यात्रा

एकदिन गुरु र शिष्य तिर्थ यात्रमा निस्किएका थिए । हिन्दै जाने क्रममा , उनिहरुले एउटा ढुङ्गै ढुङ्गाले बनेको पहाड पार गर्नु पर्ने थियो । पहाड साच्चै ठूलो र भिरालो थियो साथै साघुरो बाटो भएको । जति माथि गयो, त्यति नै खतरा बढ्दै जान्थ्यो । एउटा सानो भुल र ज्यानै जाने खतरा थियो । जति जति उनिहरु माथि जाँदै थिए । त्यति नै शिष्यको खुट्टा डरले गर्दा अगाडि नै बढेन । उसले आफू भन्दा अगाडि हिडिरहनु भएको आफ्नो गुरुलाई हेर्दा , उहाँमा उसले एक धर्को पनि डर देख्दैन । त्यसैले उसले गुरुलाई सोध्छ , ” तपाईलाई डर लागेको छैन । ” अनि गुरुले उत्तर दिनु हुन्छ ,” जे छुटि सक्यो, त्यसलाई हेर्ने हैन । जे अगाडि छ, त्यसलाई हेर । पछाडि मात्र छ डर लाग्दो भिर, अगाडि हेर त यहाँ बाटो मात्र छ ।”
यसरी गुरुको कुरा सुने पछि शिष्यले पछाडि भिरलाई नहेरी अगाडि बाटो मात्र हेर्दै अघि बढ्यो । यसर हिन्दा उसको डर पनि हराउदै गयो र केही दिनको यात्रा पछि उनिहरुको तिर्थयात्रा पनि सम्पन्न भयो ।

सत्संग 

आजको बिहान घडीको काँटाले होइन, कर्तव्यको घण्टीले उठायो मलाई। सहकर्मी साथी को श्रीमती को अपरेसन थियो त्यसैले उ बिदामा बसेकाले मलाई आज चाहिँ अफिस चाँडै जानु परेको थियो।सत्संग छुट्यो, मनको आँगनमा केहीबेर कुहिरो झर्‍यो। रिस, चिन्ता, असन्तोष, घृणाको सम्भावित बादल मनको आकाशमा जम्मा हुने कि नहुने, म स्वयं आफैँलाई नियाल्दै चुल्होमा भात पकाइरहेँ, थालमा जीवन सजाइरहेँ, भाँडामा आफ्नै मन माझिरहेँ। चिसोले शरीर छोयो तर चिसोपनले चेतनालाई छुन पाएन। लुगा लगाउँदै गर्दा, कोटको बायाँ भाग नेपालको झण्डा मुनि क्रस खुकुरी र दायाँ भाग कम्पनीको लकेट मिलाएँ। मनलाई पनि एउटा मौन कम्बल ओढाइदिएँ। बाइक स्टार्ट भयो र त्यससँगै यात्रा सुरु भयो, केवल अफिसतर्फ होइन, आफ्नै भित्रतर्फ पनि….

केही दूरी पार गरेपछि, अचानक कुनै अदृश्य हातले मेरो आँखाबाट कुहिरो हटाइदियो। “वाह! आज त कस्तो सुन्दर नयाँ बिहानी रहेछ!” भन्ने वाक्य होइन, भन्ने अनुभूति जन्मियो। मलाई लाग्यो जस्तै परमात्माले आजको दिन मेरो लागि आफैंले क्यालेन्डरमा घेरा लगाएर सावधानीपूर्वक मिलाएर राखिदिनुभएको हो। घटना होइन, व्यवस्था थियो यो।

अफिस पुग्दा, बाइक पार्किङमा अडिँदा, म आफ्नै चित्तको यात्रा पार्क गर्दै थिएँ। Garden वरिपरि lemon grass को सुगन्ध मेरो चेतनाको धमनिमा बग्न थाल्यो। Snake plant र spider plant मेरो श्वाससँग संवाद गरिरहेका थिए। बगनबेली झुप्पिएर होइन, माथिबाट ईश्वरको मुस्कान झारिरहेजस्तो थियो।

अफिस क्याबिनमा पुगेर हिटर नजिक पुग्दा, म केवल शरीर तताइरहेको थिइनँ म त जीवनको न्यानोपनसँग फेरि एकपटक हात मिलाइरहेको थिएँ र त्यस क्षण, स्वामीजी मिसिएको परमात्माको काखमा बालकजस्तै लुटुपुटिएझैँ एक्लै मुस्कुराएँ। त्यो मुस्कान केबल ओठको थिएन, आत्माको थियो।

एकैछिनमा पहिलो ग्राहक आयो, १०० रुपैयाँको रिचार्ज कार्ड। मुस्कान सजिलै सरेर उसको आँखामा बसीदियो। सेवा सहज थियो, हृदय खुला थियो तर दोस्रो ग्राहक आयो अँध्यारो अनुहार, भिजेको स्वर, फोन र इन्टरनेटबीच हराएको आत्मा बोकेर। Visa को समस्या केवल कागजको थिएन, ऊ आफ्नो जीवनसँग पनि असन्तुष्ट देखिन्थ्यो। मेरो मुस्कान अलि खुम्चियो तर हृदय अझै फैलियो। म उससँग हाँसिनँ तर उससँग बसें। त्यो बसाइ कुर्सीमा होइन, उसको बेचैन मनको छेउमा थियो। उसका कागज हेरेँ, उसका शब्द सुनेँ, उसका मौन करारहरू पनि। फोन घुमाइरहँदा, इन्टरनेटको पासवर्ड दिँदा, म भित्र भित्र आफूलाई पनि लगातार नियालिरहेँ “म यहाँ छु कि छैन?” र मैले थाहा पाएँ म मात्र उपस्थित थिइँन, म त उपस्थितिको स्रोतसँग उपस्थित थिएँ। उसका हाउभाउहरू बिस्तारै नरम हुँदै गए। उसको स्वरमा पहिला आँधी थियो, पछि हावाको सुस्केरा बन्यो। ऊ लड्दै आएको थियो तर सम्झौतासँग हात मिलाउँदै आफ्नै किनारतर्फ फर्किँदै थियो। लामो फोन कल, अनलाइन संवाद, प्राविधिक प्रक्रिया… तर भित्र चलिरहेको थियो एक मौन उपचार।

अन्ततः ऊ नजिकको कफी सपबाट Americano लिएर फर्कियो।मुस्कुराउँदै भन्यो ” म कता पुगेँछु है एकछिन!”  त्यो वाक्य भन्दा गहिरो थियो, त्यो आत्मस्वीकृतिको क्षण थियो र म पनि फेरि पहिलेकै मुस्कानमा फर्किएँ तर अब त्यो मुस्कान हाँस्यको थिएन, एकाकारको थियो। हाम्रा ओठ फरक थिए तर मुस्कान एउटै स्रोतबाट आए जस्तै लाग्थ्यो। ऊसले “Thank you” भन्यो, तर त्यो Thank you मलाई मात्रै होइन, अनि उसलाई मात्रै पनि होइन, बरु त्यो त त्यही अदृश्य केन्द्रलाई थियो जहाँबाट शान्ति आयो, जहाँबाट समाधान आयो, जहाँबाट “म छु”  को अनुभूति आयो र मैले पनि सँगै भनिरहेँ शब्दबिहिन, स्वरबिहिन रुपमा तर अस्तित्वको गहिराइमा “म छु।” न सेवा गर्ने अलग रहे, न सेवा पाउने अलग। न समस्या अलग रहे, न समाधान अलग। सबै कुरा एकै चेतनाको नदीमा निस्काम कर्मका तरङ्ग बनेर बगे।

आज अफिस केवल कार्यस्थल रहेन आज अफिस मन्दिर बन्यो, ग्राहक प्रार्थना बने, सेवा पूजा बन्यो र म केवल एउटा माध्यम बनेँ।एउटा सत्संग छुट्यो होला तर अर्को सत्संग मसँगै अफिस आयो। म घरमै पलेँटीमा बसेर सत्संग गर्न पाइन तर म आफैं सत्संग बनेँ।

र अन्त्यमा, दिनको कुनै कुनामा मौसमी फूल झरेजस्तै एउटा मौन अनुभूति झर्‍यो “म छु।” न यो शब्द थियो, न भावना मात्र यो त त्यो सत्य थियो जसलाई जीवनले आज बिहानैदेखि मेरा हरेक कदममा अक्षर अक्षर गरेर डिकोभरि अँगालिँदै लेखिरहेको थियो।

…..

ॐ तत्सत् 🙏❣️

त्यहीँ जीवन हुन्छ

मन भित्र प्रश्न थियो

यसैले आफैंलाई सोधिरहन्थे

जीवन के हो?”

मन्दिर गए ,

पुजारीले भने-ईश्वर यहाँ छ।

मस्जिद गए,

मौलवीले भने-ईश्वर त्यहाँ छ।

पुस्तकालय गए,

दर्शनले हजार उत्तर दिए।

तर मन झन् भारी हुँदै गयो।

एक दिन थाकेर

 एउटा नदी किनार बसे।

न केही सोधे,

न केही खोजे

बसी रहे बसी रहे।

हावाले पात हल्लायो,

नदी बगिरह्यो,

सास आफैँ चलिरह्यो,

म हेरिरहेँ,

अचानक  देखे

म सास होइन,

सासको साक्षी रहेछु।

त्यही क्षण

प्रश्न हरायो,

अर्थ भेटियो।

नदीले केही उपदेश दिएन,

हावाले कुनै मन्त्र पढेन,

तर मौनले

सबैभन्दा ठूलो सत्य भनिदियो।

त्यस दिनदेखि

म खोज्ने रहिन्,

म बेहोशी भइन।

जहाँ खोज समाप्त हुन्छ,

जहाँ बेहोशी होशमा फर्कन्छ

यसैले त तिमी भन्छौ

त्यहीँ जीवन हुन्छ।

धन्यवाद

केही वर्ष अघि आफूले लेखेको डायरीका पानाहरु पल्टाउन पुगें। त्यसमा म तिमीसॅग आफ्नो अन्यौलता पोख्दै थींए । “ प्रिय ईश्वर, कहीं त कतै केही मिलेको छैन। म उमेरले ठुलै भईसक्दा पनी भित्रबाट म एकदम अपरिपक्व छु। हजार चाहना हजार तिर दौडिएका छन् । जहिले एउटा गर्हुंगो बादल आईरहन्छ। के गर्ने मलाई थाहा छैन। बाटो देखाऊ ईश्वर…।”

तिम्रो नजर म मा पर्यो, जीवन धन्य भयो। म हर्षले श्वास फेर्छु आजकाल। सजिलो पक्कै छैन घोट्टिएर तरल बन्नलाई। तर यो नगर्दाको नर्क स्मृतिमा यति गाढा छ कि मुटु भरखरै काँप्न थाल्छ। यसैले मेरा हर क्षणहरु रंगिन बनाउछ। यसैमानै पूर्णता र आन्नद पाउॅछु म। म हर दिन तिमीलाई सम्झिन्छु, पुज्छु। जे छु तिम्रो कारणले छु र तिमीबाटै छु । तिमीनै बाटो भयौ, तिमीनै शितल चौतारी र तिमीनै पुग्नु पर्ने गन्तब्य।

ध्यानले कार्यकुशलता दिन्छ

…. अनि नुवेशले घरि C Major त घरि E Minor मा fingers राखेर गितको लवज अनुसार change गर्दै strumming हान्न थाल्यो पुरै ध्यान एकैचोटी chords, strumming patern अनि गीतको pitch मा हृदय पनि बगाउँदै , “मैले आफ्नो हृदयको गीत बुझेँ, अजम्बरी यस्तो एउटा प्रित बुझेँ …..” ।  भन्दै थियो, ‘एकैचोटि सबै कुरामा ध्यान दिएर गर्न शुरूमा त गारो हुने रहेछ तर विस्तारै विस्तारै सजिलो अनि आनन्द आउन थाल्ने रहेछ जब गीतमा स्वर र अर्थमा पनि डुब्न थालेपछि त’। उसले यस्तो भन्दा स्वामी जि ले सधैं भन्ने गर्नु भएको र morning healing sessions मा गहिरो प्रभावमा इंकित गर्नु भएको ध्यानले कार्यकुशलता दिन्छ भन्ने वाक्य एकाएक याद आयो। एकैचोटि divided attention मा रहेर अनि आँफुलाई पनि स्मरण गर्दा साँच्चै साँच्चै अचम्मको कार्यकुशलता बढ्ने हुन्छ र काम फलका लागि होइन आनन्दको लागि मै बगिरहेको हुने रहेछ।

 मानव जीवनको वास्तविक शक्ति बाहिरको श्रममा होइन, भित्रको चेतनामा बस्छ। मानिस जति नै दौडिए पनि, जति नै मिहिनेत गरे पनि, यदि त्यो कर्म चेतनासँग जोडिएको छैन भने त्यो केवल थकान बन्छ। तर जब कर्म ध्यानसँग जोडिन्छ, तब त्यो साधना बन्छ, सेवा बन्छ, जीवनको सौन्दर्य बन्छ। यही कारण हो ध्यान केवल आँखा बन्द गरेर बस्नु होइन; ध्यान त जीवनलाई पूर्ण उपस्थितिमा जिउने कला हो। जहाँ ध्यान छ, त्यहाँ कार्यकुशलता स्वाभाविक रूपमा जन्मिन्छ।

यस सन्दर्भमा मेरा मानसपटलमा र हृदयमा छोएका ब्यक्तित्व, विधा, आविष्कारका केही उदाहरणहरु आउनपुग्छन् । ती मध्य मलाई छोइरहने अनुपम स्वामी पनि हुन् । उनको जीवन स्वयं एउटा जीवित ग्रन्थ जस्तै देखिन्छ। सानै उमेरदेखि अध्ययन, अनुसन्धान, किताबप्रेम, ब्रह्माण्डप्रतिको जिज्ञासा, विज्ञान र प्रकृतिको सूक्ष्म निरीक्षण, मानव मनको गहिरो अध्ययन, जीवन र जगतको रहस्य खोज्ने मौन तपस्या यी सबै उनका साधारण काम होइनन्, यी त ध्यानका विविध रूप हुन्। उनी केवल पढ्दैनन्, उनी पुस्तकसँग संवाद गर्छन्। उनी केवल प्रश्न गर्दैनन्, उनी प्रश्नमै विलीन हुन्छन्। उनी केवल ब्रह्माण्ड हेर्दैनन्, उनी ब्रह्माण्डसँग आफूलाई तुलना होइन, आफूलाई विलीन गर्छन्। यही विलीनता नै ध्यान हो, यही ध्यान नै उनको कार्यकुशलताको मूल हो। उनको अध्ययनमा हामी एउटा अद्भुत संयोजन देख्छौं विज्ञानको तर्क, दर्शनको गहिराइ, मनोविज्ञानको सूक्ष्मता, र अध्यात्मको उज्यालो। यही संयोजनले उनको चेतनालाई बहुआयामिक बनाएको छ। जब मानिसले कुनै विषयलाई केवल दिमागले होइन, हृदय र आत्मासहित अध्ययन गर्छ, तब त्यो अध्ययन केवल जानकारी रहँदैन, त्यो चेतनाको रूपान्तरण बन्छ। अनुपम स्वामीको कार्यकुशलता यही रूपान्तरणको परिणाम हो। उनी छिटो होइन, गहिरो सोच्ने व्यक्ति हुन्। उनी धेरै होइन, सार्थक बोल्ने व्यक्ति हुन्। उनी बाहिरको उपलब्धिभन्दा भित्रको स्पष्टतालाई प्राथमिकता दिने साधक हुन्।

