गोर्खे इनर्जी

गौरीशंकरका टाकुरामा जब पहिलो घामको झुल्को ठोकिन्छ, तब सिँधुलीगढीका ढुङ्गाका काप-कापबाट एउटा अदृश्य तर प्रचण्ड कम्पन सुरु हुन्छ त्यही हो ‘गोर्खे इनर्जी’। यो कुनै प्रयोगशालामा मापन गरिने क्यालोरी वा भोल्ट होइन, बरु यो त इतिहासको त्यो रगत हो जुन सिन्धुलीगढीको अभेद्य किल्लामा अङ्ग्रेजका आधुनिक बन्दुकका विरुद्ध खुकुरी र ढुङ्गाको भरमा जाज्वल्यमान भएको थियो। इतिहासको पाना पल्टाउँदै जाँदा भेटिने पात्र हर्कमान जब सिन्धुलीगढीको त्यो ऐतिहासिक उकालो चढ्छ, उसलाई लाग्छ कि उसका पाइलाहरू केवल माटोमा होइन, वीर गोर्खालीहरूको अजेय साहसको पदचापमा परिरहेका छन्। त्यहाँका शिलाहरूमा कुँदिएका वीरगाथाहरू र पृथ्वीनारायण शाहको त्यो शालिक एवं तस्बिर, जसको हातको एउटा औंलाले राष्ट्रिय एकताको सुगन्ध छरिरहेको छ, हर्कमानको लागि केवल कलाकृति होइनन् ती त ‘गोर्खे इनर्जी’ का जीवित स्रोत हुन्। गढीका भित्ताहरूमा ठोकिएका पुराना हतियारका निसानहरू र त्यहाँ ठडिएका वीर सपूतका शालिक एवं मूर्तिहरूले हर्कमानसँग मौन संवाद गर्छन्। वंशराज पाण्डे र श्रीहर्ष पन्तका रणनीतिहरू र किनलोकका सेनालाई धूलो चटाउने ती शिकारीका आँखाहरू आज पनि त्यहाँका ढुङ्गा-ढुङ्गामा प्रतिध्वनित भइरहेको उसले महसुस गर्छ। उसको शरीरमा प्रवाहित उर्जा मासु र हड्डीको रूपमा मात्र छैन, बरु पुर्खाले विरासतमा छोडेको त्यो ‘खुकुरीको धार’ बनेर दन्किएको छ, जसले इतिहासको कठिन मोडमा कहिल्यै हार मानेन। जब ऊ गढीको प्राङ्गणमा उभिन्छ, उसलाई लाग्छ कि त्यहाँका पुराना शालिक एवं शिलालेखहरूले उसलाई भनिरहेका छन्, “यो उर्जा केवल युद्ध जित्नका लागि मात्र होइन, यो त स्वाभिमानको दीप बाल्नका लागि हो।”

समयको घुम्तीमा यो उर्जा कहिले विदेशी मरुभूमिको तप्त बालुवामा पसिना बनेर बग्छ त कहिले आफ्नै देशका अँध्यारा गल्लीहरूमा मैनबत्ती बनेर बल्छ। हर्कमानले सहरको कोलाहलमा मानिसहरूले उर्जालाई केवल विद्युतको तार वा मेसिनको पाङ्ग्रामा मोबाइलभरि खोजेको देख्दा मनमनै हाँस्छ। उसलाई थाहा छ, गोर्खे इनर्जी त त्यो हो, जसले सिन्धुलीगढीको पहराबाट अङ्ग्रेजलाई लखेट्ने हिम्मत राख्यो र आज पनि प्रत्येक नेपालीको छातीमा ‘वीर’ शब्दको पर्याय बनेर धड्किरहेको छ। मानसपटलको अन्त्यतिर पुग्दा यो भौतिक शक्तिबाट रूपान्तरित भएर एउटा आत्मिक ज्योति बन्न पुग्छ, जहाँ हर्कमानले बुझ्छ कि गोर्खे इनर्जीको वास्तविक अर्थ संसार जित्नु मात्र होइन, बरु आफ्नै पुर्खाको इतिहासलाई साक्षी राखेर, तिनै शिला, शालिक एवं मूर्तिहरूबाट प्रेरणा लिँदै, आफ्नै बाँझो पाखोमा पसिनाको बीउ रोपेर भविष्यको सपना उब्जाउनु हो अनि बगनविल्लाको बटारिएको कदलाई चपौलीका कान्लाभरि चौरंगी फुलाउनु हो । यो केवल एउटा परिचय होइन बरु यो त गौरीशंकर झैं अटल र सिन्धुलीगढीको पर्खाल झैं मजबुत नेपाली अस्तित्वको शाश्वत र गौरवशाली गाथा हो।

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment