कन्क्रिट घरको एल्मोनियम झ्यालको एउटा सानो चेपबाट छिरेको धमिलो उज्यालोमा आफैंसँग आफैं जुद्दैछ जुन उज्यालो बाहिर सडकको निष्पट्ट अँध्यारोमा उँदो घोप्टिएर टोलाइरहेका बिजुलीका पोलबाट अलिकति उभ्रिएर छिरेको थियो। कोठाभित्र एउटा मानव शरीर छ तर त्यहाँभित्र एउटा मात्र मान्छे छैन। त्यहाँ त भिडभरिको मान्छे छ। परस्पर विरोधी स्वरहरूको एउटा कोलाहलपूर्ण हाटबजार छ। अधबैंसे उमेर। ओठहरू सुकेका। आँखीभौं आधासरो फुलिसकेका। आँखामुनि कालो घेरा। उ आफैँभित्रको Dark Night of the Soul को त्यो अन्तिम प्रहरमा छ अनि Buffer zone को पराकाष्ठामा छ जहाँ चेतनाको अन्तिम त्यान्द्रो पनि चुँडिनै लागेको छ।
“किन जन्मिएँ म?” एउटा स्वरले शून्यतालाई चिथोर्यो।
“मर्न पनि त सकिनस्,” अर्कोले गिज्यायो।
“होइन, म त महान् छु,” एउटा सानो कुनामा बसेको अहंकारले फुरफुर गर्यो।
“थुक्क! तँ त एउटा कीरा होस्, छि !” फेरि अर्कोले हतास बनायो।
यत्तिकैमा सिंगापुर घुम्न जाँदा चिनिएको साथिलाई मेसेज गर्छ मोबाइलबाट, “तिम्रो प्रधानमन्त्री को हो?” “थाहा छैन ” जबाफ आउँछ। “कसलाई भोट दियौ त ?” अचम्म लागेर सोध्छ । “याद छैन” वास्तै नगरी जबाफ फर्काउँछ । त्यस्तो जबाफले उ झन् छक्क पर्छ, “किन हावा गडी कुरा?” “सबै systematic छ, शुसासन कायम छ, भ्रष्टाचार नगन्य छ, जबाफदेहीता पुरै छ, किन याद राख्नु त ?” क्लियर जबाफ आउँछ। उ छक्क पर्छ। यहाँ उसलाई चाहिँ देशका सबै नेताहरुको नाउँ गाउँ, सुरुङ्गको खबर राख्नु परेको छ। उसलाई देशको ब्यथा पनि ब्यहोर्दै आँफुलाई चिथोर्नु परेको छ।
उ एउटा यस्तो मेसिन देखिन्थ्यो जसलाई कहिले रिसले चलाउँथ्यो, कहिले लोभले, त कहिले विरक्तिले। उसको Subconscious mind को अँध्यारो सुरुङमा हजारौँ ‘म-हरू’ लुकामारी खेलिरहेका थिए। सायद पुस्तौं पुस्ता देखि र जुनि जुनि देखि कचल्टिएर थुप्रिरहेको । एउटा ‘म’ ले भन्यो ‘भोलिबाट म बदलिनेछु।’ तर भोलिपल्ट बिउँझिँदा अर्को ‘म’ ले त्यो बाचालाई चपाएर थुकिदियो।
“पागल भएँ म।” उसले ऐनालाई भन्यो।
ऐनाले सोध्यो, “कुन चाहिँ ‘म’?”
