म एउटा नदी जस्तो बगेको हुँ तर अहिले बाँध होइन, पुल बनाउँदैछु जुन पुलमा उसका पाइलाहरूले कुनै भेद नगरी सारा पृथ्वी चुम्न सकून।
ऊ मेरो कविता होइन, कविता भित्रको मौन भावना हो म उसलाई अक्षर होइन अर्थ सिकाउँदैछु, जसले युद्ध होइन, संवाद जन्माउँछ।
उसको आँखामा म आकाश छरिरहेको छु तर तारा होइन, चेतनाका बिन्दुहरू जसले सीमाहीन उज्यालो देख्न सकून।
ऊ नारी हो तर म उसलाई ‘नारी’ बनाइरहेको छैन, म उसलाई ‘पूर्ण’ बनाउँदैछु, जहाँ कुनै विशेषण आवश्यक छैन।
उसको बोलीमा गजलको लय होस्, उसको हिँडाइमा कविता बगोस, तर म चाहन्छु उसको स्पर्शमा दर्शन होस्, र हृदयमा क्रान्ति।
म उसलाई पाठ्यपुस्तक होइन, पीडाको ऐतिहासिक सन्देश दिइरहेको छु ताकि ऊ विगतका आँसुहरूलाई भविष्यका दीपमा परिवर्तन गर्न सकोस्।
ऊ मेरो रक्त होइन मेरो पुनर्जन्म हो। ऊ मात्र सन्तान होइन सपना हो, जसले मेरो अधूरो आकाश पूरा गरिरहेकी छ।
म उसलाई एक धर्म बनाउँदैछु प्रेमको। एक राष्ट्र बनाउँदैछु करुणाको। एक आन्दोलन बनाउँदैछु मानवताको।
हो म मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु, जहाँ सबै टुक्रा, सबै पीडा, सबै भेदहरू ऊसँगै एक स्वर, एक रंग, एक मन बनुन्। जसले सबै तोडिएका टुक्राहरूलाई फेरि एक बनाउँछ जसले मलाई भित्र एक बन्न सिकाउँदैछ हो म मेरी छोरीलाई त्यही नयाँ “एकता” बनाउँदैछु…❣️
बिर्सिन खोज्दा, मनले बनायो एक चित्र न ओठले बोलेको, न आँखाले देखिएको, तर आत्माले खिचेको त्यो रंगीन फेहरिस्त, जहाँ तिमी थियौ, एक धून जस्तो, गुनगुनिए पनि, नथाकिने आफ्नो पन जस्तो। बिर्सिन गारो भो साथी!
फूल हराएको छैन, तर त्यो एउटै गन्ध कताकता हरायो। रात आउँछ, तर तिम्रो सपना नै आउँदैन… आकाश निलो नै छ, तर तिमी सँगै हेरिएको त्यो बादल अब छेलिएको छ । बिर्सिन गारो भो साथी!
हावा चलिरहेछ अझै पनि तर तिमीले छोडेको सासको लय छैन। छायाँ आइरहेछन् मेरै पछि तर तिमीले फर्किएको त्यो अन्तिम नजर… त्यो छैन। बिर्सिन गारो भो साथी!
तिमी नाम होइनौ, तिमी त एउटा ‘मौनता’ हौ म भित्रको, म बाहिरको। तिमी सम्झना होइनौ, तिमी त एउटा ‘स्मृति-पूर्व आवाज’ हौ जसलाई न सुन्न सकिन्छ, न भुल्न मात्र ईन्द्रिय बिहिन लम्किएर महसुस गर्न। बिर्सिन गारो भो साथी!
समय अगाडि बढ्छ, तर तिमी, तिमी त ‘अघिल्लो क्षण’मा जिउँदै छौ, शरीरले हैन, श्वासले भावनाले हैन, आत्माले तृष्णाले हैन, अन्कन्डिस्नल प्रेमले । बिर्सिन गारो भो साथी!
