परिवर्तनकारी सोच, प्रेम एवं मनोवैज्ञानिक ओहापोह

“त्यो रात्री पनि सधैंको जस्तो साधारण रात्री थियो, अन्धकारमा मानिसको लोक थाकेर मरेको चिसो, जाडोले कठांग्रिएको, काजलको आकासमा एकनाससँग सलमा सितारा झल्केको हेरिदिने कोही छैन, घर घरमा बत्ति निभेका छन्, ढोकाझ्याल टम्म छन्, शुन्य सडकका खाँवामा बत्ति घोरिएर भुईँ तिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रीको निस्वास जस्तो बत्ती बत्ती मूनि झुण्डिएर अडिरहेको छ । निस्पट्ट शान्ती छ शहरमा, झन् जाडोले शान्तीलाई जमोठ जस्तो डल्लो पारेर अड्याइदिएको छ । अरु जाडाको रात्री सरह नै त्यो रात्री पनि थियो, जीवनको कार्यरत्ता एकदम थामिएर अडेको, मानौ तमाम विश्व स्पन्दनहिन भएको छ ….।” शिर्षकको मर्मलाई जीवन्तता दिने गरी लेखकले पाठकसामु बिछ्याएका एक महत्वपूर्ण अंश ।

बिपी कोइरालाद्वारा लिखित श्वेत भैरवी कथा संग्रह भित्रको एउटा कथा “एक रात” एक शसक्त नेपाली कथा हो, जसले मानवीय मनोविज्ञान, समाज र नैतिक द्वन्दलाई जीवन्त रुपमा उजागर गरेको आभास हुन्छ । चरित्र प्रधान कथा लेखनशैली, पात्रको मनोवृत्तिलाई सामाजिक, साँस्कृतिक र मानविय प्रवृत्तिसँग न्यायपूर्ण रुपमा पाठकको मस्तिष्क एवं भावनामा छर्लङ्ग पारी पस्किएको आभाष हुन्छ । यस उपन्यासमा मृत्युको छायाँमा बिताएको एक जवान पुरुषको जीवनको एउटा अन्तिम रातको मानसिक संघर्ष, प्रेम, पछुतो बीनाको निर्णय, आफ्नो उद्देश्य प्रति श्रद्धापूर्वक संकल्प रहित ब्यक्तित्व आदि कुराहरुको जीवन्त रुपमा प्रश्तुती देखिन्छ ।
मुख्य पात्र भर्खरै विवाहित एक युवा हुन्, जो जेलमा भोलिपल्ट झिसमिसे बिहान अघि नै फाँसी दिइने प्रपन्चको पर्खाइमा छन् । त्यस रात उनले आफ्नो सम्पूर्ण जीवन, प्रेम, विवाहित जीवन, सन्तानको बाउ र मृत्यबोधको गहिरिएर समिक्षा गरिरहेका हुन्छन् । उनी एक राजनीतिक क्रान्तिकारी युवा शक्ती हुन्, राणाकालिन शासन ब्यवस्थाको सरकारविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका छन् । त्यो एक रातभरि उनी अतित, प्रेम, वर्तमान अवस्थाको पिडा र मृत्युको भय एवं आफ्नो संकल्प शक्तीको मनोभावनासँग नजिकिएर परिक्षण गर्दै हुन्छन् । उनी आफ्नो भर्खरै विवाहित पत्निलाई पनि सम्झन्छन् त्यसगरी आँफुले देश र जनताको भविष्यका लागि संकल्पित भएर क्रान्तीमा होमिएको बलिदानको अवस्थालाई र बिचारधारालाई पनि सम्झिन्छन् । घरि घरि आफ्नो जिन्दगीको बारेमा आँफुले गरेका निर्णयहरुको पनि पटक पटक पुनर्विचार गर्न खोजेको बुझिन्छ । मृत्यु लगभग निश्चित जस्तै भएपनि कहिँ कतै कुनै कुराले न रोकिन्छ कि भन्नेमा पनि युवक झिनो आशावादी भएको जस्तो पनि भान हुन्छ जसले गर्दा आफ्नो तथा परिवार र समाज एवं समग्र राष्ट्रकै अवस्थाको महत्वबारे पनि गहिरो चिन्तन गर्छन् । यो कथा एउटा सिंगो रातभरि घट्छ, जहाँ नायकको मानसिक अवस्था क्रमशः प्रेम, स्विकारोक्ती र आत्मसमर्पण तर्फ अग्रसर हुन्छ । घरि घरि त्रास, पिडा त घरि घरि आत्म संकल्प जस्तो विरोधाभास अवस्थाले पनि उसलाई झस्काइरहन्छ । उनी आफ्नो नवविवाहित पत्निसँगको भावनात्मक प्रेम र निर्दोषता प्रति भावावेगमा आउँछन् । गर्भमा रहेको आफ्नो बच्चा र बाउआमाको सपना साकार पार्ने जिम्मेवारीको समेत घरिघरि आत्मपिडा महसुस गर्छन् ।

“… कमिस्नरले कोमल स्वरमा अन्तिम बार सोधेः तिम्रो अन्तिम इच्छा के छ ? केही भन्नु छ ? उसले भन्यो, तमाम किशोर युवकहरुको मानविय मर्यादा र सुख सम्भव हुन जाओस् ।…”
“…आफ्नो छोराको कोठामा गए, उ उत्तानो परेर सुतिरहेको थियो । कमिस्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे, अनि विस्तारै गएर उसलाई छोए ।…”
“…किशोरले आफ्नै बाणीलाई अर्कोले बोलेको जस्तो गरी सुन्यो । कमिस्नरको मसिनो बोली पो सुनियो भनेको मानेनौ माफी माग भनेको, के गर्नु आफ्नो ड्युटी गर्नै पर्ने भो । किशोर मुस्कुरायो, भन्यो मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गइरहेको छु ।…”

कथामा कमिस्नरले किशोर प्रति करुणा भाव प्रकट गर्दै आँफूले गरेको गल्ती सम्झेर माफी मागे कानूनी रुपमै क्षमा पाईने र दण्डबाट छुटकारा पाइने अभिलाषा राख्छन् । किशोरलाई देखेर उसको आफ्नो छोरालाई हृदयमा जोडेर संवेदना जागेको हुन्छ । किशोर भने आफ्नो देशभक्ती, जनआकांक्षाको सेवा, परिवर्तनकारी सोच एवं संकल्प प्रति दृढ देखिन्छ ।

“…अन्तिम घडि आएछ, चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट हठात् समाप्त हुने छु र छैनका बीच छुट्टयाउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको ….”

