Blog

केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो

आकाशमा मडारिरहेका बादलहरू र सडकमा उडिरहेका निर्वाचनका पर्चाहरूका बीच निशान्त आफ्नो एकान्त कोठामा एउटा गहिरो शून्यता ओढेर बसेको थियो। झ्याल बाहिरको क्षितिजमा देखिने हल्का रातो र नीलो रङको मिश्रण जस्तै थियो निशान्तको मन, न त पूर्ण शान्त, न त पूर्ण अशान्त। ऊ आफ्नो कोठाको कुनामा बसेर रित्तो भित्तालाई टोलाइरहेको थियो। उसको अगाडि रित्तो टेबल थियो, रित्तो डायरी थियो र सायद उसको गोजी पनि रित्तै थियो तर यही रिक्ततामा उसले एउटा अद्भूत शक्ति महसुस गरिरहेको थियो। उसले मनमनै दोहोर्‍यायो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” जब एउटा कलाकारसँग रित्तो क्यानभास हुन्छ, तब मात्र उसले त्यहाँ ब्रह्माण्ड उतार्न सक्छ। यदि क्यानभास पहिले नै भरिएको भए, त्यहाँ नयाँ सिर्जनाको कुनै गुञ्जायस नै हुँदैनथ्यो। निशान्तको मस्तिष्कमा विचारका लहरहरू डार्विनको विकासवादी सिद्धान्तबाट सुरु भएर अध्यात्मको तरङ्गसम्म ठोकिइरहेका थिए। उसले सोच्यो, करोडौँ वर्षअघि जब यो पृथ्वीमा ‘केही थिएन’ तब मात्र जीवनको एउटा सानो कोषिका(Cell) विकसित हुने सम्भावना जन्मियो। डार्विनले भनेको Biological Evolution त केवल शरीरको यात्रा थियो बाँदरबाट मानिससम्मको यात्रा तर के मानिस नै अन्तिम सत्य हो त? अहँ, अनुपम स्वामीका वाणी र पुस्तकहरूले उसलाई अर्कै संसार देखाएका थिए। मानिस त एउटा पुल हो, एउटा सम्भावना हो, जसले पशुत्वबाट देवत्वतर्फको Spiritual Evolution तय गर्नुपर्छ। जसरी एलन मस्कले रित्तो मंगल ग्रहमा मानव वस्तीको सम्भावना देख्छन् र रकेटहरू अन्तरिक्षमा हुइँक्याउँछन्, त्यसरी नै एउटा साधकले आफ्नो भित्री शून्यतामा परमात्माको वस्ती बसाउनुपर्छ। मस्कको बाह्य विज्ञान र बुद्धको आन्तरिक विज्ञानको मिलनबिन्दु नै यो ‘केही नहुनु’ को अवस्था हो। निशान्तले सोच्यो, यो संसारको सृष्टि नै शून्यताबाट भएको हो। डार्विनले भने झैँ जीवनको विकास (Biological Evolution) एक कोषीय जीवबाट सुरु भयो, जसको आफ्नो कुनै परिचय थिएन तर त्यही ‘केही नभएको’ अवस्थाबाट आजको यो जटिल मानव मस्तिष्कसम्मको यात्रा सम्भव भयो।  जर्ज गुर्जिएफका दर्शनहरूले निशान्तलाई एउटा नयाँ दृष्टि दिएका थिए। गुर्जिएफले सिकाएको Fourth Way ले भन्छ मानिस एउटा मेसिन हो तर उसभित्र सचेत हुने र ‘आध्यात्मिक विकास’ (Spiritual Evolution) गर्ने अनन्त सम्भावना छ। त्यसका लागि मानिसले पहिले आफ्नो पुरानो अहंकारलाई शून्य बनाउनुपर्छ। निशान्तको मस्तिष्कमा न्युटन र आइन्स्टाइनका तस्विरहरू आए। न्युटनले गुरुत्वाकर्षण भेट्दा र आइन्स्टाइनले सापेक्षतावादको सूत्र कोर्दा, उनीहरू सायद निशान्त जस्तै एउटा यस्तो बिन्दुमा थिए जहाँ उनीहरूलाई ‘केही थाहा थिएन’। जब मानिसले “मलाई केही थाहा छैन” भन्छ, तब मात्र सत्य प्रकट हुने सम्भावना रहन्छ। एलन मस्कले मंगल ग्रहमा बस्ती बसाउने कुरा गर्दा पनि त त्यही शून्यतालाई चुनौती दिएका हुन् जहाँ केही छैन, त्यहाँ ब्रह्माण्ड बनाउन सकिन्छ।

उसले टेबुलमा रहेका धर्मग्रन्थहरूलाई सुम्सुम्यायो। गितामा कृष्णले अर्जुनलाई कर्मको कौशल सिकाउँदै गर्दा अर्जुनको मन निशान्तको जस्तै थियो द्वन्द्व र सम्भावनाको बीचमा। त्रिपिटकमा बुद्धले ‘शून्यता’ को जुन व्याख्या गरे, त्यो अभाव होइन, त्यो त पूर्णताको स्रोत थियो पक्कै पनि। बाइबलले भन्छ, “आत्मामा रित्तो हुनेहरू धन्य हुन्,” र कुरानले भन्छ कि जब तिमी आफ्नो ‘म’ लाई मेटाउँछौ (फना), तब मात्र परमात्माको नूर (उज्यालो)देखिन्छ। उपनिषदको “पूर्णमदः पूर्णमिदम्” को अर्थ नै यही हो कि शून्य आफैँमा पूर्ण छ। निशान्तलाई ओशोको गहिरो कटाक्ष याद आयो। ओशो भन्थे “मर्नु अघि नै मर, ताकि तिमीले जीवनको वास्तविक सम्भावना देख्न सकौ।” यो मृत्यु भौतिक होइन, यो त पुराना धारणा र विचारको मृत्यु हो। माँ आनन्दमयीको मौनता, मिराबाईको प्रेमिल पागलपन र रमण महर्षिको “म को हुँ?” भन्ने प्रश्न यी सबैले निशान्तलाई एउटै कुरा सिकाइरहेका थिए, जब तिमी बाहिरबाट रित्तो हुन्छौ, तब मात्र भित्रबाट भरिन्छौ।

