आजकल ममा तिमी भेटिने चर्याको भाव खनियाखर्कबाट मडारिँदै अँघालिने बाक्लिँदै आएको कुहिरो झैँ आभास हुन्छ । किन किन ममा तिम्रो संगतीका आर्द्रता विस्तारै घनिभूत हुँदैछन् । एफोर्टले भ्याएसम्म सेल्फरिमेम्बरिङ्गको विविधतामा तिम्रै अनेक ढंगहरुलाई हृदय र बिबेक भरि अब्जर्भेसन भइरहन थाल्या जस्तो छ । मनका तरङ्ग मात्रले होस् या अक्षरहरुका अनेक अटेसमटेसियाईँले होस् जुन रस भरेपनि तिम्रैतिर लक्षित सबै कविताहरु कोरिने गरेकाछन् । नपत्याए उसको जुँगा सहित उसले एक्सपियरेन्स र अब्जर्भेसन गरिरहने विभिन्न ब्रह्माण्डिय नलेज अथवा परमात्मा अनुभवको हृदयले मलाई छोइरहने प्रेमिल स्पदनलाई छामिहेर, उसका अनेक ज्ञान सिक्न एवं जिन्दगीलाई उपयुक्त कलाले जिउने सिक्न यसै देशका मात्रै त के यस धर्तिमा आम मान्छेले सबैभन्दा उत्तम ठानेको धर्तिदेशहरु समेत त्यागेर उसकै अनुशासन, आदेश, नियम, गुरुत्वलाई ससम्मान पुज्दै “हस्, हुन्छ, ल” का भाकाहरुमा उहि तिमी परमात्मालाई पाउने अभिलाषाका तिब्र प्यासी साथीहरुलाई जिब्रैले चाखिहेर, अनेक छन्दमा पुन्जुहरुका मुखडा एवं क्रिडाहरुमा खेलिहेर, गाढा रक्तमालाका परिधिलाई बुट्टयाएको रंगलाई निधारमा दलिहेर, गितारका सुरतालले मेरा नयन रसाइरहेका तरङ्गहरु सुनिहेर, गोरखनाथ र कालीको उर्जाले संरक्षित लयबद्ध मेरो देशलाई बुझिहेर, कसैलाई केहि सहयोग, सेवा गर्दा पाउनेको खुसी सन्तुष्टिमा उसका रसाएका हृदयमा छामिहेर, खरायोलाई केटाकेटीले दुबो खोज्दै र गाँजर टुक्र्याउँदै मुखैमा खुवाउँदा खरायोले दिइरहेको अशब्दी “धन्यवाद” देख्ने हृदयहरुलाई बुझिहेर, भजन किर्तन गित कविता गुनगुनाउँदा “प्रेम र अहोभाव” ले छचल्किएर नुनिलो झारिदिने रसिला आँखाहरुलाई सोधीहेर, घरि यसो गर्ने घरि उसो गर्ने मेरा छोराछोरीका अबोध बालक्रिडामा च्याहिहेर, मप्रतिको अन्जान कियरिङ्गको मेरी उनिको तिर्सनालाई निहालिहेर, मैले निभाएका जिम्मेवारीहरुमा मेरा हाकिमले हौसला दिइरहेको आभासलाई मूल्यांकन गरिहेर, बिभिन्न सेवाको अपेक्षा गरी धाएका ग्राहकहरुको सन्तुष्टिका सासमा नजिकिइहेर, के ती सबैमा झल्किरहने, बहिरहने, जमिरहने उहि एउटै तिमी नै होइनौ र ? मेरा हरेक बिवेक र भावनामा बिराजमान उहि एउटै तिमी नै होइनौ र ? जतापनि उसैलाई देख्छु, उसैलाई छुन्छु, उसैलाई सुन्छु, चाखिरहन्छु अनि सुँघिरहन्छु भन्थे रे प्रल्हादले सानैमा, त्यो घटना साच्चै साँच्चै भो क्यारै, थ्यो क्यारै लाग्न थालेको छ आजकल यो पाको उमेरमा बल्लतल्ल केही न केही मलाई पनि ।
