घाउहरुले तिखारिएका भट्ट साहब 

Written by : anoopam


सुन झैं हजार पल्ट खारेको पो जिन्दगी हो 
कुन बेहोसीले भन्छ हारेको यो जिन्दगी हो… 

बूँद राना 


नौ‚ दश कक्षामा पढ्दाका दिन थिए. म प्राय सबै विषयमा फेल हुन्थें. घरमा बाउ आमा र स्कूलमा मास्टरको पिटाइ खान्थें. मेरा बाउ आमा र मास्टरहरुले दिन रात पढ्‚ फर्स्ट हो‚ राम्रो मार्क्स र परसेन्ट ल्या भनेर टोकसो गर्ने गरेका दिनहरु थिए ती. मलाइ भने स्कूले किताबका वाहियात र आउटडेटेड कुरा पढ्नै मन नलाग्ने. बरु स्कूलका किताबभित्र लुकाएर फिल्मफेयर पढ्ने गर्थें म. त्यही क्रममा मैले महेश भट्टको एउटा अन्तर्वार्ता पढेको थिएँ. त्यसबेला उनकी कान्छी छोरी आलिया भट्ट बलिवुडकी अभिनेत्री बनिसकेकै थिइनन्. सानै थिइन्. अन्तर्वार्तामा महेश भट्ट भन्दै थिए‚ “ म मेरी छोरी आलियालाई बारम्बार भन्ने गर्छु‚ छोरी स्कूलका परिक्षामा फेल भएर आउ. तिमी फेल भएर आयौ भने बल्ल मलाइ तिमी मेरी छोरी भएकोमा गौरव हुनेछ. जिन्दगीले सधैं जीत र सफलता मात्र दिंदैन. ठुली भएर तिमीले अनेकपल्ट असफलता र हारको पनि सामना गर्नु पर्नेछ. अहिले नै त्यसको स्वाद पायौ भने पछी तिमीलाई उस्तो गाह्रो पर्दैन.” यो अन्तर्वार्ता पढेर म तीन छक्क परेको थिएँ. महेश भट्ट मेरो बाउ वा आमा वा स्कूलको प्रिन्सिपल भए कती जाती हुन्थ्यो भनेर मैले सोचेको थिएँ. यसरी म महेश भट्टका बारेमा झन् धेरै जान्न उत्सुक भएको थिएँ. पछी अध्यात्ममा रुची बढ्यो. ओशोका प्रवचन सुन्न र पढ्न थालें. त्यहाँ पनि महेश ठोकिन आइपुगे. अध्यामिक खोजको अन्त्यमा मैले ओशो भन्दा मूर्धन्य अर्का एक दाशर्ि्नक युजी कृष्णमूर्ती फेला पारें. फेरी त्यहाँ पनि महेश भट्ट टाँसिएर आए. मैले महेश भट्टको नालीबेली अध्ययन नगरी सुखै पाइन. 
चुँडीएको चप्पल डोरीले गाँसी सडकमा पड्काउँदै हिंड्नेहरु नै कालान्तरमा सडकका बादशाह बनेर निस्किएका हजार उदाहरण छन्. नघोटीएको जिन्दगीमा चमक कहाँ. चाँदीको थालमा बाउ बाजेले राखेर दिएको फूली लगाउनेहरुको मुहारमा हेर्नु. त्यहाँ निराशाका डार्क सर्कल्स देखिन्छन्. त्यहाँ न जितको चमक हुन्छ न हारले सिकाएका सबकको सिग्नेचर हुन्छ. अनी अनेक पल्ट लडेका‚ थाकेका र तयसको बाबजूद उठेर आफ्नै पौरखले आफ्नो गाथा सिर्जेकाहरुको मुहार हेर्नु. उनीहरुले छोएका कुराहरु हेर्नु. कलाको मुहार देखिन्छ. स्टाइल देखिन्छ. सर्जक बहुलट्ठी हुन्छ. सिर्जनशक्तीको उज्यालो चमक उसको आत्मामा त्यसै कहाँ पसेको हुन्छ र. अनेक घाउले छाती फोरेर उसको हृदय भित्र उज्यालो पुर्याएको हुन्छ. सर्जकको‚ कलाकारको जीवन त्यसैले दस चारको हुँदैन. समाजले दिएका नैतिकताको पाठ उसले टेर्दैन. त्यसैले उसको जीवन सहज हुँदैन. कहिले उ अँध्यारा गल्लीहरुमा एक्लै भौंतारिन्छ कहिले उ सारा संसार सुतिसक्दा आफ्नो कोठाको बत्ती बालेर  रातभर घोत्लिइरहन्छ. आफ्नो हृदयका घाउ उ फूलबुट्टे रुमालले छोपेर दुनियाँलाइ पस्कन्छ. चम्किन चाहनेले घोटीन डराउनु हुँदैन. 
आजका सबैले श्रद्धा गर्ने भट्ट साहबको महेश भट्ट देखी भट्ट साहब सम्मको यात्रा यसको प्रमाण हो. 
१९८२ मा बनेको ‘अर्थ’ देखी १९९८ मा बनेको ‘जख्म’ सम्मका उनका चलचित्रमा हुने स्थायी विषय हुन्  विखण्डीत परिवार‚ वर्जीत सम्बन्ध र अधुरो प्रेम. यी दुई विषय महेश भट्टले बनाएका सिनेमाका सिग्नेचर टच हुन्. उनी आफैं पनि समाजले वर्जीत गरेको प्रेम सम्बन्धको नाजायज उत्पादन थिए. उनका पिता नानाभाइ भट्टको अर्को परिवार पनि थियो. महेशकी मुसलमान आमा उनकी रखैल मात्र थिइन्. यही घाउले गर्दा उनी समाजमा फिट हुन गरिने क्रियाकलापमा सफल हुन सकेनन्. न स्कूलमा राम्रा विद्यार्थी बन्न सके न आमाले सपना देखे em}+ जागिरे बन्न सके. बरु अनेक पल्ट विवाह गरे‚ मनको शान्ती खोज्दै अध्यात्म देखी लागु औषधसम्मका अम्मली बन्न पुगे. अन्त्यमा उनले आफ्नै हृदयका घाउ फूलबुट्टे रुमालले छोपेर दुनियाँलाइ पस्कने माध्यम फेला पारे. सिनेमा माफर्त उनले आफ्नै कथा भन्न थाले. यो खेलमा महेश सफल भए.   

आशीकी 
 होस्टल बस्ने अनाथ युवती र राती राती पर्खाल नाघेर उसलाई भेट्न जाने प्रेमीको प्रेम कथा आशीकीले नब्बेको दशकमा तहल्का पिट्यो. यसका नायक नायीका राहुल राय र अनु अग्रवाल रातारात स्टार बने. आशीकी कोट देखी आशीकी कट हेयर स्टाइल सम्मले तहल्का पिट्यो.बीस लाखको बजेटमा बनेको फिल्मले तीन करोड कमाएर त्यस बेलाको सवार्ि्धक कमाउने फिल्म पनि बन्यो आशीकी. नयाँ कलाकार लिएर कम बजेटमा फिल्म बनाउने र कमाउनु कमाउने स्टाइल अहिले त भट्ट ब्यानरको ट्रेडमार्क नै बनेको छ. महेश भट्टको मास्टर माइन्डले यो सम्भव गरायो. महेश भट्ट द्वारा निर्देशीत फिल्म आशीकी उनको आफ्नै जीवनमा आधारीत थियो. उनको पहिलो प्रेमको कथा थियो यो फिल्म. बम्बई स्कटिसमा पढ्ने क्याथोलिक क्रिस्चियन केटी लोरेन ब्राइटलाइ भेट्न महेश राती राती उनको होष्टलको पर्खाल नाघेर जाने गर्थे. यसै कारणले लोरेन स्कूलबाट निकालीइन्. कालान्तरमा बीस वर्षका महेश र लोरेनले विवाह गरे. कलिलै उमेरमा विवाह गरेका र बाउ बनेका महेशको यो विवाह भने लामो समय टिकेन. तिनताक भर्खर फिल्म इन्डस्ट्रीमा प्रवेश गरेका उनको एक पछी अर्को फिल्म फ्लप हुँदै थियो. त्यसै कारण उनी गहिरो डिप्रेसनमा फसे. त्यसै बेला उनको  अफेयर हुन गयो तिनताका सेक्स सिम्बोल मानिएकी हट एण्ड बोल्ड परवीन बाबीसँग. त्यसपछी लोरेनसँगको उनको सम्बन्ध पुरै अमिलियो. उनीहरु छुट्टै बस्न थाले.  

