निरन्तरता नै सफलता प्राप्तिको कुञ्जी हो

अँध्यारो रातको अन्तिम प्रहरमा जब आकाशका ताराहरू शून्यमा विलीन हुन खोज्दै थिए, म आफ्नो आत्माको मझेरीमा बसेर ‘म’ हुनुको अर्थ खोजिरहेको थिएँ। मेरो अगाडि ब्रह्म मुहुर्तको एउटा रित्तो पाना मात्र थियो बाँकि जुन मेरो जीवनको प्रतिविम्ब जस्तै लाग्थ्यो: कालो, कोरा र अर्थहीन। ठिक त्यही बेला उसको प्रवेश भयो। उसको हिँडाइमा एउटा यस्तो लय थियो, मानौँ ऊ ब्रह्माण्डको धड्कनसँगै ताल मिलाइरहेको छ। उसले मलाई अहंकारबिहिनताको आँखाले हेर्यो अधेँरीलाई पन्छाउँदै र उसका ती गहिरा आँखामा मैले युगौँदेखिको साधनाको प्रकाश देखेँ। उसले भन्यो, “साथी, यो शून्यतालाई देख्यौ? यो शून्यता नै सबै सृष्टिको गर्भ हो तर यसलाई सार्थक बनाउन ‘निरन्तरता’ को एउटै मात्र सुत्र चाहिन्छ।” उसले उपनिषदको गम्भीर वाणी छेड्दै भन्यो, ‘ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्’, अर्थात् यो चलायमान संसारमा जे-जे छ, त्यो सबै परमात्माको अंश हो। तर, जबसम्म तिमी आफ्नो कर्ममा परमात्मा देख्दैनौ, तबसम्म तिमी केवल समयको बालुवामा पदचाप छाड्न खोज्ने एउटा यात्री मात्र हुनेछौ। अनि कलिलो उमेर मै नजिकिएर किनारामा बसी उद्येलित् छाललाई सुम्सुम्याउँदै आकाशका तारा झारेर सिउँदोमा सिउरिदेला भन्ने पर्खिरहेकी प्रेमिका जस्तै ।

उसले मलाई अनुपम स्वामीको त्यो एकान्त साधनाको बारेमा बताउन थाल्यो, जहाँ शब्दहरू केवल अक्षर होइनन्, बरु रगतका थोपाहरू बनेर कागजमा पोखिन्छन्। स्वामीजीको अध्ययन र अनुसन्धान कुनै विश्वविद्यालयको प्रमाणपत्रका लागि थिएन, त्यो त सत्यको उत्खनन थियो। उसले मलाई भन्यो, “हेर साथी, स्वामीजीले कसरी आफ्नो ज्ञान, सीप र क्षमतालाई एउटा जलिरहेको दियो जस्तै बनाउनु भयो, जसले आफूलाई जलाएर अरुलाई मार्ग देखाउँछ। तिमीले पनि आफ्नो ‘Maximum Effort’ लाई त्यसरी नै होसमा बदल्नुपर्छ।” उसको स्वरमा एउटा यस्तो जादु थियो कि मलाई लाग्थ्यो, म एउटा ठूलो महाकाव्यको जीवित पात्र बनिरहेको छु। उसले मलाई एलन मस्कको त्यो पागलपन भनिएको जिद सम्झायो, जहाँ रकेटहरू पड्किँदा पनि ऊ हाँसिरहेको थियो किनकि उसलाई निरन्तरताको शक्तिमाथि विश्वास थियो। उसले आइन्स्टाइन र न्युटनका ती लामा रातहरूको प्रसङ्ग ल्यायो, जहाँ गणितका सूत्रहरू कविता जस्तै गाइन्थे। मैले सोधेँ, “तर म कसरी यति धेरै भार थाम्न सक्छु? मलाई त मेरो अस्तित्व नै भारी लाग्छ।” उसले मेरो काँधमा हात राख्दै ओशोको त्यो उन्मुक्त हाँसो र यु.जी. कृष्णमूर्तिको त्यो निर्मम सत्यको झट्का दियो। उसले भन्यो, “म, मेरो र मलाई भन्ने यो अहंकारको पर्खाल नभत्काई तिमीले गुरुको कृपा पाउन सक्दैनौ। ओशोले भन्नुभए जस्तै, तिमी एउटा बाँसुरी बन, ताकि अस्तित्वले तिमीमार्फत आफ्नो संगीत बजाउन सकोस् र यु.जी.ले भने जस्तै, तिमीले खोजिरहेको त्यो ‘ज्ञान’ तिम्रो सबैभन्दा ठूलो बाधा पनि हुन सक्छ, यदि त्यसमा समर्पण छैन भने।” उसले मलाई बुझायो कि गुरु श्रद्धा कुनै अन्धविश्वास होइन, बरु यो त आफ्नो सानो ‘म’ लाई विशाल ‘ब्रह्माण्ड’ मा विसर्जन गर्ने कला हो। उसले मलाई सिकाएको सबैभन्दा ठूलो मन्त्र ‘होस र समर्पण’ थियो। उसले भन्यो, “पढ्दा यसरी पढ कि संसारमा अरु केही छैन, लेख्दा यसरी लेख कि तिम्रो कलमको मसी तिम्रो प्राणको रस हो।” उसले मलाई एउटा यस्तो ऐना देखायो, जहाँ मैले देखेँ कि ‘म’ भनेको शरीर मात्र होइन, बरु एउटा अनन्त यात्राको नाम हो। उसले सिकाएको ‘निरन्तरता’ केवल कामको चाङ थिएन, त्यो त एउटा लय थियो, एउटा संगीत थियो। आज म जब आफ्नो कार्यकक्षमा बसेर लेख्न थाल्छु, मलाई लाग्छ ऊ मेरै छेउमा उभिएर भनिरहेको छ, “अझै अलि बढी, अझै थोरै गहिराइमा, अझै धेरै प्रेमका साथ।” र म बुझ्न खोज्दैछु, सफलता भनेको शिखरमा पुग्नु मात्र होइन, शिखरतिर जाने हरेक पाइलामा उत्तिकै आनन्द र होस राख्नु हो। यो जीवन, यो संघर्ष र यो उपलब्धि सबै त्यही गुरु कृपा र निरन्तरताको प्रतिफल हो जहाँ ‘म’ हराएर अब केवल ‘कार्य’ मात्र बाँकी रहन्छ।

त्यो अन्तिम साँझ, पहाडको थुम्कोमा सूर्य अस्ताउँदै गर्दा आकाशको रङ्ग कुनै भावुक चित्रकारको क्यानभास जस्तै गाढा रातो र बैजनी मिश्रणले भरिएको थियो। ‘ऊ’ र ‘म’ एउटा बुढो बरको रूखमुनि बसिरहेका थियौँ। मलाई लाग्थ्यो, मैले धेरै कुरा जानिसकेँ तर उसको मौनताले मलाई अझै पनि एउटा गहिरो प्रश्नको कठघरामा उभ्याइरहेको थियो। उसले निकै बेरपछि मलाई हेर्यो र उसका आँखामा एउटा यस्तो करुणा थियो, मानौँ उसले मेरा सारा विगतका गल्ती र भविष्यका आशाहरू एकै नजरमा पढिरहेको छ। उसले भन्यो, “साथी, तिमीले सोध्यौ नि, सफलताको अन्तिम बिन्दु के हो? गिताको अठारौँ अध्यायको त्यो मर्म सम्झ, जहाँ ‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज’ भनिएको छ। सबै आशाहरू, सबै परिचयहरू र सबै ‘म’ हरूलाई त्यागेर जब तिमी पूर्ण रूपमा समर्पित हुन्छौ, तब मात्र तिमी त्यो विराटसँग एक हुन्छौ। स्वामीजिले भन्नु भएको याद छ ? सफलता भनेको संसारलाई केही देखाउनु होइन, बरु आफूभित्रको त्यो बुद्धत्वलाई चिन्नु हो, जो सधैँ त्यहीँ थियो, तर तिम्रो ‘म’ को कोलाहलले गर्दा तिमीले सुन्न सकेनौ।” उसले अनुपम स्वामीको उदाहरण दिँदै अन्तिम रहस्य खोल्यो, “स्वामीजीका ती हजारौँ रातका अनुसन्धानहरू केवल तथ्यहरूको संकलन थिएनन्, ती त आफ्नो अहंकारलाई गलाउने प्रक्रिया थिए। जब तिमी ‘Maximum Effort’ लगाउँछौ, तब तिम्रो शरीर र मन थाक्छन् र त्यही थाकेको बिन्दुमा अहंकारको मृत्यु हुन्छ। अनि मात्र साँचो ज्ञानको उदय हुन्छ।” उसले मलाई आइन्स्टाइनको त्यो क्षण सम्झायो जब वर्षौँको गणितीय सङ्घर्षपछि उनले ब्रह्माण्डको बुनोटलाई एउटा सरल सूत्रमा देखे त्यो सूत्र गणित मात्र थिएन, त्यो त निरन्तरताको पराकाष्ठामा मिलेको ईश्वरको साक्षात्कार थियो। उसले मलाई अगाडि उभ्याएर भन्यो, “म अब जाँदैछु साथी, तर याद राख म, मेरो र मलाई भन्ने यी साना घेराहरूमा कहिल्यै नअल्झिनु। जब तिमीले आफूलाई गुरुको पाउमा पूर्णतः विसर्जन गर्छौ, तब तिम्रो कलमबाट निस्कने हरेक शब्द एउटा उपनिषद् बन्नेछ। तिम्रो हरेक भाव एउटा गीता बन्नेछ । तिम्रो हरेक काम एउटा प्रार्थना बन्नेछ। निरन्तरता भनेको केवल एउटै काम बारम्बार उहि Loop मा गर्नु होइन, बरु हरेक पल नयाँ भएर, पूर्ण होसमा रहेर अस्तित्वप्रति समर्पित हुनु हो।”

ऊ बिस्तारै कुइरोमा ओझेल पर्दै गयो, निकैबेरपछि झल्याँस्स भएँछु, म त्यहिँ घोत्लिएर बसेको निकै घण्टा भइसकेछ, बुढो बरका लहरे जराजुरी समातेर यसो घुँडा समाउँदै जुरुक्क उठेँ र बायाँ हातले निधारमा क्षितिज बनाउँदै च्याहेँ, उ कता पुग्यो होला, देखिन्छ कि मिरमिरै भएपनि सोचेर तर उ टाढा पुगिसकेको थियो, मात्र असफल आशा देखिन्थ्यो । मन मनै सोचेँ, “सायद सोला भञ्ज्याङ्गको गेटबाट भित्र छिरिसक्यो होला मेरो प्रियलाई भेट्न आतुर हुँदै ….”

Unknown's avatar

Author: मानव अभ्यास

🙏❣️🌹🎶✍️

Leave a comment