ज्ञान! तिमी उज्यालो किरण हौ, अज्ञानको अँध्यारोलाई चिर्दै सत्यको आँगनमा प्रवेश गराउने दीपशिखा हौ ।
तर श्रद्धा बिना तिमी अधुरो देखिन्छौ, किनभने नतमस्तक नभएसम्म बुद्धिले सत्य चिन्दैन, शब्दले जीवन चलाउँदैन शब्दमा भाव जोडिनै पर्छ भावले श्रद्धा बनाउनै पर्छ।
श्रद्धा बिना ज्ञान रुखो रूख जस्तो, फल नलाग्ने, जसको हाँगाहरू घमण्डले भरिए पनि जीवनलाई शीतलता दिन सक्दैन हृदयलाई सौन्दर्यले रंग्याउन सक्दैन ।
जब श्रद्धा ज्ञानसँग मिल्छ, त्यसको सुगन्ध आत्मामा बस्छ, अहंकारको पर्दा च्यातिन्छ, र हृदय स्वयं ब्रह्मको दर्पण बन्छ।
हे श्रद्धा! तिमी ज्ञानको प्राण हौ, जसले विज्ञानलाई साधन, र आध्यात्मलाई साध्य बनाउँछ।
साँचो ज्ञान त त्यही हो, जहाँ श्रद्धामा त्यो झुकेको छ, शास्त्र र गुरु सहितमा डुबेको छ र आत्मा परम सत्यतिर लम्केको छ अनि अन्कण्डिस्नल लभमा फक्रेको छ ।
लगभग एक डेड हप्ता अगाडिको कुरा होला, एकदिन म सदा भन्दा अफिसबाट अलि ढिलै घर आइपुगेको थिएँ सहकर्मी साथीलाई अलि सन्चो नभएर पालो दिन अलिक बेर थप बस्नु परेको थियो। घर आएर सदा झैँ आँखामा केही औषधि हालेर चिम्म गर्दै रेष्ट गरिरहेको थिएँ। एकछिनमा मेरो सानो छोरो स्कुलबाट हड्बडिँदै ढोका ड्वाङ्ग पार्दै ठुलो आवाजले धकेलेर भित्र छिर्यो। छिर्नु अघि उसले लगाइ आएका जुत्ता परैबाट खुट्टा झट्कार्दै उ पर कता पुगेको पत्तै नपाईकनै खोलेछ । पछि कोठा सँगै टाँसिएको सानो बगैंचामा रोपेको रुद्राक्षलाई पानी पटाउन जाँदा पो उसको एउटा जुत्ता, अड्याएर राखेको मेरो बाइक मूनि घोप्टो पर्न खोज्दै अलि कोल्टे परेरै ढल्किराको रछ । तुनाका थोरै एक छेऊ भित्रै छिरेका र अर्को छेऊ अलि लामै परसम्म धुलो लागेर भुइँ मै लम्पसार परिराको रछ। एउटा जुत्ताको त्यो हाल देखेपछि अब अर्को जुत्ता कता होला खोज्न मेरा चिम्रा आँखाहरू यताउती घरि तेर्सिन र घरि घोप्टिन थाले। निकै बेरको खोजतलासको रस्साकस्सी पछि अर्को जुत्ता त आधा सोल आँ परेर च्यातिएर नजिकैको गमला मूनि उता पट्टि छेलिएर उत्तानो परिराको पो भेटियो। त्यसको चाहिँ तुना खुस्किन नसकेर टम्म सुर्काउने कसिएका भएर होला खुट्टा झट्कार्दा सजिलै जुत्ता नखुस्किएपछि ढोका अगाडि को मार्बलमा बेसकन अगाडिको भागले ठोकेरै हान्यो क्यारै जस्तो लाग्यो। हुनत अरुदिन पनि मेरो छोरो बिस्तारै भलाद्मी पाराले त किन हिंड्थ्यो र ! स्कुलको गाडीबाट पर चोकमा झर्ने बित्तिकै देखि घर आइपुग्दा सम्म आफ्ना जुत्ताले बाटोको छेउछाउमा भेटिने कुनै फ्याँकिएका काठ दाउराका टुक्राटाक्री होस् या खालि भई फ्याँकिएका प्लास्टिकका पानीका बोतलहरु हुन् या मुखाले श्रीमतीको रातदिनको टोकेसोले फ्रेस हुन भनी दिउँसै १ क्वाटर दबाइहाल्ने छोटी भन्सारमा काम गर्ने हरिलाल सरले झ्यालबाट झट्याउने एटएटफोएट भोटकाको खाली सिसी या यत्रतत्र छरिएका ढुंगाहरू भएपनि बल जसरी हान्दै, खेल्दै कालो जुत्ता लगभग अर्कै रंगको हो कि जसरी पार्दै, घर आउँदै गरेको अलिपरैको आवाजले संकेत पाइन्थ्यो। यो देख्दा प्राय: मलाई स्वामी जि ले भनेको याद आइरहन्छ, अलि पहिले तिरै, काठमाडौंको कुन गल्लीमा साथी सँग राती सुनसान रातमा बाटोमा फ्याँकिएका सिसि, बोतलहरु खुट्टाले हान्दै रमाइलो गर्दै डुलेको, हिँडेको। छोराको त्यो दिन भने फरक तरिकाको हिँडाई थियो । “जसो गर, जे भन, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो” भन्ने गीत गुन्गुनाउँदै आउने प्राय: उसको स्वभाव, त्यो दिनको फलामको मुल गेटको चुक्कुल खोल्दाको फरक आवाजले फरक मनोभावना दर्शाइराथ्यो। भित्र छिरेपछि पनि मोजा खोल्न सम्झिएन, कोट पनि दायाँ हातको मात्र खोल्दै अनि सरक्क नराखी ब्याग परैबाट भुइँमा फ्याँक्यो, साइडको खल्तिमा बोकेको पिउने पानीको बोतलमा आधा जस्तो अझै बाँकि रहेको थियो होला बोटल उछिट्टिएर भुईँमा पोखिएको पत्तै पाएन। हतार गर्दै ल्याण्डलाईन फोन राखेको टिभि टेबुल मूनि, उसलाई सजिलै याद भैराखेको नम्बर भएपनि त्यो दिन मुखले ९८******८९ बोल्दै सेटमा डायल गर्न थाल्यो। उसलाई हामीले सधैं सिकाइरहेकै हुन्छौँ कि कसैलाई भेट्दा होस् या फोन गर्दा सबै भन्दा पहिला “नमस्कार वा दर्शन” भन्नु पर्छ भनेर तर त्यसो हामीले भनेपनि प्राय: ऊ सिकाएको, घोकाएको सम्बोधन भन्न सम्झिँदैन या भन्नै पर्छ भन्ने जरुरी ठान्दैन कि के हो, आफ्नै पारा गर्छ। त्यसदिन त हेलो समेत नभनिकनै सिधै “एउटा गुड न्युज” भनिहाल्यो । सधैं झैं उताबाट बन्द मुखबाटै हृदय खोलेर हाँसीदिने “हुँहुँ” को आवाज आयो, मलाई र छोरा दुबैलाई एकदमै मन पर्ने मृदुल हाँसो, सानो स्वरले भएपनि कानले मात्र सुनिरहेको होइन मेरो बाक्लो सिरक भित्रको फलाटिनको