अस्तित्व नै समुन्द्र हो , जसलाई हामी बोकेर हिडिरहेका छौ । धेरै दार्शनिकहरुले भनेका छन् ,” यो संसार देखिने भन्दा नदेखिने कुराले बढी चलि रहेको छ ।” हामी पनि देखिने भन्दा नदेखिने कुरा नै बढि बोकेर हिडिरहेका हुन्छौं भन्ने अनुमान गर्न सक्छौ । उदाहरणको लागि विचार भन्न सकिन्छ । यो बाहेकका अरु पनि थुप्रै कुरा होलान, जसलाई हामी बोकेर हिड्दैछौ र त्यो देखिदैन । त्यसको बाह्रेमा मलाई ज्ञात छैन । विचार पनि देखेकै हो भन्ने कुरामा पनि शंका उत्पन्न हुनु स्वभाविक नै हो । आँखा बन्द हुदा पनि विचार आएको थाहा हुन्छ । त्यो केले थाहा पायो । यस बिषयमा अध्यात्म जगतमा पनि धेरै चर्चा चल्दै आएको हामी देख्न सक्छौ । “आफ्नो अस्तित्वको बार्हेमा जान्नु नै हाम्रो मुल धर्म हो ” भन्ने पनि हामी सुन्दै आएका छौ । म पनि यहि बुझ्ने प्रयास गर्दै छु । आजभोलि देखिने भन्दा पनि नदेखिन म आफैलाई बुझ्ने प्रयास गर्दैछु ।
Blog
Win-Win
यो संसारमा हामी सबै काम गरी रहेका छौं। सनातन धर्ममा प्रयोग हुने एउटा अभीब्यक्ति हो “यो संसार परमात्माको लीला हो”। बिरुवा र कीराहरू देखि लिएर हामी सबै मानिसले केही न केही कर्म गरी नै रहेका छौं।
लीलाको यो विराट आयोजनमा हामी कुन भावको साथ कर्म गरी रहेका छौं ? कर्म हामी आफ्नो भलो मात्र सोचेर गरी रहेका छौं कि आफू भन्दा बढी अरूलाई पनि भलो होस् भनेर गरी रहेका छौं ?
हामीले गर्ने कर्मको असर हामीमा मात्र त अवश्य पर्दैन। जब केही न केही कर्म गर्नु नै पर्ने छ, तब किन आफ्नो मात्र विन (win) अरूको लस (loss) होस् भन्ने कामना गर्ने, विन-विन (win-win) कै कामना गर्दा सकारात्मक भावनाको पनि सिर्जना भयो, अरूको भलो होस् मेरो नहोस् भन्ने त कामना गर्नु परेन,किनकी त्यो गर्दा फेरि आफू प्रति नकारात्मक भइरहेका हुन्छौं।
थाहा पाएर वा नपाएर, होसमा वा बेहोसीमा गरिने यी कर्मको भावको गुणवत्ता सायद निकै महत्वपूर्ण छ ? सामान्यतया भनिने “असल मान्छे बन्नु पर्छ” देखि लिएर, विभिन्न धर्म सम्प्रदायहरूले दिने आचरण र नियम पनि यही हाम्रो कर्म प्रतिको भावको गुणवत्ता बढाएर, यो मानव जीवनलाई सार्थक बनाउन हो की ?
संयम, नियम र अनुशासनले उर्जालाई उर्ध्वगामी बनाउन मद्दत गर्छ
जुनतारालाई पालो दिन हो कि घामले हतारिँदै चपौलीका डाँडामुनि लुक्न खोज्यो, बिस्तारै साँझ ढल्दै थियो। कोठामा बलेको एउटा सानो दियोको मधुरो प्रकाशमा अगरबत्तीको धुवाँ कुण्डलाकार आकृति बनाउँदै माथितिर उक्लिरहेको थियो। त्यो धुवाँलाई हेरिरहँदा मलाई अचानक महसुस भयो, हाम्रो जीवनको उर्जा पनि ठ्याक्कै यस्तै त होला। यदि यसले संयम र नियमको एउटा निश्चित दिशा पायो भने यो उर्ध्वगामी भएर आकाशतर्फ सुगन्ध छर्दै उक्लन्छ होला, नत्र एउटा कुनामा कुहिरो बनेर अलमलिइरहन्छ होला।