यही मौन शक्ति हामी डा. महावीर पुनमा पनि देख्छौं। विकट गाउँमा जन्मिएर विश्वस्तरीय वैज्ञानिक उपलब्धिमा पुग्नु केवल श्रमको फल होइन, त्यो भित्रको एकाग्रता, धैर्य र मौन साधनाको परिणाम हो। उनले विज्ञानलाई केवल प्रयोगशालामा सीमित राखेनन्, उनी विज्ञानलाई मानवताको सेवामा उतारे। जहाँ धेरैले सीमाहरू देख्छन्, त्यहाँ उनले सम्भावनाहरू देखे। ध्यानले उनको दृष्टिलाई तीव्र बनायो, र तीव्र दृष्टिले असम्भवलाई सम्भव बनायो।

त्यसैगरी यही ध्यानको सौन्दर्य हामी काठमाडौं महानगरपालिका निवर्तमान प्रमुख बालेन शाहमा पनि देख्छौं। महानगरलाई सफा, सुशासनयुक्त, व्यवस्थित बनाउने उनको प्रयास केवल प्रशासनिक काम होइन, त्यो चेतनाको अभिव्यक्ति हो। जब नेतृत्व ध्यानयुक्त हुन्छ, तब निर्णय भावनात्मक आवेगबाट होइन, विवेकपूर्ण शान्तिबाट जन्मिन्छ। बाहिरको सफाइभन्दा पहिले भित्रको स्पष्टता आवश्यक हुन्छ, र त्यो स्पष्टता ध्यानबाट नै आउँछ। यही कारण हो शहरको स्वरूप बदलिनु अघि नेतृत्वको चेतना बदलिएको देखिन्छ। हाल त उनी एउटा शहर मात्र होइन पुरै देशै सफा गर्छु अनि बनाउँछु भनेर तातिएका छन् उनले भन्ने सरसफाइका कुरा भौतिक संरचनामा मात्र नभई सुसासन र भ्रष्टाचार नियन्त्रण गरी गरिने सफाई हो भन्छन् । उनको ‘ म गर्छु’ भन्नुको अर्थ एउटा व्यक्ति को रुपमा नभनेर,’ हामी सक्छौं त्यसैले गर्छौं’ भन्न चाहिँ खोजेको बुझिन्छ।

एलन मस्कको जीवन पनि यही सूत्रमा गाँसिएको देखिन्छ। जीवनभर सपना देख्नु, ती सपनालाई साधनामा बदल्नु, असफलतामा पनि नथाक्नु, आलोचनामा पनि नडगमगाउनु यी सबै ध्यानका आधुनिक रूप हुन्। उनले काम गर्दा केवल काम गर्दैनन्, उनी काममा विलीन हुन्छन्। यही विलीनता नै ध्यान हो। यही ध्यान नै उनको कार्यकुशलताको मूल हो। उनी छिटो सफल भएनन्, तर गहिरो रूपमा समर्पित भए। र यही समर्पणले उनको जीवनलाई अद्भुत बनायो।

महाभारतको युद्धभूमिमा उभिएको अर्जुन पनि यही ध्यानको प्रतीक हुन्। चराको आँखामा मात्र ध्यान केन्द्रित गर्न सक्ने अर्जुनको एकाग्रता बाहिरको युद्धभन्दा भित्रको साधनाको परिणाम थियो। श्रीकृष्णको मार्गदर्शनमा उनले कर्म, भक्ति र ध्यानलाई एउटै धनुषमा बाँधे। गीता भन्छ, “योगः कर्मसु कौशलम्।” अर्थात् योग नै कर्ममा कुशलता हो। यो श्लोक केवल धार्मिक उपदेश होइन, यो जीवन विज्ञान हो। जहाँ ध्यान छ, त्यहाँ कर्म स्वाभाविक रूपमा कुशल हुन्छ।

हनुमानको जीवनमा पनि यही सत्य झल्किन्छ। राम र सीताप्रतिको भक्ति, श्रद्धा, प्रेम र समर्पण केवल भावना होइन, त्यो गहिरो ध्यान हो। जब मन पूर्ण रूपमा रामनाममा डुब्छ, तब समुद्र पनि बाटो बन्छ, पर्वत पनि औषधि बन्छ, र युद्ध पनि सेवा बन्छ। हनुमानको साहस बाहुबल मात्र होइन, त्यो ध्यानबाट जन्मिएको आत्मबल हो।

अब यही ध्यानको जीवित उदाहरण मेरो आफ्नै जीवनमा पनि देखिन्छ। मेरो आफ्नो कार्यस्थलमा जब ग्राहक सेवा तथा वस्तु वा जानकारी माग्दै आउँछन्, तब मलाई केवल औपचारिक रूपमा उत्तर दिएर पुग्दैन। मेरो physical mind, intellectual mind र emotional mind तीनै एकैचोटि पूर्ण रूपमा जागृत हुन्छन्। ग्राहकको आवश्यकता, चाहना, उत्सुकता र समस्यालाई केवल सुनेर हुन्न, ती सबैलाई स्पर्श गर्नु पर्छ भन्ने लागेको हुन्छ। शरीरले सेवा गर्छ, बुद्धिले समाधान खोज्छ, र हृदयले सम्बन्ध बनाउँछ। यही त्रिविध एकाग्रताले सेवा केवल काम रहँदैन, सेवा साधना बन्छ। त्यही क्षण मेरो हृदय र चित्तमा जुन निस्काम कर्मको आनन्द प्रकट हुन्छ, त्यो कुनै पुरस्कार, प्रशंसा वा लाभको अपेक्षाबाट होइन, त्यो त स्वयं कर्ममै विलीन हुँदा उत्पन्न हुने दिव्य रस जसरी रसाउँछ। यसरी सेवा गर्दा आफूलाई होइन, कर्मलाई होइन, परिणामलाई होइन केवल उपस्थितिलाई महसुस हुँदोरहेछ। यही उपस्थितिलाई सायद गीताले कर्मयोग भन्छ। यही उपस्थितिलाई ध्यान भन्छ। यही उपस्थितिलाई जीवन भन्छ होला।

