परिवर्तनकारी सोच, प्रेम एवं मनोवैज्ञानिक ओहापोह

“त्यो रात्री पनि सधैंको जस्तो साधारण रात्री थियो, अन्धकारमा मानिसको लोक थाकेर मरेको चिसो, जाडोले कठांग्रिएको, काजलको आकासमा एकनाससँग सलमा सितारा झल्केको हेरिदिने कोही छैन, घर घरमा बत्ति निभेका छन्, ढोकाझ्याल टम्म छन्, शुन्य सडकका खाँवामा बत्ति घोरिएर भुईँ तिर हेरिरहेका छन् र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रीको निस्वास जस्तो बत्ती बत्ती मूनि झुण्डिएर अडिरहेको छ । निस्पट्ट शान्ती छ शहरमा, झन् जाडोले शान्तीलाई जमोठ जस्तो डल्लो पारेर अड्याइदिएको छ । अरु जाडाको रात्री सरह नै त्यो रात्री पनि थियो, जीवनको कार्यरत्ता एकदम थामिएर अडेको, मानौ तमाम विश्व स्पन्दनहिन भएको छ ….।” शिर्षकको मर्मलाई जीवन्तता दिने गरी लेखकले पाठकसामु बिछ्याएका एक महत्वपूर्ण अंश ।

बिपी कोइरालाद्वारा लिखित श्वेत भैरवी कथा संग्रह भित्रको एउटा कथा “एक रात” एक शसक्त नेपाली कथा हो, जसले मानवीय मनोविज्ञान, समाज र नैतिक द्वन्दलाई जीवन्त रुपमा उजागर गरेको आभास हुन्छ । चरित्र प्रधान कथा लेखनशैली, पात्रको मनोवृत्तिलाई सामाजिक, साँस्कृतिक र मानविय प्रवृत्तिसँग न्यायपूर्ण रुपमा पाठकको मस्तिष्क एवं भावनामा छर्लङ्ग पारी पस्किएको आभाष हुन्छ । यस उपन्यासमा मृत्युको छायाँमा बिताएको एक जवान पुरुषको जीवनको एउटा अन्तिम रातको मानसिक संघर्ष, प्रेम, पछुतो बीनाको निर्णय, आफ्नो उद्देश्य प्रति श्रद्धापूर्वक संकल्प रहित ब्यक्तित्व आदि कुराहरुको जीवन्त रुपमा प्रश्तुती देखिन्छ ।
मुख्य पात्र भर्खरै विवाहित एक युवा हुन्, जो जेलमा भोलिपल्ट झिसमिसे बिहान अघि नै फाँसी दिइने प्रपन्चको पर्खाइमा छन् । त्यस रात उनले आफ्नो सम्पूर्ण जीवन, प्रेम, विवाहित जीवन, सन्तानको बाउ र मृत्यबोधको गहिरिएर समिक्षा गरिरहेका हुन्छन् । उनी एक राजनीतिक क्रान्तिकारी युवा शक्ती हुन्, राणाकालिन शासन ब्यवस्थाको सरकारविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका छन् । त्यो एक रातभरि उनी अतित, प्रेम, वर्तमान अवस्थाको पिडा र मृत्युको भय एवं आफ्नो संकल्प शक्तीको मनोभावनासँग नजिकिएर परिक्षण गर्दै हुन्छन् । उनी आफ्नो भर्खरै विवाहित पत्निलाई पनि सम्झन्छन् त्यसगरी आँफुले देश र जनताको भविष्यका लागि संकल्पित भएर क्रान्तीमा होमिएको बलिदानको अवस्थालाई र बिचारधारालाई पनि सम्झिन्छन् । घरि घरि आफ्नो जिन्दगीको बारेमा आँफुले गरेका निर्णयहरुको पनि पटक पटक पुनर्विचार गर्न खोजेको बुझिन्छ । मृत्यु लगभग निश्चित जस्तै भएपनि कहिँ कतै कुनै कुराले न रोकिन्छ कि भन्नेमा पनि युवक झिनो आशावादी भएको जस्तो पनि भान हुन्छ जसले गर्दा आफ्नो तथा परिवार र समाज एवं समग्र राष्ट्रकै अवस्थाको महत्वबारे पनि गहिरो चिन्तन गर्छन् । यो कथा एउटा सिंगो रातभरि घट्छ, जहाँ नायकको मानसिक अवस्था क्रमशः प्रेम, स्विकारोक्ती र आत्मसमर्पण तर्फ अग्रसर हुन्छ । घरि घरि त्रास, पिडा त घरि घरि आत्म संकल्प जस्तो विरोधाभास अवस्थाले पनि उसलाई झस्काइरहन्छ । उनी आफ्नो नवविवाहित पत्निसँगको भावनात्मक प्रेम र निर्दोषता प्रति भावावेगमा आउँछन् । गर्भमा रहेको आफ्नो बच्चा र बाउआमाको सपना साकार पार्ने जिम्मेवारीको समेत घरिघरि आत्मपिडा महसुस गर्छन् ।

