प्रेममाला

अनेक जन्म जन्म्याँ, चौराशी लाख काटी
थरिथरि अनुभव गरिसक्याँ, देह साटी साटी ।।
प्रकृति पुरुष भोगीलियाँ, आँफूलाई कत्ति मेटी
हृदय भरिकन यहाँ, प्रेमरस पिउँ भेटी ।।१।।

कदाचित मै भ्रममा, यसै भोगी मरिगया भने
जगत रसमा डुबी, प्रेमरस भुलिगया भने ।।
किञ्चित माफी पाउँला, हे ख्वामित् मनडुब्या भने
तिम्रा चरण कमलमा, तनै छोडिदिया भने ।।२।।

फगत बाच्न्याँ यसै, मनभरी आशक्त बोकि
प्रेमराग नबनी कसै,  रागमै टासिन्याँ होकी ।।
पुलकित मन लाग्न्याँ, सदा अहोभाव राखी
प्रेम नै अन्तिम बुझ्न्याँ, मनुष्य जुनि बोकि ।।३।।

घटना र प्रभाव

वि.पि. कोइरालाद्वारा लिखित हिटलर र यहुदी एक सशक्त कथा हो, जसले मानव मनोविज्ञानको एक दरिलो प्रस्तुती देखाएको छ । कुनै घटनाले एक ब्यक्ति मात्र नभई त्यस समाज, राष्ट्र लगायत समग्र मानव सभ्यतालाई नै कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई ज्वलन्त रुपमा यसमा बुझाउन खोजिएको छ । यसले मुख्य पात्रको भित्री संघर्ष, भय, र मानवीय अस्तित्वको प्रश्नलाई पनि उठाउँछ ।
म को भूमिकामा रहेका पात्र मार्फत उसको आफ्नै, अनि उसँग भौतिक तथा भावना एवं बिचारमा जोडिएका पात्रहरूको बिचार , भावना सहितका चरित्रहरुलाई बहुआयामिक रुपमा प्रस्तुत गरिएको छ ।
तीनै जना महिलाकै रुपमा रहेर पनि सामाजिक, पारिवारिक तथा सांस्कारिक रुपमा भिन्न अवस्थितिमा रहेको कारणले रेबा र इल्जेले बुझेको प्रेम र लक्ष्मीले बुझेको प्रेम आ-आफ्नो तरिकाको बुझाईलाई प्रेमको रुपमा अनुसरण गरिएको छ । यस कथामा लक्ष्मी एक महत्वपूर्ण पात्रको रुपमा उभ्याइएको छ जसको भूमिकाले कथाको मुख्य भावनात्मक तथा दार्शनिक पक्षलाई उजागर गर्छ । यीनले नारीको प्रेम, समर्पण, विवशता, सामाजिक परिस्थितिकोृ मार र द्वन्दलाई प्रतिबिम्बित गर्छिन् । यहाँ लेखकले यी पात्र मार्फत प्रेम, करुणा, माया र सहानुभूतिले भरिएको स्त्री जो मानवता र प्रेमको सर्वाेच्चता, सामाजिक अन्याय र नारीको स्थिति, युद्ध र हिंसाको प्रभाव, द्वन्द र आत्मसंर्घष, अशल नारीत्वको धर्म एवं कर्तब्य जस्तो कुरालाई बुझाउन खोजिएको देखिन्छ । रेबा एक यहुदी महिला हुन्, जो सुन्दर, शिक्षित, र भावुक छिन्। उनी प्रेम, परिवार, र अस्तित्वको सवालमा गहिरो भावनात्मक छिन् । उनी डेविडकी प्रेमी, पत्नी हुन् । यहुदीहरू माथि भइरहेको अत्याचारका कारण उनी पीडित छिन्। उनको चरित्र मार्फत यहुदी महिलाहरूको असहाय अवस्था, डर, र भावनात्मक पीडा देखाइएको छ। इल्जे जर्मन महिला हुन्। उनी कथामा नाजी शासनको समर्थन गर्ने पक्षमा छिन् वा त्यसबाट लाभ लिने पक्षमा छिन्। उनको चरित्र यूरोपेली समाजभित्रका विभिन्न विचारधाराहरूलाई दर्शाउन प्रयोग गरिएको छ। उनी यहुदीहरूप्रति विशेष रूपमा दयालु छैनन्, बरु उनीहरूलाई कमजोर र पराजित समूहका रूपमा हेर्छिन्। उनको चरित्र नाजी मानसिकता तथा यहुदीहरूप्रति देखाइने उदासीनता वा उपेक्षा दर्शाउन प्रयोग गरिएको छ। डेविड कथाका एक यहुदीहरूको प्रतिनिधित्व गर्ने पात्र हुन्, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। उनी एक यहुदी हुन्, जो नाजी शासनको आतंकबाट बच्न संघर्ष गरिरहेका हुन्छन्। उनी शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा बलियो र विद्रोही स्वभावका छन्। हिटलरको दमन र यहुदीमाथिको अत्याचारका कारण उनी निराश र भयभीत छन्, तर उनलाई आफ्नो अस्तित्व जोगाउनुपर्छ भन्ने भावना बलियो छ, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। नारायणन् दक्षिण एसियाली मूलका व्यक्ति हुन् । उनी यूरोपमा आएर बसेका छन् र त्यहाँको सामाजिक तथा राजनीतिक परिस्थितिलाई नियालिरहेका छन्। उनी सहृदयी छन् र अन्यायको विरोध गर्ने मनोवृत्ति राख्छन्। उनका विचारहरूमा दार्शनिकता पाइन्छ, उनी घटनाहरूको गहिरो विश्लेषण गर्छन्। उनले यहुदीहरूप्रति सहानुभूति देखाउँछन् लेखकले नारायणन् मार्फत दक्षिण एशियाका मानिसहरू द्वितीय विश्वयुद्धलाई कसरी हेर्थे। अनि एउटा तटस्थ दृष्टिकोण राख्ने समाज कसरी अन्याय देखेर प्रभावित हुन सक्छ र युद्धमा सीधा संलग्न नभएका मानिसहरू पनि भावनात्मक रूपमा प्रभावित हुन्छन् भन्ने कुरा उ मार्फत दर्शाउन खोजेका छन् । खोरण्डे नाजीहरूको समर्थक हुन् र उनीहरूकै तानाशाही नीति अनुसार चल्छन्। उनी यहुदीहरूलाई कमजोर, तुच्छ र नष्ट गर्नुपर्ने जातिका रूपमा हेर्छन्। उनी हिटलरको विचारधाराको अन्धभक्त झैं प्रस्तुत गरिएका छन्। कथाले नाजी शासनको आतङ्क देखाउन खोरण्डेलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। उनको भूमिका यहुदीहरूमाथि गरिएको अमानवीय व्यवहारलाई प्रतिबिम्बित गर्नका लागि रहेको छ। खोरण्डे जस्ता पात्रहरू द्वितीय विश्वयुद्धको वास्तविक घटनाहरूको प्रतिनिधित्व गर्ने रूपमा प्रस्तुत गरिएका छन्। लेखकले खोरण्डे मार्फत नाजी अत्याचार कति क्रूर थियो। निर्दोष मानिसहरू कसरी शक्ति र घृणाको शिकार बने। तानाशाही शासन कति निर्दयी र अमानवीय हुन सक्छ भन्ने कुरा देखाउन खोजेका छन् ।कथा मुख्य रूपमा पात्रहरूको मनोदशा, मानवीय संवेदनशीलता, अन्याय र अस्तित्वसँग सङ्घर्षको गहिरो विश्लेषणमा केन्द्रित छ । द्वितीय विश्वयुद्धको पृष्ठभूमिमा यहुदी समुदायमाथि भएका अत्याचार तथा हिटलरको तानाशाही शासनलाई उजागर गर्नुको साथै कथाले केवल ऐतिहासिक घटनाको चित्रण मात्र नभई मानवीय संवेदना, अन्याय, अस्तित्व सङ्घर्ष, र मनोवैज्ञानिक द्वन्द्वलाई समेत समेटेको पाइन्छ। जसले पाठकलाई कथामा भावनात्मक रूपमा संलग्न गराउँछ । त्यसैगरी कथाले केवल अतीतको घटनालाई चित्रण गर्ने माध्यम मात्र नभई, भविष्यका लागि पाठ सिकाउने मानविय एवं सामाजिक चेतनाको पनि सन्देश दिन्छ।
यसमा भाषा, शैलीको प्रस्तुति सरल एवं प्रभावशाली छ । पात्रहरूको मनोदशा र घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ । लेखकले विवरणात्मक शैलीलाई प्रयोग गरी घटनाहरूलाई जीवन्त बनाएका छन्, जसले कथा थप प्रभावशाली देखिन्छ । थरि थरि ब्यक्तिको थरि थरि सोचाई हुने, जुन कुरा उसका जीवनका भोगाईले पर्ने इम्प्रेसन तथा असोसिएनले नै निर्धारण गर्छ र आफ्ना कार्यशैली र सोचमा प्रभाव पार्दछ भन्ने कुरालाई विभिन्न उदाहरण सहित अनेक पात्रहरु उभ्याई बुझाउन खोजिएको छ ।
कथा केवल भौतिक यातनाको वर्णनमा सीमित छैन; यो मनोवैज्ञानिक पक्षमा गहिरिएर प्रवेश गर्छ । मुख्य पात्रले हिटलर र नाजी विचारधारालाई बुझ्ने प्रयास गर्छन्, जसले गर्दा पाठकलाई द्वन्द्वात्मक सोचको अनुभूति गराउँछ। कथाको अन्त्यले मानव चेतनाको गहिराइमा प्रश्न उठाउँछ – के हिटलर मात्र दोषी हो, वा समाजकै सामूहिक चेतनाले यस्ता तानाशाह जन्माउँछ भन्ने कुरा समेत चित्रित गर्दछ । कथामा भागवत गीता यस मानव सभ्यतामा सर्वत्र अनुसरण गर्ने गरी आध्यात्मिक एवं धार्मिक ग्रन्थ समेत मान्ने अभ्यास छ , यहाँ पनि सोहीलाई आधार समेत बनाई हिटलरले अकर्ता भावमा रहेर आफ्नो कर्तब्य धर्म मात्र त निर्बाह गरेको हो भन्ने तर्कलाई समेत थोरै भएपनि जोड्ने कोसिस भएको छ ।

