बिर्सिन खोज्दा, मनले बनायो एक चित्र न ओठले बोलेको, न आँखाले देखिएको, तर आत्माले खिचेको त्यो रंगीन फेहरिस्त, जहाँ तिमी थियौ, एक धून जस्तो, गुनगुनिए पनि, नथाकिने आफ्नो पन जस्तो। बिर्सिन गारो भो साथी!
फूल हराएको छैन, तर त्यो एउटै गन्ध कताकता हरायो। रात आउँछ, तर तिम्रो सपना नै आउँदैन… आकाश निलो नै छ, तर तिमी सँगै हेरिएको त्यो बादल अब छेलिएको छ । बिर्सिन गारो भो साथी!
हावा चलिरहेछ अझै पनि तर तिमीले छोडेको सासको लय छैन। छायाँ आइरहेछन् मेरै पछि तर तिमीले फर्किएको त्यो अन्तिम नजर… त्यो छैन। बिर्सिन गारो भो साथी!
तिमी नाम होइनौ, तिमी त एउटा ‘मौनता’ हौ म भित्रको, म बाहिरको। तिमी सम्झना होइनौ, तिमी त एउटा ‘स्मृति-पूर्व आवाज’ हौ जसलाई न सुन्न सकिन्छ, न भुल्न मात्र ईन्द्रिय बिहिन लम्किएर महसुस गर्न। बिर्सिन गारो भो साथी!
समय अगाडि बढ्छ, तर तिमी, तिमी त ‘अघिल्लो क्षण’मा जिउँदै छौ, शरीरले हैन, श्वासले भावनाले हैन, आत्माले तृष्णाले हैन, अन्कन्डिस्नल प्रेमले । बिर्सिन गारो भो साथी!
सहरको एकान्त छेउ, पुरानो अशोक रुखमुनि दुई छायाँहरू प्रायः चुपचाप भेटिन्थे। तिनीहरू न प्रेमी थिए, न साधारण मित्र। उनीहरू सम्बन्धको त्यो तहमा थिए जहाँ शब्दहरू बोझिलो लाग्थे र मौनता नै सबैभन्दा साँचो संवाद थियो। हुँदाखेरि पनि गन्थनमा उनिहरुका कुरा हुन्नथे खोइ कुन्नि अर्कै तेस्रो छायाँको जसले ती छायाँलाई भेटाइदिएको थियो अन्कण्डिस्नल प्रेम भेटिने गरी आँफुलाई नै मेटिने गरी परमसत्य खोजिने गरी …
“धन्दा नमान साथी! म छु नि,” पहिलो छायाँले भन्यो, स्वर नभएको स्वरमा।
तिनीहरूको सम्बन्ध कुनै कथा होइन, एक यात्रा थियो। न कुनै आरम्भ, न अन्त्य। एक समर्पण, जसमा एउटा आत्माले आफैलाई बिसाउने ठाउँ खोजेको थियो—अर्को आत्माको मौन स्वीकारमा।
कहिलेकाहीँ ती दुई छायाँ छुट्टिन्थे, तर सधैँ एउटै समयपछाडि फर्किन्थे—त्यही रुखमुनि, त्यही मौनको घेरामा।
“किन फर्किन्छौ बारम्बार?” एकदिन एक छायाँले सोध्यो।
“किनभने म झुक्न सक्छु नि,” उत्तर आयो, जस्तै गहिरो नदीको भित्री बहाव, जसलाई बाहिर शान्त देखिन्छ तर भित्र बलवान् बगिरहेछ…
पाखुरोमा झरेका मधुर साँझहरू, जुनमा हराएका कागजका चिठीहरू, हावा भित्र मिसिएका स्पर्शका सन्देशहरू सबै तिम्रा पाइला बनेर आउँछन् सुस्तरी सुस्तरी… महसुस हुन्छ जताततै, छाम्न लम्किन्छन् इन्द्रियहरू तर भेट्दैनन्….
ज्ञान! तिमी उज्यालो किरण हौ, अज्ञानको अँध्यारोलाई चिर्दै सत्यको आँगनमा प्रवेश गराउने दीपशिखा हौ ।
तर श्रद्धा बिना तिमी अधुरो देखिन्छौ, किनभने नतमस्तक नभएसम्म बुद्धिले सत्य चिन्दैन, शब्दले जीवन चलाउँदैन शब्दमा भाव जोडिनै पर्छ भावले श्रद्धा बनाउनै पर्छ।
श्रद्धा बिना ज्ञान रुखो रूख जस्तो, फल नलाग्ने, जसको हाँगाहरू घमण्डले भरिए पनि जीवनलाई शीतलता दिन सक्दैन हृदयलाई सौन्दर्यले रंग्याउन सक्दैन ।
जब श्रद्धा ज्ञानसँग मिल्छ, त्यसको सुगन्ध आत्मामा बस्छ, अहंकारको पर्दा च्यातिन्छ, र हृदय स्वयं ब्रह्मको दर्पण बन्छ।
हे श्रद्धा! तिमी ज्ञानको प्राण हौ, जसले विज्ञानलाई साधन, र आध्यात्मलाई साध्य बनाउँछ।
साँचो ज्ञान त त्यही हो, जहाँ श्रद्धामा त्यो झुकेको छ, शास्त्र र गुरु सहितमा डुबेको छ र आत्मा परम सत्यतिर लम्केको छ अनि अन्कण्डिस्नल लभमा फक्रेको छ ।
लगभग एक डेड हप्ता अगाडिको कुरा होला, एकदिन म सदा भन्दा अफिसबाट अलि ढिलै घर आइपुगेको थिएँ सहकर्मी साथीलाई अलि सन्चो नभएर पालो दिन अलिक बेर थप बस्नु परेको थियो। घर आएर सदा झैँ आँखामा केही औषधि हालेर चिम्म गर्दै रेष्ट गरिरहेको थिएँ। एकछिनमा मेरो सानो छोरो स्कुलबाट हड्बडिँदै ढोका ड्वाङ्ग पार्दै ठुलो आवाजले धकेलेर भित्र छिर्यो। छिर्नु अघि उसले लगाइ आएका जुत्ता परैबाट खुट्टा झट्कार्दै उ पर कता पुगेको पत्तै नपाईकनै खोलेछ । पछि कोठा सँगै टाँसिएको सानो बगैंचामा रोपेको रुद्राक्षलाई पानी पटाउन जाँदा पो उसको एउटा जुत्ता, अड्याएर राखेको मेरो बाइक मूनि घोप्टो पर्न खोज्दै अलि कोल्टे परेरै ढल्किराको रछ । तुनाका थोरै एक छेऊ भित्रै छिरेका र अर्को छेऊ अलि लामै परसम्म धुलो लागेर भुइँ मै लम्पसार परिराको रछ। एउटा जुत्ताको त्यो हाल देखेपछि अब अर्को जुत्ता कता होला खोज्न मेरा चिम्रा आँखाहरू यताउती घरि तेर्सिन र घरि घोप्टिन थाले। निकै बेरको खोजतलासको रस्साकस्सी पछि अर्को जुत्ता त आधा सोल आँ परेर च्यातिएर नजिकैको गमला मूनि उता पट्टि छेलिएर उत्तानो परिराको पो भेटियो। त्यसको चाहिँ तुना खुस्किन नसकेर टम्म सुर्काउने कसिएका भएर होला खुट्टा झट्कार्दा सजिलै जुत्ता नखुस्किएपछि ढोका अगाडि को मार्बलमा बेसकन अगाडिको भागले ठोकेरै हान्यो क्यारै जस्तो लाग्यो। हुनत अरुदिन पनि मेरो छोरो बिस्तारै भलाद्मी पाराले त किन हिंड्थ्यो र ! स्कुलको गाडीबाट पर चोकमा झर्ने बित्तिकै देखि घर आइपुग्दा सम्म आफ्ना जुत्ताले बाटोको छेउछाउमा भेटिने कुनै फ्याँकिएका काठ दाउराका टुक्राटाक्री होस् या खालि भई फ्याँकिएका प्लास्टिकका पानीका बोतलहरु हुन् या मुखाले श्रीमतीको रातदिनको टोकेसोले फ्रेस हुन भनी दिउँसै १ क्वाटर दबाइहाल्ने छोटी भन्सारमा काम गर्ने हरिलाल सरले झ्यालबाट झट्याउने एटएटफोएट भोटकाको खाली सिसी या यत्रतत्र छरिएका ढुंगाहरू भएपनि बल जसरी हान्दै, खेल्दै कालो जुत्ता लगभग अर्कै रंगको हो कि जसरी पार्दै, घर आउँदै गरेको अलिपरैको आवाजले संकेत पाइन्थ्यो। यो देख्दा