सट, त्यस भित्रको थर्मकोट छिचोल्दै धड्किरहेको मुटुको ढुकढुकीमा एकाएक छिचोलेरै भरिन पुग्यो । मेरा शरिर भरि सबैतिर केहि तरङ्गले पोतिए झैँ भयो, त्यसको प्रभाव तत्कालै भर्खरै हालेको औषधी पखाल्दै आँखाबाट बायाँ कानतिर र केही थोपा ओठ मूनि नुनिलो हुँदै पस्दै गरेको पत्तै भएन। उताबाट उत्साहित भएर कौतुहलताको आवाज आयो “के भयो?” छोराले तत्कालै जबाफ दियो “एउटा बिरालोले आँखा खोल्यो नि” । फेरि उताबाट अहोभाव सहितको आवाज आयो ” वाउ!” त्यसपछि छोराले थप गफ गर्न थाल्यो, “हाम्रो घरमा म स्कुलबाट आउन लाग्दा सधैं आउने , मलाई र बाबालाई भेट्ने र म्याउँ गर्दै ढाड र पुच्छर दल्दै एकछिन बसेर उता पल्लो छिमेकी घरमा फर्कीजाने गरेकी बिरालोले ४ वटा बच्चा पाएको १० दिन भएकोले आज आँखा खोल्यो । बाबाले भनिस्याछ, अब अलि ठुलो भएपछि २ वटा फिमेल बिरालो चाहिँ हामी मागेर ल्याउने अनि माथि अन्टी, अंकल र हाम्रो मामुले थाहा नपाइकन बाहिरै पट्टि बगैँचाको छेउमा फलामको स्ट्याण्ड राखी गमला राखिएको मूनि पट्टि पसलतिरबाट एउटा कागजको कार्टुन ल्याएर, केही कपडाका टुक्राहरु बिछ्याएर उनिहरुलाई सानो घर बनाइदिने अनि छेऊमा एउटा पानी र खानेकुरा हालिदिने सानो कचौरा राखेर पाल्ने” आदि आदि के के के के । अनि फेरि उताबाट पनि “आज के के खायौ ? अब के खाने? कस्तो स्वाद रछ ?” ,,, आदि आदि के के गनथन गर्न थालेको घरि घरी सानो स्वरमा सुनिई रहन्थ्यो । लाग्थ्यो उनीहरू बीच बर्षौ वर्ष त के जन्मौं जन्म देखिको सम्बन्ध कायमै छ। त्यो दिन मात्र होइन सधैं नै उनिहरुको गफमा बुझिन्छ कि म त अकस्मात बाटोमा भेटिएर शरिर जन्माइदिएको सामान्य बाउ मात्र हो, महाबाउ र महाछोरा त उनीहरु नै हुन् । “एउटा गुड न्युज, बिरालोले आँखा खोल्यो नि, हुँहुँ को भित्री मृदुल मुस्कान, वाउ ! ” जस्ता शब्दहरु र भावले त्यसदिन निकै अबेरैसम्म मेरा आँखाहरु अहोभावले ओभाउनै भ्याएकै थिएन ।
उता पोखरामा बस्ने एकजना साथीलाई सुनाउन मन लाग्यो दिउँसोको वृतान्त। समय लगभग रातीको साँढे दश बजिसकेको थियो, सायद ऊ निदाइसकेको थियो। मैले उसलाई ह्वाट्सएपमा मेसेज मात्र हालेर सुनाएको थिएँ। कसोकसो उ बिउँझिएछ क्यारै र हेरेछ क्यार। उसले लेखेर पठायो, “मलाई पनि रुवाउनु भयो” । उसको त्यो मेसेज पढेर एक्लै फेरि अहोभावले रोएँ, चपौलीदेखि काठमाडौंमा र अमेरिका, युरोप, अष्ट्रेलिया आदि ठाउँ ठाउँमा रहने साथीहरु सम्झेर अझै रोएँ , अनि हृदयलाई छोइरहने कमिलाका स्ट्रेट लाइन ताँती देखि बिराट ब्रह्माण्डमा रहेका मेरा इन्द्रिय, मन, भावना, बिचार र चेतनास्तरले छुनसक्ने आयामसम्मका अनेक सबै कुराहरु र निराकार परमात्मा एवं साकार रुपी बिभिन्न देवी देवताहरु सम्म सम्झिएर श्रद्धा, समर्पण, प्रेम भावले आँखा रसाइरहे। छोरो छेवैमा घुरेर सुतिरहेको थाहा पाएर सिरकका खोलले आँशु पुछ्दै सुतेको निकै बेर पछि खोइ कुन्नि कतिबेला भुसुक्कै निधाएँछु, पत्तै भएन।
“त्यो रात्री पनि सधैंको जस्तो साधारण रात्री थियो, अन्धकारमा मानिसको लोक थाकेर मरेको चिसो, जाडोले कठांग्रिएको, काजलको आकासमा एकनाससँग सलमा सितारा झल्केको हेरिदिने कोही छैन, घर घरमा बत्ति निभेका छन्, ढोकाझ्याल टम्म छन्, शुन्य सडकका खाँवामा बत्ति घोरिएर भुईँ तिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रीको निस्वास जस्तो बत्ती बत्ती मूनि झुण्डिएर अडिरहेको छ । निस्पट्ट शान्ती छ शहरमा, झन् जाडोले शान्तीलाई जमोठ जस्तो डल्लो पारेर अड्याइदिएको छ । अरु जाडाको रात्री सरह नै त्यो रात्री पनि थियो, जीवनको कार्यरत्ता एकदम थामिएर अडेको, मानौ तमाम विश्व स्पन्दनहिन भएको छ ….।” शिर्षकको मर्मलाई जीवन्तता दिने गरी लेखकले पाठकसामु बिछ्याएका एक महत्वपूर्ण अंश ।
बिपी कोइरालाद्वारा लिखित श्वेत भैरवी कथा संग्रह भित्रको एउटा कथा “एक रात” एक शसक्त नेपाली कथा हो, जसले मानवीय मनोविज्ञान, समाज र नैतिक द्वन्दलाई जीवन्त रुपमा उजागर गरेको आभास हुन्छ । चरित्र प्रधान कथा लेखनशैली, पात्रको मनोवृत्तिलाई सामाजिक, साँस्कृतिक र मानविय प्रवृत्तिसँग न्यायपूर्ण रुपमा पाठकको मस्तिष्क एवं भावनामा छर्लङ्ग पारी पस्किएको आभाष हुन्छ । यस उपन्यासमा मृत्युको छायाँमा बिताएको एक जवान पुरुषको जीवनको एउटा अन्तिम रातको मानसिक संघर्ष, प्रेम, पछुतो बीनाको निर्णय, आफ्नो उद्देश्य प्रति श्रद्धापूर्वक संकल्प रहित ब्यक्तित्व आदि कुराहरुको जीवन्त रुपमा प्रश्तुती देखिन्छ । मुख्य पात्र भर्खरै विवाहित एक युवा हुन्, जो जेलमा भोलिपल्ट झिसमिसे बिहान अघि नै फाँसी दिइने प्रपन्चको पर्खाइमा छन् । त्यस रात उनले आफ्नो सम्पूर्ण जीवन, प्रेम, विवाहित