आजको समय लोकप्रियताको समय जस्तै नै प्रायः देखिएको छ । सामाजिक सञ्जाल, भिडभाड, ताली, लाइक, कमेन्ट, यी सबैले मानिसलाई छिट्टै लोकप्रिय देखिने बनाइदिन्छन् तर प्रश्न उठ्छ, के देखिनु नै सफल हुनु हो त ? के सस्तो रुपमा लोकप्रिय हुनु नै, मानिनु नै सार्थक जीवन हो त ?
मानव जीवनको यात्रा केवल देखिनु, चिनिनु र प्रशंसा पाउनुमा मात्रै पक्कै पनि सीमित छैन। जीवनको वास्तविक सार त बोध, करुणा, सत्य र आत्मिक शुद्धतामा निहित हुनु पर्दछ भन्ने लाग्दछ तर आजको युगमा मानिस सजिलै सस्तो लोकप्रियताको आकर्षणमा फसिरहेको देखिन्छ। बाहिरी चमक, ताली, प्रशंसा, पद र प्रतिष्ठालाई नै सफलता ठान्ने प्रवृत्ति बढ्दो छ तर यस्ता उपलब्धिहरू क्षणिक हुँदा रहेछन्, स्थायी शान्ति दिन सक्दैनन्।
दुर्गम पहाडमा जन्मिएर आमाको पिठ्युँ पछाडि सानो डोकोमा बोकिएर बाउ, दाजु, भाउजु, दिदीहरुको पछि लाग्दै सानैमा तराईको गाउँमा झरेर हुर्किएको एक मानव रुपी बालकको जीवन अलि सानै छँदा फराकिलो धुलाम्य आँगनमा नांगा शरिरका रालसिगानले लत्पतिँदै जाँगरिला कोमल हातले झिक्रो समाएर स्वतन्त्रताका चिन्हहरु कोर्न भ्याए पनि छिट्टै त्यो स्वतन्त्रतामा हनन् हुन थाल्छ र अलि बढेको कहल्याइएर बाल्यकाल देखि नै प्रतिस्पर्धाले घेरिएको हुन्छ। स्कुल जीवनदेखि राम्रो अंक, राम्रो स्थान र राम्रो पहिचान प्राप्त गर्नुपर्ने दबाब थोपरिन थाल्यो। बाहिरबाट हेर्दा त्यो सफलता जस्तो देखिन्थ्यो, तर भित्रभित्रै तनाव, तुलना र असन्तोष बढ्दै गएको थियो। विस्तारै उच्च शिक्षा हाशिल गर्न शहर पस्नै पर्छ भन्ने टिनेज जस्तो उर्वर समयमै देखासेखी र दबाबले नै तुल्याइयो। यहाँ पनि जीवनको ध्येय पढाइ, जागिर, विवाह, पद, प्रतिष्ठा र सामाजिक मान सम्मानमै केन्द्रित रह्यो। जीवन बाँच्नभन्दा देखिनतर्फ बढी उन्मुख भयो। यसरी नै अनजानमा सस्तो लोकप्रियताको भीडमा जन्मजात स्वतन्त्रता आर्जन गर्दै चेतना विस्तारको नैसर्गिक अधिकार बोकी ल्याएको र त्यस बिरुद्ध गर्भमा रहँदा होस् या धर्तिमा प्रवेश गर्दा होस् कसैसँग कुनै सम्झौता, तमसुक नगरेको भएपनि अप्रत्यक्ष रुपमा Pure नेक्टरको घोलमा Slow पोईजन घोलेरै मिसाइयो । हुनत त्यसो हुनुमा अज्ञानता, अनभिज्ञता नै कारक थियो पक्कै पनि किनभने लगभग समग्र समाजले नै खाएको जे थियो त्यहि त मिसाएको थियो होला । विस्तारै विस्तारै उमेर त बढेकै भान हुँदै थियो जसको सूचक समयले कोरिदिएको जुँगा, दारी, कपाल र छालाहरु सहितको कदले देखाइरहेका थिए तरपनि ती भित्र गुजुल्टिएर रुमलिएको अर्काे Unhealed बच्चा घरि चिच्चाउँथ्यो त घरि पिर्साेलिन्थ्यो र असरल्ल यत्रतत्र छरपष्ट छरिन्थ्यो ।
