स्कुल

एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” ।  केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई  त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ । 

यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने  , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।

समग्र जीवन हाम्रो बुझाइ र धारणा भन्दा सधैँ पर हुन्छ

विभिन्न कारणले जीवनमा हामी सिक्न बन्द गर्ने सम्भावना हुने रहेछ। साधनाको यात्रामा कहिले मलाई सबै थाहा भइसकेको छ वा मैले मोक्ष प्राप्त गरिसकें भन्ने भ्रम हुन सक्ने रहेछ, कहिले आफू भन्दा सानो मान्छे वा अरुसँग अहङ्कारले गर्दा, वा औपचारिक शिक्षा सकिए पछि हामी त सधैँको विद्यार्थी हौँ भन्ने पनि बिर्सिन सकिने सम्भावना हुने रहेछ। 

सिक्ने उमेर कहिले पनि सकिँदैन रहेछ। र ज्ञान र चेतनाको विकासको लागि सधैँ सिक्ने भावमा रहनु अत्यावश्यक हुने रहेछ। जो मान्छे सिक्न तयार छ र त्यो दिशामा अनुशासित भएर लागि रहन तयार छ, त्यो मान्छे नै सफल हुने रहेछ। 

गहिरा कामहरू एकान्तमा हुन्छन्

कुनै एउटा टाढाको पहाडको काखमा, जहाँ बादल र कुहिरोहरूले रुखका हाँगाहरूसँग लुकामारी खेल्थे, त्यहाँ एउटा सानो तर झिलिमिली परेको कुटी थियो। त्यही कुटीमा उ आफ्नो बाल्यकालका कलिला पाइलाहरू चाल्दै गुरुको सामिप्यतामा हुर्कँदै थियो। अरू बालबालिकाहरू बाहिर मैदानमा दौडिरहँदा, उसलाई भने गुरुले एउटा सानो माटोको घैँटो र एउटा बीऊ दिएर एकान्त कुनामा बस्न लगाउनुभएको थियो। उसको लागि त्यो केवल एउटा बीऊ थिएन, बरु एउटा नसुल्झिएको पहेली थियो। उसले दिनभरि त्यो माटोलाई हेर्थ्यो, तर त्यहाँ केही पनि हलचल हुँदैनथ्यो। उसलाई लाग्थ्यो, के यो बीऊ निदाइरहेको छ? वा यो भित्र केही भइरहेकै छैन? उसको मनमा जिज्ञासाका अनेकौं लहरहरू चल्थे, तर गुरुको शान्त र गम्भीर उपस्थिति देखेपछि उ चुपचाप आफ्नै भित्री जगतमा फर्कन्थ्यो। गुरुको निगरानी कुनै शासन जस्तो थिएन, बरु एउटा शीतल छाया जस्तो थियो जसले उसलाई बाहिरी संसारको भड्कावबाट जोगाएर आफ्नै आत्माको ऐना हेर्न प्रेरित गर्थ्यो।

एकदिन, धैर्यताको बाँध टुट्न लाग्दा उसले गुरुलाई सोध्यो, “गुरुदेव, यो बीऊ किन यति धेरै समयसम्म एक्लै अँध्यारोमा बस्छ? के यसलाई एक्लो महसुस हुँदैन?” कुखुराका अण्डाहरू पनि त त्यो बिऊ सँगै अँध्यारो मै थिए त तर चाँडै चल्लाहरू बनेर निस्किए त, ती पनि त बिऊ नै थिए नि होइनन् र ? गुरुले उसको कलिलो टाउकोमा हात राख्दै मन्द मुस्कानका साथ उपनिषद्को एउटा गहन सत्य सुनाउनुभयो, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।” अर्थात्, “हे वत्स! यो बीऊ अहिले असत्यबाट सत्यतर्फ र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा छ। बाहिरबाट हेर्दा यो चुपचाप छ, तर भित्रभित्रै यसले आफ्नो पुरानो अस्तित्वलाई गलाएर नयाँ स्वरूपको निर्माण गरिरहेको छ। गहिरा कामहरू त सधैँ एकान्तमै हुन्छन्। अनि सबै बिऊहरु एकै समयमा अंकुरित हुनै पर्छ भन्ने पनि छैन नि, प्रकृतिका नियममा अनेक लिला हुन्छन्, बिउका योग अनुसार तीनका भोग हुन्छन् ।” गुरुको यो कुराले उसलाई गहिरो आत्म-निरीक्षणमा पुर्‍यायो। उसले बुझ्यो कि जसरी बीऊले बाहिरी दुनियाँलाई बिर्सेर माटोमुनि आफ्ना जराहरू बलिया बनाउँछ, उसले पनि आफ्नो चञ्चल मनलाई बाँधेर आत्म-स्मरणको बाटो रोज्नुपर्छ। उसले आफ्ना पुराना जिद्दीहरू, सानातिना रिसहरू र चञ्चलतालाई बिस्तारै नियाल्न थाल्यो। यो उसको लागि एउटा यस्तो सिकाइ पद्धति बन्यो जहाँ किताबका अक्षरहरू भन्दा धेरै आफ्नै भित्री मौनताले पाठ पढाइरहेको थियो सुस्तरी सुस्तरी, धर्यपुर्बक स्वभाव अनुसारको योगमा अनि अहंकार बिसर्जन अभ्यासमा, 

“ॐ वैरोचनीये विद्महे छिन्नमस्तकायै धीमहि तन्नो देवी प्रचोदयात्” गुरु आज्ञाले जप गर्दै एकान्तको गहिराइमा…..।