जीवन, सन्तानको बाउ र मृत्यबोधको गहिरिएर समिक्षा गरिरहेका हुन्छन् । उनी एक राजनीतिक क्रान्तिकारी युवा शक्ती हुन्, राणाकालिन शासन ब्यवस्थाको सरकारविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका छन् । त्यो एक रातभरि उनी अतित, प्रेम, वर्तमान अवस्थाको पिडा र मृत्युको भय एवं आफ्नो संकल्प शक्तीको मनोभावनासँग नजिकिएर परिक्षण गर्दै हुन्छन् । उनी आफ्नो भर्खरै विवाहित पत्निलाई पनि सम्झन्छन् त्यसगरी आँफुले देश र जनताको भविष्यका लागि संकल्पित भएर क्रान्तीमा होमिएको बलिदानको अवस्थालाई र बिचारधारालाई पनि सम्झिन्छन् । घरि घरि आफ्नो जिन्दगीको बारेमा आँफुले गरेका निर्णयहरुको पनि पटक पटक पुनर्विचार गर्न खोजेको बुझिन्छ । मृत्यु लगभग निश्चित जस्तै भएपनि कहिँ कतै कुनै कुराले न रोकिन्छ कि भन्नेमा पनि युवक झिनो आशावादी भएको जस्तो पनि भान हुन्छ जसले गर्दा आफ्नो तथा परिवार र समाज एवं समग्र राष्ट्रकै अवस्थाको महत्वबारे पनि गहिरो चिन्तन गर्छन् । यो कथा एउटा सिंगो रातभरि घट्छ, जहाँ नायकको मानसिक अवस्था क्रमशः प्रेम, स्विकारोक्ती र आत्मसमर्पण तर्फ अग्रसर हुन्छ । घरि घरि त्रास, पिडा त घरि घरि आत्म संकल्प जस्तो विरोधाभास अवस्थाले पनि उसलाई झस्काइरहन्छ । उनी आफ्नो नवविवाहित पत्निसँगको भावनात्मक प्रेम र निर्दोषता प्रति भावावेगमा आउँछन् । गर्भमा रहेको आफ्नो बच्चा र बाउआमाको सपना साकार पार्ने जिम्मेवारीको समेत घरिघरि आत्मपिडा महसुस गर्छन् ।
“… कमिस्नरले कोमल स्वरमा अन्तिम बार सोधेः तिम्रो अन्तिम इच्छा के छ ? केही भन्नु छ ? उसले भन्यो, तमाम किशोर युवकहरुको मानविय मर्यादा र सुख सम्भव हुन जाओस् ।…” “…आफ्नो छोराको कोठामा गए, उ उत्तानो परेर सुतिरहेको थियो । कमिस्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे, अनि विस्तारै गएर उसलाई छोए ।…” “…किशोरले आफ्नै बाणीलाई अर्कोले बोलेको जस्तो गरी सुन्यो । कमिस्नरको मसिनो बोली पो सुनियो भनेको मानेनौ माफी माग भनेको, के गर्नु आफ्नो ड्युटी गर्नै पर्ने भो । किशोर मुस्कुरायो, भन्यो मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गइरहेको छु ।…”
कथामा कमिस्नरले किशोर प्रति करुणा भाव प्रकट गर्दै आँफूले गरेको गल्ती सम्झेर माफी मागे कानूनी रुपमै क्षमा पाईने र दण्डबाट छुटकारा पाइने अभिलाषा राख्छन् । किशोरलाई देखेर उसको आफ्नो छोरालाई हृदयमा जोडेर संवेदना जागेको हुन्छ । किशोर भने आफ्नो देशभक्ती, जनआकांक्षाको सेवा, परिवर्तनकारी सोच एवं संकल्प प्रति दृढ देखिन्छ ।
“…अन्तिम घडि आएछ, चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट हठात् समाप्त हुने छु र छैनका बीच छुट्टयाउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको ….”
घरिघरि किशोरमा द्वैद मनस्थिति पनि झलिन्छ अनि लगभग निश्चित देखिएको मृत्यको चित्र र त्यस अघि आँफू जीउँदो अवस्थामा रहेको बीचको सानो दूरीलाई गहिरिएर बिचार गर्छ ।
“…उसका आमा–बा ठेट ग्रामिण दम्पति, उनले बुझे होलान् र राजनितिका कुरा ! उसका बालाई छोरामाथि बढो आशा थियो, त्यसैले अंग्रेजी पढाउने नयाँ कुरा तिनले गरे, छोराले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो । …” “…उसले बैनिलाई राखेर भन्यो, “म तिमीलाई पढाउँछु, तिमीले पढ्नु पर्छ । ….बैनी बढो उत्साही बालिका थिई । उसले भनी, म पढ्छु दाई ! म पनि ठुलो हुन्छु, धेरै पढ्छु । …” “…बैनी भन्थी, आमा म बिहे गर्दिन । आमा भन्थिन् के भनेको रे, बिहे गर्दिनस् ? अँहँ गर्दिन । देश सेवा गर्छु पढेर आमा भन्थी बैनी…” “… तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रुपमा ढाल्छु । उसले भन्यो यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गीनी बनाएर उपस्थित गराउँछु ।…” “… एक दिन उसले दुलहीलाई भन्यो साँझतिरः राधा हिँड जाउँ नदितिर घुम्न, …अनि राधा खुसी भएकी जस्ती थिई, तर भन्न चाहिँ यत्ति भनीः तर मलाई लाज लाग्छ । …उसले भनेको थियो अझसम्म लाज गएको छैन, तिम्रो आमा हुने बखतमा पनि ? …” “… प्राणनाथ ! अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट बोली निस्किएको थियो, राधाको मुखबाट प्राणनाथ ।…” “… थुनिएपछि उसले सुन्यो कि राधाले छोरो पाई ।…”
