लुप ब्रेक कोशिसमा देखिने लुपहरु

निशान्तको पैतालामुनि काठमाडौँको सडक अझै न्यानिएको थिएन, बरु एउटा पुरानो ‘लुप’ले उसलाई भित्रभित्रै डढाइरहेको थियो। पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँलाई मुठ्ठीमा कैद गरेर आएको त्यो साधक, बागमतीको धमिलो पानीमा आफ्नो अस्तित्वको ऐना खोज्दै थियो। झोलामा लोकसेवाका मोटा किताबहरू र हृदयमा ‘फोर्थ वे’ साधनाको गहिरो सूत्र बोकेर ऊ कलंकी ओर्लँदा, उसलाई लागेको थियो यो यात्रा कार्मिक ऋण तिर्ने अन्तिम किस्ता हुनेछ, पक्कै मलाई calling भएरै यहाँ ल्याइएको हो तर, शंखमुलको एउटा साँघुरो कोठामा जब ऊ तयारी कक्षाको पहिलो अक्षर पल्टाउँछ, ती अक्षरहरू अक्षर नभएर उसलाई बाँध्ने साङ्ला बनिदिन्छन्। उसको स्वभाव ‘बग्नु’ थियो, तर यहाँ उसलाई ‘थुप्रिनु’ सिकाइँदै थियो। ती ऐन, नियम, प्रशासन र संवतका रेखाहरूमा उसले आफ्नो आत्माको संगीत कतै भेट्दैन, बरु एउटा यान्त्रिक मान्छे बन्ने दौडको धुलो मात्र देख्छ।

हरेक बिहान जब बागमती छेउको UN park को चौरमा सूर्यको पहिलो किरण आँफु एक्लैसँगको लडिबुडीमा ठोकिन्छ, सिद्धार्थको भित्री आकाशमा भने एउटा भयानक हतासाको मेघ गर्जन्छ। हृदयभित्र ऊ अब्बल गुरुको सामिप्यमा छ, जसले बारम्बार भनिरहन्छन्, “निशान्त, यो विरक्ति नै तिम्रो लुप ब्रेक गर्ने ढोका हो, तिम्रो पुरानो ‘म’ मर्ने अन्तिम अवसर हो।” तर, पशुपतिको सन्ध्या आरतीमा शंखको धुनसँगै हराइरहँदा पनि उसको एउटा खुट्टा सधैँ पोखरातिरै फर्किन खोज्छ। एकातिर ऊ धर्म र मोक्षको मार्गमा हिँड्ने सङ्कल्प गर्छ, सत्संगी साथीहरूको काँधमा हात राख्छ, तर उसको चेतनाको एउटा कुना अझै पनि ‘काम र अर्थ’को आकर्षक दलदलमा संकल्प भासिन लालयित देखिन्छ।

उसले आफ्नै अस्तित्वलाई गिज्याउँदै एउटा गहिरो सुस्केरा हाल्छ र भन्छ, “अचम्म छ यो मानव चोला, जहाँ बुद्धको करुणा र बजारको तृष्णा सँगै सुत्न खोज्छन्।” उसलाई थाहा छ, पोखरा फर्किनु भनेको केवल ठाउँ सर्नु होइन, बरु आफ्नो पराजयलाई आत्मसात् गर्नु हो तर, हरेक रातको निद्राबाट बिउँझिँदा ऊ आफूलाई फेरि त्यही पुरानो चक्रको सुरुवातमै पाउँछ। साधनाले उसलाई ‘साक्षी’ बन्न सिकाउँछ, तर उसको मायावी मनले उसलाई ‘भोक्ता’ नै बनाइराख्न खोज्छ। ऊ एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ एउटा बाटोले उसलाई सरकारी जागिरको सुरक्षित तर यान्त्रिक भविष्यतिर लैजान्छ भने अर्को बाटोले गुरुको ‘शून्य’ तिर तर निशान्त, जो लुप ब्रेक गर्न आएको थियो, ऊ अहिले आफैँ एउटा जीवन्त ‘लुप’ बनेर काठमाडौँको धुलाम्मे कुहिरोभित्र हराइरहेको छ, जहाँ उसको मोक्षको भोक र संसारको तिर्खा बीचको युद्ध कहिल्यै नटुंगिने महाकाव्य झैँ लेखिइरहेछ। 

