सानो छँदा मेरो जीवनको परिभाषा निकै सरल थियो, “जित्नु”। फुटबल खेल्दा विपक्षीलाई जित्नु, धेरै गोल हान्नु, उनीहरूलाई गोल हान्न नदिनु। कक्षामा अरूभन्दा बढी marks ल्याउनु, राम्रो position लिनु। ठूलो भएपछि धेरै पैसा कमाउनु, राम्रो post को जागिर खानु, समाजमा मान-सम्मान पाउनु, राम्री केटीसँग बिहे गर्नु, एक एक वटा राम्रा र स्वस्थ छोरा र छोरी जन्माउनु , बिना कडा परिश्रम नै सुख सयल, विलाशी जीवन विताउन पाउनु यिनै थिए मेरा बाल्यकालदेखि युवावस्थासम्मका सपनाहरू। त्यो बेला मलाई लाग्थ्यो सफलता भनेको अरूभन्दा अगाडि हुनु हो। माथि पुग्नु हो। थप पाउनु हो। तर समयले मलाई थोरै थोरै त्यही बाटो हुँदै हिंडाउँदै लग्यो, र अन्ततः त्यही बाटोले मलाई थकाइमा पुर्यायो। जित्दै जित्दै, कमाउँदै कमाउँदै, म भित्र कतै हार्दै गइरहेको रहेछु, आफ्नै शान्ति, आफ्नै सन्तुलन, आफ्नै सरलता।
उपनिषद भन्छ, “असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय।” (असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरत्वतर्फ लैजाऊ।) त्यो बेला मलाई लाग्थ्यो, यो मन्त्र कुनै धर्मग्रन्थको काल्पनिक कविता मात्र हो तर आज बुझ्दैछु, यो त जीवनको नै दिशासूचक रहेछ। जब सही आध्यात्मिक अभ्यास, साधना पद्धति र गुरु भेटिए र अलि अलि आफ्नै मन, आफ्नै चेतना र जगतलाई हेर्ने दृष्टिकोण बदलिन थाल्यो, त्यसपछि मात्र थाहा हुन थाल्यो । म जसलाई सफलता ठान्दै आएको थिएँ, त्यो त समय र स्थानमा सीमित, क्षयमा जाने वस्तु मात्र रहेछ।
गीता भन्छ, “न कर्मणामनारम्भान्नैष्कर्म्यं पुरुषोश्नुते।” (कर्म नगरेर मानिस सिद्धिमा पुग्दैन।) र यही गीता फेरि भन्छ, “योगः कर्मसु कौशलम्।” (योग भनेको कर्ममा कुशलता हो।) यहाँको कुशलता बाहिरको मात्र होइन भित्रको जागरणसँग जोडिएको कुशलता हो। विस्तारै विस्तारै, थोरै थोरै केहि न केहि भएपनि बुझ्न थालेँ, ध्यानमा नियन्त्रण हुनु नै सफलताको मुख्य सूत्र रहेछ। ध्यानले कार्यकुशलता दिन्छ, कार्यकुशलताले जीवनलाई सन्तुलन दिन्छ र सन्तुलनले मनलाई शान्ति दिन्छ।
म पहिले सुख खोज्थें, सुख सुविधा, सुख सामग्री, सुख प्रशंसा। तर समयसँगै बुझ्दै गएँ, सुखभन्दा सन्तुष्टि ठूलो रहेछ। सुख क्षण हो, सन्तुष्टि अवस्था हो। संयम, नियम र अनुशासनलाई मैले पहिले बाध्यता ठानेको थिएँ तर आज बुझ्दैछु, यिनैले ऊर्जालाई उर्ध्वगामी बनाउँछन्। उपनिषद भन्छ, “ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्।” (यो संसारलाई उल्टो रुखजस्तो भनिएको छ – जरा माथि, हाँगा तल।) ऊर्जालाई तल होइन, माथि फर्काउनु नै आध्यात्मिक विज्ञान हो। वैज्ञानिक दृष्टिले हेर्दा पनि यही कुरा देखिन्छ।