अहिले देशमा निर्वाचनको लहर छ। केहि दिनमै आम निर्वाचन हुँदैछ। झ्याल बाहिर झण्डाहरू फर्फराइरहेका छन्। निशान्तले महसुस गर्यो यो समग्र ब्रह्माण्ड नै अहिले एउटा द्रुत गतिको Evolutionary Pattern मा अगाडि बढिरहेको छ। पुरानो समय गइसक्यो, अब नयाँ चेतनाको उदय अनिवार्य छ। उसले सोच्यो, “मैले मतदान गर्दा केवल एउटा मान्छेलाई होइन,एउटा परिवर्तित सोचलाई भोट दिनुपर्छ।” निशान्तको हृदयमा एउटा दृढ संकल्प जन्मियो। उसले भन्यो “म उसलाई मतदान गर्नेछु, जसले राजनीतिलाई सत्ताको खेल होइन, समाजको’Fouth Way’ साधना मान्दछ। म त्यो दल र उम्मेदवारलाई रोज्नेछु, जसको भावनामा प्रकृतिप्रतिको सम्मान, कला र संगीतको सिर्जनात्मकता र बदलिँदो विश्वको चेतना छ।”उसलाई लाग्यो, निर्वाचनको यो क्षण पनि उसको आध्यात्मिक विकासकै एउटा हिस्सा हो। उसले डायरीमा लेख्यो, “म निशान्त हुँ। म न त पुरै शान्त छु, न त पुरै अशान्त। म त त्यो सम्भावना हुँ, जो अब जाग्दैछ। यसपटकको मेरो मत मेरो परिवर्तित चेतनाको प्रमाण हुनेछ। म शून्यबाट सुरु गर्नेछु, किनकि केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” निशान्तले लामो सास फेर्यो। कोठामा अँध्यारो भए पनि उसको भित्र एउटा अद्भूत उज्यालो सल्किसकेको थियो। ऊ अब मतदानको दिनको पर्खाइमा थियो,जहाँ उसको एउटा सानो छनोटले एउटा विशाल परिवर्तनको ढोका खोल्ने सम्भावना बोकेको थियो। त्यो रात निशान्तका लागि केवल एउटा रात थिएन, त्यो त एउटा युगको अन्त्य र अर्को युगको पदचाप थियो। झ्याल बाहिरका सडकहरू निर्वाचनको मौन अवधिमा शान्त थिए तर निशान्तभित्र एउटा अद्भूत मन्थन चलिरहेको थियो। उसले ओछ्यानमा पल्टिएर आफ्नो श्वासप्रश्वासलाई नियाल्यो। अनुपम स्वामीले भनेझैँ, जीवनको सबैभन्दा ठूलो कला भनेकै आफ्नै अस्तित्वसँग लयवद्ध हुनु हो। उसले आफ्नो मनमा व्यक्तिगत शान्ति र यो देशको समग्र शान्तिको एउटा साझा तस्विर बनायो। विस्तारै उसले आफ्नो होसलाई केन्द्रित गर्‍यो। कुनै प्रयास बिना नै भित्र ‘अजपा जाप’ सुरु भयो श्वास भित्र जाँदा र बाहिर आउँदाको त्यो प्राकृतिक संगीत। उसले महसुस गर्‍यो, ऊ न त कर्ता हो, न त भोक्ता, ऊ त केवल एउटा साक्षी हो। यही समर्पणको भावमा, ब्रह्माण्डीय चेतनाप्रति कृतज्ञ हुँदै, निशान्त एउटा गहिरो र ध्यानस्थ निद्रामा निदायो। उसको निद्रा पनि एउटा साधना बन्यो, जहाँ “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु हो” भन्ने बोध उसको नशा-नशामा प्रवाहित भइरहेको थियो।

अन्ततः निर्वाचनको त्यो ऐतिहासिक बिहानी झुल्कियो। निशान्त सबेरै उठ्यो। आज उसको शरीरमा एउटा बेग्लै उर्जा थियो,मानौँ डार्विनको विकासवादले आज एउटा नयाँ फड्को मार्दैछ। ऊ मतदान केन्द्रतर्फ लाग्यो। लाइनमा उभिएका मानिसहरूको भीडमा पनि ऊ आफूलाई एउटा एकान्त टापुमा झैँ महसुस गरिरहेको थियो। उसको मनमा Self-rememberingचलिरहेको थियो। ऊ त्यहाँ थियो, तर उसको होस ब्रह्माण्डको त्यो Evolutionary Pattern सँग जोडिएको थियो, जसले पुरानो जडतालाई भत्काएर नयाँ पालुवा हाल्न खोजिरहेको थियो, मतलव आफ्नो पुरानो Loop लाई break गर्ने हिम्मत गरिरहेको थियो, morning healing sessions ले सिकाएको छलाङ्गको अभ्यास गर्ने हिम्मत गरिरहेको थियो । जब उसको पालो आयो र ऊ मतदान गर्ने त्यो सानो, शान्त र एकान्त कुनामा पुग्यो, तब समय रोकिए झैँ भयो। उसको हातमा मतपत्र थियो एउटा कागजको टुक्रा, जसमा देशको आगामी भविष्यका रेखाहरू कोरिएका थिए। निशान्तले त्यो मतपत्रलाई माथिदेखि तलसम्म बिस्तारै, गहिरो नजरले हेर्‍यो। उसले त्यहाँ केवल चिन्हहरू देखेन, उसले त्यहाँ नेपालको गरिबी, सम्भावना,रोदन र हाँसो सबै देख्यो। उसले आफूभित्रको परिवर्तनको प्रवृत्तिलाई नियाल्यो। ऊ अब त्यो पुरानो निशान्त थिएन जो जात, वर्ग, सम्प्रदायिक नारा, लवाइखवाई वा भौगोलिक सीमाको साँघुरो घेरामा बाँधिएको थियो। उसले ती सबै विभेदहरूलाई आफ्नो चेतनाको शून्यतामा विसर्जन गरिदियो। उसले त्यो उम्मेदवार र संगठनलाई खोज्यो, जसले मानिसलाई मानिसको रूपमा मात्र हेर्ने साहस राख्छ, जसले आइन्स्टाइनको तर्क र बुद्धको करुणालाई जोड्न सक्छ। निशान्तले आफ्ना आँखा चिम्लियो। नेपाल र नेपालीलाई सधैं अभिभावकीय भूमिका निर्वाह गरिरहने गोरखनाथको याद गर्दै उसको हृदयबाट एउटा शक्तिशाली ध्वनि गुञ्जियो: “ॐ गोरक्षनाथाय विद्महे महासिद्धाय धीमहि तन्नो गोरक्षः प्रचोदयात् ।”

यो मन्त्रको शक्तिसँगै उसले स्वस्तिक चिन्ह हातमा लियो। उसले आफ्नो मनले खाएको, परिवर्तनको वास्तविक बाहक लागेको जोशिलो उम्मेदवारको चिन्हमा झ्याप्प मत छाप लगायो। त्यो छाप लगाउँदा उसलाई महसुस भयो, ऊ केवल एउटा चिन्हमा छाप लगाइरहेको छैन, ऊ त आफ्नो ‘Spiritual Evolution’ को एउटा नयाँ अध्यायमा हस्ताक्षर गर्दैछ। मतदान गरिसकेपछि उसले मतपत्रलाई अत्यन्तै सम्मानका साथ बिस्तारै पट्यायो। उसले त्यो कागजलाई ढोग्यो, यो ढोग कुनै व्यक्ति वा दललाई थिएन, यो त लोकतन्त्रको त्यो सुन्दर सम्भावना र परमात्माको त्यो न्यायपूर्ण व्यवस्थाप्रतिको श्रद्धा थियो। उसले परमात्माप्रति अगाध कृतज्ञता प्रकट गर्दै मौन पुकार गर्‍यो, हे ब्रह्माण्डीय ऊर्जा ! यो देशको कल्याणहोस्।हामीलाई विभेदबाट एकता तिरअन्धकारबाट ज्योति तिर र अभावबाट अनन्त सम्भावन तर्फ लैजाऊ।” निशान्तले त्यो पट्याइएको मतपत्रलाई बाकसभित्र खसालिदियो। बाकसमा कागज खस्दाको त्यो सानो आवाज उसको कानमा एउटा मधुर संगीत जस्तै सुनियो। मतदान केन्द्रबाट बाहिर निस्कँदै गर्दा निशान्तले आकाशतिर हेर्‍यो। घामको झुल्को उस्तै थियो, तर उसलाई संसार फेरिएको जस्तो लाग्यो। उसले बुझ्यो बाहिरको संसार तब मात्र फेरिन्छ जब भित्रको ‘म’ फेरिन्छ। उसको गोजी अझै रित्तै थियो, हातमा केही थिएन तर उसको हृदय एउटा महान् उद्देश्यले भरिएको थियो। उसले फेरि मुस्कुराउँदै सम्झियो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” आज निशान्त साच्चै नै ‘शान्त’ भएको थियो एउटा यस्तो बिन्दु जहाँ रात सकिएर उज्यालोको अनन्त यात्रा सुरु भएको थियो।

सास

एउटा रहस्यमयी कुरा जसमा हाम्रो सारा अस्तित्व टिकेको छ। जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो, तर पनि विरलै त्यसमा ध्यान पुग्छ र विरलै त्यसप्रति अहोभाव महसुस हुन्छ। 

जीवनको चाबी सास सँग छ नै, हाम्रो मानसिक र भावनात्मक अवस्थाको चाबी पनि सास सँग नै छ। विचार र भाव अनुसार हाम्रो सासको प्रकृति फरक-फरक हुन्छ, जस्तै रिस, डर र प्रेममा यी तीन अवस्थामा सासको प्रकृति फरक-फरक हुन्छ। यदि विभिन्न अवस्थाहरूमा सासप्रति ध्यान पुर्‍याउन सक्यौँ भने, बेहोसीमा हुने प्रतिक्रियाहरूमा नियन्त्रण पाउन सकिने रहेछ र सासको प्रकृति परिवर्तन गरेर मानसिक र भावनात्मक अवस्थाप्रति पकड पनि पाउन सकिने रहेछ। 

हाम्रो समग्र जीवनको रहस्य नै सासमा लुकेको रहेछ, त्यसकारण सासप्रति ध्यान पुर्‍याउँदा व्यावहारिक जीवनमा मात्र होइन परमार्थको यात्रामा पनि प्रगति गर्न सकिने रहेछ। 

पच

म पहिलो पटक हनुमान चालिसा सुन्दा भएको अनुभव सम्झन्छु । म त्यो समय सायद दस एघार बर्षको हाराहारीमा थिए । म सम्झन्छु मलाई एक जना साथीले आफुलाई कण्ठ भए जति सुनाएको थियो । शब्दहरु अस्पस्ट र क्रम नमिलेको भए पनि त्यो सुन्दा मेरो शरिर भरी झङ्कारको प्रवाह भयो । त्यो मेरो सायद याद भए अनुसार पहिलो झन्कार थियो । लय र शब्द पनि सरल भएको हुनाले अलि-अलि त एक चोटि सुन्दै कण्ठ भएछ । धेरै नबुझे पनि हनुमानको कथा हो भन्ने त मैले थाहा पाए । त्यो भन्दा अगाडि मैले रामायण टेलिभिजनमा हेरि सकेको थिए । त्यसैले मैले त्यो केहि केही त बुझे । यद्यपि  हनुमान चालिसा मैले त्यो भन्दा  अगाडि कहिल्यै सुनेको थिईन । मलाई हनुमान चालिसा यति मन पर्यो कि मैले उसलाई त्यो किताब मागे सार्छु र फिर्ता गरीदिन्छु भन्ने मनसायले तर अल्छीपनाले त्यो सार्न भने सारिन बरु किताब नै पच हानिदिए । कण्ठ पनि आधाउधी गरे । त्यस पछि त्यो लामो समय थन्किएर बस्यो । त्यो किताब म सँग केही बर्ष अगाडि सम्म पनि थियो । सायद यो नै हो मैले सुरुमा कसैको केही पच हानेको कुरा , त्यो किताबबाट त कण्ठ गरिएन तर अहिले भने सुन्दा सुन्दै लगभग सबै कण्ठ भएछ । अहिले त्यो सम्झिएर रमाईलो लाग्यो ।

