म पहिलो पटक हनुमान चालिसा सुन्दा भएको अनुभव सम्झन्छु । म त्यो समय सायद दस एघार बर्षको हाराहारीमा थिए । म सम्झन्छु मलाई एक जना साथीले आफुलाई कण्ठ भए जति सुनाएको थियो । शब्दहरु अस्पस्ट र क्रम नमिलेको भए पनि त्यो सुन्दा मेरो शरिर भरी झङ्कारको प्रवाह भयो । त्यो मेरो सायद याद भए अनुसार पहिलो झन्कार थियो । लय र शब्द पनि सरल भएको हुनाले अलि-अलि त एक चोटि सुन्दै कण्ठ भएछ । धेरै नबुझे पनि हनुमानको कथा हो भन्ने त मैले थाहा पाए । त्यो भन्दा अगाडि मैले रामायण टेलिभिजनमा हेरि सकेको थिए । त्यसैले मैले त्यो केहि केही त बुझे । यद्यपि हनुमान चालिसा मैले त्यो भन्दा अगाडि कहिल्यै सुनेको थिईन । मलाई हनुमान चालिसा यति मन पर्यो कि मैले उसलाई त्यो किताब मागे सार्छु र फिर्ता गरीदिन्छु भन्ने मनसायले तर अल्छीपनाले त्यो सार्न भने सारिन बरु किताब नै पच हानिदिए । कण्ठ पनि आधाउधी गरे । त्यस पछि त्यो लामो समय थन्किएर बस्यो । त्यो किताब म सँग केही बर्ष अगाडि सम्म पनि थियो । सायद यो नै हो मैले सुरुमा कसैको केही पच हानेको कुरा , त्यो किताबबाट त कण्ठ गरिएन तर अहिले भने सुन्दा सुन्दै लगभग सबै कण्ठ भएछ । अहिले त्यो सम्झिएर रमाईलो लाग्यो ।
