
यदि हजुरले फूल को कोमलता लाई प्रशंसा गर्नुहुन्छ भने, शीत का थोपा हरु देख्दा हृदय भिज्ने शितलता को अनुभुति हुन्छ भने, सिमल का भुवा उडेको देख्दा आफ्नो आत्मा को हलुकापन महसुस गर्नु हुन्छ भने, र बगैंचा मा रोपेको बिरुवा मा नयाँ पात पलाएको देख्दा मुस्कुराउनुहुन्छ भने, आउनुहोस् यो क्षण को आनन्द सङै लिऔ, अहोभाव को चर्चा गरौं ।
के तपाई लाई संगीत ले आफ्नै गहिराई मा पुर्याएको अनुभव छ ? छ भने त झन मज्जा आउने भो । मानौँ झरी पछि को एउटा शीतल साँझ छ।आकाश मा, पुरै जून फक्रिएको पुर्णिमा छ ।पारिजात को महक बोकेको मन्द बतास हजुर को वरिपरि छ । दुर कतै बाट बाँसुरी र सितार को मोहक ध्वनी गुन्जयमान हुँदै तपाई सम्म आयो र तपाई ले त्यसलाई सुन्नु भयो । यसरी सुन्नु भयो कि, डुब्नु भयो । अब के महसुस हुन्छ?
जे महसुस हुन्छ त्यो शब्द मा बयान गर्न सकिने पक्कै हुँदैन । शब्द भन्दा बियोन्ड हुन्छ किनकी शब्द एउटा माध्यम हो तर केही यस्तो अनौठो अनुभुती भयो जसलाई अभिब्यक्त गर्ने भाषा को पहुँच हामी सङ छैन । यस्तो क्षण मा केबल मुस्कुराउनु, कृतज्ञता ले भरिनु वा अश्र ले चछु भिजाउनु त हुन्छ होला होइन त ?
हजारौं बर्ष अगाडि मानिस ले आफ्नो वरिपरि बतास को सुसेली, खोला को कलकल र चराको चिरबिर सुनेर आफुले पनि गुनगुनाउने पर्यत्न गर्यो तब अनेक तर्किब गर्दै थपडी हान्दै, ढुङ्गा हरु ठोकाउदै उसले संगीत भेटायो । महसुस गर्यो र यति मै सिमित हुन चाहेन । संगीत सिक्ने, ताल र सुर अभ्यास गर्ने, बाजा बनाउने र बजाउने दुबै काम मानिस ले गुफा मा रहदा देखि नै सुरु गरेको हो । जंगली जनावर को भय, निर्जन बन को एकान्तता भित्र को अन्धकार गुफा मा रहदा, उसको मन मस्तिष्क मा शान्ति र आनन्द को दियो बालिदिने साधन का रुप मा मानिस ले संगीत लाई गहन प्रेम ले अङालेको पाइन्छ ।
एउटा जमाना थियो “एकादेश को कथा” जस्तो । क्यासेट मा गित सुन्ने चलन थियो तिनताका । मन परेको गित सुन्न एफ एम मा फोन गरेर अनुरोध गर्नु पर्थ्यो । ४ मिनेट को एउटा गित एफ एम मा सुन्दा, ४ करोड वा सो सरह को आनन्द को आस्वादन गर्थे त्यति बेला का सबै ले । पछि स्मार्ट फोन आए पछि स्थिति नै अर्को भयो ।अहिले हजारौं पर्ने जे बि एल स्पिकर मा सुन्दा पनि त्यही इक्विभ्यालेन्ट को आनन्द हुँदैन।त्यति बेला को मिठो स्पन्दन अहिले पनि हृदय मै निहित छ कतै कुना मा । त्यसैले म बेला बेला रेट्रो म्युजिक सुन्न रुचाउँछु । जहाँ स्पनदन छ त्यहाँ छ जीवन र जहाँ जीवन छ त्यहाँ छ संगीत ।
बैज्ञानिक हरु भन्छन् हाम्रो शरीर का हरेक कोषिका हरु भाइब्रेट गरिरहेका हुन्छन् । जुन दिन यो भाइब्रेसन बन्द हुन्छ त्यस दिन मानिस परलोक को यात्रा तय गर्छ ।जीवन को प्रमाण यहि स्पन्दन हो । संगीत पनि त्यस्तै स्पन्दन हो । मधुर स्पन्दन । त्यसैले संगीत सुन्दा ज्यादा जिवन्त महसुस हुन्छ ।