अधुरो कहानी 
स्टार थिइन् परवीन. महेश एक पछी अर्को फ्लपको दलदलमा डुबेका निर्देशक. आजसम्म पनिबलिवुडमा हट एण्ड बोल्डको चर्चा हुँदा परवीन बाबीको चर्चा हुने गर्छ. टाइम म्यागजिनको कभर पेजमा छापिने पहिलो बलिवुडी कलाकार बनेपछी त परवीनको ख्याती झनै चुलिएको थियो. विवाहित र एक छोरीका पिता हुनुको बाबजूद महेश परवीन बाबी सँगै बस्न थाले. उनीहरुको सम्बन्ध भने तूफान र ज्वालामुखीको सम्बन्ध em}+ हुन पुग्यो. परवीन बाबी बिस्तारै मानसिक रुपमा विक्षीप्त हुँदै जान थालिन्. उनलाई प्यारानोइड सिजोफ्रेनिया डाइग्नोसीस गरियो. सोझो अर्थमा भन्दा परवीन बहुलाइन्. त्यसको उपचार गर्नका लागी शक ट्रिटमेन्ट आवश्यक हुने कुरा चिकित्सकहरुले महेशलाइ बताए. बजारमा यो कुराको हल्ला हुन नदिन उनलाई जन्डीस  भएकाले घरैमा आराम गरिरहेको भनेर बताइएको थियो. कहिले उनी आफ्नो कोठाको एयर कन्डिसनरमा बम छ भनेर कराउँथीन्. महेश उनलाई एयर कन्डिसनर फुटाएरै देखाईदिन्थे. कहिले उनी अमिताभ बच्चनले आफुलाई मार्न खोजेको भनेर कराउँथिन्. औषधी खान भन्दा उनी महेशलाइ नै भन्थिन्‚ “यसमा तिमीले विष मिसाएर ल्याएका छौ. पहिला तिमी खाएर देखाउ.” महेश उनको चित्त बुझाउन खाएरै देखाईदिन्थे ती औषधी. 
यता परवीनलाई लिएर फिल्म बनाउन महँगोमा व्याज लिएका प्रोड्युसरहरु जुन सुकै हालतमा परवीनलाइ फिल्म खेलाउन उद्यत थिए. दिमागमा इलेक्ट्रिक सक दिएर कोसिस गरी हेर्न उनीहरु डाक्टरहरुलाई दवाब दिंदै थिए. महेशले परवीन माथी हुन थालेको यस्तो राजनीती साहना सकेनन्. उनी परवीनलाइ लिएर बंगलोर भागे. आफ्ना दाशर्ि्नक मित्र युजी कहाँ लगेर राख्दा परवीनलाइ केही राहत होला भन्ने उनको अनुमान थियो. युजीले भने परवीन ठीक हुने खासै सम्भावना देखेनन्. बरु परवीनको पछी लागेर महेश आफैं  बरबाद हुन सक्ने सम्भावना देखेर युजीले परवीनलाइ बंगलोर मै छाडेर महेशलाइ बम्बई फर्कन आग्रह गरे. बलिवुडको चमकदमकबाट टाढा रहेर परवीन केही ठीक भए जस्ती भइन्. युजी बंगलोर छाडेर स्वीजरल्याण्ड गए. परवीन पनि सँगै गइन्. केही समय त्यहाँ बसेपछी परवीनले आफु ठीक भएको र बम्बई फर्कन चाहेको कुरा यु जीलाई बताइन्. युजी भने जान्दथे‚ बलिवुडको दुनियाँमा फर्कना साथ परवीनको हालत उही हुनेछ. नभन्दै भयो त्यस्तै. बम्बइ फर्कना साथ परवीन पुरानै विक्षिप्तता देखाउन थालिन्. एक दिन उनले महेशलाई भनिन्‚ “महेश‚ युजी म फिल्ममा नफर्कौं भन्ने चाहन्छन्. तर म उनको कुरा अब टेर्ने छैन. त्यसैले तिमी हामी दुइमा एकलाई रोज.” बाहिर emdemd पानी परिरहेको त्यो साँझ महेश मुटु दह्रो पारी परवीनलाइ छाडेर बाहिर सडकमा निस्किए र आफ्नो बाटो लागे. १९८०मा यसरी परवीन बाबी र महेश भट्टको ब्रेकअप भयो. 
परवीनको पागलपन‚ आफ्नै तनावग्रस्त वैवाहीक जीवन आदी कारणले गर्दा महेश एल एस डी लगायतका लागुऔषधको प्रयोग गर्न थाले. उनको करियर झनै ओरालो लाग्दै जान थाल्यो. यी दिनहरुमा उनी रक्सीको नशामा धुत्त भएर सडकमा लड्ने गर्थे. यो घाउलाई पनि महेशले व्यर्थ जान नदिएर कलामा  कालान्तरण गरी छाडे. लोरेन र परवीनसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई उनले मिठो कथामा बुने र त्यसैमा आधारीत फिल्म बनाए ‘अर्थ’. यो नै उनको पहिलो सफल चलचित्र बन्न पुग्यो र उनको डुब्दो करियरलाई जोगायो. १९८२ मा बनेको सिनेमा अर्थले त्यसबेला धेरैवटा विधामा फिल्मफेयर अवार्ड पाएको थियो. महेश आफैंले पनि यसै सिनेमाबाट सर्वोत्कृष्ट स्क्रिनप्लेको अवार्ड थापे. त्यसपछी महेशले ब्याक टु ब्याक हिट सिनेमा दिन थाले. 

आफ्नी आमा र बाउको वर्जीत सम्बन्धमा आधारीत रहेर उनले ‘सारांश’ र ‘हमारी अधुरी कहानी’ बनाए. यो अर्थमा महेश खण्डहरमा खजाना खोज्न जानेका व्यक्ती हुन्. महेश भन्छन्‚ “संसारमा सबै कुरा क्षणभंगूर छ भन्ने कुरा मैले परवीन बाबीको जिन्दगीबाट सिकेको हुँ. एक क्षणमा सारा संसारले प्रेम गरेकी नायीका अर्को क्षणमा बहुलाएर जसरी खतम भइन् र गुमनामीको जिन्दगी बिताइन्‚ त्यो म कहिले बिर्सिन्न.”  

जीवनको दोश्रो इनिंग 
एउटा दुखदायी विवाह र एउटा अधुरो प्रेमको घाउ सहलाउँदै बसेका महेशको जीवनमा परवीन पछी ठोकिन आइन् सोनी राजदान. जर्मन आमा र भारतीय बाउकी छोरी सोनी महेश निर्देशीत ‘शारांश’मा अभिनय गर्ने क्रममा महेश प्रती आकर्षीत भइन्. महेश आफ्नो जीवनमा थप जटीलता चाहँदैन थिए. सोनीको प्रेम निवेदन उनले स्वीकार त गरे तर त्यसलाई सार्वजनिक गर्न भने चाहेनन्. अन्तत सोनीका पिताले हस्तक्षेप गरे. महेशले सोनीको बारेमा निर्णय लिनै पर्ने भयो. की उनीहरुको प्रेम सम्बन्ध सार्वजनिक गर्नुपर्ने की उनलाई छाड्नुपर्ने भयो. आफ्नी पहिली पत्नीसँग नबसे पनि उनलाई छोडपत्र गर्न भने महेश चाहँदैन थिए. सर्प पनि मर्ने‚ लाठी पनि नभाँचीने बाठो उपाय उनले लगाए. आफ्नी आमाको धर्म उनले अंगीकार गरे. महेश मुसलमान भए. अब उनले दुइवटी श्रीमती राख्न पाउने भए. आफ्नो नाम अशरफ भट्ट र सोनीको नाम सकिना राखेर उनले सोनीसँग सुटुक्क विवाह गरे. त्यसको केही हप्तामा बम्बईको ताज होटलमा पार्टी दिएर उनीहरुले आफ्नो वैवाहीक सम्बन्ध सार्वजनिक गरे. लोरेनबाट महेशका दुइ सन्तान राहुल र पूजा छन् भने  सोनीबाट दुइ छोरी शाहीन र आलिया छन्. 
चित्तमा लागेका घाउलाई सिर्जनामा रुपान्तरण गर्न सकिन्छ भन्ने कुराको महेश पफेर्क्ट उदाहरण हुन्. महेश अनुभव‚ विद्वता र घाउहरुले खारिएका सुन्दर जङ्गली काँडा हुन्‚ आलिया भन्छिन्‚ बाउसँग भेट्न आउन मात्र पनि उनलाई दुइ दिनको तैयारी चाहिन्छ. यती धेरै ज्ञान र अनुभव  छ महेशसँग दिनलाई‚ उनीसँग दिन बिताउँदा थाकेर लखतरान भइन्छ भन्छिन् आलिया. 

ओशो र महेश 
विनोद खन्नालाइ लिएर ‘लहु के दो रङ्ग’ सिनेमा बनाउँदै थिए महेश १९७९ मा. यही क्रममा विनोद खन्ना र महेश बिचमा गहिरो मित्रता भयो.  एलएसडीको प्रयोगले महेशलाइ आफ्नै चेतनाको गहिराइमा पुर्याईदिएको थियो. उनी ओशोको सम्मोहक प्रवचनहरुले डोर्याइएर ओशो सन्यासी बन्न पुगे. १९८०मा आफ्नी आमाको मृत्यु भएपछी विनोद पनि कुनै आध्यात्मिक शरणको खोजीमा थिए. महेशले उनलाई ओशोकहाँ लिएर गए. 
विनोद पनि ओशो सन्यासी भए. उनीहरुको मित्रता यसले झनै प्रगाढ बनायो. दुइ वर्ष ओशोको सङ्गत गरेपछी महेश भने वाक्क भए. ओशोले भने बमोजिम कै ध्यान दिनमा पाँच घण्टा गर्दा पनि उनी आफुले चाहे अनुसारको आध्यात्मिक अनुभव पाउन सकिरहेका थिएनन्.  यसैबेला तिर उनको परवीन बाबीसँग अफेयर सुरु भएको थियो. पत्नीलाइ छाड्न पनि सकिरहेका थिएनन् उनी. फिल्मी करियर पनि अधोगती लागेको थियो. यही झोकमा उनले एक दिन ओशोले लगाईदिएको उनको फोटो अंकीत माला ट्वाइलेटमा बगाईदिए. ओशोले यो कुरा विनोदबाट थाहा पाए र महेश आफुलाई भेट्न नआए आफुले उनलाई बरबाद पार्दिने कुरा सुनाए. यो सुनेर महेशको ओशो प्रतीको श्रद्धा झनै खण्डीत हुन गयो. आफैंलाई भगवान कहलाउने मान्छे समेत यती सानो कुरामा क्रुद्ध हुन्छ भने उसलाई किन टेर्ने भन्ने प्रश्न महेशको मनमा उठ्यो.     त्यसपछी महेश फर्केर ओशोकहाँ गएनन्. विनोद भने आफ्नो करियर नै तिलान्जली दिएर ओशो आश्रममा सन्यासी भएर बसे. ओशो अमेरिकाको ओरेगोन स्थीत आश्रममा बस्न जाँदा विनोद पनि साथै गए. १९८५ मा महेश र विनोद फेरी भेट्टिए. विनोद यसबेला पहिला जस्तो थिएनन्. गहिरो डिप्रेसनमा फसे जस्तो देखिन्थे उनी. आफ्नो मित्रको यो गती देखेर महेश त्यस बारेमा कुरा गर्न भनी ओशोलाई भेट्न गए. ओशो पनि पहिला जस्तो थिएनन्. जबर्जस्ती आफ्नो स्टारडम थाम्न खोजिरहेको बुढो सुपरस्टार जस्ता देखिएका थिए ओशो. कुनै बेलाका उनका सुन्दर हात अब चाउरिएका र लगलग काम्ने भइसकेका थिए. ओशोले विनोदको बारेमा महेशको गुनासो सुन्नै चाहेनन्. उल्टो महेशलाई फेरी आफ्नो सन्यासी बन्न आग्रह गर्न थाले. 