घरिघरि किशोरमा द्वैद मनस्थिति पनि झलिन्छ अनि लगभग निश्चित देखिएको मृत्यको चित्र र त्यस अघि आँफू जीउँदो अवस्थामा रहेको बीचको सानो दूरीलाई गहिरिएर बिचार गर्छ ।

“…उसका आमा–बा ठेट ग्रामिण दम्पति, उनले बुझे होलान् र राजनितिका कुरा ! उसका बालाई छोरामाथि बढो आशा थियो, त्यसैले अंग्रेजी पढाउने नयाँ कुरा तिनले गरे, छोराले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो । …”
“…उसले बैनिलाई राखेर भन्यो, “म तिमीलाई पढाउँछु, तिमीले पढ्नु पर्छ । ….बैनी बढो उत्साही बालिका थिई । उसले भनी, म पढ्छु दाई ! म पनि ठुलो हुन्छु, धेरै पढ्छु । …”
“…बैनी भन्थी, आमा म बिहे गर्दिन । आमा भन्थिन् के भनेको रे, बिहे गर्दिनस् ? अँहँ गर्दिन । देश सेवा गर्छु पढेर आमा भन्थी बैनी…”
“… तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रुपमा ढाल्छु । उसले भन्यो यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गीनी बनाएर उपस्थित गराउँछु ।…”
“… एक दिन उसले दुलहीलाई भन्यो साँझतिरः राधा हिँड जाउँ नदितिर घुम्न, …अनि राधा खुसी भएकी जस्ती थिई, तर भन्न चाहिँ यत्ति भनीः तर मलाई लाज लाग्छ । …उसले भनेको थियो अझसम्म लाज गएको छैन, तिम्रो आमा हुने बखतमा पनि ? …”
“… प्राणनाथ ! अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट बोली निस्किएको थियो, राधाको मुखबाट प्राणनाथ ।…”
“… थुनिएपछि उसले सुन्यो कि राधाले छोरो पाई ।…”

किशोरका बाआमा गाउँले परिवेशमा जन्मिएका, हुर्किएका अनि दैनिकी चलाईरहेका तथा तत्कालिन सामाजिक, सांस्कारिक रितीरिवाजमा चल्ने प्रवृत्तिका भएकाले सो घेराबाट निस्किन गारो संघर्ष मान्ने स्वभावका हुन्छन् । तैपनि बाउले छोरालाई आधुनिक शिक्षाको केही अनुभवमा लगाउने साहस र इच्छा चाहिँ राख्छन् र अंग्रेजी विषय एवं थप उच्च शिक्षाका लागि भारतसम्म पठाउने साहस पनि गर्छन् । बाआमाले आँफूमा छोरा प्रति पारिवारिक भविष्यको ठूलो सपना कोरेका हुन्छन् । छोरालाई राम्रो शिक्षादिक्षा गराएर, राम्रो रोजगार पाउने योग्य बनाएर समग्र परिवार तथा त्यो सानो गाउँको ईज्जत बनाउने ध्येय राखेका हुन्छन् । किशोरकी एउटी बैनी हुन्छे सानी, शुसिल जसलाई नयाँ लुगा लगाइदिई नौलो भेषमा समाजमा उभ्याउँदै, पढाइलेखाई गराई महिलाले पनि पढेर आफ्नो जीवन नयाँ तरिकाले जीउन सक्ने सक्षम बनाउने चाहाना राख्छ । यस्तो बुझेर बैनी सारै खुसी हुन्छे । पढेर राम्रो, ज्ञानी, शिक्षित हुने र देशको सेवा गर्ने देशभक्ती भावना जस्तो ठूलो कार्यमा होमिन चाहाना राख्छे । यो दृष्यले के देखाउँछ भने नव बालक, युवाहरुमा शिक्षादिक्षा, कर्मठता, सक्षमता जस्ता क्षमतावान कुराहरु देशकै लागि प्रयोग एवं उपयोग गर्नु पर्छ भन्ने अन्तरहृदय र बिवेकमा गडेको छ । तर आमालाई भने छोरी मान्छे भनेको अर्काको घरमा बिहे गरेर जाने, त्यहाँ घाँस दाउरा, मेलापात, पशुपालन र भान्साको काम गर्ने जिम्मेवारी हुन्छ त्यसैले त्यस्तो कुराहरु मात्र सिक्ने हो छोरीले त भन्ने मान्यता राखेकी हुन्छिन् । तर किशोरको परिवर्तनकारी सोचले बैनी समेत पढ्न पाउने भएकी हुन्छे । अर्कातिर बाआमाको सोच छोरालाई बिवाह समेत गराइदिने अनि परिवारको हेरचाह एवं सन्तान जन्माउन लगाई पुस्तान्तरण गर्ने अभिलाषा मनमा पालेका हुन्छन् । त्यसैकारण उसको भित्री चाहाना नभइकनै बाआमाको आज्ञा मानेर एउटी सानी निर्दोष केटीसँग बिवाह पनि गर्छ । बिवाह पश्चात भने आफ्नी पत्नीलाई समेत आफ्नै बैनी जस्तै मायालु देख्छ अनि उसैगरी माया ममता सहित हिम्मतसाथ पढाउन लेखाउन पनि लगाउँछ । उनीहरु बीच मिठो सम्बन्धको प्रेम बन्छ, बैवाहिक जीवनको प्रेमात्मक सोत र वातावरणलाई सामाजिक रुपमा नै नयाँ आयामहरु थप्ने हेतुले किशोरले आफ्नी पत्नी राधालाई घुम्न जानु पर्छ पतिपत्नी भएर मायाको अनेक रंग चढाउन बुझ्‌ने र बुझाउन खोजेका हुन्छन् । राधाको निर्दोष मिठो प्राकृतिक प्रेमभावको र आफ्नो पति प्रतिको श्रद्धाभाव पनि यस कथामा स्पष्ट अवस्था देखिन्छ जसले ती दुई जोडीको प्रेमिल आत्माहरु उच्च सौन्दर्य आभासमा सल्बलाएको उजागर हुन्छ ।

“… उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनास भनेको थियोः मैले फ्याँकेको हो बम तर हत्याको लागि होईन चेतावनीको लागि…”
“…हवल्दारले भन्योः मरे निद्रा आउँदैन । सुवेदार उठेर बस्यो र भन्योः सिगरेट झिक्न । …”
“… एउटाले भन्यो त्यस्तो अन्तिम घडिमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको पुग्छ ।…”
“… त्यहि ठिटोलाई फाँसी दिन गएको थिएँ, डाक्टरले भन्यो, नभनेस् है छोराहरुलाई । दुलहीको मुखबाट केबल हाय भन्ने शब्द निस्कियो र उसले आफ्नो हत्केलाले मुख छोपी ।…”