किशोरका बाआमा गाउँले परिवेशमा जन्मिएका, हुर्किएका अनि दैनिकी चलाईरहेका तथा तत्कालिन सामाजिक, सांस्कारिक रितीरिवाजमा चल्ने प्रवृत्तिका भएकाले सो घेराबाट निस्किन गारो संघर्ष मान्ने स्वभावका हुन्छन् । तैपनि बाउले छोरालाई आधुनिक शिक्षाको केही अनुभवमा लगाउने साहस र इच्छा चाहिँ राख्छन् र अंग्रेजी विषय एवं थप उच्च शिक्षाका लागि भारतसम्म पठाउने साहस पनि गर्छन् । बाआमाले आँफूमा छोरा प्रति पारिवारिक भविष्यको ठूलो सपना कोरेका हुन्छन् । छोरालाई राम्रो शिक्षादिक्षा गराएर, राम्रो रोजगार पाउने योग्य बनाएर समग्र परिवार तथा त्यो सानो गाउँको ईज्जत बनाउने ध्येय राखेका हुन्छन् । किशोरकी एउटी बैनी हुन्छे सानी, शुसिल जसलाई नयाँ लुगा लगाइदिई नौलो भेषमा समाजमा उभ्याउँदै, पढाइलेखाई गराई महिलाले पनि पढेर आफ्नो जीवन नयाँ तरिकाले जीउन सक्ने सक्षम बनाउने चाहाना राख्छ । यस्तो बुझेर बैनी सारै खुसी हुन्छे । पढेर राम्रो, ज्ञानी, शिक्षित हुने र देशको सेवा गर्ने देशभक्ती भावना जस्तो ठूलो कार्यमा होमिन चाहाना राख्छे । यो दृष्यले के देखाउँछ भने नव बालक, युवाहरुमा शिक्षादिक्षा, कर्मठता, सक्षमता जस्ता क्षमतावान कुराहरु देशकै लागि प्रयोग एवं उपयोग गर्नु पर्छ भन्ने अन्तरहृदय र बिवेकमा गडेको छ । तर आमालाई भने छोरी मान्छे भनेको अर्काको घरमा बिहे गरेर जाने, त्यहाँ घाँस दाउरा, मेलापात, पशुपालन र भान्साको काम गर्ने जिम्मेवारी हुन्छ त्यसैले त्यस्तो कुराहरु मात्र सिक्ने हो छोरीले त भन्ने मान्यता राखेकी हुन्छिन् । तर किशोरको परिवर्तनकारी सोचले बैनी समेत पढ्न पाउने भएकी हुन्छे । अर्कातिर बाआमाको सोच छोरालाई बिवाह समेत गराइदिने अनि परिवारको हेरचाह एवं सन्तान जन्माउन लगाई पुस्तान्तरण गर्ने अभिलाषा मनमा पालेका हुन्छन् । त्यसैकारण उसको भित्री चाहाना नभइकनै बाआमाको आज्ञा मानेर एउटी सानी निर्दोष केटीसँग बिवाह पनि गर्छ । बिवाह पश्चात भने आफ्नी पत्नीलाई समेत आफ्नै बैनी जस्तै मायालु देख्छ अनि उसैगरी माया ममता सहित हिम्मतसाथ पढाउन लेखाउन पनि लगाउँछ । उनीहरु बीच मिठो सम्बन्धको प्रेम बन्छ, बैवाहिक जीवनको प्रेमात्मक सोत र वातावरणलाई सामाजिक रुपमा नै नयाँ आयामहरु थप्ने हेतुले किशोरले आफ्नी पत्नी राधालाई घुम्न जानु पर्छ पतिपत्नी भएर मायाको अनेक रंग चढाउन बुझ्ने र बुझाउन खोजेका हुन्छन् । राधाको निर्दोष मिठो प्राकृतिक प्रेमभावको र आफ्नो पति प्रतिको श्रद्धाभाव पनि यस कथामा स्पष्ट अवस्था देखिन्छ जसले ती दुई जोडीको प्रेमिल आत्माहरु उच्च सौन्दर्य आभासमा सल्बलाएको उजागर हुन्छ ।
“… उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनास भनेको थियोः मैले फ्याँकेको हो बम तर हत्याको लागि होईन चेतावनीको लागि…” “…हवल्दारले भन्योः मरे निद्रा आउँदैन । सुवेदार उठेर बस्यो र भन्योः सिगरेट झिक्न । …” “… एउटाले भन्यो त्यस्तो अन्तिम घडिमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको पुग्छ ।…” “… त्यहि ठिटोलाई फाँसी दिन गएको थिएँ, डाक्टरले भन्यो, नभनेस् है छोराहरुलाई । दुलहीको मुखबाट केबल हाय भन्ने शब्द निस्कियो र उसले आफ्नो हत्केलाले मुख छोपी ।…”
कथामा किशोरलाई फाँसी दिन आफ्नो जागिरको ड्युटी निभाउन बाध्य भएका प्रहरि, डाक्टर, कमिस्नरहरुको मनोभावनालाई यहाँ राम्रोसँग पस्किन भ्याएका छन् लेखकले । करुणा, प्रेम, सदभाव जस्ता साझा मानविय संवेदनशिलताहरु तथा विशेषताहरु सबै जिम्मेवारी, कर्तब्य निभाइरहेका ब्यक्तीहरुमा हुने रहेछ भन्ने कुरा बुझाउन लेखकले यस कथा मार्फत कुनै कसर बाँकि राखेका छैनन् । समग्रमा भन्नु पर्दा मानिसहरुमा आउने मनोवैज्ञानिक ओहापोहहरुको विश्लेषणात्मक तरिकाले बिवेचना गरिएको र त्यस्ता कुराहरुलाई सौन्दर्यताको रंगले पोतेर पाठकलाई हाइयर इमोश्नल इन्टेलिजेन्सको आयामहरुमा छुवाउने राम्रो क्षमता राखेको छ यस कथाले र श्रदेय लेखक श्री बिपी कोइराला ज्यू को लेखनशैली एवं भावले ।
बग्दा बग्दै जमेको हिमाल को एउटा नदि जस्तो । मेरो स्मृति बाट झन्डै लोप हुन लागेका बेला लेकसाइड को एउटा साँझ ले फेरि प्राण भरेर पुनर्जीवित तुल्याएको आदिम कथा हो यो ।
बर्तमान को मिठो क्षण लाई, समय को बहाब ले अतित बनाइदिन्छ । न त फर्केर त्यहाँ जान मिल्छ, न त त्यो घटना लाई बर्तमान मा ल्याएर फेरि त्यसको आनन्द लिन सकिन्छ । अत: बिगत प्रति स्विकारोक्ति अनि बर्तमान प्रति अहोभाव ।
धेरै गफ के हान्ने, सिधै कथा सुरु गरौं ।
“मलाई घुमाउरो कुरा मन पर्दैन” मैले भने ।
“तिम्रो केश हो मलाई सबै भन्दा मन पर्ने कुरा ” यो स्टेट्मेन्ट चिप्काउने ब्यक्ति को थियो अस्ति टेक्स्ट् मा ? ऊनले सोधिन् ।
गफ मात्र गरेको । घुमाउरो पनि मन पर्छ 😁
फर्मालिटि घुसाउनु को तात्पर्य के ? मज्जाले स्पोन्टेनियस राइटिङ गरिन्छ आज पनि । कथा लाई जीवन्त तुल्याउनु जो छ ।
ज्यान मागे ज्यान दिन्छ वा दिदैन थाहा छैन तर आवस्यक परेका बेला धन चै दिने मेरो एउटा साथी छ । उसले नयाँ स्पिकर किनेर ल्यायो । जे. बि. एल । रु ७००० परेको । केटो धनी छ । घुमेका, उडेका, गुडेका, आँशु र हाँसो सङै साटेका कयौ पल हरु छन् उ सङ । एउटै थाल मा एउटै चम्चा ले खाने देखि साधुँरो बेड मा ठेलाठेल गरेर बिताएका रात पनि छन् । उसको बैंक अकाउन्ट मा जम्मा भएको रकम को लम्बाई भन्दा उसको हृदय को आकाश फराकिलो छ । आयतन बिहिन छ नाप्न नसकिने । हामी स्पिकर मा गित सुन्दै ताल को छेउ मा बसेर साझ को आनन्द लिन थाल्यौ ।
“रकहेड को रङ्ग” बजाउछ उ ।
“तिम्रो अँाखा मा डुबिसकेछु
मलाई निकाल्न नखोज…
मन को कुनै कुना मा किन
पुरै मन मा बसिदिनु”
यहाँ निर मलाई बुकाओस्कि याद आउछन् । “इफ यु आर गोइङ टु ट्राइ, गो अल द वे, अदरवाइज डन्ट इभन स्टार्ट “
यति हिम्मत छ भने मात्र यात्रा सुरु गर्दा बेस । नत्र चार दिवार भित्र थुनिएर बस्नु जाति ।
गित बजिनै रहन्छ । ताल माथी तौरिएका बत्तिका रेखा हरु हेर्दैछु म । ताल छेउ का रेस्ट्रन्ट हरुले बलेको बत्तिको उज्यालो ताल मा पौडि खेल्दैछ । साथी चिया पिउँदै छ । सुरुप सुरुप । आनन्द लिँदै छ
अहिले उ सुसान्त के.सि को झ्याल बाट सुन्दै छ ।
अब पुरानो कथा सुनाउछु ।
केहि महिना अगाडि को कुरा हो यो । सौन्दर्य आस्वादन गर्न साथि र म पुगेको बिशेष ठाउँको बर्णन बताउँछु ।
पार्सव मा संस्कृत मन्त्र र श्लोक हरु को मिठो गुन्जन थियो। मन्दिर को शिर लाई सुस्तरी चुम्दै घाम को न्यानो मेरो छेवै मा पोखिएको ले म आनन्द पुरित बने त्यो क्षण ।
मिठो एहेशास थियो त्यो । जब जब घण्टी को मिठो लय ले हृदय लाई स्टिमुलेट गर्दै थियो, साथै मिसिएर आएको संस्कृत का वाक्य हरु को मिठो समिश्रण ले हृदग लाई उच्च कम्पन मा तरङ्गित बनाउदै थियो ।
कतै पढेको थिएँ
“साउन्ड कम्स फ्रम साइलेन्स एन्ड डिजल्बस् इन साइलेन्स “
मन्त्र को गुन्जन बोकेर ल्याएको मायालु बतास वरिपरि बगिरहेको थियो । जब शब्द बिहिनता मा पुगिन्छ तब मौनता पनि प्रार्थना बन्ने रहेछ । हाम्रो हृदय बोले हाम्रो कन्भरसेसन गित बन्ने रहेछ ।
नयन मुस्कुराउछन जहाँ~ हृदय जोडिन्छन त्यहाँ ।
त्यही हृदय हो हाम्रो घर ।
राति थारु खाना खाने प्रस्ताव राखे केटा हरु ले । भोजन पस्चात गफिदै पल्टियौ ।
भोलिपल्ट साथी र म यात्रा को आनन्द लिदै मोटरसाइकल मा पोखरा फर्कियौ ।
यात्रा मा गएको थिएँ याद बोकेर फर्किँए । यि याद हरु हलुका प्रकृति का छन् । आनन्ददायि छन् । अज्ञात खाडल मा तान्ने होइन पंिछ को भार बिहिन उडान मा पुर्याउने खाल का छन् ।
पोखरा वरपर स्थिर उभिएका हरिया डाडा हरुका, बुक स्टोर का, भुटन हाउस का, लेकसाइड को मादक्तायुक्त साझ का थुप्रै कथा बाँकी छन् सुनाउन । अहिले लाई यहि कथा ले आनन्द को आवहान गरौँ ।
ध्वनि को मिठो इम्प्रेसन ले लेख्न सुरु गरेको एउटा कथा लाई आज शान्ति को पुर्णविराम यसरी दिदैछु
जमोठ भएर बस्नु मा होइन बग्नु मा छ मज्जा । फ्लो फिल हुने गतिविधि हरु मा उर्जा लगानी गर्दा बहाब महसुस हुन्छ ।
हृदय को गहिरो मा गडेको कुरा लाई बिस्तारै सतह मा ल्याएर एउटा सुन्दर मोड दिने प्रयास हो यो ।
बीपी कोइरालाद्वारा लिखित “मोदीआइन” सामाजिक परिवेशको छाप बोक्न सफल एक शसक्त कथा हो । लेखन शैली भावनात्मक र यथार्थपरक देखिन्छ । पात्रहरु वास्तविक र जीवन्त लाग्ने भेटिन्छन् । कथाका हरेक पक्षलाई गहिरिएर विश्लेषण गर्दा समाजका अन्याय, शोषण, वर्गसंघर्ष, प्रेम, नारीत्व जस्ता विषयहरुलाई स्पष्ट पार्छ । यस कथाले नारी अस्तित्व, पुरुषप्रधान मानसिकता, प्रेम बासना र आत्मसम्मान बीचको द्वन्दलाई उजागर गर्छ । यो उपन्यासमा तराई ग्रामिण क्षेत्रको वस्तुस्थितिलाई लेखकले गहिरिएर उर्तान खोजेका छन् । प्रेम, संघर्ष, विद्रोह, शोषण, अस्तित्वको खोजी र सामाजिक अन्याय यस उपन्यासका मुख्य विषयवस्तु हुन् । स्त्रीतत्व, नारीभावना, बाल मनोविज्ञान, शासक मानसिकता जस्तो विषयलाई मुर्त रुपमा दर्शाएको छ । त्यसैगरी प्राचिन समयको महाभारत युद्धको उपदायता, वाद्यता, धर्मयुद्धको ब्याख्यालाई समेत यहाँ उल्लेख गरिएर द्वन्दलाई पनि कुनै अवस्थाले अस्तित्वको आवश्यक्ता हुने भनी बुझाउन समेत कोशिस गरिएको छ । धार्मिक तथा आध्यात्मिक श्रद्धा, विस्वासलाई समेत समेट्न कसर छाडिएको छैन । नारीलाई समाजले बजारको सामान्य बस्तु जसरी मात्र सोच्ने गरेको र सोन्दर्यको बिलासी बस्तु मात्र ठानेको सन्दर्भलाई देखाइरहेको आभास हुन्छ । अस्तित्वलाई जोगाइराख्न अहम् भूमिका निभाउने सबै किसिमका फ्यामिनिजम् तत्वहरु जस्तै पृथ्वी, प्रकृति, नदि, पोखरी, जंगल तथा नारी मान्छेहरु र स्त्रीलिङ्ग जन्य अरु जीवात्माहरुले आँफूसँगको कुराहरु अरुलाई दिन मात्र खोज्ने, जान्ने, त्यसको बदलामा आशा नराख्ने, जेसुक अवस्था भएपनि परिवारमा