समग्रमा भन्नुपर्दा यस कथाले मुलतः

मनोवैज्ञानिक द्वन्द्व
अत्याचार र सहनशिलता
तानाशाही र मानवता
यथार्थवाद र अनुभुती
सामाजिक चेतना र चेतावनी
मानविय संवेदनशीलता
प्रेम प्रवाहको विविधता
आध्यात्मिक तथा धार्मिक सोच

आदि जस्ता कुराहरुमा केन्द्रित गर्दछ ।

बिहानी सत्संग

उषासँगै सत्संगले चुम्दा धरती,

नवजीवनले गर्छ अभिनन्दन।

पवनको सुषमा गुञ्जन्छ मनमा,

नवयुगको सुनिन्छ स्पन्दन।

तिम्रो स्पर्शले खुल्छन् कलिका,

गुँडबाट निस्कन्छ चञ्चल पंछी।

सरिता झनै मुस्काउँछ नाच्दै,

स्वर्णिम ज्योति छर्दै अञ्जली।

मौन प्रभातको सुन्दर रहस्य,

शीतको मोती बर्सिन्छ मनमा।

निर्मल हृदयमा उमङ्ग जगाई,

शुद्धताको गीत गुञ्जन्छ गगनमा।

कान्तिकी कोमल देवी उषा 

र अनुपम स्वामीको छायाँ।

जागृत गरि हाम्रो चेतनालाई,

प्रेम, भक्ति, शान्ति बन्दैछ यहाँ।

दया यति गर श्री हरि

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

तिम्रा सुस्तरी पदचापहरु
नभुलिने गरी गन्न सकुँ म
बसन्तका पालुवाले झैँ
तिम्रा टेकाई चुम्न सकुँ म ।

तिमीले ओडाउने आकासका
घुम्टोभरि अटाउन सकुँ म
तिमीले फिँजाएका धर्तिभरि
लडिबुडी सयन गर्न सकुँ म ।