कथामा किशोरलाई फाँसी दिन आफ्नो जागिरको ड्युटी निभाउन बाध्य भएका प्रहरि, डाक्टर, कमिस्नरहरुको मनोभावनालाई यहाँ राम्रोसँग पस्किन भ्याएका छन् लेखकले । करुणा, प्रेम, सदभाव जस्ता साझा मानविय संवेदनशिलताहरु तथा विशेषताहरु सबै जिम्मेवारी, कर्तब्य निभाइरहेका ब्यक्तीहरुमा हुने रहेछ भन्ने कुरा बुझाउन लेखकले यस कथा मार्फत कुनै कसर बाँकि राखेका छैनन् ।
समग्रमा भन्नु पर्दा मानिसहरुमा आउने मनोवैज्ञानिक ओहापोहहरुको विश्लेषणात्मक तरिकाले बिवेचना गरिएको र त्यस्ता कुराहरुलाई सौन्दर्यताको रंगले पोतेर पाठकलाई हाइयर इमोश्नल इन्टेलिजेन्सको आयामहरुमा छुवाउने राम्रो क्षमता राखेको छ यस कथाले र श्रदेय लेखक श्री बिपी कोइराला ज्यू को लेखनशैली एवं भावले ।

नारीत्व र प्रेम एवं द्वन्द र अस्तित्वको आवश्यक्ता

बीपी कोइरालाद्वारा लिखित “मोदीआइन” सामाजिक परिवेशको छाप बोक्न सफल एक शसक्त कथा हो । लेखन शैली भावनात्मक र यथार्थपरक देखिन्छ । पात्रहरु वास्तविक र जीवन्त लाग्ने भेटिन्छन् । कथाका हरेक पक्षलाई गहिरिएर विश्लेषण गर्दा समाजका अन्याय, शोषण, वर्गसंघर्ष, प्रेम, नारीत्व जस्ता विषयहरुलाई स्पष्ट पार्छ । यस कथाले नारी अस्तित्व, पुरुषप्रधान मानसिकता, प्रेम बासना र आत्मसम्मान बीचको द्वन्दलाई उजागर गर्छ । यो उपन्यासमा तराई ग्रामिण क्षेत्रको वस्तुस्थितिलाई लेखकले गहिरिएर उर्तान खोजेका छन् । प्रेम, संघर्ष, विद्रोह, शोषण, अस्तित्वको खोजी र सामाजिक अन्याय यस उपन्यासका मुख्य विषयवस्तु हुन् । स्त्रीतत्व, नारीभावना, बाल मनोविज्ञान, शासक मानसिकता जस्तो विषयलाई मुर्त रुपमा दर्शाएको छ । त्यसैगरी प्राचिन समयको महाभारत युद्धको उपदायता, वाद्यता, धर्मयुद्धको ब्याख्यालाई समेत यहाँ उल्लेख गरिएर द्वन्दलाई पनि कुनै अवस्थाले अस्तित्वको आवश्यक्ता हुने भनी बुझाउन समेत कोशिस गरिएको छ । धार्मिक तथा आध्यात्मिक श्रद्धा, विस्वासलाई समेत समेट्न कसर छाडिएको छैन । नारीलाई समाजले बजारको सामान्य बस्तु जसरी मात्र सोच्ने गरेको र सोन्दर्यको बिलासी बस्तु मात्र ठानेको सन्दर्भलाई देखाइरहेको आभास हुन्छ । अस्तित्वलाई जोगाइराख्न अहम् भूमिका निभाउने सबै किसिमका फ्यामिनिजम् तत्वहरु जस्तै पृथ्वी, प्रकृति, नदि, पोखरी, जंगल तथा नारी मान्छेहरु र स्त्रीलिङ्ग जन्य अरु जीवात्माहरुले आँफूसँगको कुराहरु अरुलाई दिन मात्र खोज्ने, जान्ने, त्यसको बदलामा आशा नराख्ने, जेसुक अवस्था भएपनि परिवारमा प्रेम, सदभाव कायम रहोस् बरु भौतिक रुपमा एवं समस्त मानव सभ्यताको समग्रतामा कुनै अन्य केहि नोक्सानै सहनु राम्रो हुन्छ तर भईरहेको पारिवारिक सदभावको बातावरण नखल्बलियोस् भन्ने कुरामा एकदमै जोड दिएको देखिन्छ ।
यसमा मुख्य पात्रको रुपमा रहेकी मोदीआइन एक महिला जो विद्यमान समाजको नियम एवं सोचलाई स्वीकार्न वाद्य भएकी छिन् । उनी एक सुन्दर महिला मात्र होइनन्, उनी भित्रको मनोविज्ञानिक द्वन्दका कुराहरु पनि कथा अघि बढ्दै जाँदा झन् स्पष्ट हुन्छ । उनी पुरुषको भोगविलासको साधन बन्न चाहन्नन् तर समाजको दृष्टीमा उनी फेरि पनि त्यहि हुन बाद्य छिन् । यस कथा मार्फत समाजमा महिला यदि आर्थिक वा सामाजिक रुपमा स्वतन्त्र छैनन् भने उनीहरु जस्ता नारी, पुरुषको अधिनमा रहन बाध्य हुन्छन् भन्ने कुरा दर्शाउन खोजिएको बुझिन्छ । घरको सरसफाई, परिवारको हेरचाह, भान्सा आदि जस्ता घरभित्रका काममा मात्र सिमित राख्ने सामाजिक परिवेश भित्र बाँच्न सहनशिल नारीको रुपमा मोदीआइन देखिन्छे ।
कथाका अर्का पात्र मोदी एक धनी ब्यापारी हुन्, जसले आफ्नो पैसाको बलमा सुन्दर महिलालाई बिवाह गरी आफ्नो घरमा राखेका हुन्छन् । महिलालाई केवल सौन्दर्यको रुपमा हेर्ने समाजको प्रतिनिधित्व उनले गर्ने यहाँ स्पष्ट बुझिन्छ । उनी सौन्दर्यका उपासक हुन्, जसले महिलालाई केबल मनोरंजनको साधन मात्र ठान्छन् । उनले घरमा ल्याएकी महिलाको नाम उनको नामबाट जोडिएर बनाइएको हुन्छ । मोदीआइनको आफ्नै छुट्टै नाम, अस्तित्व छैन ।
मिसिर जी एक अर्का पात्र हुन् जो आफ्नो घरायशी एवं ब्यापारिक प्रयोजनका लागि मोदीआइनको घरमा गएका हुन्छन् । उनको साथमा कथाका म पात्रको भूमिकामा रहेका एक बालक छन् जो नयाँ ठाउँ, महाराजको दरवार, हात्तिसार, अस्तबल, कचहरी, ठूलाठुला घरहरु हेर्न, घुम्न जान चाहान्छन् र मिसिर जीको पछि लागेर घुमघामका लागि ढिपी गर्छन् । बाल सुलभताको राम्रो अनुभव गरिरहेका उनि ठाउँ ठाउँमा, विभिन्न अवस्थामा हरेक कुरालाई रहस्यमय हिसाबले कौतुहलताका साथ जान्न, बुझ्न, अनुभव गर्न चाहान्छन् । नजिकैको हडाआ पोखरीको प्राचिन महत्व, आख्यान, घटनाको बारेमा बहुत् उत्सुकताका साथ सुन्न, बुझ्न चासो राख्छन् । पोखरीमा आउने देउता, ती देउता अगाडि कसैले घमण्ड देखायो भने सो ब्यक्तिलाई कुनै अनर्थ हुन सक्ने मोदिआइनका कुराले उनको बालसुलभ मानसपटलमा एउटा छाप पर्छ । पोखरी वरपरको प्राकृतिक अवस्थाले उनलाई घरि घरि लोभ्याइरहन्छ । त्यसैगरी सुत्ने बेलामा कथा सुन्न लालायित बाल्यकालको कुराले पनि उनको विशेषतालाई दर्शाउँछ । अँध्यारो, एक्लोपन जस्ता कुराले उनलाई घरिघरि डर लागिरहेको तथा मोदीआइनका मधुर कथाबाचनलाई निद्राको तन्द्राबीचमा आफ्नो सपनीमा जोडिएर बुझिरहेका हुन्छन् जसले गर्दा समग्र कथावस्तुलाई नै एउटा रोचक बनाएको हुन्छ । पाठकलाई आफ्नो बाल्यकालको नोस्ट्याल्गिक तिर लैजान्छ ।
