पातको कथा

ब्रह्माण्डको कुनै अज्ञात र सुदूर क्षितिजमा, जहाँ समयको पदचाप समेत निस्पट्ट अन्धकारमा ठोक्किएर फर्कन्छ, एउटा बिउले मृत्युको ठिहिर्याउने काखभित्रै जीवनको आदिम न्यानोपनको खोजी गरिरहेको थियो। माटोको अभेद्य र गह्रुँगो छातीले थिचिएको त्यो लघु-अस्तित्वको मौन क्रन्दन सुन्ने धैर्य सायद रित्तो शून्यतासँग पनि थिएन तर त्यही महाशून्यताको गर्भगृहभित्र एउटा तिलस्मी विष्फोट भयो ‘सङ्कल्पको विष्फोट’। आफ्नै शरीरको कठोर कवचलाई छियाछिया पार्दै, पाषाण-हृदयी ढुङ्गाका दाँतहरूसँग पौँठेजोरी खेल्दै र मृत्तिकाको तिर्सना मेट्दै जब एउटा सुकोमल सुइरोले धर्तीको सतहमा शिर उठायो, ऊसँग न कुनै संहारक हतियार थियो, न त आत्मरक्षक ढाल। ऊसँग थियो त केवल एउटा ‘पालुवा’ बन्ने काँचो र पवित्र स्वप्न-बिम्ब।

ऋतुका चक्रहरूसँगै त्यो पालुवा एउटा वनस्पति-अङ्गको सीमा नाघेर अनेकौँ मानवीय रङ्गहरूको रङ्गमञ्चमा रूपान्तरित भयो। कहिले बाल्यकालको निर्दोष ‘भाँडाकुटी’मा एक काल्पनिक सिंहासन बनेर मुस्कुरायो, त कहिले अभावका ओठहरूमा सुकेर भुइँबाट टिपियो अनि कहिले ‘दुना टपरी’को आकार लिँदै जीवनको गाँसलाई मर्यादा दियो। झरीको क्रन्दनमा ऊ ‘घुम’ बनेर ओत बन्यो त कतै ‘निसर्गदत्त’को चेतनाको रापमा ‘बिँडी’ बनेर आफ्नै शरीरलाई धुवाँको कुइरीमण्डलमा विसर्जन गरिदियो। छिमेकीको गोठबाट निस्किएको ‘बिगौती’ को तातो स्पर्शलाई आफ्नो कोमल काखमा थाम्दा, उसले सायद ब्रह्माण्डीय मातृत्वको अमृत र त्यसको अन्तर्निहित पीडालाई एकैसाथ चुम्यो होला।

यो आख्यानको सबैभन्दा तरल र विरोधाभासी मोड तब अङ्कित हुन्छ, जब एक निर्दोष गायनले यसलाई स्पर्शको माधुर्यले ओल्टाई-पल्टाई छाम्छ। औँलाहरूका ती रेशा-रेशाले जब पातका नसाहरूभित्रको स्पन्दनलाई सुम्सुम्याउँछन्, तब हावाको झोक्कासँगै एउटा गीतको अंश स्वतः प्रतिध्वनित हुन थाल्छ “हेरेर तिमीलाई, देखेर तिमीलाई… भेटेर तिमीलाई, सम्झेर तिमीलाई…”। त्यो पात, जो अब कसैको सङ्गीतको मूक सारथी बनिसकेको छ, उसले आफ्नो अस्तित्वलाई पूर्णतः अर्पणको अग्निकुण्डमा होमिदिन्छ। उसलाई अब यो हेक्का छैन कि ऊ आफ्नै लयमा बाँचिरहेको छ, वा त्यो सङ्गीतको धूनमा जसले उसलाई अन्तिम पटक मायालु संवेगले स्पर्श गरिरहेको छ।

यसको महागाथा लामो र श्रृंखलाबद्ध छ तर यसको परम विष्मय त ‘झर्नु’ को सौन्दर्यमा लुकेको छ। जब शिशिरको नीलो तुषारोले उसको हरियो यौवनलाई पहेँलो वैराग्यको वस्त्र पहिर्‍याइदिन्छ, तब ऊ हाँगाबाट कुनै गुनासो बिना, एक शान्त साधु झैँ ओर्लन्छ। उसलाई थाहा छ आफ्नो पतन नै अर्को नव-पालुवाको उदयको आधारशिला हो।

जब ऊ भुइँमा पछारिन्छ र पथिकहरूले ‘पतिङ्गर’ को संज्ञा दिँदै निर्दयी भएर कुल्चिन्छन्, उसले त्यो चोटलाई पनि एक दिव्य आशीर्वादको रूपमा ग्रहण गर्छ। ऊ गलेर माटोमै समाहित हुन्छ र फेरि त्यही जडलाई ऊर्जा प्रदान गर्छ, जसले आगामी वसन्तमा अर्को नयाँ सपनालाई जन्म दिन सकोस्। यो एउटा यस्तो शाश्वत चक्र हो, जहाँ ‘हुनु’ र ‘नहुनु’ बीचको कृत्रिम पर्खाल ढल्छ र एउटा विनम्र अस्तित्वले पुनर्जीवनको गीत गाउँछ।

स्कुल

एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” ।  केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई  त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ । 

यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने  , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।