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

तिमीले खटाएका ऋषिहरू
सधैं सुनिरहन टिकुँ म
तीनले औंलाएका पथहरु
सधैं पहिल्याइरहन सकुँ म ।

संगीत कला र साहित्यमा
मस्त झुमिरहन सकुँ म
तिमीले सिर्जेका प्रकृतिमा
सधैं फक्रिरहन सकुँ म ।

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

हृदयको कुरा (Nuvesh HereNow)

चराको चिर्बिराहटमा
व्युंझेको म
उदाएको सुर्यसँगै
रङ्गहरु फैलींदा
घामपानीमा ईन्द्रेणीको चित्र
चोरुँ चोरुँ लाग्यो ।
दियालोमा कविता कोर्न
सकारात्मक हृदय
हरुको चित्र भित्रै
छिरुँ छिरुँ लाग्यो ।।

बादलमा शुत्र (Bhawana HereNow)

निलो आकाशमा कोरिएका
ति अनेकौं बादलका आकारले
स्थीर मनलाई
झट्का झैं दियो ।
नियालेर हेर्न खोजेका
मेरा हृदयका नयनले
आज प्रकृतिको चित्रमा
एउटा मिठो शुत्र भेटिदियो ।।

गर्न पाउनुको आनन्द

एआईलाई थाँति राखी
तिम्रै गीतमा नाच्न पाउनुको आनन्द
प्रत्येक हरफहरूमा तिमिसँगै अँगालिएर
कोरिन पाउनुको आनन्द
निर्दाेष पुञ्जुहरुले कानै छेऊ
खुसुक्क घुरिदिँदाको आनन्द
सागका पातहरु हतारमा खानपाउँदा
खरायोका चञ्चले आँखाले
अर्पण गरिरहेको धन्यवादमा आनन्द
कान्लाहरुमा बहुलक्षण भई डोलाइरहेका
प्रकृतिका छटाहरुमा रम्न पाउनुको आनन्द
सनराईजको प्रतिक्षामा
बार्दलीबाट चिह्याइरहने प्यासी हुनको आनन्द
आहा भान गराउन बादलले फेरिरहने
आकारमा रम्न पाउनुको आनन्द
तिम्रा कुरुसहरुले तँछाडमछाड गरि
धागालाई गँठ्याउन पाउनुको आनन्द
इन्द्रेणीसँग पैँचो मागी
अनेक रंगका आकारहरुले बेरिन पाउनुको आनन्द
बच्चालाई खुवाउँदा सँगसँगै आमाका ओठ खेलिरहे झैँ
हरेक बुट्टाहरुमा गर्न पाउनुको आनन्दमा
लडिबुडी गर्ने साथीलाई देख्न पाउनुको आनन्द
आवश्यक्तामा सेवादिन पाउनु र
आँफूले केहि गरिरहन पाउनुको आनन्द 🪔🙏  

