Steve Jobs, यो नाम उच्चारण गर्दा नै आँखा अगाडि आधुनिक संसारको एउटा चम्किलो क्षितिज उभिन्छ ठिङ्ग । एप्पल, आइफोन, आइप्याड, प्रविधिको सौन्दर्य, डिजाइनको शुद्धता, नवप्रवर्तनको साहस यी सबै उनको जीवनसँग गाँसिएका सत्य तथ्यहरू हुन् तर यी चम्किला उपलब्धिहरूको भित्री तहमा एउटा गहिरो, संवेदनशील र क्रमशः रूपान्तरित हुँदै गएको आत्माको कथा लुकेको छ जहाँ सुख खोज्दा खोज्दै थाकेको मन अन्ततः सन्तुष्टिको शरणमा पुग्छ। उनको जीवनको प्रारम्भिक यात्रा महत्वाकांक्षाको तीव्र ज्वालामा दन्किएको थियो। उनी केवल सफल हुन चाहँदैनथे, उनी पूर्णता खोजिरहेका थिए। संसारले जसलाई सुखको प्रतीक मान्छ धन, प्रतिष्ठा, प्रशंसा, शक्ति, सिर्जनात्मक प्रभाव ती सबै वस्तुहरू उनको जीवनमा क्रमशः संकलित हुँदै गए तर ती सबै प्राप्तिहरू, जुन बाहिरबाट अमृतजस्तै देखिन्थे, भित्र पुग्दा क्रमशः नुनिलो समुद्रझैँ तिर्खा बढाउने बने। हरेक नयाँ उपलब्धिले क्षणिक तृप्ति दियो तर त्यो तृप्ति दीर्घकालीन शान्तिमा परिणत हुन सकेन। सुख आयो तर टिकेन। मुस्कान आयो तर मौन दुःखसँगै। उनले स्वयं स्वीकार गरेका थिए कि सफलता र बाह्य उपलब्धिहरूले जीवनलाई अर्थपूर्ण बनाउँछन् भन्ने धारणा अन्ततः अपूर्ण र भ्रमपूर्ण हुन्छ। यही बोध उनको जीवनको मध्य चरणतिर स्पष्ट हुन थाल्यो विशेषतः जब उनलाई जीवनघातक रोग, क्यान्सर देखियो। त्यो क्षणले कुनै चिकित्सकीय सूचना मात्र लिएर आएन बरु एकाएक एउटा आध्यात्मिक भूकम्प जस्तो बनेर आयो जहाँ बाहिरी संरचनाहरू चर्किन थाले र भित्री आत्मा पहिलो पटक नाङ्गो रूपमा उभिन बाध्य भयो। धन, पद, प्रतिष्ठा, प्रभाव यी सबै मृत्युको सामु निष्प्रभ भए। उनले बुझ्न थाले जीवनको अन्तिम सत्यसँग सामना गर्दा कुनै पनि भौतिक उपलब्धिले शान्ति दिन सक्दैन। यहाँबाट उनको सोच, भावना र दृष्टिकोणमा क्रमिक तर गहिरो परिवर्तन सुरु भयो।
पहिलो चरणमा उनले भय र अस्वीकारको अनुभव गरे मृत्युको डर, अपूरो कामको चिन्ता, छुट्ने सम्बन्धहरूको पीडा तर त्यो डर क्रमशः मौन चिन्तनमा रूपान्तरित भयो। मौनले उनलाई प्रश्न गरायो “मैले जीवनभर के खोजिरहेँ?” यही प्रश्नबाट एउटा सूक्ष्म तर निर्णायक बोध उदायो “सुख बाह्य उपलब्धिमा होइन, आन्तरिक सन्तुलनमा अवस्थित हुन्छ।” यो बोध कुनै अचानक आउने प्रकाश थिएन, बरु अनुभूतिको दीर्घ प्रक्रियाबाट प्रसूत भएको चेतनाको निस्सन्देह सत्य थियो। उनले बुझ्न थाले सुख वस्तु हो, सन्तुष्टि अवस्था हो। वस्तु प्राप्त हुँदा सुख मिल्छ तर अवस्था स्थिर हुँदा मात्र शान्ति मिल्छ। यहीँबाट उनको जीवनको दिशा विस्तारै विस्तारै बदलिन थाल्यो। उनको जीवन सरलताको दिशातर्फ फर्किन थाल्यो तर यो सरलता त्यागको नाममा होइन, स्पष्टताको नाममा थियो। उनी अझै काम गर्थे, अझै सिर्जना गर्थे, अझै नेतृत्व गर्थे तर अब ती सबै कर्महरू कुनै आन्तरिक रिक्तता पूर्ति गर्नका लागि होइन, बरु जीवनप्रतिको गहिरो कृतज्ञता अभिव्यक्त गर्नका लागि हुन थाले। उनका सम्बन्धहरू पनि रूपान्तरित भए। पहिले जहाँ सम्बन्ध उपयोगिता र परिणामसँग गाँसिन्थे, अब त्यहाँ सान्निध्य, सहानुभूति र भावनात्मक उपस्थितिको सुगन्ध फैलिन थाल्यो। उनी आफ्नो परिवारप्रति अझ गहिरो रूपमा सचेत बने। पत्नी, सन्तान र नजिकका व्यक्तिहरूसँग बिताएको समय उनलाई जीवनको सबैभन्दा मौलिक सम्पत्ति जस्तो अनुभूत हुन थाल्यो। उनले स्वयं स्वीकार गरेका थिए मृत्युसँग साक्षात्कार भएपछि मात्र मानिसले साँच्चै बुझ्छ कि प्रेम, सम्बन्ध र भित्री शान्ति बाहेक अरू केही पनि अन्ततः साथ जाँदैन।