“… कमिस्नरले कोमल स्वरमा अन्तिम बार सोधेः तिम्रो अन्तिम इच्छा के छ ? केही भन्नु छ ? उसले भन्यो, तमाम किशोर युवकहरुको मानविय मर्यादा र सुख सम्भव हुन जाओस् ।…”
“…आफ्नो छोराको कोठामा गए, उ उत्तानो परेर सुतिरहेको थियो । कमिस्नरले धेरै बेरसम्म उसको मुख हेरिरहे, अनि विस्तारै गएर उसलाई छोए ।…”
“…किशोरले आफ्नै बाणीलाई अर्कोले बोलेको जस्तो गरी सुन्यो । कमिस्नरको मसिनो बोली पो सुनियो भनेको मानेनौ माफी माग भनेको, के गर्नु आफ्नो ड्युटी गर्नै पर्ने भो । किशोर मुस्कुरायो, भन्यो मलाई पनि लागिरहेछ म पनि ड्युटी गर्न गइरहेको छु ।…”

कथामा कमिस्नरले किशोर प्रति करुणा भाव प्रकट गर्दै आँफूले गरेको गल्ती सम्झेर माफी मागे कानूनी रुपमै क्षमा पाईने र दण्डबाट छुटकारा पाइने अभिलाषा राख्छन् । किशोरलाई देखेर उसको आफ्नो छोरालाई हृदयमा जोडेर संवेदना जागेको हुन्छ । किशोर भने आफ्नो देशभक्ती, जनआकांक्षाको सेवा, परिवर्तनकारी सोच एवं संकल्प प्रति दृढ देखिन्छ ।

“…अन्तिम घडि आएछ, चटक्क चुँडिने जीवनको कोमल हाँगोबाट हठात् समाप्त हुने छु र छैनका बीच छुट्टयाउने एउटा पातलो रेखा सायद खुकुरीको धारको या कुनै बटारिएको चिल्लो डोरीको ….”

घरिघरि किशोरमा द्वैद मनस्थिति पनि झलिन्छ अनि लगभग निश्चित देखिएको मृत्यको चित्र र त्यस अघि आँफू जीउँदो अवस्थामा रहेको बीचको सानो दूरीलाई गहिरिएर बिचार गर्छ ।