यस उपन्यासले महाभारत युद्धकालको अपरिहार्यता, वाद्यता र त्यसबाट तत्कालिन जनमानसमा परेको मानसिक त्रास, घरका स्त्रीहरुमा परेको भय, पिडाको अवस्थालाई राम्रोसँग प्रस्तुत गर्न कोसिस गरेको छ । सामान्य मानवहरुलाई आफ्नो मात्र चिन्ता, आफ्नो घर परिवारको मात्र अस्तित्वको जरुरी लाग्ने र समग्र राज्य, समाज र समग्र सनातन धर्मको रक्षालाई जान्न, बुझ्न र कायम राख्न जरुरी नदेखिएको भन्ने निदोर्षता पनि सँगसँगै बुझिन्छ । जसले गर्दा श्रीकृष्णले पाण्डव पक्षलाई युद्धतर्फ जानाजान धकेलेर, उकासेर झन् नराम्रो अवस्था सिर्जना गरेको आरोप सम्म लगाउँछन् त्यसबेलाका सामान्य नारीहरुले । एकापट्टि कौरव पक्षका मुख्य कारक पात्र दुर्योधन आफ्नो ब्यक्तिगत स्वार्थ तथा घमण्डीपनको कारण पाण्डवलाई हरेक तरहले कुनै अधिकार, सम्पत्ति, अस्तित्व दिन नचाहाने अवस्था हुन्छ भने अर्कातर्फ आफ्ना नातागोताहरुलाई मारेर, सिद्याएर के राजकाज गर्नु , सुख भोग गरिरहेको अनुभव गर्नु जस्तो कुराहरु सोच्ने इमान्दार पाण्डवहरुको सोचले कृष्णलाई धर्मरक्षाका लागि जसरीपनि युद्ध गर्नै पर्ने अवस्था सिर्जना भएको समेत देखिन्छ । अकर्ताभावमा निस्काम कर्म गरी गरिने कुनै पनि कार्यले कुनै पाप बोक्दैन भन्ने सन्देश बारम्बार कृष्णले पाण्डव पक्षलाई सिकाइरहेका हुन्छन् । धर्मको रक्षा र समाज कल्याणका लागि यदि समयले युद्ध आवश्यक ठान्छ भने, अस्तित्वले त्यसको अपरिहार्यता देख्छ भने त्यो पनि नराम्रो हुँदैन भन्ने गीताको मूल मर्म यहाँ लेखकले बुझाउन खोजेका छन् । कुनै पनि शंका, भय, अकर्मण्ड्यता, अन्धविस्वास यदि लागिरहेको भए र त्यसकुराले असमान्जस्यता ल्याइरहेको भए सबैकुरा छाडेर मेरो सरण, मेरो विस्वास, मेरो भर गर, जसमा मात्र आफ्नो कर्तब्य निर्वाह गर सबै तरिकाले सबैका लागि कल्याण हुन्छ भनेर बारम्बार अर्जुन लगायत पाण्डव पक्षलाई कृष्णले आफ्नो परमात्माको परम शक्ती रहेको हुँदा सो स्तरको बुझाइ र दृष्टिले म प्रति विस्वास गरेर मैले भनेको मान भनिरहेका हुन्छन् । यो विषयवस्तुलाई यस उपन्यासमा राखेर लेखकले अकर्ताभावमा रहने अभ्यास र निस्काम कर्मको मर्मलाई बुझाउन बहुत राम्रो कोसिस गरेको बुझिन्छ । भलै उक्त युद्धले त्यसबखत कयौं परिवारका सदस्यहरुको नास भएर साँसारिक रुपमा अनाथ, असाय, दुखी भएको देखिएता पनि समग्र समाज, राष्ट्र, अस्तित्व तथा मानव सभ्यताको समग्र कल्याण एवं धर्म रक्षाका लागि जरुरी हो भन्ने पनि लेखकले यहाँ गीताको सन्देश मार्फत पाठकहरुलाई बुझाउन खोजेका छन् ।
यस उपन्यासमा प्रश्तुत भाषा, शब्द, शैली, प्रश्तुती एकदमै सरल, विस्तृतिकरण र गहिरो अब्जर्भेसन गरिएको पाईन्छ जसले पाठकलाई साना साना कुराहरुमा पनि कति सौन्दर्य अनुभुति गर्न सकिने रहेछ भन्ने आभास गराउँछ । मोदिआइनका दाँत, ओठ, कपाल, पुष्ट शरिर, भाङ्गभङ्गिता, स्त्रीतत्व, नारी करुणा, प्रेमभाव जस्ता संवेदनाको गहिरिएर प्रस्तुत हुँदा पाठकलाई अहोभावको आभास गराउँछ । मातृत्व, देवीत्व भाव देखिई त्यसप्रति श्रद्धाभाव प्रकट हुन्छ । हडाआ पोखरीको परिवेश, आकाश, बादल जस्ता प्राकृतिक कुराहरुदेखि लिएर, नारीले आँफूलाई सिँगार्न प्रयोग गर्ने सामग्री, फुलहरु, पातपतिंगरहरुको ब्याख्याले समेत अहोभाव गराइदिन्छ । शब्द चयन र प्रश्तुतीले जीवन्तता महसुस भई प्रेम, करुणा, अहोभाव, श्रद्धाभावले ठाउँ ठाउँमा पाठकका नयन रसाउने गरी गम्भिर बनाइदिन्छ । आध्यात्मिक साधना अभ्यासमा उपयोगी ठानिने अकर्ताभाव र निस्काम कर्मको राम्रो ब्याख्या गरेर कथाले पाठकलाई द्वन्दबीच पनि आशातित् सुकिरणको सकारात्मक सन्देश दिइरहेको समेत आभास हुन्छ ।
तशर्तः यो उपन्यास एउटा शसक्त, ज्वलन्त तथा यथार्थवादी सामाजिक कुराहरु समेटिएको विषय हो भनी मान्न सकिन्छ जसबाट स्त्रीतत्वको सह अस्तित्व भावका साथ संरक्षणलाई ध्यान दिनु जरुरी हुने एवं प्रेम र संयमता तथा अस्तित्वको आवश्यक्तालाई समेत श्रद्धा गर्नु सबैका लागि उपयुक्त सोच बन्नु पर्छ भनी दर्शाउन खोजिएको बुझिन्छ ।