मैले सुनेका गुरुवाणी र पढेका पानाहरूले सधैँ भन्थे, “अनुशासन कडा हुनुपर्छ तर हृदय नरम।” म आफैँभित्रको जडता नियाल्दै थिएँ। मेरो ‘म’ भावको पहाड जबसम्म पग्लिँदैन, तबसम्म त्यो भित्रि उर्जा ‘काम’ को धरातलबाट ‘राम’ को शिखरसम्म कसरी पुग्ला र ? ऊर्जालाई माथि चढाउनु भनेको कुनै युद्ध जित्नु होइन, बरु आफैँलाई पराजित गर्दै अहंकारको बोझ बिसाउनु रहेछ।
कहिलेकाहीँ मनमा ‘ऐं’ को मधुर झंकार गुन्जिन्छ, जसले मेरो बुद्धिको खिया पखालिदिए झैँ लाग्छ। कहिले ‘ह्रीं’ को गुन्जनले हृदयको साँघुरो घेरालाई ‘छिन्नमस्ता भगवती’ को विशालतामा मिसाइदिन्छ। ‘श्रीं’ र ‘क्लीं’ का ध्वनिहरूमा कता कता महालक्ष्मीको समृद्धता र कृष्णको माधुर्यता मिसिएको आभास हुन्छ। ‘हं’ र ‘गं’ भन्दै जाँदा लाग्छ, भित्र कतै हनुमानजीको जस्तो समर्पण र गणेशको जस्तो स्थिरताको बीउ अंकुराउँदै छ।
त्यो साँझ मेरो अगाडि एउटा यस्तो दृश्य थियो, जसले मलाई उपदेशभन्दा गहिरो ‘बोध’ दियो। मेरी छोरी भावना र छोरो नुवेश तीनका नाम जस्तै कोमल र निष्कपट देखिन्थे। उनिहरु साधनाको एउटा यस्तो मौन लयमा थिए जहाँ तर्कका सबै ढोकाहरू बन्द थिए। भावनाको हातमा रक्त चन्दनको जप माला थियो र नुवेशको हातमा ५ मुखी रुद्राक्ष को माला। मैले निकैबेर तिनलाई टोलाएर हेरिरहेँ। तिनले आफ्नो चोरी औँला (जसलाई शास्त्रले अहंकारको प्रतीक मान्छ) ले मालालाई सकेसम्म नछोओस् झैँ गरी खुम्च्याएका थिए। तिनका बुढि औँलाले माझी औँलाको माथिल्लो पट्टि रहेका मालाका दानाहरूलाई बिस्तारै स्पर्श गर्दै सार्दै थियो। हरेक दानासँगै तीनका ओठबाट एउटा मन्द ध्वनि निस्कन्थ्यो, “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे”। तिनको त्यो विधिमा कुनै आडम्बर थिएन, मात्र एउटा गहिरो समर्पण थियो। तिनले माला सारेको देख्दा लाग्थ्यो, तिनले केवल दानाहरू सारिरहेका छैनन्, बरु आफ्नो चेतनाका तहहरूलाई एक-एक गर्दै पार गर्दैछन्। तिनको त्यो हृदयात्मक एकाग्रता देख्दा मलाई अनुपम स्वामीले गाउनुभएको छिन्नमस्ता भगवतीको त्यो भजनको याद आयो जहाँ उहाँको स्वरमा जुन आर्तनाद र समर्पण हुन्छ, ठ्याक्कै त्यही भाव तिनिहरुको अनुहारमा छल्किरहेको थियो।
छिन्नमस्ता जसले आफ्नो शिर काटेर अहंकारको अन्त्य गरिन् र आफ्नै रगतले सहचरीहरूको तिर्खा मेटाइन्। त्यो प्रतीक कति गहिरो छ! जब हामी आफ्ना हजारौँ विचारका शिरहरूलाई ‘अनुशासन’ को खड्गले काट्छौँ, तब मात्र त्यो भित्रि अमृत (उर्जा) उर्ध्वगामी भएर सहस्रारसम्म पुग्छ। अनुपम स्वामीका गीतहरूले भने झैँ, त्यो अवस्थामा पुग्न ‘अजपा जाप’ को त्यो मौन संगीतमा हराउनै पर्ने रहेछ, जहाँ श्वास आफैँ मन्त्र बन्छ।
केटाकेटीले मालाका दानाहरू सार्दै गर्दा ति बिस्तारै ‘हृदयात्मक आयामहरू’ मा विलीन हुँदै गएको मैले स्पष्ट देख्न सक्थेँ। तिनका बालसुलभता , शान्त मुद्राले मलाई सिकाइरहेको थियो कि दुर्गा, काली, गायत्री, छिन्नमस्ता वा तलेजु भवानीको शक्ति कतै बाहिर छैन, त्यो त नियमको परिधिभित्रको संयमित हृदयमा लुकेको छ।