“…उसका आमा–बा ठेट ग्रामिण दम्पति, उनले बुझे होलान् र राजनितिका कुरा ! उसका बालाई छोरामाथि बढो आशा थियो, त्यसैले अंग्रेजी पढाउने नयाँ कुरा तिनले गरे, छोराले जब म्याट्रिकमा प्रथम श्रेणी ल्यायो, बाको आँखा त्यसै गर्वले उज्यालो भएको थियो । …”
“…उसले बैनिलाई राखेर भन्यो, “म तिमीलाई पढाउँछु, तिमीले पढ्नु पर्छ । ….बैनी बढो उत्साही बालिका थिई । उसले भनी, म पढ्छु दाई ! म पनि ठुलो हुन्छु, धेरै पढ्छु । …”
“…बैनी भन्थी, आमा म बिहे गर्दिन । आमा भन्थिन् के भनेको रे, बिहे गर्दिनस् ? अँहँ गर्दिन । देश सेवा गर्छु पढेर आमा भन्थी बैनी…”
“… तर बिहे गरेर जब उसले एउटी सानी केटीलाई घर लिएर आयो, उसलाई लाग्यो उसलाई म आफ्नो रुपमा ढाल्छु । उसले भन्यो यसलाई पनि पढाउँछु, लेखाउँछु र बाहिरको जगतमा अर्धाङ्गीनी बनाएर उपस्थित गराउँछु ।…”
“… एक दिन उसले दुलहीलाई भन्यो साँझतिरः राधा हिँड जाउँ नदितिर घुम्न, …अनि राधा खुसी भएकी जस्ती थिई, तर भन्न चाहिँ यत्ति भनीः तर मलाई लाज लाग्छ । …उसले भनेको थियो अझसम्म लाज गएको छैन, तिम्रो आमा हुने बखतमा पनि ? …”
“… प्राणनाथ ! अत्याहटको सानो वेगमा संयमलाई बिर्सेर हृदयको स्पष्ट बोली निस्किएको थियो, राधाको मुखबाट प्राणनाथ ।…”
“… थुनिएपछि उसले सुन्यो कि राधाले छोरो पाई ।…”

किशोरका बाआमा गाउँले परिवेशमा जन्मिएका, हुर्किएका अनि दैनिकी चलाईरहेका तथा तत्कालिन सामाजिक, सांस्कारिक रितीरिवाजमा चल्ने प्रवृत्तिका भएकाले सो घेराबाट निस्किन गारो संघर्ष मान्ने स्वभावका हुन्छन् । तैपनि बाउले छोरालाई आधुनिक शिक्षाको केही अनुभवमा लगाउने साहस र इच्छा चाहिँ राख्छन् र अंग्रेजी विषय एवं थप उच्च शिक्षाका लागि भारतसम्म पठाउने साहस पनि गर्छन् । बाआमाले आँफूमा छोरा प्रति पारिवारिक भविष्यको ठूलो सपना कोरेका हुन्छन् । छोरालाई राम्रो शिक्षादिक्षा गराएर, राम्रो रोजगार पाउने योग्य बनाएर समग्र परिवार तथा त्यो सानो गाउँको ईज्जत बनाउने ध्येय राखेका हुन्छन् । किशोरकी एउटी बैनी हुन्छे सानी, शुसिल जसलाई नयाँ लुगा लगाइदिई नौलो भेषमा समाजमा उभ्याउँदै, पढाइलेखाई गराई महिलाले पनि पढेर आफ्नो जीवन नयाँ तरिकाले जीउन सक्ने सक्षम बनाउने चाहाना राख्छ । यस्तो बुझेर बैनी सारै खुसी हुन्छे । पढेर राम्रो, ज्ञानी, शिक्षित हुने र देशको सेवा गर्ने देशभक्ती भावना जस्तो ठूलो कार्यमा होमिन चाहाना राख्छे । यो दृष्यले के देखाउँछ भने नव बालक, युवाहरुमा शिक्षादिक्षा, कर्मठता, सक्षमता जस्ता क्षमतावान कुराहरु देशकै लागि प्रयोग एवं उपयोग गर्नु पर्छ भन्ने अन्तरहृदय र बिवेकमा गडेको छ । तर आमालाई भने छोरी मान्छे भनेको अर्काको घरमा बिहे गरेर जाने, त्यहाँ घाँस दाउरा, मेलापात, पशुपालन र भान्साको काम गर्ने जिम्मेवारी हुन्छ त्यसैले त्यस्तो कुराहरु मात्र सिक्ने हो छोरीले त भन्ने मान्यता राखेकी हुन्छिन् । तर किशोरको परिवर्तनकारी सोचले बैनी समेत पढ्न पाउने भएकी हुन्छे । अर्कातिर बाआमाको सोच छोरालाई बिवाह समेत गराइदिने अनि परिवारको हेरचाह एवं सन्तान जन्माउन लगाई पुस्तान्तरण गर्ने अभिलाषा मनमा पालेका हुन्छन् । त्यसैकारण उसको भित्री चाहाना नभइकनै बाआमाको आज्ञा मानेर एउटी सानी निर्दोष केटीसँग बिवाह पनि गर्छ । बिवाह पश्चात भने आफ्नी पत्नीलाई समेत आफ्नै बैनी जस्तै मायालु देख्छ अनि उसैगरी माया ममता सहित हिम्मतसाथ पढाउन लेखाउन पनि लगाउँछ । उनीहरु बीच मिठो सम्बन्धको प्रेम बन्छ, बैवाहिक जीवनको प्रेमात्मक सोत र वातावरणलाई सामाजिक रुपमा नै नयाँ आयामहरु थप्ने हेतुले किशोरले आफ्नी पत्नी राधालाई घुम्न जानु पर्छ पतिपत्नी भएर मायाको अनेक रंग चढाउन बुझ्‌ने र बुझाउन खोजेका हुन्छन् । राधाको निर्दोष मिठो प्राकृतिक प्रेमभावको र आफ्नो पति प्रतिको श्रद्धाभाव पनि यस कथामा स्पष्ट अवस्था देखिन्छ जसले ती दुई जोडीको प्रेमिल आत्माहरु उच्च सौन्दर्य आभासमा सल्बलाएको उजागर हुन्छ ।