प्रेममाला

अनेक जन्म जन्म्याँ, चौराशी लाख काटी
थरिथरि अनुभव गरिसक्याँ, देह साटी साटी ।।
प्रकृति पुरुष भोगीलियाँ, आँफूलाई कत्ति मेटी
हृदय भरिकन यहाँ, प्रेमरस पिउँ भेटी ।।१।।

कदाचित मै भ्रममा, यसै भोगी मरिगया भने
जगत रसमा डुबी, प्रेमरस भुलिगया भने ।।
किञ्चित माफी पाउँला, हे ख्वामित् मनडुब्या भने
तिम्रा चरण कमलमा, तनै छोडिदिया भने ।।२।।

फगत बाच्न्याँ यसै, मनभरी आशक्त बोकि
प्रेमराग नबनी कसै,  रागमै टासिन्याँ होकी ।।
पुलकित मन लाग्न्याँ, सदा अहोभाव राखी
प्रेम नै अन्तिम बुझ्न्याँ, मनुष्य जुनि बोकि ।।३।।

घटना र प्रभाव

वि.पि. कोइरालाद्वारा लिखित हिटलर र यहुदी एक सशक्त कथा हो, जसले मानव मनोविज्ञानको एक दरिलो प्रस्तुती देखाएको छ । कुनै घटनाले एक ब्यक्ति मात्र नभई त्यस समाज, राष्ट्र लगायत समग्र मानव सभ्यतालाई नै कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई ज्वलन्त रुपमा यसमा बुझाउन खोजिएको छ । यसले मुख्य पात्रको भित्री संघर्ष, भय, र मानवीय अस्तित्वको प्रश्नलाई पनि उठाउँछ ।
म को भूमिकामा रहेका पात्र मार्फत उसको आफ्नै, अनि उसँग भौतिक तथा भावना एवं बिचारमा जोडिएका पात्रहरूको बिचार , भावना सहितका चरित्रहरुलाई बहुआयामिक रुपमा प्रस्तुत गरिएको छ ।
तीनै जना महिलाकै रुपमा रहेर पनि सामाजिक, पारिवारिक तथा सांस्कारिक रुपमा भिन्न अवस्थितिमा रहेको कारणले रेबा र इल्जेले बुझेको प्रेम र लक्ष्मीले बुझेको प्रेम आ-आफ्नो तरिकाको बुझाईलाई प्रेमको रुपमा अनुसरण गरिएको छ । यस कथामा लक्ष्मी एक महत्वपूर्ण पात्रको रुपमा उभ्याइएको छ जसको भूमिकाले कथाको मुख्य भावनात्मक तथा दार्शनिक पक्षलाई उजागर गर्छ । यीनले नारीको प्रेम, समर्पण, विवशता, सामाजिक परिस्थितिकोृ मार र द्वन्दलाई प्रतिबिम्बित गर्छिन् । यहाँ लेखकले यी पात्र मार्फत प्रेम, करुणा, माया र सहानुभूतिले भरिएको स्त्री जो मानवता र प्रेमको सर्वाेच्चता, सामाजिक अन्याय र नारीको स्थिति, युद्ध र हिंसाको प्रभाव, द्वन्द र आत्मसंर्घष, अशल नारीत्वको धर्म एवं कर्तब्य जस्तो कुरालाई बुझाउन खोजिएको देखिन्छ । रेबा एक यहुदी महिला हुन्, जो सुन्दर, शिक्षित, र भावुक छिन्। उनी प्रेम, परिवार, र अस्तित्वको सवालमा गहिरो भावनात्मक छिन् । उनी डेविडकी प्रेमी, पत्नी हुन् । यहुदीहरू माथि भइरहेको अत्याचारका कारण उनी पीडित छिन्। उनको चरित्र मार्फत यहुदी महिलाहरूको असहाय अवस्था, डर, र भावनात्मक पीडा देखाइएको छ। इल्जे जर्मन महिला हुन्। उनी कथामा नाजी शासनको समर्थन गर्ने पक्षमा छिन् वा त्यसबाट लाभ लिने पक्षमा छिन्। उनको चरित्र यूरोपेली समाजभित्रका विभिन्न विचारधाराहरूलाई दर्शाउन प्रयोग गरिएको छ। उनी यहुदीहरूप्रति विशेष रूपमा दयालु छैनन्, बरु उनीहरूलाई कमजोर र पराजित समूहका रूपमा हेर्छिन्। उनको चरित्र नाजी मानसिकता तथा यहुदीहरूप्रति देखाइने उदासीनता वा उपेक्षा दर्शाउन प्रयोग गरिएको छ। डेविड कथाका एक यहुदीहरूको प्रतिनिधित्व गर्ने पात्र हुन्, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। उनी एक यहुदी हुन्, जो नाजी शासनको आतंकबाट बच्न संघर्ष गरिरहेका हुन्छन्। उनी शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा बलियो र विद्रोही स्वभावका छन्। हिटलरको दमन र यहुदीमाथिको अत्याचारका कारण उनी निराश र भयभीत छन्, तर उनलाई आफ्नो अस्तित्व जोगाउनुपर्छ भन्ने भावना बलियो छ, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। नारायणन् दक्षिण एसियाली मूलका व्यक्ति हुन् । उनी यूरोपमा आएर बसेका छन् र त्यहाँको सामाजिक तथा राजनीतिक परिस्थितिलाई नियालिरहेका छन्। उनी सहृदयी छन् र अन्यायको विरोध गर्ने मनोवृत्ति राख्छन्। उनका विचारहरूमा दार्शनिकता पाइन्छ, उनी घटनाहरूको गहिरो विश्लेषण गर्छन्। उनले यहुदीहरूप्रति सहानुभूति देखाउँछन् लेखकले नारायणन् मार्फत दक्षिण एशियाका मानिसहरू द्वितीय विश्वयुद्धलाई कसरी हेर्थे। अनि एउटा तटस्थ दृष्टिकोण राख्ने समाज कसरी अन्याय देखेर प्रभावित हुन सक्छ र युद्धमा सीधा संलग्न नभएका मानिसहरू पनि भावनात्मक रूपमा प्रभावित हुन्छन् भन्ने कुरा उ मार्फत दर्शाउन खोजेका छन् । खोरण्डे नाजीहरूको समर्थक हुन् र उनीहरूकै तानाशाही नीति अनुसार चल्छन्। उनी यहुदीहरूलाई कमजोर, तुच्छ र नष्ट गर्नुपर्ने जातिका रूपमा हेर्छन्। उनी हिटलरको विचारधाराको अन्धभक्त झैं प्रस्तुत गरिएका छन्। कथाले नाजी शासनको आतङ्क देखाउन खोरण्डेलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। उनको भूमिका यहुदीहरूमाथि गरिएको अमानवीय व्यवहारलाई प्रतिबिम्बित गर्नका लागि रहेको छ। खोरण्डे जस्ता पात्रहरू द्वितीय विश्वयुद्धको वास्तविक घटनाहरूको प्रतिनिधित्व गर्ने रूपमा प्रस्तुत गरिएका छन्। लेखकले खोरण्डे मार्फत नाजी अत्याचार कति क्रूर थियो। निर्दोष मानिसहरू कसरी शक्ति र घृणाको शिकार बने। तानाशाही शासन कति निर्दयी र अमानवीय हुन सक्छ भन्ने कुरा देखाउन खोजेका छन् ।कथा मुख्य रूपमा पात्रहरूको मनोदशा, मानवीय संवेदनशीलता, अन्याय र अस्तित्वसँग सङ्घर्षको गहिरो विश्लेषणमा केन्द्रित छ । द्वितीय विश्वयुद्धको पृष्ठभूमिमा यहुदी समुदायमाथि भएका अत्याचार तथा हिटलरको तानाशाही शासनलाई उजागर गर्नुको साथै कथाले केवल ऐतिहासिक घटनाको चित्रण मात्र नभई मानवीय संवेदना, अन्याय, अस्तित्व सङ्घर्ष, र मनोवैज्ञानिक द्वन्द्वलाई समेत समेटेको पाइन्छ। जसले पाठकलाई कथामा भावनात्मक रूपमा संलग्न गराउँछ । त्यसैगरी कथाले केवल अतीतको घटनालाई चित्रण गर्ने माध्यम मात्र नभई, भविष्यका लागि पाठ सिकाउने मानविय एवं सामाजिक चेतनाको पनि सन्देश दिन्छ।
यसमा भाषा, शैलीको प्रस्तुति सरल एवं प्रभावशाली छ । पात्रहरूको मनोदशा र घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ । लेखकले विवरणात्मक शैलीलाई प्रयोग गरी घटनाहरूलाई जीवन्त बनाएका छन्, जसले कथा थप प्रभावशाली देखिन्छ । थरि थरि ब्यक्तिको थरि थरि सोचाई हुने, जुन कुरा उसका जीवनका भोगाईले पर्ने इम्प्रेसन तथा असोसिएनले नै निर्धारण गर्छ र आफ्ना कार्यशैली र सोचमा प्रभाव पार्दछ भन्ने कुरालाई विभिन्न उदाहरण सहित अनेक पात्रहरु उभ्याई बुझाउन खोजिएको छ ।
कथा केवल भौतिक यातनाको वर्णनमा सीमित छैन; यो मनोवैज्ञानिक पक्षमा गहिरिएर प्रवेश गर्छ । मुख्य पात्रले हिटलर र नाजी विचारधारालाई बुझ्ने प्रयास गर्छन्, जसले गर्दा पाठकलाई द्वन्द्वात्मक सोचको अनुभूति गराउँछ। कथाको अन्त्यले मानव चेतनाको गहिराइमा प्रश्न उठाउँछ – के हिटलर मात्र दोषी हो, वा समाजकै सामूहिक चेतनाले यस्ता तानाशाह जन्माउँछ भन्ने कुरा समेत चित्रित गर्दछ । कथामा भागवत गीता यस मानव सभ्यतामा सर्वत्र अनुसरण गर्ने गरी आध्यात्मिक एवं धार्मिक ग्रन्थ समेत मान्ने अभ्यास छ , यहाँ पनि सोहीलाई आधार समेत बनाई हिटलरले अकर्ता भावमा रहेर आफ्नो कर्तब्य धर्म मात्र त निर्बाह गरेको हो भन्ने तर्कलाई समेत थोरै भएपनि जोड्ने कोसिस भएको छ ।

समग्रमा भन्नुपर्दा यस कथाले मुलतः

मनोवैज्ञानिक द्वन्द्व
अत्याचार र सहनशिलता
तानाशाही र मानवता
यथार्थवाद र अनुभुती
सामाजिक चेतना र चेतावनी
मानविय संवेदनशीलता
प्रेम प्रवाहको विविधता
आध्यात्मिक तथा धार्मिक सोच

आदि जस्ता कुराहरुमा केन्द्रित गर्दछ ।

बिहानी सत्संग

उषासँगै सत्संगले चुम्दा धरती,

नवजीवनले गर्छ अभिनन्दन।

पवनको सुषमा गुञ्जन्छ मनमा,

नवयुगको सुनिन्छ स्पन्दन।

तिम्रो स्पर्शले खुल्छन् कलिका,

गुँडबाट निस्कन्छ चञ्चल पंछी।

सरिता झनै मुस्काउँछ नाच्दै,

स्वर्णिम ज्योति छर्दै अञ्जली।

मौन प्रभातको सुन्दर रहस्य,

शीतको मोती बर्सिन्छ मनमा।

निर्मल हृदयमा उमङ्ग जगाई,

शुद्धताको गीत गुञ्जन्छ गगनमा।

कान्तिकी कोमल देवी उषा 

र अनुपम स्वामीको छायाँ।

जागृत गरि हाम्रो चेतनालाई,

प्रेम, भक्ति, शान्ति बन्दैछ यहाँ।

दया यति गर श्री हरि

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

तिम्रा सुस्तरी पदचापहरु
नभुलिने गरी गन्न सकुँ म
बसन्तका पालुवाले झैँ
तिम्रा टेकाई चुम्न सकुँ म ।

तिमीले ओडाउने आकासका
घुम्टोभरि अटाउन सकुँ म
तिमीले फिँजाएका धर्तिभरि
लडिबुडी सयन गर्न सकुँ म ।

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

तिमीले खटाएका ऋषिहरू
सधैं सुनिरहन टिकुँ म
तीनले औंलाएका पथहरु
सधैं पहिल्याइरहन सकुँ म ।

संगीत कला र साहित्यमा
मस्त झुमिरहन सकुँ म
तिमीले सिर्जेका प्रकृतिमा
सधैं फक्रिरहन सकुँ म ।

दया यति गर श्री हरि
दया यति गर श्री हरि ।

हृदयको कुरा (Nuvesh HereNow)

चराको चिर्बिराहटमा
व्युंझेको म
उदाएको सुर्यसँगै
रङ्गहरु फैलींदा
घामपानीमा ईन्द्रेणीको चित्र
चोरुँ चोरुँ लाग्यो ।
दियालोमा कविता कोर्न
सकारात्मक हृदय
हरुको चित्र भित्रै
छिरुँ छिरुँ लाग्यो ।।

बादलमा शुत्र (Bhawana HereNow)

निलो आकाशमा कोरिएका
ति अनेकौं बादलका आकारले
स्थीर मनलाई
झट्का झैं दियो ।
नियालेर हेर्न खोजेका
मेरा हृदयका नयनले
आज प्रकृतिको चित्रमा
एउटा मिठो शुत्र भेटिदियो ।।

गर्न पाउनुको आनन्द

एआईलाई थाँति राखी
तिम्रै गीतमा नाच्न पाउनुको आनन्द
प्रत्येक हरफहरूमा तिमिसँगै अँगालिएर
कोरिन पाउनुको आनन्द
निर्दाेष पुञ्जुहरुले कानै छेऊ
खुसुक्क घुरिदिँदाको आनन्द
सागका पातहरु हतारमा खानपाउँदा
खरायोका चञ्चले आँखाले
अर्पण गरिरहेको धन्यवादमा आनन्द
कान्लाहरुमा बहुलक्षण भई डोलाइरहेका
प्रकृतिका छटाहरुमा रम्न पाउनुको आनन्द
सनराईजको प्रतिक्षामा
बार्दलीबाट चिह्याइरहने प्यासी हुनको आनन्द
आहा भान गराउन बादलले फेरिरहने
आकारमा रम्न पाउनुको आनन्द
तिम्रा कुरुसहरुले तँछाडमछाड गरि
धागालाई गँठ्याउन पाउनुको आनन्द
इन्द्रेणीसँग पैँचो मागी
अनेक रंगका आकारहरुले बेरिन पाउनुको आनन्द
बच्चालाई खुवाउँदा सँगसँगै आमाका ओठ खेलिरहे झैँ
हरेक बुट्टाहरुमा गर्न पाउनुको आनन्दमा
लडिबुडी गर्ने साथीलाई देख्न पाउनुको आनन्द
आवश्यक्तामा सेवादिन पाउनु र
आँफूले केहि गरिरहन पाउनुको आनन्द 🪔🙏  

तिम्रो खोजिमा

आजकल ममा तिमी भेटिने चर्याको भाव खनियाखर्कबाट मडारिँदै अँघालिने बाक्लिँदै आएको कुहिरो झैँ आभास हुन्छ । किन किन ममा तिम्रो संगतीका आर्द्रता विस्तारै घनिभूत हुँदैछन् । एफोर्टले भ्याएसम्म सेल्फरिमेम्बरिङ्गको विविधतामा तिम्रै अनेक ढंगहरुलाई हृदय र बिबेक भरि अब्जर्भेसन भइरहन थाल्या जस्तो छ । मनका तरङ्ग मात्रले होस् या अक्षरहरुका अनेक अटेसमटेसियाईँले होस् जुन रस भरेपनि तिम्रैतिर लक्षित सबै कविताहरु कोरिने गरेकाछन् । नपत्याए उसको जुँगा सहित उसले एक्सपियरेन्स र अब्जर्भेसन गरिरहने विभिन्न ब्रह्माण्डिय नलेज अथवा परमात्मा अनुभवको हृदयले मलाई छोइरहने प्रेमिल स्पदनलाई छामिहेर, उसका अनेक ज्ञान सिक्न एवं जिन्दगीलाई उपयुक्त कलाले जिउने सिक्न यसै देशका मात्रै त के यस धर्तिमा आम मान्छेले सबैभन्दा उत्तम ठानेको धर्तिदेशहरु समेत त्यागेर उसकै अनुशासन, आदेश, नियम, गुरुत्वलाई ससम्मान पुज्दै “हस्, हुन्छ, ल” का भाकाहरुमा उहि तिमी परमात्मालाई पाउने अभिलाषाका तिब्र प्यासी साथीहरुलाई जिब्रैले चाखिहेर, अनेक छन्दमा पुन्जुहरुका मुखडा एवं क्रिडाहरुमा खेलिहेर, गाढा रक्तमालाका परिधिलाई बुट्टयाएको रंगलाई निधारमा दलिहेर, गितारका सुरतालले मेरा नयन रसाइरहेका तरङ्गहरु सुनिहेर, गोरखनाथ र कालीको उर्जाले संरक्षित लयबद्ध मेरो देशलाई बुझिहेर, कसैलाई केहि सहयोग, सेवा गर्दा पाउनेको खुसी सन्तुष्टिमा उसका रसाएका हृदयमा छामिहेर, खरायोलाई केटाकेटीले दुबो खोज्दै र गाँजर टुक्र्याउँदै मुखैमा खुवाउँदा खरायोले दिइरहेको अशब्दी “धन्यवाद” देख्ने हृदयहरुलाई बुझिहेर, भजन किर्तन गित कविता गुनगुनाउँदा “प्रेम र अहोभाव” ले छचल्किएर नुनिलो झारिदिने रसिला आँखाहरुलाई सोधीहेर, घरि यसो गर्ने घरि उसो गर्ने मेरा छोराछोरीका अबोध बालक्रिडामा च्याहिहेर, मप्रतिको अन्जान कियरिङ्गको मेरी उनिको तिर्सनालाई निहालिहेर, मैले निभाएका जिम्मेवारीहरुमा मेरा हाकिमले हौसला दिइरहेको आभासलाई मूल्यांकन गरिहेर, बिभिन्न सेवाको अपेक्षा गरी धाएका  ग्राहकहरुको सन्तुष्टिका सासमा नजिकिइहेर, के ती सबैमा झल्किरहने, बहिरहने, जमिरहने उहि एउटै तिमी नै होइनौ र ? मेरा हरेक बिवेक र भावनामा बिराजमान उहि एउटै तिमी नै होइनौ र ? जतापनि उसैलाई देख्छु, उसैलाई छुन्छु, उसैलाई सुन्छु, चाखिरहन्छु अनि सुँघिरहन्छु भन्थे रे प्रल्हादले सानैमा, त्यो घटना साच्चै साँच्चै भो क्यारै, थ्यो क्यारै लाग्न थालेको छ आजकल यो पाको उमेरमा बल्लतल्ल केही न केही मलाई पनि ।