लुप ब्रेक अभ्यासमा देखिने लुपहरु

निशान्तको पैतालामुनि काठमाडौँको सडक अझै न्यानिएको थिएन, बरु एउटा पुरानो ‘लुप’ले उसलाई भित्रभित्रै डढाइरहेको थियो। पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँलाई मुठ्ठीमा कैद गरेर आएको त्यो साधक, बागमतीको धमिलो पानीमा आफ्नो अस्तित्वको ऐना खोज्दै थियो। झोलामा लोकसेवाका मोटा किताबहरू र हृदयमा ‘फोर्थ वे’ साधनाको गहिरो सूत्र बोकेर ऊ कलंकी ओर्लँदा, उसलाई लागेको थियो यो यात्रा कार्मिक ऋण तिर्ने अन्तिम किस्ता हुनेछ, पक्कै उसलाई calling भएरै यहाँ ल्याइएको हो भन्ने जस्तो लाग्छ तर, शंखमुलको एउटा साँघुरो कोठामा जब ऊ तयारी कक्षाको पहिलो अक्षर पल्टाउँछ, ती अक्षरहरू अक्षर नभएर उसलाई बाँध्ने साङ्ला बनिदिन्छन्। उसको स्वभाव ‘बग्नु’ थियो, तर यहाँ उसलाई ‘थुप्रिनु’ सिकाइँदै थियो। ती ऐन, नियम, प्रशासन र संवतका रेखाहरूमा उसले आफ्नो आत्माको संगीत कतै भेट्दैन, बरु एउटा यान्त्रिक मान्छे बन्ने दौडको धुलो मात्र देख्छ।

हरेक बिहान जब बागमती छेउको UN park को चौरमा सूर्यको पहिलो किरण आँफु एक्लैसँगको लडिबुडीमा ठोकिन्छ, निशान्तको भित्री आकाशमा भने एउटा भयानक हतासाको मेघ गर्जन्छ। हृदयभित्र ऊ अब्बल गुरुको सामिप्यमा छ, जसले बारम्बार भनिरहन्छन्, “निशान्त, यो विरक्ति नै तिम्रो लुप ब्रेक गर्ने ढोका हो, तिम्रो पुरानो ‘म’ मर्ने अन्तिम अवसर हो।” तर, पशुपतिको सन्ध्या आरतीमा शंखको धुनसँगै हराइरहँदा पनि उसको एउटा खुट्टा सधैँ पोखरातिरै फर्किन खोज्छ। एकातिर ऊ धर्म र मोक्षको मार्गमा हिँड्ने सङ्कल्प गर्छ, सत्संगी साथीहरूको काँधमा हात राख्छ, तर उसको चेतनाको एउटा कुना अझै पनि ‘काम र अर्थ’को आकर्षक दलदलमा संकल्प भासिन लालयित देखिन्छ।

उसले आफ्नै अस्तित्वलाई गिज्याउँदै एउटा गहिरो सुस्केरा हाल्छ र भन्छ, “अचम्म छ यो मानव चोला, जहाँ बुद्धको करुणा र बजारको तृष्णा सँगै सुत्न खोज्छन्।” उसलाई थाहा छ, पोखरा फर्किनु भनेको केवल ठाउँ सर्नु होइन, बरु आफ्नो पराजयलाई आत्मसात् गर्नु हो तर, हरेक रातको निद्राबाट बिउँझिँदा ऊ आफूलाई फेरि त्यही पुरानो चक्रको सुरुवातमै पाउँछ। साधनाले उसलाई ‘साक्षी’ बन्न सिकाउँछ, तर उसको मायावी मनले उसलाई ‘भोक्ता’ नै बनाइराख्न खोज्छ। ऊ एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ एउटा बाटोले उसलाई सरकारी जागिरको सुरक्षित तर यान्त्रिक भविष्यतिर लैजान्छ भने अर्को बाटोले गुरुको ‘शून्य’ तिर तर निशान्त, जो लुप ब्रेक गर्न आएको थियो, ऊ अहिले आफैँ एउटा जीवन्त ‘लुप’ बनेर काठमाडौँको धुलाम्मे कुहिरोभित्र हराइरहेको छ, जहाँ उसको मोक्षको भोक र संसारको तिर्खा बीचको युद्ध कहिल्यै नटुंगिने महाकाव्य झैँ लेखिइरहेछ। 

हुनत उसका लागि सहानुभूति दिने सत्संगी साथीहरुको कमि पनि छैन। कोही विदेशको बैभवता (काम, अर्थ) छाडेर धर्म र मोक्षका लागि गुरु सरणमा छन्, कोही सुकरातकी जस्ती घोरमुखा पत्नी नभएपनि आफ्नो साधना लाई डिस्टर्ब गरेको पाएकोले तीनलाई त्यागेर आध्यात्मिक अभ्यासमा लाग्न उद्दत भएको देखिन्छ त कुनै साथी प्यारा बालबच्चा १८ वर्ष कहिले पुग्लान् र छाडेर गुरु सरणमा जाउँ जाउँ गरिरहेका छन्। शुभचिन्तक कै रुपमा उसको जीवनमा एउटी पुतली पनि घरि न घरि भेटिइरहन्छिन् मोबाइलको स्क्रिनमा र स्पिकरमा हुनत ती झ्याम्पुतली चाहिँ होइनन्, समाजका अशल केटीहरु मध्ये कि अब्बलै सरह हुन् । जेहोस्  उसको भलो चिताउनेहरुको कमी छैन। एउटा साथीले त भन्दै थियो उसलाई, “काँधमा बिरालो राखेर बोटबिरुवाको जरामुना सुम्सुम्याएर खाइन सक्ने तिम्रो आफ्नै विषयमा सम्बन्धित लोकसेवा कै जागिरमा फोकस गरन त यदि तिमिलाई लोकसेवा मै जागिर खानु छ भने किनभने तिम्रो स्वभाव जन्य रोजगारी त्यहि नै त देखिन्छ, नत्र कुनै ब्यापार, ब्यवसाय, कृषी फार्म संचालन गर त्यो पनि तिम्रो स्वभाव र पढाई जुन प्रकृति र प्राकृतिक क्रियाकलापहरुमा निकट हुने किसिमका ।” त्यसो त उसलाई जन्माउने स्वयं आमा नै जतिखेर पनि च्याहिरहन चाहान्छिन् स्वदेशमै जसलाई छाडेर लुप ब्रेक गर्न यता आएको छ अनि आफ्ना एकदमै नजिकका नातेदारहरूले पनि बिदेशबाट झस्काइरहन्छन् शुभचिन्तक कै रुपमा तरपनि उसका लागि एक्लै पाउँछ उ आँफुलाई घरि न घरि, दोधारे सिरानीमा कोल्टे फेरिरहन्छ । आफ्ना दुई खुट्टालाई घरि पोखरा र घरि काठमाडौंमा हालिरहेको हुन्छ। हुनु पर्ने थियो, एउटा खुट्टा तत्काललाई ब्यबहारिक दुनियाँमा न्युनतम टिक्न मात्र र अर्को खुट्टा सधैं उचालिरहेकै ‘परमार्थ’ तर्फ नै किनभने उसमा त्यसका लागि भरमार सम्भावना छ। तैपनि उसका बिरोधाभाषमा छचल्किएका अनेक मनहरु यतिधेरै छट्पटाइरहेका छन् कि खुट्टा फेरिरहेको, घुँडा हल्लाइरहेको, हातका बाहुला सारेर घडि हेरिरहेको, मोबाइलमा स्क्रोलिङ्ग गरिरहेको पत्तै नपाई मेकानिकल्ली भइरहेछ अटोमेटिक मेसिन जसरी।