हुनत उसका लागि सहानुभूति दिने सत्संगी साथीहरुको कमि पनि छैन। कोही विदेशको बैभवता (काम, अर्थ) छाडेर धर्म र मोक्षका लागि गुरु सरणमा छन्, कोही सुकरातकी जस्ती घोरमुखा पत्नी नभएपनि आफ्नो साधना लाई डिस्टर्ब गरेको पाएकोले तीनलाई त्यागेर आध्यात्मिक अभ्यासमा लाग्न उद्दत भएको देखिन्छ त कुनै साथी प्यारा बालबच्चा १८ वर्ष कहिले पुग्लान् र छाडेर गुरु सरणमा जाउँ जाउँ गरिरहेका छन्। शुभचिन्तक कै रुपमा उसको जीवनमा एउटी पुतली पनि घरि न घरि भेटिइरहन्छिन् मोबाइलको स्क्रिनमा र स्पिकरमा हुनत ती झ्याम्पुतली चाहिँ होइनन्, समाजका अशल केटीहरु मध्येकि अब्बलै हुन् । जेहोस्  उसको भलो नै चिताउनेहरुको कमी छैन। एउटा साथीले त भन्दै थियो उसलाई, ‘काँधमा बिरालो राखेर बोटबिरुवाको जरामुना सुम्सुम्याएर खाइन सक्ने तिम्रो आफ्नै विषयमा सम्बन्धित लोकसेवा कै जागिरमा फोकस गरन त यदि तिमिलाई लोकसेवा मै जागिर खानु छ भने किनभने तिम्रो स्वभाव जन्य रोजगारी त्यहि नै त देखिन्छ ‘। त्यसो त उसलाई जन्माउने स्वयं आमा नै जतिखेर पनि च्याहिरहन चाहान्छिन् स्वदेशमै जसलाई छाडेर लुप ब्रेक गर्न यता आएको छ अनि आफ्ना एकदमै नजिकका नातेदारहरूले पनि बिदेशबाट झस्काइरहन्छन् शुभचिन्तक कै रुपमा तरपनि उसका लागि एक्लै पाउँछ उ आँफुलाई घरि न घरि, दोधारे सिरानीमा कोल्टे फेरिरहन्छ । आफ्ना दुई खुट्टालाई घरि पोखरा र घरि काठमाडौंमा हालिरहेको हुन्छ। हुनु पर्ने थियो, एउटा खुट्टा तत्काललाई ब्यबहारिक दुनियाँमा न्युनतम टिक्न मात्र र अर्को खुट्टा सधैं उचालिरहेकै हुनु पर्थ्यो परमार्थ तर्फ नै किनभने उसमा त्यसका लागि भरमार सम्भावना छ। तैपनि उसका बिरोधाभाषमा छचल्किएका अनेक मनहरु यतिधेरै छट्पटाइरहेका छन् कि खुट्टा फेरिरहेको, घुँडा हल्लाइरहेको, हातका बाहुला सारेर घडि हेरिरहेको, मोबाइलमा स्क्रोलिङ्ग गरिरहेको पत्तै नपाई मेकानिकल्ली भइरहेछ अटोमेटिक मेसिन जसरी।

यत्तिकैमा कन्क्रिट घरको एल्मोनियम झ्यालको चेपबाट बागमती तीर फर्किएर एउटा कविता गुन्गुनाउँछ, 

“धर्मको दीपलाई

आफ्नै सासले निभाएर,

म सिक्काको उज्यालोमा

छायासँग नाच्दैछु…

मोक्षको बाटो

अहिलेलाई मुटुको कुनामा थन्क्याएर,

काम र अर्थको भेलमा

आफैंलाई बिर्सिएको छु

तर,

प्रत्येक कमाइको झिल्काभित्र

एउटा अधुरो शान्ति पोलिरहेछु…।

सारै गारो भएर अब आफ्नो परम प्रिय गुरुलाई एउटा पत्र लेखेरै उपयुक्त सल्लाह खोज्न , पाउन मन गर्छ र लामो सास फेर्दै शुरु गर्यो।