प्राय: मलाई स्वामी जि ले भनेको याद आइरहन्छ, अलि पहिले तिरै, काठमाडौंको कुन गल्लीमा साथी सँग राती सुनसान रातमा बाटोमा फ्याँकिएका सिसि, बोतलहरु खुट्टाले हान्दै रमाइलो गर्दै डुलेको, हिँडेको। छोराको त्यो दिन भने फरक तरिकाको हिँडाई थियो । “जसो गर, जे भन, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो” भन्ने गीत गुन्गुनाउँदै आउने प्राय: उसको स्वभाव, त्यो दिनको फलामको मुल गेटको चुक्कुल खोल्दाको फरक आवाजले फरक मनोभावना दर्शाइराथ्यो। भित्र छिरेपछि पनि मोजा खोल्न सम्झिएन, कोट पनि दायाँ हातको मात्र खोल्दै अनि सरक्क नराखी ब्याग परैबाट भुइँमा फ्याँक्यो, साइडको खल्तिमा बोकेको पिउने पानीको बोतलमा आधा जस्तो अझै बाँकि रहेको थियो होला बोटल उछिट्टिएर भुईँमा पोखिएको पत्तै पाएन। हतार गर्दै ल्याण्डलाईन फोन राखेको टिभि टेबुल मूनि, उसलाई सजिलै याद भैराखेको नम्बर भएपनि त्यो दिन मुखले ९८******८९ बोल्दै सेटमा डायल गर्न थाल्यो। उसलाई हामीले सधैं सिकाइरहेकै हुन्छौँ कि कसैलाई भेट्दा होस् या फोन गर्दा सबै भन्दा पहिला “नमस्कार वा दर्शन” भन्नु पर्छ भनेर तर त्यसो हामीले भनेपनि प्राय: ऊ सिकाएको, घोकाएको सम्बोधन भन्न सम्झिँदैन या भन्नै पर्छ भन्ने जरुरी ठान्दैन कि के हो, आफ्नै पारा गर्छ। त्यसदिन त हेलो समेत नभनिकनै सिधै “एउटा गुड न्युज” भनिहाल्यो । सधैं झैं उताबाट बन्द मुखबाटै हृदय खोलेर हाँसीदिने “हुँहुँ” को आवाज आयो, मलाई र छोरा दुबैलाई एकदमै मन पर्ने मृदुल हाँसो, सानो स्वरले भएपनि कानले मात्र सुनिरहेको होइन मेरो बाक्लो सिरक भित्रको फलाटिनको सट, त्यस भित्रको थर्मकोट छिचोल्दै धड्किरहेको मुटुको ढुकढुकीमा एकाएक छिचोलेरै भरिन पुग्यो । मेरा शरिर भरि सबैतिर केहि तरङ्गले पोतिए झैँ भयो, त्यसको प्रभाव तत्कालै भर्खरै हालेको औषधी पखाल्दै आँखाबाट बायाँ कानतिर र केही थोपा ओठ मूनि नुनिलो हुँदै पस्दै गरेको पत्तै भएन। उताबाट उत्साहित भएर कौतुहलताको आवाज आयो “के भयो?” छोराले तत्कालै जबाफ दियो “एउटा बिरालोले आँखा खोल्यो नि” । फेरि उताबाट अहोभाव सहितको आवाज आयो ” वाउ!” त्यसपछि छोराले थप गफ गर्न थाल्यो, “हाम्रो घरमा म स्कुलबाट आउन लाग्दा सधैं आउने , मलाई र बाबालाई भेट्ने र म्याउँ गर्दै ढाड र पुच्छर दल्दै एकछिन बसेर उता पल्लो छिमेकी घरमा फर्कीजाने गरेकी बिरालोले ४ वटा बच्चा पाएको १० दिन भएकोले आज आँखा खोल्यो । बाबाले भनिस्याछ, अब अलि ठुलो भएपछि २ वटा फिमेल बिरालो चाहिँ हामी मागेर ल्याउने अनि माथि अन्टी, अंकल र हाम्रो मामुले थाहा नपाइकन बाहिरै पट्टि बगैँचाको छेउमा फलामको स्ट्याण्ड राखी गमला राखिएको मूनि पट्टि पसलतिरबाट एउटा कागजको कार्टुन ल्याएर, केही कपडाका टुक्राहरु बिछ्याएर उनिहरुलाई सानो घर बनाइदिने अनि छेऊमा एउटा पानी र खानेकुरा हालिदिने सानो कचौरा राखेर पाल्ने” आदि आदि के के के के । अनि फेरि उताबाट पनि “आज के के खायौ ? अब के खाने? कस्तो स्वाद रछ ?” ,,, आदि आदि के के गनथन गर्न