न्युटन रुखमुनि बसेर गुरुत्वाकर्षणको नियम खोज्दा, आइन्स्टाइन समय र स्थानको रहस्यमा डुब्दा, रमण महर्षि “म को हुँ?”  भन्ने प्रश्नमा विलीन हुँदा, रामकृष्ण परमहंस भक्ति र ब्रह्मज्ञानमा एकाकार हुँदा यी सबै फरक नाम, फरक क्षेत्र, फरक भाषा हुन्, तर सबैको मूल एउटै हो, “ध्यान”। ध्यानले मनलाई शुद्ध गर्छ, दृष्टिलाई स्पष्ट बनाउँछ, र कर्मलाई पवित्र बनाउँछ। ध्यान बिना कर्म थकान हो, ध्यानसहित कर्म साधना हो। ध्यान बिना जीवन दौड हो, ध्यानसहित जीवन यात्रा हो। आजको संसारमा हामी बाहिर धेरै काम गर्छौं, तर भित्र थोरै बाँचिरहेका छौं। जब भित्र बाँच्न सिकिन्छ, तब बाहिरको काम स्वतः सुन्दर हुने रहेछ। यही कारण रहेछ कि ध्यान कुनै अलग अभ्यास होइन, यो जीवन जिउने शैली हो। ध्यान कुनै पलायन होइन, यो जीवनप्रतिको पूर्ण उपस्थित हो। ध्यान कुनै कमजोरी होइन, यो सबैभन्दा ठूलो शक्ति हो।

अन्ततः यही सत्य उजागर हुन्छ जहाँ मन शान्त छ, त्यहाँ काम कुशल हुन्छ। जहाँ चेतना उज्यालो छ, त्यहाँ जीवन सफल हुन्छ। जहाँ ध्यान छ, त्यहाँ कार्यकुशलता केवल परिणाम होइन, स्वभाव बन्छ।

तिमी

तिमी इश्वरको दृष्टि हौ

सुन्दर त्यो सृष्टि हौ

तिमी राग हौ

गितहरुको माग हौ

रंगको प्रवाह हौ

तिमी चिसोमा त्यो आगो हौ

त्यो आगोको प्रकाश हौ

तिमी छरीएको तारा जस्तै

देखिए पनि एक हौ

Trauma Vs Trauma

मनोविज्ञानमा भनिन्छ, सात वर्षको उमेरदेखि नै व्यक्तिको व्यक्तित्वको विकास हुन थाल्छ। समय, परिस्थिति, सङ्गत र शिक्षा अनुसार हामी सबैको आफ्नो छुट्टै व्यक्तित्व निर्माण हुन्छ। व्यक्तित्व निर्माणको यही क्रममा हाम्रा अनुभव र बुझाइका आधारमा चित्तमा विभिन्न आघात (Trauma) हरू लाग्छन्। कतिपय मान्यता अनुसार यी आघातहरू वंशानुगत पनि हुन सक्छन्। 

ती आघातहरूसँग हाम्रो एक किसिमको तादात्म्यता बन्दै जान्छ र ती नै हाम्रो व्यक्तित्वका अभिन्न अङ्ग बनेर जीवनमा प्रस्फुटन भइरहन्छन्। 

त्यसैले, धेरैजसो अवस्थामा हाम्रा सम्बन्धहरू व्यक्ति-व्यक्ति बीचको भन्दा पनि, हामीभित्र रहेका आघातहरू बीचको संवाद जस्तो बन्न पुग्छन्।

आफ्नो ध्यानमा नियन्त्रण हुनु नै सफलताको मुख्य सूत्र हो

जीवनको सबैभन्दा बास्तविक गहिरो खोज बाहिर होइन, भित्र पट्टि शान्तस्थल तिर हुनु पर्ने रहेछ, जहाँ च्याउँदा हृदयले विवेकको मित्रत्व भेटिने सम्भावना बोक्ने रहेछ जुन आत्मिक ध्यानले निर्देशित गर्दै सुमार्ग तर्फ डोहोर्याउँछ जस्तो लाग्छ। जसलाई सफलता भनिन्छ, त्यसको बाटो कुनै बाहिरी सीढीमा होइन, भित्री चेतनाको मौन यात्रामा खुल्दोरहेछ। यस्तो लाग्छ कि जब ध्यान भित्र फर्किन्छ, जीवन बाहिर स्वतः मिल्न थाल्छ र जब ध्यान बाहिर भड्किन्छ, जीवन अलमलिन थाल्छ।

गीता पढ्दा यस्तो अनुभूति हुन्छ, श्रीकृष्ण अर्जुनसँग युद्धको कुरा गरिरहेका छैनन्, उनी त भित्रको युद्धलाई शान्त पार्ने कला फुसफुसाइ रहेकाछन् । गीता भन्छ, “उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्” आफूलाई आफैंले उचाल, आफैंले गिराउन नदेऊ। यो वाक्यले यस्तो सङ्केत दिन्छ, उन्नति र पतन दुवैको चाबी बाहिर होइन, आँफूभित्रै छ। फेरि अर्को ठाउँमा कृष्ण भन्छन्, “मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः” मन नै बन्धन पनि हो, मुक्ति पनि हो। मतलव मन नै ढोका हो, कुन दिशातिर खोल्ने भन्ने कुरा ध्यानले तय गर्छ।

कहिलेकाहीँ घरबाट अफिसतिर हिँड्दा, कुनै अदृश्य घडीले गति बढाइदिएको जस्तो हुन्छ । हस्याङ्ग फस्याङ्ग कोट, पाईन्ट, जुत्ता सबै यान्त्रिक तालमा मिल्दै जान्छन् । हाजिरी, हाकिम, फाईलका पानाहरु, ग्राहकहरु, बाटो पार गर्ने दूरिहरु, यी सबै एकपछि अर्काे दृश्य झैं मनको पर्दामा सरिरहेका हुन्छन् थाहै नपाई । बाईकको स्टाटरमा बेहोसीमै औंला थिचिन्छ, ध्वाँईँयँ … आवाजसँगै शरिर अघि बढ्छ तर एकाएक चेतना भने पछि नै छुटे झैं लाग्छ जब अलि पर पुगेर, पर्खालबाट च्याउँदै गरेको एउटा सानो बिरालो पुच्छर लुकाउँदै बाटुलो अनुहार टिलिल्ल टल्किएका नयनले हृदय मै कोट्याइदिन्छ र सँगैको एक झुप्पामा बगनबेलीका गुलाबी गुच्छा फुल, ‘चुमी हेर त!’ भने झैं गरी लत्रिएर बाटोतिर झुकेको भेटिन्छ । झल्याँस्स भएर महसुस हुन्छ कुनै मेसिनजस्तो हुँइँकिएको रहेँछु र जीवन भने सौन्दर्यको अविर्भावले शान्त रुपमा मुस्कुराइरहेकै रहेछ । अनि लाग्छ होसमा आउन कि हृदयात्मक आयामले प्रेम भाव च्वास्स छुनै पर्ने रहेछ कि त बेदनाले घोच्नै पर्ने रहेछ या त Maximum Effort लाएर आँफूलाई इन्टेशनल्ली होसमा ल्याउनै पर्ने रहेछ नत्र अनुपम स्वामी किन एकाबिहानै देखि रातबिरात पनि कुर्लिएर सिकाइरहन्छन् त!

