भुइँका पात टिप्दा

गौरीशंकरले समय तोकिसकेपछिको निकै अबेला मध्यपहाडी धरातलको न्यानो समशितोष्ण वनको छायामुनि एउटा सरल जीवन भुइँभरि बिच्छिएको थियो, प्रकृतिलाई अँघाल्दै। त्यसैमा एउटा यस्तो विन्दु देखिन्थ्यो जहाँ अभावले मानिसलाई रुवाउँदैन, बरु बाँच्ने नयाँ लय पनि सिकाउँछ। वनको शान्त गर्भभित्र सालका सुकेका पातहरू भुइँमा पछारिएका थिए, ठ्याक्कै ती सपनाहरू जस्तै जो पुरा हुन नपाउँदै हाँगाबाट झरेका हुन्छन् तर ‘उनी’ का लागि ती केवल मरेका पात थिएनन्, ती त भोलिको चुल्हो बाल्ने ऊर्जा र नानीहरूको ओठको मुस्कान जोगाउने आधार थिए।

कम्मरमा पटुकी कसेर, झुकेको शरीर र उठिरहेको जाँगरका साथ उनले पात टिप्दै गर्दा एउटा मिठो भाका गुन्जियो, “सालको पात टपरी हुने, ए बरै ! नहुने सल्लैको…”। यो गीतमा एउटा गहिरो दर्शन लुकेको थियो, जीवनमा सबै थोक सबैका लागि हुँदैनन् तर जे छ, त्यसैलाई टपरी जस्तै गाँसेर एउटा आकार दिनु नै त जीवन हो। उनको हँसिलो मुहारमा झल्किएको त्यो चमकले वनका बुट्यानहरूलाई पनि ईर्ष्या जगाउँथ्यो। उनको कण्ठबाट फेरि अर्को धुन निस्कियो मानुँ त्यो कुनै सत्संगको गुञ्जन मागेर ल्याइएको थियो, ” फूलको आँखामा फूलै संसार….”। नजिकै, माटो र धुलोसँगै आफ्नै संसार बुनिरहेकी दुई वर्षीया छोरी। एउटा ठूलो सालको पात हातमा लिएर थचक्क बसिरहेकी थिइन्। आमाको स्वर सुन्नेबित्तिकै उनको सानो जिउमा एउटा अदृश्य लय तरंगित हुन्थ्यो। ती कलिला खुट्टाहरूले भुइँ टेक्न जानिसकेका थिएनन् तर आमाको गीतमा भाका मिलाउँदै उनी बसिबसी सत्संगको हमिङ्ग जस्तै आवाज बनाउँदै यसरी नाच्थिन् मानौँ सारा संसारको खुसी त्यही एउटा पातको छायामुनि लुकेको छ।

केही पर, १० वर्षको छोरो लामो लामो ब्रिदिङ्ग गर्दै आफ्नो उमेरभन्दा अलि बढी नै गम्भीर देखिन्थ्यो। पातले खाँदिएर डम्म भएको बोरा उसले सकिनसकि तानिरहेको थियो। उसको निधारमा सरेका पसिनाका थोपाहरूमा कुनै थकान थिएन, बरु एउटा गर्व थियो। उसले सुस्तरी भन्यो “हैँसे… हैँसे!”। यो शब्द केवल भारी उठाउने मन्त्र थिएन, यो त एउटा सानो बालकले आफ्नो परिवारको जिम्मेवारीको पहाड उठाउन गरिरहेको जीवन्त सङ्घर्ष थियो। अलि पर, रुखका सुकेका हाँगाबिँगाहरू बटुल्दै गरेका उनका श्रीमानको स्वरले वनको सन्नाटा चिर्यो। उनले बन्चरोको प्रहारसँगै एउटा कालजयी गौरव गुनगुनाए: “सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली…” उनको त्यो स्वरमा देशप्रतिको भक्ति मात्र थिएन, आफ्नै सानो ‘देश’ अर्थात् आफ्नो परिवारलाई एउटै सूत्रमा उनेर राख्ने दृढ संकल्प पनि थियो। दाउराको थुप्रो बनाउँदै गर्दा उनले गाएको राष्ट्रगानले एउटा कुरा प्रष्ट पार्थ्यो, वास्तविक राष्ट्रप्रेम ठूला मञ्चहरूमा मात्र होइन, आफ्ना सन्तानको भोको पेट भर्नका लागि पसिना बगाउँदै गर्दा पनि झल्किन्छ। भुइँबाट टिपिएका ती पातहरू बोरामा भरिँदै गर्दा एउटा यस्तो सुन्दर चित्र कोरिएको थियो, जहाँ दुःखको रङ पनि निकै उज्यालो देखिन्थ्यो। झरेका पातहरूले पनि नयाँ जीवन पाउँदा रहेछन् जब तिनीहरूलाई प्रेम र मिहिनेतका हातहरूले स्पर्श गर्छन्। उनीहरूको यो सानो संसारमा अभाव त थियो तर त्यो अभावलाई जित्ने एउटा महान् संगीत पनि थियो।

एकाएक हतारिँदै पातका बोराहरु समार्दै उनले मनमा गम्न पुगी, “अबेला पो भइसकेछ है ! भोकै पर्खिरहेका होलान् हाम्रो मन्दिरका देवीदेवता, मेरा ती जोडी सासु ससुरा,  आजपनि सुशासनको आश्वासनले चुलो भरिदिएका कुनै नेतालाई अँजुलीभरिको नमस्कार  टक्र्याउँदै हामीलाई नै पर्खिरहेका होलान्… “

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment