जेन-जी (Gen Z) र जेन -अल्फा (Gen A) संगको लयबद्धता

जेन-जी (Gen Z) भन्नाले Generation Z जनाउँछ, जुन अहिलेको युवापुस्ताको एक समाजशास्त्रीय वर्ग हो। Gen Z भन्नाले सामान्यतया सन् 1997 देखि 2012 को बीचमा जन्मिएकाहरूलाई भनिन्छ। यो पुस्ता मिलेनियल्स (Gen Y) पछि आउने पुस्ता हो। त्यसैगरी Gen A भन्नाले सन् 2013 देखि पछाडि  जन्मिएकाहरूलाई चिनिन्छ । आजकलका किशोर, स्कुल, कलेज पढ्दै गरेका वा हालसालै जागिरमा लागेका युवा धेरैजसो Gen Z मा पर्छन्। त्यसैगरी Gen A मा भर्खरै जन्मिएका देखि स्कुल पढिरहेका पुस्ता पर्दछन् ।

Gen Z र  Gen A को विशेषता के हो?

१. Digital natives – जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन, र सोसल मिडियामा हुर्किएका।

२. सोच र अभिव्यक्तिमा स्वतन्त्र – आफूलाई व्यक्त गर्न स्वतन्त्रता खोज्ने।

३. Diversity र inclusion प्रति संवेदनशील।

४. Mental health र self-awareness मा ध्यान दिने।

५. Trends बदल्ने शक्ति- फेसन, संगीत, भाषाशैली, meme, slang आदिमा नयाँपन ल्याउने।

नेपाली सन्दर्भमा पनि अहिलेका टिकटक, इन्स्टाग्राम, युट्युब चलाउने अधिकांश Gen Z र  Gen A हुन्।उनीहरूको भाषा, सोच, अभिव्यक्ति, र संस्कृति अलि फरक देखिन्छ, जसलाई कतिपयले ‘नयाँ पुस्ता’ भन्न रुचाउँछन्। विशेषतः जब हामी “Gen Z” जस्तो प्रविधिमैत्री, तीव्रगतिको पुस्तालाई आध्यात्मिक अभ्यास, साधना, र Awareness (सजगता) सँग दुई दृष्टिकोणमा तुलना गर्न सक्छौं ।

१) Gen Z को वर्तमान अवस्था- चुनौती र परिवर्तनको संघारमा

सकारात्मक पक्ष:

> Awareness को भोक छ: धेरै Gen Z युवा mental health, self-care, healing, energy, vibes, mindfulness, meditation, yoga आदि शब्दसँग परिचित छन्।

> Inner freedom खोज्ने प्रयास: उनीहरू परम्परागत धार्मिक ढाँचाभन्दा “अनुभवमा आधारित आध्यात्मिकता” खोज्छन्।

> Global exposure बाट आध्यात्मिक गुरू, podcasts, सत्संग आदि सुनेर आत्म-चिन्तनतर्फ आकर्षित भइरहेका छन्।

चुनौतीहरू:

> Distraction को बाढी: डिजिटल संसारको तिव्रता (TikTok, Instagram, Youtube, endless scrolling) ले तात्त्विक एकाग्रता हराइरहेको छ।

> Instant gratification मा बाँधिएको मन: ध्यान वा साधनामा समय दिने धैर्यता थोरै देखिन्छ।

Over-stimulation ले subtle spiritual signals नदेखिने बनाउँछ।

 २) Gen Z मा आध्यात्मिक सम्भावना- एक उज्यालो बीउ भेटिन्छ ।

 किन सम्भावना छ ?

> Questioning Nature : उनीहरू “किन?”, “को?”, “के सत्य हो?” भन्ने गहिरा प्रश्न गर्न सक्छन्। यही प्रश्न नै आध्यात्मिक यात्रा सुरु गर्ने ढोका हो।

>Authenticity खोज्ने हिम्मत – झूटा आडम्बर वा ढोंग उनीहरूले तुरुन्त चिन्छन्। उनीहरू “अनुभूत सत्य” खोज्छन्।

>Global गुरुहरूको सहज पहुँचबाट लाखौं Gen Z प्रभावित छन्।

>Awareness को भाषा परिवर्तन हुँदैछ – “Spirituality” अब पुरानो पुराण होइन, “Conscious Living” को शैली बन्दैछ।

>Gen Z एक यस्तो पुस्ता हो जो छिटो हराउँछ तर छिटो जाग्न पनि सक्छ।

उनीहरूलाई यदि सही ढंगले सजगता, प्रेम, ध्यान, र अहंकारविहीन मार्ग सिकाइयो भने, उनीहरू संसारमा एक नयाँ चेतनाको लहर ल्याउन सक्छन्।

Gen Z र  Gen A लाई आध्यात्मिकता तर्फ ल्याउनु भनेको – उनीहरूको हृदयसम्म पुग्नु, तिनको स्वतन्त्र चेतनामा प्रेमको बिउ रोप्नु हो। जबर्दस्ती होइन, प्रेरणा। उपदेश होइन, उपस्थिति मात्र।

यहाँ माता-पिता वा अविभावक वा मार्गदर्शकहरू (Silent generation, Baby Boomers, Gen X, Gen Y) ले Gen Z  र Gen A लाई सहज रूपमा आध्यात्मिकता (सजगता, प्रेम, सत्यता) तर्फ ल्याउन सक्ने ७ चरणका उपायहरु प्रस्तुत गर्न कोसिस गरिएको छ ।

१)  स्वयम् आध्यात्मिक हुनु – देखाउने होइन, हुने > “Be the light, not the preacher.”

यी पुस्ता साँचो अनुभव खोज्छन्, अभिनय होइन। यदि अभिभावक वा मार्गदर्शक स्वयम् साधना, आत्म-सजगता, प्रेम, मौनको अभ्यासमा छन् भने त्यो सुवास स्वयं ती युवाहरूमा बग्न थाल्छ। तपाईं ध्यान गरिरहनु भएको दृश्यले नै उनीहरूमा चासो जगाउँछ। तपाईंले नचिच्याई क्षमा गर्नु, करुणा देखाउनु, प्रेमले प्रतिक्रिया गर्नु, त्यो नै उनीहरूको पहिलो सत्संग हो।

२)  उपदेश नदिई संवाद गर्नु

यी पुस्तालाई “यो गर, त्यो नगर” भन्दा “तिमी के महसुस गर्छौ?” भनेर सोध्दा उनीहरू खोलिन्छन्।

प्रश्नहरू सोध्नुहोस् – “जीवनमा तिमी के खोज्दै छौ?” उनीहरूको उत्तरलाई निर्णय नगरी सुन्नुहोस्।

कहिलेकाहीँ हाम्रो अनुभव साटौं, तर उपदेशजस्तो नभई साथी सरह। 

३)  आकर्षक तरिकाले आध्यात्मिक अभ्यासको ढोका खोल्नु

यी पुस्ता तीव्र, संवेदनशील र रचनात्मक छन्। ध्यान वा साधनालाई पनि Boring routine हैन, Joyful inner adventure को रूपमा देखाउनु पर्छ।

उदाहरणहरू:

> केही मिनेटको Mindful music सुनाउनु, आँफुले मन पराएको कुनै गीत गाउने र उनीहरूलाई पनि गाउन उत्प्रेरित गर्ने।

> आँफुले केही चित्र कोरेर कस्तो लाग्यो भनेर सोध्ने र तिमीलाई पनि बनाउन मन लाग्छ ? भनेर सोध्ने

>विभिन्न Musical Instruments देखाएर मलाई यो मन पर्छ, बजाउँछु है, अनि तिमीलाई चाहिँ के बजाउन मन पर्छ भनेर सोध्ने र उसको रुचीको Instrument ल्याइदिने र उसले बजाएकोमा प्रशंसा गर्ने ।

>बिरालो, कुकुर जस्तो Pet जनावरहरु, चराचुरुङ्गीहरुसँग नजिकिन सिकाऔं, खेल्न सिकाउने ।

> बोटविरुवा, चराचुरुङ्गी, जनावरहरुलाई पानी दिन, खानेकुरा दिन सिकाउने ।

>मागी हिड्ने, दुख पाइरहेको देखिएका, आवश्यक परेको देखिएकाहरुलाई दान सहयोग गर्न उत्प्रेरित गर्ने । >श्वास-प्रश्वासको awareness खेल – “अब १० श्वास गन्ने…।” भनेर 

>“जाऔँ, प्रकृतिसँग खेलौं र मौनमा बसौँ।” भन्ने ।

> साथी, सहकर्मीहरुसँग प्रतिष्पर्धि नबनी सहअस्तित्वको ब्यबहार गर्ने तर्फ सिकाउने ।

४)  उनीहरूको भाषा र माध्यममा आध्यात्मिकता ल्याउनु

यी पुस्तालाई TikTok, YouTube, Facebook, Instagram, Reels मन पर्छ भने, त्यही मार्फत आध्यात्मिक गुरूहरूको छोटा क्लिप्स, प्रेरणादायक podcast हरू शेयर गर्न सकिन्छ तर जबर्जस्ती होइन, “मलाई यो मन पर्यो, तिमीलाई कस्तो लाग्यो? भनेर

५)  उनको पीडा र द्वन्द्व बुझ्नु – बिना डर, बिना नियन्त्रण

यी पुस्ता धेरैजसो anxiety, self-doubt, loneliness, peer pressure भित्र अल्झिरहेका हुन्छन्।

उनीहरूको पीडालाई “यो त केही होइन” नठानौँ बरु त्यो पीडाको भित्र शान्तिको बीउ लुकेको छ।

उनीहरूलाई सम्झाउन सकिन्छ:”हर असहज अनुभव एउटा ढोका हो, जहाँबाट तिमी आफूसम्म पुग्न सक्छौ।”

६)  तपाईंको मौन, नम्रता, र श्रद्धा नै उनको शिक्षा हो । कहिलेकाहीँ बोल्नुभन्दा मौन बसेर सँगै ध्यान गर्नु ।

उनीहरू रिसाउँदा पनि करुणा देखाउनु, आफू गल्ती गर्दा स्वीकार गर्नु, यस्ता कार्यहरूले उनीहरूलाई सिकाउँछन्, कसरी आध्यात्मिक बनिन्छ। उपस्थिति नै शिक्षा हो।

७)  आशा नछोड्ने, प्रेमपूर्ण धैर्यता ।

यी पुस्ता तुरुन्त परिवर्तन गर्दैनन् तर जब परिवर्तन हुन्छ, त्यो गहिरो र स्थायी हुन्छ।

– कहिलेकाहीँ उनीहरू विरोध गर्नेछन्

– कहिलेकाहीँ रमाउनेछन्, फेरि बिर्सनेछन्

– तर तपाईंको शान्त उपस्थितिको किरण उनीहरूको चेतनामा गहिरो असर छोडिरहेको हुन्छ

> “A seed of love planted in silence grows beneath the soil of time.”

 निष्कर्षमा:

Gen Z  र Gen A लाई आध्यात्मिकता सिकाउने हुटहुटी बोकेर जबर्जस्तिको लदाईमा उनिहरुको निजत्व , स्वतन्त्रता माथि हमला गर्ने होइन, बरु हाम्रो हरेक क्रियाकलापमा उनिहरुले आध्यात्मिकता जोडिएर उपलब्धीपूर्ण भइरहेको स्पष्ट देखुन्, जिन्दगीमा लयबद्धता महसुस गरुन् , उनिहरुलाई साँच्चै साँच्चै अनुभुती हुन थालोस् कि जीवन उत्कृष्ठ बनाउन हरपल, हरेक क्रियाकलापमा आध्यात्मिक अभ्यास जरुरी रहेछ, पारमार्थिक सत्यसँग जोडिएर अगाडि बढ्नु पर्ने अत्यावश्यक रहेछ भन्ने अनि उनीहरूलाई उनिहरुकै रुचिले आकर्षित हुँदै आध्यात्मिक उपस्थितिमा बस्न दिऔं। उनीहरूमा चेतना छ, भित्र आगो छ, बस् प्रेमपूर्वक, धैर्यपूर्वक, मौनपूर्वक त्यस आगोमा फूलहरू फुल्न दिनुपर्छ।

प्रतिबिम्बको फेवा

फेवा ! …

तिमी आज जल हौ कि आँखाको प्राचीन स्वप्न?

सुनौलो छालमा थरथराउँदै

कुन छाया झरेको हो,

संसार बिर्सन खोज्दा सम्झना भएर?

सूर्य त डुबेको मात्र होइन,

शायद उ

सम्झनाहरूको थानमा विलिन भएको छ

त्यो अव्यक्त प्रण भएर,

जहाँ कुनै दिन प्रेमले भाषा गुमाउँछ

र मौन कविता बनिन्छ।

यी वरिपरि पहाडहरू

साक्षी मात्र होइनन्,

गवाही हुन् एउटा नबोलेको समर्पणको

जहाँ उकालोहरू

कहिल्यै नबुझेका अध्याय हुन्

र ओरालोहरू

संयमले उनेका प्रतीक्षा।

फेवा !

तिमी जल मात्र हैन,

एक अस्तित्व हौ

जहाँ प्रत्येक छाल

कसैको विस्मृत चेतनालाई चलाउँछ

र प्रत्येक चमक

कसैको मौन प्रार्थनालाई टल्काउँछ।

साँझको सुनौलो दीप,

तिमी त केवल प्रकाश होइनौ

एउटा गहिरो संवाद हौ,

जल र आकाशबीचको पुरानो गोप्य सन्धि,

जहाँ सूर्य हरेक साँझ

मृत्युको अभिनय गरेर

पुनर्जन्मको कथा लेख्छ।

त्यो सूर्य किरण,

जो तिमीमा झरेको छ

त्यो म होइन र?

मेरो अधुरो उत्तर,

तिमीले पढ्न नसकेको चिठी

वा त्यो गीत

जसको धुन हराउँदा पनि

अन्तिम हरफ बाँचिरहन्छ ?

फेवातालको अनुहार

नदी होइन आज,

यो त एउटा दीप हो

जलमा निभ्न नमान्ने।

जुनकिरी झैँ पिंजडामा कैद नभई

साक्षात् अस्तित्व बनेको।

गोधुलीको रङ्ग

यो रङ्ग होइन,

एक अन्तर्वार्ताको जामुन रस हो,

जहाँ सूर्य र जलले

एक अर्कालाई नाम बिना चिनेका छन्।

सोध न फेवा !

म किन हेरिरहेछु तिमीलाई यति लामो?