यत्तिकैमा कन्क्रिट घरको एल्मोनियम झ्यालको चेपबाट बागमती तीर फर्किएर एउटा कविता गुन्गुनाउँछ, 

“धर्मको दीपलाई

आफ्नै सासले निभाएर,

म सिक्काको उज्यालोमा

छायासँग नाच्दैछु…

मोक्षको बाटो

अहिलेलाई मुटुको कुनामा थन्क्याएर,

काम र अर्थको भेलमा

आफैंलाई बिर्सिएको छु

तर,

प्रत्येक कमाइको झिल्काभित्र

एउटा अधुरो शान्ति पोलिरहेछु…।

सारै गारो भएर अब आफ्नो परम प्रिय गुरुलाई एउटा पत्र लेखेरै उपयुक्त सल्लाह खोज्न , पाउन मन गर्छ र लामो सास फेर्दै शुरु गर्छ।

श्रद्धेय गुरुदेवको श्रीचरणमा यो भ्रमित साधकको अनन्त दण्डवत् प्रणाम 🙏❣️

गुरु, म अहिले काठमाडौँको यो कोलाहलपूर्ण मध्यरातमा एउटा यस्तो ‘लुप’ भित्र कैद छु, जहाँ समय त अगाडि बगिरहेछ तर मेरो चेतना भने फेवातालको किनारमा अल्झिएको पुरानो डुङ्गाझैँ एउटै वृत्तमा घुमिरहेको छ । हजुरले भन्नुभएको थियो, “निशान्त, त्यो काठमाडौँ तिम्रो लागि भूगोल मात्र होइन, यो तिम्रो ‘फोर्थ वे’ साधनाको एउटा कडा प्रहार हो, जहाँ तिमीले आफ्नो मेकानिकल स्वभावलाई भङ्ग गर्नुपर्छ जहाँ म आफैं पनि त्यसमा घोलिएर अनि छानिएर लुप ब्रेक गरेर निस्किएको छु” तर गुरु, जब म बागबजार, पुतलीसडकका ती उकुसमुकुस कक्षाहरूमा लोकसेवाका शुष्क अक्षरहरूभित्र आफ्नो भविष्य खोज्न थाल्छु, मलाई लाग्छ म आफ्नो आत्मालाई एउटा साँचोमा ढाल्न खोज्दैछु जुन मेरो स्वभावसँग कहिल्यै मेल खाँदैन । मेरो भित्री मनुष्यले विद्रोह गर्छ र पोखराको त्यो खुल्ला आकाश अनि शान्त शून्यतातिर तानिन्छ । मलाई लाग्छ, म यहाँ सरकारी सेवाको तयारी गर्न होइन, बरु आफ्नो जीवन्तताको दाहसंस्कार गर्न आएको हुँ ।

हजुरले सधैँ भन्नुहुन्छ कि यो छटपटी नै ‘कार्मिक फल’ काट्ने सुनौलो मौका हो, एउटा लुप ब्रेक गर्ने ढोका हो  तर गुरु, हरेक बिहान जब म आफ्नो होस्टेल कोठाको बार्दलीमा ओसका थोपाहरूसँगै बिउँझन्छु, मभित्र एउटा आदिम भय जाग्छ । घरि-घरि धाएरै म पशुपतिको सन्ध्या आरतीको त्यो शंखध्वनिमा हराउन खोज्छु, त्यहाँको खरानीमा मोक्षको सुगन्ध सुँघ्न खोज्छु, तर मेरो गोजीमा भएको रित्तोपन र समाजले सोध्ने ‘काम र अर्थ’ को प्रश्नले मलाई फेरि त्यही तुच्छ चक्रमा पछारिदिन्छ । मसँग हजुरजस्तो बुद्ध पुरुषको साथ छ, सबल सत्संगीहरूको टेवा छ, तैपनि म किन यो ‘काम र अर्थ’ को मोहजालबाट बाहिर निस्कन सकिरहेको छैन ? मेरो साधनाको दियो किन यो संसारी हावाको एउटै झोक्कामा हल्लिन्छ ?

गुरु, मलाई लाग्थ्यो म मोक्षको यात्री हुँ, तर आज महसुस गर्दैछु म त केवल एउटा यस्तो कैदी हुँ जो आफ्नो हतकडीसँगै प्रेम गरिरहेको छ । यो लुप ब्रेक गर्नु भनेको त आफ्नै एउटा हिस्सालाई मार्नु रहेछ, जुन मलाई साह्रै धौ-धौ भइरहेको छ । मेरो बुद्धत्वको तिर्खा र यो संसारको भोगको भोक बीचको युद्धमा म थकित भएको छु । यो पत्र लेखिरहँदा मलाई लाग्दैछ, सायद मेरो वास्तविक साधना यो छटपटीलाई नकार्नुमा होइन, बरु यसलाई पूर्ण रूपले भोगेर यसको निःसारता बुझ्नुमा छ कि ? म लुप तोड्न खोज्दा झन् नयाँ लुपमा परिरहेको त छैन ? मेरो यो अन्धकारपूर्ण यात्रामा हजुरको करुणाको एउटा मधुर प्रकाशको प्रतीक्षामा छु । लेख्न अझै धेरै लागेको छ अक्षरहरूमा पोखेर भलै तर हजुरले भन्ने गर्नु भएको ‘The answer is a state not a word’ महसुस गरेर मेरा अवस्था बुझेर यो भड्किरहेको कथित साधकलाई उचित सल्लाह सुझाव दिएर ट्र्याकमा डोर्याउनु हुनेछ। हुनत साथीहरु सँग पनि सल्लाह सुझाव नमागेको होइन तर उनिहरु पनि त साधना मै हुने रहेछन्, उनिहरुको साधनाले म भित्र बढि गहिराइमा नछिरिकन हल्का सुझावको झलक दिने मात्र को कर्तब्य हुने रहेछ, धेरै Interfere गर्न नमिल्ने रहेछ। त्यसैले उनिहरुलाई दोष र अनावश्यक अपेक्षा नराखीकन बरु हजुरको हृदयमा बास बस्नु नै परम निकटता उपस्थिति रहेछ । पत्रको पुछारमा ‘उहि हजुरको….’ लेख्ने चलन छ तर म त्यसो लेख्न लज्जित छु, हजुरको म भन्न योग्य पात्रता देख्दिन आँफुलाई। त्यसैले हस् त यत्तिमै अहिलेलाई टुङ्ग्याउँछु। 