महेश र युजी कृष्णमूर्ती 

महेशको आध्यात्मिक खोज युजी कृष्णमूर्तीमा आएर टुंगियो. ‘स्पिरिचुवल टेररिस्ट’ कहलाइने यी अनौठा आध्यात्मिक गुरुले महेशको आध्यात्मिक तिर्षना शान्त बनाइदिए. अब महेश भन्छन्‚ “युजी बिना महेशको कुनै अस्तित्व छैन. म जे हुँ‚ युजीको निर्माण हुँ.” त्यसै त दुरुह दर्शनका कारण युजी कृष्णमूर्तीलाई पढ्ने र बुझ्ने थोरै मात्र हुन्छन्. महेश नभएका भए युजी कृष्णमूर्तीको बारेमा संसारले सायदै थाहा पाउँथ्यो होला. महेशले नै आफ्ना प्यारा मित्र र गुरुको बारेमा पुस्तकहरु लेखे र संसार समक्ष युजीको दर्शन प्रस्तुत गरे. युजी कृष्णमूर्तीसँग बिभिन्न विषयमा विवाद गर्दै गरेका जवान महेश भट्टका पुराना भिडियोहरु युट्युबमा हेर्न सकिन्छ. युजी कृष्णमूर्तीको जीवनी “युजी कृष्णमूर्ती( अ लाइफ” र युजी कृष्णमूर्तीका अन्तीम दिनहरुको स्मरणमा महेशले लेखेको पुस्तक “अ टेष्ट अफ लाइफ” प्रकाशीत छन्. महेश आफ्ना हरेक अन्तर्वार्ताहरुमा युजीका भनाइहरु उध्रीत गरिरहेका हुन्छन्.  युजीले नै महेशलाइ सिकाए‚ कर्म गर. पैसा कमाउ. भगवान वा बुद्धत्वको पछी लागेर आफ्नो जीवन नष्ट नगर. आफुले बलिवुडमा ब्रेक दिएका हरेक कलाकारसँग उसले गरेको हरेक फिल्म वापत केही रकम गुरु दक्षीणा उठाउँछन् महेश. यो पनि युजीले नै सिकाइदिएका. सारांशमा ब्रेक दिए वापत अनुपम खेरले पाँच सय दिएका थिए महेशलाइ. हालसालै आफ्नो टिभी प्रोग्राम ‘अनुपम खेर सो’ मा महेशलाई गेष्ट बनाएर बोलाएका अनुपम खेरले त्यस वापत उनलाई खाममा राखेर पाँच लाख रुपैयाँ दिए. त्यसबेला महेश र अनुपम दुवैका आँखामा एक अर्का प्रती स्नेह र श्रद्धाको आँसु थियो. 

Unknown's avatar

Author: diyalomasik

Diyalo Masik is for you. Tales, voices and views of the spaces, gaps, and all those which we often skip in our everyday hustles.

3 thoughts on “घाउहरुले तिखारिएका भट्ट साहब ”

Leave a reply to Satish Tandon Cancel reply