एक दिन सरोजलाई आमाले खाना ख्वाउन खोज्दा उसले खान मानीरहेको थिएन । आमाले नजीकैको स्कुलको होस्टेलबाट ठूलो स्वरमा बच्चा रोएको आवाज सुन्दै भन्न थाल्छिन् , ” कति कुट्दो रहेछ , राम राम ” । केही समय त्यो आवाजले ध्यान ताने पछि फेरि उनी छोरालाई पुनः ख्वाउन खोज्छिन् तर सरोज भने अझै खान मान्दैन । आमाले जसरी नि ख्वाउनै पर्यो भन्ने सोचेर होला , उनले , खाना खाएन भने म तिमीलाई त्यहि होस्टेलमा हाली दिन्छु , अनि त्यसरी नै तिमीलाई पिट्छन् भनेर भन्छिन् । त्यसपछि छोराले डराई डराई खान थाल्छ । प्राय जसो सधै त्यो होस्टेलबाट रोएको बच्चाको आवाज आइरहन्थ्यो । सरोजलाई भने त्यो होस्टलको आवाज देखि सारै डर लाग्थ्यो । आमाले पनि छोरालाई कसरी तह लगाउने भन्ने थाहा पाई सकेकी थिईन् । उनले छोराले चकचक गर्दा होस या धेरै बेर खेलेर बस्दा होस् , उनी छोरालाई यसो गरे म होस्टल हाली दिन्छु भन्थिन् । यो सिलसिला लामो समय सम्म चल्यो । सरोज बिस्तारै ठूलो हुँदै थियो । अब उसलाई स्कुल हाल्ने कुरा भयो तर सरोज भने स्कुल मरिकाटे जान मान्दैन थियो । पहिलो दिन स्कुल लान नै रुवनबासी भयो । सरोज प्राय सधै स्कुल नजान , म बिरामी छु भन्ने गर्थ्यो । आमाले पनि त्यो बच्चाको झुठ सजीलै थाहा पाउथिन् र जबरजस्ती स्कुल लैजान्थिन् । सरोजको केही लागेन अब सरोजले स्कुल जाने समय कोठाको ढोका बन्द गरेर बस्न थाल्यो । यो तरीका पनि धेरै दिन टिकेन । अब सरोजलाई स्कुल जसरी पनि लैजान थालीयो । कहिले काहीँ यो दिन्छु त्यो दिन्छु भन्दै फकाएर भने कहिले पिट्दै लान थालीयो । यो बच्चा स्कुल जाने नामले नै किन डराउछ , स्कुलमा पो पिट्छन् कि भन्ने लागेर आमा स्कुलमा बुझ्न पनि जान्छिन् । त्यहाँ सबै ठिक भएको र कसैले पनि नपिटेको भन्ने कुरा आमाले थाहा पाउछिन् । यो केटो किन स्कुल जान मान्दैन भनेर परीवारको चिन्ता बढ्दै गएको थियो । यस्तै यस्तैमा सरोज बिस्तारै ठूलो हुँदै गयो । उसलाई त्यो होस्टेल भित्र के हुँदो रहेछ भन्ने उत्सुकता लागि नै रहेको थियो । किन यहाँबाट रोएको आवाज आईरहन्छ भनेर एकदिन उ त्यहाँ हेर्नू पर्यो भन्ने निर्णय गर्छ । एकदिन होस्टलबाट फेरि एउटा बच्चा रोएको आवाज आउछ । यसपाली सरोज होस्टलको भित्ता सकिनसकि चढ्छ र लुकेर हेर्छ । त्यहाँ एउटा बच्चा मलाई चकलेट चाहियो भन्दै भुइँमा लडीबुडी गर्दै डाको छोडेर रोइ-रहेको देख्छ र त्यहाँको शिक्षकहरुले फकाउदै गरेको देख्छ । उ अचम्ममा पर्छ ।
यहाँ त पिट्छन् भनेर भन्थे तर बास्तविकता त अर्कै रहेछ भन्ने , उसले बुझ्छ । उ घर फर्किन्छ । भोलि पल्ट स्कुल जाने समय हुदाँ आमा फेरि फकाउन जाँदै हुन्छिन् तर सरोज त स्कुलको कपडा लगाएर स्कुल जान तयार भएको देख्दा सबैलाई अचम्म लाग्छ । त्यो दिन देखि सरोज सधै झगडा नगरी स्कुल जान थाल्छ । उसको परिवारले भने यो के जादु भयो भन्ने अझै बुझ्न सकेका छैनन् ।


