मुख्यतया व्यर्थता र सार्थकता धारणाका कुरा हुन्। कुनै कुरा कसैलाई व्यर्थ लाग्ला तर त्यही कुरा कसैलाई सार्थक पनि लाग्न सक्छ। हाम्रो जीवन सार्थकताको खोज हो, र त्यही खोजले हामीलाई अगाडि बढ्ने प्रेरणा दिन्छ।
सार्थकताको यो खोजमा व्यर्थताको पनि सामना गर्नु पर्छ, किनभने सार्थकतालाई हामी कुनै एउटा पुग्नु पर्ने, भविष्यको गन्तव्यको रूपमा लिन्छौँ। त्यसकारण जबसम्म सार्थकतामा पुगिँदैन तब सम्म त व्यर्थता नै भयो र त्यसले हामीलाई पूर्ण सन्तुष्टि दिँदैन। तर यदि हामीले जे कुरालाई व्यर्थता भनेका छौँ त्यसभित्र लुकेको सार्थकता समाउन थाल्यौँ भने, व्यर्थता भन्ने बिस्तारै हाम्रो जीवनबाट हराउँदै जान्छ र जीवन नै सार्थकताको श्रृंखला हुन सक्छ।