मैले बुझेँ साधना भनेको ठूला कुरा गर्नु होइन, बरु भावना र नुवेशले झैँ अहंकारको औँलालाई खुम्च्याएर, बीज मन्त्रको डुङ्गा चढी हृदयको अगाध समुद्रमा हाम फाल्नु रहेछ। जब उर्जा उर्ध्वगामी हुन्छ, तब संसार एउटा उत्सव बन्छ, र हरेक कर्म एउटा शान्त प्रार्थना।


जीवनका केही सिकाईहरु -१
“आफ्नो चेतनाको स्तर विभिन्न समयमा विभिन्न थियो, यसको लागी आफैलाई माफ गर्देऊ ।” बाबुजीको भनाई यो हप्ता भरि ममा गुन्जिरह्यो।
जीवनमा केही भोगाईहरु यस्ता रहे जुन नयॉ अनुहार, नयॉ ठाउॅका बाबजुद बारम्बार दोहोरिरहे। धेरै समय लाग्यो यो देख्नको लागी, बुझ्नको लागी कि मेरो बुभाई र भोगाई सहि रुपमा पाक्न बॉकी छ। जीवनमा पहाड लागेका ठुल्ठूला अप्ठयारा पनि आफूलाई त्यो ज्ञानले दृष्टि दिनासाथ बिलाई जान्छन। अनि बल्ल पो देखिन्छ त्यो त जाबो झिनो मसिनो रहेछ।
भर्खर भर्खर पौडि खेल्न सिक्दै थिएँ, एउटा तलाउमा खेल्न थालें- आयो खेल्न। मलाई औधी खुशी लाग्यो। बेलुका आएर बाबुजीलाई सुनाएँ “आज त्यो तलाउमा पौडी खेल्न आयो, मसाई तलाउले सुइकारेको जस्तो लाग्यो ।” बाबुजीले सोधिन् – “किन यो चाह छ स्वीकारिनू को ?”
म केही बेर अघि सम्म यो आईडियालाई रोम्यान्टिसाईज गरिरहेकी थिए, उनको कुराले मेरो केही पर्दा खुल्यो। मैले पहिलो चोटी यो नजरियाले हेर्न सकिरहेकि थिए कि लौ हो त । यत्तिकै हुनुको वर्तमानमा नरहेर म कहाको विचार जालमा कुरो केलाउदै छु। यो बुझाईका साथ साथ मलाई मानिसहरुसंगको आफ्नो सम्बन्धहरु पनि सहज लाग्न थाल्यो। म कहॉ के देख्छु र भोग्छु त्यो आफू स्वयमको नै प्रोजेक्सन हो। संसारलाई त्यसकै स्वरुपमा हेर्न चाहन्छु भनेर चाहेकि मैले यो चस्मा फ्याक्न त जरुरि नै थियो ।

जति गहन, त्यति सरल
केही दिन भयो, हामीलाई हाम्रो गाउँको दाइले खेतीपातीमा सहयोग गर्दै हुनुहुन्छ। उहाँको नाम हो विजय। हामी बस्ने ठाउँको प्रायजसो संरचना उहाँकै कलाकारिताको देन हो। उहाँसँग विद्यालयको ज्ञान धेरै नहोला, तर सिर्जना र व्यवहारिकताको ज्ञान अथाह छ।
केही दिन अगाडि बारीमा काम गर्ने क्रममा उहाँको विचारले म मा उच्च भावको सिर्जना गर्यो। उहाँ भन्दै हुनुहुन्थ्यो- माटो र पानी जीवन हो। अनि मैले सोधेँ, हावा ? उहाँले भन्नुभयो, त्यो त प्राण भइहाल्यो नि, अझ महत्त्वपूर्ण।
पहिलो विचार आयो-हाम्रो अस्थित्व पनि त माटो, पानी र प्राण हो।अनि मेरो मनमा कुनै समय ओशोको साहित्य पढेको याद आयो, जहाँ ओशो भन्दै हुनुहुन्थ्यो— हावा बिना मान्छे सबैभन्दा कम समय बाँच्न सक्छ; खाना र पानी बिना त्यो भन्दा अलि लामो समय।