प्रेम, सदभाव कायम रहोस् बरु भौतिक रुपमा एवं समस्त मानव सभ्यताको समग्रतामा कुनै अन्य केहि नोक्सानै सहनु राम्रो हुन्छ तर भईरहेको पारिवारिक सदभावको बातावरण नखल्बलियोस् भन्ने कुरामा एकदमै जोड दिएको देखिन्छ । यसमा मुख्य पात्रको रुपमा रहेकी मोदीआइन एक महिला जो विद्यमान समाजको नियम एवं सोचलाई स्वीकार्न वाद्य भएकी छिन् । उनी एक सुन्दर महिला मात्र होइनन्, उनी भित्रको मनोविज्ञानिक द्वन्दका कुराहरु पनि कथा अघि बढ्दै जाँदा झन् स्पष्ट हुन्छ । उनी पुरुषको भोगविलासको साधन बन्न चाहन्नन् तर समाजको दृष्टीमा उनी फेरि पनि त्यहि हुन बाद्य छिन् । यस कथा मार्फत समाजमा महिला यदि आर्थिक वा सामाजिक रुपमा स्वतन्त्र छैनन् भने उनीहरु जस्ता नारी, पुरुषको अधिनमा रहन बाध्य हुन्छन् भन्ने कुरा दर्शाउन खोजिएको बुझिन्छ । घरको सरसफाई, परिवारको हेरचाह, भान्सा आदि जस्ता घरभित्रका काममा मात्र सिमित राख्ने सामाजिक परिवेश भित्र बाँच्न सहनशिल नारीको रुपमा मोदीआइन देखिन्छे । कथाका अर्का पात्र मोदी एक धनी ब्यापारी हुन्, जसले आफ्नो पैसाको बलमा सुन्दर महिलालाई बिवाह गरी आफ्नो घरमा राखेका हुन्छन् । महिलालाई केवल सौन्दर्यको रुपमा हेर्ने समाजको प्रतिनिधित्व उनले गर्ने यहाँ स्पष्ट बुझिन्छ । उनी सौन्दर्यका उपासक हुन्, जसले महिलालाई केबल मनोरंजनको साधन मात्र ठान्छन् । उनले घरमा ल्याएकी महिलाको नाम उनको नामबाट जोडिएर बनाइएको हुन्छ । मोदीआइनको आफ्नै छुट्टै नाम, अस्तित्व छैन । मिसिर जी एक अर्का पात्र हुन् जो आफ्नो घरायशी एवं ब्यापारिक प्रयोजनका लागि मोदीआइनको घरमा गएका हुन्छन् । उनको साथमा कथाका म पात्रको भूमिकामा रहेका एक बालक छन् जो नयाँ ठाउँ, महाराजको दरवार, हात्तिसार, अस्तबल, कचहरी, ठूलाठुला घरहरु हेर्न, घुम्न जान चाहान्छन् र मिसिर जीको पछि लागेर घुमघामका लागि ढिपी गर्छन् । बाल सुलभताको राम्रो अनुभव गरिरहेका उनि ठाउँ ठाउँमा, विभिन्न अवस्थामा हरेक कुरालाई रहस्यमय हिसाबले कौतुहलताका साथ जान्न, बुझ्न, अनुभव गर्न चाहान्छन् । नजिकैको हडाआ पोखरीको प्राचिन महत्व, आख्यान, घटनाको बारेमा बहुत् उत्सुकताका साथ सुन्न, बुझ्न चासो राख्छन् । पोखरीमा आउने देउता, ती देउता अगाडि कसैले घमण्ड देखायो भने सो ब्यक्तिलाई कुनै अनर्थ हुन सक्ने मोदिआइनका कुराले उनको बालसुलभ मानसपटलमा एउटा छाप पर्छ । पोखरी वरपरको प्राकृतिक अवस्थाले उनलाई घरि घरि लोभ्याइरहन्छ । त्यसैगरी सुत्ने बेलामा कथा सुन्न लालायित बाल्यकालको कुराले पनि उनको विशेषतालाई दर्शाउँछ । अँध्यारो, एक्लोपन जस्ता कुराले उनलाई घरिघरि डर लागिरहेको तथा मोदीआइनका मधुर कथाबाचनलाई निद्राको तन्द्राबीचमा आफ्नो सपनीमा जोडिएर बुझिरहेका हुन्छन् जसले गर्दा समग्र कथावस्तुलाई नै एउटा रोचक बनाएको हुन्छ । पाठकलाई आफ्नो बाल्यकालको नोस्ट्याल्गिक तिर लैजान्छ । यस उपन्यासले महाभारत युद्धकालको अपरिहार्यता, वाद्यता र त्यसबाट तत्कालिन जनमानसमा परेको मानसिक त्रास, घरका स्त्रीहरुमा परेको भय, पिडाको अवस्थालाई राम्रोसँग प्रस्तुत गर्न कोसिस गरेको छ । सामान्य मानवहरुलाई आफ्नो मात्र चिन्ता, आफ्नो घर परिवारको मात्र अस्तित्वको जरुरी लाग्ने र समग्र राज्य, समाज र समग्र सनातन धर्मको रक्षालाई जान्न, बुझ्न र कायम राख्न जरुरी नदेखिएको भन्ने निदोर्षता पनि सँगसँगै बुझिन्छ । जसले गर्दा श्रीकृष्णले पाण्डव पक्षलाई युद्धतर्फ जानाजान धकेलेर, उकासेर झन् नराम्रो अवस्था सिर्जना गरेको आरोप सम्म लगाउँछन् त्यसबेलाका सामान्य नारीहरुले । एकापट्टि कौरव पक्षका मुख्य कारक पात्र दुर्योधन आफ्नो ब्यक्तिगत स्वार्थ तथा घमण्डीपनको कारण पाण्डवलाई हरेक तरहले कुनै अधिकार, सम्पत्ति, अस्तित्व दिन नचाहाने अवस्था हुन्छ भने अर्कातर्फ आफ्ना नातागोताहरुलाई मारेर, सिद्याएर के राजकाज गर्नु , सुख भोग गरिरहेको अनुभव गर्नु जस्तो कुराहरु सोच्ने इमान्दार पाण्डवहरुको सोचले कृष्णलाई धर्मरक्षाका लागि जसरीपनि युद्ध गर्नै पर्ने अवस्था सिर्जना भएको समेत देखिन्छ । अकर्ताभावमा निस्काम कर्म गरी गरिने कुनै पनि कार्यले कुनै पाप बोक्दैन भन्ने सन्देश बारम्बार कृष्णले पाण्डव पक्षलाई सिकाइरहेका हुन्छन् । धर्मको रक्षा र समाज कल्याणका लागि यदि समयले युद्ध आवश्यक ठान्छ भने, अस्तित्वले त्यसको अपरिहार्यता देख्छ भने त्यो पनि नराम्रो हुँदैन भन्ने गीताको मूल मर्म यहाँ लेखकले बुझाउन खोजेका छन् । कुनै पनि शंका, भय, अकर्मण्ड्यता, अन्धविस्वास यदि लागिरहेको भए र त्यसकुराले असमान्जस्यता ल्याइरहेको भए सबैकुरा छाडेर मेरो सरण, मेरो विस्वास, मेरो भर गर, जसमा मात्र