वि.पि. कोइरालाद्वारा लिखित हिटलर र यहुदी एक सशक्त कथा हो, जसले मानव मनोविज्ञानको एक दरिलो प्रस्तुती देखाएको छ । कुनै घटनाले एक ब्यक्ति मात्र नभई त्यस समाज, राष्ट्र लगायत समग्र मानव सभ्यतालाई नै कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरालाई ज्वलन्त रुपमा यसमा बुझाउन खोजिएको छ । यसले मुख्य पात्रको भित्री संघर्ष, भय, र मानवीय अस्तित्वको प्रश्नलाई पनि उठाउँछ ।
म को भूमिकामा रहेका पात्र मार्फत उसको आफ्नै, अनि उसँग भौतिक तथा भावना एवं बिचारमा जोडिएका पात्रहरूको बिचार , भावना सहितका चरित्रहरुलाई बहुआयामिक रुपमा प्रस्तुत गरिएको छ ।
तीनै जना महिलाकै रुपमा रहेर पनि सामाजिक, पारिवारिक तथा सांस्कारिक रुपमा भिन्न अवस्थितिमा रहेको कारणले रेबा र इल्जेले बुझेको प्रेम र लक्ष्मीले बुझेको प्रेम आ-आफ्नो तरिकाको बुझाईलाई प्रेमको रुपमा अनुसरण गरिएको छ । यस कथामा लक्ष्मी एक महत्वपूर्ण पात्रको रुपमा उभ्याइएको छ जसको भूमिकाले कथाको मुख्य भावनात्मक तथा दार्शनिक पक्षलाई उजागर गर्छ । यीनले नारीको प्रेम, समर्पण, विवशता, सामाजिक परिस्थितिकोृ मार र द्वन्दलाई प्रतिबिम्बित गर्छिन् । यहाँ लेखकले यी पात्र मार्फत प्रेम, करुणा, माया र सहानुभूतिले भरिएको स्त्री जो मानवता र प्रेमको सर्वाेच्चता, सामाजिक अन्याय र नारीको स्थिति, युद्ध र हिंसाको प्रभाव, द्वन्द र आत्मसंर्घष, अशल नारीत्वको धर्म एवं कर्तब्य जस्तो कुरालाई बुझाउन खोजिएको देखिन्छ । रेबा एक यहुदी महिला हुन्, जो सुन्दर, शिक्षित, र भावुक छिन्। उनी प्रेम, परिवार, र अस्तित्वको सवालमा गहिरो भावनात्मक छिन् । उनी डेविडकी प्रेमी, पत्नी हुन् । यहुदीहरू माथि भइरहेको अत्याचारका कारण उनी पीडित छिन्। उनको चरित्र मार्फत यहुदी महिलाहरूको असहाय अवस्था, डर, र भावनात्मक पीडा देखाइएको छ। इल्जे जर्मन महिला हुन्। उनी कथामा नाजी शासनको समर्थन गर्ने पक्षमा छिन् वा त्यसबाट लाभ लिने पक्षमा छिन्। उनको चरित्र यूरोपेली समाजभित्रका विभिन्न विचारधाराहरूलाई दर्शाउन प्रयोग गरिएको छ। उनी यहुदीहरूप्रति विशेष रूपमा दयालु छैनन्, बरु उनीहरूलाई कमजोर र पराजित समूहका रूपमा हेर्छिन्। उनको चरित्र नाजी मानसिकता तथा यहुदीहरूप्रति देखाइने उदासीनता वा उपेक्षा दर्शाउन प्रयोग गरिएको छ। डेविड कथाका एक यहुदीहरूको प्रतिनिधित्व गर्ने पात्र हुन्, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। उनी एक यहुदी हुन्, जो नाजी शासनको आतंकबाट बच्न संघर्ष गरिरहेका हुन्छन्। उनी शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा बलियो र विद्रोही स्वभावका छन्। हिटलरको दमन र यहुदीमाथिको अत्याचारका कारण उनी निराश र भयभीत छन्, तर उनलाई आफ्नो अस्तित्व जोगाउनुपर्छ भन्ने भावना बलियो छ, जसले दोस्रो विश्वयुद्धको समयमा यहुदीहरूले भोगेको दुःख दर्शाउँछ। नारायणन् दक्षिण एसियाली मूलका व्यक्ति हुन् । उनी यूरोपमा आएर बसेका छन् र त्यहाँको सामाजिक तथा राजनीतिक परिस्थितिलाई नियालिरहेका छन्। उनी सहृदयी छन् र अन्यायको विरोध गर्ने मनोवृत्ति राख्छन्। उनका विचारहरूमा दार्शनिकता पाइन्छ, उनी घटनाहरूको गहिरो विश्लेषण गर्छन्। उनले यहुदीहरूप्रति सहानुभूति देखाउँछन् लेखकले नारायणन् मार्फत दक्षिण एशियाका मानिसहरू द्वितीय विश्वयुद्धलाई कसरी हेर्थे। अनि एउटा तटस्थ दृष्टिकोण राख्ने समाज कसरी अन्याय देखेर प्रभावित हुन सक्छ र युद्धमा सीधा संलग्न नभएका मानिसहरू पनि भावनात्मक रूपमा प्रभावित हुन्छन् भन्ने कुरा उ मार्फत दर्शाउन खोजेका छन् । खोरण्डे नाजीहरूको समर्थक हुन् र उनीहरूकै तानाशाही नीति अनुसार चल्छन्। उनी यहुदीहरूलाई कमजोर, तुच्छ र नष्ट गर्नुपर्ने जातिका रूपमा हेर्छन्। उनी हिटलरको विचारधाराको अन्धभक्त झैं प्रस्तुत गरिएका छन्। कथाले नाजी शासनको आतङ्क देखाउन खोरण्डेलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। उनको भूमिका यहुदीहरूमाथि गरिएको अमानवीय व्यवहारलाई प्रतिबिम्बित गर्नका लागि रहेको छ। खोरण्डे जस्ता पात्रहरू द्वितीय विश्वयुद्धको वास्तविक घटनाहरूको प्रतिनिधित्व गर्ने रूपमा प्रस्तुत गरिएका छन्। लेखकले खोरण्डे मार्फत नाजी अत्याचार कति क्रूर थियो। निर्दोष मानिसहरू कसरी शक्ति र घृणाको शिकार बने। तानाशाही शासन कति निर्दयी र अमानवीय हुन सक्छ भन्ने कुरा देखाउन खोजेका छन् ।कथा मुख्य रूपमा पात्रहरूको मनोदशा, मानवीय संवेदनशीलता, अन्याय र अस्तित्वसँग सङ्घर्षको गहिरो विश्लेषणमा केन्द्रित छ । द्वितीय विश्वयुद्धको पृष्ठभूमिमा यहुदी समुदायमाथि भएका अत्याचार तथा हिटलरको तानाशाही शासनलाई उजागर गर्नुको साथै कथाले केवल ऐतिहासिक घटनाको चित्रण मात्र नभई मानवीय संवेदना, अन्याय, अस्तित्व सङ्घर्ष, र मनोवैज्ञानिक द्वन्द्वलाई समेत समेटेको पाइन्छ। जसले पाठकलाई कथामा भावनात्मक रूपमा संलग्न गराउँछ । त्यसैगरी कथाले केवल अतीतको घटनालाई चित्रण गर्ने माध्यम मात्र नभई, भविष्यका लागि पाठ सिकाउने मानविय एवं सामाजिक चेतनाको पनि सन्देश दिन्छ।
यसमा भाषा, शैलीको प्रस्तुति सरल एवं प्रभावशाली छ । पात्रहरूको मनोदशा र घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ । लेखकले विवरणात्मक शैलीलाई प्रयोग गरी घटनाहरूलाई जीवन्त बनाएका छन्, जसले कथा थप प्रभावशाली देखिन्छ । थरि थरि ब्यक्तिको थरि थरि सोचाई हुने, जुन कुरा उसका जीवनका भोगाईले पर्ने इम्प्रेसन तथा असोसिएनले नै निर्धारण गर्छ र आफ्ना कार्यशैली र सोचमा प्रभाव पार्दछ भन्ने कुरालाई विभिन्न उदाहरण सहित अनेक पात्रहरु उभ्याई बुझाउन खोजिएको छ ।
कथा केवल भौतिक यातनाको वर्णनमा सीमित छैन; यो मनोवैज्ञानिक पक्षमा गहिरिएर प्रवेश गर्छ । मुख्य पात्रले हिटलर र नाजी विचारधारालाई बुझ्ने प्रयास गर्छन्, जसले गर्दा पाठकलाई द्वन्द्वात्मक सोचको अनुभूति गराउँछ। कथाको अन्त्यले मानव चेतनाको गहिराइमा प्रश्न उठाउँछ – के हिटलर मात्र दोषी हो, वा समाजकै सामूहिक चेतनाले यस्ता तानाशाह जन्माउँछ भन्ने कुरा समेत चित्रित गर्दछ । कथामा भागवत गीता यस मानव सभ्यतामा सर्वत्र अनुसरण गर्ने गरी आध्यात्मिक एवं धार्मिक ग्रन्थ समेत मान्ने अभ्यास छ , यहाँ पनि सोहीलाई आधार समेत बनाई हिटलरले अकर्ता भावमा रहेर आफ्नो कर्तब्य धर्म मात्र त निर्बाह गरेको हो भन्ने तर्कलाई समेत थोरै भएपनि जोड्ने कोसिस भएको छ ।
समग्रमा भन्नुपर्दा यस कथाले मुलतः
मनोवैज्ञानिक द्वन्द्व
अत्याचार र सहनशिलता
तानाशाही र मानवता
यथार्थवाद र अनुभुती
सामाजिक चेतना र चेतावनी
मानविय संवेदनशीलता
प्रेम प्रवाहको विविधता
आध्यात्मिक तथा धार्मिक सोच
आदि जस्ता कुराहरुमा केन्द्रित गर्दछ ।

