एउटा रहस्यमयी कुरा जसमा हाम्रो सारा अस्तित्व टिकेको छ। जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो, तर पनि विरलै त्यसमा ध्यान पुग्छ र विरलै त्यसप्रति अहोभाव महसुस हुन्छ।
जीवनको चाबी सास सँग छ नै, हाम्रो मानसिक र भावनात्मक अवस्थाको चाबी पनि सास सँग नै छ। विचार र भाव अनुसार हाम्रो सासको प्रकृति फरक-फरक हुन्छ, जस्तै रिस, डर र प्रेममा यी तीन अवस्थामा सासको प्रकृति फरक-फरक हुन्छ। यदि विभिन्न अवस्थाहरूमा सासप्रति ध्यान पुर्याउन सक्यौँ भने, बेहोसीमा हुने प्रतिक्रियाहरूमा नियन्त्रण पाउन सकिने रहेछ र सासको प्रकृति परिवर्तन गरेर मानसिक र भावनात्मक अवस्थाप्रति पकड पनि पाउन सकिने रहेछ।
हाम्रो समग्र जीवनको रहस्य नै सासमा लुकेको रहेछ, त्यसकारण सासप्रति ध्यान पुर्याउँदा व्यावहारिक जीवनमा मात्र होइन परमार्थको यात्रामा पनि प्रगति गर्न सकिने रहेछ।