एकाबिहानै सानो कदको तन तनक्क तन्क्याएर भर्खरै खुइल्याएका तालुजन्य टाउकोको बीचमा बचाएर राख्न खोजेका तिलचामले टुप्पी दायाँ हातले सुम्सुम्याउँदै अनि कतै घुम्न जाउँ जाउँ लागेका पैतालाका काउकुतीहरुलाई बायाँ हातले सुम्सुम्याउँदै र छोराछोरीहरुको स्कुलको जाडो विदालाई समेत इंकित गर्दै आफ्नो हृदयको नैसर्गिक स्वतन्त्रतालाई तिमीले नै मेरा लागि बुनिदिएको उहि मेरी उनिसँग बिन्ती तेर्स्याएँ । अचानक ठूलै बज्रपातै परे झैं मेरा कुराले उ अनायास झस्किई, मलाई पनि झुक्किएर साँच्चै ठूलै अपराधै पो गरेँछु कि झैं पनि लाग्यो शुरुमा त तर तिमीले नै बुनिदिएका अनि उनि मार्फतै जन्मिएका मेरा छोराछोरीहरुको बालापनका हठ, विन्ती र मायालुपनले होला विस्तारै उनले ती खहरे भावनाका भेललाई तराईका फराकिला भागमा जसैगरी सुस्तरी बग्न दिईन् । म त खुबै खुसीएँ, लाग्थ्यो मैले आत्मै छाम्न भ्याएँ, परमात्मै पुग्न भ्याएँ । हतपत् हौसिएर अरुदिन भन्दा अलिक चाँडै हस्याङ्गफस्याङ्ग मै कपडा लगाएर अफिस दौडिएँ, बाटामा अरुदिन देखिने छेउछाउका बुट्यानहरुको हावाको तालमा नाचिने नृत्य नभएजस्तै भएछ, अजपा जाप सहितको डिभाइडेड एटेन्सन् त के एकोहोरो ब्रिदिङ्ग कै ध्यान पनि बारम्बार बिर्सिएर उदिमै मच्चिएछ, उता पुगेर थाहा भयो अफिस छिर्न पाससहितको आफ्नो आइकार्ड बोक्नै भुलेँछु । एउटा रिक्वेस्ट निवेदन दिएर नयाँ पास लिई अफिस पुग्ने वित्तिकै हाकिमलाई आफ्नो एउटा घरायसी समस्या पर्यो भन्दै केहि दिनको विदाका लागि बाहाना गर्दै अनुरोध गरेँ । विदा अधिकार होइन, सुविधा मात्र हो, अधिकारीको स्वविवेक र अवस्थाको गाम्भिर्यता एवं औचित्यतालाई हेरेर मात्र निर्णय गरिनेछ भनेर लेखेको कर्मचारी विनियमावलीको दफा मतिर पानै पल्टाएरै तेर्साए । उहाँलाई र मलाई दुबैलाई थाहा भएकै कुरालाई उहाँले पहिलो पटक सिकाउँदै झैं गर्दै मेरो विदा अस्विकृत गर्न  खोजेपनि पनि मलाई आफ्नो काम जसरी पनि बनाउनु थियो त्यसैले उहाँसँग तर्कले जुध्न तिर भन्दा विन्तीको सुत्रतिर लागेँ, बरु उहाँका सत्चरित्र, बानी ब्यहोराको एकछिन खुलेरै अनेक शब्दहरुले झकिझकाउ पारिदिएँ । सायद फोर्थ वे ले भनेको त्यहि भएर हो कि आम मान्छेको म्याक्यानिकल अहमताले बेहोसीमा उसलाई उसकै बारेमा सुन्न पाएको सिँघारपटारले प्रफुल्लित हुन्छ र यहाँ पनि त्यहि सुत्र खुब काम गर्यो यसपाली । 

तिम्रै हृदयका ओतप्रोतले हुनु पर्छ मेरो बसोबास रहेको भिडको घनत्वभन्दा भौतिक दूरि अलि पर तिमीले प्रशस्तै फुर्सद निकालेर बुट्टा भरेको शान्त, स्वच्छ, निर्दाेषताले भरपुर पाखिलो धर्ति, सुकोमल पुन्जुहरु, मन्त्रमुग्ध चिरबिरहरु, अनि रंगीबिरंगी बोटबिरुवाहरुले सजाएर यो हृदयलाई झपक्कै पार्दै उ मार्फत तिमीले गर्विलो स्थान रोजेछौ, भरिलो ठाउँ खोजेछौ। किन किन हरेकपटकको मेरो भ्रमणमा झन् उपयुक्त झन् योग्य ठाउँ लागिरहन्छ, अनि उसमै झल्किरहने तिम्रो यो रोजाई ।

तिम्रो यो सनराइज रुपलाई मेरै बसोबासकै ठाउँबाट कहिल्यै नदेख्ने, नभेट्ने जस्तो अनुभव भएरै त होला बाहिर चिसो लाग्ने भौगोलिक बातावरण भएको स्थान भनेर पात्रोहरुमा लेखिएको भएपनि भित्र मृदुल न्यानोपन निरन्तर आभास भइरहेको खुला आकास मूनि खुला ओतबाट तिमी कतिखेर आउँछौ भन्ने तिम्रो प्रतिक्षाका तड्पन भनुँ या तिब्र प्यास भनुँ या तिमीलाई यो सनराइजमा हेर्ने राग भनुँ यो पाली अलि छुट्टै अनुभुति भइराछ मलाई ।