श्रद्धेय गुरुदेवको श्रीचरणमा यो भ्रमित साधकको अनन्त दण्डवत् प्रणाम 🙏❣️

गुरु, म अहिले काठमाडौँको यो कोलाहलपूर्ण मध्यरातमा एउटा यस्तो ‘लुप’ भित्र कैद छु, जहाँ समय त अगाडि बगिरहेछ तर मेरो चेतना भने फेवातालको किनारमा अल्झिएको पुरानो डुङ्गाझैँ एउटै वृत्तमा घुमिरहेको छ । हजुरले भन्नुभएको थियो, “निशान्त, त्यो काठमाडौँ तिम्रो लागि भूगोल मात्र होइन, यो तिम्रो ‘फोर्थ वे’ साधनाको एउटा कडा प्रहार हो, जहाँ तिमीले आफ्नो मेकानिकल स्वभावलाई भङ्ग गर्नुपर्छ जहाँ म आफैं पनि त्यसमा घोलिएर अनि छानिएर लुप ब्रेक गरेर निस्किएको छु” तर गुरु, जब म बागबजार, पुतलीसडकका ती उकुसमुकुस कक्षाहरूमा लोकसेवाका शुष्क अक्षरहरूभित्र आफ्नो भविष्य खोज्न थाल्छु, मलाई लाग्छ म आफ्नो आत्मालाई एउटा साँचोमा ढाल्न खोज्दैछु जुन मेरो स्वभावसँग कहिल्यै मेल खाँदैन । मेरो भित्री मनुष्यले विद्रोह गर्छ, ऊ पोखराको त्यो खुल्ला आकाश र शान्त शून्यतातिर तानिन्छ । मलाई लाग्छ, म यहाँ सरकारी सेवाको तयारी गर्न होइन, बरु आफ्नो जीवन्तताको दाहसंस्कार गर्न आएको हुँ ।

हजुरले सधैँ भन्नुहुन्छ कि यो छटपटी नै ‘कार्मिक फल’ काट्ने सुनौलो मौका हो, एउटा लुप ब्रेक गर्ने ढोका हो  तर गुरु, हरेक बिहान जब म आफ्नो होस्टेल कोठाको बार्दलीमा ओसका थोपाहरूसँगै बिउँझन्छु, मभित्र एउटा आदिम भय जाग्छ । घरि-घरि धाएरै म पशुपतिको सन्ध्या आरतीको त्यो शंखध्वनिमा हराउन खोज्छु, त्यहाँको खरानीमा मोक्षको सुगन्ध सुँघ्न खोज्छु, तर मेरो गोजीमा भएको रित्तोपन र समाजले सोध्ने ‘काम र अर्थ’ को प्रश्नले मलाई फेरि त्यही तुच्छ चक्रमा पछारिदिन्छ । मसँग हजुरजस्तो बुद्ध पुरुषको साथ छ, सबल सत्संगीहरूको टेवा छ, तैपनि म किन यो ‘काम र अर्थ’ को मोहजालबाट बाहिर निस्कन सकिरहेको छैन ? मेरो साधनाको दियो किन यो संसारी हावाको एउटै झोक्कामा हल्लिन्छ ?

गुरु, मलाई लाग्थ्यो म मोक्षको यात्री हुँ, तर आज महसुस गर्दैछु म त केवल एउटा यस्तो कैदी हुँ जो आफ्नो हतकडीसँगै प्रेम गरिरहेको छ । यो लुप ब्रेक गर्नु भनेको त आफ्नै एउटा हिस्सालाई मार्नु रहेछ, जुन मलाई साह्रै धौ-धौ भइरहेको छ । मेरो बुद्धत्वको तिर्खा र यो संसारको भोगको भोक बीचको युद्धमा म थकित भएको छु । यो पत्र लेखिरहँदा मलाई लाग्दैछ, सायद मेरो वास्तविक साधना यो छटपटीलाई नकार्नुमा होइन, बरु यसलाई पूर्ण रूपले भोगेर यसको निःसारता बुझ्नुमा छ कि ? म लुप तोड्न खोज्दा झन् नयाँ लुपमा परिरहेको त छैन ? मेरो यो अन्धकारपूर्ण यात्रामा हजुरको करुणाको एउटा मधुर प्रकाशको प्रतीक्षामा छु । लेख्न अझै धेरै लागेको छ अक्षरहरूमा पोखेर भलै तर हजुरले भन्ने गर्नु भएको ‘The answer is a state not a word’ महसुस गरेर मेरा अवस्था बुझेर यो भड्किरहेको कथित साधकलाई उचित सल्लाह सुझाव दिएर ट्र्याकमा डोर्याउनु हुनेछ। हुनत साथीहरु सँग पनि सल्लाह सुझाव नमागेको होइन तर उनिहरु पनि त साधना मै हुने रहेछन्, उनिहरुको साधनाले म भित्र बढि गहिराइमा नछिरिकन हल्का सुझावको झलक मात्र दिने मात्र को टच हुने रहेछ। त्यसैले उनिहरुलाई दोष र अनावश्यक अपेक्षा नराखीकन बरु हजुरको हृदयमा बास बस्नु नै परम निकटता उपस्थिति रहेछ । पत्रको पुछारमा ‘उहि हजुरको….’ लेख्ने चलन छ तर म त्यसो लेख्न लज्जित छु, हजुरको म भन्न योग्य पात्रता देख्दिन आँफुलाई। त्यसैले हस् त यत्तिमै अहिलेलाई टुङ्ग्याउँछु। 

मेरो परमप्रिय  🙏❣️

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment