मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु


एउटा नदी जस्तो बगेको हुँ
तर अहिले बाँध होइन,
पुल बनाउँदैछु
जुन पुलमा
उसका पाइलाहरूले
कुनै भेद नगरी
सारा पृथ्वी चुम्न सकून।


मेरो कविता होइन,
कविता भित्रको मौन भावना हो
म उसलाई अक्षर होइन
अर्थ सिकाउँदैछु,
जसले युद्ध होइन,
संवाद जन्माउँछ।

उसको आँखामा
म आकाश छरिरहेको छु
तर तारा होइन,
चेतनाका बिन्दुहरू
जसले सीमाहीन उज्यालो देख्न सकून।


नारी हो
तर म उसलाई ‘नारी’ बनाइरहेको छैन,
म उसलाई ‘पूर्ण’ बनाउँदैछु,
जहाँ कुनै विशेषण आवश्यक छैन।

उसको बोलीमा
गजलको लय होस्,
उसको हिँडाइमा
कविता बगोस,
तर म चाहन्छु
उसको स्पर्शमा दर्शन होस्,
र हृदयमा क्रान्ति।

म उसलाई
पाठ्यपुस्तक होइन,
पीडाको ऐतिहासिक सन्देश दिइरहेको छु
ताकि ऊ
विगतका आँसुहरूलाई
भविष्यका दीपमा परिवर्तन गर्न सकोस्।


मेरो रक्त होइन
मेरो पुनर्जन्म हो।

मात्र सन्तान होइन
सपना हो,
जसले मेरो अधूरो आकाश
पूरा गरिरहेकी छ।

म उसलाई
एक धर्म बनाउँदैछु
प्रेमको।
एक राष्ट्र बनाउँदैछु
करुणाको।
एक आन्दोलन बनाउँदैछु
मानवताको।

हो
म मेरी छोरीलाई नयाँ एकता बनाउँदैछु,
जहाँ सबै टुक्रा, सबै पीडा, सबै भेदहरू
ऊसँगै
एक स्वर, एक रंग, एक मन बनुन्।
जसले सबै तोडिएका टुक्राहरूलाई
फेरि एक बनाउँछ
जसले मलाई भित्र एक
बन्न सिकाउँदैछ
हो म मेरी छोरीलाई त्यही नयाँ
“एकता” बनाउँदैछु…❣️

बिर्सिन गारो भो, साथी!

बिर्सिन खोज्दा, मनले बनायो एक चित्र
न ओठले बोलेको, न आँखाले देखिएको,
तर आत्माले खिचेको त्यो रंगीन फेहरिस्त,
जहाँ तिमी थियौ, एक धून जस्तो,
गुनगुनिए पनि, नथाकिने आफ्नो पन जस्तो।
बिर्सिन गारो भो साथी!

फूल हराएको छैन, तर
त्यो एउटै गन्ध कताकता हरायो।
रात आउँछ, तर
तिम्रो सपना नै आउँदैन…
आकाश निलो नै छ,
तर तिमी सँगै हेरिएको त्यो बादल अब छेलिएको छ ।
बिर्सिन गारो भो साथी!

हावा चलिरहेछ अझै पनि
तर तिमीले छोडेको सासको लय छैन।
छायाँ आइरहेछन् मेरै पछि
तर तिमीले फर्किएको त्यो अन्तिम नजर… त्यो छैन।
बिर्सिन गारो भो साथी!

तिमी नाम होइनौ,
तिमी त एउटा ‘मौनता’ हौ
म भित्रको, म बाहिरको।
तिमी सम्झना होइनौ,
तिमी त एउटा ‘स्मृति-पूर्व आवाज’ हौ
जसलाई न सुन्न सकिन्छ, न भुल्न
मात्र ईन्द्रिय बिहिन लम्किएर महसुस गर्न।
बिर्सिन गारो भो साथी!

समय अगाडि बढ्छ,
तर तिमी, तिमी त ‘अघिल्लो क्षण’मा जिउँदै छौ,
शरीरले हैन, श्वासले
भावनाले हैन, आत्माले
तृष्णाले हैन, अन्कन्डिस्नल प्रेमले ।
बिर्सिन गारो भो साथी!

म झुक्न तयार छु, साथी!

सहरको एकान्त छेउ, पुरानो अशोक रुखमुनि दुई छायाँहरू प्रायः चुपचाप भेटिन्थे। तिनीहरू न प्रेमी थिए, न साधारण मित्र। उनीहरू सम्बन्धको त्यो तहमा थिए जहाँ शब्दहरू बोझिलो लाग्थे र मौनता नै सबैभन्दा साँचो संवाद थियो।
हुँदाखेरि पनि गन्थनमा उनिहरुका कुरा हुन्नथे
खोइ कुन्नि अर्कै तेस्रो छायाँको
जसले ती छायाँलाई भेटाइदिएको थियो
अन्कण्डिस्नल प्रेम भेटिने गरी
आँफुलाई नै मेटिने गरी
परमसत्य खोजिने गरी …

“धन्दा नमान साथी! म छु नि,” पहिलो छायाँले भन्यो, स्वर नभएको स्वरमा।

दोस्रो छायाँ चुपचाप मुस्कायो जसरी सुनको पत्रमा बिहानको उज्यालो मुस्काउँछ।
…. ….

तिनीहरूको सम्बन्ध कुनै कथा होइन, एक यात्रा थियो। न कुनै आरम्भ, न अन्त्य। एक समर्पण, जसमा एउटा आत्माले आफैलाई बिसाउने ठाउँ खोजेको थियो—अर्को आत्माको मौन स्वीकारमा।

कहिलेकाहीँ ती दुई छायाँ छुट्टिन्थे, तर सधैँ एउटै समयपछाडि फर्किन्थे—त्यही रुखमुनि, त्यही मौनको घेरामा।

“किन फर्किन्छौ बारम्बार?” एकदिन एक छायाँले सोध्यो।

“किनभने म झुक्न सक्छु नि,” उत्तर आयो, जस्तै गहिरो नदीको भित्री बहाव, जसलाई बाहिर शान्त देखिन्छ तर भित्र बलवान् बगिरहेछ…

तिम्रा पदचाप

तिम्रा सुस्तरी पदचापहरू,
शून्यमा बगेका लहर झैँ,
मनको अड्को झ्याल खोल्दै
तिमीलाई सुन्छु, देख्दिनँ…

पाखुरोमा झरेका मधुर साँझहरू,
जुनमा हराएका कागजका चिठीहरू,
हावा भित्र मिसिएका स्पर्शका सन्देशहरू
सबै तिम्रा पाइला बनेर आउँछन्
सुस्तरी सुस्तरी…
महसुस हुन्छ जताततै,
छाम्न लम्किन्छन् इन्द्रियहरू
तर भेट्दैनन्….