फेवा ! …
तिमी आज जल हौ कि आँखाको प्राचीन स्वप्न?
सुनौलो छालमा थरथराउँदै
कुन छाया झरेको हो,
संसार बिर्सन खोज्दा सम्झना भएर?
सूर्य त डुबेको मात्र होइन,
शायद उ
सम्झनाहरूको थानमा विलिन भएको छ
त्यो अव्यक्त प्रण भएर,
जहाँ कुनै दिन प्रेमले भाषा गुमाउँछ
र मौन कविता बनिन्छ।
यी वरिपरि पहाडहरू
साक्षी मात्र होइनन्,
गवाही हुन् एउटा नबोलेको समर्पणको
जहाँ उकालोहरू
कहिल्यै नबुझेका अध्याय हुन्
र ओरालोहरू
संयमले उनेका प्रतीक्षा।
फेवा !
तिमी जल मात्र हैन,
एक अस्तित्व हौ
जहाँ प्रत्येक छाल
कसैको विस्मृत चेतनालाई चलाउँछ
र प्रत्येक चमक
कसैको मौन प्रार्थनालाई टल्काउँछ।
साँझको सुनौलो दीप,
तिमी त केवल प्रकाश होइनौ
एउटा गहिरो संवाद हौ,
जल र आकाशबीचको पुरानो गोप्य सन्धि,
जहाँ सूर्य हरेक साँझ
मृत्युको अभिनय गरेर
पुनर्जन्मको कथा लेख्छ।
त्यो सूर्य किरण,
जो तिमीमा झरेको छ
त्यो म होइन र?
मेरो अधुरो उत्तर,
तिमीले पढ्न नसकेको चिठी
वा त्यो गीत
जसको धुन हराउँदा पनि
अन्तिम हरफ बाँचिरहन्छ ?
फेवातालको अनुहार
नदी होइन आज,
यो त एउटा दीप हो
जलमा निभ्न नमान्ने।
जुनकिरी झैँ पिंजडामा कैद नभई
साक्षात् अस्तित्व बनेको।
गोधुलीको रङ्ग
यो रङ्ग होइन,
एक अन्तर्वार्ताको जामुन रस हो,
जहाँ सूर्य र जलले
एक अर्कालाई नाम बिना चिनेका छन्।
सोध न फेवा !
म किन हेरिरहेछु तिमीलाई यति लामो?
शायद
तिमी मेरो भित्रको प्रतिबिम्ब हौ
र म…
अझै पनि तिमीलाई आफ्नै आँखाले देख्न सिक्दैछु।
किनकि तिमी…
साँच्चै तिमी हौ त्यो मौन प्रतिक्षा ।
जसले मेरो अन्तरतमको व्रत लिएको छ,
अनि म…
तिमीभित्र
आफ्नै हराएको सूर्य खोजिरहेछु।