एकाबिहानै सानो कदको तन तनक्क तन्क्याएर भर्खरै खुइल्याएका तालुजन्य टाउकोको बीचमा बचाएर राख्न खोजेका तिलचामले टुप्पी दायाँ हातले सुम्सुम्याउँदै अनि कतै घुम्न जाउँ जाउँ लागेका पैतालाका काउकुतीहरुलाई बायाँ हातले सुम्सुम्याउँदै र छोराछोरीहरुको स्कुलको जाडो विदालाई समेत इंकित गर्दै आफ्नो हृदयको नैसर्गिक स्वतन्त्रतालाई तिमीले नै मेरा लागि बुनिदिएको उहि मेरी उनिसँग बिन्ती तेर्स्याएँ । अचानक ठूलै बज्रपातै परे झैं मेरा कुराले उ अनायास झस्किई, मलाई पनि झुक्किएर साँच्चै ठूलै अपराधै पो गरेँछु कि झैं पनि लाग्यो शुरुमा त तर तिमीले नै बुनिदिएका अनि उनि मार्फतै जन्मिएका मेरा छोराछोरीहरुको बालापनका हठ, विन्ती र मायालुपनले होला विस्तारै उनले ती खहरे भावनाका भेललाई तराईका फराकिला भागमा जसैगरी सुस्तरी बग्न दिईन् । म त खुबै खुसीएँ, लाग्थ्यो मैले आत्मै छाम्न भ्याएँ, परमात्मै पुग्न भ्याएँ । हतपत् हौसिएर अरुदिन भन्दा अलिक चाँडै हस्याङ्गफस्याङ्ग मै कपडा लगाएर अफिस दौडिएँ, बाटामा अरुदिन देखिने छेउछाउका बुट्यानहरुको हावाको तालमा नाचिने नृत्य नभएजस्तै भएछ, अजपा जाप सहितको डिभाइडेड एटेन्सन् त के एकोहोरो ब्रिदिङ्ग कै ध्यान पनि बारम्बार बिर्सिएर उदिमै मच्चिएछ, उता पुगेर थाहा भयो अफिस छिर्न पाससहितको आफ्नो आइकार्ड बोक्नै भुलेँछु । एउटा रिक्वेस्ट निवेदन दिएर नयाँ पास लिई अफिस पुग्ने वित्तिकै हाकिमलाई आफ्नो एउटा घरायसी समस्या पर्यो भन्दै केहि दिनको विदाका लागि बाहाना गर्दै अनुरोध गरेँ । विदा अधिकार होइन, सुविधा मात्र हो, अधिकारीको स्वविवेक र अवस्थाको गाम्भिर्यता एवं औचित्यतालाई हेरेर मात्र निर्णय गरिनेछ भनेर लेखेको कर्मचारी विनियमावलीको दफा मतिर पानै पल्टाएरै तेर्साए । उहाँलाई र मलाई दुबैलाई थाहा भएकै कुरालाई उहाँले पहिलो पटक सिकाउँदै झैं गर्दै मेरो विदा अस्विकृत गर्न खोजेपनि पनि मलाई आफ्नो काम जसरी पनि बनाउनु थियो त्यसैले उहाँसँग तर्कले जुध्न तिर भन्दा विन्तीको सुत्रतिर लागेँ, बरु उहाँका सत्चरित्र, बानी ब्यहोराको एकछिन खुलेरै अनेक शब्दहरुले झकिझकाउ पारिदिएँ । सायद फोर्थ वे ले भनेको त्यहि भएर हो कि आम मान्छेको म्याक्यानिकल अहमताले बेहोसीमा उसलाई उसकै बारेमा सुन्न पाएको सिँघारपटारले प्रफुल्लित हुन्छ र यहाँ पनि त्यहि सुत्र खुब काम गर्यो यसपाली ।
तिम्रै हृदयका ओतप्रोतले हुनु पर्छ मेरो बसोबास रहेको भिडको घनत्वभन्दा भौतिक दूरि अलि पर तिमीले प्रशस्तै फुर्सद निकालेर बुट्टा भरेको शान्त, स्वच्छ, निर्दाेषताले भरपुर पाखिलो धर्ति, सुकोमल पुन्जुहरु, मन्त्रमुग्ध चिरबिरहरु, अनि रंगीबिरंगी बोटबिरुवाहरुले सजाएर यो हृदयलाई झपक्कै पार्दै उ मार्फत तिमीले गर्विलो स्थान रोजेछौ, भरिलो ठाउँ खोजेछौ। किन किन हरेकपटकको मेरो भ्रमणमा झन् उपयुक्त झन् योग्य ठाउँ लागिरहन्छ, अनि उसमै झल्किरहने तिम्रो यो रोजाई ।
तिम्रो यो सनराइज रुपलाई मेरै बसोबासकै ठाउँबाट कहिल्यै नदेख्ने, नभेट्ने जस्तो अनुभव भएरै त होला बाहिर चिसो लाग्ने भौगोलिक बातावरण भएको स्थान भनेर पात्रोहरुमा लेखिएको भएपनि भित्र मृदुल न्यानोपन निरन्तर आभास भइरहेको खुला आकास मूनि खुला ओतबाट तिमी कतिखेर आउँछौ भन्ने तिम्रो प्रतिक्षाका तड्पन भनुँ या तिब्र प्यास भनुँ या तिमीलाई यो सनराइजमा हेर्ने राग भनुँ यो पाली अलि छुट्टै अनुभुति भइराछ मलाई ।
मलाई शहर भन्दा गाउॅ नै प्रिय लाग्छ। नेपाली गाउॅको प्राकृतिक वातावरण, अर्गानिक खाना र मानिसहरु प्रिय लाग्छ।आफ्नो आफ्नो रुचि र स्वभाव को कूरा हो, ठुलो शहरको जीवनशैली र वातावरण मलाई असहज लाग्छ।आजभोलिको धार अनुकूल म पनि संसार कै विकसित देशको शहरमा जीवन बिताई रहेको हुन सक्थे, तर मलाई नेपाली गाउॅ को स्वस्थ, शांत र आनन्दित जीवनशैली नै प्रिय लाग्छ।
आज म भियतनामी बौद्ध गुरू थिच न्यात हान को भनाई पढ़दै थिए। ज़ेन बौद्ध धर्ममा चिया पिउने जस्तो सानो क्रियालाई पनि कसरी ध्यान र श्रद्धा पूर्वक, वर्तमानमा रहेर गर्न सकिन्छ भन्ने सिकाइन्छ। हाम्रो दैनिक जीवन यस्तै साना क्रियाहरू मिलेर नै बनेको छ।
भनाइ यस्तो थियो “आफ्नो चिया बिस्तारै र श्रद्धापूर्वक पिउनुहोस्, मानौ की यो चिया पिउनू नै संपूर्ण कुरा हो – बिस्तारै, हतार नगरी; वास्तविक क्षणमा जिउनुहोस्”। हामीले गर्ने क्रियाहरू धेरै जसो हतार र बेहोशीमा हुन्छन्। हाम्रो उद्देश्य भनेको त्यो गर्ने प्रक्रिया भित्रको आनन्द खोज्नेभन्दा पनि, त्यो सकिएपछि हुने सन्तुष्टिमा हुन्छ।
यदि हामीले यी साना कुराहरू गर्दा होश, भाव र आनंद जोड्न सक्यौं भने, वर्तमानको जीवन्त क्षण भित्रको शान्ति र आनन्द को अझ नजिक पुग्न सक्छौं।
आज म आइरिस कवि ओस्कर वाइल्ड को भनाई पढ्दै थिए। भनाई यस्तो थियो “ कलाकारले समीक्षक लाई सिक्क्षित गर्ने हो र समीक्षकले जनता लाई “।
सामान्यतया हामीलाई लाग्छ देश विकास गर्न मुख्य भूमिका राजनीतिज्ञको हुन्छ, तर खासमा सर्जकहरूको हुन्छ। सर्जक हरूले जुन स्तर वा प्रकृतिको गीत-संगीत, सिनेमा वा कुनै पनि किसिमको कला र साहित्यको सिर्जना गर्छन्, त्यही अनुरूप नै जनताको चेतनाको विकास हुँदै जान्छ। कुनै पनि महान सभ्यताको इतिहास हेर्नुहोस्, ती सभ्यतालाई महान बनाउन त्यहाँका सर्जकहरूको मुख्य भूमिका हुन्छ। विभिन्न किसिमका सिर्जनाले जनमानसको मन, भावना र चेतनालाई आकार दिन मद्दत गर्छ। जस्तो सिर्जनाको छाप मानिसहरूमा पर्दै जान्छ, समाज पनि त्यही अनुरूप परिवर्तन हुँदै जान्छ। त्यसकारण सर्जकहरू राष्ट्रिय गहना हुन् र राजनीतिक व्यवस्थाले उनीहरूलाई सहयोग र प्रोत्साहन दिइरहनु पर्छ।
नेपाली जनसमुदाय माझ नकारात्मकता बढ़दै गएको देख्न सकिन्छ। हुनत यो समस्या संसार भरी नै छ, तर बिशेष गरी नेपालमा यो समस्या आजभोली ब्यापक छ। राजनैतिक ब्यवस्था र प्रशासनिक तंत्र लाई यसको मूल कारक मान्न सकिन्छ। युवाहरु बिदेश पलायन हुने क्रम पनी तिब्र छ।सामाजिक संजाल का कमेंट सेक्शनहरुमा युवा देखी ब्रिद्द सम्ममा नीराशा देख्न सकिन्छ।
के यो नेपालको बर्तमान स्थिति को पूर्ण चित्रण हो त ? मलाई लाग्छ होइन।जति धेरै समस्या त्यति धेरै समाधान र बिकाशका मौका हरु पनी हुँन्छन। कम नै दृष्टिमा परेपनि बिदेश गएर पढेर वा केही सिकेर नेपालमै केही गर्छु भन्ने जमात पनी बढ़दैछ।ब्यापार गर्न सफलता को दर कम होला तर त्यो दिनप्रति दिन सुधारून्मुक छ।नयाँ सृजनशील पद्दति अनुसरण गरेका ब्यापार फस्टाएका उदाहरणहरु पनि देख्न पाइन्छ।
आजभोलि का युवा पुस्ताहरु पश्चात्य मूलुकका युवा भन्दा केही कम छैनन।युवा पुस्ताका धेरै साथिहरु तमाम नीराशा का बाबजूद पनि सकारात्मक ऊर्जाको साथ अगाड़ी बढ़ी रहेको देख्दा, नेपाल भौतिक बिकाशको बाटोमा अगाड़ी बढ़ीरहेको छ भन्ने कुरामा ढुक्क लाग्छ।
– शित ले भिजेका सयपत्री देखि आकाश मा फक्रिएको चाँदनी सम्म । प्रकृति मन नपर्ने सायदै कोहि होला । अ वाइज गर्ल वान्स टोल्ड मि ” धेरै जना नेचर मा जान्छन तर कमै ले मात्र त्यसलाई महसुस गर्छन ” । भित्रै सम्म छोइदियो उसको यो वाक्य ले । बच्चै देखि प्रकृति को काख मा लडिबुडि खेलेर हुर्केको म , त्यहि काख को न्यानो खोजिरहन्छ मन ले । कतै पढेको थिए ” हाम्रा पुर्खा हरुले करिब २० लाख बर्ष जङ्गल मा घुमन्ते जिवन बिताएका थिए । यो कुरा इन्फर्मेसन को रुप मा हाम्रो डि.एन. ए मा जिवितै छ । त्यसैले प्रकृति मा जादा सधै होम कमिङ अनुभुती हुन्छ । तसर्थ प्रकृति घुम्ने ठाउँ मात्र होइन हाम्रो घर पनि हो ।
पोहोर साल दसैं बिदा मा फेवाताल वरिपरि घुम्दा एकजना आर्टिस्ट भेटिए । ताल छेउ को एकान्त मा बसेर ताल पारी को दृश्य क्यानभास मा उतारि रहेका । ध्यान को गहिराइ मा डुब्ने ध्यानि जस्ता । कर्म मा डुब्ने कर्मयोगि । पक्कै गिता को अध्ययन गरेर “योग मध्य कर्म योग नै श्रेष्ठ हो” यसरी पर्सिभ गरेको हुनुपर्छ । परिचय गर्यौँ र केहि बेर गफियौँ पनि । उनको नाम त बिर्सिए तर उनले बोलेको एउटा वाक्य अझै स्मृति मा ताजै छ।
” म चिल् भको देखेर अरु जेलस् फिल् गर्छन” ।
कला को बारेमा टन्नै कुरा गर्यौँ ।
भ्यान गग् देखि भिन्चि सम्म ।
प्रकृति देखि प्रेमी सम्म ।
एक दिन मेरो जिवन को यस्तो भयो जहाँ मलाई पहिलो पल्ट कुनै रेस्ट्रन्ट पनि मन्दिर जस्तो लाग्यो । लेकसाइड को भिगन वे क्याफे मा बसेर अगाडि को दृश्य लाई कफि मै मिसाएर पिउँदै थिए । फराकिलो ताल, प्रेमिका लाई कसेर अङालो मारेको जस्तो स्थिर पहाड छ वरीपरी जसलाई छुन सुस्तरि आकाश को बादल अवतरण गर्दैछ । सुर्यस्त पछि को दृश्य हो यो । दिन भर को आफ्नो कर्म सकेर सुर्य देव अन्तर ध्यान भए ।
“देखो कहां आगए हम सनम साथ चलते
जहां दिन कि बाहों मे रातों कि साए है ढलते”
सुस्तरी साँझ को आगमन हुँदैछ । साँझ को स्वागत मा रेस्ट्रन्ट भित्र का बत्ति हरु बल्न थाले उज्यालो छर्दै ।
यस्तो अदभुत क्षण भैदियो जब पानी का थोपा हरु आकाश बाट रेस्ट्रन्ट को छानो मा पोखिए तब कुनै मन्दिर मा कुनै भक्त ले ईस्वर लाई खुसि पार्न बजाएको घन्टि को आवाज जस्तो महसुस हुन थाल्यो । त्यति मात्र कहाँ हो र, एक जना बिदेशी पाहुना जसलाई हामि खैरे भन्छौ ” यस्तो दिब्य मन्दिर भित्र बसेका ति भक्त ले ईस्वर को नाम मा अगरबत्ति बालेझै रिज्ला मा भरेर हिमाली हावा र पारिलो घाम मा हुर्केको हिमालयन विड सल्काउन थाले । उनले सल्काएको विड को बास्ना मलाई अगरबत्ति को बासना भन्दा कम लागेन ।
यति दिब्य त्यो दृश्य अति अलौकिक त्यो क्षण। लेकसाइड को त्यो साँझ जहाँ टिन को छानो मा बर्षात पोखिँदा घन्टी को जस्तो आवाज आइरहेको छ । जहाँ अगरबत्ति सरि हिमालयन विड सल्किरहेको छ । ब्याक ग्राउन्ड मा ध्यान को गहिरो मा लैजाने मधुर सङित बजिरहेको छ । ईस्वर सरह साँझ का पाहुना पस्दैछन् रेस्ट्रन्ट भित्र । खाजा खाँदै गरेका वरिपरि का साथीहरुले प्रसाद ग्रहण गर्दैछन् जस्तो लाग्यो ।
पश्चिम कि एक चेली छिन् नजिकै जसको केश मा साझ को रंग पोखिएको छ । हाँसो छचल्किएको मुहार, अनि धपक्क बलेको केश । अहिले उनि देवि भन्दा कम देखिएकि छैनन् । जो जति छन् त्यो छानो मुनि सबै ध्यान मा छन् जस्तो ।
सबै एउटै ईस्वर को आराधना मा डुब्दैछन् जस्तो
“इक ओंकार सतनाम करता पुरख
निर्भो, निर्वैर
अकाल मूरत, अजूनी सभम “
ईस्वर एक छन् । गुरु नानक ले भनेर गए ।
ईस्वर भनेर बुझिने जुन तत्व छ त्यो समयातित छ । समय भन्दा पर छ । जन्म र मृत्यु भन्दा पर छ र जसले स्वभाव निर्भय र निरबैर हो । सबै थोक को रचियता उहि हो ।
त्यत्तिकै सान्दर्भिक छ महाकवि देवकोटा को बचन जसले भनेर गए ” कुन मन्दिर मा जान्छौं यात्री कुन मन्दिर मा जाने हो ”
रेस्ट्रन्ट नै मन्दिर लागेको, मन्दिर का सबै एलिमेन्ट्स त्यहीँ भेटेको त्यो दिव्य क्षण । त्यो क्षण मा मलाई चाहिने जति सबै थोक थियो ।
” दिस् मोमन्ट इज् अल देयर इज् ”
त्यो साँझ ले मलाई स्वयं को नजिक ल्याउँदै थियो । अझ भनौं आत्मा को नजिक ल्याउँदै थियो ।
साँझ को अङ्गालो मा लुटुपुटु पर्दा फेवाताल को मादकता ले पुरै छुँदै गयो।
त्यो क्षण दियो बनेर हृदय मा बलिरहेको छ । त्यसैको न्यानो ले हो मेरो ओठ मा मुस्कान फुलेको ।