मन भित्र प्रश्न थियो
यसैले आफैंलाई सोधिरहन्थे
“जीवन के हो?”
मन्दिर गए ,
पुजारीले भने-“ईश्वर यहाँ छ।”
मस्जिद गए,
मौलवीले भने-“ईश्वर त्यहाँ छ।”
पुस्तकालय गए,
दर्शनले हजार उत्तर दिए।
तर मन झन् भारी हुँदै गयो।
एक दिन थाकेर
एउटा नदी किनार बसे।
न केही सोधे,
न केही खोजे
बसी रहे… बसी रहे।
हावाले पात हल्लायो,
नदी बगिरह्यो,
सास आफैँ चलिरह्यो,
म हेरिरहेँ,
अचानक देखे
म सास होइन,
सासको साक्षी रहेछु।
त्यही क्षण
प्रश्न हरायो,
अर्थ भेटियो।
नदीले केही उपदेश दिएन,
हावाले कुनै मन्त्र पढेन,
तर मौनले
सबैभन्दा ठूलो सत्य भनिदियो।
त्यस दिनदेखि
म खोज्ने रहिन्,
म बेहोशी भइन।
जहाँ खोज समाप्त हुन्छ,
जहाँ बेहोशी होशमा फर्कन्छ
यसैले त तिमी भन्छौ
त्यहीँ जीवन हुन्छ।
