कुनै एउटा टाढाको पहाडको काखमा, जहाँ बादल र कुहिरोहरूले रुखका हाँगाहरूसँग लुकामारी खेल्थे, त्यहाँ एउटा सानो तर झिलिमिली परेको कुटी थियो। त्यही कुटीमा उ आफ्नो बाल्यकालका कलिला पाइलाहरू चाल्दै गुरुको सामिप्यतामा हुर्कँदै थियो। अरू बालबालिकाहरू बाहिर मैदानमा दौडिरहँदा, उसलाई भने गुरुले एउटा सानो माटोको घैँटो र एउटा बीऊ दिएर एकान्त कुनामा बस्न लगाउनुभएको थियो। उसको लागि त्यो केवल एउटा बीऊ थिएन, बरु एउटा नसुल्झिएको पहेली थियो। उसले दिनभरि त्यो माटोलाई हेर्थ्यो, तर त्यहाँ केही पनि हलचल हुँदैनथ्यो। उसलाई लाग्थ्यो, के यो बीऊ निदाइरहेको छ? वा यो भित्र केही भइरहेकै छैन? उसको मनमा जिज्ञासाका अनेकौं लहरहरू चल्थे, तर गुरुको शान्त र गम्भीर उपस्थिति देखेपछि उ चुपचाप आफ्नै भित्री जगतमा फर्कन्थ्यो। गुरुको निगरानी कुनै शासन जस्तो थिएन, बरु एउटा शीतल छाया जस्तो थियो जसले उसलाई बाहिरी संसारको भड्कावबाट जोगाएर आफ्नै आत्माको ऐना हेर्न प्रेरित गर्थ्यो।
एकदिन, धैर्यताको बाँध टुट्न लाग्दा उसले गुरुलाई सोध्यो, “गुरुदेव, यो बीऊ किन यति धेरै समयसम्म एक्लै अँध्यारोमा बस्छ? के यसलाई एक्लो महसुस हुँदैन?” कुखुराका अण्डाहरू पनि त त्यो बिऊ सँगै अँध्यारो मै थिए त तर चाँडै चल्लाहरू बनेर निस्किए त, ती पनि त बिऊ नै थिए नि होइनन् र ? गुरुले उसको कलिलो टाउकोमा हात राख्दै मन्द मुस्कानका साथ उपनिषद्को एउटा गहन सत्य सुनाउनुभयो, “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय ।” अर्थात्, “हे वत्स! यो बीऊ अहिले असत्यबाट सत्यतर्फ र अँध्यारोबाट उज्यालो तर्फको यात्रामा छ। बाहिरबाट हेर्दा यो चुपचाप छ, तर भित्रभित्रै यसले आफ्नो पुरानो अस्तित्वलाई गलाएर नयाँ स्वरूपको निर्माण गरिरहेको छ। गहिरा कामहरू त सधैँ एकान्तमै हुन्छन्। अनि सबै बिऊहरु एकै समयमा अंकुरित हुनै पर्छ भन्ने पनि छैन नि, प्रकृतिका नियममा अनेक लिला हुन्छन्, बिउका योग अनुसार तीनका भोग हुन्छन् ।” गुरुको यो कुराले उसलाई गहिरो आत्म-निरीक्षणमा पुर्यायो। उसले बुझ्यो कि जसरी बीऊले बाहिरी दुनियाँलाई बिर्सेर माटोमुनि आफ्ना जराहरू बलिया बनाउँछ, उसले पनि आफ्नो चञ्चल मनलाई बाँधेर आत्म-स्मरणको बाटो रोज्नुपर्छ। उसले आफ्ना पुराना जिद्दीहरू, सानातिना रिसहरू र चञ्चलतालाई बिस्तारै नियाल्न थाल्यो। यो उसको लागि एउटा यस्तो सिकाइ पद्धति बन्यो जहाँ किताबका अक्षरहरू भन्दा धेरै आफ्नै भित्री मौनताले पाठ पढाइरहेको थियो सुस्तरी सुस्तरी, धर्यपुर्बक स्वभाव अनुसारको योगमा अनि अहंकार बिसर्जन अभ्यासमा,
“ॐ वैरोचनीये विद्महे छिन्नमस्तकायै धीमहि तन्नो देवी प्रचोदयात्” गुरु आज्ञाले जप गर्दै एकान्तको गहिराइमा…..।