थालेको घरि घरी सानो स्वरमा सुनिई रहन्थ्यो । लाग्थ्यो उनीहरू बीच बर्षौ वर्ष त के जन्मौं जन्म देखिको सम्बन्ध कायमै छ। त्यो दिन मात्र होइन सधैं नै उनिहरुको गफमा बुझिन्छ कि म त अकस्मात बाटोमा भेटिएर शरिर जन्माइदिएको सामान्य बाउ मात्र हो, महाबाउ र महाछोरा त उनीहरु नै हुन् । “एउटा गुड न्युज, बिरालोले आँखा खोल्यो नि, हुँहुँ को भित्री मृदुल मुस्कान, वाउ ! ” जस्ता शब्दहरु र भावले त्यसदिन निकै अबेरैसम्म मेरा आँखाहरु अहोभावले ओभाउनै भ्याएकै थिएन ।
उता पोखरामा बस्ने एकजना साथीलाई सुनाउन मन लाग्यो दिउँसोको वृतान्त। समय लगभग रातीको साँढे दश बजिसकेको थियो, सायद ऊ निदाइसकेको थियो। मैले उसलाई ह्वाट्सएपमा मेसेज मात्र हालेर सुनाएको थिएँ। कसोकसो उ बिउँझिएछ क्यारै र हेरेछ क्यार। उसले लेखेर पठायो, “मलाई पनि रुवाउनु भयो” । उसको त्यो मेसेज पढेर एक्लै फेरि अहोभावले रोएँ, चपौलीदेखि काठमाडौंमा र अमेरिका, युरोप, अष्ट्रेलिया आदि ठाउँ ठाउँमा रहने साथीहरु सम्झेर अझै रोएँ , अनि हृदयलाई छोइरहने कमिलाका स्ट्रेट लाइन ताँती देखि बिराट ब्रह्माण्डमा रहेका मेरा इन्द्रिय, मन, भावना, बिचार र चेतनास्तरले छुनसक्ने आयामसम्मका अनेक सबै कुराहरु र निराकार परमात्मा एवं साकार रुपी बिभिन्न देवी देवताहरु सम्म सम्झिएर श्रद्धा, समर्पण, प्रेम भावले आँखा रसाइरहे। छोरो छेवैमा घुरेर सुतिरहेको थाहा पाएर सिरकका खोलले आँशु पुछ्दै सुतेको निकै बेर पछि खोइ कुन्नि कतिबेला भुसुक्कै निधाएँछु, पत्तै भएन।
“त्यो रात्री पनि सधैंको जस्तो साधारण रात्री थियो, अन्धकारमा मानिसको लोक थाकेर मरेको चिसो, जाडोले कठांग्रिएको, काजलको आकासमा एकनाससँग सलमा सितारा झल्केको हेरिदिने कोही छैन, घर घरमा बत्ति निभेका छन्, ढोकाझ्याल टम्म छन्, शुन्य सडकका खाँवामा बत्ति घोरिएर भुईँ तिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रीको निस्वास जस्तो बत्ती बत्ती मूनि झुण्डिएर अडिरहेको छ । निस्पट्ट शान्ती छ शहरमा, झन् जाडोले शान्तीलाई जमोठ जस्तो डल्लो पारेर अड्याइदिएको छ । अरु जाडाको रात्री सरह नै त्यो रात्री पनि थियो, जीवनको कार्यरत्ता एकदम थामिएर अडेको, मानौ तमाम विश्व स्पन्दनहिन भएको छ ….।” शिर्षकको मर्मलाई जीवन्तता दिने गरी लेखकले पाठकसामु बिछ्याएका एक महत्वपूर्ण अंश ।
बिपी कोइरालाद्वारा लिखित श्वेत भैरवी कथा संग्रह भित्रको एउटा कथा “एक रात” एक शसक्त नेपाली कथा हो, जसले मानवीय मनोविज्ञान, समाज र नैतिक द्वन्दलाई जीवन्त रुपमा उजागर गरेको आभास हुन्छ । चरित्र प्रधान कथा लेखनशैली, पात्रको मनोवृत्तिलाई सामाजिक, साँस्कृतिक र मानविय प्रवृत्तिसँग न्यायपूर्ण रुपमा पाठकको मस्तिष्क एवं भावनामा छर्लङ्ग पारी पस्किएको आभाष हुन्छ । यस उपन्यासमा मृत्युको छायाँमा बिताएको एक जवान पुरुषको जीवनको एउटा अन्तिम रातको मानसिक संघर्ष, प्रेम, पछुतो बीनाको निर्णय, आफ्नो उद्देश्य प्रति श्रद्धापूर्वक संकल्प रहित ब्यक्तित्व आदि कुराहरुको जीवन्त रुपमा प्रश्तुती देखिन्छ । मुख्य पात्र भर्खरै विवाहित एक युवा हुन्, जो जेलमा भोलिपल्ट झिसमिसे बिहान अघि नै फाँसी दिइने प्रपन्चको पर्खाइमा छन् । त्यस रात उनले आफ्नो सम्पूर्ण जीवन, प्रेम, विवाहित जीवन, सन्तानको बाउ र मृत्यबोधको गहिरिएर समिक्षा गरिरहेका हुन्छन् । उनी एक राजनीतिक क्रान्तिकारी युवा शक्ती हुन्, राणाकालिन शासन ब्यवस्थाको सरकारविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका छन् । त्यो एक रातभरि उनी अतित, प्रेम, वर्तमान अवस्थाको पिडा र मृत्युको भय एवं आफ्नो संकल्प शक्तीको मनोभावनासँग नजिकिएर परिक्षण गर्दै हुन्छन् । उनी आफ्नो भर्खरै विवाहित पत्निलाई पनि सम्झन्छन् त्यसगरी आँफुले देश र जनताको भविष्यका लागि संकल्पित भएर क्रान्तीमा होमिएको बलिदानको अवस्थालाई र बिचारधारालाई पनि सम्झिन्छन् । घरि घरि आफ्नो जिन्दगीको बारेमा आँफुले गरेका निर्णयहरुको पनि पटक पटक पुनर्विचार गर्न खोजेको बुझिन्छ । मृत्यु लगभग निश्चित जस्तै भएपनि कहिँ कतै कुनै कुराले न रोकिन्छ कि भन्नेमा पनि युवक झिनो आशावादी भएको जस्तो पनि भान हुन्छ जसले गर्दा आफ्नो तथा परिवार र समाज एवं समग्र राष्ट्रकै अवस्थाको महत्वबारे पनि गहिरो चिन्तन गर्छन् । यो कथा एउटा सिंगो रातभरि घट्छ, जहाँ नायकको मानसिक अवस्था क्रमशः प्रेम, स्विकारोक्ती र आत्मसमर्पण तर्फ अग्रसर हुन्छ । घरि घरि त्रास, पिडा त घरि घरि आत्म संकल्प जस्तो विरोधाभास अवस्थाले पनि उसलाई झस्काइरहन्छ । उनी आफ्नो नवविवाहित पत्निसँगको भावनात्मक प्रेम र निर्दोषता प्रति भावावेगमा आउँछन् । गर्भमा रहेको आफ्नो बच्चा र बाउआमाको सपना साकार पार्ने जिम्मेवारीको समेत घरिघरि आत्मपिडा महसुस गर्छन् ।
“… कमिस्नरले कोमल स्वरमा अन्तिम बार सोधेः तिम्रो अन्तिम इच्छा के छ ? केही भन्नु छ ? उसले भन्यो, तमाम किशोर युवकहरुको मानविय मर्यादा र सुख सम्भव हुन जाओस् ।…” “…आफ्नो छोराको कोठामा गए, उ उत्तानो परेर सुतिरहेको थियो । कमिस्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे, अनि विस्तारै गएर उसलाई छोए ।…” “…किशोरले आफ्नै बाणीलाई अर्कोले बोलेको जस्तो गरी सुन्यो । कमिस्नरको मसिनो बोली पो सुनियो भनेको मानेनौ माफी माग भनेको, के गर्नु आफ्नो ड्युटी गर्नै पर्ने भो । किशोर मुस्कुरायो, भन्यो मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गइरहेको छु ।…”
कथामा कमिस्नरले किशोर प्रति करुणा भाव प्रकट गर्दै आँफूले गरेको गल्ती सम्झेर माफी मागे कानूनी रुपमै क्षमा पाईने र दण्डबाट छुटकारा पाइने अभिलाषा राख्छन् । किशोरलाई देखेर उसको आफ्नो छोरालाई हृदयमा जोडेर संवेदना जागेको हुन्छ । किशोर भने आफ्नो देशभक्ती, जनआकांक्षाको सेवा, परिवर्तनकारी सोच एवं संकल्प प्रति दृढ देखिन्छ ।
“…अन्तिम घडि आएछ, चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट हठात् समाप्त हुने छु र छैनका बीच छुट्टयाउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको ….”
घरिघरि किशोरमा द्वैद मनस्थिति पनि झलिन्छ अनि लगभग निश्चित देखिएको मृत्यको चित्र र त्यस अघि आँफू जीउँदो अवस्थामा रहेको बीचको सानो दूरीलाई गहिरिएर बिचार गर्छ ।
“…उसका आमा–बा ठेट ग्रामिण दम्पति, उनले बुझे होलान् र राजनितिका कुरा ! उसका बालाई छोरामाथि बढो आशा थियो, त्यसैले अंग्रेजी पढाउने नयाँ कुरा तिनले गरे, छोराले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो । …” “…उसले बैनिलाई राखेर भन्यो, “म तिमीलाई पढाउँछु, तिमीले पढ्नु पर्छ । ….बैनी बढो उत्साही बालिका थिई । उसले भनी, म पढ्छु दाई ! म पनि ठुलो हुन्छु, धेरै पढ्छु । …” “…बैनी भन्थी, आमा म बिहे गर्दिन । आमा भन्थिन् के भनेको रे, बिहे गर्दिनस् ? अँहँ गर्दिन । देश सेवा गर्छु पढेर आमा भन्थी बैनी…” “… तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रुपमा ढाल्छु । उसले भन्यो यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गीनी बनाएर उपस्थित गराउँछु ।…” “… एक दिन उसले दुलहीलाई भन्यो साँझतिरः राधा हिँड जाउँ नदितिर घुम्न, …अनि राधा खुसी भएकी जस्ती थिई, तर भन्न चाहिँ यत्ति भनीः तर मलाई लाज लाग्छ । …उसले भनेको थियो अझसम्म लाज गएको छैन, तिम्रो आमा हुने बखतमा पनि ? …” “… प्राणनाथ ! अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट बोली निस्किएको थियो, राधाको मुखबाट प्राणनाथ ।…” “… थुनिएपछि उसले सुन्यो कि राधाले छोरो पाई ।…”
किशोरका बाआमा गाउँले परिवेशमा जन्मिएका, हुर्किएका अनि दैनिकी चलाईरहेका तथा तत्कालिन सामाजिक, सांस्कारिक रितीरिवाजमा चल्ने प्रवृत्तिका भएकाले सो घेराबाट निस्किन गारो संघर्ष मान्ने स्वभावका हुन्छन् । तैपनि बाउले छोरालाई आधुनिक शिक्षाको केही अनुभवमा लगाउने साहस र इच्छा चाहिँ राख्छन् र अंग्रेजी विषय एवं थप उच्च शिक्षाका लागि भारतसम्म पठाउने साहस पनि गर्छन् । बाआमाले आँफूमा छोरा प्रति पारिवारिक भविष्यको ठूलो सपना कोरेका हुन्छन् । छोरालाई राम्रो शिक्षादिक्षा गराएर, राम्रो रोजगार पाउने योग्य बनाएर समग्र परिवार तथा त्यो सानो गाउँको ईज्जत बनाउने ध्येय राखेका हुन्छन् । किशोरकी एउटी बैनी हुन्छे सानी, शुसिल जसलाई नयाँ लुगा लगाइदिई नौलो भेषमा समाजमा उभ्याउँदै, पढाइलेखाई गराई महिलाले पनि पढेर आफ्नो जीवन नयाँ तरिकाले जीउन सक्ने सक्षम बनाउने चाहाना राख्छ । यस्तो बुझेर बैनी सारै खुसी हुन्छे । पढेर राम्रो, ज्ञानी, शिक्षित हुने र देशको सेवा गर्ने देशभक्ती भावना जस्तो ठूलो कार्यमा होमिन चाहाना राख्छे । यो दृष्यले के देखाउँछ भने नव बालक, युवाहरुमा शिक्षादिक्षा, कर्मठता, सक्षमता जस्ता क्षमतावान कुराहरु देशकै लागि प्रयोग एवं उपयोग गर्नु पर्छ भन्ने अन्तरहृदय र बिवेकमा गडेको छ । तर आमालाई भने छोरी मान्छे भनेको अर्काको घरमा बिहे गरेर जाने, त्यहाँ घाँस दाउरा, मेलापात, पशुपालन र भान्साको काम गर्ने जिम्मेवारी हुन्छ त्यसैले त्यस्तो कुराहरु मात्र सिक्ने हो छोरीले त भन्ने मान्यता राखेकी हुन्छिन् । तर किशोरको परिवर्तनकारी सोचले बैनी समेत पढ्न पाउने भएकी हुन्छे । अर्कातिर बाआमाको सोच छोरालाई बिवाह समेत