जीवन शून्यतामा स्थिर हुन्छ!!

अविर र सिन्दुरले रङ्गिएका तिम्रा औँलाहरूले

भन्छ- तिमी पूजा गर्छौ,

घरभित्र फैलिएको कोमल सुगन्धले

हो, तिमीले धुप पनि बाल्छौ।

मौनमा गुञ्जिरहेका सुमधुर ध्वनिहरूले

लाग्छ- तिमी मन्त्र पनि जप्छौ।

मेरा प्रश्नका आँखाहरूलाई,

तिमी शान्त स्वरमा भन्छौ-

“यी सबैले हृदयलाई उज्यालो दिन्छ,

हाम्रो चेतनामा विस्तार गर्छ।

कसैले पूजा नगर भन्छ भने,

त्यस्ता शब्दहरूलाई

पानीसँगै बग्न देउ,

हावासँगै उड्न देउ,

तिमी फेरि मुस्कुराउँदै भन्छौ-

“बिहानको एक घण्टा

आँखा चिम्लेर एक्लै आफूलाई भेट,

आउने-जाने श्वासलाई

मौन साक्षी भएर हेर।

शरीरभित्र उठ्ने

सूक्ष्म संवेदनाहरूलाई,

शान्त हृदयले महसुस गर।”

तिमी अझ थप्छौ-

“धारणाको पछि अन्धो भएर नलाग,

तर त्यसलाई दबाएर पनि नमार,

धारणा मनको तरङ्ग हो,

कहिले मित्र,

कहिले गुरु,

केवल यो हल्का बादल हो।

तिम्रा यी वचनहरू सुन्दा

मनमा मधुर शान्ति झर्छ,

अभ्यास गर्दै जाँदा,

आत्मामा आनन्दको फूल फुल्छ।

त्यस मौन क्षणमा

जीवन आफैँ

शून्यतामा स्थिर हुन्छ!!

Unknown's avatar

Author: Rama Dulal

Trust in Yourself. Never lose yourself. Truth is one. Always think Positive then Life is wonderful, Pretty & joyful!! Now I am searching myself, looking at myself & listening to myself!!

One thought on “जीवन शून्यतामा स्थिर हुन्छ!!”

  1. समयको अन्धकारमय गुफामा थुनिएर बसेको मेरो चेतनाले वर्षौँसम्म एउटै मन्त्र जपिरहेको छ,

    “खोइ त खोइ उ, खोइ?”

    Liked by 1 person

Leave a comment