रमा दुलाल
कोर्न खोज्छु सधैँ सधैँ
बुबा तिम्रा यादहरू,
तस्बिरभित्र नियाल्दछु
अमिट ती भावहरू !१!
आमा भनी हुर्कायौ तिमीले
हात समाती लेख्न सिकायौ,
अढाई वर्षकी अबोधलाई
मातृत्वको लेप लगायौ!२!
मन, वचन र कर्म सधैं
एउटै हुनुपर्छ भन्थ्यौ,
जस्तै विषम परिस्थितिमा पनि
हिमाल झैँ अटल थियौ!३!
एक चम्किलो ऐना तिमी
तर कहिल्यै चर्किएनौ,
आँधीबेरी तुफानलाई
सुरक्षा कबज तिमी भयौ!४!
तिमी मेरो जीवनको
अनुशासनको मोहर थियौ,
परिश्रम र समयको
अदृश्य तिमी लगाम थियौ!५!
रिस, राग र अहंकारको
अविनाशी तिमी ढाल थियौ,
वासल्यको मिठो पलहरूमा,
नौनी झै तिमी नरम हुन्थ्यौ!६!
मानिसहरूको भिडमा
एक्लो मेरो साथी थियौ,
भिरमा अड्केको जीवनलाई
सुरक्षा कबज तिमी भयौ!७!
जीवनको परिभाषामा
तिमी मेरो व्याकरण थियौ,
वेद गीता र कुरानहरूमा
तिमी मेरो प्राण थियौ!८!
तिमी मेरो प्रगति-पथको
प्रेरणाको स्रोत हौ,
जुन संसारमा भएपनि
यो मुटुको ढुकढुकी हौ!९!
नश्वर शरीर, नश्वर संसार
एक दिन त जानु नै छ,
थाहा छ बुवा यो सब सपना हो
तर पनि किन यो मन रुन्छ…?!१०!

wow
LikeLike
जीवनको परिभाषामा
तिमी मेरो व्याकरण थियौ,
वेद गीता र कुरानहरूमा
तिमी मेरो प्राण थियौ !
LikeLiked by 1 person