समग्र जीवन हाम्रो बुझाइ र धारणा भन्दा सधैँ पर हुन्छ

विभिन्न कारणले जीवनमा हामी सिक्न बन्द गर्ने सम्भावना हुने रहेछ। साधनाको यात्रामा कहिले मलाई सबै थाहा भइसकेको छ वा मैले मोक्ष प्राप्त गरिसकें भन्ने भ्रम हुन सक्ने रहेछ, कहिले आफू भन्दा सानो मान्छे वा अरुसँग अहङ्कारले गर्दा, वा औपचारिक शिक्षा सकिए पछि हामी त सधैँको विद्यार्थी हौँ भन्ने पनि बिर्सिन सकिने सम्भावना हुने रहेछ। 

सिक्ने उमेर कहिले पनि सकिँदैन रहेछ। र ज्ञान र चेतनाको विकासको लागि सधैँ सिक्ने भावमा रहनु अत्यावश्यक हुने रहेछ। जो मान्छे सिक्न तयार छ र त्यो दिशामा अनुशासित भएर लागि रहन तयार छ, त्यो मान्छे नै सफल हुने रहेछ। 

गहिरा कामहरू एकान्तमा हुन्छन्

कुनै एउटा टाढाको पहाडको काखमा, जहाँ बादल र कुहिरोहरूले रुखका हाँगाहरूसँग लुकामारी खेल्थे, त्यहाँ एउटा सानो तर झिलिमिली परेको कुटी थियो। त्यही कुटीमा उ आफ्नो बाल्यकालका कलिला पाइलाहरू चाल्दै गुरुको सामिप्यतामा हुर्कँदै थियो। अरू बालबालिकाहरू बाहिर मैदानमा दौडिरहँदा, उसलाई भने गुरुले एउटा सानो माटोको घैँटो र एउटा बीऊ दिएर एकान्त कुनामा बस्न लगाउनुभएको थियो। उसको लागि त्यो केवल एउटा बीऊ थिएन, बरु एउटा नसुल्झिएको पहेली थियो। उसले दिनभरि त्यो माटोलाई हेर्थ्यो, तर त्यहाँ केही पनि हलचल हुँदैनथ्यो। उसलाई लाग्थ्यो, के यो बीऊ निदाइरहेको छ? वा यो भित्र केही भइरहेकै छैन? उसको मनमा जिज्ञासाका अनेकौं लहरहरू चल्थे, तर गुरुको शान्त र गम्भीर उपस्थिति देखेपछि उ चुपचाप आफ्नै भित्री जगतमा फर्कन्थ्यो। गुरुको निगरानी कुनै शासन जस्तो थिएन, बरु एउटा शीतल छाया जस्तो थियो जसले उसलाई बाहिरी संसारको भड्कावबाट जोगाएर आफ्नै आत्माको ऐना हेर्न प्रेरित गर्थ्यो।

एकदिन, धैर्यताको बाँध टुट्न लाग्दा उसले गुरुलाई सोध्यो, “गुरुदेव, यो बीऊ किन यति धेरै समयसम्म एक्लै अँध्यारोमा बस्छ? के यसलाई एक्लो महसुस हुँदैन?” कुखुराका अण्डाहरू पनि त त्यो बिऊ सँगै अँध्यारो मै थिए त तर चाँडै चल्लाहरू बनेर निस्किए त, ती पनि त बिऊ नै थिए नि होइनन् र ? गुरुले उसको कलिलो टाउकोमा हात राख्दै मन्द मुस्कानका साथ उपनिषद्को एउटा गहन सत्य सुनाउनुभयो, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।” अर्थात्, “हे वत्स! यो बीऊ अहिले असत्यबाट सत्यतर्फ र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा छ। बाहिरबाट हेर्दा यो चुपचाप छ, तर भित्रभित्रै यसले आफ्नो पुरानो अस्तित्वलाई गलाएर नयाँ स्वरूपको निर्माण गरिरहेको छ। गहिरा कामहरू त सधैँ एकान्तमै हुन्छन्। अनि सबै बिऊहरु एकै समयमा अंकुरित हुनै पर्छ भन्ने पनि छैन नि, प्रकृतिका नियममा अनेक लिला हुन्छन्, बिउका योग अनुसार तीनका भोग हुन्छन् ।” गुरुको यो कुराले उसलाई गहिरो आत्म-निरीक्षणमा पुर्‍यायो। उसले बुझ्यो कि जसरी बीऊले बाहिरी दुनियाँलाई बिर्सेर माटोमुनि आफ्ना जराहरू बलिया बनाउँछ, उसले पनि आफ्नो चञ्चल मनलाई बाँधेर आत्म-स्मरणको बाटो रोज्नुपर्छ। उसले आफ्ना पुराना जिद्दीहरू, सानातिना रिसहरू र चञ्चलतालाई बिस्तारै नियाल्न थाल्यो। यो उसको लागि एउटा यस्तो सिकाइ पद्धति बन्यो जहाँ किताबका अक्षरहरू भन्दा धेरै आफ्नै भित्री मौनताले पाठ पढाइरहेको थियो सुस्तरी सुस्तरी, धर्यपुर्बक स्वभाव अनुसारको योगमा अनि अहंकार बिसर्जन अभ्यासमा, 

“ॐ वैरोचनीये विद्महे छिन्नमस्तकायै धीमहि तन्नो देवी प्रचोदयात्” गुरु आज्ञाले जप गर्दै एकान्तको गहिराइमा…..।