आकाशमा मडारिरहेका बादलहरू र सडकमा उडिरहेका निर्वाचनका पर्चाहरूका बीच निशान्त आफ्नो एकान्त कोठामा एउटा गहिरो शून्यता ओढेर बसेको थियो। झ्याल बाहिरको क्षितिजमा देखिने हल्का रातो र नीलो रङको मिश्रण जस्तै थियो निशान्तको मन, न त पूर्ण शान्त, न त पूर्ण अशान्त। ऊ आफ्नो कोठाको कुनामा बसेर रित्तो भित्तालाई टोलाइरहेको थियो। उसको अगाडि रित्तो टेबल थियो, रित्तो डायरी थियो र सायद उसको गोजी पनि रित्तै थियो तर यही रिक्ततामा उसले एउटा अद्भूत शक्ति महसुस गरिरहेको थियो। उसले मनमनै दोहोर्यायो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” जब एउटा कलाकारसँग रित्तो क्यानभास हुन्छ, तब मात्र उसले त्यहाँ ब्रह्माण्ड उतार्न सक्छ। यदि क्यानभास पहिले नै भरिएको भए, त्यहाँ नयाँ सिर्जनाको कुनै गुञ्जायस नै हुँदैनथ्यो। निशान्तको मस्तिष्कमा विचारका लहरहरू डार्विनको विकासवादी सिद्धान्तबाट सुरु भएर अध्यात्मको तरङ्गसम्म ठोकिइरहेका थिए। उसले सोच्यो, करोडौँ वर्षअघि जब यो पृथ्वीमा ‘केही थिएन’ तब मात्र जीवनको एउटा सानो कोषिका(Cell) विकसित हुने सम्भावना जन्मियो। डार्विनले भनेको Biological Evolution त केवल शरीरको यात्रा थियो बाँदरबाट मानिससम्मको यात्रा तर के मानिस नै अन्तिम सत्य हो त? अहँ, अनुपम स्वामीका वाणी र पुस्तकहरूले उसलाई अर्कै संसार देखाएका थिए। मानिस त एउटा पुल हो, एउटा सम्भावना हो, जसले पशुत्वबाट देवत्वतर्फको Spiritual Evolution तय गर्नुपर्छ। जसरी एलन मस्कले रित्तो मंगल ग्रहमा मानव वस्तीको सम्भावना देख्छन् र रकेटहरू अन्तरिक्षमा हुइँक्याउँछन्, त्यसरी नै एउटा साधकले आफ्नो भित्री शून्यतामा परमात्माको वस्ती बसाउनुपर्छ। मस्कको बाह्य विज्ञान र बुद्धको आन्तरिक विज्ञानको मिलनबिन्दु नै यो ‘केही नहुनु’ को अवस्था हो। निशान्तले सोच्यो, यो संसारको सृष्टि नै शून्यताबाट भएको हो। डार्विनले भने झैँ जीवनको विकास (Biological Evolution) एक कोषीय जीवबाट सुरु भयो, जसको आफ्नो कुनै परिचय थिएन तर त्यही ‘केही नभएको’ अवस्थाबाट आजको यो जटिल मानव मस्तिष्कसम्मको यात्रा सम्भव भयो। जर्ज गुर्जिएफका दर्शनहरूले निशान्तलाई एउटा नयाँ दृष्टि दिएका थिए। गुर्जिएफले सिकाएको Fourth Way ले भन्छ मानिस एउटा मेसिन हो तर उसभित्र सचेत हुने र ‘आध्यात्मिक विकास’ (Spiritual Evolution) गर्ने अनन्त सम्भावना छ। त्यसका लागि मानिसले पहिले आफ्नो पुरानो अहंकारलाई शून्य बनाउनुपर्छ। निशान्तको मस्तिष्कमा न्युटन र