गराइदिने अनि परिवारको हेरचाह एवं सन्तान जन्माउन लगाई पुस्तान्तरण गर्ने अभिलाषा मनमा पालेका हुन्छन् । त्यसैकारण उसको भित्री चाहाना नभइकनै बाआमाको आज्ञा मानेर एउटी सानी निर्दोष केटीसँग बिवाह पनि गर्छ । बिवाह पश्चात भने आफ्नी पत्नीलाई समेत आफ्नै बैनी जस्तै मायालु देख्छ अनि उसैगरी माया ममता सहित हिम्मतसाथ पढाउन लेखाउन पनि लगाउँछ । उनीहरु बीच मिठो सम्बन्धको प्रेम बन्छ, बैवाहिक जीवनको प्रेमात्मक सोत र वातावरणलाई सामाजिक रुपमा नै नयाँ आयामहरु थप्ने हेतुले किशोरले आफ्नी पत्नी राधालाई घुम्न जानु पर्छ पतिपत्नी भएर मायाको अनेक रंग चढाउन बुझ्ने र बुझाउन खोजेका हुन्छन् । राधाको निर्दोष मिठो प्राकृतिक प्रेमभावको र आफ्नो पति प्रतिको श्रद्धाभाव पनि यस कथामा स्पष्ट अवस्था देखिन्छ जसले ती दुई जोडीको प्रेमिल आत्माहरु उच्च सौन्दर्य आभासमा सल्बलाएको उजागर हुन्छ ।
“… उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनास भनेको थियोः मैले फ्याँकेको हो बम तर हत्याको लागि होईन चेतावनीको लागि…” “…हवल्दारले भन्योः मरे निद्रा आउँदैन । सुवेदार उठेर बस्यो र भन्योः सिगरेट झिक्न । …” “… एउटाले भन्यो त्यस्तो अन्तिम घडिमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको पुग्छ ।…” “… त्यहि ठिटोलाई फाँसी दिन गएको थिएँ, डाक्टरले भन्यो, नभनेस् है छोराहरुलाई । दुलहीको मुखबाट केबल हाय भन्ने शब्द निस्कियो र उसले आफ्नो हत्केलाले मुख छोपी ।…”
कथामा किशोरलाई फाँसी दिन आफ्नो जागिरको ड्युटी निभाउन बाध्य भएका प्रहरि, डाक्टर, कमिस्नरहरुको मनोभावनालाई यहाँ राम्रोसँग पस्किन भ्याएका छन् लेखकले । करुणा, प्रेम, सदभाव जस्ता साझा मानविय संवेदनशिलताहरु तथा विशेषताहरु सबै जिम्मेवारी, कर्तब्य निभाइरहेका ब्यक्तीहरुमा हुने रहेछ भन्ने कुरा बुझाउन लेखकले यस कथा मार्फत कुनै कसर बाँकि राखेका छैनन् । समग्रमा भन्नु पर्दा मानिसहरुमा आउने मनोवैज्ञानिक ओहापोहहरुको विश्लेषणात्मक तरिकाले बिवेचना गरिएको र त्यस्ता कुराहरुलाई सौन्दर्यताको रंगले पोतेर पाठकलाई हाइयर इमोश्नल इन्टेलिजेन्सको आयामहरुमा छुवाउने राम्रो क्षमता राखेको छ यस कथाले र श्रदेय लेखक श्री बिपी कोइराला ज्यू को लेखनशैली एवं भावले ।
बग्दा बग्दै जमेको हिमाल को एउटा नदि जस्तो । मेरो स्मृति बाट झन्डै लोप हुन लागेका बेला लेकसाइड को एउटा साँझ ले फेरि प्राण भरेर पुनर्जीवित तुल्याएको आदिम कथा हो यो ।
बर्तमान को मिठो क्षण लाई, समय को बहाब ले अतित बनाइदिन्छ । न त फर्केर त्यहाँ जान मिल्छ, न त त्यो घटना लाई बर्तमान मा ल्याएर फेरि त्यसको आनन्द लिन सकिन्छ । अत: बिगत प्रति स्विकारोक्ति अनि बर्तमान प्रति अहोभाव ।
धेरै गफ के हान्ने, सिधै कथा सुरु गरौं ।
“मलाई घुमाउरो कुरा मन पर्दैन” मैले भने ।
“तिम्रो केश हो मलाई सबै भन्दा मन पर्ने कुरा ” यो स्टेट्मेन्ट चिप्काउने ब्यक्ति को थियो अस्ति टेक्स्ट् मा ? ऊनले सोधिन् ।
गफ मात्र गरेको । घुमाउरो पनि मन पर्छ 😁
फर्मालिटि घुसाउनु को तात्पर्य के ? मज्जाले स्पोन्टेनियस राइटिङ गरिन्छ आज पनि । कथा लाई जीवन्त तुल्याउनु जो छ ।
