कहिलेकाहीँ कुनै सम्बन्धको गहिराइ त्यसमा बोलेका शब्दहरूको संख्याले होइन, नबोली छाडिएका कुराहरूले बताउने रहेछ। केही मानिसहरू जीवनमा आएर अर्कोलाई आफ्नो विचारअनुसार बदल्न खोज्दैनन्, उनीहरू केवल ऐनाजस्तै हुन्छन् हामीलाई हामीभित्रकै केही कुरा देखाइदिन्छन्। उनीहरूसँग बस्दा आफूलाई कुनै परीक्षा दिइरहेको जस्तो लाग्दैन, कुनै व्यवहारको हिसाब दिनुपर्दैन, न आफूलाई सही प्रमाणित गर्नुपर्छ। उनीहरूको उपस्थितिमा मानिस आफू भएरै बस्न सक्छ। मानव र प्रदिपको मित्रता त्यस्तै थियो। मानव उमेरले दोब्बर भन्दा बढी तर प्रदिपले ‘साथी’ भनेर बोलाउँथ्यो उसलाई । कहिलेकाहीँ आफू पातजस्तो लाग्थ्यो आफ्नै ठाउँमा भएर बसेको, प्रदिप भने पानीको चम्किलो थोपा जस्तो, आएर पातमा बस्ने, केही क्षण चम्किएर बस्दा पनि पातको स्वरूप आफ्नो बनाउन नखोज्ने, पातलाई नभिजाइकनै टाँसिरहन पनि सक्ने। दुवैबीच गफ हुन्थ्यो, निकटता थियो, आत्मीयता थियो। गफगाफ भेटघाट गर्ने भन्ने कुरामा उनिहरु बीच एउटा मात्र शर्त थियो ‘न्युनतम ५१% गुरुको बारेमा चर्चा हुनु पर्छ’ । उनीहरू एकअर्काको व्यवहारमा judge, comment वा अनावश्यक reaction गर्दैनथे। केवल observe गर्थे। केही सिक्ने कुरा देखे सिक्थे, बाँकी कुरा त्यसै छोडिदिन्थे।
एक दिन मानवले प्रदिपलाई भन्यो, “एकपटक उहाँले एकदमै महत्वपूर्ण रूपमा फोकस गरेर भन्नुभएको एउटा कुरा याद आयो। ‘सतिससँग बस्दा, घुम्दा, व्यवहार गर्दा ऊ नबिझाउने खालको रहेछ।’ मानवलाई त्यसबेला त्यो वाक्यको अर्थ स्पष्ट भएन। उसले सोध्यो पनि, “नबिझाउने भनेको के होला?” उहाँले सम्झाउनुभयो, “ऊ न मलाई बिझायो, न उसले आफूलाई नै बिझायो।” त्यो वाक्य मानवको मनमा धेरै बेर अडियो। सायद त्यही थियो non-attached, non-judgemental, non-commentable हुनु। न आफूलाई अनावश्यक रूपमा समातिरहनु, न अरूलाई आफ्नो विचारले समात्नु, न अरूको व्यवहारले आफूलाई बिझाउनु, न आफ्नो व्यवहारले अरूलाई बिझाउने गरी छिर्नु, न कसैलाई निरन्तर मूल्याङ्कन गर्नु, न आफूलाई कसैको मूल्याङ्कनको केन्द्र बनाउनु। प्रदिपतिर हेर्दा मानवलाई त्यो कुरा झन् स्पष्ट हुँदै गयो।