आफ्नो कर्तब्य निर्वाह गर सबै तरिकाले सबैका लागि कल्याण हुन्छ भनेर बारम्बार अर्जुन लगायत पाण्डव पक्षलाई कृष्णले आफ्नो परमात्माको परम शक्ती रहेको हुँदा सो स्तरको बुझाइ र दृष्टिले म प्रति विस्वास गरेर मैले भनेको मान भनिरहेका हुन्छन् । यो विषयवस्तुलाई यस उपन्यासमा राखेर लेखकले अकर्ताभावमा रहने अभ्यास र निस्काम कर्मको मर्मलाई बुझाउन बहुत राम्रो कोसिस गरेको बुझिन्छ । भलै उक्त युद्धले त्यसबखत कयौं परिवारका सदस्यहरुको नास भएर साँसारिक रुपमा अनाथ, असाय, दुखी भएको देखिएता पनि समग्र समाज, राष्ट्र, अस्तित्व तथा मानव सभ्यताको समग्र कल्याण एवं धर्म रक्षाका लागि जरुरी हो भन्ने पनि लेखकले यहाँ गीताको सन्देश मार्फत पाठकहरुलाई बुझाउन खोजेका छन् । यस उपन्यासमा प्रश्तुत भाषा, शब्द, शैली, प्रश्तुती एकदमै सरल, विस्तृतिकरण र गहिरो अब्जर्भेसन गरिएको पाईन्छ जसले पाठकलाई साना साना कुराहरुमा पनि कति सौन्दर्य अनुभुति गर्न सकिने रहेछ भन्ने आभास गराउँछ । मोदिआइनका दाँत, ओठ, कपाल, पुष्ट शरिर, भाङ्गभङ्गिता, स्त्रीतत्व, नारी करुणा, प्रेमभाव जस्ता संवेदनाको गहिरिएर प्रस्तुत हुँदा पाठकलाई अहोभावको आभास गराउँछ । मातृत्व, देवीत्व भाव देखिई त्यसप्रति श्रद्धाभाव प्रकट हुन्छ । हडाआ पोखरीको परिवेश, आकाश, बादल जस्ता प्राकृतिक कुराहरुदेखि लिएर, नारीले आँफूलाई सिँगार्न प्रयोग गर्ने सामग्री, फुलहरु, पातपतिंगरहरुको ब्याख्याले समेत अहोभाव गराइदिन्छ । शब्द चयन र प्रश्तुतीले जीवन्तता महसुस भई प्रेम, करुणा, अहोभाव, श्रद्धाभावले ठाउँ ठाउँमा पाठकका नयन रसाउने गरी गम्भिर बनाइदिन्छ । आध्यात्मिक साधना अभ्यासमा उपयोगी ठानिने अकर्ताभाव र निस्काम कर्मको राम्रो ब्याख्या गरेर कथाले पाठकलाई द्वन्दबीच पनि आशातित् सुकिरणको सकारात्मक सन्देश दिइरहेको समेत आभास हुन्छ । तशर्तः यो उपन्यास एउटा शसक्त, ज्वलन्त तथा यथार्थवादी सामाजिक कुराहरु समेटिएको विषय हो भनी मान्न सकिन्छ जसबाट स्त्रीतत्वको सह अस्तित्व भावका साथ संरक्षणलाई ध्यान दिनु जरुरी हुने एवं प्रेम र संयमता तथा अस्तित्वको आवश्यक्तालाई समेत श्रद्धा गर्नु सबैका लागि उपयुक्त सोच बन्नु पर्छ भनी दर्शाउन खोजिएको बुझिन्छ ।
अनेक जन्म जन्म्याँ, चौराशी लाख काटी थरिथरि अनुभव गरिसक्याँ, देह साटी साटी ।। प्रकृति पुरुष भोगीलियाँ, आँफूलाई कत्ति मेटी हृदय भरिकन यहाँ, प्रेमरस पिउँ भेटी ।।१।।
कदाचित मै भ्रममा, यसै भोगी मरिगया भने जगत रसमा डुबी, प्रेमरस भुलिगया भने ।। किञ्चित माफी पाउँला, हे ख्वामित् मनडुब्या भने तिम्रा चरण कमलमा, तनै छोडिदिया भने ।।२।।
फगत बाच्न्याँ यसै, मनभरी आशक्त बोकि प्रेमराग नबनी कसै, रागमै टासिन्याँ होकी ।। पुलकित मन लाग्न्याँ, सदा अहोभाव राखी प्रेम नै अन्तिम बुझ्न्याँ, मनुष्य जुनि बोकि ।।३।।
हुन त, श्रद्धेय बि.पि ज्यु को जिवन को कुनै एउटा काल खण्ड मा घटेको घटना को टुक्रा मा अडेको, स्मृति को बिउ टिपेर कल्पनामय जगत मा उमारेको एउटा कथा हो यो । यद्यपि, केहि यथार्थ र केहि कल्पना का आधार मा उम्रिएको “कथा मात्र हो” भन्ने जानेर त्यसको सिमितता बोध हुँदा हुँदै पनि एक किसिम को मिठो साइनो गाँसिएको हुन्छ कथा का पात्र हरु सङ ।
“गौरी” एक त्यस्ति पात्र हुन् जसको कारुणिक कथा पढेर मेरो हृदय पग्लिन पुग्यो र नयन रसाउँदै बेदना तप्प तप्प भुइँ मा पोखिन थाल्यो ।
“तिम्रो मेरो माया को फूल माला जस्तै गाँस्न पाए
सारा दु:ख हास्दै झेल्थे तिम्रो बनि बाँच्न पाए “
यहि एउटा कामना थियो गौरी का मन मा, नरेन्द्र प्रति । अरु केहि कामना उम्रेन उनको हृदय मा । प्रेम र समर्पण ले झुलेको ब्यक्ति का कामना न्यून हुँदा हुदोरहेछन् । नरेन्द्र एक बचन मिठो बोलिदिए र प्रेम ले एक दृस्ठि हेरिदिए पुग्थ्यो गौरी लाई तर विविध उल्झन मा परेको त्यो प्रेम को कोपिला कहिल्यै फक्रिन पाएन ।
आभायुक्त ब्यक्तित्व को बल मा गाउँ का थुप्रै नर नारी को हृदय जितेका ब्यक्ति थिए नरेन्द्र । निकै हिफाजत गरेर हुर्काएको उनको कालो कपाल का गुच्छा सुस्तरि गर्दन सम्म ओर्लिएर झुलिरहन्थे । कान मा मुन्द्रा सोभायमान भै झुन्डिएका हुन्थे । सफा सिलिक्क परेको सेतो कुर्ता र धोती पहिरिएर, नयाँ दुपट्टा काध मा भिरेर, तेजोमय भएर निकै जतन ले उनि चल्थे । यति आकर्षक ब्यक्तित्व कसरि धर्मपत्नि लाई बेवास्ता गर्न सक्ला र गाउँ का चुलबुले केटाकेटी हरु को बिनोदप्रिय कसो बन्न नसक्ला र? यद्यपि ठिक बिपरित भयो ।
बिबाह गरेर ल्याएकि आफ्नी पत्नि लाई नरेन्द्र बेवास्ता गर्थे ।
भलै गौरी को शरीर, बालक काल मै स्थिर रहेर हुर्किन बिर्सिएको जस्तो भएतापनि प्रेम निभाउन र श्रद्धा, भक्ति अर्पण गर्न उनि सिपालु थिइन् ।
