अभ्यासमा पूर्णता भेटिन्छ नै – जीवन

अनुभवको एक किताब हो-जीवन

बाँचिएका दिनका कथा हो-जीवन

कहिले आँशु, कहिले हाँसो,

सबैको मिठो सङ्गालो हो-जीवन!१!

समयको निरन्तर बहाव हो-जीवन

युवामा बगेको छरितो धार हो- जीवन,

जब  बग्दछ बिस्तारै शान्त ढंगले,

गहिराइको अद्भुत  सार हो- जीवन!२!

कहिले  सम्झनाको घाम हुन्छ-जीवन

कहिले फक्रिएको फूल हुन्छ- जीवन,

जताततै लहराएका लताका लतिफा झैँ,

पुनः बालापनको झल्को दिन्छ- जीवन!३!

जब थाकेका पाईलाहरू भन्छन्

“साँच्चै, जीवन रमाइलो हो! त ?”

र अन्त्यमा सम्झिन्छन् सबै:

“आनन्दको मात्र एक खेल हो -जीवन!४!

सधैं केही बाँकी रहन्छ नै भने ,

साधनाको निरन्तर यात्रा हो- जीवन,

जति बुझे पनि अलिक अपूरो,

तर अभ्यासमा  पूर्णता भेटिन्छ नै – जीवन!५!

 

ब्रह्मको अद्वैत अनुभूति हु- “म”!!!

साधना एक माध्यम हो,

तर,

साध्य हु “म”!!!  -,

अनन्तमा फैलियेको

आकाश हौ तिमी

तीमी र मभित्रै एउटै

तत्वमसी हु-“म”!!!

हर रुपमा

एक स्पन्दन हु- “म”,

मौनका गुन्जहरुमा

“स्व: हम” हु- “म”!!!

द्वैतका भावहरुमा

समभाव “प्रज्ञा” हु-“म” -,

नाम रुपको ज्ञानमा

अनित्य बोध” हु- “म”!!!

चेतनाको फैलावटमा

आनन्दको झरना हु “म”,

मौनको गहिराइमा

स्वयमको अनुभुती हु “म”!!!

प्रज्ञाको ज्वालामा,

अहमको खरानी हु “म”,!!!

लयबद्दताका तरङ्गहरुमा,

सङ्कल्पको अभ्यास हु “म”!!!

“अहम् ब्रह्मास्मि”

संस्कृतको वाक्य होइन “म”,

आत्मा र ब्रह्मको

अद्वैत अनुभूति हु “म”!!!

तेल दियोमा थपिरहेछु!!

जिन्दगी संसारी भइ  बाँचिरहेथ्यो,

चुपचाप-चुपचाप बगीरहेथ्यो,

मधुरो बत्तीको धुमीलता मै,

जीवन आफैँमा सुस्ताइरहेथ्यो!!

तर,

क्षितिजको लालीमामा हेर्दा-हेर्दै,

त्यही लालीमा दिलमा सजाउन पुगेछु,

उज्यालो पाउने आसमा आज,

तेल दियोमा थपिरहेछु!!

 

बेदनाको अनिभुती के हो..?

मृग मरीचिकामा बाचिरहेछु,

मधुरो बत्ती उज्यालो बनाउन,

तेल दियोमा थपीरहेछु!!

 

अवलोकन भित्र अवलोकन गर्दै,

आवाज तिम्रो सुनिरहन्छु,

 आवाज सङ्गै बग्ने तरङ्गहरुले

आफै भित्र हराइ पो दिन्छु!!

 

शुन्यताको अनुभुती कहाँ खोजु ?,

सम्बेदनाहरु सल्बलाई दिन्छन,

सम्बेदनाभित्र स्थिरताको

झिल्को सानो धिप-धिप गर्छन!!

 

भाव भइ छिपेका दर्दहरुसँग,  

गीत तिम्रो गुनगुनाइ रहन्छु,

भावको बिस्तारै नै चेतना हो भने,

तेल दियोमा थपिरेहेछु!!

संकल्पले नै चेतनाको दियो बाल्छ !!!

प्रभातको लालीमा भन्दा 

हामी पहिले उदाउँछौं,

आफैलाई अवलोकन गर्दै 

आलयमा हामी पस्छौँ।

मन, शरीर, विचारहरू 

कहाँ जान्छन् थाहा छैन….?

जस्तो दृष्टि उस्तै सृष्टि 

प्रलयको डर छैन।

भूत, प्रेत, पिचासहरु 

पनि छ र कतै शङ्कै लाग्छ,

ध्यान बिना जीवन यो 

किन अब अधुरो लाग्छ।

निर्विचार अवस्था नै 

किन यति प्यारो लाग्छ,

खोल्छु आँखा, देख्छु संसार 

किन अति नौलो लाग्छ। 

धारणाले संसार हेर्दा 

“म” भित्र “मै” खोज्नु पर्ने हुन्छ,

वरिपरि सबलाई देख्दा,

एकतामा बल मिल्छ।

संकल्प शक्ति बलियो पार्न 

संकल्प अब लिनुपर्छ,

संकल्पले नै हामी भित्र 

चेतनाको दियो बाल्छ!!!

रुची र समयको बहाव

रुचि- आफूलाई पाउनु पनि हो,
रुचि- स्वयंलाई चिन्नु पनि हो,
तर,
समय बगिरहन्छ …. बगिरहन्छ ….
समयको बहाव सँगै
रुचि पनि फेरिरहन्छन् …. फेरिरहन्छन् ….
कहिले सेतोमा- रुचि,
कहिले कालोमा- रुचि,
कहिले रातोमा- रुचि
कहिले केमा …. ?
कहिले केमा …. ?
तर,
आज समय स्थिर भएको छ,
समयसँगै रुचि पनि स्थिर भएका छन्,
यसैले स्थिर समयलाई
त्यही रुचिमा घोलिरहन्छु …. घोलिरहन्छु …
कहिले कवितामा रुचिलाई कोरी दिन्छु….
कहिले ध्यानमा रुचिलाई हराउन दिन्छु….
कहिले तिमीलाई अहोभावले सुनीरहन्छु….
कहिले अस्पष्ट शब्दहरु बोल्न खोज्छु….
२४ घण्टाको समय भनिन्छ
तर कहाँ अल्झु खै… ?
छैन समय…
तीमी बहाना भन्छौ
हो,
बहाना नै भएपनि,
समयभित्र त्यही रुचिहरु घोलिरहन्छु…..घोलिरहन्छु……. ।