सुख भन्दा सन्तुष्टिमा बढि ध्यान दिने

Steve Jobs, यो नाम उच्चारण गर्दा नै आँखा अगाडि आधुनिक संसारको एउटा चम्किलो क्षितिज उभिन्छ ठिङ्ग । एप्पल, आइफोन, आइप्याड, प्रविधिको सौन्दर्य, डिजाइनको शुद्धता, नवप्रवर्तनको साहस यी सबै उनको जीवनसँग गाँसिएका सत्य तथ्यहरू हुन् तर यी चम्किला उपलब्धिहरूको भित्री तहमा एउटा गहिरो, संवेदनशील र क्रमशः रूपान्तरित हुँदै गएको आत्माको कथा लुकेको छ जहाँ सुख खोज्दा खोज्दै थाकेको मन अन्ततः सन्तुष्टिको शरणमा पुग्छ। उनको जीवनको प्रारम्भिक यात्रा महत्वाकांक्षाको तीव्र ज्वालामा दन्किएको थियो। उनी केवल सफल हुन चाहँदैनथे, उनी पूर्णता खोजिरहेका थिए। संसारले जसलाई सुखको प्रतीक मान्छ धन, प्रतिष्ठा, प्रशंसा, शक्ति, सिर्जनात्मक प्रभाव ती सबै वस्तुहरू उनको जीवनमा क्रमशः संकलित हुँदै गए तर ती सबै प्राप्तिहरू, जुन बाहिरबाट अमृतजस्तै देखिन्थे, भित्र पुग्दा क्रमशः नुनिलो समुद्रझैँ तिर्खा बढाउने बने। हरेक नयाँ उपलब्धिले क्षणिक तृप्ति दियो तर त्यो तृप्ति दीर्घकालीन शान्तिमा परिणत हुन सकेन। सुख आयो तर टिकेन। मुस्कान आयो तर मौन दुःखसँगै। उनले स्वयं स्वीकार गरेका थिए कि सफलता र बाह्य उपलब्धिहरूले जीवनलाई अर्थपूर्ण बनाउँछन् भन्ने धारणा अन्ततः अपूर्ण र भ्रमपूर्ण हुन्छ। यही बोध उनको जीवनको मध्य चरणतिर स्पष्ट हुन थाल्यो विशेषतः जब उनलाई जीवनघातक रोग, क्यान्सर देखियो। त्यो क्षणले कुनै चिकित्सकीय सूचना मात्र लिएर आएन बरु एकाएक एउटा आध्यात्मिक भूकम्प जस्तो बनेर आयो जहाँ बाहिरी संरचनाहरू चर्किन थाले र भित्री आत्मा पहिलो पटक नाङ्गो रूपमा उभिन बाध्य भयो। धन, पद, प्रतिष्ठा, प्रभाव यी सबै मृत्युको सामु निष्प्रभ भए। उनले बुझ्न थाले जीवनको अन्तिम सत्यसँग सामना गर्दा कुनै पनि भौतिक उपलब्धिले शान्ति दिन सक्दैन। यहाँबाट उनको सोच, भावना र दृष्टिकोणमा क्रमिक तर गहिरो परिवर्तन सुरु भयो।

पहिलो चरणमा उनले भय र अस्वीकारको अनुभव गरे मृत्युको डर, अपूरो कामको चिन्ता, छुट्ने सम्बन्धहरूको पीडा तर त्यो डर क्रमशः मौन चिन्तनमा रूपान्तरित भयो। मौनले उनलाई प्रश्न गरायो “मैले जीवनभर के खोजिरहेँ?” यही प्रश्नबाट एउटा सूक्ष्म तर निर्णायक बोध उदायो “सुख बाह्य उपलब्धिमा होइन, आन्तरिक सन्तुलनमा अवस्थित हुन्छ।” यो बोध कुनै अचानक आउने प्रकाश थिएन, बरु अनुभूतिको दीर्घ प्रक्रियाबाट प्रसूत भएको चेतनाको निस्सन्देह सत्य थियो। उनले बुझ्न थाले सुख वस्तु हो, सन्तुष्टि अवस्था हो। वस्तु प्राप्त हुँदा सुख मिल्छ तर अवस्था स्थिर हुँदा मात्र शान्ति मिल्छ। यहीँबाट उनको जीवनको दिशा विस्तारै विस्तारै बदलिन थाल्यो। उनको जीवन सरलताको दिशातर्फ फर्किन थाल्यो तर यो सरलता त्यागको नाममा होइन, स्पष्टताको नाममा थियो। उनी अझै काम गर्थे, अझै सिर्जना गर्थे, अझै नेतृत्व गर्थे तर अब ती सबै कर्महरू कुनै आन्तरिक रिक्तता पूर्ति गर्नका लागि होइन, बरु जीवनप्रतिको गहिरो कृतज्ञता अभिव्यक्त गर्नका लागि हुन थाले। उनका सम्बन्धहरू पनि रूपान्तरित भए। पहिले जहाँ सम्बन्ध उपयोगिता र परिणामसँग गाँसिन्थे, अब त्यहाँ सान्निध्य, सहानुभूति र भावनात्मक उपस्थितिको सुगन्ध फैलिन थाल्यो। उनी आफ्नो परिवारप्रति अझ गहिरो रूपमा सचेत बने। पत्नी, सन्तान र नजिकका व्यक्तिहरूसँग बिताएको समय उनलाई जीवनको सबैभन्दा मौलिक सम्पत्ति जस्तो अनुभूत हुन थाल्यो। उनले स्वयं स्वीकार गरेका थिए मृत्युसँग साक्षात्कार भएपछि मात्र मानिसले साँच्चै बुझ्छ कि प्रेम, सम्बन्ध र भित्री शान्ति बाहेक अरू केही पनि अन्ततः साथ जाँदैन।

त्यसो त Steve Jobs मा संगीत, कला, साहित्य र प्रकृति प्रति गहिरो आकर्षण, लगाव र व्यवहारिक अभ्यास पनि थियो । उनलाई विशेषगरी Bob Dylan र The Beatles मन पर्थे। उनले पटक पटक Bob Dylan लाई “मेरो नायक” भनेर उल्लेख गरेका छन्। संगीतलाई उनी केवल मनोरञ्जन होइन, आत्माको भाषा मान्थे। यही कारण iPod र iTunes जस्ता उत्पादनहरू सिर्जना गर्दा उनले “1,000 songs in your pocket” भन्ने भावनात्मक अवधारणा अघि सारे, यो केवल प्रविधि होइन, संगीतप्रतिको प्रेमको प्रतिफल थियो। उनको जीवनको केन्द्रीय धागो नै कला र सौन्दर्य चेतना थियो।उनले Apple उत्पादनहरूमा “Function मात्र होइन, form पनि पवित्र हुनुपर्छ” भन्ने दर्शन लागू गरे। उनले कला, typography (अक्षरकला), architecture, industrial design सबैलाई प्रविधिसँग जोड्ने काम गरे। उनले Reed College मा पढ्दा calligraphy को कक्षा लिए त्यो कुनै करियर आवश्यकता थिएन, केवल सौन्दर्यप्रतिको आकर्षण थियो तर पछि यही अनुभव Macintosh कम्प्युटरमा सुन्दर fonts र typography ल्याउने आधार बन्यो। यो तथ्य उनले Stanford Commencement Speech (2005) मा स्वयं बताएका छन्। उनलाई पश्चिमी मात्र होइन, पूर्वीय दर्शन पनि गहिरो रूपमा आकर्षित गर्थ्यो। उनले युवावस्थामा Autobiography of a Yogi (Paramahansa Yogananda) पढे र जीवनभर त्यही पुस्तक दोहोर्‍याएर पढे। यो पुस्तक उनले आफ्नो अन्त्येष्टि समारोहमा पनि उपस्थित सबैलाई उपहार स्वरूप दिन निर्देशन दिएका थिए। उनलाई प्रकृतिप्रति विशेष आकर्षण थियो। युवावस्थामा उनी भारतसम्म आए, ध्यान, मौन, र सरल जीवनशैलीतर्फ आकर्षित भए। उनी शाकाहारी थिए र समय समयमा उपवास, मौन अभ्यास तथा सरल जीवनशैली अपनाउँथे। उनको जीवनशैलीमा विलासभन्दा सरलता प्रमुख थियो कालो टर्टलनेक, जिन्स, स्निकर्स यो कुनै ब्रान्ड प्रदर्शन होइन, चेतनाको स्पष्टता थियो।

उनको जीवनको उत्तरार्द्ध चरणमा एउटा अद्भुत मानसिक रूपान्तरण स्पष्ट देखिन्छ सुख खोज्ने मानिस सन्तुष्टिमा बस्न सिकिरहेको आत्मामा रूपान्तरित भएको थियो। उनले बाहिरी संसारलाई जितिसकेका थिए, अब उनी भित्री संसारसँग मैत्री गर्न थाले। यही कारण उनले मृत्युबारे भनेको सत्य वाक्य अत्यन्त गहिरो अर्थ बोकेको छ “मृत्यु नै जीवनको सबैभन्दा ठूलो आविष्कार हो।” यो वाक्य मृत्युको महिमा होइन, जीवनको प्राथमिकता पुनर्संरचना गर्ने चेतनाको उद्घोष हो। यस वाक्यमा जीवनको एउटा मौलिक सत्य समेटिएको छ, मृत्युको निश्चितताले नै जीवनलाई अर्थपूर्ण बनाउँछ र त्यही अर्थपूर्णताको खोजमा मानिसले सन्तुष्टिको मार्ग अपनाउन सिक्छ। सुख अनिश्चित हुन्छ, परिस्थितिमा निर्भर हुन्छ तर सन्तुष्टि चेतनामा आधारित हुन्छ। सुख परिवर्तनशील छ, सन्तुष्टि स्थिर छ। सुख परिस्थिति बदलिँदा हराउँछ, सन्तुष्टि परिस्थितिलाई स्वीकार गर्ने सामर्थ्यबाट जन्मिन्छ।

प्रारम्भमा उनी संसार जित्न दौडिए, मध्य चरणमा संसारको सीमितता बुझ्न थाले, र अन्ततः आफूभित्रको शान्ति भेट्टाए। उनको जीवनको प्रारम्भिक दृश्य एउटा विशाल बजार जस्तो थियो जहाँ हरेक वस्तु सुखको नाममा किनिन्थ्यो, बेचिन्थ्यो र हरेक सफलता नयाँ चाहनाको बीउ रोप्थ्यो तर उनको जीवनको अन्तिम दृश्य एउटा शान्त उपवन जस्तो बन्यो जहाँ कुनै वस्तु थिएन तर आत्मा थियो जहाँ कुनै प्रदर्शन थिएन तर उपस्थितिको गहिरो अनुभूति थियो। मतलव सुख होइन सन्तुष्टिको स्वाद थियो । त्यसैले उनको अन्तिम सासको अजपा “Oh wow. Oh wow. Oh wow” गरेर सक्कियो ।

