आज म आइरिस कवि ओस्कर वाइल्ड को भनाई पढ्दै थिए। भनाई यस्तो थियो “ कलाकारले समीक्षक लाई सिक्क्षित गर्ने हो र समीक्षकले जनता लाई “।
सामान्यतया हामीलाई लाग्छ देश विकास गर्न मुख्य भूमिका राजनीतिज्ञको हुन्छ, तर खासमा सर्जकहरूको हुन्छ। सर्जक हरूले जुन स्तर वा प्रकृतिको गीत-संगीत, सिनेमा वा कुनै पनि किसिमको कला र साहित्यको सिर्जना गर्छन्, त्यही अनुरूप नै जनताको चेतनाको विकास हुँदै जान्छ। कुनै पनि महान सभ्यताको इतिहास हेर्नुहोस्, ती सभ्यतालाई महान बनाउन त्यहाँका सर्जकहरूको मुख्य भूमिका हुन्छ। विभिन्न किसिमका सिर्जनाले जनमानसको मन, भावना र चेतनालाई आकार दिन मद्दत गर्छ। जस्तो सिर्जनाको छाप मानिसहरूमा पर्दै जान्छ, समाज पनि त्यही अनुरूप परिवर्तन हुँदै जान्छ। त्यसकारण सर्जकहरू राष्ट्रिय गहना हुन् र राजनीतिक व्यवस्थाले उनीहरूलाई सहयोग र प्रोत्साहन दिइरहनु पर्छ।
~ सतीस टण्डन