तिम्रो खोजिमा

आजकल ममा तिमी भेटिने चर्याको भाव खनियाखर्कबाट मडारिँदै अँघालिने बाक्लिँदै आएको कुहिरो झैँ आभास हुन्छ । किन किन ममा तिम्रो संगतीका आर्द्रता विस्तारै घनिभूत हुँदैछन् । एफोर्टले भ्याएसम्म सेल्फरिमेम्बरिङ्गको विविधतामा तिम्रै अनेक ढंगहरुलाई हृदय र बिबेक भरि अब्जर्भेसन भइरहन थाल्या जस्तो छ । मनका तरङ्ग मात्रले होस् या अक्षरहरुका अनेक अटेसमटेसियाईँले होस् जुन रस भरेपनि तिम्रैतिर लक्षित सबै कविताहरु कोरिने गरेकाछन् । नपत्याए उसको जुँगा सहित उसले एक्सपियरेन्स र अब्जर्भेसन गरिरहने विभिन्न ब्रह्माण्डिय नलेज अथवा परमात्मा अनुभवको हृदयले मलाई छोइरहने प्रेमिल स्पदनलाई छामिहेर, उसका अनेक ज्ञान सिक्न एवं जिन्दगीलाई उपयुक्त कलाले जिउने सिक्न यसै देशका मात्रै त के यस धर्तिमा आम मान्छेले सबैभन्दा उत्तम ठानेको धर्तिदेशहरु समेत त्यागेर उसकै अनुशासन, आदेश, नियम, गुरुत्वलाई ससम्मान पुज्दै “हस्, हुन्छ, ल” का भाकाहरुमा उहि तिमी परमात्मालाई पाउने अभिलाषाका तिब्र प्यासी साथीहरुलाई जिब्रैले चाखिहेर, अनेक छन्दमा पुन्जुहरुका मुखडा एवं क्रिडाहरुमा खेलिहेर, गाढा रक्तमालाका परिधिलाई बुट्टयाएको रंगलाई निधारमा दलिहेर, गितारका सुरतालले मेरा नयन रसाइरहेका तरङ्गहरु सुनिहेर, गोरखनाथ र कालीको उर्जाले संरक्षित लयबद्ध मेरो देशलाई बुझिहेर, कसैलाई केहि सहयोग, सेवा गर्दा पाउनेको खुसी सन्तुष्टिमा उसका रसाएका हृदयमा छामिहेर, खरायोलाई केटाकेटीले दुबो खोज्दै र गाँजर टुक्र्याउँदै मुखैमा खुवाउँदा खरायोले दिइरहेको अशब्दी “धन्यवाद” देख्ने हृदयहरुलाई बुझिहेर, भजन किर्तन गित कविता गुनगुनाउँदा “प्रेम र अहोभाव” ले छचल्किएर नुनिलो झारिदिने रसिला आँखाहरुलाई सोधीहेर, घरि यसो गर्ने घरि उसो गर्ने मेरा छोराछोरीका अबोध बालक्रिडामा च्याहिहेर, मप्रतिको अन्जान कियरिङ्गको मेरी उनिको तिर्सनालाई निहालिहेर, मैले निभाएका जिम्मेवारीहरुमा मेरा हाकिमले हौसला दिइरहेको आभासलाई मूल्यांकन गरिहेर, बिभिन्न सेवाको अपेक्षा गरी धाएका  ग्राहकहरुको सन्तुष्टिका सासमा नजिकिइहेर, के ती सबैमा झल्किरहने, बहिरहने, जमिरहने उहि एउटै तिमी नै होइनौ र ? मेरा हरेक बिवेक र भावनामा बिराजमान उहि एउटै तिमी नै होइनौ र ? जतापनि उसैलाई देख्छु, उसैलाई छुन्छु, उसैलाई सुन्छु, चाखिरहन्छु अनि सुँघिरहन्छु भन्थे रे प्रल्हादले सानैमा, त्यो घटना साच्चै साँच्चै भो क्यारै, थ्यो क्यारै लाग्न थालेको छ आजकल यो पाको उमेरमा बल्लतल्ल केही न केही मलाई पनि ।

एकाबिहानै सानो कदको तन तनक्क तन्क्याएर भर्खरै खुइल्याएका तालुजन्य टाउकोको बीचमा बचाएर राख्न खोजेका तिलचामले टुप्पी दायाँ हातले सुम्सुम्याउँदै अनि कतै घुम्न जाउँ जाउँ लागेका पैतालाका काउकुतीहरुलाई बायाँ हातले सुम्सुम्याउँदै र छोराछोरीहरुको स्कुलको जाडो विदालाई समेत इंकित गर्दै आफ्नो हृदयको नैसर्गिक स्वतन्त्रतालाई तिमीले नै मेरा लागि बुनिदिएको उहि मेरी उनिसँग बिन्ती तेर्स्याएँ । अचानक ठूलै बज्रपातै परे झैं मेरा कुराले उ अनायास झस्किई, मलाई पनि झुक्किएर साँच्चै ठूलै अपराधै पो गरेँछु कि झैं पनि लाग्यो शुरुमा त तर तिमीले नै बुनिदिएका अनि उनि मार्फतै जन्मिएका मेरा छोराछोरीहरुको बालापनका हठ, विन्ती र मायालुपनले होला विस्तारै उनले ती खहरे भावनाका भेललाई तराईका फराकिला भागमा जसैगरी सुस्तरी बग्न दिईन् । म त खुबै खुसीएँ, लाग्थ्यो मैले आत्मै छाम्न भ्याएँ, परमात्मै पुग्न भ्याएँ । हतपत् हौसिएर अरुदिन भन्दा अलिक चाँडै हस्याङ्गफस्याङ्ग मै कपडा लगाएर अफिस दौडिएँ, बाटामा अरुदिन देखिने छेउछाउका बुट्यानहरुको हावाको तालमा नाचिने नृत्य नभएजस्तै भएछ, अजपा जाप सहितको डिभाइडेड एटेन्सन् त के एकोहोरो ब्रिदिङ्ग कै ध्यान पनि बारम्बार बिर्सिएर उदिमै मच्चिएछ, उता पुगेर थाहा भयो अफिस छिर्न पाससहितको आफ्नो आइकार्ड बोक्नै भुलेँछु । एउटा रिक्वेस्ट निवेदन दिएर नयाँ पास लिई अफिस पुग्ने वित्तिकै हाकिमलाई आफ्नो एउटा घरायसी समस्या पर्यो भन्दै केहि दिनको विदाका लागि बाहाना गर्दै अनुरोध गरेँ । विदा अधिकार होइन, सुविधा मात्र हो, अधिकारीको स्वविवेक र अवस्थाको गाम्भिर्यता एवं औचित्यतालाई हेरेर मात्र निर्णय गरिनेछ भनेर लेखेको कर्मचारी विनियमावलीको दफा मतिर पानै पल्टाएरै तेर्साए । उहाँलाई र मलाई दुबैलाई थाहा भएकै कुरालाई उहाँले पहिलो पटक सिकाउँदै झैं गर्दै मेरो विदा अस्विकृत गर्न  खोजेपनि पनि मलाई आफ्नो काम जसरी पनि बनाउनु थियो त्यसैले उहाँसँग तर्कले जुध्न तिर भन्दा विन्तीको सुत्रतिर लागेँ, बरु उहाँका सत्चरित्र, बानी ब्यहोराको एकछिन खुलेरै अनेक शब्दहरुले झकिझकाउ पारिदिएँ । सायद फोर्थ वे ले भनेको त्यहि भएर हो कि आम मान्छेको म्याक्यानिकल अहमताले बेहोसीमा उसलाई उसकै बारेमा सुन्न पाएको सिँघारपटारले प्रफुल्लित हुन्छ र यहाँ पनि त्यहि सुत्र खुब काम गर्यो यसपाली । 

तिम्रै हृदयका ओतप्रोतले हुनु पर्छ मेरो बसोबास रहेको भिडको घनत्वभन्दा भौतिक दूरि अलि पर तिमीले प्रशस्तै फुर्सद निकालेर बुट्टा भरेको शान्त, स्वच्छ, निर्दाेषताले भरपुर पाखिलो धर्ति, सुकोमल पुन्जुहरु, मन्त्रमुग्ध चिरबिरहरु, अनि रंगीबिरंगी बोटबिरुवाहरुले सजाएर यो हृदयलाई झपक्कै पार्दै उ मार्फत तिमीले गर्विलो स्थान रोजेछौ, भरिलो ठाउँ खोजेछौ। किन किन हरेकपटकको मेरो भ्रमणमा झन् उपयुक्त झन् योग्य ठाउँ लागिरहन्छ, अनि उसमै झल्किरहने तिम्रो यो रोजाई ।

तिम्रो यो सनराइज रुपलाई मेरै बसोबासकै ठाउँबाट कहिल्यै नदेख्ने, नभेट्ने जस्तो अनुभव भएरै त होला बाहिर चिसो लाग्ने भौगोलिक बातावरण भएको स्थान भनेर पात्रोहरुमा लेखिएको भएपनि भित्र मृदुल न्यानोपन निरन्तर आभास भइरहेको खुला आकास मूनि खुला ओतबाट तिमी कतिखेर आउँछौ भन्ने तिम्रो प्रतिक्षाका तड्पन भनुँ या तिब्र प्यास भनुँ या तिमीलाई यो सनराइजमा हेर्ने राग भनुँ यो पाली अलि छुट्टै अनुभुति भइराछ मलाई ।