त्यसो त Steve Jobs मा संगीत, कला, साहित्य र प्रकृति प्रति गहिरो आकर्षण, लगाव र व्यवहारिक अभ्यास पनि थियो । उनलाई विशेषगरी Bob Dylan र The Beatles मन पर्थे। उनले पटक पटक Bob Dylan लाई “मेरो नायक” भनेर उल्लेख गरेका छन्। संगीतलाई उनी केवल मनोरञ्जन होइन, आत्माको भाषा मान्थे। यही कारण iPod र iTunes जस्ता उत्पादनहरू सिर्जना गर्दा उनले “1,000 songs in your pocket” भन्ने भावनात्मक अवधारणा अघि सारे, यो केवल प्रविधि होइन, संगीतप्रतिको प्रेमको प्रतिफल थियो। उनको जीवनको केन्द्रीय धागो नै कला र सौन्दर्य चेतना थियो।उनले Apple उत्पादनहरूमा “Function मात्र होइन, form पनि पवित्र हुनुपर्छ” भन्ने दर्शन लागू गरे। उनले कला, typography (अक्षरकला), architecture, industrial design सबैलाई प्रविधिसँग जोड्ने काम गरे। उनले Reed College मा पढ्दा calligraphy को कक्षा लिए त्यो कुनै करियर आवश्यकता थिएन, केवल सौन्दर्यप्रतिको आकर्षण थियो तर पछि यही अनुभव Macintosh कम्प्युटरमा सुन्दर fonts र typography ल्याउने आधार बन्यो। यो तथ्य उनले Stanford Commencement Speech (2005) मा स्वयं बताएका छन्। उनलाई पश्चिमी मात्र होइन, पूर्वीय दर्शन पनि गहिरो रूपमा आकर्षित गर्थ्यो। उनले युवावस्थामा Autobiography of a Yogi (Paramahansa Yogananda) पढे र जीवनभर त्यही पुस्तक दोहोर्याएर पढे। यो पुस्तक उनले आफ्नो अन्त्येष्टि समारोहमा पनि उपस्थित सबैलाई उपहार स्वरूप दिन निर्देशन दिएका थिए। उनलाई प्रकृतिप्रति विशेष आकर्षण थियो। युवावस्थामा उनी भारतसम्म आए, ध्यान, मौन, र सरल जीवनशैलीतर्फ आकर्षित भए। उनी शाकाहारी थिए र समय समयमा उपवास, मौन अभ्यास तथा सरल जीवनशैली अपनाउँथे। उनको जीवनशैलीमा विलासभन्दा सरलता प्रमुख थियो कालो टर्टलनेक, जिन्स, स्निकर्स यो कुनै ब्रान्ड प्रदर्शन होइन, चेतनाको स्पष्टता थियो।
उनको जीवनको उत्तरार्द्ध चरणमा एउटा अद्भुत मानसिक रूपान्तरण स्पष्ट देखिन्छ सुख खोज्ने मानिस सन्तुष्टिमा बस्न सिकिरहेको आत्मामा रूपान्तरित भएको थियो। उनले बाहिरी संसारलाई जितिसकेका थिए, अब उनी भित्री संसारसँग मैत्री गर्न थाले। यही कारण उनले मृत्युबारे भनेको सत्य वाक्य अत्यन्त गहिरो अर्थ बोकेको छ “मृत्यु नै जीवनको सबैभन्दा ठूलो आविष्कार हो।” यो वाक्य मृत्युको महिमा होइन, जीवनको प्राथमिकता पुनर्संरचना गर्ने चेतनाको उद्घोष हो। यस वाक्यमा जीवनको एउटा मौलिक सत्य समेटिएको छ, मृत्युको निश्चितताले नै जीवनलाई अर्थपूर्ण बनाउँछ र त्यही अर्थपूर्णताको खोजमा मानिसले सन्तुष्टिको मार्ग अपनाउन सिक्छ। सुख अनिश्चित हुन्छ, परिस्थितिमा निर्भर हुन्छ तर सन्तुष्टि चेतनामा आधारित हुन्छ। सुख परिवर्तनशील छ, सन्तुष्टि स्थिर छ। सुख परिस्थिति बदलिँदा हराउँछ, सन्तुष्टि परिस्थितिलाई स्वीकार गर्ने सामर्थ्यबाट जन्मिन्छ।
प्रारम्भमा उनी संसार जित्न दौडिए, मध्य चरणमा संसारको सीमितता बुझ्न थाले, र अन्ततः आफूभित्रको शान्ति भेट्टाए। उनको जीवनको प्रारम्भिक दृश्य एउटा विशाल बजार जस्तो थियो जहाँ हरेक वस्तु सुखको नाममा किनिन्थ्यो, बेचिन्थ्यो र हरेक सफलता नयाँ चाहनाको बीउ रोप्थ्यो तर उनको जीवनको अन्तिम दृश्य एउटा शान्त उपवन जस्तो बन्यो जहाँ कुनै वस्तु थिएन तर आत्मा थियो जहाँ कुनै प्रदर्शन थिएन तर उपस्थितिको गहिरो अनुभूति थियो। मतलव सुख होइन सन्तुष्टिको स्वाद थियो । त्यसैले उनको अन्तिम सासको अजपा “Oh wow. Oh wow. Oh wow” गरेर सक्कियो ।