शायद

तिमी मेरो भित्रको प्रतिबिम्ब हौ

र म…

अझै पनि तिमीलाई आफ्नै आँखाले देख्न सिक्दैछु।

किनकि तिमी…

साँच्चै तिमी हौ त्यो मौन प्रतिक्षा ।

जसले मेरो अन्तरतमको व्रत लिएको छ,

अनि म…

तिमीभित्र

आफ्नै हराएको सूर्य खोजिरहेछु।

मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु


एउटा नदी जस्तो बगेको हुँ
तर अहिले बाँध होइन,
पुल बनाउँदैछु
जुन पुलमा
उसका पाइलाहरूले
कुनै भेद नगरी
सारा पृथ्वी चुम्न सकून।


मेरो कविता होइन,
कविता भित्रको मौन भावना हो
म उसलाई अक्षर होइन
अर्थ सिकाउँदैछु,
जसले युद्ध होइन,
संवाद जन्माउँछ।

उसको आँखामा
म आकाश छरिरहेको छु
तर तारा होइन,
चेतनाका बिन्दुहरू
जसले सीमाहीन उज्यालो देख्न सकून।


नारी हो
तर म उसलाई ‘नारी’ बनाइरहेको छैन,
म उसलाई ‘पूर्ण’ बनाउँदैछु,
जहाँ कुनै विशेषण आवश्यक छैन।

उसको बोलीमा
गजलको लय होस्,
उसको हिँडाइमा
कविता बगोस,
तर म चाहन्छु
उसको स्पर्शमा दर्शन होस्,
र हृदयमा क्रान्ति।

म उसलाई
पाठ्यपुस्तक होइन,
पीडाको ऐतिहासिक सन्देश दिइरहेको छु
ताकि ऊ
विगतका आँसुहरूलाई
भविष्यका दीपमा परिवर्तन गर्न सकोस्।


मेरो रक्त होइन
मेरो पुनर्जन्म हो।

मात्र सन्तान होइन
सपना हो,
जसले मेरो अधूरो आकाश
पूरा गरिरहेकी छ।

म उसलाई
एक धर्म बनाउँदैछु
प्रेमको।
एक राष्ट्र बनाउँदैछु
करुणाको।
एक आन्दोलन बनाउँदैछु
मानवताको।

हो
म मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु,
जहाँ सबै टुक्रा, सबै पीडा, सबै भेदहरू
ऊसँगै
एक स्वर, एक रंग, एक मन बनुन्।
जसले सबै तोडिएका टुक्राहरूलाई
फेरि एक बनाउँछ
जसले मलाई भित्र एक
बन्न सिकाउँदैछ
हो म मेरी छोरीलाई त्यही नयाँ
“एकता” बनाउँदैछु…❣️

बिर्सिन गारो भो, साथी!

बिर्सिन खोज्दा, मनले बनायो एक चित्र
न ओठले बोलेको, न आँखाले देखिएको,
तर आत्माले खिचेको त्यो रंगीन फेहरिस्त,
जहाँ तिमी थियौ, एक धून जस्तो,
गुनगुनिए पनि, नथाकिने आफ्नो पन जस्तो।
बिर्सिन गारो भो साथी!

फूल हराएको छैन, तर
त्यो एउटै गन्ध कताकता हरायो।
रात आउँछ, तर
तिम्रो सपना नै आउँदैन…
आकाश निलो नै छ,
तर तिमी सँगै हेरिएको त्यो बादल अब छेलिएको छ ।
बिर्सिन गारो भो साथी!

हावा चलिरहेछ अझै पनि
तर तिमीले छोडेको सासको लय छैन।
छायाँ आइरहेछन् मेरै पछि
तर तिमीले फर्किएको त्यो अन्तिम नजर… त्यो छैन।
बिर्सिन गारो भो साथी!

तिमी नाम होइनौ,
तिमी त एउटा ‘मौनता’ हौ
म भित्रको, म बाहिरको।
तिमी सम्झना होइनौ,
तिमी त एउटा ‘स्मृति-पूर्व आवाज’ हौ
जसलाई न सुन्न सकिन्छ, न भुल्न
मात्र ईन्द्रिय बिहिन लम्किएर महसुस गर्न।
बिर्सिन गारो भो साथी!

समय अगाडि बढ्छ,
तर तिमी, तिमी त ‘अघिल्लो क्षण’मा जिउँदै छौ,
शरीरले हैन, श्वासले
भावनाले हैन, आत्माले
तृष्णाले हैन, अन्कन्डिस्नल प्रेमले ।
बिर्सिन गारो भो साथी!

म झुक्न तयार छु, साथी!

सहरको एकान्त छेउ, पुरानो अशोक रुखमुनि दुई छायाँहरू प्रायः चुपचाप भेटिन्थे। तिनीहरू न प्रेमी थिए, न साधारण मित्र। उनीहरू सम्बन्धको त्यो तहमा थिए जहाँ शब्दहरू बोझिलो लाग्थे र मौनता नै सबैभन्दा साँचो संवाद थियो।
हुँदाखेरि पनि गन्थनमा उनिहरुका कुरा हुन्नथे
खोइ कुन्नि अर्कै तेस्रो छायाँको
जसले ती छायाँलाई भेटाइदिएको थियो
अन्कण्डिस्नल प्रेम भेटिने गरी
आँफुलाई नै मेटिने गरी
परमसत्य खोजिने गरी …

“धन्दा नमान साथी! म छु नि,” पहिलो छायाँले भन्यो, स्वर नभएको स्वरमा।

दोस्रो छायाँ चुपचाप मुस्कायो जसरी सुनको पत्रमा बिहानको उज्यालो मुस्काउँछ।
…. ….

तिनीहरूको सम्बन्ध कुनै कथा होइन, एक यात्रा थियो। न कुनै आरम्भ, न अन्त्य। एक समर्पण, जसमा एउटा आत्माले आफैलाई बिसाउने ठाउँ खोजेको थियो—अर्को आत्माको मौन स्वीकारमा।

कहिलेकाहीँ ती दुई छायाँ छुट्टिन्थे, तर सधैँ एउटै समयपछाडि फर्किन्थे—त्यही रुखमुनि, त्यही मौनको घेरामा।

“किन फर्किन्छौ बारम्बार?” एकदिन एक छायाँले सोध्यो।

“किनभने म झुक्न सक्छु नि,” उत्तर आयो, जस्तै गहिरो नदीको भित्री बहाव, जसलाई बाहिर शान्त देखिन्छ तर भित्र बलवान् बगिरहेछ…

तिम्रा पदचाप

तिम्रा सुस्तरी पदचापहरू,
शून्यमा बगेका लहर झैँ,
मनको अड्को झ्याल खोल्दै
तिमीलाई सुन्छु, देख्दिनँ…

पाखुरोमा झरेका मधुर साँझहरू,
जुनमा हराएका कागजका चिठीहरू,
हावा भित्र मिसिएका स्पर्शका सन्देशहरू
सबै तिम्रा पाइला बनेर आउँछन्
सुस्तरी सुस्तरी…
महसुस हुन्छ जताततै,
छाम्न लम्किन्छन् इन्द्रियहरू
तर भेट्दैनन्….

श्रद्धा सहितको ज्ञान

ज्ञान!
तिमी उज्यालो किरण हौ,
अज्ञानको अँध्यारोलाई चिर्दै
सत्यको आँगनमा प्रवेश गराउने दीपशिखा हौ ।

तर श्रद्धा बिना तिमी अधुरो देखिन्छौ,
किनभने नतमस्तक नभएसम्म
बुद्धिले सत्य चिन्दैन,
शब्दले जीवन चलाउँदैन
शब्दमा भाव जोडिनै पर्छ
भावले श्रद्धा बनाउनै पर्छ।

श्रद्धा बिना ज्ञान रुखो रूख जस्तो,
फल नलाग्ने,
जसको हाँगाहरू घमण्डले भरिए पनि
जीवनलाई शीतलता दिन सक्दैन
हृदयलाई सौन्दर्यले रंग्याउन सक्दैन ।

जब श्रद्धा ज्ञानसँग मिल्छ,
त्यसको सुगन्ध आत्मामा बस्छ,
अहंकारको पर्दा च्यातिन्छ,
र हृदय स्वयं ब्रह्मको दर्पण बन्छ।

हे श्रद्धा!
तिमी ज्ञानको प्राण हौ,
जसले विज्ञानलाई साधन,
र आध्यात्मलाई साध्य बनाउँछ।