आइन्स्टाइनका तस्विरहरू आए। न्युटनले गुरुत्वाकर्षण भेट्दा र आइन्स्टाइनले सापेक्षतावादको सूत्र कोर्दा, उनीहरू सायद निशान्त जस्तै एउटा यस्तो बिन्दुमा थिए जहाँ उनीहरूलाई ‘केही थाहा थिएन’। जब मानिसले “मलाई केही थाहा छैन” भन्छ, तब मात्र सत्य प्रकट हुने सम्भावना रहन्छ। एलन मस्कले मंगल ग्रहमा बस्ती बसाउने कुरा गर्दा पनि त त्यही शून्यतालाई चुनौती दिएका हुन् जहाँ केही छैन, त्यहाँ ब्रह्माण्ड बनाउन सकिन्छ।
उसले टेबुलमा रहेका धर्मग्रन्थहरूलाई सुम्सुम्यायो। गितामा कृष्णले अर्जुनलाई कर्मको कौशल सिकाउँदै गर्दा अर्जुनको मन निशान्तको जस्तै थियो द्वन्द्व र सम्भावनाको बीचमा। त्रिपिटकमा बुद्धले ‘शून्यता’ को जुन व्याख्या गरे, त्यो अभाव होइन, त्यो त पूर्णताको स्रोत थियो पक्कै पनि। बाइबलले भन्छ, “आत्मामा रित्तो हुनेहरू धन्य हुन्,” र कुरानले भन्छ कि जब तिमी आफ्नो ‘म’ लाई मेटाउँछौ (फना), तब मात्र परमात्माको नूर (उज्यालो)देखिन्छ। उपनिषदको “पूर्णमदः पूर्णमिदम्” को अर्थ नै यही हो कि शून्य आफैँमा पूर्ण छ। निशान्तलाई ओशोको गहिरो कटाक्ष याद आयो। ओशो भन्थे “मर्नु अघि नै मर, ताकि तिमीले जीवनको वास्तविक सम्भावना देख्न सकौ।” यो मृत्यु भौतिक होइन, यो त पुराना धारणा र विचारको मृत्यु हो। माँ आनन्दमयीको मौनता, मिराबाईको प्रेमिल पागलपन र रमण महर्षिको “म को हुँ?” भन्ने प्रश्न यी सबैले निशान्तलाई एउटै कुरा सिकाइरहेका थिए, जब तिमी बाहिरबाट रित्तो हुन्छौ, तब मात्र भित्रबाट भरिन्छौ।
अहिले देशमा निर्वाचनको लहर छ। केहि दिनमै आम निर्वाचन हुँदैछ। झ्याल बाहिर झण्डाहरू फर्फराइरहेका छन्। निशान्तले महसुस गर्यो यो समग्र ब्रह्माण्ड नै अहिले एउटा द्रुत गतिको Evolutionary Pattern मा अगाडि बढिरहेको छ। पुरानो समय गइसक्यो, अब नयाँ चेतनाको उदय अनिवार्य छ। उसले सोच्यो, “मैले मतदान गर्दा केवल एउटा मान्छेलाई होइन,एउटा परिवर्तित सोचलाई भोट दिनुपर्छ।” निशान्तको हृदयमा एउटा दृढ संकल्प जन्मियो। उसले भन्यो “म उसलाई मतदान गर्नेछु, जसले राजनीतिलाई सत्ताको खेल होइन, समाजको’Fouth Way’ साधना मान्दछ। म त्यो दल र उम्मेदवारलाई रोज्नेछु, जसको भावनामा प्रकृतिप्रतिको सम्मान, कला र संगीतको सिर्जनात्मकता र बदलिँदो विश्वको चेतना छ।”