सुन्दा सरल लागे पनि उहाँले गहन विषयलाई व्यक्त गर्नुभयो। सामान्यतया मानिसको दृष्टि यस्तो विषयमा पुगेको पनि हुँदैन। औपचारिक शिक्षाको कमी भए पनि उहाँको चेतनाको स्तर अरू गाउँलेको तुलनामा निकै उच्च भएको भान भयो र सिक्नको लागि कुनै पनि बेला, कोहीसँग पनि सिक्न सकिन्छ भन्ने कुरा अनुभव भयो।
यात्रा
एकदिन गुरु र शिष्य तिर्थ यात्रमा निस्किएका थिए । हिन्दै जाने क्रममा , उनिहरुले एउटा ढुङ्गै ढुङ्गाले बनेको पहाड पार गर्नु पर्ने थियो । पहाड साच्चै ठूलो र भिरालो थियो साथै साघुरो बाटो भएको । जति माथि गयो, त्यति नै खतरा बढ्दै जान्थ्यो । एउटा सानो भुल र ज्यानै जाने खतरा थियो । जति जति उनिहरु माथि जाँदै थिए । त्यति नै शिष्यको खुट्टा डरले गर्दा अगाडि नै बढेन । उसले आफू भन्दा अगाडि हिडिरहनु भएको आफ्नो गुरुलाई हेर्दा , उहाँमा उसले एक धर्को पनि डर देख्दैन । त्यसैले उसले गुरुलाई सोध्छ , ” तपाईलाई डर लागेको छैन । ” अनि गुरुले उत्तर दिनु हुन्छ ,” जे छुटि सक्यो, त्यसलाई हेर्ने हैन । जे अगाडि छ, त्यसलाई हेर । पछाडि मात्र छ डर लाग्दो भिर, अगाडि हेर त यहाँ बाटो मात्र छ ।”
यसरी गुरुको कुरा सुने पछि शिष्यले पछाडि भिरलाई नहेरी अगाडि बाटो मात्र हेर्दै अघि बढ्यो । यसर हिन्दा उसको डर पनि हराउदै गयो र केही दिनको यात्रा पछि उनिहरुको तिर्थयात्रा पनि सम्पन्न भयो ।
सत्संग
आजको बिहान घडीको काँटाले होइन, कर्तव्यको घण्टीले उठायो मलाई। सहकर्मी साथी को श्रीमती को अपरेसन थियो त्यसैले उ बिदामा बसेकाले मलाई आज चाहिँ अफिस चाँडै जानु परेको थियो।सत्संग छुट्यो, मनको आँगनमा केहीबेर कुहिरो झर्यो। रिस, चिन्ता, असन्तोष, घृणाको सम्भावित बादल मनको आकाशमा जम्मा हुने कि नहुने, म स्वयं आफैँलाई नियाल्दै चुल्होमा भात पकाइरहेँ, थालमा जीवन सजाइरहेँ, भाँडामा आफ्नै मन माझिरहेँ। चिसोले शरीर छोयो तर चिसोपनले चेतनालाई छुन पाएन। लुगा लगाउँदै गर्दा, कोटको बायाँ भाग नेपालको झण्डा मुनि क्रस खुकुरी र दायाँ भाग कम्पनीको लकेट मिलाएँ। मनलाई पनि एउटा मौन कम्बल ओढाइदिएँ। बाइक स्टार्ट भयो र त्यससँगै यात्रा सुरु भयो, केवल अफिसतर्फ होइन, आफ्नै भित्रतर्फ पनि….
केही दूरी पार गरेपछि, अचानक कुनै अदृश्य हातले मेरो आँखाबाट कुहिरो हटाइदियो। “वाह! आज त कस्तो सुन्दर नयाँ बिहानी रहेछ!” भन्ने वाक्य होइन, भन्ने अनुभूति जन्मियो। मलाई लाग्यो जस्तै परमात्माले आजको दिन मेरो लागि आफैंले क्यालेन्डरमा घेरा लगाएर सावधानीपूर्वक मिलाएर राखिदिनुभएको हो। घटना होइन, व्यवस्था थियो यो।
अफिस पुग्दा, बाइक पार्किङमा अडिँदा, म आफ्नै चित्तको यात्रा पार्क गर्दै थिएँ। Garden वरिपरि lemon grass को सुगन्ध मेरो चेतनाको धमनिमा बग्न थाल्यो। Snake plant र spider plant मेरो श्वाससँग संवाद गरिरहेका थिए। बगनबेली झुप्पिएर होइन, माथिबाट ईश्वरको मुस्कान झारिरहेजस्तो थियो।