सहरको एकान्त छेउ, पुरानो अशोक रुखमुनि दुई छायाँहरू प्रायः चुपचाप भेटिन्थे। तिनीहरू न प्रेमी थिए, न साधारण मित्र। उनीहरू सम्बन्धको त्यो तहमा थिए जहाँ शब्दहरू बोझिलो लाग्थे र मौनता नै सबैभन्दा साँचो संवाद थियो। हुँदाखेरि पनि गन्थनमा उनिहरुका कुरा हुन्नथे खोइ कुन्नि अर्कै तेस्रो छायाँको जसले ती छायाँलाई भेटाइदिएको थियो अन्कण्डिस्नल प्रेम भेटिने गरी आँफुलाई नै मेटिने गरी परमसत्य खोजिने गरी …
“धन्दा नमान साथी! म छु नि,” पहिलो छायाँले भन्यो, स्वर नभएको स्वरमा।
तिनीहरूको सम्बन्ध कुनै कथा होइन, एक यात्रा थियो। न कुनै आरम्भ, न अन्त्य। एक समर्पण, जसमा एउटा आत्माले आफैलाई बिसाउने ठाउँ खोजेको थियो—अर्को आत्माको मौन स्वीकारमा।
कहिलेकाहीँ ती दुई छायाँ छुट्टिन्थे, तर सधैँ एउटै समयपछाडि फर्किन्थे—त्यही रुखमुनि, त्यही मौनको घेरामा।
“किन फर्किन्छौ बारम्बार?” एकदिन एक छायाँले सोध्यो।
“किनभने म झुक्न सक्छु नि,” उत्तर आयो, जस्तै गहिरो नदीको भित्री बहाव, जसलाई बाहिर शान्त देखिन्छ तर भित्र बलवान् बगिरहेछ…
पाखुरोमा झरेका मधुर साँझहरू, जुनमा हराएका कागजका चिठीहरू, हावा भित्र मिसिएका स्पर्शका सन्देशहरू सबै तिम्रा पाइला बनेर आउँछन् सुस्तरी सुस्तरी… महसुस हुन्छ जताततै, छाम्न लम्किन्छन् इन्द्रियहरू तर भेट्दैनन्….
ज्ञान! तिमी उज्यालो किरण हौ, अज्ञानको अँध्यारोलाई चिर्दै सत्यको आँगनमा प्रवेश गराउने दीपशिखा हौ ।
तर श्रद्धा बिना तिमी अधुरो देखिन्छौ, किनभने नतमस्तक नभएसम्म बुद्धिले सत्य चिन्दैन, शब्दले जीवन चलाउँदैन शब्दमा भाव जोडिनै पर्छ भावले श्रद्धा बनाउनै पर्छ।
श्रद्धा बिना ज्ञान रुखो रूख जस्तो, फल नलाग्ने, जसको हाँगाहरू घमण्डले भरिए पनि जीवनलाई शीतलता दिन सक्दैन हृदयलाई सौन्दर्यले रंग्याउन सक्दैन ।
जब श्रद्धा ज्ञानसँग मिल्छ, त्यसको सुगन्ध आत्मामा बस्छ, अहंकारको पर्दा च्यातिन्छ, र हृदय स्वयं ब्रह्मको दर्पण बन्छ।
हे श्रद्धा! तिमी ज्ञानको प्राण हौ, जसले विज्ञानलाई साधन, र आध्यात्मलाई साध्य बनाउँछ।
साँचो ज्ञान त त्यही हो, जहाँ श्रद्धामा त्यो झुकेको छ, शास्त्र र गुरु सहितमा डुबेको छ र आत्मा परम सत्यतिर लम्केको छ अनि अन्कण्डिस्नल लभमा फक्रेको छ ।
लगभग एक डेड हप्ता अगाडिको कुरा होला, एकदिन म सदा भन्दा अफिसबाट अलि ढिलै घर आइपुगेको थिएँ सहकर्मी साथीलाई अलि सन्चो नभएर पालो दिन अलिक बेर थप बस्नु परेको थियो। घर आएर सदा झैँ आँखामा केही औषधि हालेर चिम्म गर्दै रेष्ट गरिरहेको थिएँ। एकछिनमा मेरो सानो छोरो स्कुलबाट हड्बडिँदै ढोका ड्वाङ्ग पार्दै ठुलो आवाजले धकेलेर भित्र छिर्यो। छिर्नु अघि उसले लगाइ आएका जुत्ता परैबाट खुट्टा झट्कार्दै उ पर कता पुगेको पत्तै नपाईकनै खोलेछ । पछि कोठा सँगै टाँसिएको सानो बगैंचामा रोपेको रुद्राक्षलाई पानी पटाउन जाँदा पो उसको एउटा जुत्ता, अड्याएर राखेको मेरो बाइक मूनि घोप्टो पर्न खोज्दै अलि कोल्टे परेरै ढल्किराको रछ । तुनाका थोरै एक छेऊ भित्रै छिरेका र अर्को छेऊ अलि लामै परसम्म धुलो लागेर भुइँ मै लम्पसार परिराको रछ। एउटा जुत्ताको त्यो हाल देखेपछि अब अर्को जुत्ता कता होला खोज्न मेरा चिम्रा आँखाहरू यताउती घरि तेर्सिन र घरि घोप्टिन थाले। निकै बेरको खोजतलासको रस्साकस्सी पछि अर्को जुत्ता त आधा सोल आँ परेर च्यातिएर नजिकैको गमला मूनि उता पट्टि छेलिएर उत्तानो परिराको पो भेटियो। त्यसको चाहिँ तुना खुस्किन नसकेर टम्म सुर्काउने कसिएका भएर होला खुट्टा झट्कार्दा सजिलै जुत्ता नखुस्किएपछि ढोका अगाडि को मार्बलमा बेसकन अगाडिको भागले ठोकेरै हान्यो क्यारै जस्तो लाग्यो। हुनत अरुदिन पनि मेरो छोरो बिस्तारै भलाद्मी पाराले त किन हिंड्थ्यो र ! स्कुलको गाडीबाट पर चोकमा झर्ने बित्तिकै देखि घर आइपुग्दा सम्म आफ्ना जुत्ताले बाटोको छेउछाउमा भेटिने कुनै फ्याँकिएका काठ दाउराका टुक्राटाक्री होस् या खालि भई फ्याँकिएका प्लास्टिकका पानीका बोतलहरु हुन् या मुखाले श्रीमतीको रातदिनको टोकेसोले फ्रेस हुन भनी दिउँसै १ क्वाटर दबाइहाल्ने छोटी भन्सारमा काम गर्ने हरिलाल सरले झ्यालबाट झट्याउने एटएटफोएट भोटकाको खाली सिसी या यत्रतत्र छरिएका ढुंगाहरू भएपनि बल जसरी हान्दै, खेल्दै कालो जुत्ता लगभग अर्कै रंगको हो कि जसरी पार्दै, घर आउँदै गरेको अलिपरैको आवाजले संकेत पाइन्थ्यो। यो देख्दा प्राय: मलाई स्वामी जि ले भनेको याद आइरहन्छ, अलि पहिले तिरै, काठमाडौंको कुन गल्लीमा साथी सँग राती सुनसान रातमा बाटोमा फ्याँकिएका सिसि, बोतलहरु खुट्टाले हान्दै रमाइलो गर्दै डुलेको, हिँडेको। छोराको त्यो दिन भने फरक तरिकाको हिँडाई थियो । “जसो गर, जे भन, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो” भन्ने गीत गुन्गुनाउँदै आउने प्राय: उसको स्वभाव, त्यो दिनको फलामको मुल गेटको चुक्कुल खोल्दाको फरक आवाजले फरक मनोभावना दर्शाइराथ्यो। भित्र छिरेपछि पनि मोजा खोल्न सम्झिएन, कोट पनि दायाँ हातको मात्र खोल्दै अनि सरक्क नराखी ब्याग परैबाट भुइँमा फ्याँक्यो, साइडको खल्तिमा बोकेको पिउने पानीको बोतलमा आधा जस्तो अझै बाँकि रहेको थियो होला बोटल उछिट्टिएर भुईँमा पोखिएको पत्तै पाएन। हतार गर्दै ल्याण्डलाईन फोन राखेको टिभि टेबुल मूनि, उसलाई सजिलै याद भैराखेको नम्बर भएपनि त्यो दिन मुखले ९८******८९ बोल्दै सेटमा डायल गर्न थाल्यो। उसलाई हामीले सधैं सिकाइरहेकै हुन्छौँ कि कसैलाई भेट्दा होस् या फोन गर्दा सबै भन्दा पहिला “नमस्कार वा दर्शन” भन्नु पर्छ भनेर तर त्यसो हामीले भनेपनि प्राय: ऊ सिकाएको, घोकाएको सम्बोधन भन्न सम्झिँदैन या भन्नै पर्छ भन्ने जरुरी ठान्दैन कि के हो, आफ्नै पारा गर्छ। त्यसदिन त हेलो समेत नभनिकनै सिधै “एउटा गुड न्युज” भनिहाल्यो । सधैं झैं उताबाट बन्द मुखबाटै हृदय खोलेर हाँसीदिने “हुँहुँ” को आवाज आयो, मलाई र छोरा दुबैलाई एकदमै मन पर्ने मृदुल हाँसो, सानो स्वरले भएपनि कानले मात्र सुनिरहेको