निस्चित आबृती को ध्वनि को निश्चित प्रकार को असर मानव शरीर माथी परेको पाइएको छ । जस्तै कि निद्रा नलागेको बेला ४३२ हर्ज को ध्वनी को श्रवण ले निद्रा लाग्छ भने बेचैनी को क्षण हरु मा ५२८ हर्ज को ध्वनी सुन्नाले राहत मिल्छ । यो आबृती श्रवण ले हाम्रो कोष मा जम्मा भएर बसेको ट्रमाहरु पनि हिल हुने बिज्ञ हरुले दाबी गर्छन । भविष्य द्रस्टा ” एड्गार काएसी” ले भनेर गए ” साउन्ड विल बि द मेडिसिन फर फ्युचर” । भविष्य को औषधि ध्वनी हुनेछ । यसै अनुरुप, विभिन्न मेडिकल फिल्ड मा ध्वनी कै प्रयोग ले उपचार पनि भैरहेकै रहेछ ।” एन्थोनी होल्यान्ड” नाम गरेका एक बैज्ञानिक ले क्यान्सर सेल्स हरु मार्न पनि उचित फ्रिक्वेन्सी को प्रयोग गरिएको छ भन्ने बताएको मैले फेला पारे ।
सर्जरी गर्दा समेत बिरामी को चित्त लाई राहत मिलोस भन्ने हिसाब ले म्युजिक सुनाइदो रहेछ ।अब एउटा मीठो गित को बारेमा चर्चा गरौं न ।
~कहीं दूर सितारों पे
चँदा के इशारों पे
पलने को तेरे जो
परियों ने झुलाया रे..
निंदिया रे
जुगनू पंछी, प्यारे प्यारे
तेरे सपने बुने
नींद भरे
इन आँखों से तेरी चुपके से
कहते रहें
सो जा रे
सो जा रे
सपनों में खो जा रे
निंदिया रे ।।।
हौले-हौले रातों को, चुपके से आजा रे
निंदिया रे, निंदिया रे,
अँखियों में समा जा रे
यो गित पाकिस्तानी गायक “काभिस” को हो।बच्चा बेला, रोएको बेला आमा ले गित सुनाउनुहुन्थ्यो। झुला मा राखेर सुस्तरी सुस्तरी हल्लाउनुहुन्थ्यो ताकी निदाउन सकियोस र त्यही अनुभुती को लोभ मा आजकाल म निन्दिया रे सुन्दै निदाउने गर्छु ।
” पुर्णिमा को रात मा जब कुनै घना जङ्गल को एउटा स्वस्थ रुख को गाढा हरियो पात मा चाँदनी किरण हरु पोखिन्छन् तब एउटा मधुर स्वर उत्पन्न हुन्छ ।”
~गुल्जार
मेरो मुल्यांकन मा यो ध्वनी अडिबल त हुदैन तर महसुस चै २००% हुन्छ । कवि हृदय को कोमल ब्यक्ति ले पक्कै ग्रहण गर्न सक्छ त्यो ध्वनी जसको उपज उ गित कविता लेख्छ र पोख्छ आफुलाइ पाना मा उतारिदिन्छ ।
जहाँ पुग्दा मलाई आफ्नै केन्द्र को अनुभुती हुन्छ
आफै सम्म पुगेको महसुस हुन्छ
त्यो यात्रा संगीत हो
संगीत को बाटो हुँदै म
प्रेम गर्ने हरु को हृदय सम्म पुग्छु
ईस्वर को मन्दिर सम्म
र आफै सम्म पुग्छु ।
सप्त स्वर ( सा, रे, ग, म, प, ध, नि) लाई प्राकृतिक ध्वनी सङ तुलना गरेर यसरी हेर्न सकिने रहेछ ।
सा आयो संस्कृत शब्द “षडज” बाट । यो मुल स्वर हो । यसको ध्वनी अनुपात मा परिवर्तन हुँदा बाकी स्वर जन्मिने रहेछ ।
रे= रिसभ, कुनै एउटा गाई आफ्नो बाच्छो सङ बिछोडिदा उसको रोदनको फ्रिक्वेन्सी लाई मानक को रुप मा लिइदो रहेछ ।
त्यसै गरि ग स्वर, बाख्रा को निश्चिति आबृती को ध्वनी लाई मानक को रुप मा लिन सकिने रहेछ ।
तमाम रुप मा
म =मध्यम, हरिन को आवाज
प= पंचम, कोयल को आवाज
ध= धैवद, घोडा को आवाज
नि= निषाद, हात्तीको आवाज
“पिपल हु इन्ट्रड्युस यु टु न्यु म्युजिक आर इम्पोर्टेन्ट”