उपनिषदहरू पढ्दा यस्तो लाग्छ, ती कुनै पुस्तक होइनन्, ती त मौनसँग गरिएको संवाद जस्ता हुन्। कठोपनिषदमा भनिएको छ, “उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत” उठ, जाग, र श्रेष्ठ जनबाट सत्यलाई बुझ। यो वाक्यले यस्तो अनुभूति गराउँछ, कसैले बाहिरबाट बोलाइरहेको छैन, भित्रै कतै निदाएको चेतना विस्तारै जाग्दैछ। फेरि अर्को श्लोक भन्छ, “यदा सर्वे प्रमुच्यन्ते कामा येस्य हृदि श्रिताः, अथ मर्त्योमृतो भवत्यत्र ब्रह्म समश्नुते” जब हृदयमा बस्ने सबै कामनाहरू फुक्छन्, तब यहीँ अमरत्वको स्वाद भेटिन्छ। मतलव मुक्ति कुनै टाढाको गन्तव्य होइन, ध्यान शुद्ध हुँदा यहीँ फुल्ने फूल रहेछ। बुद्ध धर्मको त्रिपिटकमा पनि यही मौन संकेत भेटिन्छ। धम्मपद भन्छ, “चित्तं दन्तं सुखावहं” संयमित मन नै सुखको वहनकर्ता हो। अनि फेरि भन्छ, “मनपूर्वङ्गमा धम्मा मनसेट्ठा मनोमया” सबै कर्म मनबाट अघि बढ्छन्, मनले नै सबै बनाउँछ। यी वाक्यहरूले यस्तो देखाउँछन् कि संसार बदल्ने उपाय बाहिर खोज्न होइन, आफ्नै मनको दिशालाई शान्त पार्न फुसफुसाइँदैछ ।

Van Gogh का चित्रहरू हेर्दा यस्तो लाग्छ, उनले रंगले होइन, ध्यानले चित्र कोरेका हुन्। उनका शब्दहरू सम्झिँदा, “I put my heart and soul into my work, and I have lost my mind in the process.” यस्तो सुनिन्छ हृदय र आत्मा काममा राख्दा ‘म’ हरायो। यसले यस्तो अनुभूति गराउँछ कि जहाँ ‘म’ हराउँछ, त्यहाँ कला जन्मिन्छ, जहाँ कला जन्मिन्छ, त्यहाँ ध्यान मौन रूपमा बगिरहन्छ। कुमार गन्धर्वको गायन सम्झिँदा यस्तो लाग्छ, त्यो स्वर होइन, चेतनाको स्पन्दन हो। उनका भावसँग मेल खाने वाक्य जस्तै लाग्छ, “संगीत मेरो साधना हो, म गायन गर्दिन, म आफूलाई गायनमा अर्पण गर्छु।” यसले यस्तो सङ्केत दिन्छ कि त्यो गायन होइन, त्यो त ध्यानको प्रवाह हो, जसमा गायक स्वयं हराएर सुर मात्र बाँकी रहन्छ। एलन मस्कको भनाइ पनि यही भावसँग गाँसिएको जस्तो लाग्छ, “When something is important enough, you do it even if the odds are not in your favor.” अर्थात् कुनै कुरा पर्याप्त महत्त्वपूर्ण भयो भने, अनुकूल परिस्थिति नहुँदा पनि त्यो गरिन्छ। यो केवल साहसको कुरा होइन, यो ध्यानको गहिरो निष्ठाको कुरा हो, जहाँ लक्ष्यभन्दा ठूलो चेतना हुन्छ।

गुर्जिएफ भन्छन्, “Man lives his life in sleep, and in sleep he dies.” अर्थात् मानिस निद्रामै जीवन बिताउँछ, र निद्रामै मर्छ। यसले यस्तो बुझाउँछ कि ध्यान बिना जीवन एक किसिमको सपना रहेछ। P.D. Ouspensky भन्छन्, “Self-remembering is the beginning of awakening.” अर्थात् आत्मस्मरण नै जागरणको सुरुवात हो। यसले यस्तो देखाउँछ कि ध्यानको पहिलो स्पर्श नै आफूलाई सम्झनु हो। ओशो भन्छन्, “Meditation is not a method, it is a state of consciousness.” अर्थात् ध्यान कुनै विधि होइन, यो चेतनाको अवस्था हो। ध्यान कुनै क्रिया होइन, ध्यान त एक मौन उपस्थिति हो, जसमा मानिस गर्छ भन्दा बढी हुन्छ। नेपालका योगी परम्पराका स्वरहरू सुन्दा पनि यही अनुभूति हुन्छ। गोरखनाथको भाव यस्तो सुनिन्छ, “घरमै बसेर योग गर्न सकिन्छ, जंगल भाग्नु पर्दैन।” नरहरिनाथको उपदेश यस्तो झल्किन्छ, “धर्म बाहिरको कर्म होइन, भित्रको चेतनाको अवस्था हो।” यी वाक्यहरूले यस्तो महसुस गराउँछन् कि ध्यान संसारबाट अलग हुनु होइन, संसारसँग अझ गहिरो रूपमा जोडिनु हो।

अनुपम स्वामी भन्छन्, “The answer is a state, not a word.” अर्थात् उत्तर कुनै शब्द होइन, बरु एउटा अवस्था हो। यसले यस्तो देखाउँछ कि साँचो उत्तर किताबमा होइन, चेतनामा बगिरहन्छ। उनी फेरि भन्छन्, “Self-remembering is the doorway to all higher states.” अर्थात् आत्मस्मरण नै सबै उच्च अवस्थाहरूको ढोका हो। अनि अर्को ठाउँमा भन्छन्, “When concepts drop, clarity remains.” अर्थात् अवधारणा झर्दा, स्पष्टता बाँकी रहन्छ। यी वाक्यहरूले यस्तो बुझाउँछन् कि ध्यान अवधारणाबाट अनुभूतितर्फ बग्ने नदी हो।

यसरी हेर्दा, गीता, उपनिषद, त्रिपिटक, बुद्ध, गोरखनाथ, ओशो, गुर्जिएफ, Ouspensky, अनुपम स्वामी, Van Gogh, कुमार गन्धर्व, एलन मस्क सबैले फरक शब्द, फरक माध्यम र फरक संस्कृतिमा एउटै मौन सत्यलाई स्पर्श गरिरहेका छन् जस्तो लाग्छ। त्यो सत्य यस्तो छ – ध्यान जहाँ स्थिर हुन्छ, त्यहाँ जीवन आफैँ सन्तुलित हुन थाल्छ। ध्यान ठीक भयो भने सोच नरम हुन्छ, भावना शुद्ध हुन्छ, सम्बन्ध गहिरो हुन्छ। जब ध्यान स्थिर हुन्छ, तब केवल मानिससँग मात्र होइन, बोटबिरुवा, पशुपंक्षी, नदी, पहाड, आकाश र सम्पूर्ण प्रकृतिसँग पनि हृदयको नदेखिने, नबोलिने तर निरन्तर महसुस भइरहने सम्बन्ध जोडिन्छ। त्यो सम्बन्ध शब्दमा भन्न सकिँदैन, तर मौनमा बाँचिरहन्छ। अन्ततः, यस्तो अनुभूति हुन्छ सफलता कुनै बाहिरी जित होइन, भित्रको जागरण रहेछ। ध्यान जहाँ प्रेममा रूपान्तरण हुन्छ, त्यहाँ जीवन पनि प्रेममै रूपान्तरण हुन्छ। आफ्नो ध्यानमा नियन्त्रण हुनु नै जीवनको सबैभन्दा मौन, सबैभन्दा गहिरो, सबैभन्दा सुन्दर सफलता हो ।

एउटा साथीले चित्र कोरेर पठाइरहने गरेको, अर्काे साथीले मादलकै तालमा गुरु र इश्वर प्रति भावविह्वल भएर कविता बाचन गरेको, अर्काे साथीले म त घोटिइराछु साथी भन्दै देवीको तश्विरमा झुकिरहेको फोटो पठाइरहेको, विभिन्न बोटविरुवामा पानी पटाउँदै गरेको, अर्काे साथीले गितारको तरङ्गमा हमिङ्गको स्वाद भेट्टाएको कुरा गर्दा अनि एउटा साथी विदेशको सयौं तल्लाको झ्यालबाट रेशमी पर्दा सारेर कता होला आकाश र कता होला धर्ती खोज्दै गुरुश्रद्धाले ओतप्रोत भई कतै धर्तीमा झरी, मैले आज त थुचुक्क माटोमा बसेर आकाश तिर फर्किएर स्वामी जी सम्झेर लामो सास फेर्दै हेरिरहेँ भनी कविताकै भावमा बोलेको सम्झिँदा अनि भर्खरै कार्यस्थलमा एउटा ग्राहकले हतारिँदै डिमान्ड गरेको सेवा, सूचना, जानकारी दिन प्रयासरत मेरा हस्तरुपी Physical Mind, अनेक प्रक्रियाको बारेमा कोरलिँदै गरेका बिचाररुपी Intellectual Mind र तीनका हृदयलाई छुन सकेका भावयुक्त Emotional Mind लाई एकैचोटी क्याच भएर म त दंग पर्दै एकाएक गीत गाउन थालेँछु, “म त लालीगुराँश भएँछु, वनै भरि फुलिदिन्छु, मनै भरि फुलिदिन्छु ….”

(“Notes from Morning Healing sessions, अनुपम” को हरफलाई हृदयले निहाल्दा)

सस्तो लोकप्रियताबाट जोगिनुहोस्

आजको समय लोकप्रियताको समय जस्तै नै प्रायः देखिएको छ । सामाजिक सञ्जाल, भिडभाड, ताली, लाइक, कमेन्ट, यी सबैले मानिसलाई छिट्टै लोकप्रिय देखिने बनाइदिन्छन् तर प्रश्न उठ्छ, के देखिनु नै सफल हुनु हो त ? के सस्तो रुपमा लोकप्रिय हुनु नै, मानिनु नै सार्थक जीवन हो त ?

मानव जीवनको यात्रा केवल देखिनु, चिनिनु र प्रशंसा पाउनुमा मात्रै पक्कै पनि सीमित छैन। जीवनको वास्तविक सार त बोध, करुणा, सत्य र आत्मिक शुद्धतामा निहित हुनु पर्दछ भन्ने लाग्दछ तर आजको युगमा मानिस सजिलै सस्तो लोकप्रियताको आकर्षणमा फसिरहेको देखिन्छ। बाहिरी चमक, ताली, प्रशंसा, पद र प्रतिष्ठालाई नै सफलता ठान्ने प्रवृत्ति बढ्दो छ तर यस्ता उपलब्धिहरू क्षणिक हुँदा रहेछन्, स्थायी शान्ति दिन सक्दैनन्।

दुर्गम पहाडमा जन्मिएर आमाको पिठ्युँ पछाडि सानो डोकोमा बोकिएर बाउ, दाजु, भाउजु, दिदीहरुको पछि लाग्दै सानैमा तराईको गाउँमा झरेर हुर्किएको एक मानव रुपी बालकको जीवन अलि सानै छँदा फराकिलो धुलाम्य आँगनमा नांगा शरिरका रालसिगानले लत्पतिँदै जाँगरिला कोमल हातले झिक्रो समाएर स्वतन्त्रताका चिन्हहरु कोर्न भ्याए पनि छिट्टै त्यो स्वतन्त्रतामा हनन् हुन थाल्छ र अलि बढेको कहल्याइएर बाल्यकाल देखि नै प्रतिस्पर्धाले घेरिएको हुन्छ। स्कुल जीवनदेखि राम्रो अंक, राम्रो स्थान र राम्रो पहिचान प्राप्त गर्नुपर्ने दबाब थोपरिन थाल्यो। बाहिरबाट हेर्दा त्यो सफलता जस्तो देखिन्थ्यो, तर भित्रभित्रै तनाव, तुलना र असन्तोष बढ्दै गएको थियो। विस्तारै उच्च शिक्षा हाशिल गर्न शहर पस्नै पर्छ भन्ने टिनेज जस्तो उर्वर समयमै देखासेखी र दबाबले नै तुल्याइयो। यहाँ पनि जीवनको ध्येय पढाइ, जागिर, विवाह, पद, प्रतिष्ठा र सामाजिक मान सम्मानमै केन्द्रित रह्यो। जीवन बाँच्नभन्दा देखिनतर्फ बढी उन्मुख भयो। यसरी नै अनजानमा सस्तो लोकप्रियताको भीडमा जन्मजात स्वतन्त्रता आर्जन गर्दै चेतना विस्तारको नैसर्गिक अधिकार बोकी ल्याएको र त्यस बिरुद्ध गर्भमा रहँदा होस् या धर्तिमा प्रवेश गर्दा होस् कसैसँग कुनै सम्झौता, तमसुक नगरेको भएपनि अप्रत्यक्ष रुपमा Pure नेक्टरको घोलमा Slow पोईजन घोलेरै मिसाइयो । हुनत त्यसो हुनुमा अज्ञानता, अनभिज्ञता नै कारक थियो पक्कै पनि किनभने लगभग समग्र समाजले नै खाएको जे थियो त्यहि त मिसाएको थियो होला । विस्तारै विस्तारै उमेर त बढेकै भान हुँदै थियो जसको सूचक समयले कोरिदिएको जुँगा, दारी, कपाल र छालाहरु सहितको कदले देखाइरहेका थिए तरपनि ती भित्र गुजुल्टिएर रुमलिएको अर्काे Unhealed बच्चा घरि चिच्चाउँथ्यो त घरि पिर्साेलिन्थ्यो र असरल्ल यत्रतत्र छरपष्ट छरिन्थ्यो ।

तर समयसँगै एउटा गहिरो प्रश्न मनमा उठ्न थाल्यो, “के म साँच्चै बाँचिरहेको छु, कि केवल देखिन खोजिरहेको छु ?” यही प्रश्नले जीवनलाई नयाँ दिशातर्फ मोड्न थाल्यो। बाहिरी उपलब्धिभन्दा भित्री शान्ति, मानव रुपी कुनै नाम भन्दा मानव बन्ने अभ्यास र अहंकार बढ्ने प्रशंसा भन्दा परम सत्यको खोज महत्वपूर्ण हो कि भन्ने दृष्टि ठहरिन थाल्यो।

वैज्ञानिक दृष्टान्तले पनि यही सत्य पुष्टि गर्छ। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, “Try not to become a man of success, but rather try to become a man of value.” अर्थात् सफल व्यक्ति बन्नुभन्दा मूल्यवान व्यक्ति बन्नु ठूलो कुरा हो। ग्रेगर मेन्डल जीवनभर प्रायः अपरिचित रहे, तर आज उनी आनुवंशिकीका पिता मानिन्छन्। यदि उनले तत्काल लोकप्रियताको खोज गरेका भए, सम्भवतः मानव सभ्यताले यस्तो महान ज्ञान प्राप्त गर्ने थिएन। यसले स्पष्ट देखाउँछ कि लोकप्रियता होइन, मूल्य सृजना नै साँचो सफलता हो।