ओके छ त

–अनुपम

यही बतास हो जो अहिले मेरो मुहार स्पर्श गरेर जाँदै छ, साक्षी त्यो कालजयी दुविधाको जहाँ आफुले जानेको बुझेको संसार सबै तहसनहस हुँदो देखेर एउटा योद्धाको मनमा उठेको थियो संशय. यसको उत्तरमा जन्मिएको थियो एउटा यस्तो अद्भूत मार्गचित्र जो आफ्नो मनको दुविधामा कैद कैयौंलाइ सम्बोधन गर्ने दिशामा सार्वकालिक बनेको छ.
त्यही मार्गचित्रलाइ हामी ‘गीता’ भन्छौं. अहिले हाम्रो अघी युद्ध मैदान बनेर प्रस्तुत छ हाम्रै दैनीक जीवन. हामी आफ्ना विचारका हतियारले आफैंलाई हिर्काएर रक्ताम्य बन्न अभ्यस्त छौं. के यत्ती हो जीवन ? के यही हो बाँच्नुको उद्देश्य ? यसबारेमा सोच्दै जाँदा हामी खोज्न् बाध्य हुन्छौं त्यो अन्तीम उत्तर जसले हामीलाई आफ्नो जीवनको गौरव वा स्पष्ट अर्थ बताओस्. मान्छेको पिरोलोको स्थायी समाधान कहाँ छ ? हामी किन दुखी छौं ? के कारणले जीवनमा सकस छ ? धर्तीलाई कर्मभूमी बनाएर चेतनाको विकास गर्ने यात्रा हो जीवन. यो यात्रामा एकअर्काप्रती हृदयमा करुणा राख्न सके त सबैको यात्रा सहज हुन्थ्यो. त्यो सहजताले मेरो जीवन पनि समृद्धी बनेर छुन्थ्यो पक्कै. हृदयमा यो करुणा जागे हाम्रो समयको थुप्रो दुविधा समाधान हुन्थ्यो. के कारणले हृदयको आल्हाद कम हुँदै जान्छ ? किन हामी उत्सवभाव गुमाउँदै जान्छौं, जीवन किन खल्लो खल्लो लाग्दै जान थाल्छ ? हाम्रो समयका प्रश्न यी हुन् शायद जसले हाम्रो मन युद्ध मैदान बनाएको हुन्छ. के भन्यो गीताले अन्तीम उत्तरका रुपमा जसले गर्दा हात काँपेर हतियार छाडेको योद्धा विजयको शिखरमा पुग्यो ?

न जायते म्रियते वा कदाचि-
न्नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे ॥ २.२० ॥

बाहिरको दौड एकछिन थाती राखेर यो सोच, संसारमा तिमी सबथोक परिवर्तनशील देख्छौ, तिम्रै शरीर पनि त बदलिरहेको छ प्रतिपल. तर यो सबै परिवर्तन बोधको कहीं कतै कुनामा, एउटा यस्तो अवस्था छ जो द्रष्टा बनेर चुपचाप छ. आनन्द त्यसको स्वभाव हो. विवेक त्यसको स्वभाव हो. कर्मको श्रेष्ठता त्यसको स्वभाव हो.
त्यहाँ आउ र स्वधर्मको बोध गर. हाम्रो दैनीक जीवनमा गीताको ज्ञान योगको देशना सार्थक यसरी हुन्छ, मनका सबै विचारलाई खासगरी नकारात्मक विचारलाई उती वास्ता नदेउ. उद्वेगका क्षणमा, आक्रोशको क्षणमा त्यो शान्त आनन्द खोज्ने प्रयास गर एकछिन अडिएर आफैंमा. तनावका बादल कम हुन थाल्छन्. हिम्मत आउन थाल्छ. जीवनमा सार्थकता देखिन थाल्छ. अब यो स्थीरतामा निर्णय गर, नत्र एकछिनको आक्रोशले तिम्रो जीवनभरको निर्माण क्षयमा जान्छ.

प्रेम र भक्ती पनि समाधान हो जीवनको अस्वादको. हामी मिठो गीत सुनेर आँसु बहाउन सक्ने प्राणी हौँ. कहिलेकाहीं जीवनको स्वाद टाउकोबाट बाँचेको जीवनमा नभेटिएर हृदयबाट बाँचेको जीवनमा भेटिन्छ.
भक्तिको अतिरेकमा जे बाँकी रहन्छ ज्ञान विलय हुने त्यही सागरमा हो. कृष्णको भक्ति योगको व्याख्या हाम्रो समयमा यसरी सार्थक हुन्छ. यसरी बहाउ आफुलाई समर्पणमा, परमात्माको सागर अट्ने ठाउँ बन्छ तिम्रो हृदय. काम न ठुलो हुन्छ न सानो. कामको आधारमा मान्छे तुलना नगर. हरेकको आफ्नो काम छ, रुची छ. काम आनन्द हो. काम गर्न पाउनु सौभाग्य हो. यो आनन्दबोध हो कर्मयोगको सार. तत्वले तत्वलाइ तत्व सरह जान्दछ जब मनले केही विश्राम पाउँदछ. मनको यो विश्राममा उत्तर छ अटुट आनन्द बोधको. यही आनन्द हृदयमा हुँदा हाम्रो सिर्जना पौरख बन्दछ.

मान्छे समुन्द्र बोकेर हिड्दैछ

अस्तित्व नै समुन्द्र हो , जसलाई हामी बोकेर हिडिरहेका छौ । धेरै दार्शनिकहरुले भनेका छन् ,” यो संसार देखिने भन्दा नदेखिने कुराले बढी  चलि रहेको छ ।” हामी पनि देखिने भन्दा नदेखिने कुरा नै बढि बोकेर हिडिरहेका हुन्छौं भन्ने अनुमान गर्न सक्छौ । उदाहरणको लागि विचार भन्न सकिन्छ । यो बाहेकका अरु पनि थुप्रै कुरा होलान, जसलाई हामी बोकेर हिड्दैछौ र त्यो देखिदैन । त्यसको बाह्रेमा मलाई ज्ञात छैन । विचार पनि देखेकै हो भन्ने कुरामा पनि शंका उत्पन्न हुनु स्वभाविक नै हो । आँखा बन्द हुदा पनि विचार आएको थाहा हुन्छ । त्यो केले थाहा पायो । यस बिषयमा अध्यात्म जगतमा पनि धेरै चर्चा चल्दै आएको हामी देख्न सक्छौ । “आफ्नो अस्तित्वको बार्हेमा जान्नु नै हाम्रो मुल धर्म हो ” भन्ने पनि हामी सुन्दै आएका छौ । म पनि यहि बुझ्ने प्रयास गर्दै छु । आजभोलि देखिने भन्दा पनि नदेखिन म आफैलाई बुझ्ने प्रयास गर्दैछु ।

Win-Win

यो संसारमा हामी सबै काम गरी रहेका छौं। सनातन धर्ममा प्रयोग हुने एउटा अभीब्यक्ति हो “यो संसार परमात्माको लीला हो”। बिरुवा र कीराहरू देखि लिएर हामी सबै मानिसले केही न केही कर्म गरी नै रहेका छौं। 

लीलाको यो विराट आयोजनमा हामी कुन भावको साथ कर्म गरी रहेका छौं ? कर्म हामी आफ्नो भलो मात्र सोचेर गरी रहेका छौं कि आफू भन्दा बढी अरूलाई पनि भलो होस् भनेर गरी रहेका छौं ? 