उसलाई लाग्यो, निर्वाचनको यो क्षण पनि उसको आध्यात्मिक विकासकै एउटा हिस्सा हो। उसले डायरीमा लेख्यो, “म निशान्त हुँ। म न त पुरै शान्त छु, न त पुरै अशान्त। म त त्यो सम्भावना हुँ, जो अब जाग्दैछ। यसपटकको मेरो मत मेरो परिवर्तित चेतनाको प्रमाण हुनेछ। म शून्यबाट सुरु गर्नेछु, किनकि केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” निशान्तले लामो सास फेर्यो। कोठामा अँध्यारो भए पनि उसको भित्र एउटा अद्भूत उज्यालो सल्किसकेको थियो। ऊ अब मतदानको दिनको पर्खाइमा थियो,जहाँ उसको एउटा सानो छनोटले एउटा विशाल परिवर्तनको ढोका खोल्ने सम्भावना बोकेको थियो। त्यो रात निशान्तका लागि केवल एउटा रात थिएन, त्यो त एउटा युगको अन्त्य र अर्को युगको पदचाप थियो। झ्याल बाहिरका सडकहरू निर्वाचनको मौन अवधिमा शान्त थिए तर निशान्तभित्र एउटा अद्भूत मन्थन चलिरहेको थियो। उसले ओछ्यानमा पल्टिएर आफ्नो श्वासप्रश्वासलाई नियाल्यो। अनुपम स्वामीले भनेझैँ, जीवनको सबैभन्दा ठूलो कला भनेकै आफ्नै अस्तित्वसँग लयवद्ध हुनु हो। उसले आफ्नो मनमा व्यक्तिगत शान्ति र यो देशको समग्र शान्तिको एउटा साझा तस्विर बनायो। विस्तारै उसले आफ्नो होसलाई केन्द्रित गर्यो। कुनै प्रयास बिना नै भित्र ‘अजपा जाप’ सुरु भयो श्वास भित्र जाँदा र बाहिर आउँदाको त्यो प्राकृतिक संगीत। उसले महसुस गर्यो, ऊ न त कर्ता हो, न त भोक्ता, ऊ त केवल एउटा साक्षी हो। यही समर्पणको भावमा, ब्रह्माण्डीय चेतनाप्रति कृतज्ञ हुँदै, निशान्त एउटा गहिरो र ध्यानस्थ निद्रामा निदायो। उसको निद्रा पनि एउटा साधना बन्यो, जहाँ “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु हो” भन्ने बोध उसको नशा-नशामा प्रवाहित भइरहेको थियो।
अन्ततः निर्वाचनको त्यो ऐतिहासिक बिहानी झुल्कियो। निशान्त सबेरै उठ्यो। आज उसको शरीरमा एउटा बेग्लै उर्जा थियो,मानौँ डार्विनको विकासवादले आज एउटा नयाँ फड्को मार्दैछ। ऊ मतदान केन्द्रतर्फ लाग्यो। लाइनमा उभिएका मानिसहरूको भीडमा पनि ऊ आफूलाई एउटा एकान्त टापुमा झैँ महसुस गरिरहेको थियो। उसको मनमा Self-rememberingचलिरहेको थियो। ऊ त्यहाँ थियो, तर उसको होस ब्रह्माण्डको त्यो Evolutionary Pattern सँग जोडिएको थियो, जसले पुरानो जडतालाई भत्काएर नयाँ पालुवा हाल्न खोजिरहेको थियो, मतलव आफ्नो पुरानो Loop लाई break गर्ने हिम्मत गरिरहेको थियो, morning healing sessions ले सिकाएको छलाङ्गको अभ्यास गर्ने हिम्मत गरिरहेको थियो । जब उसको पालो आयो र ऊ मतदान गर्ने त्यो सानो, शान्त र एकान्त कुनामा पुग्यो, तब समय रोकिए झैँ भयो। उसको हातमा मतपत्र थियो एउटा कागजको टुक्रा, जसमा देशको आगामी भविष्यका रेखाहरू कोरिएका थिए। निशान्तले त्यो मतपत्रलाई माथिदेखि तलसम्म बिस्तारै, गहिरो नजरले हेर्यो। उसले त्यहाँ केवल चिन्हहरू देखेन, उसले त्यहाँ नेपालको गरिबी, सम्भावना,रोदन र हाँसो सबै देख्यो। उसले आफूभित्रको परिवर्तनको प्रवृत्तिलाई नियाल्यो। ऊ अब त्यो पुरानो निशान्त थिएन जो जात, वर्ग, सम्प्रदायिक नारा, लवाइखवाई वा भौगोलिक सीमाको साँघुरो घेरामा बाँधिएको थियो। उसले ती सबै विभेदहरूलाई आफ्नो चेतनाको शून्यतामा विसर्जन गरिदियो। उसले त्यो उम्मेदवार र संगठनलाई खोज्यो, जसले मानिसलाई मानिसको रूपमा मात्र हेर्ने साहस राख्छ, जसले आइन्स्टाइनको तर्क र बुद्धको करुणालाई जोड्न सक्छ। निशान्तले आफ्ना आँखा चिम्लियो। नेपाल र नेपालीलाई सधैं अभिभावकीय भूमिका निर्वाह गरिरहने गोरखनाथको याद गर्दै उसको हृदयबाट एउटा शक्तिशाली ध्वनि गुञ्जियो: “ॐ गोरक्षनाथाय विद्महे महासिद्धाय धीमहि तन्नो गोरक्षः प्रचोदयात् ।”
यो मन्त्रको शक्तिसँगै उसले स्वस्तिक चिन्ह हातमा लियो। उसले आफ्नो मनले खाएको, परिवर्तनको वास्तविक बाहक लागेको जोशिलो उम्मेदवारको चिन्हमा झ्याप्प मत छाप लगायो। त्यो छाप लगाउँदा उसलाई महसुस भयो, ऊ केवल एउटा चिन्हमा छाप लगाइरहेको छैन, ऊ त आफ्नो ‘Spiritual Evolution’ को एउटा नयाँ अध्यायमा हस्ताक्षर गर्दैछ। मतदान गरिसकेपछि उसले मतपत्रलाई अत्यन्तै सम्मानका साथ बिस्तारै पट्यायो। उसले त्यो कागजलाई ढोग्यो, यो ढोग कुनै व्यक्ति वा दललाई थिएन, यो त लोकतन्त्रको त्यो सुन्दर सम्भावना र परमात्माको त्यो न्यायपूर्ण व्यवस्थाप्रतिको श्रद्धा थियो। उसले परमात्माप्रति अगाध कृतज्ञता प्रकट गर्दै मौन पुकार गर्यो, “हे ब्रह्माण्डीय ऊर्जा ! यो देशको कल्याणहोस्।हामीलाई विभेदबाट एकता तिर, अन्धकारबाट ज्योति तिर र अभावबाट अनन्त सम्भावन तर्फ लैजाऊ।” निशान्तले त्यो पट्याइएको मतपत्रलाई बाकसभित्र खसालिदियो। बाकसमा कागज खस्दाको त्यो सानो आवाज उसको कानमा एउटा मधुर संगीत जस्तै सुनियो। मतदान केन्द्रबाट बाहिर निस्कँदै गर्दा निशान्तले आकाशतिर हेर्यो। घामको झुल्को उस्तै थियो, तर उसलाई संसार फेरिएको जस्तो लाग्यो। उसले बुझ्यो बाहिरको संसार तब मात्र फेरिन्छ जब भित्रको ‘म’ फेरिन्छ। उसको गोजी अझै रित्तै थियो, हातमा केही थिएन तर उसको हृदय एउटा महान् उद्देश्यले भरिएको थियो। उसले फेरि मुस्कुराउँदै सम्झियो “केही नहुनु भनेको सम्भावनै सम्भावना हुनु पनि हो।” आज निशान्त साच्चै नै ‘शान्त’ भएको थियो एउटा यस्तो बिन्दु जहाँ रात सकिएर उज्यालोको अनन्त यात्रा सुरु भएको थियो।