मेरो परमप्रिय  🙏❣️

संसारमा अद्भुत कुराहरु ब्यक्तिहरुको सहकार्यले भएका हुन्

अहंकारको एउटा अभेद्य र सिसा झैँ धारिलो टापुमा उभिएको त्यो ‘उ’, जसको नयनमा आफ्नै प्रतिबिम्ब बाहेक अरू सबै धुमिल र अर्थहीन लाग्थे। उसले सोचेको थियो, यो अस्तित्वको विशाल क्यानभासमा ऊ एउटा यस्तो एक्लो रङ्ग हो, जसलाई चित्र पूर्ण गर्न अरू कुनै रङ्गको सापट चाहिँदैन। उसको चेतनाको मझेरीमा जहिले पनि एउटा अट्टहास गुञ्जिरहन्थ्यो, “म नै सृष्टिकर्ता हुँ, मेरो पसिना नै मेरो मोक्ष हो।” तर, जब समयको निष्ठुरी तुषारोले उसको एकलकाटे सपनाको जरा काट्न थाल्यो, तब उसले महसुस गर्‍यो कि एक्लो श्वासले त केवल बाँच्न सकिन्छ, तर जीवनको उत्सव मनाउन त अरूका धड्कनहरूको पनि लय चाहिन्छ।

अध्यात्मको नाममा उसले कयौँ पटक आँखा चिम्लियो, गुफाका भित्ताहरूसँग संवाद गर्‍यो र आफूलाई संसारबाट पृथक् पारेर एउटा ‘परम सत्य’ खोज्ने ढोंग रच्यो तर, जति जति ऊ भित्र पस्दै गयो, उति उति उसले शून्यताको एउटा चिसो मरुभूमि मात्र भेट्यो। जब उसले आफ्ना अहंकारका वस्त्रहरू फुकालेर सामाजिक संस्कारको त्यो साझा आँगनमा आफूलाई होमिदियो, जात वर्ग धर्म संस्कृति को आधारमा अरु प्रति राख्ने गरेको द्वेष दृष्टिलाई क्षमायाचना माग्यो, प्रजातन्त्र र समावेशीलाई शान्तिपुर्वक आत्मसाथ गर्न थाल्यो तब बल्ल उसले बुझ्यो परमार्थ त गुफाको एकान्तमा होइन, बरु ‘हामी’ को सामूहिक प्रार्थना र एक अर्काको आँसु पुछ्ने रुमालमा लुकेको हुँदो रहेछ। एउटा दियोले अँध्यारो त मेटाउँछ, तर संसारलाई चिनाउन त करोडौँ दीयोहरूको एकत्वको उज्यालो नै चाहिन्छ भन्ने महसुस भयो र बल्ल अल्बर्ट आइन्स्टाइनको  “हाम्रो भाग्य एकअर्कासँग जोडिएको छ, हामी सबै एउटै डुङ्गाका यात्री हौं। व्यक्तिगत सफलताको कुनै अर्थ छैन यदि त्यसले समग्रताको सामूहिक हितलाई समेट्न सक्दैन भने।” भनाई उसलाई सारै सार्थक लाग्यो र अनयासै सितलनिवासको शंखनाद सहितको भिक्षु र बटुकहरुको सामुहिक उपस्थिति हृदयमा गुञ्जियो अनि आफ्नो स्वभावसँग मिल्दा मिनिङ्गफुल ब्यक्तिहरुसँगको सत्संगको यादमा एउटा कविता फुर्न पुग्यो:

धेरैपटक

आफ्नै ‘म’को काँधमा टेकेर रोएँ …

आँसुहरू आफैं मै फर्किए,

कसैले ढोका ढक्ढक्याएन…

तर एक दिन,

जब म आफ्नै धारमा बगेर हराएँ,

र ‘म’ को किनारा भासियो

त्यही डुबानभित्र

कसैले चुपचाप सम्हालेर भन्यो

“हेर !… तिमी कहिल्यै एक्ला थियौ नै र पो कहाँ…”

म-हरूका म

कन्क्रिट घरको एल्मोनियम झ्यालको एउटा सानो चेपबाट छिरेको धमिलो उज्यालोमा आफैंसँग आफैं जुद्दैछ जुन उज्यालो बाहिर सडकको निष्पट्ट अँध्यारोमा उँदो घोप्टिएर टोलाइरहेका बिजुलीका पोलबाट अलिकति उभ्रिएर छिरेको थियो। कोठाभित्र एउटा मानव शरीर छ तर त्यहाँभित्र एउटा मात्र मान्छे छैन। त्यहाँ त भिडभरिको मान्छे छ। परस्पर विरोधी स्वरहरूको एउटा कोलाहलपूर्ण हाटबजार छ। अधबैंसे उमेर। ओठहरू सुकेका। आँखीभौं आधासरो फुलिसकेका। आँखामुनि कालो घेरा। उ आफैँभित्रको Dark Night of the Soul को त्यो अन्तिम प्रहरमा छ अनि Buffer zone को पराकाष्ठामा छ जहाँ चेतनाको अन्तिम त्यान्द्रो पनि चुँडिनै लागेको छ।