होइन मेरो बाक्लो सिरक भित्रको फलाटिनको सट, त्यस भित्रको थर्मकोट छिचोल्दै धड्किरहेको मुटुको ढुकढुकीमा एकाएक छिचोलेरै भरिन पुग्यो । मेरा शरिर भरि सबैतिर केहि तरङ्गले पोतिए झैँ भयो, त्यसको प्रभाव तत्कालै भर्खरै हालेको औषधी पखाल्दै आँखाबाट बायाँ कानतिर र केही थोपा ओठ मूनि नुनिलो हुँदै पस्दै गरेको पत्तै भएन। उताबाट उत्साहित भएर कौतुहलताको आवाज आयो “के भयो?” छोराले तत्कालै जबाफ दियो “एउटा बिरालोले आँखा खोल्यो नि” । फेरि उताबाट अहोभाव सहितको आवाज आयो ” वाउ!” त्यसपछि छोराले थप गफ गर्न थाल्यो, “हाम्रो घरमा म स्कुलबाट आउन लाग्दा सधैं आउने , मलाई र बाबालाई भेट्ने र म्याउँ गर्दै ढाड र पुच्छर दल्दै एकछिन बसेर उता पल्लो छिमेकी घरमा फर्कीजाने गरेकी बिरालोले ४ वटा बच्चा पाएको १० दिन भएकोले आज आँखा खोल्यो । बाबाले भनिस्याछ, अब अलि ठुलो भएपछि २ वटा फिमेल बिरालो चाहिँ हामी मागेर ल्याउने अनि माथि अन्टी, अंकल र हाम्रो मामुले थाहा नपाइकन बाहिरै पट्टि बगैँचाको छेउमा फलामको स्ट्याण्ड राखी गमला राखिएको मूनि पट्टि पसलतिरबाट एउटा कागजको कार्टुन ल्याएर, केही कपडाका टुक्राहरु बिछ्याएर उनिहरुलाई सानो घर बनाइदिने अनि छेऊमा एउटा पानी र खानेकुरा हालिदिने सानो कचौरा राखेर पाल्ने” आदि आदि के के के के । अनि फेरि उताबाट पनि “आज के के खायौ ? अब के खाने? कस्तो स्वाद रछ ?” ,,, आदि आदि के के गनथन गर्न थालेको घरि घरी सानो स्वरमा सुनिई रहन्थ्यो । लाग्थ्यो उनीहरू बीच बर्षौ वर्ष त के जन्मौं जन्म देखिको सम्बन्ध कायमै छ। त्यो दिन मात्र होइन सधैं नै उनिहरुको गफमा बुझिन्छ कि म त अकस्मात बाटोमा भेटिएर शरिर जन्माइदिएको सामान्य बाउ मात्र हो, महाबाउ र महाछोरा त उनीहरु नै हुन् । “एउटा गुड न्युज, बिरालोले आँखा खोल्यो नि, हुँहुँ को भित्री मृदुल मुस्कान, वाउ ! ” जस्ता शब्दहरु र भावले त्यसदिन निकै अबेरैसम्म मेरा आँखाहरु अहोभावले ओभाउनै भ्याएकै थिएन ।
उता पोखरामा बस्ने एकजना साथीलाई सुनाउन मन लाग्यो दिउँसोको वृतान्त। समय लगभग रातीको साँढे दश बजिसकेको थियो, सायद ऊ निदाइसकेको थियो। मैले उसलाई ह्वाट्सएपमा मेसेज मात्र हालेर सुनाएको थिएँ। कसोकसो उ बिउँझिएछ क्यारै र हेरेछ क्यार। उसले लेखेर पठायो, “मलाई पनि रुवाउनु भयो” । उसको त्यो मेसेज पढेर एक्लै फेरि अहोभावले रोएँ, चपौलीदेखि काठमाडौंमा र अमेरिका, युरोप, अष्ट्रेलिया आदि ठाउँ ठाउँमा रहने साथीहरु सम्झेर अझै रोएँ , अनि हृदयलाई छोइरहने कमिलाका स्ट्रेट लाइन ताँती देखि बिराट ब्रह्माण्डमा रहेका मेरा इन्द्रिय, मन, भावना, बिचार र चेतनास्तरले छुनसक्ने आयामसम्मका अनेक सबै कुराहरु र निराकार परमात्मा एवं साकार रुपी बिभिन्न देवी देवताहरु सम्म सम्झिएर श्रद्धा, समर्पण, प्रेम भावले आँखा रसाइरहे। छोरो छेवैमा घुरेर सुतिरहेको थाहा पाएर सिरकका खोलले आँशु पुछ्दै सुतेको निकै बेर पछि खोइ कुन्नि कतिबेला भुसुक्कै निधाएँछु, पत्तै भएन।