साँचो ज्ञान त त्यही हो,
जहाँ श्रद्धामा त्यो झुकेको छ,
शास्त्र र गुरु सहितमा डुबेको छ
र आत्मा परम सत्यतिर लम्केको छ
अनि अन्कण्डिस्नल लभमा फक्रेको छ ।

बिरालोले आँखा खोलेछ

लगभग एक डेड हप्ता अगाडिको कुरा होला, एकदिन म सदा भन्दा अफिसबाट अलि ढिलै घर आइपुगेको थिएँ सहकर्मी साथीलाई अलि सन्चो नभएर पालो दिन अलिक बेर थप बस्नु परेको थियो। घर आएर सदा झैँ आँखामा केही औषधि हालेर चिम्म गर्दै रेष्ट गरिरहेको थिएँ।
एकछिनमा मेरो सानो छोरो स्कुलबाट हड्बडिँदै ढोका ड्वाङ्ग पार्दै ठुलो आवाजले धकेलेर भित्र छिर्यो। छिर्नु अघि उसले लगाइ आएका जुत्ता परैबाट खुट्टा झट्कार्दै उ पर कता पुगेको पत्तै नपाईकनै खोलेछ । पछि कोठा सँगै टाँसिएको सानो बगैंचामा रोपेको रुद्राक्षलाई पानी पटाउन जाँदा पो उसको एउटा जुत्ता, अड्याएर राखेको मेरो बाइक मूनि घोप्टो पर्न खोज्दै अलि कोल्टे परेरै ढल्किराको रछ । तुनाका थोरै एक छेऊ भित्रै छिरेका र अर्को छेऊ अलि लामै परसम्म धुलो लागेर भुइँ मै लम्पसार परिराको रछ। एउटा जुत्ताको त्यो हाल देखेपछि अब अर्को जुत्ता कता होला खोज्न मेरा चिम्रा आँखाहरू यताउती घरि तेर्सिन र घरि घोप्टिन थाले।
निकै बेरको खोजतलासको रस्साकस्सी पछि अर्को जुत्ता त आधा सोल आँ परेर च्यातिएर नजिकैको गमला मूनि उता पट्टि छेलिएर उत्तानो परिराको पो भेटियो। त्यसको चाहिँ तुना खुस्किन नसकेर टम्म सुर्काउने कसिएका भएर होला खुट्टा झट्कार्दा सजिलै जुत्ता नखुस्किएपछि ढोका अगाडि को मार्बलमा बेसकन अगाडिको भागले ठोकेरै हान्यो क्यारै जस्तो लाग्यो।
हुनत अरुदिन पनि मेरो छोरो बिस्तारै भलाद्मी पाराले त किन हिंड्थ्यो र ! स्कुलको गाडीबाट पर चोकमा झर्ने बित्तिकै देखि घर आइपुग्दा सम्म आफ्ना जुत्ताले बाटोको छेउछाउमा भेटिने कुनै फ्याँकिएका काठ दाउराका टुक्राटाक्री होस् या खालि भई फ्याँकिएका प्लास्टिकका पानीका बोतलहरु हुन् या मुखाले श्रीमतीको रातदिनको टोकेसोले फ्रेस हुन भनी दिउँसै १ क्वाटर दबाइहाल्ने छोटी भन्सारमा काम गर्ने हरिलाल सरले झ्यालबाट झट्याउने एटएटफोएट भोटकाको खाली सिसी या यत्रतत्र छरिएका ढुंगाहरू भएपनि बल जसरी हान्दै, खेल्दै कालो जुत्ता लगभग अर्कै रंगको हो कि जसरी पार्दै, घर आउँदै गरेको अलिपरैको आवाजले संकेत पाइन्थ्यो। यो देख्दा प्राय: मलाई स्वामी जि ले भनेको याद आइरहन्छ, अलि पहिले तिरै, काठमाडौंको कुन गल्लीमा साथी सँग राती सुनसान रातमा बाटोमा फ्याँकिएका सिसि, बोतलहरु खुट्टाले हान्दै रमाइलो गर्दै डुलेको, हिँडेको।
छोराको त्यो दिन भने फरक तरिकाको हिँडाई थियो । “जसो गर, जे भन, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो” भन्ने गीत गुन्गुनाउँदै आउने प्राय: उसको स्वभाव, त्यो दिनको फलामको मुल गेटको चुक्कुल खोल्दाको फरक आवाजले फरक मनोभावना दर्शाइराथ्यो।
भित्र छिरेपछि पनि मोजा खोल्न सम्झिएन, कोट पनि दायाँ हातको मात्र खोल्दै अनि सरक्क नराखी ब्याग परैबाट भुइँमा फ्याँक्यो, साइडको खल्तिमा बोकेको पिउने पानीको बोतलमा आधा जस्तो अझै बाँकि रहेको थियो होला बोटल उछिट्टिएर भुईँमा पोखिएको पत्तै पाएन। हतार गर्दै ल्याण्डलाईन फोन राखेको टिभि टेबुल मूनि, उसलाई सजिलै याद भैराखेको नम्बर भएपनि त्यो दिन मुखले ९८******८९ बोल्दै सेटमा डायल गर्न थाल्यो।
उसलाई हामीले सधैं सिकाइरहेकै हुन्छौँ कि कसैलाई भेट्दा होस् या फोन गर्दा सबै भन्दा पहिला “नमस्कार वा दर्शन” भन्नु पर्छ भनेर तर त्यसो हामीले भनेपनि प्राय: ऊ सिकाएको, घोकाएको सम्बोधन भन्न सम्झिँदैन या भन्नै पर्छ भन्ने जरुरी ठान्दैन कि के हो, आफ्नै पारा गर्छ।
त्यसदिन त हेलो समेत नभनिकनै सिधै “एउटा गुड न्युज” भनिहाल्यो ।
सधैं झैं उताबाट बन्द मुखबाटै हृदय खोलेर हाँसीदिने “हुँहुँ” को आवाज आयो, मलाई र छोरा दुबैलाई एकदमै मन पर्ने मृदुल हाँसो, सानो स्वरले भएपनि कानले मात्र सुनिरहेको होइन मेरो बाक्लो सिरक भित्रको फलाटिनको सट, त्यस भित्रको थर्मकोट छिचोल्दै धड्किरहेको मुटुको ढुकढुकीमा एकाएक छिचोलेरै भरिन पुग्यो । मेरा शरिर भरि सबैतिर केहि तरङ्गले पोतिए झैँ भयो, त्यसको प्रभाव तत्कालै भर्खरै हालेको औषधी पखाल्दै आँखाबाट बायाँ कानतिर र केही थोपा ओठ मूनि नुनिलो हुँदै पस्दै गरेको पत्तै भएन।
उताबाट उत्साहित भएर कौतुहलताको आवाज आयो “के भयो?” छोराले तत्कालै जबाफ दियो “एउटा बिरालोले आँखा खोल्यो नि” ।
फेरि उताबाट अहोभाव सहितको आवाज आयो ” वाउ!” त्यसपछि छोराले थप गफ गर्न थाल्यो, “हाम्रो घरमा म स्कुलबाट आउन लाग्दा सधैं आउने , मलाई र बाबालाई भेट्ने र म्याउँ गर्दै ढाड र पुच्छर दल्दै एकछिन बसेर उता पल्लो छिमेकी घरमा फर्कीजाने गरेकी बिरालोले ४ वटा बच्चा पाएको १० दिन भएकोले आज आँखा खोल्यो । बाबाले भनिस्याछ, अब अलि ठुलो भएपछि २ वटा फिमेल बिरालो चाहिँ हामी मागेर ल्याउने अनि माथि अन्टी, अंकल र हाम्रो मामुले थाहा नपाइकन बाहिरै पट्टि बगैँचाको छेउमा फलामको स्ट्याण्ड राखी गमला राखिएको मूनि पट्टि पसलतिरबाट एउटा कागजको कार्टुन ल्याएर, केही कपडाका टुक्राहरु बिछ्याएर उनिहरुलाई सानो घर बनाइदिने अनि छेऊमा एउटा पानी र खानेकुरा हालिदिने सानो कचौरा राखेर पाल्ने” आदि आदि के के के के । अनि फेरि उताबाट पनि “आज के के खायौ ? अब के खाने? कस्तो स्वाद रछ ?” ,,, आदि आदि के के गनथन गर्न थालेको घरि घरी सानो स्वरमा सुनिई रहन्थ्यो । लाग्थ्यो उनीहरू बीच बर्षौ वर्ष त के जन्मौं जन्म देखिको सम्बन्ध कायमै छ। त्यो दिन मात्र होइन सधैं नै उनिहरुको गफमा बुझिन्छ कि म त अकस्मात बाटोमा भेटिएर शरिर जन्माइदिएको सामान्य बाउ मात्र हो, महाबाउ र महाछोरा त उनीहरु नै हुन् ।
“एउटा गुड न्युज, बिरालोले आँखा खोल्यो नि, हुँहुँ को भित्री मृदुल मुस्कान, वाउ ! ” जस्ता शब्दहरु र भावले त्यसदिन निकै अबेरैसम्म मेरा आँखाहरु अहोभावले ओभाउनै भ्याएकै थिएन ।

उता पोखरामा बस्ने एकजना साथीलाई सुनाउन मन लाग्यो दिउँसोको वृतान्त। समय लगभग रातीको साँढे दश बजिसकेको थियो, सायद ऊ निदाइसकेको थियो। मैले उसलाई ह्वाट्सएपमा मेसेज मात्र हालेर सुनाएको थिएँ। कसोकसो उ बिउँझिएछ क्यारै र हेरेछ क्यार। उसले लेखेर पठायो, “मलाई पनि रुवाउनु भयो” । उसको त्यो मेसेज पढेर एक्लै फेरि अहोभावले रोएँ, चपौलीदेखि काठमाडौंमा र अमेरिका, युरोप, अष्ट्रेलिया आदि ठाउँ ठाउँमा रहने साथीहरु सम्झेर अझै रोएँ , अनि हृदयलाई छोइरहने कमिलाका स्ट्रेट लाइन ताँती देखि बिराट ब्रह्माण्डमा रहेका मेरा इन्द्रिय, मन, भावना, बिचार र चेतनास्तरले छुनसक्ने आयामसम्मका अनेक सबै कुराहरु र निराकार परमात्मा एवं साकार रुपी बिभिन्न देवी देवताहरु सम्म सम्झिएर श्रद्धा, समर्पण, प्रेम भावले आँखा रसाइरहे। छोरो छेवैमा घुरेर सुतिरहेको थाहा पाएर सिरकका खोलले आँशु पुछ्दै सुतेको निकै बेर पछि खोइ कुन्नि कतिबेला भुसुक्कै निधाएँछु, पत्तै भएन।

परिवर्तनकारी सोच, प्रेम एवं मनोवैज्ञानिक ओहापोह

“त्यो रात्री पनि सधैंको जस्तो साधारण रात्री थियो, अन्धकारमा मानिसको लोक थाकेर मरेको चिसो, जाडोले कठांग्रिएको, काजलको आकासमा एकनाससँग सलमा सितारा झल्केको हेरिदिने कोही छैन, घर घरमा बत्ति निभेका छन्, ढोकाझ्याल टम्म छन्, शुन्य सडकका खाँवामा बत्ति घोरिएर भुईँ तिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रीको निस्वास जस्तो बत्ती बत्ती मूनि झुण्डिएर अडिरहेको छ । निस्पट्ट शान्ती छ शहरमा, झन् जाडोले शान्तीलाई जमोठ जस्तो डल्लो पारेर अड्याइदिएको छ । अरु जाडाको रात्री सरह नै त्यो रात्री पनि थियो, जीवनको कार्यरत्ता एकदम थामिएर अडेको, मानौ तमाम विश्व स्पन्दनहिन भएको छ ….।” शिर्षकको मर्मलाई जीवन्तता दिने गरी लेखकले पाठकसामु बिछ्याएका एक महत्वपूर्ण अंश ।

बिपी कोइरालाद्वारा लिखित श्वेत भैरवी कथा संग्रह भित्रको एउटा कथा “एक रात” एक शसक्त नेपाली कथा हो, जसले मानवीय मनोविज्ञान, समाज र नैतिक द्वन्दलाई जीवन्त रुपमा उजागर गरेको आभास हुन्छ । चरित्र प्रधान कथा लेखनशैली, पात्रको मनोवृत्तिलाई सामाजिक, साँस्कृतिक र मानविय प्रवृत्तिसँग न्यायपूर्ण रुपमा पाठकको मस्तिष्क एवं भावनामा छर्लङ्ग पारी पस्किएको आभाष हुन्छ । यस उपन्यासमा मृत्युको छायाँमा बिताएको एक जवान पुरुषको जीवनको एउटा अन्तिम रातको मानसिक संघर्ष, प्रेम, पछुतो बीनाको निर्णय, आफ्नो उद्देश्य प्रति श्रद्धापूर्वक संकल्प रहित ब्यक्तित्व आदि कुराहरुको जीवन्त रुपमा प्रश्तुती देखिन्छ ।
मुख्य पात्र भर्खरै विवाहित एक युवा हुन्, जो जेलमा भोलिपल्ट झिसमिसे बिहान अघि नै फाँसी दिइने प्रपन्चको पर्खाइमा छन् । त्यस रात उनले आफ्नो सम्पूर्ण जीवन, प्रेम, विवाहित जीवन, सन्तानको बाउ र मृत्यबोधको गहिरिएर समिक्षा गरिरहेका हुन्छन् । उनी एक राजनीतिक क्रान्तिकारी युवा शक्ती हुन्, राणाकालिन शासन ब्यवस्थाको सरकारविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका छन् । त्यो एक रातभरि उनी अतित, प्रेम, वर्तमान अवस्थाको पिडा र मृत्युको भय एवं आफ्नो संकल्प शक्तीको मनोभावनासँग नजिकिएर परिक्षण गर्दै हुन्छन् । उनी आफ्नो भर्खरै विवाहित पत्निलाई पनि सम्झन्छन् त्यसगरी आँफुले देश र जनताको भविष्यका लागि संकल्पित भएर क्रान्तीमा होमिएको बलिदानको अवस्थालाई र बिचारधारालाई पनि सम्झिन्छन् । घरि घरि आफ्नो जिन्दगीको बारेमा आँफुले गरेका निर्णयहरुको पनि पटक पटक पुनर्विचार गर्न खोजेको बुझिन्छ । मृत्यु लगभग निश्चित जस्तै भएपनि कहिँ कतै कुनै कुराले न रोकिन्छ कि भन्नेमा पनि युवक झिनो आशावादी भएको जस्तो पनि भान हुन्छ जसले गर्दा आफ्नो तथा परिवार र समाज एवं समग्र राष्ट्रकै अवस्थाको महत्वबारे पनि गहिरो चिन्तन गर्छन् । यो कथा एउटा सिंगो रातभरि घट्छ, जहाँ नायकको मानसिक अवस्था क्रमशः प्रेम, स्विकारोक्ती र आत्मसमर्पण तर्फ अग्रसर हुन्छ । घरि घरि त्रास, पिडा त घरि घरि आत्म संकल्प जस्तो विरोधाभास अवस्थाले पनि उसलाई झस्काइरहन्छ । उनी आफ्नो नवविवाहित पत्निसँगको भावनात्मक प्रेम र निर्दोषता प्रति भावावेगमा आउँछन् । गर्भमा रहेको आफ्नो बच्चा र बाउआमाको सपना साकार पार्ने जिम्मेवारीको समेत घरिघरि आत्मपिडा महसुस गर्छन् ।

“… कमिस्नरले कोमल स्वरमा अन्तिम बार सोधेः तिम्रो अन्तिम इच्छा के छ ? केही भन्नु छ ? उसले भन्यो, तमाम किशोर युवकहरुको मानविय मर्यादा र सुख सम्भव हुन जाओस् ।…”
“…आफ्नो छोराको कोठामा गए, उ उत्तानो परेर सुतिरहेको थियो । कमिस्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे, अनि विस्तारै गएर उसलाई छोए ।…”
“…किशोरले आफ्नै बाणीलाई अर्कोले बोलेको जस्तो गरी सुन्यो । कमिस्नरको मसिनो बोली पो सुनियो भनेको मानेनौ माफी माग भनेको, के गर्नु आफ्नो ड्युटी गर्नै पर्ने भो । किशोर मुस्कुरायो, भन्यो मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गइरहेको छु ।…”

कथामा कमिस्नरले किशोर प्रति करुणा भाव प्रकट गर्दै आँफूले गरेको गल्ती सम्झेर माफी मागे कानूनी रुपमै क्षमा पाईने र दण्डबाट छुटकारा पाइने अभिलाषा राख्छन् । किशोरलाई देखेर उसको आफ्नो छोरालाई हृदयमा जोडेर संवेदना जागेको हुन्छ । किशोर भने आफ्नो देशभक्ती, जनआकांक्षाको सेवा, परिवर्तनकारी सोच एवं संकल्प प्रति दृढ देखिन्छ ।

“…अन्तिम घडि आएछ, चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट हठात् समाप्त हुने छु र छैनका बीच छुट्टयाउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको ….”

घरिघरि किशोरमा द्वैद मनस्थिति पनि झलिन्छ अनि लगभग निश्चित देखिएको मृत्यको चित्र र त्यस अघि आँफू जीउँदो अवस्थामा रहेको बीचको सानो दूरीलाई गहिरिएर बिचार गर्छ ।

“…उसका आमा–बा ठेट ग्रामिण दम्पति, उनले बुझे होलान् र राजनितिका कुरा ! उसका बालाई छोरामाथि बढो आशा थियो, त्यसैले अंग्रेजी पढाउने नयाँ कुरा तिनले गरे, छोराले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो । …”
“…उसले बैनिलाई राखेर भन्यो, “म तिमीलाई पढाउँछु, तिमीले पढ्नु पर्छ । ….बैनी बढो उत्साही बालिका थिई । उसले भनी, म पढ्छु दाई ! म पनि ठुलो हुन्छु, धेरै पढ्छु । …”
“…बैनी भन्थी, आमा म बिहे गर्दिन । आमा भन्थिन् के भनेको रे, बिहे गर्दिनस् ? अँहँ गर्दिन । देश सेवा गर्छु पढेर आमा भन्थी बैनी…”
“… तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रुपमा ढाल्छु । उसले भन्यो यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गीनी बनाएर उपस्थित गराउँछु ।…”
“… एक दिन उसले दुलहीलाई भन्यो साँझतिरः राधा हिँड जाउँ नदितिर घुम्न, …अनि राधा खुसी भएकी जस्ती थिई, तर भन्न चाहिँ यत्ति भनीः तर मलाई लाज लाग्छ । …उसले भनेको थियो अझसम्म लाज गएको छैन, तिम्रो आमा हुने बखतमा पनि ? …”
“… प्राणनाथ ! अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट बोली निस्किएको थियो, राधाको मुखबाट प्राणनाथ ।…”
“… थुनिएपछि उसले सुन्यो कि राधाले छोरो पाई ।…”

किशोरका बाआमा गाउँले परिवेशमा जन्मिएका, हुर्किएका अनि दैनिकी चलाईरहेका तथा तत्कालिन सामाजिक, सांस्कारिक रितीरिवाजमा चल्ने प्रवृत्तिका भएकाले सो घेराबाट निस्किन गारो संघर्ष मान्ने स्वभावका हुन्छन् । तैपनि बाउले छोरालाई आधुनिक शिक्षाको केही अनुभवमा लगाउने साहस र इच्छा चाहिँ राख्छन् र अंग्रेजी विषय एवं थप उच्च शिक्षाका लागि भारतसम्म पठाउने साहस पनि गर्छन् । बाआमाले आँफूमा छोरा प्रति पारिवारिक भविष्यको ठूलो सपना कोरेका हुन्छन् । छोरालाई राम्रो शिक्षादिक्षा गराएर, राम्रो रोजगार पाउने योग्य बनाएर समग्र परिवार तथा त्यो सानो गाउँको ईज्जत बनाउने ध्येय राखेका हुन्छन् । किशोरकी एउटी बैनी हुन्छे सानी, शुसिल जसलाई नयाँ लुगा लगाइदिई नौलो भेषमा समाजमा उभ्याउँदै, पढाइलेखाई गराई महिलाले पनि पढेर आफ्नो जीवन नयाँ तरिकाले जीउन सक्ने सक्षम बनाउने चाहाना राख्छ । यस्तो बुझेर बैनी सारै खुसी हुन्छे । पढेर राम्रो, ज्ञानी, शिक्षित हुने र देशको सेवा गर्ने देशभक्ती भावना जस्तो ठूलो कार्यमा होमिन चाहाना राख्छे । यो दृष्यले के देखाउँछ भने नव बालक, युवाहरुमा शिक्षादिक्षा, कर्मठता, सक्षमता जस्ता क्षमतावान कुराहरु देशकै लागि प्रयोग एवं उपयोग गर्नु पर्छ भन्ने अन्तरहृदय र बिवेकमा गडेको छ । तर आमालाई भने छोरी मान्छे भनेको अर्काको घरमा बिहे गरेर जाने, त्यहाँ घाँस दाउरा, मेलापात, पशुपालन र भान्साको काम गर्ने जिम्मेवारी हुन्छ त्यसैले त्यस्तो कुराहरु मात्र सिक्ने हो छोरीले त भन्ने मान्यता राखेकी हुन्छिन् । तर किशोरको परिवर्तनकारी सोचले बैनी समेत पढ्न पाउने भएकी हुन्छे । अर्कातिर बाआमाको सोच छोरालाई बिवाह समेत गराइदिने अनि परिवारको हेरचाह एवं सन्तान जन्माउन लगाई पुस्तान्तरण गर्ने अभिलाषा मनमा पालेका हुन्छन् । त्यसैकारण उसको भित्री चाहाना नभइकनै बाआमाको आज्ञा मानेर एउटी सानी निर्दोष केटीसँग बिवाह पनि गर्छ । बिवाह पश्चात भने आफ्नी पत्नीलाई समेत आफ्नै बैनी जस्तै मायालु देख्छ अनि उसैगरी माया ममता सहित हिम्मतसाथ पढाउन लेखाउन पनि लगाउँछ । उनीहरु बीच मिठो सम्बन्धको प्रेम बन्छ, बैवाहिक जीवनको प्रेमात्मक सोत र वातावरणलाई सामाजिक रुपमा नै नयाँ आयामहरु थप्ने हेतुले किशोरले आफ्नी पत्नी राधालाई घुम्न जानु पर्छ पतिपत्नी भएर मायाको अनेक रंग चढाउन बुझ्‌ने र बुझाउन खोजेका हुन्छन् । राधाको निर्दोष मिठो प्राकृतिक प्रेमभावको र आफ्नो पति प्रतिको श्रद्धाभाव पनि यस कथामा स्पष्ट अवस्था देखिन्छ जसले ती दुई जोडीको प्रेमिल आत्माहरु उच्च सौन्दर्य आभासमा सल्बलाएको उजागर हुन्छ ।

“… उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनास भनेको थियोः मैले फ्याँकेको हो बम तर हत्याको लागि होईन चेतावनीको लागि…”
“…हवल्दारले भन्योः मरे निद्रा आउँदैन । सुवेदार उठेर बस्यो र भन्योः सिगरेट झिक्न । …”
“… एउटाले भन्यो त्यस्तो अन्तिम घडिमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको पुग्छ ।…”
“… त्यहि ठिटोलाई फाँसी दिन गएको थिएँ, डाक्टरले भन्यो, नभनेस् है छोराहरुलाई । दुलहीको मुखबाट केबल हाय भन्ने शब्द निस्कियो र उसले आफ्नो हत्केलाले मुख छोपी ।…”

कथामा किशोरलाई फाँसी दिन आफ्नो जागिरको ड्युटी निभाउन बाध्य भएका प्रहरि, डाक्टर, कमिस्नरहरुको मनोभावनालाई यहाँ राम्रोसँग पस्किन भ्याएका छन् लेखकले । करुणा, प्रेम, सदभाव जस्ता साझा मानविय संवेदनशिलताहरु तथा विशेषताहरु सबै जिम्मेवारी, कर्तब्य निभाइरहेका ब्यक्तीहरुमा हुने रहेछ भन्ने कुरा बुझाउन लेखकले यस कथा मार्फत कुनै कसर बाँकि राखेका छैनन् ।
समग्रमा भन्नु पर्दा मानिसहरुमा आउने मनोवैज्ञानिक ओहापोहहरुको विश्लेषणात्मक तरिकाले बिवेचना गरिएको र त्यस्ता कुराहरुलाई सौन्दर्यताको रंगले पोतेर पाठकलाई हाइयर इमोश्नल इन्टेलिजेन्सको आयामहरुमा छुवाउने राम्रो क्षमता राखेको छ यस कथाले र श्रदेय लेखक श्री बिपी कोइराला ज्यू को लेखनशैली एवं भावले ।