“किन जन्मिएँ म?” एउटा स्वरले शून्यतालाई चिथोर्यो।

“मर्न पनि त सकिनस्,” अर्कोले गिज्यायो।

“होइन, म त महान् छु,” एउटा सानो कुनामा बसेको अहंकारले फुरफुर गर्यो।

“थुक्क! तँ त एउटा कीरा होस्, छि !” फेरि अर्कोले हतास बनायो।

सारै तनाव भएर रिफ्रेस गर्नलाई, अलि पहिले बिदेश घुम्न जाँदा कसोकसो चिनिएको साथिलाई मेसेज गर्छ मोबाइलबाट, “के छ हालखबर ?, तिम्रो देशतिर केहिदिन बसेर फ्रेस हुन मन लाग्यो, हुन्छ?” यत्तिकैमा सोध्न मन लाग्छ “तिम्रो प्रधानमन्त्री को हो?”  “थाहा छैन ” जबाफ आउँछ। “कसलाई भोट दियौ त ?” अचम्म लागेर सोध्छ । “याद छैन” वास्तै नगरी जबाफ फर्काउँछ ।  त्यस्तो जबाफले उ झन् छक्क पर्छ, “किन हावा गडी कुरा?” “सबै systematic छ, शुसासन कायम छ, भ्रष्टाचार नगन्य छ, जबाफदेहीता अधिकतम छ, किन याद राख्नु त ?” क्लियर जबाफ आउँछ। उ पुरै छक्क पर्छ। यहाँ उसलाई चाहिँ देशका सबै नेताहरुको नाउँ गाउँ र सुरुङ्ग भित्रको समेत खबर राख्नु परेको छ। देशको ब्यथा पनि ब्यहोर्दै आँफुलाई चिथोर्नु परेको छ।

उ एउटा यस्तो मेसिन देखिन्थ्यो जसलाई कहिले रिसले चलाउँथ्यो, कहिले लोभले, त कहिले विरक्तिले। अनेक अनेक किताबहरू संकलन गर्दै, पढ्दै, ठेलिका ठेलि किताबहरू अंग्रेजीमा लेखिएको होस् या संस्कृत र अनि हिन्दी, नेपाली मा लेखिएका सबै जम्मा पार्दै पढेर अब म निकै ठूलो आध्यात्मिक साधक बनेँ क्यार सोच्दै गयो। र साथ साथै YouTube, Google तिर बाट पनि सोहोर्न थाल्यो अर्ति उपदेश बिधि ज्ञान का कुराहरु। उसलाई पत्तै भएन बिना जिउँदो गुरु, गुरुको प्रत्यक्ष सहभागिता, निगरानी, सामिप्यता, निकटता , उपस्थिति, अनुशासन कुनै पनि हालतमा being को बोध हुदैन ; एकदमै कम कोही कोही मात्र उच्च स्तरको साधक जसले लगभग सबै साधना अघिल्लो जन्ममा पार गरेर आएको करोडौँमा एकादुइ बाहेक भन्ने, अनेक शास्त्रीय पण्डित्याईंले त बरु झन् झन् केबल knowing को अहंकार बढ्दै गइरहेको छ भन्ने। सबैलाई भन्दै अनि प्रवचन र किताबका लेखकहरू, बिधिहरु कुर्लिँदै हिड्न पनि सँगसँगै छाडेन अर्को तिर उसको Subconscious mind को अँध्यारो सुरुङमा हजारौँ ‘म-हरू’ लुकामारी खेलिरहेका थिए। सायद पुस्तौं पुस्ता देखि र जुनि जुनि देखि  कचल्टिएर थुप्रिरहेको । एउटा ‘म’ ले भन्यो ‘भोलिबाट म बदलिनेछु।’ तर भोलिपल्ट बिउँझिँदा अर्को ‘म’ ले त्यो बाचालाई चपाएर थुकिदियो।

“पागल भएँ म।” उसले ऐनालाई भन्यो।

ऐनाले सोध्यो, “कुन चाहिँ ‘म’?”

उ हतासियो। “ला! म त कोही पनि होइन रहेछु कि क्या हो।”

त्यही कहालीलाग्दो ओहापोहको बीचमा, एउटा मौनता आयो, गुरु, साकार रुप, ठिङ्ग उभिएको उमेर उसको भन्दा निकै कम तर सामर्थ्य हजारौं वर्ष बिताइसकेको जस्तो, दारी जुँगा मुसार्दै, बीचका औठहरु शान्तिमा मुस्काउँदै। जिउबाट भर्खरै भिजेको माटो र बोटबिरुवाको काँचै सुगन्ध आइराछ । जंगल मै घर छ रे तर अरु सयवटा रुख किनेर थपेको रे। आँफुले स्वाँट्ट चुरोट ताने निसर्गदत्तको बिँडि जसरी अनि उसलाई चाहिँ ल्यावेन्डरको सिधै बोटै निचोरेर बनाएको essential oil को सानो सिसि दिए, “ला, तँ यो स्वाँट्ट सुँघेर तान” भन्दै ।

तिनको उपस्थितिमा बल्ल सुरु भयो अब खाँटी सत्संग मतलव ‘मानव बन्ने अभ्यासमा’ कयौं कयौं ज्ञानका कुराहरु सहित क्रियायोग,  humming, breathing र body scanning सँगै Self observation आफ्नै नाङ्गोपनलाई बिना कुनै पर्दा हेर्ने कष्टकर यात्रा। उसले हेर्न थाल्यो, जब रिस उठ्छ, एउटा ‘म’ कसरी जन्मन्छ र कसरी उसलाई कठपुतली बनाएर नचाउँछ। जब दुःख लाग्छ, कसरी अर्को ‘म’ ले उसलाई दलदलमा भास्छ। अब निस्किन थाल्यो उसका subconscious mind भित्र कचल्टिएर गुजुल्टिएका घाउहरू, पट्पट् गर्न थाले टाउको, कक्रक्क हुन थाल्यो कम्मर, काटिन थाले कुधारणाहरु, अर्को भयानक छटपटि, तडप शुरु हुन थाल्यो अंगअंगमा। कम गर्न घरि हार्मोनियमको नोट्स त घरि गितारको कर्ड्स्मा भजन गाएर बिसर्जन गर्न खोज्यो । अनेक अभ्यास पछि बल्ल उ साक्षी बन्न थाल्यो। बिस्तारै एउटा यस्तो दर्शक बन्दै गयो, जो आफ्नै आत्महत्या हेर्न विवश छ।

“सास्ती भयो,” उसले बर्बरायौ। “हेरिरह,” भित्रबाट एउटा शान्त स्वर आयो। वर्षौँसम्म उ आफ्नै भित्रको यो नर्कमा बस्यो।  कठिन समय, परिक्षापछि बिस्तारै बिस्तारै महसुस हुन थाल्यो बल्ल Self-remembering को एउटा मधुरो दियो जसलाई उसले आफ्नो नाभीमा बालेर राख्यो। हरेक साससँगै उ बिउँझिन खोज्यो। हरेक पाइलासँगै उसले आफूलाई सोध्यो “के म यहाँ छु?” “हो, म यहाँ छु।” बिस्तारै-बिस्तारै, ती हजारौँ कोलाहल गर्ने ‘म-हरू’ थाक्न थाले। ती विरोधाभासी स्वरहरू एउटै गहिरो मौनतामा विलीन हुँदै गए। जस्तो कि, एउटा महासागरमा हजारौँ साना नदीहरू मिसिएपछि एउटै मात्र शान्त फैलावट बाँकी रहन्छ। अन्ततः एउटा यस्तो बिहान आयो, जहाँ सबै कुहिरो फाट्यो। जन्मियो एउटा Permanent ‘I’ (स्थायी म), मात्र एउटै। आकाश अब रित्तो छ, तर त्यो शून्यतामा एउटा अलौकिक संगीत छ। उ एउटा यस्तो शान्त समुद्र बन्यो, जसमा छालहरू छन् तर गहिराइ अविचलित छ। हृदयमा एउटा यस्तो दियो बल्यो, जसलाई अब बाहिरी हावाले निभाउन सक्दैन।

“को छ?” एउटा आवाज आयो।

“म छु,” उसले भन्यो। “र, केवल म मात्र छु।”

अहिले उही पुरानो कोठा छ। उहि झ्यालको उहि चेप, सडकको बत्ति उसैगरी घोप्टिएर अझै टोलाइराछ, उही पुरानो संसार तर अब त्यहाँ कुनै युद्ध छैन। अब त्यहाँ कुनै ‘थुक्क म’ छैन। अब त्यहाँ कुनै ‘हतास म’ छैन। जीवन अब एउटा यस्तो कविता बनेको छ, जसमा शब्दहरू थोरै छन् तर अर्थ अनन्त छ। सकारात्मकता अब उसको रगतको लय बनेको छ। उ मुस्कुरायो। एउटा यस्तो मुस्कान, जसमा हजारौँ वर्षको थकान मेटिएको थियो। पहिले ढोङ्गमा पढेका अक्षरहरुका भाव बल्ल जीवनका आँखाले चिनेका छन् । किताबका शब्दहरु बल्ल विनयशिलताले बोलिरहेका छन् । फोर्थ वे का तीनै अंगहरु बल्ल एकैचोटी चलिरहेका देखिन थालेका छन् । फोर्थ वे मै जम्मै जीन्दगी अटाउने बुझिएका छन् । अध्यात्म भनुँ या जीवन अब एउटै भेटिन थालेका छन् ।

“भयो?”

“भयो।”

“अब?”

“अब केवल जिउनु छ, बस् जिउनु छ, समर्पणमा रहेर। “

अबको नेपाल 

हामी नेपाली लामो समयदेखि कुशासनको शिकारले समृद्धिबाट वञ्चित भयौँ। जेन जी (Gen Z) आन्दोलनको त्याग र निर्वाचनको परिणामले सुशासनको आस हामी बीच पलाएको छ। आधारभूत रूपमा हामी रोजगारीको सिर्जना, समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यको कामना गर्छौँ। यी आधारभूत आवश्यकताको परिपूर्तिसँगै हामी कस्तो खालको नेपालको परिकल्पना गर्छौँ भनेर पनि सोच्न सचेत नागरिकले आवश्यक छ। अबको नेपाल कस्तो होस् भन्ने चाहन्छौँ हामी? 

यस विषयमा हामी सबैको आफ्नो-आफ्नो धारणा र कल्पना होला। समय निरन्तर अगाडि बढ्दै छ र समयले नेपाललाई आकार दिँदै छ। मलाई लाग्छ यो आकार दिने क्रममा, केवल पुराना मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन, र केवल नयाँ र विकसित देशका मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन। त्यसकारण राम्रा र समय सान्दर्भिक हुने पुराना र अँगाल्न लायकका नयाँ मूल्य मान्यताहरूको सन्तुलनमा आधारित रहेर एउटा सुन्दर, सुखी, शान्त र समृद्ध नेपालको परिकल्पना गर्दा सम्यक समाजको निर्माण हुन्छ होला। 

लेखन

लेखन जुन बिषयमा पनि हुन सक्छ । जस्तो पनि हुन सक्छ । किताब पानाहरुको संग्रह मात्र हैन । यो कसैको कल्पना र अनुभवको संग्रह हो । आफ्नो अनुभव वा कल्पनालाई जति वास्तविक बनाउन सकियो । त्यो लेख त्यति नै जिउदो हुन्छ ।  किताब भित्र संसार हुन्छ । यो सामान्य कुरा हैन । जति जति हामी अक्षरसँग बहन्छौ त्यति नै हामी त्यो संसारमा प्रवेश गर्दै जान्छौ । पढुन्जेल त वास्तविक संसार पनि भुलीन्छ । 

लेखनमा समयलाई पनि संग्रहित गर्न सक्ने क्षमता हुन्छ । भाषाको उत्पत्ति हुनु भन्दा पहिला पनि समयलाई संग्रहित गर्न विभिन्न कलाहरुको आविष्कार भएको हामीलाई थाहा छ तर सबै भन्दा प्रभावकारी भने अहिले सम्म पनि लेखन नै सावित भएको हामी अनुभव गर्न सक्छौ । लेखनले आफु र जगतलाई अझ गहिराईमा बुझ्न मद्दत पुर्याउछ । यो एउटा उखान सँग मिल्दो जुल्दो लाग्छ ” लहरो तन्दा पहरो गर्जिन्छ । ” भन्नूको अर्थ लेख्न बस्दा , सुरुमा त केही छैन , के लेख्ने जस्तो लाग्न सक्छ तर लेख्दै जादा एउटा घटना वा कुराले धेरै कुरालाई कोट्याईदिन्छ । एउटा कुराले अर्को तान्छ , अर्कोले फेरि अर्को । यो कोट्याउदै जाने क्रममा , खोतल्दै जाने क्रममा ,आफू भित्र दविएको भव्य सभ्यता नै प्रकट भईदिन्छ।

अनि आश्चर्य लाग्नु स्वभाविक हुन जान्छ । किनकि त्यो सोचेर वा बोलेर सायदै देख्न सकिन्छ । यस्तैे यस्तै कुरालाई मनन गर्दै , आज भोलि म पनि लेख्ने प्रयास गर्दै छु ।

भुइँका पात टिप्दा

गौरीशंकरले समय तोकिसकेपछिको निकै अबेला मध्यपहाडी धरातलको न्यानो समशितोष्ण वनको छायामुनि एउटा सरल जीवन भुइँभरि बिच्छिएको थियो, प्रकृतिलाई अँघाल्दै। त्यसैमा एउटा यस्तो विन्दु देखिन्थ्यो जहाँ अभावले मानिसलाई रुवाउँदैन, बरु बाँच्ने नयाँ लय पनि सिकाउँछ। वनको शान्त गर्भभित्र सालका सुकेका पातहरू भुइँमा पछारिएका थिए, ठ्याक्कै ती सपनाहरू जस्तै जो पुरा हुन नपाउँदै हाँगाबाट झरेका हुन्छन् तर ‘उनी’ का लागि ती केवल मरेका पात थिएनन्, ती त भोलिको चुल्हो बाल्ने ऊर्जा र नानीहरूको ओठको मुस्कान जोगाउने आधार थिए।

कम्मरमा पटुकी कसेर, झुकेको शरीर र उठिरहेको जाँगरका साथ उनले पात टिप्दै गर्दा एउटा मिठो भाका गुन्जियो, “सालको पात टपरी हुने, ए बरै ! नहुने सल्लैको…”। यो गीतमा एउटा गहिरो दर्शन लुकेको थियो, जीवनमा सबै थोक सबैका लागि हुँदैनन् तर जे छ, त्यसैलाई टपरी जस्तै गाँसेर एउटा आकार दिनु नै त जीवन हो। उनको हँसिलो मुहारमा झल्किएको त्यो चमकले वनका बुट्यानहरूलाई पनि ईर्ष्या जगाउँथ्यो। उनको कण्ठबाट फेरि अर्को धुन निस्कियो मानुँ त्यो कुनै सत्संगको गुञ्जन मागेर ल्याइएको थियो, ” फूलको आँखामा फूलै संसार….”। नजिकै, माटो र धुलोसँगै आफ्नै संसार बुनिरहेकी दुई वर्षीया छोरी। एउटा ठूलो सालको पात हातमा लिएर थचक्क बसिरहेकी थिइन्। आमाको स्वर सुन्नेबित्तिकै उनको सानो जिउमा एउटा अदृश्य लय तरंगित हुन्थ्यो। ती कलिला खुट्टाहरूले भुइँ टेक्न जानिसकेका थिएनन् तर आमाको गीतमा भाका मिलाउँदै उनी बसिबसी सत्संगको हमिङ्ग जस्तै आवाज बनाउँदै यसरी नाच्थिन् मानौँ सारा संसारको खुसी त्यही एउटा पातको छायामुनि लुकेको छ।

केही पर, १० वर्षको छोरो लामो लामो ब्रिदिङ्ग गर्दै आफ्नो उमेरभन्दा अलि बढी नै गम्भीर देखिन्थ्यो। पातले खाँदिएर डम्म भएको बोरा उसले सकिनसकि तानिरहेको थियो। उसको निधारमा सरेका पसिनाका थोपाहरूमा कुनै थकान थिएन, बरु एउटा गर्व थियो। उसले सुस्तरी भन्यो “हैँसे… हैँसे!”। यो शब्द केवल भारी उठाउने मन्त्र थिएन, यो त एउटा सानो बालकले आफ्नो परिवारको जिम्मेवारीको पहाड उठाउन गरिरहेको जीवन्त सङ्घर्ष थियो। अलि पर, रुखका सुकेका हाँगाबिँगाहरू बटुल्दै गरेका उनका श्रीमानको स्वरले वनको सन्नाटा चिर्यो। उनले बन्चरोको प्रहारसँगै एउटा कालजयी गौरव गुनगुनाए: “सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली…” उनको त्यो स्वरमा देशप्रतिको भक्ति मात्र थिएन, आफ्नै सानो ‘देश’ अर्थात् आफ्नो परिवारलाई एउटै सूत्रमा उनेर राख्ने दृढ संकल्प पनि थियो। दाउराको थुप्रो बनाउँदै गर्दा उनले गाएको राष्ट्रगानले एउटा कुरा प्रष्ट पार्थ्यो, वास्तविक राष्ट्रप्रेम ठूला मञ्चहरूमा मात्र होइन, आफ्ना सन्तानको भोको पेट भर्नका लागि पसिना बगाउँदै गर्दा पनि झल्किन्छ। भुइँबाट टिपिएका ती पातहरू बोरामा भरिँदै गर्दा एउटा यस्तो सुन्दर चित्र कोरिएको थियो, जहाँ दुःखको रङ पनि निकै उज्यालो देखिन्थ्यो। झरेका पातहरूले पनि नयाँ जीवन पाउँदा रहेछन् जब तिनीहरूलाई प्रेम र मिहिनेतका हातहरूले स्पर्श गर्छन्। उनीहरूको यो सानो संसारमा अभाव त थियो तर त्यो अभावलाई जित्ने एउटा महान् संगीत पनि थियो।

एकाएक हतारिँदै पातका बोराहरु समार्दै उनले मनमा गम्न पुगी, “अबेला पो भइसकेछ है ! भोकै पर्खिरहेका होलान् हाम्रो मन्दिरका देवीदेवता, मेरा ती जोडी सासु ससुरा,  आजपनि सुशासनको आश्वासनले चुलो भरिदिएका कुनै नेतालाई अँजुलीभरिको नमस्कार  टक्र्याउँदै हामीलाई नै पर्खिरहेका होलान्… “