तर समयसँगै एउटा गहिरो प्रश्न मनमा उठ्न थाल्यो, “के म साँच्चै बाँचिरहेको छु, कि केवल देखिन खोजिरहेको छु ?” यही प्रश्नले जीवनलाई नयाँ दिशातर्फ मोड्न थाल्यो। बाहिरी उपलब्धिभन्दा भित्री शान्ति, मानव रुपी कुनै नाम भन्दा मानव बन्ने अभ्यास र अहंकार बढ्ने प्रशंसा भन्दा परम सत्यको खोज महत्वपूर्ण हो कि भन्ने दृष्टि ठहरिन थाल्यो।
वैज्ञानिक दृष्टान्तले पनि यही सत्य पुष्टि गर्छ। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, “Try not to become a man of success, but rather try to become a man of value.” अर्थात् सफल व्यक्ति बन्नुभन्दा मूल्यवान व्यक्ति बन्नु ठूलो कुरा हो। ग्रेगर मेन्डल जीवनभर प्रायः अपरिचित रहे, तर आज उनी आनुवंशिकीका पिता मानिन्छन्। यदि उनले तत्काल लोकप्रियताको खोज गरेका भए, सम्भवतः मानव सभ्यताले यस्तो महान ज्ञान प्राप्त गर्ने थिएन। यसले स्पष्ट देखाउँछ कि लोकप्रियता होइन, मूल्य सृजना नै साँचो सफलता हो।
कला र साहित्यको इतिहास पनि सस्तो लोकप्रियताको भ्रमलाई तोड्ने उदाहरणहरूले भरिएको छ। भान गोग जीवनभर उपेक्षित र अप्रसिद्ध रहे, तर आज उनका चित्र संसारकै अमूल्य कृति मानिन्छन्। रवीन्द्रनाथ टैगोर, लक्ष्मी प्रसाद देवकोटा, कुमार गन्धर्व जस्ता स्रष्टाहरूले भीडको स्वादअनुसार होइन, हृदयको आवाजअनुसार सिर्जना गरे। सस्तो लोकप्रियताको खोजमा सिर्जना गरिएको कला क्षणिक हुन्छ तर आत्माबाट निस्किएको सिर्जना युगौंसम्म जीवित रहन्छ। साँचो संगीत त्यो हो, जसले कान मात्र होइन, हृदय छुन्छ; मनोरञ्जन मात्र होइन, चेतना जागृत गर्छ। जसरी संगीतमा सस्तो तालीभन्दा शुद्ध सुर मूल्यवान हुन्छ, त्यसरी नै जीवनमा सस्तो प्रशंसाभन्दा सच्चो साधना मूल्यवान हुन्छ।
राजनीति र समाज सेवाको क्षेत्रमा पनि लोकप्रियताभन्दा मूल्यलाई प्राथमिकता दिने व्यक्तिहरू नै इतिहासमा अमर भएका छन्। महात्मा गान्धी, नेल्सन मण्डेला, अब्राहम लिंकनजस्ता महान व्यक्तित्वहरूले पद, सत्ता वा प्रशंसाभन्दा सत्य, न्याय र मानवताको मार्ग रोजे। गान्धीजीले भनेका थिए, “In a gentle way, you can shake the world.” सस्तो लोकप्रियताको खोजमा लाग्ने धेरै नेता क्षणिक रूपमा चम्किए, तर इतिहासले उनीहरूलाई बिर्सियो। मूल्यका लागि जिउनेहरू भने मानव चेतनामा सदैव जीवित रहन्छन्।
आध्यात्मिक परम्परामा त सस्तो लोकप्रियताको पूर्ण अस्वीकार गरिएको छ। उपनिषदमा भनिएको छ, “नायमात्मा प्रवचनेन लभ्यः…” अर्थात् आत्मा धेरै बोलाइ, प्रचार वा प्रदर्शनबाट होइन, आन्तरिक शुद्धता र साधनाबाट प्राप्त हुन्छ। भगवान बुद्ध, रामकृष्ण परमहंस, रमण महर्षिजस्ता सन्तहरूले प्रचार होइन, प्रकाश फैलाए। उनीहरूको मौन नै संसारका लागि सबैभन्दा ठूलो उपदेश बन्यो।