ज्यान मागे ज्यान दिन्छ वा दिदैन थाहा छैन तर आवस्यक परेका बेला धन चै दिने मेरो एउटा साथी छ । उसले नयाँ स्पिकर किनेर ल्यायो । जे. बि. एल । रु ७००० परेको । केटो धनी छ । घुमेका, उडेका, गुडेका, आँशु र हाँसो सङै साटेका कयौ पल हरु छन् उ सङ । एउटै थाल मा एउटै चम्चा ले खाने देखि साधुँरो बेड मा ठेलाठेल गरेर बिताएका रात पनि छन् । उसको बैंक अकाउन्ट मा जम्मा भएको रकम को लम्बाई भन्दा उसको हृदय को आकाश फराकिलो छ । आयतन बिहिन छ नाप्न नसकिने । हामी स्पिकर मा गित सुन्दै ताल को छेउ मा बसेर साझ को आनन्द लिन थाल्यौ ।
“रकहेड को रङ्ग” बजाउछ उ ।
“तिम्रो अँाखा मा डुबिसकेछु
मलाई निकाल्न नखोज…
मन को कुनै कुना मा किन
पुरै मन मा बसिदिनु”
यहाँ निर मलाई बुकाओस्कि याद आउछन् । “इफ यु आर गोइङ टु ट्राइ, गो अल द वे, अदरवाइज डन्ट इभन स्टार्ट “
यति हिम्मत छ भने मात्र यात्रा सुरु गर्दा बेस । नत्र चार दिवार भित्र थुनिएर बस्नु जाति ।
गित बजिनै रहन्छ । ताल माथी तौरिएका बत्तिका रेखा हरु हेर्दैछु म । ताल छेउ का रेस्ट्रन्ट हरुले बलेको बत्तिको उज्यालो ताल मा पौडि खेल्दैछ । साथी चिया पिउँदै छ । सुरुप सुरुप । आनन्द लिँदै छ
अहिले उ सुसान्त के.सि को झ्याल बाट सुन्दै छ ।
अब पुरानो कथा सुनाउछु ।
केहि महिना अगाडि को कुरा हो यो । सौन्दर्य आस्वादन गर्न साथि र म पुगेको बिशेष ठाउँको बर्णन बताउँछु ।
पार्सव मा संस्कृत मन्त्र र श्लोक हरु को मिठो गुन्जन थियो। मन्दिर को शिर लाई सुस्तरी चुम्दै घाम को न्यानो मेरो छेवै मा पोखिएको ले म आनन्द पुरित बने त्यो क्षण ।
मिठो एहेशास थियो त्यो । जब जब घण्टी को मिठो लय ले हृदय लाई स्टिमुलेट गर्दै थियो, साथै मिसिएर आएको संस्कृत का वाक्य हरु को मिठो समिश्रण ले हृदग लाई उच्च कम्पन मा तरङ्गित बनाउदै थियो ।
कतै पढेको थिएँ
“साउन्ड कम्स फ्रम साइलेन्स एन्ड डिजल्बस् इन साइलेन्स “
मन्त्र को गुन्जन बोकेर ल्याएको मायालु बतास वरिपरि बगिरहेको थियो । जब शब्द बिहिनता मा पुगिन्छ तब मौनता पनि प्रार्थना बन्ने रहेछ । हाम्रो हृदय बोले हाम्रो कन्भरसेसन गित बन्ने रहेछ ।
नयन मुस्कुराउछन जहाँ~ हृदय जोडिन्छन त्यहाँ ।
त्यही हृदय हो हाम्रो घर ।
राति थारु खाना खाने प्रस्ताव राखे केटा हरु ले । भोजन पस्चात गफिदै पल्टियौ ।
भोलिपल्ट साथी र म यात्रा को आनन्द लिदै मोटरसाइकल मा पोखरा फर्कियौ ।
यात्रा मा गएको थिएँ याद बोकेर फर्किँए । यि याद हरु हलुका प्रकृति का छन् । आनन्ददायि छन् । अज्ञात खाडल मा तान्ने होइन पंिछ को भार बिहिन उडान मा पुर्याउने खाल का छन् ।
पोखरा वरपर स्थिर उभिएका हरिया डाडा हरुका, बुक स्टोर का, भुटन हाउस का, लेकसाइड को मादक्तायुक्त साझ का थुप्रै कथा बाँकी छन् सुनाउन । अहिले लाई यहि कथा ले आनन्द को आवहान गरौँ ।
ध्वनि को मिठो इम्प्रेसन ले लेख्न सुरु गरेको एउटा कथा लाई आज शान्ति को पुर्णविराम यसरी दिदैछु
जमोठ भएर बस्नु मा होइन बग्नु मा छ मज्जा । फ्लो फिल हुने गतिविधि हरु मा उर्जा लगानी गर्दा बहाब महसुस हुन्छ ।
हृदय को गहिरो मा गडेको कुरा लाई बिस्तारै सतह मा ल्याएर एउटा सुन्दर मोड दिने प्रयास हो यो ।