कमला नदिलाई दाहिने पारेर ठिङ्ग एउटा यस्तो बुढो पहाड उभिरहेको थियो, जसको टुप्पो आकाशको नीलो गहिराइमा हराएको थियो र फेदी अनन्त कुहिरोको अँध्यारोमा डुबेको थियो। यो पहाडको नाम थियो, ‘बोध’। यहाँ समय घडीको सुईमा होइन, चेतनाको सास फेराइमा चल्थ्यो। यस पहाडको फेदीमा तीनवटा छायाँहरू जस्ता देखिने अस्तित्वहरू वर्षौंदेखि एउटै ढुङ्गामा अडेसिएर बसेका थिए: ‘अ’, ‘उ’ र ‘म’।उनीहरूको अगाडि एउटा भिरालो र अप्ठ्यारो उकालो थियो। ‘अ’ ले लामो सुस्केरा हाल्दै भन्यो, “यो उकालो चढ्नु, नयाँ कुरा सिक्नु र आफूलाई बदल्नु भनेको त आफ्नै छाला उतार्नु जस्तै पीडादायी लाग्छ त है। मलाई लाग्छ, यो सिक्ने प्रक्रिया नै एउटा सजायँ हो।” ‘अ’ वास्तवमा सृष्टिको त्यो जाग्रत अवस्था थियो, जसले बाहिरी संसार त देख्थ्यो तर आफ्नै भित्री डरको पर्दा उघार्न डराउँथ्यो। ऊ ॐ कारको पहिलो ध्वनि ‘अ’ जस्तै थियो जसले शब्दको सुरुवात त गर्छ, तर गहिराइमा पुग्न हिचकिचाउँछ। उसको लागि सिक्नु ‘पीडा’ थियो, किनकि उसको अहंकारको एउटा ठूलो हिस्सा आलस्यको न्यानो ओढ्ने ओढेर सुतिरहेको थियो।
त्यहीँ छेउमा बसेकी ‘उ’ ले आफ्ना स्वप्निल आँखाहरू अलि उघारिन्। उनी अलि भावुक र संवेगात्मक थिइन्। उनलाई लाग्थ्यो कि सिक्नु भनेको पुरानो आफूलाई चितामा जलाउनु सरह हो। “अ, तिमी ठिक भन्दैछौ,” उनले मसिनो स्वरमा भनिन्, “सिक्नु भनेको त आफूले बनाएको कल्पनाको सुन्दर महल भत्काउनु सरी हो। के यो सम्भव छ र ?” ‘उ’ ॐ कारको बीचको कडी अर्थात् स्वप्न अवस्था थिइन्। उनी न त पूर्ण होसमा थिइन्, न त पूर्ण निद्रामा। उनी केवल विचारको एउटा तन्द्रामा बाँचिरहेकी थिइन्, जहाँ ‘आलस्य’ शरीरको थकान बनेर होइन, ‘संशय’ र ‘डर’ बनेर प्रकट भएको थियो। उनलाई लाग्ने त्यो ‘पीडा’ वास्तवमा उनको मनको एउटा कुना अल्छी भएर सत्य स्वीकार्न नमानेको प्रतिवाद मात्र थियो।
ती दुवैका कुरा सुनिरहेका ‘म’ भने मौन थिए। उनी ॐ कारको त्यो अन्तिम अनुनासिक ध्वनि थिए, जहाँ पुगेपछि सबै शब्दहरू शून्यमा विलीन हुन्छन्। ‘म’ ले बिस्तारै चिम्सा झैँ लाग्ने आँखा खोले, लामा दारी जुँगा मुसारेर एउटा शान्त मुस्कानका साथ भने, “तिमीहरूले जसलाई पीडा भनिरहेका छौ नि, त्यो वास्तवमा सिक्ने प्रक्रियाको स्वभाव नै होइन। सिक्नु त प्रकृति जस्तै सहज र संगीत जस्तै मधुर हुनुपर्ने हो तर समस्या कहाँ छ भने, हामीभित्रको एउटा सुक्ष्म अंश जसलाई हामीले वर्षौंदेखि सुखको नाममा पालेका छौँ त्यो अति नै अल्छी भएको छ। त्यो भागले हामीलाई भनिरहेको छ कि यथास्थितिमा बस्नु नै सुरक्षित हुनु हो। जब हामी नयाँ कुरा सिक्न खोज्छौँ, त्यो निदाएको भागले बिउँझिन नचाहेर विद्रोह गर्छ। त्यही विद्रोहलाई हामीले ‘पीडा’ को नाम दियौँ।” ‘म’ को कुराले सिताम्मे गौरीशंकरको हावामा एउटा दिव्य कम्पन पैदा गर्यो। उनले सम्झाए कि उपनिषद्हरूले ॐ कारलाई ‘प्रणव’ भनेका छन्। प्रणव अर्थात् त्यो आदि-ध्वनि, जसले जे छ त्यसलाई नयाँ बनाउँछ। ‘अ’ बाट सुरु भएर ‘उ’ मा विस्तारित हुँदै अन्ततः ‘म’ मा पुगेर जब ध्वनि शान्त हुन्छ, तब मात्र ‘प्रणव’ को पूर्णता प्राप्त हुन्छ। “सिक्नु भनेको युद्ध होइन,” ‘म’ ले अगाडि थपे, “यो त आफ्नै निदाएको अंशलाई ‘प्रणव’ को झंकारले ब्युँझाउनु हो। जब त्यो अल्छी भाग ब्युँझन्छ, तब यो उकालो पहाड होइन, एउटा उत्सव लाग्नेछ।”
कुहिरो बिस्तारै फाट्दै गयो। ‘अ’ ले आफ्नो जडता त्याग्यो, ‘उ’ ले आफ्ना भ्रमका सपनाहरू पखालिन्, र ‘म’ ले ती दुवैलाई आफ्नो मौनतामा समेटे। उनीहरूले बुझे कि उनीहरू तीन अलग पात्र होइनन्, बरु एउटै मानव चेतनाका तीन तह हुन्। जब उनीहरूले सामूहिक रूपमा “ॐ” उच्चारण गरे, तब उनीहरूको शरीरमा एउटा अनौठो ऊर्जा भरियो। पहाडको टाकुरामा पुग्दा उनीहरूले देखे त्यहाँ कुनै कठिन परीक्षा थिएन, केवल एउटा ऐना थियो। त्यो ऐनामा उनीहरूले आफूलाई ‘अ’, ‘उ’ वा ‘म’ को रूपमा होइन, साक्षात् ‘प्रणव’ को रूपमा देखे। उनीहरूले बुझे सिक्दा हुने भनिएको ‘पीडा’ वास्तवमा पुरानो ‘म’ मेटिएर नयाँ ‘प्रणव’ जन्मिनुको प्रसव वेदना मात्र थियो।
शिखरको त्यो परम उज्यालोमा एउटै सत्य गुञ्जियो: “सिक्ने काम पीडादायी कहिल्यै थिएन, केवल तिम्रो एउटा भाग निदाएको थियो। आज त्यो ब्युँझियो र यात्रा पूर्ण भयो। जुन दिन मनको त्यो अल्छी कुनो ‘मर्निङ्ग हिलिङ्ग शेसन’ जस्तो जागृतिका सिकाइहरुले ब्युँझाएको महसुस हुन्छ, त्यस दिन संसारकै सबैभन्दा कठिन पाठ पनि एउटा मधुर भजन शुरु हुनु भन्दा अगाडि श्रद्धाले निहुरिएको झन्क्रित हमिङ्ग जस्तो शरिरातित गुञ्जन लाग्छ।”
