मङ्गल आज कतै निस्किन लागेछ । उ राती लगाएको कपडा नै लगाएर निस्किन्छ । चिया खाने ठाउँमा एक छिन चिया खाएर बस्छ । त्यहाँ उसको साथी जीवन आउँछ । उनिहरु आफ्नो जीवनको विषयमा कुरा गर्दै हुन्छन् । मुख्यतया कुरा नकारात्मकतामा आधारीत हुन्छ । मङ्गल भने अलिअलि सकारात्मक कुरा ल्याउने विचार गर्छ तर जीवन भने रोकिन नै चाहादैन। जीवनले भए भरको दु:ख , पीडा र आफ्नो सम्पुर्ण कुण्ठा त्यहीँ निकाल्छ । मङ्गलले त्यहाँ चिया मात्र खाएन । उसले जीवनको दु:ख र कुण्ठाको स्वाद पनि आफ्नो जिब्रोमा लिएर , त्यहाँबाट हिड्छ । हिड्ने क्रममा उ जे जे देख्छ , त्यसमा नकारात्मक हुन थाल्छ । उसलाई , कसैले राम्रो कुरा गरेको सुन्दा पनि उसलाई नै व्यङ्ग्य गरेको जस्तो लाग्न थाल्छ । उसमा नजानीदो रिस उत्पन्न हुन थाल्छ । घरमा पुगेर उसले चुरोट सल्काएर घाम तापी रहेको बेला , उसको श्रीमतीले खाना खान बोलाउदा , उसले आफ्नो श्रीमतीलाई सम्पुर्ण रिस निकाल्छ र उ त्यहि घाम तापेर बस्छ । एक छिन पछि उसको छोरी बाबा मलाई होमओर्क सिकाइदिनु न भन्दै आँउदा । उसले त्यहाँ चाहिँ आफ्नो रिसलाई पोखिन दिदैन र भन्छ के छ नानी होमओक ! छोरीले भन्छे जीवन भनेको के हो बाबा ? मङ्गलले उसको साथीलाई सम्झिन्छ । उसले जीवन दुःख हो । यहाँ दुःख नै दुःख छ भन्नै लागि रहेको हुन्छ । उ एकछिन रोक्किन्छ । उसले आफ्नो जिब्रोमा उहीँ जीवनले दिएको स्वाद सम्झिन्छ । अहो…यो त उसले दिएको स्वाद पो हो त । यो जीवन कसरी भयो । यहाँ खुसी हुने लाखौं कारणहरु छन् , मुस्कान ल्याउने लाखौं उपाय छन् , म पनि सन्तुष्ट नै छु , अहिले त सबै ठिक नै छ भने म किन जीवन दुःख हो भन्दै छु । यस्ता कुरामा उसले मनन गर्छ र उसले तत्काल गएर आफ्नो श्रीमतीसँग माफी माग्छ र उसको छोरीलाई पनि होमवर्क सिकाइदिन्छ । यसरी त्यस दिन उसले सकारात्मकतालाई आफ्नो स्वाद बनाउछ ।