सधैं सिँगार गरेर बस्थिन् , कपाल चिल्लो पारेर टम्म कोरेकी, सिउँदोमा सिन्दुरको गाढा रेखा, स्निग्ध गोरो फराकिलो निधारमा एउटा ठुलो चन्दन को टिका ।
आफ्ना पति, परमेश्वर अनि एक धर्को सिन्दुर को रक्षक मानेर नरेन्द्र लाई प्रभावित गर्ने हेतु ले गौरी बाध्यवादन र संगीत सिक्ने, घर मै शिक्षक राखेर अध्ययन गर्ने, श्रिङ्गार धारण गर्ने आदि आदि क्रिया मा मग्न हुन्थिन् । सानो बाबु लाई फकाएर सुपारी का टुक्रा उपहार पठाउथिन् नरेन्द्र लाई तर उनले अस्विकार गर्थे ।
गौरी को उपहार मात्र होइन प्रेम पनि अस्विकार गरेर बदाम को कोसा जस्तो सुन्दर चम्किलो नयन भएकी ज्योतिर्मय मुस्कान को चमक घारण गरेकि “मुनरिया” नाम गरेकि दासि सङ सल्किएका थिए उनि । गौरी का तमाम कोसिस र प्रेम को न्यानो ले नरेन्द्र को हृदय तताउन सकेन । हर क्षण बेवास्ता मात्रै गर्थे गौरी लाई ।
आफ्ना सारा प्रयास बिफल भएको देखेर अनि बिबाह गरेर आएकि एउटि अबोध नारी लाई आफ्ना पतिको यो बेवास्ता असहाय भएर गौरी आत्महत्या गर्न तयार हुन्छिन् । सौभाग्य बस तदनुसार को क्रियाकलाप बाट गौरी लाई इस्वर ले जोगाएका थिए ।
एकदिन को कुरा हो नरेन्द्र, मुनरिया लाई लिएर फरार हुन्छन् । गाउँ भरि गाँइगुँइ हुन्छ । गौरी एक्लो हुन पुग्छिन् । हुन त नरेन्द्र घर मै हुँदा पनि उनि भित्र एक्लोपन ले नै निवास गरेको थियो
“फ़ासले ऐसे भी होंगे ये कभी सोचा न था
सामने बैठा था मेरे और वो मेरा न था
मस्लहत ने अजनबी हम को बनाया था ‘अदीम’
वर्ना कब इक दूसरे को हम ने पहचाना न था”
यस्तो थियो गौरी र नरेन्द्र को सम्बन्ध ।
मुनरिया सङ दुर कतै “बाराणसि” मा घरजम गरेर बस्न पुगेका नरेन्द्रको शरीर तत्पश्चात फस्टाएको हुन्छ । उनि भन्छन् मलाई गृहस्थि मा मनग्गे छ ।
केहि बेर कथा मा गौरी को जिक्र भेटिदैन । मुनरिता र नरेन्द्र प्रणय को न्यानो मा आनन्द महसुस गर्दै दिन बिताइरहेका हुन्छन् । अचानक नरेन्द्र क्षय रोग बाट पिडित हुन्छन् । कष्ट को प्रलय सागर मा डुब्छन् उनि । मुनरिया भन्छे ” नाथ हजुर गाउँ फर्किनुहोस् । गौरी ले जोगाएर राखेको गृहस्थि को न्यानो थलो मा । सायद गाउँ फर्केपछि हजुर को स्थिति सहज हुन्छ कि ? सुरुवात मा केहि हठ गरेता पनि नरेन्द्र फर्किने निधो गर्छन् ।
बयल गाढा चढेर गौरी को जतन ले सुरक्षीत, सानो गृहस्थि थलो मा पुग्छन् ।
अँाखा मा उस्तै तेज र गर्दन मा झुलिरहने काला केश का गुच्छा । गौरी लाई चिन्न समय लागेन ।
आनन्द को बाढि आयो उनको जिवन मा । खुशी को सिमा रहेन । अचानक सारीको आँचल शिरमा राखेर धुँडा टेक्दै नरेन्द्र को पाउमा शिर राखिदिन्छिन् । बिगत को सम्पुर्ण बेवास्ता र अपहेलता हरु लाई गौरी नजरअन्दाज गरिदिन्छिन् । रत्तिभर गुनासो मन मा नलिइ नरेन्द्र को सेवा मा समर्पित भैदिन्छिन् । ब्यथा को चाप ले सिकिस्त नरेन्द्र ले, गौरी को सहारा को हरपल चाहा गर्छन् । डाक्टर को सल्लाह बमोजिम ओखती जुटाउने, र बिरामी पतिको हेरचाह गर्ने अनि साथै बसि सहल्याउने कर्म मा गौरी निमग्न हुन्छिन् ।
बाख्रि को दुध फलदायी हुन्छ भन्ने डाक्टर को निर्देशना लाई मनन गर्दै गौरी ले पल्लो गाउँ बाट एउटा बाख्रि ल्याएर पाल्न थाल्छिन् ।
माछा को तेल उपयोगी हुन्छ भनेर, तयार पारेर खुवाउछिन् ।
नरेन्द्र भन्छन् “गौरी, एक क्षण पनि म बाट दुर नहुनु ”
म यही छु नि नाथ , गौरी भन्छिन् । यतिका बर्ष बेवास्ता र बियोग मा कटाएकी गौरी लाई नरेन्द्र सङ का हरेक पल मुल्यवान लाग्छन् र अहोभाव ले हृदय भरेर नरेन्द्र को साथ मा रम्दै उनको सेवा मा तल्लिन हुन्छिन् ।
चैत को महिना हुन्छ । गौरी लाई गित गाउन आग्रह गर्दै बिरामी नरेन्द्र इसराज बजाउने कोशिस गर्छन् । बिरामी तन र मन लाई आराम को हलुको मलहम लगाइदिने गरि गौरी ले मधुर स्वर मा गाउछिन्
“चैत है सखी फुलल बेली
भँवरा करत गुँबजार हो ।”
पति को साहचर्य मा आनन्द मग्न हुँदै गौरी दिन कटाइरहेकि हुन्छिन् । क्षय ले च्याप्दै गएपछि एक दिन नरेन्द्र सदा का लागि अस्ताएर गए तर गौरी भने सधवा को रुप मै कायम राखिन आफुलाई ।
ऊनी भन्थिन् ” नरेन्द्र मरेका छैनन् म मा समाहित भएका छन् । म भित्र छन् । मलाई सदा का लागि आफ्नो प्रेम को न्यानो दिएर सौभाग्यवति बनाएका छन् ।”
यस्तो भक्तिमय प्रेम गौरी ले नरेन्द्र लाई गरिन् ।
न त गुनासो न त केहि कुरा को माग । मात्र प्रेम , प्रेम मात्र ।
भक्त ले ईस्वर को सेवा गरे जस्तो अद्भुत प्रेम ।
अन्तिम पृष्ठ सम्म आईपुग्दा उसका प्रति श्रद्धा र समर्पण ले भरिदिएर पुरै झुकाइदियो । उनको समर्पण को कथा सदा सदा का लागि मेरो हृदय को कुना मा जिवित रहनेछ ।