श्रीमद्भगवद्गीतामा भगवान कृष्ण भन्छन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।” यस श्लोकले सस्तो लोकप्रियताको जरा नै काटिदिन्छ। फलको लोभ नै मानिसलाई प्रदर्शन, तुलना र प्रतिस्पर्धामा फसाउँछ। तर कर्तव्यमा समर्पित हुँदा फल आफैं आउँछ। फलको पछि दौडिँदा आत्मा हराउँछ, तर कर्ममा स्थित हुँदा आत्मा प्रकट हुन्छ।
व्यक्तिगत जीवनमा पनि यही सत्य क्रमशः स्पष्ट हुँदै गयो। दुर्गम पहाडबाट तराई, तराईबाट काठमाडौंसम्मको यात्रा केवल भौगोलिक मात्र थिएन; यो चेतनाको यात्रा पनि थियो। बाल्यकालमा अंक र स्थानको दौड, युवावस्थामा पढाइ, जागिर, विवाह, पद र प्रतिष्ठाको खोज, यी सबैले जीवनलाई बहिरमुखी बनाएको थियो। तर जीवनले कृपा गरेर एउटा मोड दियो: विशुद्ध आध्यात्मिक अभ्यास र साधनाको पद्दति र एक योग्य मार्गदर्शक गुरु प्राप्त भए। त्यहीँबाट जीवनको वास्तविक अर्थ बुझ्न थालियो, जिउनु भनेको देखिनु होइन, जिउनु भनेको बोधमा बाँच्नु हो। जीवनमा यस्ता अवसरहरू आए केहिकेहि भएपनि जहाँ थोरै सम्झौता गरेमा प्रशंसा, पद, नाम, सुविधा सहजै मिल्थ्यो होला तर अन्तरात्माले सधैं होला भन्नथाल्यो, “सत्यसँग सम्झौता नगर्नु, चाहे संसारले तिमीलाई बुझोस् वा नबुझोस्।”
अब प्रयास यही छ, व्यवहारिक सत्य र पारमार्थिक सत्यलाई मिलाउँदै, संसारमा रहँदै संसारभन्दा माथि रहने अभ्यास गर्न। नाम बनाउने भन्दा मानव बन्ने अभ्यासलाई प्राथमिकता दिन। लोकप्रिय बन्नेभन्दा पवित्र बन्ने बाटो रोज्न। सस्तो लोकप्रियताको खतरा स्पष्ट छ। यसले अहंकार बढाउँछ, तुलना बढाउँछ, अस्थिरता बढाउँछ र आत्मालाई कमजोर बनाउँछ। विपरीत रूपमा, साँचो साधनाले नम्रता बढाउँछ, स्थिरता बढाउँछ, करुणा बढाउँछ र चेतनालाई शुद्ध बनाउँछ।
अन्ततः निष्कर्ष यही देखियो कि आज सस्तो लोकप्रियतामा देखिनु सजिलो छ, तर मानव बन्नु कठिन छ। आज नाम बनाउन सजिलो छ, तर निर्मल हृदय बनाउनु कठिन छ। त्यसैले जीवनको लक्ष्य सस्तो लोकप्रियता होइन, साँचो पवित्रता हुनुपर्छ। भीड होइन, चेतनाको बाटो रोज्नुपर्छ। प्रशंसा होइन, परम सत्यको सान्निध्य खोज्नुपर्छ। जसरी दीपकले तालीको अपेक्षा नगरी अन्धकार हटाउँछ, त्यसरी नै मानव बन्ने अभ्यासमा मौन रूपमा उज्यालो फैलाउने प्रयास नै साँचो सफलता हो भन्ने विस्वास लाग्न थालेको छ ।
(“Notes from Morning Healing Sessions by अनुपम” बाट ‘सफलता’ विषय अन्तर्गत को एक हरफलाई हृदयले नियाल्दा)