नारीत्व र प्रेम एवं द्वन्द र अस्तित्वको आवश्यक्ता

बीपी कोइरालाद्वारा लिखित “मोदीआइन” सामाजिक परिवेशको छाप बोक्न सफल एक शसक्त कथा हो । लेखन शैली भावनात्मक र यथार्थपरक देखिन्छ । पात्रहरु वास्तविक र जीवन्त लाग्ने भेटिन्छन् । कथाका हरेक पक्षलाई गहिरिएर विश्लेषण गर्दा समाजका अन्याय, शोषण, वर्गसंघर्ष, प्रेम, नारीत्व जस्ता विषयहरुलाई स्पष्ट पार्छ । यस कथाले नारी अस्तित्व, पुरुषप्रधान मानसिकता, प्रेम बासना र आत्मसम्मान बीचको द्वन्दलाई उजागर गर्छ । यो उपन्यासमा तराई ग्रामिण क्षेत्रको वस्तुस्थितिलाई लेखकले गहिरिएर उर्तान खोजेका छन् । प्रेम, संघर्ष, विद्रोह, शोषण, अस्तित्वको खोजी र सामाजिक अन्याय यस उपन्यासका मुख्य विषयवस्तु हुन् । स्त्रीतत्व, नारीभावना, बाल मनोविज्ञान, शासक मानसिकता जस्तो विषयलाई मुर्त रुपमा दर्शाएको छ । त्यसैगरी प्राचिन समयको महाभारत युद्धको उपदायता, वाद्यता, धर्मयुद्धको ब्याख्यालाई समेत यहाँ उल्लेख गरिएर द्वन्दलाई पनि कुनै अवस्थाले अस्तित्वको आवश्यक्ता हुने भनी बुझाउन समेत कोशिस गरिएको छ । धार्मिक तथा आध्यात्मिक श्रद्धा, विस्वासलाई समेत समेट्न कसर छाडिएको छैन । नारीलाई समाजले बजारको सामान्य बस्तु जसरी मात्र सोच्ने गरेको र सोन्दर्यको बिलासी बस्तु मात्र ठानेको सन्दर्भलाई देखाइरहेको आभास हुन्छ । अस्तित्वलाई जोगाइराख्न अहम् भूमिका निभाउने सबै किसिमका फ्यामिनिजम् तत्वहरु जस्तै पृथ्वी, प्रकृति, नदि, पोखरी, जंगल तथा नारी मान्छेहरु र स्त्रीलिङ्ग जन्य अरु जीवात्माहरुले आँफूसँगको कुराहरु अरुलाई दिन मात्र खोज्ने, जान्ने, त्यसको बदलामा आशा नराख्ने, जेसुक अवस्था भएपनि परिवारमा प्रेम, सदभाव कायम रहोस् बरु भौतिक रुपमा एवं समस्त मानव सभ्यताको समग्रतामा कुनै अन्य केहि नोक्सानै सहनु राम्रो हुन्छ तर भईरहेको पारिवारिक सदभावको बातावरण नखल्बलियोस् भन्ने कुरामा एकदमै जोड दिएको देखिन्छ ।
यसमा मुख्य पात्रको रुपमा रहेकी मोदीआइन एक महिला जो विद्यमान समाजको नियम एवं सोचलाई स्वीकार्न वाद्य भएकी छिन् । उनी एक सुन्दर महिला मात्र होइनन्, उनी भित्रको मनोविज्ञानिक द्वन्दका कुराहरु पनि कथा अघि बढ्दै जाँदा झन् स्पष्ट हुन्छ । उनी पुरुषको भोगविलासको साधन बन्न चाहन्नन् तर समाजको दृष्टीमा उनी फेरि पनि त्यहि हुन बाद्य छिन् । यस कथा मार्फत समाजमा महिला यदि आर्थिक वा सामाजिक रुपमा स्वतन्त्र छैनन् भने उनीहरु जस्ता नारी, पुरुषको अधिनमा रहन बाध्य हुन्छन् भन्ने कुरा दर्शाउन खोजिएको बुझिन्छ । घरको सरसफाई, परिवारको हेरचाह, भान्सा आदि जस्ता घरभित्रका काममा मात्र सिमित राख्ने सामाजिक परिवेश भित्र बाँच्न सहनशिल नारीको रुपमा मोदीआइन देखिन्छे ।
कथाका अर्का पात्र मोदी एक धनी ब्यापारी हुन्, जसले आफ्नो पैसाको बलमा सुन्दर महिलालाई बिवाह गरी आफ्नो घरमा राखेका हुन्छन् । महिलालाई केवल सौन्दर्यको रुपमा हेर्ने समाजको प्रतिनिधित्व उनले गर्ने यहाँ स्पष्ट बुझिन्छ । उनी सौन्दर्यका उपासक हुन्, जसले महिलालाई केबल मनोरंजनको साधन मात्र ठान्छन् । उनले घरमा ल्याएकी महिलाको नाम उनको नामबाट जोडिएर बनाइएको हुन्छ । मोदीआइनको आफ्नै छुट्टै नाम, अस्तित्व छैन ।
मिसिर जी एक अर्का पात्र हुन् जो आफ्नो घरायशी एवं ब्यापारिक प्रयोजनका लागि मोदीआइनको घरमा गएका हुन्छन् । उनको साथमा कथाका म पात्रको भूमिकामा रहेका एक बालक छन् जो नयाँ ठाउँ, महाराजको दरवार, हात्तिसार, अस्तबल, कचहरी, ठूलाठुला घरहरु हेर्न, घुम्न जान चाहान्छन् र मिसिर जीको पछि लागेर घुमघामका लागि ढिपी गर्छन् । बाल सुलभताको राम्रो अनुभव गरिरहेका उनि ठाउँ ठाउँमा, विभिन्न अवस्थामा हरेक कुरालाई रहस्यमय हिसाबले कौतुहलताका साथ जान्न, बुझ्न, अनुभव गर्न चाहान्छन् । नजिकैको हडाआ पोखरीको प्राचिन महत्व, आख्यान, घटनाको बारेमा बहुत् उत्सुकताका साथ सुन्न, बुझ्न चासो राख्छन् । पोखरीमा आउने देउता, ती देउता अगाडि कसैले घमण्ड देखायो भने सो ब्यक्तिलाई कुनै अनर्थ हुन सक्ने मोदिआइनका कुराले उनको बालसुलभ मानसपटलमा एउटा छाप पर्छ । पोखरी वरपरको प्राकृतिक अवस्थाले उनलाई घरि घरि लोभ्याइरहन्छ । त्यसैगरी सुत्ने बेलामा कथा सुन्न लालायित बाल्यकालको कुराले पनि उनको विशेषतालाई दर्शाउँछ । अँध्यारो, एक्लोपन जस्ता कुराले उनलाई घरिघरि डर लागिरहेको तथा मोदीआइनका मधुर कथाबाचनलाई निद्राको तन्द्राबीचमा आफ्नो सपनीमा जोडिएर बुझिरहेका हुन्छन् जसले गर्दा समग्र कथावस्तुलाई नै एउटा रोचक बनाएको हुन्छ । पाठकलाई आफ्नो बाल्यकालको नोस्ट्याल्गिक तिर लैजान्छ ।
यस उपन्यासले महाभारत युद्धकालको अपरिहार्यता, वाद्यता र त्यसबाट तत्कालिन जनमानसमा परेको मानसिक त्रास, घरका स्त्रीहरुमा परेको भय, पिडाको अवस्थालाई राम्रोसँग प्रस्तुत गर्न कोसिस गरेको छ । सामान्य मानवहरुलाई आफ्नो मात्र चिन्ता, आफ्नो घर परिवारको मात्र अस्तित्वको जरुरी लाग्ने र समग्र राज्य, समाज र समग्र सनातन धर्मको रक्षालाई जान्न, बुझ्न र कायम राख्न जरुरी नदेखिएको भन्ने निदोर्षता पनि सँगसँगै बुझिन्छ । जसले गर्दा श्रीकृष्णले पाण्डव पक्षलाई युद्धतर्फ जानाजान धकेलेर, उकासेर झन् नराम्रो अवस्था सिर्जना गरेको आरोप सम्म लगाउँछन् त्यसबेलाका सामान्य नारीहरुले । एकापट्टि कौरव पक्षका मुख्य कारक पात्र दुर्योधन आफ्नो ब्यक्तिगत स्वार्थ तथा घमण्डीपनको कारण पाण्डवलाई हरेक तरहले कुनै अधिकार, सम्पत्ति, अस्तित्व दिन नचाहाने अवस्था हुन्छ भने अर्कातर्फ आफ्ना नातागोताहरुलाई मारेर, सिद्याएर के राजकाज गर्नु , सुख भोग गरिरहेको अनुभव गर्नु जस्तो कुराहरु सोच्ने इमान्दार पाण्डवहरुको सोचले कृष्णलाई धर्मरक्षाका लागि जसरीपनि युद्ध गर्नै पर्ने अवस्था सिर्जना भएको समेत देखिन्छ । अकर्ताभावमा निस्काम कर्म गरी गरिने कुनै पनि कार्यले कुनै पाप बोक्दैन भन्ने सन्देश बारम्बार कृष्णले पाण्डव पक्षलाई सिकाइरहेका हुन्छन् । धर्मको रक्षा र समाज कल्याणका लागि यदि समयले युद्ध आवश्यक ठान्छ भने, अस्तित्वले त्यसको अपरिहार्यता देख्छ भने त्यो पनि नराम्रो हुँदैन भन्ने गीताको मूल मर्म यहाँ लेखकले बुझाउन खोजेका छन् । कुनै पनि शंका, भय, अकर्मण्ड्यता, अन्धविस्वास यदि लागिरहेको भए र त्यसकुराले असमान्जस्यता ल्याइरहेको भए सबैकुरा छाडेर मेरो सरण, मेरो विस्वास, मेरो भर गर, जसमा मात्र आफ्नो कर्तब्य निर्वाह गर सबै तरिकाले सबैका लागि कल्याण हुन्छ भनेर बारम्बार अर्जुन लगायत पाण्डव पक्षलाई कृष्णले आफ्नो परमात्माको परम शक्ती रहेको हुँदा सो स्तरको बुझाइ र दृष्टिले म प्रति विस्वास गरेर मैले भनेको मान भनिरहेका हुन्छन् । यो विषयवस्तुलाई यस उपन्यासमा राखेर लेखकले अकर्ताभावमा रहने अभ्यास र निस्काम कर्मको मर्मलाई बुझाउन बहुत राम्रो कोसिस गरेको बुझिन्छ । भलै उक्त युद्धले त्यसबखत कयौं परिवारका सदस्यहरुको नास भएर साँसारिक रुपमा अनाथ, असाय, दुखी भएको देखिएता पनि समग्र समाज, राष्ट्र, अस्तित्व तथा मानव सभ्यताको समग्र कल्याण एवं धर्म रक्षाका लागि जरुरी हो भन्ने पनि लेखकले यहाँ गीताको सन्देश मार्फत पाठकहरुलाई बुझाउन खोजेका छन् ।
यस उपन्यासमा प्रश्तुत भाषा, शब्द, शैली, प्रश्तुती एकदमै सरल, विस्तृतिकरण र गहिरो अब्जर्भेसन गरिएको पाईन्छ जसले पाठकलाई साना साना कुराहरुमा पनि कति सौन्दर्य अनुभुति गर्न सकिने रहेछ भन्ने आभास गराउँछ । मोदिआइनका दाँत, ओठ, कपाल, पुष्ट शरिर, भाङ्गभङ्गिता, स्त्रीतत्व, नारी करुणा, प्रेमभाव जस्ता संवेदनाको गहिरिएर प्रस्तुत हुँदा पाठकलाई अहोभावको आभास गराउँछ । मातृत्व, देवीत्व भाव देखिई त्यसप्रति श्रद्धाभाव प्रकट हुन्छ । हडाआ पोखरीको परिवेश, आकाश, बादल जस्ता प्राकृतिक कुराहरुदेखि लिएर, नारीले आँफूलाई सिँगार्न प्रयोग गर्ने सामग्री, फुलहरु, पातपतिंगरहरुको ब्याख्याले समेत अहोभाव गराइदिन्छ । शब्द चयन र प्रश्तुतीले जीवन्तता महसुस भई प्रेम, करुणा, अहोभाव, श्रद्धाभावले ठाउँ ठाउँमा पाठकका नयन रसाउने गरी गम्भिर बनाइदिन्छ । आध्यात्मिक साधना अभ्यासमा उपयोगी ठानिने अकर्ताभाव र निस्काम कर्मको राम्रो ब्याख्या गरेर कथाले पाठकलाई द्वन्दबीच पनि आशातित् सुकिरणको सकारात्मक सन्देश दिइरहेको समेत आभास हुन्छ ।
तशर्तः यो उपन्यास एउटा शसक्त, ज्वलन्त तथा यथार्थवादी सामाजिक कुराहरु समेटिएको विषय हो भनी मान्न सकिन्छ जसबाट स्त्रीतत्वको सह अस्तित्व भावका साथ संरक्षणलाई ध्यान दिनु जरुरी हुने एवं प्रेम र संयमता तथा अस्तित्वको आवश्यक्तालाई समेत श्रद्धा गर्नु सबैका लागि उपयुक्त सोच बन्नु पर्छ भनी दर्शाउन खोजिएको बुझिन्छ ।