“… उसलाई पुलिसले केर्दा या न्याय गोष्ठीमा सोध्दा उसले एकनास भनेको थियोः मैले फ्याँकेको हो बम तर हत्याको लागि होईन चेतावनीको लागि…”
“…हवल्दारले भन्योः मरे निद्रा आउँदैन । सुवेदार उठेर बस्यो र भन्योः सिगरेट झिक्न । …”
“… एउटाले भन्यो त्यस्तो अन्तिम घडिमा देउता चढ्छ मानिसलाई र त्यसले चिताएको पुग्छ ।…”
“… त्यहि ठिटोलाई फाँसी दिन गएको थिएँ, डाक्टरले भन्यो, नभनेस् है छोराहरुलाई । दुलहीको मुखबाट केबल हाय भन्ने शब्द निस्कियो र उसले आफ्नो हत्केलाले मुख छोपी ।…”

कथामा किशोरलाई फाँसी दिन आफ्नो जागिरको ड्युटी निभाउन बाध्य भएका प्रहरि, डाक्टर, कमिस्नरहरुको मनोभावनालाई यहाँ राम्रोसँग पस्किन भ्याएका छन् लेखकले । करुणा, प्रेम, सदभाव जस्ता साझा मानविय संवेदनशिलताहरु तथा विशेषताहरु सबै जिम्मेवारी, कर्तब्य निभाइरहेका ब्यक्तीहरुमा हुने रहेछ भन्ने कुरा बुझाउन लेखकले यस कथा मार्फत कुनै कसर बाँकि राखेका छैनन् ।
समग्रमा भन्नु पर्दा मानिसहरुमा आउने मनोवैज्ञानिक ओहापोहहरुको विश्लेषणात्मक तरिकाले बिवेचना गरिएको र त्यस्ता कुराहरुलाई सौन्दर्यताको रंगले पोतेर पाठकलाई हाइयर इमोश्नल इन्टेलिजेन्सको आयामहरुमा छुवाउने राम्रो क्षमता राखेको छ यस कथाले र श्रदेय लेखक श्री बिपी कोइराला ज्यू को लेखनशैली एवं भावले ।

Unknown's avatar

Author: मानव समर्पण

🙏❣️🌹🎶✍️

Leave a comment