एक बिहान उनीहरू सँगै पशुपतिनाथ गए। दर्शनका क्रममा पुजारीले प्रदिपलाई विशेष भक्तालुको सम्मान दिए। अरु कोहीपनि जान नपाउने र उभिन नपाउने स्थानमा पशुपतिको चाँदिकै ढोकामा राखेर नजिकैबाट केहिबेर सम्म एकाग्रिएर दर्शन गर्न पाउने गरी अवसर मिलाइदिए, पंचामृत खुवाए, शिवलिङ्गमा चढाइएको माला, “ॐ नमः शिवाय” लेखिएको गम्छा, चन्दन, त्रिनेत्रको टीका, फलफूल, मिठाई र दही दिए। अनि फेरी अन्त्यमा ज्योतिर्लिङ्ग स्नान गराइएको उर्जाशिल महत्वको मह दिँदै भने, “यो चाहिँ आफ्नो गुरुका लागि लैजानू।” मानवले त्यो सबै चुपचाप हेर्यो। त्यसलाई केवल एउटा घटना रुपमा देख्यो, त्यसको सुन्दरता महसुस गर्यो र आफूले बुझ्नुपर्ने कुरा मनमा राख्यो। फर्कंदा उनीहरू निकैवेर शिवपुरी बाबाको आश्रम तिरको श्लेशमान्तक वनको अग्ला अग्ला रुखमुनि बसेर ओझिला गफमा हराए । मानव घरि न घरि आँफु भित्र चिहाइरहन्थ्यो ‘कतै मेरा कुराले ego boost त भइराछैन मेरै र उसको पनि, अनि gratitude हराइरहेको त छैन उ प्रति!’ आजकल उसले आफ्नो ego को अवस्था खुबै गहिरिएर हेर्न थालेको छ, जुनि जुनि देखि ढाकिएर हराएको ego को अनेक रुप रंग आकार शैलिहरु देख्न थालेको छ, जसलाई observation ले गलाएर थकाउन चाहान्छ। यसैबीच मानवको मनमा एउटा दृश्य कायम रह्यो, ‘पातमाथि बसेको पानीको थोपा’। थोपा पातलाई छोइरहेको थियो तर पातलाई आफ्नो बनाउन खोजिरहेको थिएन। पातले पनि उसलाई बाँधेर राखेको थिएन। दुवैको स्पर्श थियो तर स्वामित्व थिएन। सायद साँचो मित्रता पनि त्यही रहेछ, सँगै भएर पनि अधिकार नजमाउनु, नजिक भएर पनि निर्णय नगर्नु, हेरेर पनि हस्तक्षेप नगर्नु र एकअर्काबाट सिकेर पनि एकअर्कालाई बदल्न नखोज्नु। मानवले प्रदिपलाई हेर्यो र मनमनै सोच्यो, कुनै कुनै मानिस जीवनमा पातमाथिको पानीको थोपा भएर आउँछन्, चम्किदिन्छन्, केही सिकाएर जान्छन् तर पातलाई नभिजाएरै पनि, अनि उसको हरियोपन आफ्नो बनाउँदैनन् पनि। त्यसैले मानव र प्रदिपको सम्बन्धको सबैभन्दा सुन्दर नाम सायद त्यस्तै केही थियो, छोएर पनि नछोएझैं, नजिक भएर पनि स्वतन्त्र; हेरेर पनि निर्णय नगरेझैं र आत्मीय भएर पनि एकअर्कालाई नबिझाएझैं।
फेरि भेट्ने अँगालो मार्दा, प्रदिपको सुस्तरी स्वास–प्रस्वासमा घुलिएको focused शक्ति रुपी “inhale छिन्न, exhale मस्ते” मानसिक नामजप स्पन्दित हुँदा आफ्नो समग्र मातृ शक्ति रुपी “inhale माँ, exhale दुर्गे ” पनि सँगै घुलिइरहेको झैं लागेर एकछिन मानवले अँगालो छाड्नै मानेन।



कुनै कुनै मानिस जीवनमा पातमाथिको पानीको थोपा भएर आउँछन्, चम्किदिन्छन्, केही सिकाएर जान्छन् तर पातलाई नभिजाएरै पनि, अनि उसको हरियोपन आफ्नो बनाउँदैनन् पनि। ===भावभित्र पस्दा आँसु यो किन बग्दछ, लेखाईको गहिराईमा मित्रता कति अमूल्य छ।
LikeLiked by 1 person