भावको शिर

चुस्स दारी आधासरो फुलिसकेका लिएर उसको शिर एउटा अभिमानी पहाड झैं ठडिइरहन्थ्यो, जो कसैका अगाडि झुक्न जान्दैनथ्यो । बुढि औंला र चोरी औंला घरि न घरि नाकतिर र छातितिर ठड्याइरहन्थ्यो। उसको बोलीमा खस्रोपनको काँडा थियो र व्यवहारमा अहंकारको एउटा नमीठो रुखोपन । आँफुले बाद्यताले मान्नै पर्छ भन्ने कर परेको ब्यक्ति सँग चाहिँ जे बिषयमा पनि ‘हुनत हो तर .. ‌..’ वाक्यांश नथापाइकनै घुसाइहाल्थ्यो र अरु सँग त सिधै ‘होइन’ शब्दले प्रहार गरेर थाल्ने तर पछि त्यहि कुरा सजाएर अर्कै कुरा गरे झैँ गरी उहि ठाउँमा आउने । ऊ सोच्दथ्यो शिर ठाडो राख्नु नै पुरुषार्थ हो र अरूलाई होच्याउनु नै आफ्नो अस्तित्वको प्रमाण तर समयको एउटा यस्तो अदृश्य मोड आयो कि, गर्ल्यामगुर्लुम ढालिदियो केही त्यस्ता अवस्थाहरुबाट गुज्रिनु पर्यो जहाँ उसका अहंकारका किल्लाहरू ताशका महल झैं ढले, आफ्नो छायाँसँग पनि झस्कियो र ऊभित्र एउटा नयाँ मान्छेको जन्म भयो ।

आजकल ऊ केही बदलिएको छ । जब उसका औंलाहरूले श्रीमद्भगवद्गीता र उपनिषद्का पुराना र पवित्र पानाहरू स्पर्श गर्छन्, उसको अन्तरात्मामा एउटा अज्ञात कम्पन छुट्छ र ती अक्षरहरूले उसको कठोरता पगालिदिन्छन् । अब ऊ बिरुवाका जरादेखि मुनासम्म सुम्सुम्याउँदा प्रकृतिको मौन भाषा बुझ्न थालेको छ । गितारका तारमा ॐकार भेट्न थालेको छ । डाँडा पारिको मधुर घाममा तापिँदा होस् या जूनको शीतल उज्यालोमा पाइला सार्दा, उसलाई लाग्छ, यो विशाल ब्रह्माण्डको अगाडि ऊ कति सानो र सामान्य छ । उसमा एउटा अनौठो विनम्रता अङ्कुराएको छ । निस्फिक्री खेलिरहेका केटाकेटीको हाँसोमा ऊ ईश्वरको प्रतिध्वनि सुन्छ भने एकै ताँतीमा हिँडिरहेका अनुशासित कमिला र फूलको रस संकलनमा मग्न माहुरीलाई देख्दा उसलाई आफ्ना विगतका व्यर्थका दौडहरूमा अचम्म लाग्छ । साधु-सन्त र गुरुहरूको सामिप्यतामा पुग्दा उसको कठोर शिर अचेल स्वतः भक्तिले निहुरिने गर्छ । कसैलाई दान दिँदा वा सेवामा हातहरू अघि बढाउँदा उसको हृदय ढुङ्गाबाट मैन बन्न थालेको छ तर यो परिवर्तनको बीचमा पनि उसभित्र एउटा सूक्ष्म द्वन्द्व भने जीवितै छ । कहिलेकाहीँ उसलाई लाग्छ ‘म कति विनम्र भएँ’ भन्ने यो भाव नै कतै अर्को सूक्ष्म अहंकार त होइन ? आफू बदलिएकोमा गर्व गर्नु पनि त एउटा अदृश्य ‘शिर’ ठड्याउनु नै हो । यो बोधले उसलाई झन् बढी सचेत र व्याकुल बनाउँछ ।शिर त हृदयको आवाज बोकेको गर्भिलो हुनु पर्ने लाग्छ ।

एक साँझ, जब ऊ यस्तै गहिरो भावुकता र आत्म-मन्थनमा डुबेको थियो, उसलाई एउटा अनौठो आभास भयो । उसलाई लाग्यो उसको त्यो अभिमानी ‘शिर’ अब उसको शरीरको सबभन्दा माथिल्लो भागमा छैन । ऊ अचानक झस्कियो र हतार-हतार आफ्ना हातहरू तलतिर लैजाँदै भुइँतिर छाम्न थाल्यो । उसलाई भान भयो कि उसको शिर त विनम्रताको पराकाष्ठामा पुगेर, अहंकारको सबै बोझ त्यागेर, धर्तीको धुलोमा पो झरेको छ कि ! तर भुइँ छाम्दा हातमा स्वामी जि ले गिफ्ट दिनु भएको ढाका टोपी पो भेट्यो र बल्ल उसले बुझ्यो, अहंकार विसर्जनको यात्रा त अझै बाँकी नै रहेछ । पूर्ण शून्यतामा नपुगुञ्जेल शिर झर्नु र फेरि पलाउनु त एउटा निरन्तर साधना मात्र रहेछ ।

यत्तिकैमा मोबाइल स्क्रोलिङ्ग गर्न पुगेछ, ‘ट्रम्प र नेतेन्याहु बीच खुसुक्क सम्झौता भएछ अनि युद्धको हुंकार दिँदै खुलेयाम युद्ध बिराम घोषणा भएछ ‘। 

चिटचिटिएका शिर र न्यानिएका उसका हृदयले कविता कोर्न खोजे, 

“शिर झर्दै जान्छ धुलोसम्म,

धुलोमै फेरि अंकुरिन्छ

अहंकारको छायाँ जति मर्छ,

उति नै सूक्ष्म रूपमा बौरिरहन्छ…

जबसम्म ‘म झुकेको छु’ भन्ने पनि हराउँदैन,

तबसम्म

झुक्नु पनि अधुरो साधना नै रहन्छ…”