थोमस अल्वा एडिसनले हजारौँ पटक असफल हुँदा पनि हार मानेनन्। उनले भने “I have not failed. I’ve just found 10,000 ways that won’t work.” उनको सफलता कुनै एक दिनको उपलब्धि होइन, निरन्तर ध्यान, प्रयास र धैर्यको परिणाम थियो। न्युटनले रूखबाट झरेको स्याउलाई केवल फलको रूपमा हेरेनन्, त्यसमा ब्रह्माण्डको नियम देखे। आइन्स्टाइनले समय र स्थानलाई घडी र मापनको सीमाबाट मुक्त गरेर चेतनाको नयाँ आयाम खोले। एलन मस्कले आज पनि असम्भव देखिने सपना देखेर मानव चेतनालाई अन्तरिक्षसम्म विस्तार गर्दैछन्। यी सबैको जीवनमा एउटै साझा तत्व देखिन्छ: गहिरो ध्यान, निरन्तरता, र सृजनात्मक अवस्था।सृजनात्मक प्रक्रियाको लागि ध्यानको अवस्था अनिवार्य हुन्छ। जहाँ मन शान्त हुन्छ, त्यहाँ विचार गहिरो हुन्छ र त्यहाँबाट नयाँ अवस्था जन्मिन्छ। सिक्ने काम कहिलेकाहीँ पीडादायक लाग्छ। तर त्यो पीडादायक होइन बरु हाम्रो कुनै भाग अल्छी भएको हो। सन्त कबीरले भनेझैँ, “धीरे धीरे रे मना, धीरे सब कुछ होय।” धैर्य नै शिक्षाको गर्भ हो। असारमा वर्षा जस्तै, अद्भुत कुराहरू व्यक्तिहरूको सहकार्यले सृजना भएका हुन्। तर ती वर्षाहरूको बीउ पहिले बादलभित्र, पहिले आकाशभित्र, पहिले मौनभित्र तयार हुन्छन्। गहिरा कामहरू एकान्तमा हुन्छन्। जस्तो कि बीऊ एकान्तमा अंकुरित हुन्छ, जरा हाल्छ, शिर उठाउँछ, चुपचाप, कसैलाई नदेखाई।
सन्त रमण महर्षि भन्थे, मौन नै सर्वोच्च उपदेश हो। कहिलेकाहीँ केही नहुनु भनेको खाली हुनु होइन बरु त्यो सम्भावनै सम्भावना हुनु पनि हो।
उपनिषद भन्छ, “पूर्णमदः पूर्णमिदं।” (त्यो पनि पूर्ण, यो पनि पूर्ण।) खालीपनभित्र नै पूर्णताको बीज लुकेको हुन्छ।
अन्ततः जीवनले मलाई यो बिन्दुमा ल्यायो, जहाँ म भन्न सक्छु – सफलता भनेको बाहिरको जित होइन, भित्रको जागरण हो। सफलता भनेको धन, पद, सम्मान, सुविधा होइन, सफलता भनेको चेतनाको विस्तार र unconditional love हो। जब प्रेम शर्तविहीन हुन्छ, त्यसमा कुनै अपेक्षा हुँदैन, कुनै डर हुँदैन, कुनै लोभ हुँदैन, त्यो प्रेम नै मुक्तिको सुगन्ध हो। आज म फर्केर हेर्दा आफ्नो बाल्यकालको फुटबल, कक्षाको प्रतिस्पर्धा, जागिर, पद, सम्मान, परिवार यी सबैलाई नकार्दिनँ। यी सबै जीवनका पाठ थिए तर अब बुझ्दैछु, यी सबै पाठको सार यही थियो कि म बाहिर खोज्दै आएको कुरा भित्र नै रहेछ र यही बोध नै मेरो जीवनको साँचो सफलताको दृष्टि बनेको छ।
(Notes from Morning Healing Sessions by अनुपम, पल्टाएर मनन गर्दा)