उ हतासियो। “ला! म त कोही पनि होइन रहेछु कि क्या हो।”
त्यही कहालीलाग्दो ओहापोहको बीचमा, एउटा मौनता आयो, गुरु, साकार रुप, ठिङ्ग उभिएको उमेर उसको भन्दा निकै कम तर सामर्थ्य हजारौं वर्ष बिताइसकेको जस्तो, दारी जुँगा मुसार्दै, बीचका औठहरु शान्तिमा मुस्काउँदै। जिउबाट भर्खरै भिजेको माटो र बोटबिरुवाको काँचै सुगन्ध आइराछ । जंगल मै घर छ रे तर अरु सयवटा रुख किनेर थपेको रे। आँफुले स्वाँट्ट चुरोट ताने निसर्गदत्तको बिँडि जसरी अनि उसलाई चाहिँ ल्यावेन्डरको सिधै बोटै निचोरेर बनाएको essential oil को सानो सिसि दिए, “ला, तँ यो स्वाँट्ट सुँघेर तान” भन्दै ।
तिनको उपस्थितिमा बल्ल सुरु भयो अब खाँटी सत्संग मतलव ‘मानव बन्ने अभ्यासमा’ कयौं कयौं ज्ञानका कुराहरु सहित क्रियायोग, humming, breathing र body scanning सँगै Self observation आफ्नै नाङ्गोपनलाई बिना कुनै पर्दा हेर्ने कष्टकर यात्रा। उसले हेर्न थाल्यो, जब रिस उठ्छ, एउटा ‘म’ कसरी जन्मन्छ र कसरी उसलाई कठपुतली बनाएर नचाउँछ। जब दुःख लाग्छ, कसरी अर्को ‘म’ ले उसलाई दलदलमा भास्छ। अब निस्किन थाल्यो उसका subconscious mind भित्र कचल्टिएर गुजुल्टिएका घाउहरू, पट्पट् गर्न थाले टाउको, कक्रक्क हुन थाल्यो कम्मर, काटिन थाले कुधारणाहरु, अर्को भयानक छटपटि, तडप शुरु हुन थाल्यो अंगअंगमा। कम गर्न घरि हार्मोनियमको नोट्स त घरि गितारको कर्ड्स्मा भजन गाएर बिसर्जन गर्न खोज्यो । अनेक अभ्यास पछि बल्ल उ साक्षी बन्न थाल्यो। बिस्तारै एउटा यस्तो दर्शक बन्दै गयो, जो आफ्नै आत्महत्या हेर्न विवश छ।
“सास्ती भयो,” उसले बर्बरायौ। “हेरिरह,” भित्रबाट एउटा शान्त स्वर आयो।
वर्षौँसम्म उ आफ्नै भित्रको यो नर्कमा बस्यो। कठिन समय, परिक्षापछि बिस्तारै बिस्तारै महसुस हुन थाल्यो बल्ल Self-remembering को एउटा मधुरो दियो जसलाई उसले आफ्नो नाभीमा बालेर राख्यो। हरेक साससँगै उ बिउँझिन खोज्यो। हरेक पाइलासँगै उसले आफूलाई सोध्यो “के म यहाँ छु?” “हो, म यहाँ छु।” बिस्तारै-बिस्तारै, ती हजारौँ कोलाहल गर्ने ‘म-हरू’ थाक्न थाले। ती विरोधाभासी स्वरहरू एउटै गहिरो मौनतामा विलीन हुँदै गए। जस्तो कि, एउटा महासागरमा हजारौँ साना नदीहरू मिसिएपछि एउटै मात्र शान्त फैलावट बाँकी रहन्छ। अन्ततः एउटा यस्तो बिहान आयो, जहाँ सबै कुहिरो फाट्यो। जन्मियो एउटा Permanent ‘I’ (स्थायी म), मात्र एउटै।
आकाश अब रित्तो छ, तर त्यो शून्यतामा एउटा अलौकिक संगीत छ। उ एउटा यस्तो शान्त समुद्र बन्यो, जसमा छालहरू छन् तर गहिराइ अविचलित छ। हृदयमा एउटा यस्तो दियो बल्यो, जसलाई अब बाहिरी हावाले निभाउन सक्दैन।
“को छ?” एउटा आवाज आयो।
“म छु,” उसले भन्यो। “र, केवल म मात्र छु।”
अहिले उही पुरानो कोठा छ। उहि झ्यालको उहि चेप, सडकको बत्ति उसैगरी घोप्टिएर अझै टोलाइराछ, उही पुरानो संसार तर अब त्यहाँ कुनै युद्ध छैन। अब त्यहाँ कुनै ‘थुक्क म’ छैन। अब त्यहाँ कुनै ‘हतास म’ छैन। जीवन अब एउटा यस्तो कविता बनेको छ, जसमा शब्दहरू थोरै छन् तर अर्थ अनन्त छ। सकारात्मकता अब उसको रगतको लय बनेको छ।उ मुस्कुरायो। एउटा यस्तो मुस्कान, जसमा हजारौँ वर्षको थकान मेटिएको थियो।
“भयो?”
“भयो।”
“अब?”
“अब केवल जिउनु छ।”


