प्रभातको लालीमा भन्दा
हामी पहिले उदाउँछौं,
आफैलाई अवलोकन गर्दै
आलयमा हामी पस्छौँ।
मन, शरीर, विचारहरू
कहाँ जान्छन् थाहा छैन….?
जस्तो दृष्टि उस्तै सृष्टि
प्रलयको डर छैन।
भूत, प्रेत, पिचासहरु
पनि छ र कतै शङ्कै लाग्छ,
ध्यान बिना जीवन यो
किन अब अधुरो लाग्छ।
निर्विचार अवस्था नै
किन यति प्यारो लाग्छ,
खोल्छु आँखा, देख्छु संसार
किन अति नौलो लाग्छ।
धारणाले संसार हेर्दा
“म” भित्र “मै” खोज्नु पर्ने हुन्छ,
वरिपरि सबलाई देख्दा,
एकतामा बल मिल्छ।
संकल्प शक्ति बलियो पार्न
संकल्प अब लिनुपर्छ,
संकल्पले नै हामी भित्र
चेतनाको दियो बाल्छ!!!