अफिस क्याबिनमा पुगेर हिटर नजिक पुग्दा, म केवल शरीर तताइरहेको थिइनँ म त जीवनको न्यानोपनसँग फेरि एकपटक हात मिलाइरहेको थिएँ र त्यस क्षण, स्वामीजी मिसिएको परमात्माको काखमा बालकजस्तै लुटुपुटिएझैँ एक्लै मुस्कुराएँ। त्यो मुस्कान केबल ओठको थिएन, आत्माको थियो।
एकैछिनमा पहिलो ग्राहक आयो, १०० रुपैयाँको रिचार्ज कार्ड। मुस्कान सजिलै सरेर उसको आँखामा बसीदियो। सेवा सहज थियो, हृदय खुला थियो तर दोस्रो ग्राहक आयो अँध्यारो अनुहार, भिजेको स्वर, फोन र इन्टरनेटबीच हराएको आत्मा बोकेर। Visa को समस्या केवल कागजको थिएन, ऊ आफ्नो जीवनसँग पनि असन्तुष्ट देखिन्थ्यो। मेरो मुस्कान अलि खुम्चियो तर हृदय अझै फैलियो। म उससँग हाँसिनँ तर उससँग बसें। त्यो बसाइ कुर्सीमा होइन, उसको बेचैन मनको छेउमा थियो। उसका कागज हेरेँ, उसका शब्द सुनेँ, उसका मौन करारहरू पनि। फोन घुमाइरहँदा, इन्टरनेटको पासवर्ड दिँदा, म भित्र भित्र आफूलाई पनि लगातार नियालिरहेँ “म यहाँ छु कि छैन?” र मैले थाहा पाएँ म मात्र उपस्थित थिइँन, म त उपस्थितिको स्रोतसँग उपस्थित थिएँ। उसका हाउभाउहरू बिस्तारै नरम हुँदै गए। उसको स्वरमा पहिला आँधी थियो, पछि हावाको सुस्केरा बन्यो। ऊ लड्दै आएको थियो तर सम्झौतासँग हात मिलाउँदै आफ्नै किनारतर्फ फर्किँदै थियो। लामो फोन कल, अनलाइन संवाद, प्राविधिक प्रक्रिया… तर भित्र चलिरहेको थियो एक मौन उपचार।
अन्ततः ऊ नजिकको कफी सपबाट Americano लिएर फर्कियो।मुस्कुराउँदै भन्यो ” म कता पुगेँछु है एकछिन!” त्यो वाक्य भन्दा गहिरो थियो, त्यो आत्मस्वीकृतिको क्षण थियो र म पनि फेरि पहिलेकै मुस्कानमा फर्किएँ तर अब त्यो मुस्कान हाँस्यको थिएन, एकाकारको थियो। हाम्रा ओठ फरक थिए तर मुस्कान एउटै स्रोतबाट आए जस्तै लाग्थ्यो। ऊसले “Thank you” भन्यो, तर त्यो Thank you मलाई मात्रै होइन, अनि उसलाई मात्रै पनि होइन, बरु त्यो त त्यही अदृश्य केन्द्रलाई थियो जहाँबाट शान्ति आयो, जहाँबाट समाधान आयो, जहाँबाट “म छु” को अनुभूति आयो र मैले पनि सँगै भनिरहेँ शब्दबिहिन, स्वरबिहिन रुपमा तर अस्तित्वको गहिराइमा “म छु।” न सेवा गर्ने अलग रहे, न सेवा पाउने अलग। न समस्या अलग रहे, न समाधान अलग। सबै कुरा एकै चेतनाको नदीमा निस्काम कर्मका तरङ्ग बनेर बगे।
आज अफिस केवल कार्यस्थल रहेन आज अफिस मन्दिर बन्यो, ग्राहक प्रार्थना बने, सेवा पूजा बन्यो र म केवल एउटा माध्यम बनेँ।एउटा सत्संग छुट्यो होला तर अर्को सत्संग मसँगै अफिस आयो। म घरमै पलेँटीमा बसेर सत्संग गर्न पाइन तर म आफैं सत्संग बनेँ।
र अन्त्यमा, दिनको कुनै कुनामा मौसमी फूल झरेजस्तै एउटा मौन अनुभूति झर्यो “म छु।” न यो शब्द थियो, न भावना मात्र यो त त्यो सत्य थियो जसलाई जीवनले आज बिहानैदेखि मेरा हरेक कदममा अक्षर अक्षर गरेर डिकोभरि अँगालिँदै लेखिरहेको थियो।
…..
ॐ तत्सत् 🙏❣️

त्यहीँ जीवन हुन्छ
मन भित्र प्रश्न थियो
यसैले आफैंलाई सोधिरहन्थे
“जीवन के हो?”
