हामी नेपाली लामो समयदेखि कुशासनको शिकारले समृद्धिबाट वञ्चित भयौँ। जेन जी (Gen Z) आन्दोलनको त्याग र निर्वाचनको परिणामले सुशासनको आस हामी बीच पलाएको छ। आधारभूत रूपमा हामी रोजगारीको सिर्जना, समृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्यको कामना गर्छौँ। यी आधारभूत आवश्यकताको परिपूर्तिसँगै हामी कस्तो खालको नेपालको परिकल्पना गर्छौँ भनेर पनि सोच्न सचेत नागरिकले आवश्यक छ। अबको नेपाल कस्तो होस् भन्ने चाहन्छौँ हामी?
यस विषयमा हामी सबैको आफ्नो-आफ्नो धारणा र कल्पना होला। समय निरन्तर अगाडि बढ्दै छ र समयले नेपाललाई आकार दिँदै छ। मलाई लाग्छ यो आकार दिने क्रममा, केवल पुराना मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन, र केवल नयाँ र विकसित देशका मूल्य, मान्यता र संस्कृति मात्र अँगालेर पनि भएन। त्यसकारण राम्रा र समय सान्दर्भिक हुने पुराना र अँगाल्न लायकका नयाँ मूल्य मान्यताहरूको सन्तुलनमा आधारित रहेर एउटा सुन्दर, सुखी, शान्त र समृद्ध नेपालको परिकल्पना गर्दा सम्यक समाजको निर्माण हुन्छ होला।