हामीले गर्ने कर्मको असर हामीमा मात्र त अवश्य पर्दैन। जब केही न केही कर्म गर्नु नै पर्ने छ, तब किन आफ्नो मात्र विन (win) अरूको लस (loss) होस् भन्ने कामना गर्ने, विन-विन (win-win) कै कामना गर्दा सकारात्मक भावनाको पनि सिर्जना भयो, अरूको भलो होस् मेरो नहोस् भन्ने त कामना गर्नु परेन,किनकी त्यो गर्दा फेरि आफू प्रति नकारात्मक भइरहेका हुन्छौं। 

थाहा पाएर वा नपाएर, होसमा वा बेहोसीमा गरिने यी कर्मको भावको गुणवत्ता सायद निकै महत्वपूर्ण छ ? सामान्यतया भनिने “असल मान्छे बन्नु पर्छ” देखि लिएर, विभिन्न धर्म सम्प्रदायहरूले दिने आचरण र नियम पनि यही हाम्रो कर्म प्रतिको भावको गुणवत्ता बढाएर, यो मानव जीवनलाई सार्थक बनाउन हो की ?

संयम, नियम र अनुशासनले उर्जालाई उर्ध्वगामी बनाउन मद्दत गर्छ

जुनतारालाई पालो दिन हो कि घामले हतारिँदै चपौलीका डाँडामुनि लुक्न खोज्यो, बिस्तारै साँझ ढल्दै थियो। कोठामा बलेको एउटा सानो दियोको मधुरो प्रकाशमा अगरबत्तीको धुवाँ कुण्डलाकार आकृति बनाउँदै माथितिर उक्लिरहेको थियो। त्यो धुवाँलाई हेरिरहँदा मलाई अचानक महसुस भयो, हाम्रो जीवनको उर्जा पनि ठ्याक्कै यस्तै त होला। यदि यसले संयम र नियमको एउटा निश्चित दिशा पायो भने यो उर्ध्वगामी भएर आकाशतर्फ सुगन्ध छर्दै उक्लन्छ होला, नत्र एउटा कुनामा कुहिरो बनेर अलमलिइरहन्छ होला।

मैले सुनेका गुरुवाणी र पढेका पानाहरूले सधैँ भन्थे, “अनुशासन कडा हुनुपर्छ तर हृदय नरम।” म आफैँभित्रको जडता नियाल्दै थिएँ। मेरो ‘म’ भावको पहाड जबसम्म पग्लिँदैन, तबसम्म त्यो भित्रि उर्जा ‘काम’ को धरातलबाट ‘राम’ को शिखरसम्म कसरी पुग्ला र ? ऊर्जालाई माथि चढाउनु भनेको कुनै युद्ध जित्नु होइन, बरु आफैँलाई पराजित गर्दै अहंकारको बोझ बिसाउनु रहेछ।

कहिलेकाहीँ मनमा ‘ऐं’ को मधुर झंकार गुन्जिन्छ, जसले मेरो बुद्धिको खिया पखालिदिए झैँ लाग्छ। कहिले ‘ह्रीं’ को गुन्जनले हृदयको साँघुरो घेरालाई ‘छिन्नमस्ता भगवती’ को विशालतामा मिसाइदिन्छ। ‘श्रीं’ र ‘क्लीं’ का ध्वनिहरूमा कता कता महालक्ष्मीको समृद्धता र कृष्णको माधुर्यता मिसिएको आभास हुन्छ। ‘हं’ र ‘गं’ भन्दै जाँदा लाग्छ, भित्र कतै हनुमानजीको जस्तो समर्पण र गणेशको जस्तो स्थिरताको बीउ अंकुराउँदै छ।

त्यो साँझ मेरो अगाडि एउटा यस्तो दृश्य थियो, जसले मलाई उपदेशभन्दा गहिरो ‘बोध’ दियो। मेरी छोरी भावना र छोरो नुवेश तीनका नाम जस्तै कोमल र निष्कपट देखिन्थे। उनिहरु साधनाको एउटा यस्तो मौन लयमा थिए जहाँ तर्कका सबै ढोकाहरू बन्द थिए। भावनाको हातमा रक्त चन्दनको जप माला थियो र नुवेशको हातमा ५ मुखी रुद्राक्ष को माला। मैले निकैबेर तिनलाई टोलाएर हेरिरहेँ। तिनले आफ्नो चोरी औँला (जसलाई शास्त्रले अहंकारको प्रतीक मान्छ) ले मालालाई सकेसम्म नछोओस् झैँ गरी खुम्च्याएका थिए। तिनका बुढि औँलाले माझी औँलाको माथिल्लो पट्टि रहेका मालाका दानाहरूलाई बिस्तारै स्पर्श गर्दै सार्दै थियो। हरेक दानासँगै तीनका ओठबाट एउटा मन्द ध्वनि निस्कन्थ्यो, “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे”। तिनको त्यो विधिमा कुनै आडम्बर थिएन, मात्र एउटा गहिरो समर्पण थियो। तिनले माला सारेको देख्दा लाग्थ्यो, तिनले केवल दानाहरू सारिरहेका छैनन्, बरु आफ्नो चेतनाका तहहरूलाई एक-एक गर्दै पार गर्दैछन्। तिनको त्यो हृदयात्मक एकाग्रता देख्दा मलाई अनुपम स्वामीले गाउनुभएको छिन्नमस्ता भगवतीको त्यो भजनको याद आयो जहाँ उहाँको स्वरमा जुन आर्तनाद र समर्पण हुन्छ, ठ्याक्कै त्यही भाव तिनिहरुको अनुहारमा छल्किरहेको थियो।

छिन्नमस्ता जसले आफ्नो शिर काटेर अहंकारको अन्त्य गरिन् र आफ्नै रगतले सहचरीहरूको तिर्खा मेटाइन्। त्यो प्रतीक कति गहिरो छ! जब हामी आफ्ना हजारौँ विचारका शिरहरूलाई ‘अनुशासन’ को खड्गले काट्छौँ, तब मात्र त्यो भित्रि अमृत (उर्जा) उर्ध्वगामी भएर सहस्रारसम्म पुग्छ। अनुपम स्वामीका गीतहरूले भने झैँ, त्यो अवस्थामा पुग्न ‘अजपा जाप’ को त्यो मौन संगीतमा हराउनै पर्ने रहेछ, जहाँ श्वास आफैँ मन्त्र बन्छ।

केटाकेटीले मालाका दानाहरू सार्दै गर्दा ति बिस्तारै ‘हृदयात्मक आयामहरू’ मा विलीन हुँदै गएको मैले स्पष्ट देख्न सक्थेँ। तिनका बालसुलभता , शान्त मुद्राले मलाई सिकाइरहेको थियो कि दुर्गा, काली, गायत्री, छिन्नमस्ता वा तलेजु भवानीको शक्ति कतै बाहिर छैन, त्यो त नियमको परिधिभित्रको संयमित हृदयमा लुकेको छ।

मैले बुझेँ साधना भनेको ठूला कुरा गर्नु होइन, बरु भावना र नुवेशले झैँ अहंकारको औँलालाई खुम्च्याएर, बीज मन्त्रको डुङ्गा चढी हृदयको अगाध समुद्रमा हाम फाल्नु रहेछ। जब उर्जा उर्ध्वगामी हुन्छ, तब संसार एउटा उत्सव बन्छ, र हरेक कर्म एउटा शान्त प्रार्थना।

जीवनका केही सिकाईहरु -१

“आफ्नो चेतनाको स्तर विभिन्न समयमा विभिन्न थियो, यसको लागी आफैलाई माफ गर्देऊ ।” बाबुजीको भनाई यो हप्ता भरि ममा गुन्जिरह्यो।

जीवनमा केही भोगाईहरु यस्ता रहे जुन नयॉ अनुहार, नयॉ ठाउॅका बाबजुद बारम्बार दोहोरिरहे। धेरै समय लाग्यो यो देख्नको लागी, बुझ्नको लागी कि मेरो बुभाई र भोगाई सहि रुपमा पाक्न बॉकी छ। जीवनमा पहाड लागेका ठुल्ठूला अप्ठयारा पनि आफूलाई त्यो ज्ञानले दृष्टि दिनासाथ बिलाई जान्छन। अनि बल्ल पो देखिन्छ त्यो त जाबो झिनो मसिनो रहेछ।

भर्खर भर्खर पौडि खेल्न सिक्दै थिएँ, एउटा तलाउमा खेल्न थालें- आयो खेल्न। मलाई औधी खुशी लाग्यो। बेलुका आएर बाबुजीलाई सुनाएँ “आज त्यो तलाउमा पौडी खेल्न आयो, मसाई तलाउले सुइकारेको जस्तो लाग्यो ।” बाबुजीले सोधिन् – “किन यो चाह छ स्वीकारिनू को ?”

म केही बेर अघि सम्म यो आईडियालाई रोम्यान्टिसाईज गरिरहेकी थिए, उनको कुराले मेरो केही पर्दा खुल्यो। मैले पहिलो चोटी यो नजरियाले हेर्न सकिरहेकि थिए कि लौ हो त । यत्तिकै हुनुको वर्तमानमा नरहेर म कहाको विचार जालमा कुरो केलाउदै छु। यो बुझाईका साथ साथ मलाई मानिसहरुसंगको आफ्नो सम्बन्धहरु पनि सहज लाग्न थाल्यो। म कहॉ के देख्छु र भोग्छु त्यो आफू स्वयमको नै प्रोजेक्सन  हो। संसारलाई त्यसकै स्वरुपमा हेर्न चाहन्छु भनेर चाहेकि मैले यो चस्मा फ्याक्न त जरुरि नै थियो ।

जति गहन, त्यति सरल

केही दिन भयो, हामीलाई हाम्रो गाउँको दाइले खेतीपातीमा सहयोग गर्दै हुनुहुन्छ। उहाँको नाम हो विजय। हामी बस्ने ठाउँको प्रायजसो संरचना उहाँकै कलाकारिताको देन हो। उहाँसँग विद्यालयको ज्ञान धेरै नहोला, तर सिर्जना र व्यवहारिकताको ज्ञान अथाह छ। 

केही दिन अगाडि बारीमा काम गर्ने क्रममा उहाँको विचारले म मा उच्च भावको सिर्जना गर्‍यो। उहाँ भन्दै हुनुहुन्थ्यो- माटो र पानी जीवन हो। अनि मैले सोधेँ, हावा ? उहाँले भन्नुभयो, त्यो त प्राण भइहाल्यो नि, अझ महत्त्वपूर्ण।

पहिलो विचार आयो-हाम्रो अस्थित्व पनि त माटो, पानी र प्राण हो।अनि मेरो मनमा कुनै समय ओशोको साहित्य पढेको याद आयो, जहाँ ओशो भन्दै हुनुहुन्थ्यो— हावा बिना मान्छे सबैभन्दा कम समय बाँच्न सक्छ; खाना र पानी बिना त्यो भन्दा अलि लामो समय। 

सुन्दा सरल लागे पनि उहाँले गहन विषयलाई व्यक्त गर्नुभयो। सामान्यतया मानिसको दृष्टि यस्तो विषयमा पुगेको पनि हुँदैन। औपचारिक शिक्षाको कमी भए पनि उहाँको चेतनाको स्तर अरू गाउँलेको तुलनामा निकै उच्च भएको भान भयो र सिक्नको लागि कुनै पनि बेला, कोहीसँग पनि सिक्न सकिन्छ भन्ने कुरा अनुभव भयो।