मन्दिर गए ,
पुजारीले भने-“ईश्वर यहाँ छ।”
मस्जिद गए,
मौलवीले भने-“ईश्वर त्यहाँ छ।”
पुस्तकालय गए,
दर्शनले हजार उत्तर दिए।
तर मन झन् भारी हुँदै गयो।
एक दिन थाकेर
एउटा नदी किनार बसे।
न केही सोधे,
न केही खोजे
बसी रहे… बसी रहे।
हावाले पात हल्लायो,
नदी बगिरह्यो,
सास आफैँ चलिरह्यो,
म हेरिरहेँ,
अचानक देखे
म सास होइन,
सासको साक्षी रहेछु।
त्यही क्षण
प्रश्न हरायो,
अर्थ भेटियो।
नदीले केही उपदेश दिएन,
हावाले कुनै मन्त्र पढेन,
तर मौनले
सबैभन्दा ठूलो सत्य भनिदियो।
त्यस दिनदेखि
म खोज्ने रहिन्,
म बेहोशी भइन।
जहाँ खोज समाप्त हुन्छ,
जहाँ बेहोशी होशमा फर्कन्छ
यसैले त तिमी भन्छौ
त्यहीँ जीवन हुन्छ।
धन्यवाद
केही वर्ष अघि आफूले लेखेको डायरीका पानाहरु पल्टाउन पुगें। त्यसमा म तिमीसॅग आफ्नो अन्यौलता पोख्दै थींए । “ प्रिय ईश्वर, कहीं त कतै केही मिलेको छैन। म उमेरले ठुलै भईसक्दा पनी भित्रबाट म एकदम अपरिपक्व छु। हजार चाहना हजार तिर दौडिएका छन् । जहिले एउटा गर्हुंगो बादल आईरहन्छ। के गर्ने मलाई थाहा छैन। बाटो देखाऊ ईश्वर…।”
तिम्रो नजर म मा पर्यो, जीवन धन्य भयो। म हर्षले श्वास फेर्छु आजकाल। सजिलो पक्कै छैन घोट्टिएर तरल बन्नलाई। तर यो नगर्दाको नर्क स्मृतिमा यति गाढा छ कि मुटु भरखरै काँप्न थाल्छ। यसैले मेरा हर क्षणहरु रंगिन बनाउछ। यसैमानै पूर्णता र आन्नद पाउॅछु म। म हर दिन तिमीलाई सम्झिन्छु, पुज्छु। जे छु तिम्रो कारणले छु र तिमीबाटै छु । तिमीनै बाटो भयौ, तिमीनै शितल चौतारी र तिमीनै पुग्नु पर्ने गन्तब्य।
ध्यानले कार्यकुशलता दिन्छ
…. अनि नुवेशले घरि C Major त घरि E Minor मा fingers राखेर गितको लवज अनुसार change गर्दै strumming हान्न थाल्यो पुरै ध्यान एकैचोटी chords, strumming patern अनि गीतको pitch मा हृदय पनि बगाउँदै , “मैले आफ्नो हृदयको गीत बुझेँ, अजम्बरी यस्तो एउटा प्रित बुझेँ …..” । भन्दै थियो, ‘एकैचोटि सबै कुरामा ध्यान दिएर गर्न शुरूमा त गारो हुने रहेछ तर विस्तारै विस्तारै सजिलो अनि आनन्द आउन थाल्ने रहेछ जब गीतमा स्वर र अर्थमा पनि डुब्न थालेपछि त’। उसले यस्तो भन्दा स्वामी जि ले सधैं भन्ने गर्नु भएको र morning healing sessions मा गहिरो प्रभावमा इंकित गर्नु भएको ध्यानले कार्यकुशलता दिन्छ भन्ने वाक्य एकाएक याद आयो। एकैचोटि divided attention मा रहेर अनि आँफुलाई पनि स्मरण गर्दा साँच्चै साँच्चै अचम्मको कार्यकुशलता बढ्ने हुन्छ र काम फलका लागि होइन आनन्दको लागि मै बगिरहेको हुने रहेछ।
मानव जीवनको वास्तविक शक्ति बाहिरको श्रममा होइन, भित्रको चेतनामा बस्छ। मानिस जति नै दौडिए पनि, जति नै मिहिनेत गरे पनि, यदि त्यो कर्म चेतनासँग जोडिएको छैन भने त्यो केवल थकान बन्छ। तर जब कर्म ध्यानसँग जोडिन्छ, तब त्यो साधना बन्छ, सेवा बन्छ, जीवनको सौन्दर्य बन्छ। यही कारण हो ध्यान केवल आँखा बन्द गरेर बस्नु होइन; ध्यान त जीवनलाई पूर्ण उपस्थितिमा जिउने कला हो। जहाँ ध्यान छ, त्यहाँ कार्यकुशलता स्वाभाविक रूपमा जन्मिन्छ।
यस सन्दर्भमा मेरा मानसपटलमा र हृदयमा छोएका ब्यक्तित्व, विधा, आविष्कारका केही उदाहरणहरु आउनपुग्छन् । ती मध्य मलाई छोइरहने अनुपम स्वामी पनि हुन् । उनको जीवन स्वयं एउटा जीवित ग्रन्थ जस्तै देखिन्छ। सानै उमेरदेखि अध्ययन, अनुसन्धान, किताबप्रेम, ब्रह्माण्डप्रतिको जिज्ञासा, विज्ञान र प्रकृतिको सूक्ष्म निरीक्षण, मानव मनको गहिरो अध्ययन, जीवन र जगतको रहस्य खोज्ने मौन तपस्या यी सबै उनका साधारण काम होइनन्, यी त ध्यानका विविध रूप हुन्। उनी केवल पढ्दैनन्, उनी पुस्तकसँग संवाद गर्छन्। उनी केवल प्रश्न गर्दैनन्, उनी प्रश्नमै विलीन हुन्छन्। उनी केवल ब्रह्माण्ड हेर्दैनन्, उनी ब्रह्माण्डसँग आफूलाई तुलना होइन, आफूलाई विलीन गर्छन्। यही विलीनता नै ध्यान हो, यही ध्यान नै उनको कार्यकुशलताको मूल हो। उनको अध्ययनमा हामी एउटा अद्भुत संयोजन देख्छौं विज्ञानको तर्क, दर्शनको गहिराइ, मनोविज्ञानको सूक्ष्मता, र अध्यात्मको उज्यालो। यही संयोजनले उनको चेतनालाई बहुआयामिक बनाएको छ। जब मानिसले कुनै विषयलाई केवल दिमागले होइन, हृदय र आत्मासहित अध्ययन गर्छ, तब त्यो अध्ययन केवल जानकारी रहँदैन, त्यो चेतनाको रूपान्तरण बन्छ। अनुपम स्वामीको कार्यकुशलता यही रूपान्तरणको परिणाम हो। उनी छिटो होइन, गहिरो सोच्ने व्यक्ति हुन्। उनी धेरै होइन, सार्थक बोल्ने व्यक्ति हुन्। उनी बाहिरको उपलब्धिभन्दा भित्रको स्पष्टतालाई प्राथमिकता दिने साधक हुन्।
यही मौन शक्ति हामी डा. महावीर पुनमा पनि देख्छौं। विकट गाउँमा जन्मिएर विश्वस्तरीय वैज्ञानिक उपलब्धिमा पुग्नु केवल श्रमको फल होइन, त्यो भित्रको एकाग्रता, धैर्य र मौन साधनाको परिणाम हो। उनले विज्ञानलाई केवल प्रयोगशालामा सीमित राखेनन्, उनी विज्ञानलाई मानवताको सेवामा उतारे। जहाँ धेरैले सीमाहरू देख्छन्, त्यहाँ उनले सम्भावनाहरू देखे। ध्यानले उनको दृष्टिलाई तीव्र बनायो, र तीव्र दृष्टिले असम्भवलाई सम्भव बनायो।
त्यसैगरी यही ध्यानको सौन्दर्य हामी काठमाडौं महानगरपालिका निवर्तमान प्रमुख बालेन शाहमा पनि देख्छौं। महानगरलाई सफा, सुशासनयुक्त, व्यवस्थित बनाउने उनको प्रयास केवल प्रशासनिक काम होइन, त्यो चेतनाको अभिव्यक्ति हो। जब नेतृत्व ध्यानयुक्त हुन्छ, तब निर्णय भावनात्मक आवेगबाट होइन, विवेकपूर्ण शान्तिबाट जन्मिन्छ। बाहिरको सफाइभन्दा पहिले भित्रको स्पष्टता आवश्यक हुन्छ, र त्यो स्पष्टता ध्यानबाट नै आउँछ। यही कारण हो शहरको स्वरूप बदलिनु अघि नेतृत्वको चेतना बदलिएको देखिन्छ। हाल त उनी एउटा शहर मात्र होइन पुरै देशै सफा गर्छु अनि बनाउँछु भनेर तातिएका छन् उनले भन्ने सरसफाइका कुरा भौतिक संरचनामा मात्र नभई सुसासन र भ्रष्टाचार नियन्त्रण गरी गरिने सफाई हो भन्छन् । उनको ‘ म गर्छु’ भन्नुको अर्थ एउटा व्यक्ति को रुपमा नभनेर,’ हामी सक्छौं त्यसैले गर्छौं’ भन्न चाहिँ खोजेको बुझिन्छ।
एलन मस्कको जीवन पनि यही सूत्रमा गाँसिएको देखिन्छ। जीवनभर सपना देख्नु, ती सपनालाई साधनामा बदल्नु, असफलतामा पनि नथाक्नु, आलोचनामा पनि नडगमगाउनु यी सबै ध्यानका आधुनिक रूप हुन्। उनले काम गर्दा केवल काम गर्दैनन्, उनी काममा विलीन हुन्छन्। यही विलीनता नै ध्यान हो। यही ध्यान नै उनको कार्यकुशलताको मूल हो। उनी छिटो सफल भएनन्, तर गहिरो रूपमा समर्पित भए। र यही समर्पणले उनको जीवनलाई अद्भुत बनायो।
