जुनतारालाई पालो दिन हो कि घामले हतारिँदै चपौलीका डाँडामुनि लुक्न खोज्यो, बिस्तारै साँझ ढल्दै थियो। कोठामा बलेको एउटा सानो दियोको मधुरो प्रकाशमा अगरबत्तीको धुवाँ कुण्डलाकार आकृति बनाउँदै माथितिर उक्लिरहेको थियो। त्यो धुवाँलाई हेरिरहँदा मलाई अचानक महसुस भयो, हाम्रो जीवनको उर्जा पनि ठ्याक्कै यस्तै त होला। यदि यसले संयम र नियमको एउटा निश्चित दिशा पायो भने यो उर्ध्वगामी भएर आकाशतर्फ सुगन्ध छर्दै उक्लन्छ होला, नत्र एउटा कुनामा कुहिरो बनेर अलमलिइरहन्छ होला।
मैले सुनेका गुरुवाणी र पढेका पानाहरूले सधैँ भन्थे, “अनुशासन कडा हुनुपर्छ तर हृदय नरम।” म आफैँभित्रको जडता नियाल्दै थिएँ। मेरो ‘म’ भावको पहाड जबसम्म पग्लिँदैन, तबसम्म त्यो भित्रि उर्जा ‘काम’ को धरातलबाट ‘राम’ को शिखरसम्म कसरी पुग्ला र ? ऊर्जालाई माथि चढाउनु भनेको कुनै युद्ध जित्नु होइन, बरु आफैँलाई पराजित गर्दै अहंकारको बोझ बिसाउनु रहेछ।
कहिलेकाहीँ मनमा ‘ऐं’ को मधुर झंकार गुन्जिन्छ, जसले मेरो बुद्धिको खिया पखालिदिए झैँ लाग्छ। कहिले ‘ह्रीं’ को गुन्जनले हृदयको साँघुरो घेरालाई ‘छिन्नमस्ता भगवती’ को विशालतामा मिसाइदिन्छ। ‘श्रीं’ र ‘क्लीं’ का ध्वनिहरूमा कता कता महालक्ष्मीको समृद्धता र कृष्णको माधुर्यता मिसिएको आभास हुन्छ। ‘हं’ र ‘गं’ भन्दै जाँदा लाग्छ, भित्र कतै हनुमानजीको जस्तो समर्पण र गणेशको जस्तो स्थिरताको बीउ अंकुराउँदै छ।
त्यो साँझ मेरो अगाडि एउटा यस्तो दृश्य थियो, जसले मलाई उपदेशभन्दा गहिरो ‘बोध’ दियो। मेरी छोरी भावना र छोरो नुवेश तीनका नाम जस्तै कोमल र निष्कपट देखिन्थे। उनिहरु साधनाको एउटा यस्तो मौन लयमा थिए जहाँ तर्कका सबै ढोकाहरू बन्द थिए। भावनाको हातमा रक्त चन्दनको जप माला थियो र नुवेशको हातमा ५ मुखी रुद्राक्ष को माला। मैले निकैबेर तिनलाई टोलाएर हेरिरहेँ। तिनले आफ्नो चोरी औँला (जसलाई शास्त्रले अहंकारको प्रतीक मान्छ) ले मालालाई सकेसम्म नछोओस् झैँ गरी खुम्च्याएका थिए। तिनका बुढि औँलाले माझी औँलाको माथिल्लो पट्टि रहेका मालाका दानाहरूलाई बिस्तारै स्पर्श गर्दै सार्दै थियो। हरेक दानासँगै तीनका ओठबाट एउटा मन्द ध्वनि निस्कन्थ्यो, “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे”। तिनको त्यो विधिमा कुनै आडम्बर थिएन, मात्र एउटा गहिरो समर्पण थियो। तिनले माला सारेको देख्दा लाग्थ्यो, तिनले केवल दानाहरू सारिरहेका छैनन्, बरु आफ्नो चेतनाका तहहरूलाई एक-एक गर्दै पार गर्दैछन्। तिनको त्यो हृदयात्मक एकाग्रता देख्दा मलाई अनुपम स्वामीले गाउनुभएको छिन्नमस्ता भगवतीको त्यो भजनको याद आयो जहाँ उहाँको स्वरमा जुन आर्तनाद र समर्पण हुन्छ, ठ्याक्कै त्यही भाव तिनिहरुको अनुहारमा छल्किरहेको थियो।
छिन्नमस्ता जसले आफ्नो शिर काटेर अहंकारको अन्त्य गरिन् र आफ्नै रगतले सहचरीहरूको तिर्खा मेटाइन्। त्यो प्रतीक कति गहिरो छ! जब हामी आफ्ना हजारौँ विचारका शिरहरूलाई ‘अनुशासन’ को खड्गले काट्छौँ, तब मात्र त्यो भित्रि अमृत (उर्जा) उर्ध्वगामी भएर सहस्रारसम्म पुग्छ। अनुपम स्वामीका गीतहरूले भने झैँ, त्यो अवस्थामा पुग्न ‘अजपा जाप’ को त्यो मौन संगीतमा हराउनै पर्ने रहेछ, जहाँ श्वास आफैँ मन्त्र बन्छ।
केटाकेटीले मालाका दानाहरू सार्दै गर्दा ति बिस्तारै ‘हृदयात्मक आयामहरू’ मा विलीन हुँदै गएको मैले स्पष्ट देख्न सक्थेँ। तिनका बालसुलभता , शान्त मुद्राले मलाई सिकाइरहेको थियो कि दुर्गा, काली, गायत्री, छिन्नमस्ता वा तलेजु भवानीको शक्ति कतै बाहिर छैन, त्यो त नियमको परिधिभित्रको संयमित हृदयमा लुकेको छ।
मैले बुझेँ साधना भनेको ठूला कुरा गर्नु होइन, बरु भावना र नुवेशले झैँ अहंकारको औँलालाई खुम्च्याएर, बीज मन्त्रको डुङ्गा चढी हृदयको अगाध समुद्रमा हाम फाल्नु रहेछ। जब उर्जा उर्ध्वगामी हुन्छ, तब संसार एउटा उत्सव बन्छ, र हरेक कर्म एउटा शान्त प्रार्थना।


