मलाई बगैंचामा खेल्न, हेरिरहन, बिरुवालाई पानी हाल्न, गोडमेल गर्न एकदम रमाइलो लाग्छ। हाम्रो घरको कम्पाउन्ड भित्रै सानो बगैंचा छ। त्यहाँ थुप्रै किसिमका फूल, साग, तरकारी र अनेक जरिबुटी जन्य बोटबिरुवाहरु छन्। बिहानै जब म ब्यूँझन्छु, सबैभन्दा पहिले म बगैंचामा जान्छु।
गुलाव, हिविस्कस्, पारिजात लगायतका अनेक फूलहरू मुस्कुराइरहेका हुन्छन्। म तिनीहरूलाई “शुभ प्रभात !” भन्छु।
बगैंचामा फर्सीको मुन्टा यताउता फैलिरहेका छन्। सिमीका लहरा थाङ्ग्रा चढ्दै छन्। हामीले लगाएको ठडियाको साग हरियो र ताजै देखिन्छ। घ्यूकुमारीको बिरुवामा पानी झर्दा त्यसका पात टल्किन्छन्। त्यहाँ बुद्धचित्त र रुद्राक्षका बोट पनि छन्। ती बोटहरू मलाई केही गम्भीर र ध्यानमग्नजस्ता लाग्छन् । तीनले “ आऊ ! शान्त रहु, छेउमै बस।” भनिरहेका जस्तो लाग्छ।
बोझोको बिरुवा सुँघ्दा नाकै सुगन्धित हुन्छ। उखुको बोटमा छोएर हेर्दा लाग्छ, भित्र मिठास लुकेको छ। म ती सबै बिरुवाहरूलाई पानी हाल्दछु र माया गर्छु।
बाबाले भनेजस्तै, ती बोटबिरुवाहरुका लागि हामी अर्गानिक मल प्रयोग गर्छौं । त्यसैले बिरुवाहरू खुसी देखिन्छन्।
मलाई लाग्छ, मेरो सानो बगैंचा पनि मसँग कुरा गर्छ। जब म माया गर्छु, उसले हरियाली फिँजाएर जवाफ दिन्छ। यही बगैंचाले मलाई सिकाएको छ, माया गर, आउने गर, अनि प्रकृतिसँग साथी बन।