महाभारतको युद्धभूमिमा उभिएको अर्जुन पनि यही ध्यानको प्रतीक हुन्। चराको आँखामा मात्र ध्यान केन्द्रित गर्न सक्ने अर्जुनको एकाग्रता बाहिरको युद्धभन्दा भित्रको साधनाको परिणाम थियो। श्रीकृष्णको मार्गदर्शनमा उनले कर्म, भक्ति र ध्यानलाई एउटै धनुषमा बाँधे। गीता भन्छ, “योगः कर्मसु कौशलम्।” अर्थात् योग नै कर्ममा कुशलता हो। यो श्लोक केवल धार्मिक उपदेश होइन, यो जीवन विज्ञान हो। जहाँ ध्यान छ, त्यहाँ कर्म स्वाभाविक रूपमा कुशल हुन्छ।
हनुमानको जीवनमा पनि यही सत्य झल्किन्छ। राम र सीताप्रतिको भक्ति, श्रद्धा, प्रेम र समर्पण केवल भावना होइन, त्यो गहिरो ध्यान हो। जब मन पूर्ण रूपमा रामनाममा डुब्छ, तब समुद्र पनि बाटो बन्छ, पर्वत पनि औषधि बन्छ, र युद्ध पनि सेवा बन्छ। हनुमानको साहस बाहुबल मात्र होइन, त्यो ध्यानबाट जन्मिएको आत्मबल हो।
अब यही ध्यानको जीवित उदाहरण मेरो आफ्नै जीवनमा पनि देखिन्छ। मेरो आफ्नो कार्यस्थलमा जब ग्राहक सेवा तथा वस्तु वा जानकारी माग्दै आउँछन्, तब मलाई केवल औपचारिक रूपमा उत्तर दिएर पुग्दैन। मेरो physical mind, intellectual mind र emotional mind तीनै एकैचोटि पूर्ण रूपमा जागृत हुन्छन्। ग्राहकको आवश्यकता, चाहना, उत्सुकता र समस्यालाई केवल सुनेर हुन्न, ती सबैलाई स्पर्श गर्नु पर्छ भन्ने लागेको हुन्छ। शरीरले सेवा गर्छ, बुद्धिले समाधान खोज्छ, र हृदयले सम्बन्ध बनाउँछ। यही त्रिविध एकाग्रताले सेवा केवल काम रहँदैन, सेवा साधना बन्छ। त्यही क्षण मेरो हृदय र चित्तमा जुन निस्काम कर्मको आनन्द प्रकट हुन्छ, त्यो कुनै पुरस्कार, प्रशंसा वा लाभको अपेक्षाबाट होइन, त्यो त स्वयं कर्ममै विलीन हुँदा उत्पन्न हुने दिव्य रस जसरी रसाउँछ। यसरी सेवा गर्दा आफूलाई होइन, कर्मलाई होइन, परिणामलाई होइन केवल उपस्थितिलाई महसुस हुँदोरहेछ। यही उपस्थितिलाई सायद गीताले कर्मयोग भन्छ। यही उपस्थितिलाई ध्यान भन्छ। यही उपस्थितिलाई जीवन भन्छ होला।
न्युटन रुखमुनि बसेर गुरुत्वाकर्षणको नियम खोज्दा, आइन्स्टाइन समय र स्थानको रहस्यमा डुब्दा, रमण महर्षि “म को हुँ?” भन्ने प्रश्नमा विलीन हुँदा, रामकृष्ण परमहंस भक्ति र ब्रह्मज्ञानमा एकाकार हुँदा यी सबै फरक नाम, फरक क्षेत्र, फरक भाषा हुन्, तर सबैको मूल एउटै हो, “ध्यान”। ध्यानले मनलाई शुद्ध गर्छ, दृष्टिलाई स्पष्ट बनाउँछ, र कर्मलाई पवित्र बनाउँछ। ध्यान बिना कर्म थकान हो, ध्यानसहित कर्म साधना हो। ध्यान बिना जीवन दौड हो, ध्यानसहित जीवन यात्रा हो। आजको संसारमा हामी बाहिर धेरै काम गर्छौं, तर भित्र थोरै बाँचिरहेका छौं। जब भित्र बाँच्न सिकिन्छ, तब बाहिरको काम स्वतः सुन्दर हुने रहेछ। यही कारण रहेछ कि ध्यान कुनै अलग अभ्यास होइन, यो जीवन जिउने शैली हो। ध्यान कुनै पलायन होइन, यो जीवनप्रतिको पूर्ण उपस्थित हो। ध्यान कुनै कमजोरी होइन, यो सबैभन्दा ठूलो शक्ति हो।
अन्ततः यही सत्य उजागर हुन्छ जहाँ मन शान्त छ, त्यहाँ काम कुशल हुन्छ। जहाँ चेतना उज्यालो छ, त्यहाँ जीवन सफल हुन्छ। जहाँ ध्यान छ, त्यहाँ कार्यकुशलता केवल परिणाम होइन, स्वभाव बन्छ।