कला र साहित्यको इतिहास पनि सस्तो लोकप्रियताको भ्रमलाई तोड्ने उदाहरणहरूले भरिएको छ। भान गोग जीवनभर उपेक्षित र अप्रसिद्ध रहे, तर आज उनका चित्र संसारकै अमूल्य कृति मानिन्छन्। रवीन्द्रनाथ टैगोर, लक्ष्मी प्रसाद देवकोटा, कुमार गन्धर्व जस्ता स्रष्टाहरूले भीडको स्वादअनुसार होइन, हृदयको आवाजअनुसार सिर्जना गरे। सस्तो लोकप्रियताको खोजमा सिर्जना गरिएको कला क्षणिक हुन्छ तर आत्माबाट निस्किएको सिर्जना युगौंसम्म जीवित रहन्छ। साँचो संगीत त्यो हो, जसले कान मात्र होइन, हृदय छुन्छ; मनोरञ्जन मात्र होइन, चेतना जागृत गर्छ। जसरी संगीतमा सस्तो तालीभन्दा शुद्ध सुर मूल्यवान हुन्छ, त्यसरी नै जीवनमा सस्तो प्रशंसाभन्दा साँचो साधना मूल्यवान हुन्छ।

राजनीति र समाज सेवाको क्षेत्रमा पनि लोकप्रियताभन्दा मूल्यलाई प्राथमिकता दिने व्यक्तिहरू नै इतिहासमा अमर भएका छन्। महात्मा गान्धी, नेल्सन मण्डेला, अब्राहम लिंकनजस्ता महान व्यक्तित्वहरूले पद, सत्ता वा प्रशंसाभन्दा सत्य, न्याय र मानवताको मार्ग रोजे। गान्धीजीले भनेका थिए, “In a gentle way, you can shake the world.” सस्तो लोकप्रियताको खोजमा लाग्ने धेरै नेता क्षणिक रूपमा चम्किए, तर इतिहासले उनीहरूलाई बिर्सियो। मूल्यका लागि जिउनेहरू भने मानव चेतनामा सदैव जीवित रहन्छन्।

आध्यात्मिक परम्परामा त सस्तो लोकप्रियताको पूर्ण अस्वीकार गरिएको छ। उपनिषदमा भनिएको छ, “नायमात्मा प्रवचनेन लभ्यः…” अर्थात् आत्मा धेरै बोलाइ, प्रचार वा प्रदर्शनबाट होइन, आन्तरिक शुद्धता र साधनाबाट प्राप्त हुन्छ। भगवान बुद्ध, रामकृष्ण परमहंस, रमण महर्षिजस्ता सन्तहरूले प्रचार होइन, प्रकाश फैलाए। उनीहरूको मौन नै संसारका लागि सबैभन्दा ठूलो उपदेश बन्यो।

श्रीमद्भगवद्गीतामा भगवान कृष्ण भन्छन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” यस श्लोकले सस्तो लोकप्रियताको जरा नै काटिदिन्छ। फलको लोभ नै मानिसलाई प्रदर्शन, तुलना र प्रतिस्पर्धामा फसाउँछ। तर कर्तव्यमा समर्पित हुँदा फल आफैं आउँछ। फलको पछि दौडिँदा आत्मा हराउँछ, तर कर्ममा स्थित हुँदा आत्मा प्रकट हुन्छ।

व्यक्तिगत जीवनमा पनि यही सत्य क्रमशः स्पष्ट हुँदै गयो। दुर्गम पहाडबाट तराई, तराईबाट काठमाडौंसम्मको यात्रा केवल भौगोलिक मात्र थिएन; यो चेतनाको यात्रा पनि थियो। बाल्यकालमा अंक र स्थानको दौड, युवावस्थामा पढाइ, जागिर, विवाह, पद र प्रतिष्ठाको खोज, यी सबैले जीवनलाई बहिरमुखी बनाएको थियो। तर जीवनले कृपा गरेर एउटा मोड दियो: विशुद्ध आध्यात्मिक अभ्यास र साधनाको पद्दति र एक योग्य मार्गदर्शक गुरु प्राप्त भए। त्यहीँबाट जीवनको वास्तविक अर्थ बुझ्न थालियो, जिउनु भनेको देखिनु होइन, जिउनु भनेको बोधमा बाँच्नु हो। जीवनमा यस्ता अवसरहरू आए केहिकेहि भएपनि जहाँ थोरै सम्झौता गरेमा प्रशंसा, पद, नाम, सुविधा सहजै मिल्थ्यो होला तर अन्तरात्माले भन्नथाल्यो, “सत्यसँग सम्झौता नगर्नु, चाहे संसारले तिमीलाई बुझोस् वा नबुझोस्।”

अब प्रयास यही छ, व्यवहारिक सत्य र पारमार्थिक सत्यलाई मिलाउँदै, संसारमा रहँदै संसारभन्दा माथि रहने अभ्यास गर्न। नाम बनाउने भन्दा मानव बन्ने अभ्यासलाई प्राथमिकता दिन। लोकप्रिय बन्नेभन्दा पवित्र बन्ने बाटो रोज्न। सस्तो लोकप्रियताको खतरा स्पष्ट छ। यसले अहंकार बढाउँछ, तुलना बढाउँछ, अस्थिरता बढाउँछ र आत्मालाई कमजोर बनाउँछ। विपरीत रूपमा, साँचो साधनाले नम्रता बढाउँछ, स्थिरता बढाउँछ, करुणा बढाउँछ र चेतनालाई शुद्ध बनाउँछ।

अन्ततः निष्कर्ष यही देखियो कि आज सस्तो लोकप्रियतामा देखिनु सजिलो छ, तर मानव बन्नु कठिन छ। आज नाम बनाउन सजिलो छ, तर निर्मल हृदय बनाउनु कठिन छ। त्यसैले जीवनको लक्ष्य सस्तो लोकप्रियता होइन, साँचो पवित्रता हुनुपर्छ। भीड होइन, चेतनाको बाटो रोज्नुपर्छ। प्रशंसा होइन, परम सत्यको सान्निध्य खोज्नुपर्छ। जसरी दीपकले तालीको अपेक्षा नगरी अन्धकार हटाउँछ, त्यसरी नै मानव बन्ने अभ्यासमा मौन रूपमा उज्यालो फैलाउने प्रयास नै साँचो सफलता हो भन्ने विस्वास लाग्न थालेको छ ।

(“Notes from Morning Healing Sessions by अनुपम” बाट ‘सफलता’ विषय अन्तर्गत को एक हरफलाई हृदयले नियाल्दा)

सफलता : बाहिरको खेलदेखि भित्रको जागरणसम्म

सानो छँदा मेरो जीवनको परिभाषा निकै सरल थियो, “जित्नु”। फुटबल खेल्दा विपक्षीलाई जित्नु, धेरै गोल हान्नु, उनीहरूलाई गोल हान्न नदिनु। कक्षामा अरूभन्दा बढी marks ल्याउनु, राम्रो position लिनु। ठूलो भएपछि धेरै पैसा कमाउनु, राम्रो post को जागिर खानु, समाजमा मान-सम्मान पाउनु, राम्री केटीसँग बिहे गर्नु, एक एक वटा राम्रा र स्वस्थ छोरा र छोरी जन्माउनु , बिना कडा परिश्रम नै सुख सयल, विलाशी जीवन विताउन पाउनु यिनै थिए मेरा बाल्यकालदेखि युवावस्थासम्मका सपनाहरू। त्यो बेला मलाई लाग्थ्यो सफलता भनेको अरूभन्दा अगाडि हुनु हो। माथि पुग्नु हो। थप पाउनु हो। तर समयले मलाई थोरै थोरै त्यही बाटो हुँदै हिंडाउँदै लग्यो, र अन्ततः त्यही बाटोले मलाई थकाइमा पुर्‍यायो। जित्दै जित्दै, कमाउँदै कमाउँदै, म भित्र कतै हार्दै गइरहेको रहेछु, आफ्नै शान्ति, आफ्नै सन्तुलन, आफ्नै सरलता।

उपनिषद भन्छ, “असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय।” (असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरत्वतर्फ लैजाऊ।) त्यो बेला मलाई लाग्थ्यो, यो मन्त्र कुनै धर्मग्रन्थको काल्पनिक कविता मात्र हो तर आज बुझ्दैछु, यो त जीवनको नै दिशासूचक रहेछ। जब सही आध्यात्मिक अभ्यास, साधना पद्धति र गुरु भेटिए र अलि अलि आफ्नै मन, आफ्नै चेतना र जगतलाई हेर्ने दृष्टिकोण बदलिन थाल्यो, त्यसपछि मात्र थाहा हुन थाल्यो । म जसलाई सफलता ठान्दै आएको थिएँ, त्यो त समय र स्थानमा सीमित, क्षयमा जाने वस्तु मात्र रहेछ।

गीता भन्छ, “न कर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोश्नुते।” (कर्म नगरेर मानिस सिद्धिमा पुग्दैन।) र यही गीता फेरि भन्छ, “योगः कर्मसु कौशलम्।” (योग भनेको कर्ममा कुशलता हो।) यहाँको कुशलता बाहिरको मात्र होइन भित्रको जागरणसँग जोडिएको कुशलता हो। विस्तारै विस्तारै, थोरै थोरै केहि न केहि भएपनि बुझ्न थालेँ, ध्यानमा नियन्त्रण हुनु नै सफलताको मुख्य सूत्र रहेछ। ध्यानले कार्यकुशलता दिन्छ, कार्यकुशलताले जीवनलाई सन्तुलन दिन्छ र सन्तुलनले मनलाई शान्ति दिन्छ।

म पहिले सुख खोज्थें, सुख सुविधा, सुख सामग्री, सुख प्रशंसा। तर समयसँगै बुझ्दै गएँ, सुखभन्दा सन्तुष्टि ठूलो रहेछ। सुख क्षण हो, सन्तुष्टि अवस्था हो। संयम, नियम र अनुशासनलाई मैले पहिले बाध्यता ठानेको थिएँ तर आज बुझ्दैछु, यिनैले ऊर्जालाई उर्ध्वगामी बनाउँछन्। उपनिषद भन्छ, “ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्।” (यो संसारलाई उल्टो रुखजस्तो भनिएको छ – जरा माथि, हाँगा तल।) ऊर्जालाई तल होइन, माथि फर्काउनु नै आध्यात्मिक विज्ञान हो। वैज्ञानिक दृष्टिले हेर्दा पनि यही कुरा देखिन्छ।थोमस अल्वा एडिसनले हजारौँ पटक असफल हुँदा पनि हार मानेनन्। उनले भने “I have not failed. I’ve just found 10,000 ways that won’t work.” उनको सफलता कुनै एक दिनको उपलब्धि होइन, निरन्तर ध्यान, प्रयास र धैर्यको परिणाम थियो। न्युटनले रूखबाट झरेको स्याउलाई केवल फलको रूपमा हेरेनन्, त्यसमा ब्रह्माण्डको नियम देखे। आइन्स्टाइनले समय र स्थानलाई घडी र मापनको सीमाबाट मुक्त गरेर चेतनाको नयाँ आयाम खोले। एलन मस्कले आज पनि असम्भव देखिने सपना देखेर मानव चेतनालाई अन्तरिक्षसम्म विस्तार गर्दैछन्। यी सबैको जीवनमा एउटै साझा तत्व देखिन्छ: गहिरो ध्यान, निरन्तरता, र सृजनात्मक अवस्था।सृजनात्मक प्रक्रियाको लागि ध्यानको अवस्था अनिवार्य हुन्छ। जहाँ मन शान्त हुन्छ, त्यहाँ विचार गहिरो हुन्छ र त्यहाँबाट नयाँ अवस्था जन्मिन्छ। सिक्ने काम कहिलेकाहीँ पीडादायक लाग्छ। तर त्यो पीडादायक होइन बरु हाम्रो कुनै भाग अल्छी भएको हो। सन्त कबीरले भनेझैँ, “धीरे धीरे रे मना, धीरे सब कुछ होय।” धैर्य नै शिक्षाको गर्भ हो। असारमा वर्षा जस्तै, अद्भुत कुराहरू व्यक्तिहरूको सहकार्यले सृजना भएका हुन्। तर ती वर्षाहरूको बीउ पहिले बादलभित्र, पहिले आकाशभित्र, पहिले मौनभित्र तयार हुन्छन्। गहिरा कामहरू एकान्तमा हुन्छन्। जस्तो कि बीऊ एकान्तमा अंकुरित हुन्छ, जरा हाल्छ, शिर उठाउँछ, चुपचाप, कसैलाई नदेखाई।

सन्त रमण महर्षि भन्थे, मौन नै सर्वोच्च उपदेश हो। कहिलेकाहीँ केही नहुनु भनेको खाली हुनु होइन बरु त्यो सम्भावनै सम्भावना हुनु पनि हो।

उपनिषद भन्छ, “पूर्णमदः पूर्णमिदं।” (त्यो पनि पूर्ण, यो पनि पूर्ण।) खालीपनभित्र नै पूर्णताको बीज लुकेको हुन्छ।

अन्ततः जीवनले मलाई यो बिन्दुमा ल्यायो, जहाँ म भन्न सक्छु – सफलता भनेको बाहिरको जित होइन, भित्रको जागरण हो। सफलता भनेको धन, पद, सम्मान, सुविधा होइन, सफलता भनेको चेतनाको विस्तार र unconditional love हो। जब प्रेम शर्तविहीन हुन्छ, त्यसमा कुनै अपेक्षा हुँदैन, कुनै डर हुँदैन, कुनै लोभ हुँदैन, त्यो प्रेम नै मुक्तिको सुगन्ध हो। आज म फर्केर हेर्दा आफ्नो बाल्यकालको फुटबल, कक्षाको प्रतिस्पर्धा, जागिर, पद, सम्मान, परिवार यी सबैलाई नकार्दिनँ। यी सबै जीवनका पाठ थिए तर अब बुझ्दैछु, यी सबै पाठको सार यही थियो कि म बाहिर खोज्दै आएको कुरा भित्र नै रहेछ र यही बोध नै मेरो जीवनको साँचो सफलताको दृष्टि बनेको छ।

(Notes from Morning Healing Sessions by अनुपम, पल्टाएर मनन गर्दा)