सिमल र म

एक महिना अघिको कुरा हो… म आफ्नो पहाडी घर, Sankhuwasabha को त्यो पुरानो आँगन, त्यो बाल्यकालको धुलो, त्यो सम्झनाले भरिएको बाटो छोडेर बाइकमा फर्कँदै थिएँ Kathmandu तिर।

घुम्तीहरू पार हुँदै गए, खोल्साहरू पछाडि छुट्दै गए, पहाडहरू बिस्तारै टाढिँदै गए।

तर त्यो दिन, मेरो यात्रा केवल सडकको थिएन, मेरो यात्रा मेरो आफ्नै मनभित्र पनि चलिरहेको थियो।

बाटाभरि सिमलका अग्ला-अग्ला रूखहरू उभिएका थिए। जसरी कुनै मौन ऋषि सदियौँदेखि त्यहीँ उभिएर जीवनको पाठ पढाइरहेका हुन्छन्।

तिनका हाँगाबाट सिमलका सेता भुवाहरू हावासँगै उडिरहेका थिए।

कसैले पश्चिमतिर लगिरहेको थियो, कसैले पूर्वतिर, कसैले सडकभरि नाचिरहेका थिए, कसैले यात्रुहरूको अनुहार छुन्दै कुनै अज्ञात गन्तव्यतिर लागिरहेका थिए।

म बाइक चलाउँदै थिएँ, तर मेरो नजर बारम्बार ती उडिरहेका भुवाहरूमै अड्किरहेको थियो।

अचानक… मनभित्र एउटा बिजुली चम्कियो।

“कतै यो मेरो आफ्नै प्रतिबिम्ब त होइन ?”

म झसङ्ग भएँ।

किनकि म पनि त ठ्याक्कै त्यही गरिरहेको थिएँ।

पन्ध्र वर्षपछि म आफ्नो जन्मथलो पुगेको थिएँ।

त्यो घर, जहाँ स्वर्गीय हजुरआमाको आवाज  अझै भित्तामा टाँसिएको छ।

त्यो आँगन, जहाँ मेरा बाल्यकालक पाइला अझै कतै सुरक्षित होलान्।

त्यो डाँडो, जहाँबाट संसार हेर्दा सबै सपना सम्भव लाग्थे।

त्यो खोला, जहाँ मैले पहिलो पटक जीवनलाई खेल ठानेको थिएँ।

म केही दिन त्यहाँ बसेँ।

पुराना बाटाहरू हिँडेँ। पुराना अनुहारहरू भेटेँ। पुराना सम्झनाहरू छोएँ।

तर फेरि…

फेरि शहरले बोलायो।

जिम्मेवारीले बोलायो।

जीवनले बोलायो।

र म फर्किएँ।

जसरी सिमलको भुवा आफ्नो रूखबाट टाढा उड्छ, म पनि आफ्नो माटोबाट टाढा उड्दै थिएँ।

तर एउटा कुरा मेरो हृदयलाई आगोझैँ पोलिरह्यो।

ती सिमलका रूखहरूलाई हेर।

वर्षौँदेखि उनीहरू यही गर्दै आएका छन्।

आफ्नो मुटुको टुक्रा जस्तै ती भुवाहरूलाई हावाको जिम्मा लगाउँछन्।

आफ्नो कोखबाट जन्माएका बीउहरूलाई संसारतिर पठाउँछन्।

तर कहिल्यै रोएको देखिँदैन।

कहिल्यै गुनासो गरेको सुनिँदैन।

कहिल्यै भागेको देखिँदैन।

उनीहरू त्यहीँ उभिएका छन्।

धर्तीलाई समातेर।

आकाशलाई छुँदै।

निस्वार्थ कर्ममा लीन।

ममताको महासागर भएर पनि मोहको कैदी नबनी।

त्यो देख्दा मेरो मनले आफैलाई सोध्यो.. 

“तर म ?”

म किन यति बेचैन छु ?

किन प्रत्येक बिदाइले मेरो छाती चिरिदिन्छ ?

किन प्रत्येक फर्काइले आँखा रसाउँछ ?

किन म हरेक चोटि आफ्नै गाउँ छोड्दा आफ्नो एउटा हिस्सा त्यहीँ बिर्सिएर आउँछु ?

सायद…

किनकि म अझै सिक्दै छु।

सिमलले जानेको कुरा म अझै बुझ्न खोज्दै छु।

उसले बुझिसकेको छ.. 

माया गर्नु भनेको बाँधेर राख्नु होइन।

माया गर्नु भनेको उड्न दिनु हो।

छोड्न सक्नु हो।

विश्वास गर्न सक्नु हो।

धर्तीमा गहिरो जरा गाडेर आकाशतिर आफ्ना सपनाहरू पठाउन सक्नु हो।

त्यो दिन बाइकको गति चलिरहेकै थियो।

सडक अगाडि बढिरहेकै थियो।

तर मेरो मन त्यही एउटा सिमलको रूखमुनि कतै अड्किएको थियो।

हावामा उडिरहेका ती भुवाहरूलाई हेर्दै।

र मलाई लाग्यो.. 

हामी सबै कुनै न कुनै सिमलका भुवा हौँ।

कुनै आमाको प्रार्थनाबाट उडेका।

कुनै बाबुको पसिनाबाट उडेका।

कुनै गाउँको माटोबाट उडेका।

कुनै सम्झनाको कोखबाट उडेका।

हामी उड्छौँ।

टाढा जान्छौँ।

हराउँछौँ।

फर्किन्छौँ।

फेरि जान्छौँ।

तर जहाँसुकै पुगे पनि हाम्रो भित्र कतै एउटा सिमलको रूख बाँचेको हुन्छ।

एउटा गाउँ बाँचेको हुन्छ।

एउटा घर बाँचेको हुन्छ।

एउटा आँगन बाँचेको हुन्छ।

र त्यसैले त…

हरेक पटक घर छोड्दा मन यति धेरै दुख्छ।

किनकि हामी केवल ठाउँ छोडिरहेका हुँदैनौँ, हामी आफ्नो आत्माको एउटा अंश फेरि एकपटक पछाडि छोडेर हिँडिरहेका हुन्छौँ।

र सायद…

जीवनको सबैभन्दा ठूलो साधना यही हो

सिमलजस्तै बन्न सक्नु।

मायाले भरिनु, तर मोहले नबाँधिनु।

सबैलाई आफ्नो भन्नु, तर कसैलाई कैद नगर्नु।

आफ्नो हृदयका हजारौँ टुक्राहरू संसारभरि उडाउनु, र त्यसपछि पनि

त्यहीँ…

अडिग,

शान्त,

निस्वार्थ,

धर्तीलाई अँगालेर उभिरहनु।

~ उत्तम बस्नेत

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

One thought on “सिमल र म”

Leave a comment