सृजनात्मक प्रक्रियाको लागि ध्यानको अवस्था अनिवार्य हुन्छ

चपौली गाउँको भूगोल आफैमा एउटा अलिखित कविता जस्तो थियो; भिराला पाखाहरू, कुइरोसँग लुकामारी खेल्ने उत्तिसका रुखहरू र सधैँ गुञ्जिरहने खोल्साको सुसाइ तर यो शान्त गाउँको सुदूर कुनामा एउटा यस्तो ध्वनी पनि थियो, जसले गाउँको ढुकढुकीलाई लयबद्ध गर्थ्यो। त्यो थियो, बल बहादुर दाइको आरनबाट निस्कने ‘ट्याङ्… ट्याङ्…’ को अनवरत सङ्गीत। बल बहादुर दाइ, अर्थात् चपौलीका ती मौन शिल्पी, जसलाई समाजले ‘विश्वकर्माका सन्तान’ भनी एउटा दर्जा मात्र दिएको थियो तर उनको परिचय त्यो जातीय पर्खालभन्दा धेरै माथि थियो र विश्वकर्मा बाबाको कृपा नै थियो। उनको आरन एउटा सानो झुप्रो मात्र थिएन, त्यो त एउटा यस्तो तपोभूमि थियो जहाँ फलाम पग्लेर अस्तित्वको नयाँ आकार ग्रहण गर्थ्यो। गाउँलेहरूका लागि उनी खुकुरीमा धार लगाइदिने वा कोदालीको बीँड कसिदिने साधारण कारीगर थिए तर बल बहादुर दाइका लागि यो कर्म एउटा ‘ध्यान’ थियो।

एक साँझ, जब पश्चिमका डाँडाहरू राताम्मे भइरहेका थिए, बलबहादुर दाई एउटा पुरानो खुकुरीलाई आरनको रातो भुङ्ग्रोमा तताउँदै थिए, खलाँतीको मुटुको धड्कन जस्तै आवाज.. फूँ.. फूँ.. फूँ…। उनका आँखा ती राता कोइलाहरूमा यसरी गाडिएका थिए, मानौँ उनी यो ब्रह्माण्डको सृष्टि हेरिरहेका छन्। “दाइ, अलि छिटो गरिदिनु न, भोलि बिहानै घाँस काट्न जानु छ,” गाउँको एउटा ठिटोले हतारो देखायो। बल बहादुर दाइले आँखा नझिम्काई जवाफ दिए, “हतारको फलामले घाँस त काट्ला बाबु, तर त्यसले कर्मलाई माया गर्दैन। सृजना हतारमा होइन, डुबेर मात्र सम्भव हुन्छ।”

हो, बल बहादुर दाइको सृजनात्मक प्रक्रिया एउटा गहिरो ध्यान थियो। जब उनी हतौडा उठाउँथे, उनको शरीर र आत्मा एउटै बिन्दुमा केन्द्रित हुन्थ्यो जसरी अर्जुनको ध्यान गुरु आज्ञा सहितको माछाको आँखामा थियो। उनलाई न बाहिरको कोलाहलले छुन्थ्यो, न त जात व्यवस्थाको त्यो तीतो दंशले। उनी जब फलाम पिट्थे, त्यहाँ केवल एकत्व हुन्थ्यो; हतौडा, फलाम र उनको चेतना। उनको कलाको पराकाष्ठा तब देखियो, जब एक पटक स्वामी जी ले अनुरोध गर्नु भएर उनले एउटा ‘एकतारे’ बाजा बनाउने निधो गरे। मानिसहरू छक्क परे फलाम र काठको कठोर काम गर्ने मान्छेले संगीतको कोमलता कसरी बुझ्ला? बल बहादुर दाईले त्यो बाजा बनाउनुअघि निकै दिनसम्म आरनको कोइला बालेनन्। उनी केवल एकान्तमा बसेर हावाको सुसाइ र चराको चिरबिर सुनिरहे। मानिसहरूले ठाने, “बल बहादुर अब बुढो भयो, यसको होस गुम्यो।” यस्तो कुरा कि त उनकै कलामा लुकेर बसेको सुषुप्ततालाई नै आभाष थियो कि त स्वामी जीलाई त्यस्तो सृजनाको सम्भावना छ उनीबाट भन्ने विश्वास थियो । उनी त सृजनाको त्यो शून्य विन्दु (Zero Point) मा पुग्न खोजिरहेका थिए, जहाँबाट संगीतको जन्म हुन्छ।

एक रात, चपौली गाउँ सुनसान थियो। बल बहादुरदाईले आफ्नो ध्यानको ऊर्जालाई औँलाहरूमा उतारे। उनले त्यो एकतारेलाई यसरी रेटे कि गाउँका मान्छेहरू ब्युँझिएर एकोरिन थाले, आफ्ना कान र हृदयलाई एकाएक जोडिएको पाए । त्यो संगीतमा आरनको राप थियो, श्रमको सुगन्ध थियो र एउटा असीम शान्ति थियो। त्यो बाजाबाट निस्केको धुन केवल तारको कम्पन थिएन, त्यो त बल बहादुरदाईको ‘ध्यानको अवस्था’ बाट प्रस्फुटित भएको सृजनाको अमृत थियो। उनले देखाइदिए कि सृजनात्मक प्रक्रियाका लागि आँखा चिम्लेर गुम्बा वा मन्दिर जानु पर्दैन; यदि आफ्नो कर्ममा पूर्णतः एकाग्र हुन सकिन्छ भने त्यो आरन नै एउटा समाधि स्थल बन्न सक्छ। बल बहादुर दाइ आज पनि त्यही भन्छन् “सृजना भनेको आफूलाई रित्याएर ध्यानमा रहनु हो । जब तिमी ध्यानमा हुन्छौ, तब मात्र तिमीभित्रबाट भगवान् प्रकट हुन्छन्, चाहे त्यो खुकुरीको धारमा होस् वा एकतारेको तारमा।”

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment