्ने भावना मानव स्वभावको एउटा सूक्ष्म तह हो। स्वभावमा बाँच्ने मानिसले बिस्तारै बुझ्न थाल्छ कि साँचो आनन्द बाहिरको संग्रहमा होइन, भित्रको सन्तोषमा लुकेको हुन्छ। स्वभावको मान्छे बन्नु भनेको नक्कलीपन र देखावटीपनबाट मुक्त हुनु हो। यही स्वतन्त्रताले जीवनलाई सहज र सुन्दर बनाउँछ।

ध्यानी व्यक्तिमा विवेक हुन्छ। ऊ प्रतिक्रियामा होइन, सजगतामा बाँच्छ। उसलाई बाहिरी नियमभन्दा भित्री चेतनाले मार्गदर्शन गर्छ। आध्यात्मिक अभ्यास विकल्परहित हुन्छ,यसमा “यदि” र “तर” हुँदैन। जब साधना साँचो हुन्छ, त्यसको सकारात्मक स्पन्दन वातावरणभरि फैलिन्छ। एक व्यक्तिको शान्त चेतनाले वरिपरिको संसारलाई समेत स्पर्श गर्न सक्छ।

भक्ति योगले भन्छ-परमात्मालाई निरन्तर सम्झिरहनु। तर प्रायः हामी आफ्नै विचारहरूको भीडमा हराइरहेका हुन्छौं। मन बाहिरतिर दौडिरहन्छ, त्यसैले आत्माको मौन आवाज सुन्न सकिँदैन। जब हामी भित्र फर्किन थाल्छौं, तब थाहा हुन्छ-प्रार्थना शब्दमा होइन, अनुभूतिमा जीवित हुन्छ।

आफ्नो अनुभवमा “मोर नलेज(More Knowledge)” हुनु जरुरी छ। अरूले भनेको सत्य होइन, आफूले महसुस गरेको सत्य नै वास्तविक ज्ञान हो। जीवनमा प्रायः त्यही घट्छ, जुन हामीले कल्पना नै गरेका हुँदैनौं। त्यसैले वर्तमानमा रहन सिक्नुपर्छ, किनकि वर्तमान क्षणमा नै पवित्र ऊर्जा बस्छ। जब हामी पूर्ण रूपमा वर्तमानमा हुन्छौं, साधारण क्षणहरू पनि दिव्य अनुभव बन्न थाल्छन्।

सकारात्मकता केवल सोच होइन, यो त निरन्तर अभ्यास हो। आफैंलाई बारम्बार उज्यालोतर्फ फर्काइरहनु हो। अझै भित्र जानु, अझै शान्त हुनु, अझै सजग हुनु-यही नै ध्यानको सार हो। ध्यान भनेको संसारबाट भाग्नु होइन, यो त जीवनको प्रत्येक क्षणमा पूर्ण रूपमा उपस्थित हुनु हो। जहाँ विचारहरू शान्त हुन्छन्, त्यहाँ आत्माको मधुर स्वर सुन्न थालिन्छ।

अन्ततः, जीवन कुनै अन्तिम गन्तव्य होइन। यो त एक निरन्तर बहने यात्रा हो। प्रत्येक बिहानले हामीलाई नयाँ गोरेटो देखाउँछ, प्रत्येक सजग श्वासले हामीलाई आफैंसँग नजिक ल्याउँछ, र प्रत्येक मौन क्षणले भित्र लुकेको दिव्यता सम्झाइरहन्छ।सायद यही नै जीवनको सबैभन्दा सुन्दर रहस्य हो-आफैंलाई भेट्ने यात्रा।