मेरा केही साथी हरु छन् जो मलाई कपास जस्ता नरम गित हरु सङ परिचीत गराइदिन्छन् जसको श्रवणले मेरो आत्मा, आकाश को अनन्तता मा तैरिन पुग्छ । तसर्थ दिज पिपल आर इम्पाेर्टेन्ट । मन परेको गित सेयर गर्नु ईस्वर को प्रसाद बाँड्नु जत्तिकै पवित्र हो किनकी संगीत ईस्वर कै प्रसाद हो ।
मिलेको ध्वनीको लयबद्द बहाब लाई संगीत भनिन्छ । संगीत को स्वभाव बग्नु भएकैले त उस्ताद हरु को गित सुन्दा र उनिहरु को पर्फर्मेन्स हेर्दा पुरै हाउभाउ मै बहाब देख्न सकिन्छ।नुस्रत फते अलि खान र केन्द्रिक लामार्क को पर्फर्मेन्स हेर्दा यो कुरा प्रष्ट हुन्छ ।
“कति खाली च्याउछ्यौ सधै भित्र बाट
कहिले काहीं त झ्यालमा उदाइदेउ न बिन्ती
सधैं सपनामा त सधै आइराख्यौ
कुनै दिन त बिपनामै आइदेउ न बिन्ती
सधै देख्छु गम्भीर, जहिले पनि गुमसुम
कहिलेकाहीँ त हल्का मुस्काइदेउ न बिन्ती
कुरा गर्दागर्दै यो रात बित्न लाग्यो
फुकेर त्यो दियो निभाइदेउ न बिन्ती
~काली प्रसाद रिजाल
यस्तो प्रेम सायदै कसैले गरेको होस जसले आफ्नो प्रेमि का निम्ति गित नगुनगुनाएको होस।ग्रेग गन्जलेज को एपोकालेप्स सुन्नु भएको छैन भने आज सुन्नु है त।
“I’m jealous of the feeling you’re going to have when you hear it for the first time.”
अमेरिकी ब्यान्ड सिगरेट आफ्ट सेक्स का लिड गिटारिस्ट अनि भोकलिस्ट ग्रेग गन्जलेज ले हालसालै को नयाँ इन्टर्भ्यु मा ए आर रेहमन सङ कोल्याब गर्न चाहेको बताए।If they ever collab, it’ll be orgasmic, no doubt.
ध्वनी को उत्पती बारे हाम्रो सनातन संस्कृति मा बडो रोचक कहानी छ एउटा । सुन्नु भएकै होला पक्कै ।ब्रह्म देव ले जब सृष्टि को रचना गर्नु भयो तब कतै पनि वाक शक्ति थिएन रे यस अर्थ मा ब्रह्माण्ड पुरै मौन । न त खोला सङ कलकल थियो न त बतास सङ सिरसिर । एउटा लय, ऋदम र हार्मनी मिसिङ थ्यो रे यत्रतत्र ।
त्यो मौनता लाई तोड्दै लयबद्दता प्रदान गर्न र सम्पुर्ण जगत लाई लय मा लिएर आउन का निम्ति ब्रह्म देव ले सरस्वती को रचना गर्नु भयो रे । देवि सरस्वती बिणा धारण गरेर, श्वेत बस्त्र मा ज्ञान को चमक ले धपक्क बल्दै प्रकट हुनु भयो र ४ वटा तार भएको बिना लाई तरङ्गित पार्दै मधुर लययुक्त ध्वनि उत्पादन गरे पश्चात सारा ब्रह्माण्डमा एउटा लय को आबिर्भाब भयो भन्ने कुरा गरिएको छ । सरस्वती देवि को संगीत ले नदिहरु मा कलकल आवाज उत्पन्न भयो, वायु मा पनि मीठो संगीत उत्पन्न भयो र पंछी हरु मा सुवाणी जाग्रित भयो ।
सनातन संस्कृतिमा त ध्वनी लाई ब्रह्म नै भनिएको छ । ईस्वर नै महसुस गराउन सक्ने, शरीर छेडेर हृदय अनि हृदय लाई पनि पार गरेर आत्मा सम्म पुगेर ब्यक्ति को सम्पुर्ण बिइङ लाई नै तरङ्गित गराइदिने ध्वनी पक्कै ब्रह्म नै हुने ल्याकत राख्छ ।फूल फक्राउन सक्ने धुन ले हृदय पनि पक्कै फक्राउन सक्छ । त्यसैले संगीत बिशेष लाग्छ ।
~प्रदिप तिमिल्सिना













